पोखरा:    प्रदेशसभाअन्तर्गत रहेका विषयगत समितिले दिएका निर्देशन प्रदेश सरकारले पालना गर्नुपर्नेमा जोड दिइएको छ ।  संसदीय पत्रकार मञ्च, गण्डकीले गण्डकी प्रदेशसभा सचिवालय र संसद् सहयोग परियोजन...

 पोखराः  प्रदेश खेलकुद परिषद गण्डकीले (आइतबार) पोखरामा एक कार्यक्रमकाबीच खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा खेल संघहरु नगद सहित सम्मान गरेको छ ।  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा पदक विजेताहरुलाई एक भव्य कार्यक्रमका विच नगद, प्रशंसापत्र तथा पौष्टिक आहारसहित सम्मान गरेको हो । नवौं राष्ट्रिय खेलकुदमा गण्डकी राष्ट्रिय खेलकुदको इतिहासमा नै पहिलो पटक सातै प्रदेश मध्ये प्रथम स्थान प्राप्त गर्न सफल थियो भने समग्रमा विभागिय टिम पश्चात चौथो स्थान प्राप्त गरेको थियो ।   प्रदेश खेलकुदले स्वर्ण पदक प्राप्त गर्न सफल एकल तथा टिमतर्फ गरी कुल ७२ जना, रजत पदक विजेता ९२ जना र काश्य पदक विजेता १६० जना गरी ३२४ जना खेलाडीलाई सम्मान गरेको छ । त्यसै गरी खेल प्रशिक्षक र व्यवस्थापक गरी ८२ जना र २८ खेलसंघहरु समेत नगद सहित सम्मानित भएका छन् ।  असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशमा सम्पन्न नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले ३२ स्वर्ण, ३१ रजत र ७६ काश्य पदकका साथ सातै प्रदेश मध्ये पहिलो स्थान ओगट्न सफल भएको थियो । परिषदले एकलतर्फ स्वर्ण पदक विजेतालाई नगद १८ हजार, रजतलाई १२ र काश्य पदक विजेतालाई ८ हजार प्रदान गरेको छ । त्यसै टिमतर्फ स्वर्ण पदक विजेतालाई नगद ९ हजार जनही, रजततर्फ ६ हजार र काश्य पदक विजेतालाई ४ हजार जनही प्रदान गरेको छ । त्यर्सै गरी प्रशिक्षकलाई स्वर्ण, रजत र काश्य पदक विजेतालाई क्रमश जनही नगद रु १० हजार, ८ हजार र ६ हजार, व्यवस्थापकलाई जनही नगद रु ८ हजार, ६ हजार र ४ हजार प्रदान गरेको छ भने खेल संघहरुलाई स्वर्ण पदक विजेतालाई नगद रु ४० हजार, रजत पदक विजेतालाई नगद रु ३० हजार र कास्य पदक विजेता संघलाई नगद रु २० हजार प्रदान गरेको छ ।  त्यसै गरी नवौं राष्ट्रियमा रेकर्ड व्रेक गर्ने आर्चरी खेलका जागृत गुरुङलाई थप नगद १० हजार सहित सम्मान गरेको छ ।  कार्यक्रममा खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल संघहरुलाई गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङ, मन्त्रालयका सचिव वद्रिनाथ अधिकारी, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ, प्रदेश खेलकुदका सदस्य सचिव घनश्याम पौडेल, नेपाली सेनाका पश्चिम पृतनापति दिपक बानियाँ, प्रदेश खेलकुदका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङ लगायतले नगद, सम्मानपत्र खादा लगाएर विजेताहरुलाई सम्मान गरेका थिए ।  सो अवसरमा प्रदेश खेलकुदको सफल नेतृत्व सम्हालेका संस्थापक सदस्य सचिव तेज बहादुर गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो भने नवौं राष्ट्रिय खेलकुदमा स्वयसेवी भूमिकामा रहेर महत्वपूर्ण योगदान दिने विष्णु बहादुर गुरुङ लगायतलाई सम्मान गरिएको थियो ।   

कास्की:  पद्म नर्सिङ होम कलेजमा अध्ययनरत विद्यार्थीहरु विभिन्न माग राख्दै आन्दोलित बनेका छन् । अनेरास्ववियुको सहयोगमा पद्म नर्सिङ होममा अध्ययनरत विद्यार्थीहरु कलेज अगाडी आज (बिहिबार) धर्ना दिदैं प्रशासनको ध्यानाकर्षण गरेका हुन् ।   बिएससी नर्सिङ तेस्रो तहमा अध्ययनरत विद्यार्थीहरुले पठनपाठनलाई निरन्तरता दिन माग गर्दैै नाराबाजीसहित विरोध गरे ।    सुनगाभा न्यूजँग बोल्दै एक विद्यार्थीले अन्तिम परिक्षा (बोर्ड परिक्षा) नजिकिदासमेत प्रशासनले पठनपाठन सुचारु गर्न नसकेको गुनासो गरिन् । ‘हाम्रो क्लास भएको छैन । प्राक्टिकल पनि बाँकी छ । फर्म भरिसक्यौ । रुटिङ आउने बेला भइसक्यो कतिबेला आउँछ थाहै हुन्न, उनले भनिन्, ‘हामी सरको घरमा पनि गएर कलेज ल्यायौ अनि १८ गतेको डेट दिनुभथ्यो  ।  तरपनि क्लास भएन अनि दाइहरुलाई (अनेरास्ववियु) बोलएम ।’   