पोखरा:    पत्रकारको योजनावद्ध हत्या र सञ्चारगृह तथा पत्रकारमाथि गरिएको आक्रमण तथा आगजनीको विरोधमा नेपाल पत्रकार महासंघ आन्दोलित छ ।   महासंघ केन्द्रीय समितिको आह्वानमा सोमबार नेपाल पत्रकार...

पोखरा:  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष आदिवासी जनजाति आयोगले पाँचौ वार्षिक प्रतिवेदन प्रस्तुत गरेको छ ।   आइतबार प्रदेश प्रमुख समक्ष आयोगका सदस्य रीना राना नेतृत्वको टोलीले आयोगको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेको हो ।   प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख भट्टले जिम्मेवारी प्रभावकारी ढंगले सम्पादन गर्ने सन्दर्भमा आयोगलाई थप सफलताको शुभकाना व्यक्त गर्नुभयो । प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिका हक अधिकार संरक्षण तथा सशक्तिकरण गर्न आवश्यक योजनाका साथ अगाडि बढ्न आयोगलाई सुझाव पनि दिनुभयो ।   आदिवासी जनजाति समुदायको भाषा, संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने सवालमा नेपालको संविधानले आयोगलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गरेको उहाँको भनाई छ ।   पेश भएको प्रतिवेदन मुख्यमन्त्री मार्फत् गण्डकी प्रदेश सभामा पठाइने बताउँदै भट्टले  सदनमा सघन छलफल भई प्राप्त हुने निष्कर्षले भविष्यमा आयोगका काम कारवाहीहरु अझै सबल र सशक्त बनाउन योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   आदिवासी जनजाति आयोगका सदस्य रानाले प्रतिवेदनको सारसंक्षेप प्रस्तुत गरेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।   आयोगकी सदस्य रानाले आदिवासी जनजाति समुदायको इतिहास र संस्कृतिको पहिचान गर्दै उनीहरूको हकहित र अधिकारको संरक्षण, संवर्द्धन गर्न आयोग लागिपरेको बताउनुभयो ।   आयोगको प्रतिवेदनमा गत आर्थिक वर्षमा आयोगले आदिवासी जनजाति समुदायको विकास, पहिचान र हक अधिकारको संरक्षण तथा प्रथा परम्परालगायतका क्षेत्रमा गरिएका कामहरू समावेश छन् ।   आयोगले सम्पन्न गरेका कार्यक्रमको विषयलाई व्यवस्थित रूपमा १३ परिच्छेदमा विभाजन गरिएको आयोगले जनाएको छ ।   आयोगको टोलीमा आयोग सदस्य सूर्य बहादुर गुरूङ लगायत सहभागी थिए । 

