म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

मुस्ताङमा झोलुङ्गे पुलबाट खसेर एक युवकको ज्यान गएको छ ।   मुस्ताङको घरपझोङ—४ जोमसोम स्थित नेपाली सेना र जिल्ला प्रशासन कार्यालय जोड्ने झोलुङ्गे पुलबाट खसेर शनिबार पोखरा महानगरपालिका—३० गगनगौंडाका ३७ वर्षीय प्रकाश मल्ल ठकुरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।   ठकुरी व्यापार व्यवसायका क्रममा मुस्ताङको जोमसोममा बस्दै आएको त्यहाँका पत्रकार सुन्दरकुमार थकालीले बताए ।   जोमसोम स्थित नेपाली सेनाको क्याम्प अगाडी ईलेक्ट्रोनिक पसल सञ्चालन गरेका उनी नेपाल रेडक्रम सोसाईटीको भवनमा भाडामा बस्दै आएका थिए । कोठाबाट पसलतर्फ जाने आउने गर्दा ठकुरीले जिल्ला प्रशासन पछाडीको झोलुङ्गे पुल प्रयोग गर्ने गर्दथे ।   पुलबाट खसेका ठकुरीको तत्काल प्रहरी नायब निरीक्षक सनम कुमालको कमाण्डमा ५ जनाको सुरक्षाकर्मी टोलीले तत्कालै उद्दार गरी जोमसोम अस्पताल लगेको थियो । ठकुरीलाई अस्पताल लग्नेबित्तिकै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिए ।   पुलबाट खसेर मृत्यु भएका ठकुरीको आइतबार पोष्टमार्टम गरी शव आफन्तलाई जिम्मा लगाइसकिएको छ ।

