म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

पोखरा:   गण्डकी प्रदेश सरकारलाई नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले निजी सवारी साधन (रातो प्लेट) लाई यात्रु ओसारपसार गर्न दिनेगरी कार्यविधि बनाउन लागेको भन्दै २ दिने अल्टिमेटम दिएको छ । महासंघले पोखरामा पत्रकार सम्मेलनमार्फत आफ्ना मागहरु ४८ घण्टामा पूरा नगरे चरणबद्ध आन्दोलनका कार्यक्रम गर्ने महासंघ गण्डकी प्रदेशका सचिव योगेन्द्र बहादुर केसीले बताए ।    उनले प्रदेश सरकारलाई ७ बुँदे माग राखेको बताउदै तत्काल सरकारले आफुहरुको माग सम्बोधन नगरे यही १३ गतेदेखि आन्दोलमा उत्रने बताए ।   निजी सवारी (दुई तथा चार पाङ्ग्रे) लाई सार्वजनिक सवारी सरह यात्रु ओसारपोसार गर्न बनाउन लागेको कार्यविधीलाई तत्काल खारेज गर्नुपर्ने महासंघको माग छ ।   यस्तै यातायात प्राविधिकरण गठन गरि यातायात सञ्चालनको कार्यविधि तयार गर्न, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्न, श्रम आयोग गठन, वैज्ञानिक भाडादर समयानुकुल समायोजन गर्न, सडक सुरक्षा योजना लागू गर्नुपर्ने उनीहरुको माग छ ।   आफ्ना मागहरु तत्काल सम्बोधन नभए यही १३ गतेदेखि सवारी साधन घर तथा ग्यारेजमा राखी लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नगर्ने यातायात व्यवसायीको अडान छ ।

म्याग्दी:   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक दैनिक अवरुद्ध हुन थालेपछि म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमाना बैसरी अँधेरीखोलामा पहिरो रोकथामको काम थालिएको छ ।   म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिरो पन्छाएर थप खस्न नदिन ‘रक एङ्करिङ’ प्रविधि प्रयोग गरेर रोकथामको काम थालिएको हो ।   बेनी–जोमसोम–कोरला सडक आयोजना सबइन्जिनियर सोहनजङ्ग कार्कीले सडक माथिको पहाडमा ड्रिलिङ गरेर रड राखी, ढलानसहितको बेस बनाएर पहिरो रोकथामको काम थालिएको हो । रक एङ्करिङ गर्न ३० मिटर ‘ड्रिलिङ’ गरेर धमाधम रड राखिदैछ ।   पहाडमाथि पर्खाल बनाएर पहिरो रोक्ने संरचना बनाउन लागिएको सबइन्जिनियर कार्कीले बताउनुभयो ।   राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी खण्डको ५० भन्दा बढी ठाउँमा पहिरो खस्ने, सहायक खोलाबाट आएको बाढीले बगाउने र कालीगण्डकीले कटान गर्ने समस्या छ ।   बैसरीलगायतका ठाउँको पहिराले स्तरोन्नतिको क्रममा रहेको बेनी–जोमसोम सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

गोरखा:   बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ ।   सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।   गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँले बताउनुभयो ।   “बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।”   सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाइ छ ।   टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन् ।   भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ ।   “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भन्नुभयो ।