पोखरा:   गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र  उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ।   भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ ।   यसका साथै चीन सरकारले यस उडानलाई विशेष प्राथमिकता दिएको हुँदा यसको दीर्घकालीन सञ्चालनबारे गहन छलफल गरिएको थियो।   गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखरा-छेन्दु चार्टर उडानले नेपालको पर्यटन मात्र होइन, नेपाल-चीन व्यापारिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको बताए । उनले चिनियाँ पर्यटकहरू पोखरामा मात्र घुम्न आउने होइनन्, होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, र स्थानीय उत्पादनमा लगानी गर्ने सम्भावना पनि रहेकाे विश्वास व्यक्त गरे ।     नेपालका पर्यटन व्यवसायीहरूले अब चिनियाँ पर्यटकहरूलाई लक्षित गर्दै नयाँ प्याकेज, प्रचार-प्रसार, र लगानीका योजनाहरू बनाउनुपर्ने देखिएकाे मन्त्री बस्यालकाे भनाई छ ।   सिटीएस प्रमुख यानले निजी क्षेत्रको ठूलो चासो देखिएकाले पोखरा-छेन्दु उडानलाई नियमित बनाउन सकिने बताए । उनका अनुसार, चीन सरकारले पोखरालाई पर्यटन गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने योजना बनाएको छ।   'चिनियाँ पर्यटक छोटो दूरीका गन्तव्य रोज्छन्। थाइल्याण्ड, हङकङ, मलेसियाजस्ता ठाउँहरू चीनमा निकै लोकप्रिय छन्। पोखरा पनि अब सोही सूचीमा राख्ने तयारी भइरहेको छ ।' यानले भने- 'सिचुवान प्रान्तका पर्यटन व्यवसायीहरूले पोखरालाई चिनियाँ पर्यटकहरूको आकर्षणको केन्द्र बनाउन चाहिरहेका छन्।'   सिचुवान प्रान्तले पोखराका लागि १० वटा चार्टर उडान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ। यदि यी उडानहरू सफल भए भने भविष्यमा पोखरा-छेन्दु नियमित हवाई सेवा सञ्चालन गर्ने सम्भावना बलियो हुनेछ।   चीनमा जुन-जुलाई महिनामा विद्यालयहरू बिदा हुने भएकाले परिवारसहित भ्रमण गर्ने प्रवृत्ति बढ्छ। चिनियाँ पर्यटकहरू छोटो दूरीमा घुम्न मन पराउने भएकाले पोखरा हङकङ र थाइल्याण्डकै राम्रो विकल्प बन्न सक्छ।   पहिलो चार्टर उडानबाट चीन गएका नेपाली पर्यटन व्यवसायी तथा सरकारी प्रतिनिधिहरू पनि फर्किसकेका छन्, जसले थप सम्भावनाबारे अध्ययन गरिरहेका छन्।   याे उडानसँगै अब पोखराबाट सिधै चीनको छेन्दु पुग्न सकिने सुविधा भने सुरु भएको छ।   पोखरामा अन्तर्राष्ट्रिय हवाई उडान सुरु हुनुको अर्थ केवल हवाई यात्रुहरूका लागि सुविधा मात्र होइन, यसले पोखरालाई नेपालकै प्रमुख अन्तर्राष्ट्रिय पर्यटन केन्द्रका रूपमा स्थापित गर्नेछ।   यो उडानले चिनियाँ पर्यटकहरूको संख्या बढाउनुका साथै होटल, रेस्टुरेन्ट, साहसिक पर्यटन, तथा व्यापारका अन्य क्षेत्रहरूमा समेत लगानी भित्र्याउनेछ।   नेपाल सरकारले यसलाई देशकै पर्यटन प्रवर्द्धनको प्रमुख उपलब्धिका रूपमा हेर्नुपर्छ। अब, सरकारी तथा निजी क्षेत्र मिलेर यसलाई सफल बनाउन रणनीतिक योजना बनाउने बेला आएको छ।   पोखराको अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएदेखि नै यस्तो ऐतिहासिक उपलब्धिको खोजी भइरहेको थियो। अब यो अवसरलाई सही रूपमा सदुपयोग गर्न सकियो भने, पोखरालाई "नेपालको अन्तर्राष्ट्रिय पर्यटन राजधानी" बनाउने सपना पूरा हुन सक्छ।  

पोखरा:   नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरूले (कास्की) नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराललाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।   कास्कीबाट प्रतिनिधित्व गर्ने ११ जना नेविसंघका केन्द्रीय सदस्यहरू पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति बरालको राजिनामा माग गर्दै कारवाही गर्नुपर्ने बताएका हुन् ।   स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा सभापति बरालले स्वतन्त्रको पक्षमा वकालत गर्दै नेपाल विद्यार्थी संघलाई हराउन लागेको उनीहरुको आरोप छ ।    सदस्यहरुले बरालविरुद्ध पार्टीमा उजुरीसमेत दिएका छन् ।   उनीहरुले पार्टीको केन्द्रीय अनुशासन समितिका संयोजक आनन्द प्रसाद ढुंगानालाई पत्र पठाएको बताइएकाे छ ।     उनीहरुले अनुशासन समिति कास्की, गण्डकी कार्यसमिति र केन्द्रीय कार्यसमितिलाई बोधार्थ दिएको जनाएका छन् ।   ‘आजका मितिबाट ७ दिनभित्र कारबाही नभए थप सशक्त आन्दोलनका कार्यक्रम गर्ने घोषणा गर्दछौँ,’ उनीहरुले विज्ञप्ति मार्फत भनेका छन् ।   पार्टीको सभापति पदमा बसेर स्वतन्त्र उम्मेदवारको पक्षमा लागेर नेवि संघलाई नै हराउने गरी प्रस्तुत भएको टिप्पणी गरेका छन्  ।    स्ववियु निर्वाचन भएका पोखराका ४ वटै क्याम्पसमा नेविसंघ पराजित भएको थियो ।   पश्चिमाञ्चन क्याम्पस लामाचौरमा स्वतन्त्र उम्मेदवार, पृथ्वीनारायण क्याम्पस, नर्सिङ क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा एमाले निकट अनेरास्ववियुका उम्मेदवार विजयी भएका थिए ।  

पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियु चुनावको  १०० मत गणना हुँदा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ ।   अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले ४३ मत पाएका हुन् ।     दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् ।   उनलाई अहिलेसम्म १८ मत प्राप्त भएको छ । स्वतन्त्र उम्मेदवार विप्लवी पौडेलले १३ मत पाएकी छिन् ।   अखिल क्रान्तिकारीका नविन अधिकारीले ८ मत ल्याएका छन् ।   सचिवमा पनि अनेरास्ववियुका बिराट दुवाडी अगाडि छन् । उनले ५० मत ल्याउँदा नेविसंघका विवेक भट्टर्राइलाई १९ र क्रान्तिकारीका मिराज थापा मगरलाई ११ मत प्राप्त भएको छ ।   कसकाे मत कति?  

म्याग्दी:   अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना दाना भएका सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गरिरहेका छन्।   अन्नपूर्ण चक्रीय पदमार्गको मुस्ताङ–म्याग्दी यात्रा गर्ने पर्यटकलाई ताजा सुन्तलाको जुस बेचेर घरापका दम्पती प्रेम तिलिजा र मैना तिलिजाले यो याममा दुई लाख आम्दानी गरेका हुन्।   ‘बगैँचाका ठूला दाना व्यापारीले किनेर लगेपछि बचेका साना दाना सुन्तला अझै बोटमा राखेका छौँ,’ मैनाले भनिन्, ‘जुस खानका लागि दैनिक ५० जनासम्म पर्यटक यहाँ आउनुहुन्छ।’ बेमौसममा सुन्तलाको जुस सानो गिलासको दुई सय ५० र ठूलो गिलासको तीन सय ५० का दरले बिक्री हुने गरेको उनको भनाइ छ।   आफ्नै बगैँचाको एक सय बोट र छिमेकीको बोटमा बाँकी रहेका सुन्तलालाई टिपेर बोक्रा छोडाइ उपकरणको सहायताले रस निकालेर बिक्री गर्दै आएको मैनाले बताइन्। ‘उपकरणले गेडा र छोक्रालाई एकातर्फ फाल्छ भने रसलाई भाडामा खसाल्छ’, उनले भनिन्।   मुस्ताङको घाँसाबाट पदयात्रा गरेर म्याग्दीको तातोपानी आउने क्रममा बेमैसमको सुन्तलाको ताजा र स्वादिलो जुस उपभोग गर्न घरापमा विश्राम गरेको काठमाडौंका जनार्दनदेव पन्तले बताए।   जुस बनाउन थालेपछि साना दाना भएका कारण बिक्री नभएका सुन्तला खपत भएको प्रेमले बताउनुभयो। खेर जाने सुन्तलाबाट जुस बनाएर अतिरिक्त आम्दानी भएको भन्दै अन्य क्षेत्रमा सुन्तला सकिए पनि यहाँका बगैँचामा साना दानाका चैत महिनासम्म रहने उनले जानकारी दिए।   ठूला दाना माघमा टिप्ने घरापका किसानले साना दानालाई जुस बनाउन चैतसम्म राख्ने गरेका छन्। सुन्तला भण्डारण गर्ने चिस्यान गृह र प्रशोधन गरेर जुस बनाउने उपकरण तथा सीपमूलक तालिम आवश्यक परेको यहाँका किसान बताउँछन्।   घरापमा २० परिवारको बसोबास छ। अधिकांशले सुन्तलाखेती गरेका छन्।   रोजगारीका लागि मलेसियामा दुई वर्ष बिताएर फर्किएका ४९ वर्षीय प्रेम र उनकी श्रीमती मैनाले घरापमा रेष्टुरेष्ट र होटल पनि सञ्चालन गरेका छन्।   अन्नपूर्ण आधार शिविर, मुस्ताङ जाने–आउने र नारच्याङ घुम्न आउने पर्यटकलाई लक्षित गरेर सञ्चालित होटलमा दैनिक ३० जनासम्म बास बस्न सक्ने क्षमता रहेको प्रेमले जानकारी दिए।   तिलिजा दम्पतीले सञ्चालन गरेको न्यु कालीगण्डकी रेष्टुरेन्ट एण्ड लजमा शान्त र एकान्त वातावरणमा रमाउन पाइनुका साथै लोकल कुखुरा, हाँस र बङ्गुरको मासु, साग, सुन्तलाको जुस, कोदोको ढिँडोलगायत परिकार पाइन्छन्।   उहाँका अनुसार होटलमा दुई जनाले रोजगारी पनि पाएका छन्। 