बागलुङ:   निसी, भुजी र तमानखोलाको संगममा छ बुर्तिबाङ बजार ।   जिल्ला सदरमुकामदेखि ९० किलोमिटर पश्चिममा रहेको यस बजारमा बिस्तारै विकासले गति लिन थालेको छ । जिल्लाकै दोस्रो र पश्चिम बागलुङको सबैभन्दा ठूलो व्यापारिक केन्द्रका रूपमा रहेको बुर्तिबाङ क्षेत्रमा अहिलेसम्म सुविधायुक्त अस्पताल थिएन ।   सुविधायुक्त अस्पताल नहुँदा पश्चिम बागलुङका हजारौँ नागरिक बागलुङ, पाल्पा, पोखरा र काठमाडौँ पुगेर उपचार गराउँदै आएका थिए ।    केही वर्षयता बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रबाट पनि विशेषज्ञ सेवा प्रदान हुँदै आएपछि केही सहज भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा राम्रो सेवा पाउन नसक्दा पश्चिम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि लाखौँ खर्च गरेर देशका ठूला सहरमा रहेका अस्पतालमा पुग्नुपर्ने बाध्यता थियो ।   पश्चिम बागलुङका नागरिकका लागि लक्षित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि २०६४ साउन १५ गते स्वास्थ्य मन्त्रालयले निर्णय गरे पनि कार्यान्वयन हुन सकेको थिएन ।   अहिले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र जिल्ला अस्पताल नभई प्रदेशस्तरीय नै बनेको छ ।    गण्डकी प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय ५० शय्याको अस्पताल बनाएको छ । रु ३२ करोड लागतमा जिल्ला अस्पताल सञ्चालन गर्नका लागि बनेको संरचनामा अहिले प्रदेश अस्पताल सुरु गरिएको हो । अहिलेसम्म उक्त संरचनामा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा थियो ।   संरचना बनेको साढे एक दशक बढी समयपछि बुर्तिबाङमा ५० शय्याको अस्पताल बनेपछि पश्चिम बागलुङवासीमा खुसी छाएको छ । प्रदेश सरकारले प्राथमिक स्वास्थ्य केन्द्रलाई एकै पटक प्रदेशयस्तरीय अस्पतालमा स्तरोन्नति गरेसँगै जनशक्ति र उपकरण व्यवस्थापन गर्नुपर्ने आवश्यकता छ ।   स्थानीय र सरोकारवाला निकायको लामो प्रयासपछि प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेशस्तरीय अस्पताल बनाए पनि जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन गर्न बाँकी छ ।   अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेका कर्मचारीले नै सेवा दिइरहेको बुर्तिबाङ अस्पतालका प्रमुख नवीन्द्र ढकालले जानकारी दिए ।   ढकालका अनुसार हाल ४७ जना कार्यरत रहेका छन् ।    ढोरपाटन नगरपालिकाले करार सेवामा २२, स्वास्थ्य केन्द्र व्यवस्थापन समितिबाट छ र निकसाइमन इनिस्टिच्यूट संस्थाबाट छजना कर्मचारीबाटै काम हुँदै आएको छ ।   गण्डकी प्रदेश सरकारको नीतिअनुसार प्रदेशस्तरीय अस्पताल सञ्चालनका लागि अब नौ विशेषज्ञ डाक्टर, आठ मेडिकल अधिकृतसहित ६९ कर्मचारी आवश्यक पर्ने उनको भनाइ छ ।   अहिले एक बालरोग विशेषज्ञ, एक एमडिजिपी विशेषज्ञ, तीन मेडिकल अधिकृत, तीन स्टाफ नर्स, चार हेल्थ असिस्टेन्ट, चार अहेब, पाँच अनमी र नौ कार्यालय सहयोगीलगायत कर्मचारीले सेवा दिइएको प्रमुख ढकालले बताए ।    हाल स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा आकस्मिक, बहिरङ्ग, शल्यक्रियाद्वारा प्रसूति सेवा, सामान्य शल्यक्रिया, बालरोग विशेषज्ञ सेवा, जनरल फिजिसियन विशेषज्ञ सेवा, अत्याधुनिक प्रयोगशाला सेवा, जिनएक्पट सेवा, दन्त, आँखा उपचार सेवालगायतको सेवा दिँदै आएको उनको भनाइ छ ।   प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पताल सञ्चालन गर्न अब दक्ष जनशक्ति र उपकरण व्यवस्थापन भए सहजरुपमा नागरिकलाई प्रभावकारी सेवा दिन सकिने ढकालले बताए ।      “प्रदेशस्तरीय अस्पताल घोषणा भएपछि यस क्षेत्रका नागरिकहरूमा खुसी छाएको छ, पहिले बनेको संरचना पर्याप्त भएको हुँदा तत्कालका लागि थप संरचनाको आवश्यक छैन, अब प्रदेशले आकस्मिकदेखि सबै वडामा जनशक्ति र उपकरण व्यवस्थापन गरे हुन्छ”, प्रमुख ढकालले भने, “हामीहरूले प्राथमिक स्वास्थ्य केन्द्र भए पनि २५ शय्यासम्मको सेवा दिँदै आएका थियौँ, उपकरण र डाक्टर नहुँदा धेरै बिरामी अन्यत्र पठाउन बाध्य थियौँ, अब त्यो समस्या समाधान भएको छ ।”   बुर्तिबाङ स्वास्थ्य केन्द्रमा वार्षिक करिब ६ सय महिला प्रसूति हुने गरेका छन् । दैनिक तीन सय जनालाई बहिरङ्ग र ३० जनालाई आकस्मिक सेवा दिँदै आएको प्राथमिक स्वास्थ्य केन्द्र प्रदेशस्तरीय अस्पताल सञ्चालनमा आएपछि बिरामी बढ्न थालेका हुन् ।   अस्पताल व्यवस्थापनका अनुसार १४ रोपनी नौ आना जग्गामा तीन ब्लगसहित ४८ कोठासहितका भवन र एक आवासीय भवन रहेका छन् ।   छ दशकअघि साबिक बुर्तिबाङ गाविसअन्तर्गतका स्थापना भएको स्वास्थ्य संस्था अहिले प्रदेश अस्पतालका रूपमा विकास भएको छ ।   यस संस्था २०३५ सालमा उपस्वास्थ्य चौकी, २०४२ सालमा स्वास्थ्यचौकी, २०४८ सालमा सामुदायिक स्वास्थ्य केन्द्र र २०५२ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको थियो । विसं २०६४ मा जिल्ला अस्पतालका रूपमा स्तरोन्नति गर्नका लागि रु ३२ करोड लागतमा भौतिक पूर्वाधार निर्माण थालिएकामा लामो समयदेख स्तरोन्नति हुन सकेको थिएन ।    गण्डकी प्रदेश सरकारले संघीय सरकारको अनुमतिमा चालु आवमा अस्पताल स्तरोन्नति गर्नका लागि रु १२ करोड बजेट विनियोजन गरेको थियो ।   गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा बागलुङको पश्चिम क्षेत्रका जनतालाई सेवा प्रदान गर्दै आइरहेको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई ५० शय्याको प्रादेशिक अस्पतालका रूपमा सञ्चालनमा ल्याइने घोषणाअनुरूप अस्पताल स्तरोन्नति गरिएको हो ।   यही पुस १२ गते गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अस्पतालको उद्घाटन गरेका थिए ।     