कलेज प्रशासनको चरम लापरबाही गरेकै कारण आन्दोलनमा उत्रनुपरेको विद्यार्थीहरुको भनाई छ । ‘हामीलाई पढाईको महत्व छ । केटी/केटी भएको कलेज भनेर होकी के हो हामीलाई एकदमै हेपेर क्लास नै गरिदिएको छैन, नाम नखुलाउने सर्तमा भनिन्, ‘अझ हामीले फि तिर्न एक दिन लेट गर्याै भने फाइभ हन्ड्रेड चार्ज लाइदिन्छ । हाम्रै पैसा खाछ अनि लुकेर हिडिराछ ।’   त्यस्तै प्रदर्शनमै रहेकी अर्का विद्यार्थीले आफुहरुलाई सरले झुक्याउने गरेको बताइन् । ‘सरले जहिल्यै झुट बोल्नुहुन्छ । इभन घरै हुदापनि खाली बाहिर छु भन्नुहुन्छ ।’ उनले दुखेसो पोखिन् ।   विद्यार्थीहरुका अनुसार गत भदौदेखि उनीहरुको पठनपाठन ठप्प छ । उनीहरुले अन्तिम परिक्षाका लागि फर्म भरिसकेका छन् ।  तर कलेज प्रशासनले भने बेवास्ता गरेको उनीहरुको तर्क छ ।   ‘बाबा आमालाई कसरी भन्ने ? त्यत्रो खर्च गरेर पढाउनुभछ, कोही होस्टेलमै बसेका छन् कति रेन्टमा बसेर पढेका छन्, सबैको एउटै मेन्टालिटी हुदैन । हामीलाई पढाईको महत्व छ । तर प्रशासनले आलटाल मात्रै गरिराछ ।’ एक विद्यार्थीले भनिन् ।   विद्यार्थीहरुले प्रदर्शनको क्रममा ‘हाम्रो माग पुरा गर, कलेज प्रशासन होसियार, हाम्रो भविष्यमाथि खेलवाड गर्न पाइदैन, अनेरास्ववियु जिन्दावाद, लगायतका नाराबाजी गरेका थिए ।    विद्यार्थीहरुको विरोध प्रदर्शनमा अनेरास्ववियुका विद्यार्थी नेता महेन्द उपाध्याय लगायतको टोलीले साथ दिएको थियो ।   

एक सातादेखि स्याङ्जाको क्षेत्र नम्बर २ अन्तरगत चापाकोटमा मतगणना हुन सकेको छैन । चापाकोट नगरपालिकाका वडा नम्बर ३, ४ र ५ मा रोकिएको मतगणना १२ गतेपछि मात्रै थाहा हुनेछ ।    मतदान केन्द्रमा बलपूर्वक केही व्यक्तिले फर्जी मतदान गरेको र करिब ९८ प्रतिशत मत खसेको भन्दै नेकपा एमालेले पुनः मतदानको माग गरेपछि त्यहाँ मतगणना हुन सकेको छैन ।    एमालेले पुनः मतदानको माग गरेपनि नेपाली कांग्रेसले मतगणना गर्नुपर्ने एकोहोरो अडान राखेको छ । यसैबीच, चापाकोट मतदानस्थलमा खटिएका मतदान प्रतिनिधिले गत बिहीबार बुथ कब्जा भएको भन्दै पत्रकारले सम्मेलन नै गरे ।    यस केन्द्रको मतगणना गर्न निर्वाचन आयोग स्याङ्जाले हरसम्भव प्रयास गरेपनि असफल भएपछि आयोगको केन्द्रीय कार्यालयको टोलीले त्यहाँ पुगेर अनुसन्धान गरेको छ ।    अनुसन्धानपछि टोली राजधानी फर्किएको र १२ गते यस विषयमा निर्णय हुने जानकारी प्राप्त भएको छ । अब यस केन्द्रमा मतदान हुने वा मतगणना हुने भन्ने विषय आयोगको प्रतिवेदनमा निर्भर हुनेछ ।    चापाकोट नगरपालिका ३ को दिसिङकोट आधारभूत विद्यालय, वडा नम्बर ४ को राम मन्दिर मावि दासिङ नरसेवा, वडा नम्बर ५ को जन सक्रिय आधारभूत विद्यालयमा र चिट्ठी पोखरी र दीन दयालु आधारभूत विद्यालय साठीमुरे ​मतदान केन्द्रमा समस्या देखिएकाे हाे ।    गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर मृत्यु भएका र विदेश गएका मान्छेको नाममा बुध कब्जा गरी मतदान गरेको एमालेको आरोप छ ।    यहाँ एमालेबाट पद्या अर्यालय, कांग्रेसबाट धनराज गुरुङ् मुख्य प्रतिष्पर्धामा छन् । त्यस्तै, राप्रपाबाट लालगोपाल अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङलगायतका प्रतिष्पर्धी रहेका छन् ।    स्याङ्जा १ बाट भने नेपाली कांग्रेसका उम्मेदवार राजु थापाले जीत हासिल गरिसकेका छन् । 

पोखराः   भोलि हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा कूल १६ लाख ६२ हजार दुई सय ४६ जना मतदाता सहभागी बन्दैछन् ।   हिमालपारिका जिल्ला मनाङ, मुस्ताङदेखि पहाडी जिल्ला कास्की, तनहुँ हुँदै तराईको जिल्ला नवलपुरसहित ११ वटा जिल्लामा समेटिएको गण्डकीमा यसपटकको निर्वाचनमा आठ लाख ६९ हजार पाँच सय ३८ जना महिला, सात लाख ९२ हजार ६ सय ९७ जना पुरुष र ११ जना अन्य मतदाता छन् ।    छिमेकी दुई ठूला राष्ट्रहरू चीन र भारतसम्म सिमाना जोडिएको गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि १८ वटा निर्वाचन क्षेत्र छन् भने प्रदेश सभातर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् ।   