म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले श्रीकृष्ण जन्माष्टमी पर्व तथा नेपालको सुदूरपश्चिम तथा मध्यपश्चिम क्षेत्रमा मनाइने धार्मिक एवं सांस्कृतिक महत्वको गौरा पर्वको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको आज विश्वभर हिन्दू धर्मावलम्बीहरूले पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने जनाउँदै यस पर्वले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा लिनुभएको छ ।   यस्तै, सांस्कृतिक चाड गौरा पर्वले नेपाली मौलिक संस्कृतिको संरक्षणमा थप योगदान गर्दै सम्पूर्ण नेपालीमा आपसी समझदारी एवं भाइचाराको भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाजको निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भन्ने कामना पनि गर्नुभएको छ ।   ‘गौरा पर्व सुदूरपश्चिममा भाद्र कृष्ण पक्ष, पञ्चमीदेखि अष्टमीसम्म परापूर्वकालदेखि नै मनाउँदै आएको विश्वास गरिन्छ ।   पार्वतीले कठोर तपस्यापछि भगवान शिवलाई पतिका रुपमा प्राप्त गरेको पौराणिक कथनअनुसार यस पर्वमा विशेष गरी गौरी अर्थात् पार्वतीको पूजाअर्चना गरिन्छ ।’ – प्रदेश प्रमुख भट्टले भन्नुभएको छ – ‘सदियौँदेखि मनार्इँदै आएको यो पर्वको आफ्नै ऐतिहासिक एवम् पौराणिक महत्व रहेको छ र यसले आफ्नो मौलिकता राख्न समेत सफल भएको छ ।’   यस प्रकारका लोक परम्परा तथा धार्मिक, सांस्कृतिक पर्वहरूले हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पुर्‍याउँदै आएको उहाँको भनाई छ ।

म्याग्दी:   समुद्री सतहबाट चार हजार आठ सय मिटर उचाइमा रहेको मुस्ताङको धार्मिकस्थल दामोदरकुण्डमा जनैपूर्णिमा पर्वका अवसरमा पूजाआजाका लागि यही भदौ २ गते त्यहाँ पुग्नुभएकी गण्डकी प्रदेशसभा सदस्य विमला गौचन लेक लागेर (अक्सिजन अभाव भएर) बिरामी पर्नुभयो ।   टाउको दुुखिरहने, शरीर गल्ने, खाना अरुचि हुनेजस्ता लक्षणसँगै हिँडडुल गर्न नसक्ने भएर दामोदरकुण्डकै धर्मशालामा अन्य दुईजना साथी र सहयोगीसँग बस्नुभएकी गौचनको टोलीलाई नेपाली सेनाले भदौ ६ गते उद्धार गरेको थियो ।   “दामोदरकुण्डप्रतिको आस्थाका कारण नेपालसँगै भारतबाट धैरै तीर्थयात्री आउने यस स्थानमा सञ्चार र स्वास्थ्य सुविधाको अतिआवश्यकता महसुस भयो”, उहाँले भन्नुभयो, “मोबाइल फोन सेवा विस्तार हुँदा समयमै उद्धार र प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन सकेमा बिरामी तीर्थयात्रीले समयमा नै उपचार पाउने थिए ।”   प्रदेशसभा सदस्य गौचनको स्वास्थ्यमा सुधार भइरहेको छ । सञ्चार सुविधा अभावमा उद्धारका लागि चिठी लेखेर पठाउँदा ढिलाइ भएको उहाँले बताउनुभयो । धार्मिक पर्यटनका हिसाबले प्रशस्त सम्भावना भए पनि भौगोलिक विकटताका कारण दामोदरकुण्डमा राज्यको नजर पर्न नसकेको गौचनले बताउनुभयो ।   दामोदरकुण्डको समस्या र आवश्यकताका विषयमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुुरेन्द्रराज पाण्डे, सङ्घीय सरकारका गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई टेलिफोनबाट जानकारी गराएको प्रदेशसभा सदस्य गौचनले बताउनुभयो ।   