काठमाडौं: जनता समाजवादी पार्टी, (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । बैठक यही साउन २७, २८, २९ र ३० गते ललितपुरको सानागाउँस्थित थसी ब्याङक्वेटमा बस्ने गरी आह्वान गरिएको सो पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बैठकमा पार्टी एकताको राष्ट्रिय महाधिवेशनले तय गरेका पार्टीको वैचारिक, सैद्धान्तिक अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिमा पार्टीले खेल्नुपर्ने भूमिका, वर्तमान भू–राजनीतिक अवस्था र नेपालको परराष्ट्र नीति तथा सम्बन्धलगायतका विषयहरुमा केन्द्रीय सदस्यहरुलाई प्रशिक्षण दिइने छ ।” यसैगरी बैठकबाट पार्टीको आगामी वैचारिक, राजनीतिक, सङ्गठनात्मक कार्ययोजना तथा कार्यक्रमलगायतका विषयहरुमा छलफल गरी आवश्यक निर्णय हुने जनाइएको छ । गत जेठ अन्तिममा महाधिवेशन सम्पन्न गरेको जसपा नेपालको पहिलो बैठकमा केन्द्रीय सदस्यहरुले पद तथा गोपनियताको शपथ लिने बस्नेतले बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी असोजमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ । सो पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार राष्ट्रिय भेला आगामी असोज ३ र ४ गते आयोजना गर्ने निर्णय भएको हो । पार्टीको भावी रणनीति तथा कार्यदिशा तय गर्नका लागि आयोजना गरिएको बन्द कार्यशाला आज सम्पन्न भएको छ । कार्यशालामा पार्टीको विचार, सङ्गठन, संसदीय मामिला, अभियान, मूल्यमान्यतालगायत छ विधामा छलफल भएको उहाँको भनाइ छ । यस्तै, पार्टीको महाधिवेशन आगामी वैशाखको तेस्रो सातामा आयोजना गर्ने निर्णय भएको छ । विधन संशोधन सुझाव कार्यदलको प्रतिवेदन आगामी भदौ मसान्तभित्र तयार गरी केन्द्रीय समितिमार्फत राष्ट्रिय भेलामा पेस गरिने भएको छ । पार्टीको जिल्ला संयोजक तथा उपसंयोजक र निर्वाचन क्षेत्र समितिको संलग्नतामा जिल्ला भेला गरी जिल्ला तदर्थ समिति गठन गर्ने, पार्टीको वाचापत्रलगायत अन्य दस्तावेजका आधारमा केन्द्र, प्रदेश र जिल्लामा प्रशिक्षण गर्ने निर्णय पनि कार्यशालाले गरेको छ । शासकीय स्वरुपका विषयमा पार्टीभित्र छलफल गरी संविधान संशोधन समेतको विषयलाई दृष्टिगत गरी पार्टीको अवधारणा तयार गर्ने, जनआवाज अभियान सञ्चालन गरी देशभरिको जनगुनासा तथा मुद्दाहरू सङ्कलन गर्ने, सदनमा उठाउने र कार्यान्वयन भए÷नभएको अनुमगन गर्ने विषय समेत उल्लेख भएको कार्यवाहक प्रवक्ता झाले जानकारी दिनुभयो । देशका गाउँदेखि विदेशका सहरसम्मका नेपालीसँग भेटघाट अभियानको सुरुआत गर्ने, चरणबद्ध रुपमा स्थानीय छाया सरकार गठनको अभ्यास थालनी गर्ने, आगामी साता सातै प्रदेशमा बन्द कार्यशाला आयोजना र केन्द्रीय बन्द कार्यशालामा सहभागी भएका नेताहरू सहजीकरणका लागि सहभागी हुने रास्वपाले जनाएको छ । पार्टीको अर्थ व्यवस्थापन समितिको विस्तार गरी देश विदेशमा रहेका सबैलाई जोड्न ‘पार्टी पिल्लर्स’को अवधारणा लागू गर्ने, विधेयक मन्थन विभागलाई संसद्मा दर्ता भएका विधेयकबारे आवश्यकताअनुसार प्रवासमा समेत छलफल चलाई सुझाव सङ्कलन गर्नेलगायत विषय कार्यशालाले केन्द्रीय समितिलाई सुझावका रुपमा प्राप्त भएको सो पार्टीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो । केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिनुभयो । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ । पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताउनुभयो । आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानबमोजिम तीन राज्यमन्त्री नियुक्त गरी कार्यविभाजन तोक्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा रहेको मौजुदा मन्त्रिपरिषद्मा तीन राज्यमन्त्री थपिनुभएको हो । राष्ट्रपति कार्यालयका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्रीमा रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्रीमा पूर्णबहादुर तामाङ नियुक्त हुनुभएको छ । उहाँहरुको आजै शपथ हुनेछ । यो विस्तारसँगै वर्तमान मन्त्रिपरिषद्को सदस्य सङ्ख्या २५ पुगेको छ
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ७७ वटै जिल्ला अध्यक्षहरुको दुईदिने भेला आज पनि काठमाडौँमा जारी छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले बिहीबार धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभएको थियो । आजको बैठकमा जिल्ला अध्यक्षबाट सम्बन्धित जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस भइरहेको सो पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “७७ वटै जिल्लाबाट आउनुभएका जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक एवं राजनीतिक प्रतिवेदन पेस गरिरहनुभएको छ । सम्बन्धित प्रतिवेदन प्रस्तुत भइसकेपछि आजै बैठक सम्पन्न हुनेछ ।” भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको गम्भीर समीक्षा गरिने, विगतका निर्वाचनमा भएका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने, पार्टीले लिएका नीति, यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएको अवस्थामा सबै तहको अधिवेशन सम्पन्न गर्ने, २०८४ मा हुने तीन तहको निर्वाचन तयारीमा अहिलेदेखि कस्तो रणनीति तय गर्नेलगायत विषयमा पनि छलफल हुने प्रवक्ता श्रेष्ठले बताउनुभयो । उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नुहुनेछ । पार्टीका पूर्वअध्यक्ष पशुपति शमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैकठले प्रदेश इन्चार्ज हेरफेर गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले प्रदेश इन्चार्ज हेरफेर गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ । यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो । यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ । सत्रजना केन्द्रीय सदस्यमा मनोनीत महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ । यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक जारी रहेकोे छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीका अध्यक्षतामा भइरहेको बैठकले वर्तमान राजनीतिक अवस्थाको सङ्क्षिप्त समीक्षाका साथै केन्द्रीय नेताहरूको कार्य विभाजनका सम्बन्धमा निर्णय गर्ने तयारी गरेको छ । गत असार २६ गते बसेको पार्टी सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरूको कार्य विभाजन हेरफेर गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मापदण्ड बनाएर कार्य विभाजन गर्न बैठक बसेको हो ।
काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टी, (राप्रपा) का जिल्ला अध्यक्षहरुको भेला आजदेखि काठमाडौंमा सुरु भएको छ । राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले आज धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा उक्त भेलाको उद्घाटन गर्नुभयो । पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार भोलि साउन १८ गतेसम्म चल्ने उक्त भेलामा देशका ७७ वटै जिल्ला अध्यक्षहरुको सहभागिता रहेको छ । जिल्ला अध्यक्षहरुले आफ्नो जिल्लाको साङ्गठनिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ । भेलामा पार्टीको समग्र साङ्गठनिक अवस्थाको समीक्षा गरिने, विगतका निर्वाचनका कमी कमजोरीको समीक्षा गर्दै आगामी रणनीति तय गरिने जनाइएको छ । पार्टीले लिएका नीति र यसले पार्टी पङ्क्ति र जनसमुदायमा पारेको प्रभावको विश्लेषण गरिने प्रवक्ता श्रेष्ठले बताउनुभयो । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आगामी वैशाख मसान्तसम्म स्थानीय तहको अधिवेशन गरिसक्ने लक्ष्य लिएकोले सबै तहको अधिवेशन सम्पन्न गर्ने, साथै विसं २०८४ मा हुने तीन तहकै निर्वाचन तयारीका लागि रणनीति तय गर्ने विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उक्त भेलामा पार्टी अध्यक्ष लिङ्देनले पार्टीको नीति, विचार, सिद्धान्तलगायत रणनीति र आगामी कार्ययोजनाबारे जिल्ला अध्यक्षहरुलाई ‘ब्रिफिङ’ गर्नु हुनेछभने पार्टीका पूर्वअध्यक्ष पशुपतिशमशेर जबरा, निर्देशन समितिका अध्यक्ष डा प्रकाशचन्द्र लोहनी र नेताहरुले पार्टी सङ्गठनका विविध पक्षमा जिल्ला अध्यक्षहरुसँग सामूहिक छलफल गर्ने कार्यक्रम रहेको सो पार्टीले जनाएको छ ।