प्रदेशको राजधानी रहेको कास्की जिल्लामा तीनवटा निर्वाचन क्षेत्र छन् । यसपटकको निर्वाचनमा जिल्लामा दुई लाख ६४ हजार चार सय ५६ जना मतदाता निर्वाचनमा सहभागी हुन पाउँनेछन् । जसमध्ये एक लाख ४० हजार तीन सय ६९ महिला, एक लाख २४ हजार ८३ पुरुष र चार जना अन्य छन् । निर्वाचनमा जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ८९ जनाको प्रतिस्पर्धा छ ।   तनहुँमा कूल दुई लाख ४४ हजार तीन सय ४० मतदातामध्ये महिला एक लाख २७ हजार दुई सय ६ जना छन् भने पुरुष एक लाख १७ हजार एक सय ३४ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभामा कूल ५७ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।   गोरखामा दुई लाख २० हजार ६ सय ३७ जना मतदातामध्ये महिला एक लाख १० हजार चार सय २१ र पुरुष एक लाख १० हजार एक सय ८९ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी ४९ जना चुनावी मैदानमा छन् ।   स्याङ्जामा कूल दुई लाख ४४ हजार ८९ जना मतदाता छन् । जसमध्ये महिला एक लाख २४ हजार सात सय ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि ५१ जना चुनावी प्रतिस्पर्धामा छन् ।   पूर्वी नवलपरासीमा दुई लाख ३३ हजार ९५ जना मतदाता रहेकामा एक लाख २३ हजार पाँच सय ४० महिला र एक लाख नौ हजार पाँच सय ५१ पुरुष छन् । यहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल ६८ जनाको उम्मेदवारी छ ।   बागलुङमा कूल एक लाख ९२ हजार दुई सय २७ जना मतदाता रहेकामा ९८ हजार ६ सय ४३ महिला र ९३ हजार पाँच सय ८४ पुरुष छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि जिल्लामा ३१ जना चुनावी मैदानमा छन् ।     मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी, लम्जुङमा प्रतिनिधिसभाका लागि एक÷एक निर्वाचन क्षेत्र भएका जिल्ला हुन् । थोरै मतदाता रहेको मनाङमा कूल पाँच हजार नौ सय ७६ मध्ये महिला तीन हजार ९४ र पुरुष दुई हजार आठ सय ८२ जना छन् । जिल्लामा प्रतिनिधिसभा प्रदेशसभा गरी छ जनाको उम्मेदवारी छ । प्रदेशसभा २ मा प्रदेशसभा सदस्यका लागि राजीव गुरुङ (दीपक मनाङे) निर्विरोध भइसक्नुभएको छ ।    पर्वतमा कूल मतदाता महिला ६१ हजार नौ सय ९८ र पुरुष ६० हजार ६ सय ५१ जना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार रहनुभएको छ ।   लमजुङमा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य गरी कूल २२ जनाको उम्मेदवारी छ । जिल्लामा कूल एक लाख ३३ हजार पाँच सय ५९ जना मतदातामध्ये महिला मतदाता ६८ हजार दुई सय ८८ जना छन् भने पुरुष मतादाता ६५ हजार दुई सय ७१ जना छन् ।   म्याग्दीमा कूल ८६ हजार एक सय २० जना मतदाता रहेकामा ४४ हजार ६४ महिला, ४२ हजार ५५ पुरुष र एकजना अन्य छन् । प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि जिल्लामा कूल १९ जनाको प्रतिस्पर्धा छ ।   कूल १० हजार नौ सय ५७ जना मतदाता रहेको मुस्ताङमा महिला पाँच हजार पाँच सय ८१, पुरुष पाँच हजार तीन सय ७५ र अन्य एकजना छन् । जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी कूल नौजनाको प्रतिस्पर्धा छ ।   यस निर्वाचनका लागि प्रदेशमा २८ हजार कर्मचारीहरू परिचालन भएको प्रदेश निर्वाचन कार्यालय, पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । सबै मतदान केन्द्रहरूमा निर्वाचन सामग्रीसहित मतदान अधिकृतहरू पुगी निर्वाचन प्रक्रियाका कामहरू गरिरहनुभएको उहाँले बताउनुभयो ।