म्याग्दी:   अवरुद्ध बेनी–दरवाङ सडक दश दिनपछि खुलेको छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतमा गत असार २८ गते पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।   चौबीस किलोमिटर सो सडक पश्चिम म्याग्दीको ‘लाइफ लाइन’ मानिन्छ । सडक अवरुद्ध हुँदा आवतजावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्याउन समस्या भएको थियो ।   प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले भन्नुभयो, “सडकखण्डमा जोखिम टरेको छैन, वर्षात् र साँझबिहान आवतजावत गर्दा सतर्कता अपनाउन अनुरोध गरेका छाँै, पहिराले अवरुद्ध हुनेबित्तिकै पन्छाउने प्रयास गरे पनि पहिरो नरोकिएपछि यातायात अवरुद्ध भएका थिए । पहिरो पन्छाएपछि आइतबार साँझदेखि बेनी–दरवाङ सडक खुलेको छ ।”   मङ्गला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले वैकल्पिक सडकलाई तत्काल बजेटको माग गरिएको र अबदेखि यात्रुलाई सास्ती नहुनेगरी काम गर्न सम्बन्धित निकायमा अनुरोध गरिएको बताउनुभयो ।   सडकदेखि करिब दुई सय मिटरमाथि र एक सय ५० मिटर फराकिलो क्षेत्रमा पहिरो फैलिएको जनाइएको छ । उक्त सडकखण्डमा फापरखेत र बाङ्ग्रेपहिरो मुख्य चुनौती मानिन्छ । पश्चिम म्याग्दीको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई सदरमुकाम बेनीसँग सो सडकले जोड्छ ।   यसैबीच फापरखेतअन्तर्गतको बेनी–दरबाङ सडकको वैकल्पिक मार्ग खोजिने भएको छ ।   सांसद खमबहादुर गर्बुजाले उक्त सडकको वैकल्पिक मार्गको खोजी भइरहेको बताउनुभयो । उहाँले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत विभिन्न कार्यालय प्रमुखलाई जिल्लाको पहिरोका समस्या समाधान गरिदिन आग्रह गरेको जानकारी दिनुभयो । सडकमार्ग खोल्नुपूर्व नै पहिराको जोखिम थियो ।   पहिरो रोकथामका लागि दीर्घकालीन योजना नहुँदा यस खण्डमा वर्षायाममा सिधा यातायात सेवा प्रभावित हुने गरेको छ ।

पोखरा:   गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नवलपुरका दीपक भण्डारी नियुक्त भएका छन् । गत बुधबार बसेको मन्त्रिपरिषदको बैठकबाट योजना आयोगको सदस्यमा नवलुरका भण्डारीलाई नियुक्तलाई गर्दै योगले पूर्णता पाएको हो ।  उनी राप्रपाको कोटाबाट नियुक्त भएका हुन् । नवलपुरको कावासोती नगरपालिका ७ का भण्डारी ग्रामीण विकासमा स्नातकोत्तर हुन् । उनीसँग मध्यविन्दु बहुमुखी क्याम्पसमा पढाएको अनुभव छ ।   योजना आयोगको सदस्यमा नियुक्त भएका भण्डारी चेम्वर अफ कमर्स नवलुरकाका अध्यक्ष समेत हुन् । नीति तथा योजना आयोग गण्डकी प्रदेशको सदस्यमा नियुक्त भएका भण्डारीलाई चेम्बर अफ कमर्शले बधाई ज्ञापन गरेको छ ।   यसअघि पाण्डे सरकारले आयोग सदस्यमा असार २१ गते नेपाल समाजवादी पार्टीको कोटाबाट माया तिम्सिनालाई नियुक्त गरेको छ । उपाध्यक्षमा जेठ १७ गते गोरखाका डा कृष्णचन्द्र देवकोटा नियुक्त भएका थिए । 

तनहुँ:   मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पृथ्वीराजमार्गमा वर्षायामभरी सडक स्तरोन्नतिका बन्द गरिने भएको छ ।   मनसुन अवधिभरि कालोपत्र तथा सडक विस्तारको काम रोकेर पानीले असर नगर्ने नाला, कल्र्भट र पर्खाल निर्माणलाई जोड दिइएको हो ।   असारदेखि असोज महिनासम्म मनसुन सक्रिय रहने भएकाले कालोपत्र र सडक विस्तार रोकी अन्य निर्माणलाई प्राथामिकता दिइएको मुग्लिन–पोखरा सडक आयोजनाअन्तर्गत पूर्वी खण्डका इञ्जिनियर विष्णु पाण्डेले जानकारी दिनुभयो ।   उहाँका अनुसार पहिरो जान सक्ने स्थानमा भूक्षय रोक्ने किसिमका बिरुवा लगाउने, सडकको छेउमा दुबो रोप्नेलगायत कार्य भइरहेका छन् ।   “बाढीपहिरोले राजमार्गमा अवरुद्ध हुनसक्छ, पहिरोले भौतिक तथा मानवीय क्षतिसमेत हुनसक्ने भएकाले क्षतिलाई मध्यनजर गर्दै दिउँसोको समयमा सर्तकता अपनाएर काम गर्ने गरिएको छ”, इञ्जिनियर पाण्डेले भन्नुभयो, “हालसम्म पूर्वीमा ६२ र पश्चिम खण्डमा २८ प्रतिशत कार्य प्रगति भइसकेको छ ।   राजमार्गको ८० किलोमिटर सडकमध्ये करिब ५३ किमी सडकमा कालोपत्र भइसकेको उहाँले जानकारी दिनुभयो ।   “पूर्वीमा ३३ र पश्चिम खण्डमा २० किमी कालोपत्र भइसकेको छ”, पाण्डेले भन्नुभयो, “राजमार्गको पूर्वीमा ४१ दशमलव सात किमी र पश्चिममा ३८ दशमलव ८८ किमीलाई दुई खण्डमा विभाजन गरी काम गरिरहेका छौँ ।” पश्चिम खण्डमा दुई लेनको गरी २० किमी सडकमा कालोपत्र गरिएको छ ।   असारदेखि असोजसम्म मनसुन सक्रिय रहेकाले कालोपत्र कार्य रोकेर अन्य काम गर्न लागिएको आयोजनाको पश्चिम खण्डका इन्जिनियर नारायण पौडेलले जानकारी दिनुभयो ।   उहाँका अनुसार कालोपत्र गर्न ‘सबबेस’ र ‘बेस’ विछ्याउने समयमा वर्षा भएमा थप समस्या हुने भएकाले काम बन्द गरिएको हो ।   पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । राजमार्ग सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक एडिबीको ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको आयोजना कार्यालयले जनाएको छ ।   पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा भएको आयोजनाले जनाएको छ । 

