पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । अधिकारीले ३ जनालाई मन्त्रीमा पनि नियुक्त गरेका छन् । राप्रपाबाट पञ्चराम गुरुङ, नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान र एमालेबाट सीता सुन्दास मन्त्री नियुक्त भएका छन् । विना विभागीय मन्त्री बनेका उनीहरुले मुख्यमन्त्री अधिकारीपछी प्रदेश प्रमुख गुरुङबाट शपथ लिएका छन् ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा ९ मन्त्रालयमात्रै ठिक हुने बताएका छन् । मुख्यमन्त्री पोखरेलले पदमुक्त हुनु अघि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त धारणा राखेका हुन् । ‘अब बन्ने नयाँ सरकारले प्रदेशको विकास र समुन्नतको लागि हेरेर मन्त्रालय बनाउनुपर्छ, पोखरेलले भने, ‘विषम परिस्थितिमा आउँदा मन्त्रालय बढी भएको अनुभुति भएको हो, अब आउने नयाँ सरकारले प्रदेशले धान्न सक्ने मन्त्रालय निर्माण गर्नुपर्छ ।’ उनले आफु आउन भन्दा अगाडी नै ११ मन्त्रालय भएको भन्दै १ वटा मन्त्रालय थपेको बताए । पार्टीले यो चुनावमा आफुलाई टिकट नदिएपनि पार्टीको राजनीतिमा सक्रियरुपमा लाग्ने मुख्यमन्त्री पोखरेलको भनाई छ । उनले कार्यअवधिमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।
कास्की- गण्डकी प्रदेशमा आज नयाँ सरकार गठनको तैयारी भैरहेको छ । गण्डकीमा पनि एमालेका खगराज अधिकारीको नेतृत्वमा नयाँ सरकार बन्ने तैयारी भैरहेको छ, यद्यपी अझै अन्तिम टुङ्गो भने लागिसकेको छैन । मुख्यमन्त्रीका लागि माओवादीका हरि बहादुर चुमानले पनि दावी पेश गरेपछि अन्तिम टुङ्गो नलागेपनि सदस्य संख्याका हिसाबले हेर्दा सभामुखसहित थप ३ मन्त्रालय माओवादीलाई र १ मन्त्रालय राप्रपाको भागमा पर्ने र मुख्य मन्त्री र उपसभामुखसहित अन्य मन्त्रालय एमालेमा रहने गरी मन्त्रालय गठन हुने बताइएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरङ्गद्वारा गण्डकी प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको सर्मथनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई गण्डकी प्रदेशको मुख्य मन्त्री नियुक्ती गर्नका लागी आज चार बजे भित्र दावी पेश गर्न आव्हान गर्नु भएको छ । गण्डकी प्रदेशमा ६० सदस्यीय प्रदेश सभामा ३६ प्रत्यक्ष र ३४ समानुपातिक प्रणालीमार्फत निर्वाचित सदस्यहरु छन् । जसमध्ये मतभारका आधारमा सबै भन्दा बढी समानुपातिक साँसद एमाले १०, नेपाली काँग्रेस ९ र नेकपा माओवादी केन्द्रका ३ र राप्रपाका २ सदस्य छन् । प्रत्यक्ष तथा समानुपातिक गरी काँग्रेसको कुल २७ साँसद छन भने एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी २२ जना साँसद सदस्य छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक ३ गरी ८ जना सदस्य रहेका छन् । मनाङ्ग क्षेत्रनं. २ बाट राजीव गुरुङ्ग स्वतन्त्रबाट निर्वाचित भएपनि यसपटक उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ ।