पोखराः  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै, कसैको प्रभावमा नपरी स्वतन्त्ररुपमा योग्य उम्मेदवारको छनौटका लागि मतदानमा संलग्न हुनका लागि प्रदेशवासीमा अपील गरेका छन् ।  प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन २०७९ का सन्दर्भमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले लोकतन्त्रमा विश्वास गर्ने, जनताको अधिकारको रक्षा गर्न सक्षम, विकासप्रेमी, इमान्दार, कर्तव्यनिष्ठ र सेवा भावले ओतप्रोत उम्मेदवारलाई छनौट गर्न सकेमा मात्र आगामी ५ वर्ष हामीले चाहे बमोजिमको सेवा प्राप्त गर्न सकिने उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘हाम्रो मत नै मुलुक रुपान्तरणको आधार भएकाले मतदानको अधिकार विवेकपूर्णढंगबाट उपयोग गर्नुहुनेछ भन्नेमा आश्वस्त छु ।’   मुख्यमन्त्री पोखरेलले लामो र कठोर बलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका उपलब्धि रक्षा गर्दै मुलुकलाई आर्थिक तथा सामाजिक उन्नयनको मार्गमा लैजान सक्ने प्रतिनिधि छनौट गर्नु आवधिक निर्वाचनको मुल ध्येय रहेको बताएका छन् ।   मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई भयरहित, स्वच्छ एवं मर्यादित तबरले सम्पन्न गर्ने, गराउने दायित्य सरकारसँगै राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र एवं आमसञ्चार माध्यम रहेको सन्देशमा उल्लेख छ । उनले भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षणमा खटिने राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था एवं सरोकारवाला सबै  भयरहित वातावरणमा निश्पक्ष निर्वाचन सम्पन्न गराउन जुट्नुुहुनेछ भन्नेमा पूर्ण विश्स्त छु ।’  आवधिक निर्वाचन लोकतन्त्रको महत्वपूर्ण आधार र सुन्दर पक्ष रहेको भन्दै मुख्यमन्त्रीद्वारा जारी सन्देशमा भनिएको छ, ‘संविधानसभामार्फत् २०७२ मा जारी भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधानमा व्यवस्था भएबमोजिम स्थापित ३ तहका सरकारमध्ये प्रदेश संरचनाको पहिलो १ कार्यकाल सफलतापूर्वक सम्पन्न भई विशेष अनुभवका साथ अहिले हामी दोस्रो कार्यकालका लागि निर्वाचनमा जुटिरहेका छौं ।’   प्रतिनिधि सभाको पनि निर्वाचन एकसाथ सम्पन्न हँन गइरहेको सन्दर्भमा उनले सम्पूर्ण प्रदेशवासीमा बधाई ज्ञापन गर्दछु । उन्नत अवस्थाको शासन प्रणाली उपलब्ध गराउन बलिदानी गर्ने सम्पूर्ण सहिदप्रति उनले श्रद्धाञ्जली अर्पण गर्दै अग्रजप्रति कृतज्ञता व्यक्त गरेका छन् ।  संघीयताको पहिचान भनेकै प्रदेश संरचना हो । संघ र स्थानीय तह कुनै न कुनै रुपमा यसअघि पनि अस्तित्वमा थिए । तर प्रदेश संरचना हाम्रा लागि नितान्त नौलो अभ्यास हो । सन्देशमा उल्ल्ेख छ, ‘भौतिक संरचना, जनशक्ति व्यवस्थापनदेखि कानुनी अस्पष्टता लगायतका समस्या झेल्दै ५ वर्षको अवधिमा प्रदेश संरचनाले सशक्तरुपमा आफ्नो पहिचान स्थापित गराएको छ ।’ एक सरकारकोरुपमा सञ्चालित हुन आवश्यक सम्पूर्ण तयारी यसले पूरा गरेको दाबा उनको छ ।   आर्थिक तथा सामाजिक उन्नयनका लागि महत्वपूर्ण कार्य आरम्भ भएता पनि नागरिकका चाहना र आकांक्षाहरु पूरा हुन नसकेको उनको स्वीकारोक्ति छ । उनले भनेका छन्, ‘बितेको कार्यकालबाट पाठ सिकेर संघीय शासन प्रणालीलाई व्यवस्थित गर्नका लागि अबको समय खचिर्नुपर्छ ।’  धेरैभन्दा धेरै प्रदेशबासीको संलग्नतामा यो निर्वाचन निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न होस् भनी उनले शुभकामना व्यक्त गरेका छन् ।     

नवलपरासी:  (बर्दघाट-सुस्तापूर्व)को कावासोती नगरपालिकाले यसै शैक्षिकसत्रदेखि स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  नगरपालिकाले सबै विद्यालयमा स्थानीय पाठ्यक्रम ‘मेरो कावासोती : मेरो गौरव’ लागू गरेको हो ।   विद्यालय शिक्षामा राष्ट्रिय पाठ्यक्रमले नसमेटेको नैतिक शिक्षासहित स्थानीय विषयवस्तुलाई प्राथमिकतामा राखेर पाठ्यक्रम तयारी गरी लागू गरिएको कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले बताउनुभयो । “स्थानीय पाठ्यक्रममा हाम्रो नगरपालिकाभित्रको प्राकृतिक सम्पदा, स्थानीय पेसा व्यवसाय र आर्थिक क्रियाकलाप, सामाजिक संस्था, आनिबानी तथा स्वास्थ्य, प्राकृतिक प्रकोप र जोखिम व्यवस्थापनका साथै यहाँको संस्कार, संस्कृति तथा रहनसहन, योग शिक्षा, अतिथि आदर सत्कारलगायतका विषयवस्तु समेटेका छौँ”, नगरप्रमुख भुसालले भन्नुभयो ।   