बेनी:  एक सय ५० भन्दा बढी घरपरिवारको बसोबास रहेको बेनी नगरपालिका–२ खबरा गाउँभरि केराखेती भएको छ । तर उत्पादन भएको केराले बजार नपाउँदा किसान चिन्तित भएका छन् ।   हिउँदयाम सुरू भएसँगै केरा बिक्री घटेको र बोटमै पाकेर चराचुरूङ्गीको आहरा बन्न थालेको खबराका किसान वुद्धवीर परियारले बताए ।   'पहिले हप्ताको २० घरीसम्म केरा बिक्री हुन्थ्यो', उनले भने, 'हिजोआज हप्तामा मुस्किलले पाँच घरी पनि बिक्री हुँदैन ।'   खबराका सबैले व्यावसायिक केराखेती गरेका छन् ।   यहाँ वार्षिक दुई करोड मूल्यभन्दा बढीको केरा बिक्री हुने स्थानीय राधाकृष्ण कृषि सहकारी संस्थाले जनाएको छ ।   केरा बिक्री र आम्दानी घटेको खबराका किसान हीरा कुँवरले बताए । धान, कोदो, मकै बालीको विकल्पमा केराखेती गरेका किसान उत्पादनले बजार र मूल्य नपाउँदा निराश भएका उनले बताए ।   प्रति १२ कोसा (दर्जन) एक सय ८० सम्ममा बिक्री गरेको केराको मूल्य घटेर अहिले एक सयमा झरेको छ ।   बेनीका फलफूल व्यवसायी श्रीकृष्ण सुवेदीले चिसो बढेसँगै केराको खपत र बिक्री घटेको बताए । गर्मीयाममा दैनिक २० दर्जनसम्म खपत हुने केरा हिजोआज दुई–तीन दर्जन मात्रै बिक्री भएको उनले बताए ।   स्थानीय किसानको उत्पादनले पुगेपछि बेनीमा पछिल्ला पाँच वर्षयता भारत र तराईबाट केरा आयात न्यून मात्रामा हुने गरेको छ ।   खेती विस्तारसँगै उत्पादन बढेको, सीमित बजार र प्रतिकूल मौसमका कारण केरा बिक्रीमा समस्या भएको खबराको राधाकृष्ण कृषि सहकारी संस्थाका अध्यक्ष सोवित शर्मा (सापकोटा) ले बताए ।   केराका अन्य परिकार बनाउने र सहकारीमार्फत सङ्कलन गरेर पोखरा, बागलुङ, कुश्मामा बजार खोज्न थालिएको उनले जानकारी दिए ।

म्याग्दी:  अन्नपूर्ण गाउँपालिका-४ नारच्याङ बेँसीमा रु. १ करोडभन्दा बढीको लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको छ।   ब्रिटिस गोर्खा वेयलफेयर आर्थिक तथा प्राविधिक सहयोग र उपभोक्ताको श्रमदानमा रु १  करोड ८ लाख ३१ हजार सात सय ५६ को लागतमा खानेपानी आयोजना निर्माण सुरु भएको हो।   आयोजनाबाट नारच्याङ बेँसी गाउँका एक सय ९० परिवार लाभान्वित हुने अन्नपूर्ण गाउँपालिका-४ नारच्याङका वडाध्यक्ष लोकबहादुर फगामीले बताए।   विद्यालय, स्वास्थ्य चौकी, युवा क्लब, आमा समूह, मन्दिर र छात्रावासमा पनि धारा जडान गरिने जनाइएको छ। गोर्खा वेयलफेयरको रु. ८७ लाख ६५ हजार छ सय ७२ अनुदान रहने आयोजना निर्माणमा उपभोक्ताले रु. २० लाख ६६ हजार ८३ बराबरको श्रमदान गर्नुपर्नेछ।    आगामी चैत महिनाभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्यसहित मुहान, ट्यांकी, धारा र पाइपलाइनको काम तीव्र गतिमा भइरहेको छ। 

काठमाडौँ:   ४२ औं आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालय च्याम्पियन बनेको छ ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जलाई २–१ गोलअन्तरले पराजित गर्दै च्याम्पियन बनेको हो ।   गण्डकी प्रदेश प्रहरी गत वर्षपनि च्याम्पियन बनेको थियो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले नगद रु ३ लाख तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जले रु १ लाख ५० हजार पुरस्कार प्राप्त ग¥यो ।   प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जीवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धनबहादुर आले उत्कृष्ट डिफेण्डर र फेयर प्ले टोली कोशी प्रदेश प्रहरी कार्यालय घोषित भए ।     प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र ‘फेयर प्ले टोली’ले रु १५ हजार तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही रु १० हजार पुरस्कार प्राप्त गरे ।      प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उपाधि विजेता  तथा उपविजेतालाई पदक, प्रमाण–पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गरे ।      गत पुस ७ गतेदेखि सुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालय  सहभागी थिए ।      सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने बताए । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टोलीलाई अझ बढी क्षमतावान्, कुशल, दक्ष र सफल बनाउनेतर्फ पहल गर्न नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीलाई निर्देशन दिएका थिए ।