कालीगण्डकी नदीको उद्गमस्थल दामोदरकुुण्ड मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको–४ को भूगोलमा पर्छ । यहाँ स्नान गर्नाले आध्यात्मिक सन्तुष्टि मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । कालीगण्डकीमा मात्र पाइने शालिग्राम शिलालाई हिन्दू धर्मावलम्बीले भगवान् विष्णुका रूपमा पुज्ने गर्दछन् ।   दामोदर हिमशृङ्खलाको फेदीमा रहेको यस स्थल धार्मिक र प्रकृतिको मनोरम सङ्गम हो । मौसम र वातावरणीय हिसाबले जेठदेखि साउनसम्म दामोदरकुण्ड जान उपयुक्त हुुन्छ ।   पाँचवटा कुण्ड रहेको दामोदरकुण्ड स्नानका लागि जनैपूर्णिमा र चैतेदसैँका दिन भक्तजन बढी सङ्ख्यामा जान्छन् । भक्तजनले दुईवटा ठूला कुण्डमा स्नान गर्ने गर्दछन् । कुण्ड वरिपरि कुशको हरियाली छ । उच्च भूभागमा पाइने यहाँको कुशको विशेष धार्मिक महत्व छ ।   कालीगण्डकी करिडोरको जोमसोम–कोरला सडक हुँदै अपर मुस्ताङको चराङसम्म पुगेपछि त्यहाँबाट दुई घण्टाको सवारीसाधनको यात्रापछि यारागाउँ पुग्न सकिन्छ । यारा गाउँबाट माथि झुमा ठाटीसम्म सडक पुगे पनि राम्रो नभएकाले भक्तजन याराबाट नै घोडाको यात्रा गर्दछन् ।   याराबाट करिब नौ घण्टा घोडाको यात्रापछि दामोदरकुण्ड पुग्न सकिन्छ ।   सडक यातायात, सञ्चार र बसोबासको राम्रो व्यवस्था नभएका कारण दामोदरकुण्डको यात्रा जोखिमयुक्त र कठिन भएको काठमाडौँबाट आउनुभएका धनीकुमार सापकोटाले बताउनुभयो । भक्तजनको सुविधाका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाले धर्मशाला र पिउने पानीको व्यवस्था मिलाएको छ ।   असारदेखि साउनसम्म धर्मशालामा निःशुल्क भोजनको व्यवस्था मिलाइएको हुन्छ । कठिन यात्रा गरेर दामोदरकुण्ड पुगेपछि यहाँको प्राकृतिक सुन्दरताले सबै दुःखकष्ट भुलाइदिने उहाँले बताउनुभयो । “दामोदरकुण्ड साँच्चिकै स्वर्गको टुक्राजस्तो लाग्यो”, उहाँले भन्नुभयो, “धार्मिक र प्रकृतिको सुन्दर सङ्गमस्थलको अनुभूति भयो ।”   दामोदरकुण्ड पुग्न र फर्किन प्रतिघोडा रु १० हजार खर्च लाग्ने हालै त्यहाँ गएर आउनुभएका बेनी नगरपालिका–३ का राम्जी सुवेदीले बताउनुभयो ।   पाँच हजार पाँच सय मिटरभन्दा अग्ला दुई पहाड उकालो र ओरालो भिरको बाटो भएर दामोदर पास पार गरेपछि दामोदरकुण्डको समथर भूभागमा पुगिने उहाँले बताउनुभयो ।   वरपरका सेता हिमचुचुराले घेरिएको दामोदरकुुण्डको उपत्यका सुन्दर र मनमोहक देखिने सुवेदीले बताउनुभयो ।

म्याग्दी:     शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् ।   यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् ।   बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।   सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ ।   राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताउनुभयो ।   बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ ।   बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् ।   बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो ।   सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।   जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।