उहाँले पाठ्यक्रममा समग्र कावासोतीभित्रको आर्थिक, सामाजिक, भौतिक तथा शासकीय पक्ष, वनवातावरण, आचरण, बानीव्यहोरा, जनसाङ्ख्यिक अवस्थाका बारेमा जानकारी दिएको बताउनुभयो । विद्यार्थीलाई कक्षा कोठाभित्र पढाएर मात्रै नहुने भएकाले व्यवहारिक सिकाइ प्रदान गर्नुपर्छ भन्ने उद्देश्यले स्थलगत सिकाइलाई स्थानीय पाठ्यक्रममा अनिवार्य गरिएको नगरप्रमुख भुसालले बताउनुभयो ।   कावासोतीका नगर शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई व्यवहारिक ज्ञान प्रदान गर्ने र अनिवार्य सीप सिकाउने गरी स्थानीय पाठ्यक्रमका विषयवस्तु तयार पारिएको बताउनुभयो । “हामीले तयार पारेको स्थानीय पाठ्यक्रमको अध्ययन–अध्यापन नगरभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयमा सुरु भइसकेको छ”, शिक्षा अधिकारी भण्डारीले भन्नुभयो, “नगरभित्रका केही विद्यालयले स्थानीय पाठ्यक्रममा आधारित हुँदै व्यवहारिक ज्ञान प्रदान गर्न स्थलगत सिकाइका लागि विद्यार्थीलाई जोड्न सुरु गरिसकेका छन् ।” यहाँका विद्यालयले व्यवहारिक सिकाइअन्तर्गत नगरपालिका कार्यालय, यहाँका धार्मिक र पर्यटकीयस्थल, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदामा अवलोकन भ्रमण गराइसकेका भण्डारीले बताउनुभयो ।   कावासोती नगरपालिका शिक्षा शाखा अधिकृत राजन पाण्डेले नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रमअनुसार अहिले नगरका विभिन्न विद्यालयले स्थलगत सिकाइमा विद्यार्थीलाई संलग्न गराउने सिलसिला बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “केही विद्यालयले नगरपालिका कार्यालय, केहीले पर्यटकीयस्थल, सार्वजनिकस्थल तथा सामाजिक सङ्घ संस्था, धार्मिकस्थल, स्वास्थ्य संस्थामा स्थलगत अध्ययन तथा अवलोकन गराएर स्थानीय पाठ्यक्रममा समावेश व्यवहारिक ज्ञान प्रदान गर्ने विषयलाई सार्थकता दिँदै छन् ।”   नगरपालिकाले कक्षा ८ सम्मका विद्यार्थीका लागि अनिवार्य विषय बनाएर एक सय पूर्णाङ्कको पाठ्यक्रम नै लागू गरेको हो । पाठ्यक्रम लागू भइसकेपछि आगामी दिनमा व्यवहारिक सिकाइको सिलसिला नियमितरूपमा नै सञ्चालन हुने पाण्डेले बताउनुभयो । नगरपालिकाले राष्ट्रिय पाठ्यक्रममा आधारित हुँदै स्थानीय पाठ्यपुस्तक निर्माण गर्ने कार्य गरिहेको पाण्डेको भनाइ छ । यसै शैक्षिकसत्रभित्र कक्षा ३ सम्मको स्थानीय पाठ्यपुस्तक लेखनकार्य सम्पन्न गर्ने गरी काम भइरहेको पाण्डेले बताउनुभयो ।

बागलुङ:   उच्च पहाडको शिरमा छ रिगताल । चिसो हावापानी, शान्त वातावरण र मनै लोभ्याउने चराचुरुङ्गीको चिरबिर आवाज । आन्तरिक पर्यटकको चहलपहल भइरहने पातीहाल्ने र रिगताल यतिबेला धेरै पर्यटकलाई स्वागत गर्न कुरिरहेका छन् । निसीखोलाको शिर मानिने रिगतालबाट देखिने मनमोहक दृश्यले हजारौँलाई लोभ्याएको छ ।   पातीहाल्ने र रिगतालको सौन्दर्यसँग रमाउन पछिल्लो समय दैनिक सयौँ पर्यटक यहाँ आउने गरेका छन् । गण्डकी प्रदेशको निसीखोला गाउँपालिका र लुम्बिनी प्रदेशको पूर्वीरुकुमको सिमानामा रहेको यो ताल निसीखोला गाउँको चिनारीका रूपमा लिइन थालिएको छ ।   जब राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गले जोडियो, तब यसको प्रचार–प्रसार तीव्ररूपमा हुन थाल्यो । गोठालेले पानी पिउन प्रयोग गर्दै आएको रिगताल पर्यटकीय गन्तव्यका रूपमा विकास हुने परिकल्पना स्थानीयवासीले गरेका थिएनन् । अहिले यो क्षेत्र नै पर्यटकका लागि आकर्षणको केन्द्र भएको छ ।   सो क्षेत्रमा पुस–माघमा पर्यटक गाडी लिएरै हिउँ खेल्न र वैशाख, जेठ र असारमा गर्मी छल्न र हरियाली प्रकृतिसँग रम्न जाने गर्छन् । स्थानीय विकास घर्तीमगर लोकमार्ग कालोपत्र भएपछि यहाँ पर्यटकको आगमन बढेको बताउनहुन्छ । “पहिले–पहिले त यहाँ खासै मान्छे आउँदैनथे, यो ठाउँमा गोठालाले भेडाबाख्रा र गाईभैँसी चराउने गर्थे, मोटरबाटो कालोपत्र भएपछि त दैनिक सयौँ मान्छे गाडी लिएर घुम्न आउने गरेका छन्, अहिले त ताल पनि राम्रो बनेको छ, पहिलेको जस्तो छैन ।” यहाँ अहिले सडकले गर्दा बस्ती विस्तार हुन थालेको छ । उहाँ भन्नुहुन्छ, “अझै पनि यहाँबाट गोठालाले पानी भरेर उपयोग गर्ने गर्छन्, यो अहिले व्यवस्थित भएको छ, गाउँपालिकाले संरक्षण गर्न थालेको छ, पर्यटक आउन थालेका छन् ।” पातीहाल्ने मध्यपहाडी लोकमार्गमै पर्छ भने रिगताल पातीहाल्नेबाट १५ मिनेट उत्तरतर्फ पर्छ ।   