बागलुङ: बागलुङको जैमिनी नगरपालिकाका तीनवटा वडाको संगमस्थल माईकोस्थान मन्दिर क्षेत्र हो। जैमिनी नगरपालिका वडा नं.–१० राङखानी, वडा नं.–४ सर्कुवा र वडा नं.–७ जैदीको माथिल्लो भागमा अवस्थित माईकोस्थान मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण छ। माईकोस्थान मन्दिरदेखि करिब दुई किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत तथा गढी भवन संरक्षणको अभावमा भताभुङ्ग भएको छ। तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाका लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रूपमा परिणत भएको हो। तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्राम स्थल, रानीको शयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरादिने संरचना कतै पूर्ण रूपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको सर्कुवाका स्थानीय नरवीर थापाले बताउनुभयो। त्यो समयमा सत्रु पक्षबाट बच्नका लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेष मात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ। तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिनुभयो। माईकोस्थान क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालीन सेनाले निर्माण गरेका बङ्करहरू केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन्। सेनाले ओतका लागि निर्माण गरेका सत्तलको भग्नावशेष देख्न सकिने सचिव थापाको भनाइ छ। ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्रीहरू मासिँदै गएका छन्। हातहतियार चोरी भएको छ। “कोत क्षेत्र ऐतिहासिक स्थल हो,” सचिव थापाले भन्नुभयो, “अहिले एउटा तोप मात्रै बाँकी छ। तोप संरक्षण पनि चुनौती पूर्ण भयो।” तोपको पाङ्ग्रा र त्यसलाई बाँधिने साङ्लाहरू छैनन्। बाहिर प्रदर्शन गरेर राख्दा चोरी हुने डर भएपछि मन्दिर बनाएर राखिएको सचिव थापाको भनाइ छ। राजाले दरबार वरिपरि खेती गर्दै आएको जग्गामा कालोपाती, ऐँसेलुलगायतका बिरुवाको झाडी बनेको छ। दरबार, चौपारी जीर्ण भएका छन्। सो दरबार क्षेत्रदेखि करिब एक सय मिटर पूर्वपट्टी रानीले घाम ताप्दै कपाल कोर्न निर्माण गरेको सत्तल जसलाई स्थानीय रानीले कपाल कोर्ने ढुङ्गाको नामले पहिचान गर्छन् त्यो संरचना पनि आधा भत्किएको थापाले बताउनुभयो। उक्त ढुङ्गामा करिब पाँच जना आरामसँग बस्न मिल्ने छ। आफ्नो क्षेत्रमा अतिनै महìवपूर्ण ऐतिहासिक पूर्वाधार भए पनि त्यसको संरक्षण र प्रचारप्रसार अभावले गर्दा ओझेलमा परेको थापाको भनाइ छ। राज्यले ऐतिहासिक गढीको संरक्षण गरेर पर्यटन विकासमा ध्यान दिनुपर्ने थापाको जोड छ। तीन वर्षअघि गण्डकी प्रदेश सरकारले साढे छ लाख रुपियाँ र वडा कार्यालयको दुई लाख रुपियाँ सहयोगमा सडक मार्गदेखि कोत भवन पुग्ने पक्की पदमार्ग र कोत क्षेत्रको तारबार गरेको थियो। कोतमा बडादशैँ र चैतदशैँमा विशेप पूजा हुन्छ। अझै पनि खानेपानी, तारबार, झाडी सफा, पहुँचमार्ग विस्तार, ऐतिहासिक गढी संरचनाको पुनर्निर्माण तथा उत्थानको काम बाँकी छन्। गढी क्षेत्रको संरक्षण, पुनर्निर्माण, उत्थानका लागि राज्यले विशेष ध्यान दिन सके पर्यटन विकास हुनुका साथै इतिहासको अध्ययन स्थलका रूपमा विकास हुने स्थानीय जनप्रतिनिधि चक्रबहादुर थापाले बताउनुभयो।