पर्वत:   जिल्लाका विभिन्न स्थानमा एक वर्षको अवधिमा सातवटा चितुवा मृत अवस्थामा भेटिएका छन् ।   जिल्लास्थित डिभिवन वन कार्यालयका अनुसार गत आर्थिक वर्षमा विभिन्न स्थानबाट सातवटा चितुवा मृत भेटिएका हुन् ।   कार्यालय प्रमुख झ्यामनारायण सापकोटाले गत पुस १ गतेदेखि गत जेठसम्ममा पोथी चितुवा र चितुवाका बच्चा मृतावस्थामा भेटिएका जानकारी दिनुभयो ।   गत पुस १ गते जिल्लाको बिहादी गाउँपालिका–२ बर्राचौरमा बच्चा चितुवा, पुस ९ गते कुश्मा नगरपालिका–८ चुवामा एउटा भाले र एउटा पोथी, पुस १२ गते मोदी गाउँपालिका–५ बाजुङमा दुईवटा चितुवा मृत फेला परेपछि डिभिजन वन कार्यालयको टोली पुगेर उद्धार गरेको थियो ।   गत वैशाख १८ मा कुश्मा–९ कटुवाचौपारीको चिन्नेखोलामा भाले चितुवा र जेठ १३ मा कुश्मा–२ खुर्कोटमा एउटा पोथी चितुवा मृतावस्थामा फेला परेका कार्यालयले जनाएको छ ।   वन क्षेत्रको वृद्धि, चितुवाका लागि उपयुक्त बासस्थान र आहारको व्यवस्था मिल्दा पछिल्लो समय जिल्लामा चितुवाको सङ्ख्यामा वृद्धि हुँदै गएको सापकोटाले बताउनुभयो ।   “गाउँघरमा रातिको समयमा पशचौपायामाथि चितुवाले आक्रमण गर्ने क्रममा मृत्यु भएको हुनसक्छ । मृत भेटिएकामा बच्चा चितुवा पनि छन्, यसको कारण आहारको खोजी हुनसक्ने अनुमान गरेका छौँ”, उहाँले भन्नुभयो । मृतावस्थामा भेटिएका चितुवाको प्रकृति हेर्दा अरूको आक्रमणमा परेकोजस्तो नदेखिएको डिभिजन वन कार्यालयका प्रमुख सापकोटाले बताउनुभयो ।   “अहिले खाद्य चक्रमा समस्या आइरहेकाले तिनीहरूको मृत्यु भएको हुन सक्छ । कोही पानी खान जाँदा पोखरीमा डुबेर मरेको पनि भेटियो । बाघको जस्तै उपयोगिता चितुवाको नहुने भएकाले मानिसले चितुवालाई मार्ने गरेको खासै भेटिएको छैन”, उहाँले भन्नुभयो ।   चितुवाका बच्चासमेत मृत भेटिनुले आमाहरू आहाराको खोजीमा निस्किने र आहारा नपाउँदा केही समय बासस्थानमा नफर्कंदा बच्चाहरू भोकले मरेको हुनसक्ने सापकोटाको भनाइ छ ।   आहाराका लागि घाँसेमैदान आवश्यक पर्ने भन्दै उहाँले पहाडी वनमा त्यति धेरै घाँसे मैदान नहुने, हरिण, मृगलगायत जनावरको सङ्ख्या कमी हुँदै जाँदा खाद्य सङ्कट परेको हुन सक्ने उहाँले बताउनुभयो ।   पर्वतमा आव २०७९/८० मा नौवटा चितुवा मृतावस्थामा उद्धार गरिएको थियो । उक्त वर्ष दुई चितुवाको जिउँदै अवस्थामा उद्धार गरिएको थियो ।

काठमाडौँ:   नेपाली सेनाले तनहुँको घाँसीकुवामा खसेको पहिरो हटाउने कार्य तीव्र पारेको छ ।   यही भदौ ४ गतेदेखिको अविरल वर्षाका कारण पृथ्वी राजमार्गको घाँसीकुवामा पहिरो खस्दा सवारी आवागमन अवरुद्ध भएको थियो ।   “यही भदौ ५ गते साँझ उक्त राजमार्गको मुग्लिन पोखरा सडकअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा पहिरो गई सडक अवरुद्ध भएको खबर प्राप्त हुनासाथ नेपाली सेना परिचालित भएको र पहिरो हटाउने कार्य जारी रहेको छ”, सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।   नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय निकायको सहयोगमा पहिरो हटाउने कार्य भइरहेको हो ।   राजमार्गको करिब एक सय ३० मिटर क्षेत्रफलमा फैलिएको उक्त पहिरोमा रहेका रुख नेपाली सेनालगायत अन्य सुरक्षा निकायले हटाएको छ ।   एक्स्काभेटरको प्रयोग गरी अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको नेपाली सेनाले जनाएको छ ।