अहिले उक्त तालसम्म पुग्नका लागि निसीखोला गाउँपालिकाले सडक निर्माण गरेको छ । जसले गर्दा पैदल र गाडीमा पनि सहजै तालमा पुग्न सकिन्छ । ताललाई व्यवस्थित गराउनका लागि निसीखोला गाउँपालिकाले पूर्वाधार निर्माण गर्न थालेको गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गाउँपालिकाले यस क्षेत्रको प्रचार–प्रसार र पूर्र्वाधार निर्माणका गर्न थालेको अध्यक्ष घर्तीमगरको भनाइ छ ।   उहाँले यसको विकासका लागि डिपिआर तयार पारेको, तालसम्म पुगको सडकलाई व्यवस्थापन गर्ने र ताललाई फराकिलो बनाउने योजना बनाएको बताउनुभयो । “ताललाई थप आकर्षक बनाउन केही फराकिलो बनाउने, त्यस वरपर व्यवस्थित पार्क निर्माण गर्ने गरी योजना बनाएका छौँ, केही काम भएका छन् भने थप कामका लागि अबको बजेटबाट गर्ने छौँ, यहाँका समस्या समाधान गरेर यस क्षेत्रको विकास गर्ने खाका तयार पारिसकेका छौँ, केही समयपछि यहाँ पूर्वाधार निर्माण हुनेछन् ।”   रुकुमपूर्वको सदरमुकाम रुकुमकोटबाट घुम्न आउनुभएका प्रवेश केसीले सामाजिक सञ्जालमा जिकै भाइरल भएकोले हेर्न आएको बताउनुभयो । उहाँले यो ठाउँमा आउने सडक पनि राम्रो भएको हुँदा बिदाको दिनमा घुम्न आउन सकिने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “ यो ताल निकै रमणीय रैछ, मैले त फेसबुकमा देखेको थिएँ, अहिले यहाँ प्रत्यक्ष उपस्थित भएर घुम्न पाउँदा निकै ‘एक्साइटेड’ भएको छु ।”   रिगतालको नाम खासगरी मगर खाम भाषाबाट बनेको हो । ‘रि’ को अर्थ पानी र ‘ग’ को अर्थ गहिरो अर्थात् एकै ठाउँ जमेको भन्ने बुझाउँछ । यस तालबाट बागलुङ जिल्लाको विभिन्न स्थान, रोल्पा, रुकुम, गुल्मी, प्युठान, अर्घखाँची, पर्वतलगायतका ठाउँको दृश्य देख्न सकिन्छ । अन्नपूर्ण, धवलागिरिलगायतका दर्जनौँ हिमशृङ्खला र उच्च पहाडी क्षेत्रको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ ।

पोखरा:   ल्याण्डफिल्ड साइड व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको पोखरा महानगरपालिकाले सामाजिक सञ्जालहरूमा गरिएको हल्ला जस्तो तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको महानगरका प्रमुख धनराज आचार्यले स्पष्ट पार्नुभएको छ ।   ‘आगामी जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने कुरा हामी सबैलाई थाहा छ, त्यसका लागि पोखरा महानगरपालिकाले व्यवस्थापन गर्नुपर्ने ल्याण्डफिल्ड साइडको व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो, प्रमुख आचार्यले भन्नुभयो, अहिलेसम्म हामीले विभिन्न सात स्थानको अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भैसकेको छैन, स्वाभाविक रूपमा हामी धेरै ठाउँमा हेर्न गइरहेका छौँ, स्थानीयहरूले अनुमान लगाउनु भएको छ, शङ्का गर्नुभएको छ, यहाँ त्यहाँ भनेर सामाजिक सञ्जालमा चर्चा गरिएको छ, तर हामीले ल्याण्डफिल्ड साइड व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ निर्णय भैनसकेको विषयमा अनावश्यक रूपमा सामाजिक सञ्जालहरूमा भ्रम छर्ने काम नगर्न उहाँले सम्बन्धित सबैलाई आह्वानसमेत गर्नुभयो  ।  तर, हाल पोखरा १४ को ल्याण्डफिल्ड साइडमा जसरी डम्पिङ गर्ने गरी फोहोरको व्यवस्थापन नगरिने उहाँले स्पष्ट पार्नुभयो ।  ‘साँचो कुरा के हो भने अहिले हामीले वडा नं। १४ मा जस्तो गरेर डम्पिङ साइड बनाउने होइन, अव जुनसुकै साइडमा राखे पनि त्यसलाई व्यवस्थित हिसाबले प्रशोधन केन्द्र सहित राखिन्छ, त्यो औद्योगिक क्षेत्र भित्र पनि राख्न सकिन्छ, बस्ती कै बिचमा पनि राख्न सकिन्छ, त्यस कारण यसको विषयमा तर्सनु पर्ने कुनै कारण छैन, प्लान्ट कस्तो राख्ने भन्ने विषयमा सार्वजनिक सुनुवाइ नै गरेर हामीले जानकारी गराउँछौँ ।’ तर, निर्णय नै नभएको कुरालाई अतिरञ्जित गरी नागरिकहरूमा भ्रम सृजना गर्ने कार्य तत्काल बन्द गर्न उहाँले सचेत गराउनुभयो ।  पोखराको फोहोर व्यवस्थापन देखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्त्वपूर्ण कुराहरू सारा पोखरेलीहरूको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यक पर्ने उहाँले बताउनुभयो । राजनीतिक दल, स्थानीय सामाजिक सङ्घसंस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्ने प्रमुख आचार्यले बताउनुभयो ।   क्यालीब्रेसन फ्लाइटको अन्तिम तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आफूहरूले पुरै सहयोग गर्ने उहाँले प्रतिबद्धता समेत जाहेर गर्नुभयो । ‘हाल रिठ्ठेपानीको डाँडा कटानको काम भइरहेको छ, त्यहाँको माटोले हाल सञ्चालनमा रहेको ल्याण्डफिल्ड साइड पुर्ने काम जारी छ, केही दिनमा क्यालीब्रेसन फ्लाइट समेत हुदैँछ, प्रमुख आचार्यले भन्नुभयो, हामी ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्ने क्रममा छौँ, यसो गर्दा केही अल्पकालीन र केही दीर्घकालीन हिसाबले ल्याण्डफिल्ड साइडको व्यवस्थापन गर्दैछौँ ।’ सुरुमा अल्पकालीन र पछि दीर्घकालीन व्यवस्थापन गरिने बताउँदै उहाँले विमानस्थल सञ्चालनका लागि कुनै हालतमा व्यवस्थापन गर्ने उहाँले अठोट व्यक्त गर्नुभयो ।       

पोखरा: आँखैमा ठोकिने अन्नपूर्ण हिमशृंखला । गाउँ मुन्तिर अविराल बगिरहने मादी । पूर्वतर्फ बडेमानको पलेंची अनि पश्चिमतर्फ झिजेंं डाँडा जसको कारण ताङतिङमा ढिलो घाम लाग्छ अनि दिउँसै डुब्छ । कास्कीको कर्नाली अर्थात् उत्तर– पूर्वी भेग जहाँ केहि दशक अघिसम्म मोटरबाटो पुगेको थिएन । टेलिफोन सुविधा थिएन । कास्की कै अत्यन्त विकट मानिने यस गाउँबाट पोखरा पुग्न पुरै दिन लाग्थ्यो ।    २० को दशकको अन्ततिर त्यसै गाउँमा बेद बहादुर गुरुङ जन्मिए । पोखरादेखि जम्मा २७ किलो मिटर मात्र भएतापनि गाउँ र विकासको दुरी कयौं माइल टाढा थियो । गाउँमा अभाव थियो । अस्पताल थिएन । राम्रो स्कुल थिएन । त्यस्तो विकट भूगोल जन्मिएको युवाको सपनाको आकार शायदै ठुलो हुन्छ । तिनै युवाहरुको भिडमा बेद बहादुर अर्थात् श्याम गुरुङ पनि एक थियो । ‘जुन भूगोलमा घाम नै १० बजेपछि लाग्छ अनि ३ नबज्दै घाम डुब्छ । त्यहाँका मान्छेले देख्ने सपना नै के ठुलो हुन्थ्यो र ? ’ बेद बहादुर सम्झिन्छन् । अन्याय, अत्याचार, शोषण, दमन, अभाव अनि असमानताले विद्रोह जन्माउछ । समयको रोटे पिङ घुम्दै जाँदा तत्कालिन पञ्चायतको घोचाइले बेद बहादुरको दिमागमा बिद्रोहको चेत भरिदियो। दौतारीहरु लाहुरे भएर गए तर बेद बहादुर लाहुर जान मन लागेन । बरु मार्क्स–एंगेल्सद्वारा लिखित घोषणापत्रले तान्न थाल्यो उनलाई । विकट भूगोलमा जन्मेका उनलाई मुक्तिको सपना देख्न थाले । फलस्वरूप आठ कक्षा पढ्दा पढ्दै  बि.स. २०४५ सालमा अखिलमा आवद्ध भए । ०४६ को आन्दोलनमा भाग लिए । पञ्चायत नै अन्याय, अत्याचार, शोषण, दमन, अभावको जड हो भन्ने कुरा बुझ्न थाले अनि पञ्चायत बिरुद्द भोकै लडे । त्यसपछि बल्ल उनले सपना देख्न थाले – मुलुकलाई सहि दिशामा लैजान राजनीतिमा होम्मिने । बुबा टेकशाही गुरुङ र आमा काँबिरी गुरुङको कोखमा बि.स. २०२७ साल जेठ २३ गते शुक्रबार तत्कालिन नामर्जुङ गाबिस वडा नम्बर ५ पण्डित टोल हालको मादीगाउँपालिका वडा नम्बर २ ताङतिङमा जन्मेका थिए । उनका बुबाले देहरादुनमा अध्ययन गरेर फर्केपछि गाउँको हेडमास्टरको रुपमा काम गरेका थिए ।  सोही विधालयमा उनले प्राथमिक तहसम्म पढे । त्यसपछि करिब १ बर्ष दैनिक ४ घण्टा हिडेर नजिकको गाउँमा पढे । एस एल सी भने पोखरा स्थित अमर सिंह माबिबाट उतिर्ण गरेका थिए । देशमा प्रजातन्त्र पुनर्स्थापना भएपछि बि।स। २०४८ सालमा उनका बुबा टेकशाही गुरुङ नेपाली कांग्रेसका तर्फबाट तत्कालिन नामर्जुङ गाबिसका अध्यक्ष बने । पारिवारिक पृष्ठभूमि कांग्रेस भएका बेद बहादुरले सुरुमा घरबाटै बिद्रोह गरे । कम्युनिस्टका झण्डा बोकेर हिडे । गाउँ गाउँमा कम्युनिस्टका पर्चा बाँड्न थाले । बुबा मात्र नभई उनका काका मेजर दिपक गुरुङपनि कांग्रेसका पूर्वसांसद थिए । बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील, निडर, फरासिला स्वाभावका बेद बहादुर कम्युनिस्ट विचारधाराबाट निकै प्रभावित भए । त्यसपछि उनी कम्युनिस्ट आन्दोलनमा होम्मिए । उनी बि.