म्याग्दी: म्याग्दीको रघुगंगा गाउँपालिकाको माथिल्लो भेग हुँदै बग्ने राहु घाट नदीमा निर्माणाधीन दुई जलविद्युत आयोजनाको निर्माण तीव्र पारिएको छ । तुण्डी पावर कम्पनीले दुई वर्षअघि ३७.५ मेगावाट क्षमताको राहु घाट मंगले र यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माण थालेको थियो । दुवै आयोजना निर्माणलाई कम्पनीले एकसाथ अगाडी बढाएको छ । आयोजना स्थल भौगोलिक रूपमा विकट मानिएको रघुगंगा गाउँपालिका ७ चिम खोलामा पर्दछ । भीर पहरा फुटालेर आयोजना स्थलसम्म पहुँच मार्ग निर्माण पश्चात् दुवै आयोजनाको काम धमाधम अघि बढेको छ । कम्पनीले आयोजनाको सुरुङ,बाँध स्थलमा हेडवक्र्सका संरचना र विद्युत गृहको निर्माणलाई तीव्रता दिएको तुण्डी पावर कम्पनीका इन्जिनियर इन्द्र ढकालले जानकारी दिनुभयो । दुवै आयोजनामा एक हजार जना दक्ष जनशक्ति र उपकरणहरू परिचालन गरेर निर्माण कार्यलाई अगाडि बढाइएको उहाँले बताउनुभयो । भौगोलिक रूपमा विकट क्षेत्रमा आयोजना निर्माण गर्दा समस्या र चुनौती भए पनि लक्ष्य अनुसार निर्माण कार्य सन्तोषजनक रहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको पाँच हजार तिन सय मिटर सुरुङ मध्य अहिले सम्म दुई हजार चार सय मिटर सुरुङ खन्ने काम सकिएको छ । ‘दुई वटा अडिटबाट सुरुङ खन्ने काम भएको छ,कम्पनीका इन्जिनियर ढकालले भन्नुभयो ‘अबको ११ महिनाभित्र सुरुङ ब्रेकथ्रु गर्ने लक्ष्य राखेका छौँ ।’ वडा नम्बर ८ कुइनेमंगले र ७ नम्बर वडा चिम खोलाको सिमाना बन्दी घाटमा आयोजनाको बाँध स्थल रहेको छ । चिम खोलाको बगर खोलाको दोभान मलाङमा रहेको विद्युतगृहको निर्माणका लागि जग खन्ने काम थालिएको आयोजनाले जनाएको छ । समग्र रूपमा आयोजनाको अहिलेसम्म ४४ प्रतिशत भौतिक प्रगति भएको आयोजनाका इन्जिनियर ढकालले बताउनुभयो । आगामी ३० महिनाभित्र आयोजना सम्पन्न गर्ने गरी निर्माणलाई तीव्रता दिइएको उहाँको भनाई छ । यसैको क्यसकेट आयोजना ४८.५ मेगावाट क्षमताको अपर राहु घाट जलविद्युत आयोजनाको निर्माणलाई पनि सँगसँगै अगाडि बढाइएको उहाँको भनाई छ । ६ हजार तिन सय मिटर लामो सुरुङ मध्य तिन हजार एक सय मिटर सुरुङ खन्ने काम सकिएको हाई हिमालय कन्स्ट्रक्सन इन्जिनियर जीवन लामाले बताउनुभयो । दुई वटा अडिटबाट सुरुङ खन्ने काम भइरहेको उहाँको भनाई छ । राहु घाट मङ्गलेको विद्युतगृहबाट निस्केको पानीलाई सिधै यो आयोजनाको सुरुङमा हालेर दग्नामको पुछारमा रहेको विद्युतगृहमा पानीलाई ३६२ मिटर उचाइबाट खसालेर विद्युत् निकालिने छ । दग्नामको पुछारमा रहेको विद्युतगृह निर्माणका लागि कात्तिक देखि पहरा कटान थालिएको छ । आगामी दुई महिना भित्रमा पहरा कटान सकेपछि विद्युतगृहका संरचना निर्माण थालिने निर्माण कम्पनी हाइ हिमालय कन्स्ट्रक्सन साइड इन्चार्ज भुवनाथ अधिकारीले बताउनुभयो । विद्युतगृह निर्माणका लागि क्रसर प्लान्ट निर्माण,दुई वटा एक्स्काभेटर लगायतका उपकरण र जनशक्ति परिचालन गरिएको छ । यो आयोजनाको अहिले सम्म ३७ प्रतिशत भौतिक प्रगति भएको तुण्डी पावर कम्पनीका इन्जिनियर ढकालले बताउनुभयो । आगामी तिन वर्ष भित्र आयोजना निर्माण सम्पन्न गर्ने कम्पनीले लक्ष्य राखेको छ । दुवै आयोजना निर्माणका लागि आयोजना प्रवर्द्धक कम्पनीले रामेछाप शेर्पा कन्स्ट्रक्सन,हाई हिमालय हाइड्रो कम्पनी र साउथ एसियन इन्फास्ट्रक्चरसँग ठेक्का सम्झौता गरेको छ । दुवै आयोजनाको अनुमानित कुल लागत करिब ७ अर्ब रहेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभीए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनबाट केन्द्रीय प्रसारण लाइनमा जोडिनेछ । आयोजनाले मौवा फाँट–दग्नाम–दर्मीजा–चिम खोला हुँदै बाँध निर्माण स्थलसम्म दुई वर्ष अघि पहुँच मार्ग निर्माण गरेको थियो ।