पोखरा महानगरपालिका वडा नं १५ द्वारेखरबारीस्थित श्री भगवतीटार आमा समुहको छैटौं साधारण सभा तथा तेस्रो अधिवेशनले कुमारी गुरुङको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।   समुहको उपाध्यक्षमा कान्ति गुरुङ, सचिवमा सिता रानाभाट, सहसचिवमा सलिना गुरुङ, कोषाध्यक्षमा अनिता गुरुङ र सदस्यहरुमा सुकुमी गुरुङ, पार्वती कार्की, विष्णु गुरुङ र पुष्पा गुरुङ सर्वसम्मत चयन गरिएको छ ।   अधिवेशनका प्रमुख अतिथि पोखरा १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले उद्घाटन गर्दै आमा समुहले गरेका सामाजिक कार्यको प्रशंसा गर्दै वडाबाट हुने तथा व्यक्तिगत सहयोग गर्न प्रतिवद्धता व्यक्त गरेका थिए  ।   सो अबसरमा राष्ट्रिय भुमि अधिकार मञ्च कास्कीका संरक्षक आस बहादुर गुरुङ, नेपाली कांग्रेस पोखरा १५ का सभापति सुशील पराजुली, राष्ट्रिय भुमि अधिकार मञ्च गण्डकी प्रदेश अध्यक्ष राम लामिछाने, भुमि अधिकार तथा श्रमिक संगठन पोखरा महानगरपालिकाका अध्यक्ष टेकबहादुर पुन, स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, सहारा क्लबका उपाध्यक्ष पुर्ण बहादुर गुरुङ, रिभर साइट युवा क्लबका अध्यक्ष नारायण भण्डारी, समुहकी संस्थापक अध्यक्ष भिम कुमारी गुरुङ, सेतिगंगा आमा समुहकी अध्यक्ष रमा रानाभाटले शुभकामना मन्तव्य राखेका थिए ।   समुहकी सचिव कुमारी गुरुङले संस्थाले गरेका गतिविधि तथा प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुस्मिता गुरुङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका छन ।   कार्यक्रममा समाजसेवी लिला लामिछाने, भलिबल प्रशिक्षकद्वय ठाकुर प्रसाद गुरुङ र रामबहादुर थापा, एस ई इ उत्तीर्ण छोराछोरीहरु अञ्जिला गुरुङ, महेश गुरुङ र वासिकल गुरुङलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो ।   समुहकी अध्यक्ष शशि गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष र संचालन सचीव कुमारी गुरुङले गरेकी थिइन् ।

नवलपुर:   बर्दघाट सुस्तापूर्व नवलपुरमा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ ।   जिल्लाको बौदिकाली गाउँपालिका–३ स्थित जन्तीपहिरोमा पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।   जन्तीपहिरोमा गए रातिदेखि परेको अविरल वर्षका कारण लेदोसहितको पहिरो खसेको हो ।   पहिरो खसेपछि उक्त स्थानमा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ ।   वर्षा भइरहेकाले तत्काल पहिरो हटाउन नसकिने प्रहरी नायब उपरीक्षक पौडेलले बताउनुभयो ।   कालीगण्डकी करिडोर अवरुद्ध भएसँगै नारायणगढ–गैँडाकोट हुँदै जिल्लाको पहाडी क्षेत्र साथै पाल्पा, स्याङ्जाका लागि छुट्ने सवारी सञ्चालनमा आउन सकेका छैनन् ।

म्याग्दी:   म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक अवरुद्ध हुँदा पर्यटक र स्थानीयवासीलाई समस्या भएको छ ।   अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार–खिवाङ–शिख–चित्रे सडकअन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा पहिरोले सडक भत्काएपछि गत साउनदेखि घोडेपानीमा यातायात अवरुद्ध बनेको हो ।   सडक अवरुद्ध हुँदा घुम्न आउने पर्यटक र स्थानीयवासीलाई आवतजावतका साथै होटल व्यवसायीलाई दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको घोडेपानीका होटल व्यवसायी तारा पुनले बताउनुभयो ।   “गाडी चढेर घोडेपानी घुम्न आउने पर्यटकलाई सडकले समस्या बनाएको छ”, उहाँले भन्नुभयो, “पर्यटकीय याम सुरु हुन लागेपनि होटलका लागि आवश्यक तरकारी, खाद्यान्नलगायत सामग्री ढुवानी गर्न पाएका छैनौँ ।”   घोप्टेखर्कमा करिब १० मिटर सडकको डिलतर्फको भाग भत्किएपछि मोटरसाइकलबाहेक जिप, बस, ट्रक, ट्रयाक्टर वारपार गर्न सकेका छैनन् ।   पोखरेबगर–चित्रे–घोडेपानी सडकअन्तर्गत लुलीया र हल्लेखर्कको घुम्तीमा सडक भासिएपछि बस र ट्रक सञ्चालन हुनसकेको छैन ।   वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानीमा सोभन्दा बढी आन्तरिक पर्यटक आउँछन् ।   पहाडको टाकुरामा अवस्थित घोडेपानी र नजिकैको पुनहिल सूर्योदय, हिमशृङ्खला, पहाडी भूगोल, गुराँसे जङ्गल, वन्यजन्तु, पक्षी, मगर संस्कृतिलगायत आकर्षण रहेको छ ।   अठार किलोमिटर पाँच सय ४० मिटर दूरीको पोखरेबगर–चित्रे सडकमार्ग खुलेको १५ वर्षपछि गत वर्ष स्थानीय पूर्वाधार विकास कार्यालय कास्कीमार्फत करिब रु ३० करोडको लागतमा ग्राभेल, ढलान र कालोपत्र गरिएको थियो ।   अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले पहिरोले क्षति पुर्याएको सडक मर्मतका लागि आयोजना कार्यालयमा पहल र गाउँपालिकाले खिवाङ–कुटुका–पेरीभारानी–घोडेपानी जोड्ने वैकल्पिक सडक स्तरोन्नतिको तयारी गरेको बताउनुभयो ।   अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुन, उपाध्यक्ष दिवा तिलिजा पुनलगायतको टोलीले गत साउनमा प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहाललाई भेट गरी पोखरेबगर–चित्रे सडकको दीर्घकालीन समस्या समाधानका लागि ध्यानाकर्षण गराउनुभएको थियो ।

पोखरा:   गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले सीप परिक्षण उतिर्ण पश्चात यसको सही सदुपयोग गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।   शुक्रबार मन्त्रालयमा नै आयोजना गरिएको सीप परिक्षण उतिर्ण परीक्षार्थीलाई प्रमाणपत्र वितरण कार्यक्रममा मन्त्री थापाले यस्तो बताएका हुन् ।  उनले सीप परिक्षण उतिर्ण गरेर प्राप्त सर्टिफिकेटलाई घरमा थन्काएर मात्र राख्न नहुने उल्लेख गरे ।  “सीप परिक्षण उतिर्ण गरेपछि प्राप्त सर्टिफिकेट घरमा राख्नु उचित होइन । आफुले सिकेको सीप अनुसार समाजमा रही सेवा प्रवाह गर्न आवश्यक छ।”, उनले भने ।  मन्त्री थापाले काम सानो नहुने र सीपसँगै प्राप्त भएको सर्टिफिकेटको महत्व ठूलो भएको उल्लेख गरे ।  उनले नागरिकलाई दक्ष बनाउन प्रदेश सरकारले समयानुसार सीपमुलक कार्यक्रमलाई अगाडि बढाउँदै आएको बताए ।  नागरिकले चाहेनुसारको रोजगार उपलब्ध गराउन र स्वरोजगारमुखी वातावरण बनाउन प्रदेश सरकार प्रतिबद्ध भएको भनाई उनको छ ।  मन्त्रालयको उपसचिव तोयानाथ लम्सालले सीपमुुलक कार्यक्रमका लागि स्थानीय तहले ६० लाख, संघीय सशर्तबाट २५ लाख, प्रदेशबाट १६ लाख विनियोजन भएको जानकारी गराए ।  सिटीईभिटी गण्डकी प्रदेशका निर्देशक कल्प बस्नेतले परीक्षार्थीले प्राप्त गरेको सर्टिफिकेटको उपयोग सही हुने विश्वास लिएका छन् । कार्यक्रममा ६८ जना परीक्षार्थीलाई प्रमाण पत्र उपलब्ध गराइएको थियो ।