स. २०४५ सालमा अनेरास्ववियु एकताको पाँचौ  प्रारम्भिक कमिटी सदस्य थिए । त्यसपछि बि.स. २०४६ देखि ४८ सम्म अनेरास्ववियु कास्की जिल्ला कमिटीको सदस्यको रुपमा काम गरे । बि.स. २०४८ मा प्ररायु संघ कास्की जिल्ला कमिटीको सदस्य भए । बि.स. २०५२ मा नेकपा एमाले कास्की जिल्ला ईलाका नं ५ को उपसचिव भएर आफ्नो जिम्मेवारी पुरा गरे । युद्धकालिन समयमा पनि उनले पार्टीको लागि सक्रिय राजनीति गरेका थिए । पार्टीमा इमान्दार, निडर र कुशल संगठकको रुप परिचित छन् । पञ्चायतविरुद्धको आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै विद्यार्थी जीवनबाटै राजनीतिमा होमिएका बेद बहादुरले बि.स. २०५८ सालमा नेकपा एमाले कास्की जिल्ला  ईलाका नं ५ को सचिवको रुपमा काम गरे।   बि.स. २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले राजनैतिक ‘कु’ गरेर निरंकुश शासनको सुरुवात गरे । सम्पूर्ण राजकीय अधिकार आफ्नो हातमा लिई राजनीतिक सहमतिका आधारमा बनेको सरकारलाई अपदस्थ गरे । जनताका मौलिक अधिकार निलम्बन गरे । राजाको यस कदमबाट असह्य भएपछि सम्पुर्ण राजनैतिक दलका नेता अनि जनता सडकमा निस्किए । त्यो हुलमा उनी पनि थिए । ०६२÷०६३ सालको आन्दोलनमा उनले अग्रणी भूमिका नै खेले ।  प्रहरीको लाठ्ठीले घाइते भए । प्रहरीले फालेको दर्जनौं सेल आश्रु ग्यासको प्रहार थेगे । ०६२÷०६३ सालको आन्दोलनमा उनी २१ दिन हिरासतमा  बिताएका थिए । उनी बि.स.२०६४ मा नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य बने । त्यसपछि क्रमशः २०६६ मा नेकपा एमाले कास्की जिल्ला सचिवालय सदस्य, बि।स।२०६७ मा नेकपा एमाले रास्टृय प्रतिनिधि परिषद निर्वाचित सदस्य र बि.स.२०६८ देखि नेकपा एमाले गण्डकी अञ्चल कमिटी सदस्य बनेका थिए । बि.स. २०७४ पछि नेकपा गण्डकी प्रदेश कमिटी सदस्यको रुपमा काम गरे भने  बि.स. २०७८ मा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बने । उनले नेपाल लोकतान्त्रिक तमु संघको सस्थापक संयोजक र संस्थापक महासचिवको रुपमा काम गरिसकेका छन्  भने संस्थाको बर्तमान अध्यक्ष पनि हुन् । उनी मादी गाउँपालिकाको संस्थापक अध्यक्ष पनि हुन् । बि.स. २०७४ सालको निर्वाचनमा भारी मतान्तर सहित विजयी भएका थिए। आफ्नो कार्यकालमा त्यस क्षेत्रका सामाजिक विकास, आर्थिक विकास, पूर्वाधार निर्माण, नीति निर्माणमा महत्वपूर्ण काम गरेका छन् । कलाकारिता जीवन उनलाई कुशल राजनीतिककर्मी मात्र नभई कलाकारको दृस्टीकोणबाट पनि चिन्ने गर्छन् । राजनीतिसंगै लामो समय कलाकारितामा लागेका बेद बहादुर गुरुङ श्यामले थुप्रै गुरुङ सिनेमामा अभिनय र निर्देशन गरेका छन् ।  विशुद्द गुरुङ सिनेमा बनाएर गुरुङहरुको संस्कार संस्कृति जोगाउन योगदान पुर्याएका छन् । सिनेमा मात्र नभई गुरुङ  संस्कार संस्कृति माथि लेख, रचना, गीत संगीत सिर्जना गरेका छन्। बि.स. २०५२ सालमा बनेको गुरुङ चलचित्र कुहिरो भित्रबाट अभिनय सुरु गरेका थिए । त्यसपछि गोठालोमा अभिनय गरे । गोठालोमा समावेश गरेको आशामारा चुरोट बोलको गीतमा नृत्य गरे जुन चर्चित गायक युक्त गुरुङले गाएका थिए।  त्यसपछि उनको कलाकारिताको चौतर्फी गुनगान हुन थाल्यो।  पछि आफ्नै निर्देशनमा हाम्रो गाउँ घर नामक गुरुङ चलचित निर्माण गरे । उनले दर्जनौँ चलचित्र निर्माण गरेका छन्।  त्यसकै कारण उनी निकै लोकप्रिय छन् । उनले गुरुङ चलचित्रकर्मीहरुको साझा संस्था जिफान अर्थात गुरुङ फिल्म एसोसियसनमा अध्यक्ष रुपमा काम गरेर समेत आफ्नो भाषा, संस्कार अनि संस्कृति जोगाउन योगदान दिएका छन्।  उनी जिफानमा दुई कार्यकाल अध्यक्षका जिम्मेवारी बहन गरिसकेका छन् । आसन्न निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट उनी चुनावी मैदानमा छन्। कास्की १ ख बाट प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दिएका बेद बहादुर ५ वर्षे योजना सुनाउन  अहिले मतदाता भेट्न घरदैलोमा व्यस्त छन्।