म्याग्दी:  बेनी–दरबाङ सडक आयोजनाको तेस्रो (रणवाङ–दरवाङ) खण्ड कालोपत्र गर्न धमाधम स्तरोन्नति भइरहेको छ ।   गण्डकी प्रदेशको ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रमअन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत स्तरोन्नति जारी छ ।   हाल सडक चौडा बनाउने, पानीको निकासका निम्ति नाली र भूक्षयबाट सडकलाई जोगाउन पर्खाल बनाउका साथै कालोपत्र गर्न ‘सवबेस’, ‘बेस’ राखेर सम्म्याइँदै छ ।   बाइस करोड ५७ लाखको लागतमा निर्माण सम्पन्न हुने यो सडक खण्डमा चालु आर्थिक वर्षभित्र नै कालोपत्र पनि गरिने निर्माण कम्पनीले जनाएको छ ।   मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने २४ किलोमिटर लामो यो सडक २०६३ मा खुलेको हो । बेनीबाट सिमसम्म १२ दशमलव पाँच किलोमिटर कालोपत्र भइसकेको छ ।

ढोरपाटन:    गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले सीमित स्रोत र साधनका बाबजुद पनि दूरदराजसम्म विकास निर्माणलाई गति दिएको बताउनुभएको छ ।   तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा मोटरेबल पुल उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले विकास नभएका ठाउँलाई प्राथमिकतामा राखेर काम गरिरहेकाले दूरदराजमा पनि विकास सम्भव भएको बताउनुभयो ।   आज उद्घाटन गरिएको उक्त पुल विसं २०७७ मा निर्माण सुरु भइ गत महिना सम्पन्न भएको थियो ।   मुख्यमन्त्री पाण्डेले विकासको मुख्य आधार सडक पहुँच रहेकाले विकट क्षेत्रका बस्तीसम्म सडकको पहुँच पु¥याउने काम भइरहेको उल्लेख गर्नुभयो ।   उहाँले भन्नुभयो, “सबै तिर एकैपटक विकास गर्न सम्भव हुँदैन, क्रमिक रुपमा विकास हुँदै जाने हो, पछिल्लो एक दशकमा धेरै विकास भएको छ, सडकले नागरिकको जनजीवनमा परिवर्तन ल्याएको छ ।”   बोङ्गादोभानमा पुल बनेपछि साना तथा ठूला सवारीसाधन सञ्चालन गर्न मिल्ने भएको छ ।   रु दुई करोड ७१ लाख २७ हजार नौ सय ६४ मा लागतमा पुल निर्माण भएपछि पुल तमानखोला गाउँपालिकाको केन्द्र बोङ्गादोभान बजारदेखि नर्जाखानी, तमान, स्याउला, खुङ्खानी, थास्पुरी लगाएका गाउँमा पुग्न सहज भएको छ ।

कास्की:  अन्नपूर्ण गाउँपालिका –११ छोम्रोङमा सेन्चुरी युवा क्लबले ‘२३ औं सेन्चुरी ल्होसार मेला’ आयोजना गर्ने भएको छ ।    तमु समुदायको महान् पर्व ल्होसार÷ल्होछारको अवसरमा यही पौष ११ गतेदेखि १४ गतेसम्म ल्होसार मेला आयोजना गरिने क्लबका वरिष्ठ सल्लाहकार राजकुमार गुरुङले जानकारी दिए ।    उनले संस्कृतिको संरक्षण, खेल तथा पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यसहित विगत लामो समयदेखि ल्होसार मेला सञ्चालन गर्दै आएको बताए ।   ‘हामीले विगत लामो समयदेखि ल्होसार मेला गर्दै आएका छौ, उनले भने, ‘यो वर्षपनि पुषको ११ गतेदेखि मेला राखेका छौ । यसले खेलकुदको विकाससँगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिएका छौं ।’   उनका अनुसार सो मेलामा मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता समावेश गरिएको छ ।     उनले पुरुष भलिबल तथा बास्केटबल दुवौ प्रतियोगिताको विजेता टिमलाई ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बताए ।     उनका अनुसार दोस्रो र तेस्रो हुने टिमले क्रमश: ५० हजार र २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । दुवै खेलमा टिम सहभागिता जनाउन दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ ।   मेलालाई थप आकर्षक बनाउन विभिन्न साँस्कृतिक कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ ।