काठमाडौं: राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक आज बस्दै छ । बैठक आज दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ । शुक्रवार प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने तय भएको छ । सो बारेमा पार्टीले विश्वासको मत दिने वा नदिने भन्नेबारेमा पनि निर्णय गर्नेछ । साथै संसदमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्नेबारेमा रणनीति बनाउने राप्रपाको तयारी छ ।
काठमाडौं: नयाँ राजनीतिक परिवेशमा आगामी रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबिच बूढानीलकण्ठस्थित देउवा निवासमा हिजो साँझ भेटवार्ता भएको छ । कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण गरेर जाने सहमति भएसँगै भावी रणनीति तय गर्न शीर्ष तहमा छलफल गर्न भेटवार्ता भएको जानकारी बैठकमा सहभागी एक नेताले दिनुभयो । बैठकमा नेताहरू विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, रमेश लेखकलगायत सहभागी हुनुहुन्छ । यस बैठकले अध्यक्ष ओलीको नेतृत्वमा सरकार बनाउन साँसदहरूको हस्ताक्षर, मन्त्रिपरिषदको गठन, सरकारमा कुन कुन राजनीतिक दललाई सहभागी गराउने भन्ने लगायतका विषयमा छलफल हुने सम्भावना छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाको बैठकमा असार २८ गते विश्वासको मत लिने तयारी गर्नुभएको छ । तर नयाँ सत्ता समीकरणमा जाने निर्णय भएसँगै एमालेले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत फिर्ता लिनुका साथै एमालेबाट सहभागी मन्त्रीहरूले राजीनामा दिइसक्नु भएकोछ ।
काठमाडौं: नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ । एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।
काठमाडौं: नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस र एमालेबीच संविधान संशोधनका लागि आयोग बनाउने सहमति नभएको बताएका छन्। केन्द्रीय कार्यालय च्यासलमा बुधबार दिउँसो बसेको सचिवालय बैठकलाई सम्बोधन गर्दै ओलीले संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच आयोग बनाउने सहमति नभएको बताए। अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको उनको भनाइ छ। तर निश्चित बुँदा तोकेर निस्कर्षमा नपुगेको पनि बताए। गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरण बनाउँदै सरकार बनाउनेजस्ता सहमति भएका थिए। त्यसबेला संविधान संशोधन गर्न आयोग नै बनाउने दुई दलबीच सहमति भएको चर्चासमेत भएको थियो। ‘अनुभवहरुले के(कस्ता परिवर्तन, परिमार्जन, सुधार आवश्यक छन्, त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निस्कर्षमा पुगिसकेका छैनौँ। कसैको नेतृत्वमा आयोग बनेको छैन। कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन,’ अध्यक्ष ओलीले भने, ‘मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरुको रक्षा संबर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’ उनले अस्थिरता देखिएकोले पनि दुई ठूला दल मिलेर सरकार बनाउन खोजिएको बताए। ‘प्रदेशहरुमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो। विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढंगले भ्रष्टाचारमा, अस्थिरतामा यस्तोमा जाने काम भयो,’ उनले भने। संविधान समयानुकूल परिमार्जित हुँदै जानुपर्ने पनि उनले बताए। ‘त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेका हौँ,’ ओलीले भने।
पोखरा: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए । ‘दुई ठुला दल मिलेर सरकारमा जानु भनेको नेपालको लागि अवसर र चुनौती दुवै हो, यसले जनताको वास्तविक समस्यालाई सम्बोधन गरेर जान सक्यो भने नयाँ अवसर प्रदान गर्न सक्छ’, सांसद केसीले भने, ‘ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आ–आफ्ना स्वार्थमा लागे चुनौती बन्न सक्छ ।’ सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए । अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने विश्वास रहेको समेत उनले दावी गरे । उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । ‘दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ भन्ने दृष्टिकोण आएको छ, कहिलेकाहीँ यस्तो दृष्टिकोण आउँछ’, उनले भने, ‘सरकार बाहिर रहेका दलले नियम कानून, संविधान अनुसार जनताको भावनालाई उठाउन सक्नुपर्छ,प्रतिपक्ष सशक्त हुन सकेन भने लोकतन्त्र जीवन्त हुन सक्दैन ।’ सांसद केसीले संविधान संशोधन, अर्थतन्त्रलाई चलायन बनाउन, जनतामा आशा जगाउन र राजनीतिक स्थायित्वको लागि दुई ठुला दल मिलेको उल्लेख गरेका छन् ।
काठमाडौं: नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । अब बैठक असार २६ गते बिहान ११ बजे बस्ने छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने एमालेले जनाएको छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।
मकवानपुर: बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गर्नुभएको छ । एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिनुभएको हो । केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।
काठमाडौं: नेकपा एमाले प्रतिनिधि सभामा प्रतिपक्षी बेन्चमा बसेको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएरपछि एमाले प्रतिपक्षी बेञ्न्चमा बसेको हो । हाल प्रतिनिधिसभामा नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी बेञ्चमा छ । एमाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएर कांग्रेससँगै बस्न पुगेको छ । आइतबारको बैठकमा प्रतिनिधि सभाका दुई ठूला दल कांग्रेस र एमाले दुवै प्रतिपक्षी बेञ्चमा देखिएका हुन् । प्रतिनिधि सभाको बैठक अगाडि बसेको एमाले संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन भनेको छ । राजीनामा नदिएर संसदमा विश्वासको मत परीक्षण गरे विश्वासको मत नदिने एमालेको निर्णय छ । प्रधानमन्त्री प्रचण्डले यही असार २८ गते विश्वासको मत लिँदैछन् ।