पोखरा:   गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्वास्थ्य क्षेत्रलाई मजबुत बनाउन सरकार क्रियाशिल रहेको बताएका छन् ।   बुधबार बागलुङ जिल्लालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना घोषणा गर्दै उनले यस्तो बताएका हुन् । नागरिकको स्वास्थ्यमा कुनै कसर बाँकी नराखी काम अगाडि बढिरहेको उनले बताए ।   “प्रदेशका नागरिकको स्वास्थ्यमा हामी गम्भिर छौं । शहरका अस्पताल मात्र नभई ग्रामीण भेगका स्वास्थ्य चौकीलाई समेत व्यवस्थित बनाउँदै लैजाने प्रयत्न हाम्रो छ ।”, उनले भने ।   मन्त्री थापाले बालमृत्युदर र अपाङ्गतालाई हटाउन खोपको आवश्यकता पर्ने हुँदा प्रदेशका बालबालिकालाई खोपको उचित व्यवस्थापन गरिएको बताए ।   स्वास्थ्य क्षेत्रमा काम गर्ने महिला स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि बजेट विनियोजन गरिएको भनाई उनको छ ।   बागलुङ जिल्लाको धौलागिरी अस्पतालको स्तरोन्नती गर्दै दक्ष चिकित्सकद्वारा उपचार सेवा प्रवाह गर्ने कार्य भइरहेको उनले बताए ।   हाल ५० शैयाको स्वीकृति पाएको धौलागिरी अस्पताललाई १०० शैयाको स्वीकृतिका लागि ३५ रोपनी जग्गाको आवश्यकता पर्ने हुँदा जग्गा प्राप्ति तर्फ लाग्न उनको अनुरोध छ । जग्गा प्राप्तिको समस्या टरेपछि अस्पतालले उक्त स्वीकृति पाउने उनले बताए ।   धौलागिरी अस्पतालका लागि मात्र ५ करोड ३१ लख ६८ हजार विनियोजन गरिएको उनले उल्लेख गरे ।   गण्डकीका सांसद लिल बहादुर थापाले भौतिक विकास सँगै मानविय विकासको आवश्यकता रहेको बताए । गुणस्तरियतामा ध्यान दिँदै स्वास्थ्य क्षेत्रमा उल्लेखिय सुधार ल्याउन सकिने उनले बताए ।   बागलुङ नगरपालिकाका मेयर बसन्त कुमार श्रेष्ठले स्थानीय निकायले पनि स्वास्थ्य क्षेत्रलाई संवेदनशील क्षेत्रको रुपमा हेरेको बताए ।   जिल्ला समन्वय समिति बागलुङका सदस्य सचिव बाबुराम आचार्यले बागलुङ जिल्लामा २०२ खोप केन्द्रबाट सेवा प्रवाह गरिएको जानकारी गराए । उनले १० वटा स्थानीय तहले समेत पूर्ण खोप सुनिश्चितता घोषणा गरेको बताए ।   ५ वर्षसम्मका १३ हजार ५६ बालबालिकालाई पूर्ण खोप लगाइएको भनाई उनको छ ।   जिल्ला खोप समन्वय समिति बागलुङका अध्यक्ष अमर बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापा, सांसद दिपेन्द्र बहादुर थापा, डिल्लीराम सुवेदी, दिलमाया पौवी लगायतले बोलेका थिए ।