वालिङ: वडा प्रहरी कार्यालय वालिङबाट सोमबार भागेका बलात्कारका आरोपि एकलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका हरिनास गाउँपालिका– ७ का २४ वर्षीय रमेश क्षेत्री प्रहरीलाई लडाएर भागेका थिए । क्षेत्रीलाई वालिङ नगरपालिका –४ को जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएकोे वडा प्रहरी कार्यालय वालिङका प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । क्षेत्रीलाई स्याङ्जाका एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले पुस ११ गते पक्राउ गरेको थियो । जबरजस्ती करणी मुद्दामा हिरासतमा रहेका क्षेत्रीलाई जिल्ला अदालतबाट म्याद थप गरी वडा प्रहरी कार्यालय वालिङ लैजाने क्रममा कार्यालयको पर्खाल नाघेर भागेका थिए । क्षेत्रीलाई समात्ने क्रममा प्रहरी हवलदार वीरबहादुर सुनार लडेर घाइते हुनुभएको थियो ।
बागलुङ: बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तिव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्र्तगत जैमिनी–१० राङ्खानीदेखि बरेङ–१ चित्रेसम्मको सडक स्तरोन्नती तथा कालोपत्रेको काम भैरहेको हो ।सडक चौडा पार्ने, नाली निर्माण, सडक संरचना तयार गर्ने तथा कठिन क्षेत्रमा ढलानको काम अघि बढेको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो । गण्डकी प्रदेशको पालिका मुकाम जोड्ने सडक कालोपत्रे गर्ने योजनाअन्र्तगत ११ किमी खण्डमा काम भैरहेको हो । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर सडकअन्र्तगत जैमिनीको मुकाम कुश्मीशेरा बजारदेखि वडा नं.१० को देवधारासम्मको दश किमीखण्ड पाँच बर्षअघिदेखि निर्माणाधिन छ । यो खण्ड अलपत्र रहेकाले स्थानीय देवलधारादेखि चित्रेसम्मको खण्डमा कामै नहुने आँकलन गरेका थिए । यो सडकमा २०७८ असारमा सम्झौता भएर दुई बर्षमा कालोपत्रेको काम सक्नेगरी सडक स्तरोन्नतीको जिम्मेबारी पाएको निर्माण कम्पनीले धमाधम काम गरिरहेको छ । सडक फराकिलो, पर्खाल, नाली बनाउने, पानी कटाउनका लागि बनाउनुपर्ने संरचना बनाउने काम सकिएको निर्माण कम्पनी रौताहा खानी धुलीखेल जेभी कन्ट्रक्सनका साइड ईन्चार्ज सञ्जय भट्टले बताउनुभयो । ‘‘अहिले धमाधम ढलानको काम भैरहेको छ, मौसमले साथ नदिएकाले कालोपत्रेका लागि समय पर्खिरहेका छौं’’ भट्टले भन्नुभयो,– ‘‘अबरोध नभए निर्धारित समयमा काम सकिन्छ ।’’ २०८० को असार मसान्तसम्म काम सक्नेगरी सम्झौता भएको थियो । बरेङलाई सदरमुकाम र प्रदेश राजधानीसँग जोड्ने छोटो दुरीको सडक भएकाले समयमा निर्माणको काम सक्न निर्माण कम्पनीलाई दबाब छ । २०५४ सालमा नक्सांकन गरिएको यो सडकको १५ बर्षअघि ट्याक खुलेको थियो । कुश्मीशेरा, देवलधारा १० किमी खण्डको स्तरोन्नती तथा कालोपत्रेको काम पटक पटक म्याद थप्दासमेत ३५ प्रतिशत काम मात्रै सकिएको छ । म्याद थप भएकाले यो खण्ड र देवलधारादेखि नम्दुकहुँदै चित्रेखण्ड तयार हुँदा बरेङलाई सहज हुने गाउँपालिका अध्यक्ष शर्माले बताउनुभयो । यो खण्डमा एक ठाउँमा सडक फराकिलो बनाउनका लागि स्थानीयले जग्गामा अबरोध गरेका छन्भने जैमिनी नगरपालिका–१० को नाम्दुकमा घरगोठ लगायतका संरचना भत्काउन स्थानीयले आनाकानी गरेको निर्माण कम्पनीको भनाई छ । ११ किलोमिटर यो खण्डमा ४.५ किलोमिटर ढलान र बाँकी सबै कालोपत्रेको स्टिमेट रहेको पूर्वाधार कार्यालय बागलुङका इञ्जिनियर कृष्ण गौतमले बताउनुभयो । गण्डकी प्रदेश सरकारको कुल ३४ करोड २५ लाख ३ हजार ६९६ रुपियाँको लागतमा यो सडक कालोपत्रे र ढलान हुँदैछ । हालसम्म दश किलोमिटरमा चौडा गर्ने काम सकिएको, दश किलोमिटरमा नाली बनाउने काम सकिएको छ । दुई किलोमिटर सडक ढलान भैसकेको र अन्य पूर्वाधारका काम समेत भैरहेको गौतमले बताउनुभयो । चित्रेदेखि सुदाला र पालिका मुकामदेखि गुल्मी शान्तिपुरसम्मको सडक कालोपत्रेका लागि पहल भइरहेको छ ।
म्याग्दी: शालिग्राम पाइने नदीका रूपमा परिचित कालीगण्डकीको शिला हिन्दुहरूको धार्मिक स्थल भारतको आयोध्या पठाउन आवश्यक अध्ययन थालिएको छ। मुस्ताङको दामोदर कुण्डबाट उत्पत्ति भएर म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वर हुँदै बग्ने कालीगण्डकी नदीको शिलालाई भारतको अयोध्यामा लगेर भगवान् रामको मूर्ति बनाउन प्रयोग गरिने भएको हो। शिला खोज तथा अध्ययन गर्न गण्डकी प्रदेश सरकारबाट खटिएको टोलीले बेनीस्थित कालीगण्डकी नदीमा शिलाको खोज तथा पहिचान र अध्ययन गरेको छ। बेनीदेखि उत्तर गलेश्वरधामसम्म तीन किलोमिटर क्षेत्रमा मात्र पाइने शिलालाई जनकपुरधाम हुँदै अयोध्या पठाउने तयारी भएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो। बेनीदेखि गलेश्वर क्षेत्र धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिएकाले यहाँको शिला अयोध्या लैजान नदीकिनारमा भएका शिला (ढुङ्गा)को अध्ययन गरेर टोली फर्किएको उहाँले बताउनुभयो। “कालीगण्डकी नदीबाट पवित्र बनेका सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुई थान शिलाको अध्ययन भएको छ,” उहाँले भन्नुभयो, “कालीगण्डकी नदीको शिला भारतको अयोध्यामा पु९याउँदा हाम्रो धार्मिक सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ।” भारतको राम जन्मभूमि तीर्थक्षेत्र कार्यालयले कालीगण्डकीको शिला पठाउन जानकी मन्दिरलाई गत कात्तिक १९ मा पत्राचार गरेको थियो। संस्कृति तथा पर्यटन मन्त्रालयले जनकपुरधाम र अयोध्याधामबीच सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भन्दै दुई थान शिला उपलब्ध गराउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेको थियो। मन्त्रिपरिषद् र गण्डकी प्रदेश सरकारको सहमतिपछि कालीगण्डकीमा शिला खोज र अध्ययन सुरु गरिएको नगरप्रमुख केसीले बताउनुभयो। हिन्दु धार्मिक मान्यताअनुसार शालिग्राम पाइने भएकाले कालीगण्डकी आफैँमा पवित्र नदी मानिन्छ। त्यसमा पनि कालीगण्डकी किनारको बेनी–गलेश्वर क्षेत्रमा ऋषिहरू पुलह, कपिल र जडभरतले तपस्या गरी सिद्धि प्राप्त गरेको पौराणिक मान्यता भएकाले यस क्षेत्रको शिला धार्मिक हिसाबले महत्वपूर्ण हुने धार्मिक विश्वास छ। “यो क्षेत्र पुण्यभूमि हो, कालीगण्डकी नदीको निरन्तर जलप्रवाहले पवित्र बनेका यहाँका शिला राम मन्दिरमा लैजान लागेका हौँ,” शिला अध्ययन, उत्खनन तथा स्थानान्तरण अभियानका सदस्य एवं कृष्णगण्डकी नदीका अध्येता कुलराज चालिसेले भन्नुभयो, “शिला तत्काल जनकपुरस्थित रामजानकी मन्दिरमा राखिनेछ।” उहाँका अनुसार शिला लिनका लागि अयोध्याबाट गुरु राजेन्द्रसिंह पङ्कज पोखरा आइपुग्नुभएको छ। नेपालका तर्फबाट उपहार भएकाले शिला उत्खनन गरी अयोध्यासम्म पु९याउने जिम्मा प्रदेश सरकारले लिएको चालिसेले बताउनुभयो। बेनी आएको टोलीले दुई–चारवटा शिलाको अध्ययन गरेको छ। कुन लैजाने टुङ्गो लगाएपछि बेनी नगरपालिकाले आवश्यक सहयोग गर्नेछ।
काठमाण्डौ: पोखरेली गायिकाहरुको संस्था हार्मोनी पोखराको आयोजनामा चौथो सँस्करणको साँगीतिक कार्यक्रम ‘टेस्ट अफ हार्मोनी’ हुने भएको छ । पुस २९ गते शनिबार पोखरा सभागृहमा हुने पछिल्लो सँस्करणको यो साँगीतिक कार्यक्रमको विशेष आकर्षणको रुपमा गायिका दीपानारायण झा रहनेछिन् । ुहार्मोनीुले दीपाप्रति सम्मान प्रकट गर्दै चौथो सँस्करणको आफ्नो कार्यक्रमको नाम नै ‘धुनहरुमा दीपानारायण झा’ राखेको छ । सदावहार गायिकाको छवि बनाएकी दीपानाराण झाले हार्मोनी पोखराको यो साँगीतिक कार्यक्रममा आफ्ना पुराना गीतहरु प्रस्तुत गर्नेछिन् । ‘पोखरेली संगीतप्रेमीहरुका लागि यो निकै गज्जब र उत्साहपूर्ण कुरा हो । विशेषगरि पोखरेली गायिकाहरुका लागि त झन् यो विशेष कार्यक्रमले ठुलो अर्थ राख्नेछ ।’ हार्मोनी पोखराका अध्यक्ष ईतु जोजिजुले भनिन ‘समग्र पोखराको लागि पनि यो साँगीतिक कार्यक्रम फलदायी हुने कुरामा हामी ढुक्क छौँ ।’ दीपानारायण झासँग स्टेज शेयर गर्दै उनले गाएका चर्चित सदावहार गीतहरु गाउने मौका पोखरेली गायिकाहरुले पाउनु भनेको ऐतिहासिक कुरा भएको जोजिजुले भनिन् । पुस २९ गते हुने साँगीतिक कार्यक्रममा दीपानारायण झासँगै पोखरेली गायिकाहरु ईतु जोजिजु, शितल थापा, अजुदा थापा, कौशल्या गुरुङ, मितु पाल सिंह, लक्ष्मी गिरी, प्रतिक्षा देवकोटा, देवी गुरुङ, रजनी ऋदम राई, प्रिया गुरुङ र प्रकृति श्रेष्ठले स्टेज शेयर गर्दै आफ्नो प्रस्तुती दिनेछन् । सो कार्यक्रममा विशेष सहयोगी गायकको रुपमा रामभक्त जोजिजु, विनोद बानियाँ, सन्तोष बस्याल, ज्ञान थापा र मिलन तमुको प्रस्तुती रहने हार्मोनी पोखराले जनाएको छ । कुसुमे रुमाल, चिया बारीमा, ईशाराले बोलाउनु पर्दैन, मोहनी माया, उकालीमा अघि अघि, सम्झना बिर्सना लगाएतका दर्जनौ दीपानारायण झाले गाएका गीतहरु सो कार्यक्रममा प्रस्तुत गरिने आयोजकले बताएको छ । खासगरि साँगीतिक क्षेत्रमा महिलाहरुको पनि बलियो उपस्थिती देखाउन ुहार्मोनी पोखराुको स्थापना भएको हो । र, संस्था गठन भएसँगै यसले विभिन्न कार्यक्रमहरु समेत गरिसकेको छ । यसअगाडि ‘लेजेन्डरी हार्मोनियस इभिनिङ, ‘टेस्ट अफ हार्मोनी’ र धुनहरुमा तारादेवी र अरुणा लामाु गरि संस्थाले तीनवटा सँस्करणका विशेष साँगीतिक कार्यक्रमहरु सफल बनाईसकेको छ । गायिकाहरुको एकतासँगै नयाँ पुस्ताका गायिकाहरुको लागि प्लेटफर्म तयार गर्न पनि यो संस्था विशेष रुपमा सकृय रहँदै आएको छ । गायिकाहरुको क्षेत्रमा विशेष ध्यान दिएर काम गर्ने संस्थाले यो बीचमा थुप्रै सम्मान तथा पुरस्कारहरु पनि पाएको छ ।