पोखरा महानगरपालिकाका कर्मचारी कपिल गिरी घुस रकमसहित पक्राउ परेका छन् ।  महानगरको फाइल फर्छ्यौट शाखामा कार्यरत गिरि २५ हजार घुस सहित पक्राउ परेका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकाका–५ बाटै वडा जोड्ने रिङ् रोड सडक कालोपत्रमा निर्माण व्यवसायीले बदमासी गरेको पाइएको छ ।   घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडक कालोपत्र गर्दा सम्बन्धित निर्माण कम्पनीले बदमासी गरेको गुनासो बढेपछि घरपझोङ–५ को वडा कार्यालयले पूर्वाधार विकास कार्यालयलाई स्पष्टीकरण मागेको छ ।   गण्डकी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय मुस्ताङले जोमसोम, ठिनी, ढुम्बाताल, सम्ले, छैरो र चिमाङलगायत आधा दर्जन गाउँ जोड्ने ‘एक निर्वाचन क्षेत्र, एक सडक’ योजनाअन्तर्गत घरपझोङ रिङ् रोड सडक २०७६ साल कात्तिक २१ गते बन्दना भगवती जेभिसँग २१ करोड ४३ लाख रुपैयाँ लागतमा ठेक्का सम्झौता गरेको थियो ।   रिङ् रोड सडकअन्तर्गत १० किमी सडकमध्ये नयाँ ट्र्याक खोल्ने र जोमसोमदेखि ढुम्बासम्म ५ दशमलव ५ किमी दूरीमा कालोपत्र गर्ने योजना परेको थियो ।   सडकको नाली निर्माणसहित आठ मिटर चौडा सडकमा जोमसोम–ठिनी–ढुम्बासम्म पाँच किमी दूरीमा प्रिमिक्स कालोपत्र गरिने योजना थियो । सम्झौता अवधि २०७७ साल माघ महिनासम्म तोकिएको घरपझोङ रिङ् रोड सडकको पाँच पटकभन्दा धेरै म्याद थप भइसकेको छ ।   जीर्ण आयोजनाको सूचीमा परेको घरपझोङ रिङ् रोड सडकमा निर्माणमा निर्माण कम्पनीले चरम ढिलासुस्ती देखाएका कारण हालसम्म पनि रिङ् रोड सडक सम्पन्न विलम्ब भइरहेको छ ।   निर्माण कम्पनीलाई पूर्वाधार विकास कार्यालयको पटक/पटकको ताकेतापछि जसोतसो घरपझोङ रिङ् रोड सडकअन्तर्गत जोमसोम–ठिनी सडकको ३ किमी दूरीमा गत मङ्सिरमा कालोपत्र गरिएको थियो ।   अहिले जोमसोम–ठिनी जाने सडकको कालोपत्र कमसल र उप्किएको भन्दै त्यस क्षेत्रका स्थानीयले असन्तुष्टि जनाइरहेका छन् ।   स्थानीयले अख्तियारी प्राप्त निकायले प्राविधिक अनुमगन नगरेकाले कालोपत्र सडक कमसल हुँदा उप्किन पुगेको भन्दै स्थानीय सरोकारवालाले गुनासो गर्न थालेका हुन् ।   घरपझोङ रिङ् रोड सडकअन्तर्गत गत मङ्सिरमा तीन किमी दूरी कालोपत्र गरेर चिसो बढेको भन्दै निर्माण कम्पनीले सडक स्तरोन्नतिकार्य स्थगित गरेको थियो ।   निर्माण कम्पनीले काम स्थगित गरेको तीन महिना बितिसक्दा समेत अहिले पनि रिङरोड सडक निर्माणको काम सुरू हुनसकेको छैन ।

म्याग्दी:   बेनी–जोमसोम–कोरला सडक अन्तर्गत म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानामा पर्ने बादरजुङ, घोप्टे र काभ्रेभिर पार गर्दा दुई वर्षअघि सम्म त्रसित हुने सवारी चालक सुदीप खड्का हिजोआज ढुक्कका साथ गाडी चलाउँछन्।   “तल कालीगण्डकी र माथि ठाडो अक्करे भिरको बीचमा रहेको काभ्रेदेखि घाँसा नपुग्दासम्म मनमा डर लागिरहन्थ्यो”, उनले भने, “अक्करे भिरमा पनि सडक फराकिलो बनाएर ढलान गरी डिलतर्फ बार लगाएपछि अहिले ढुक्कका साथ गाडी चलाउन पाइएको छ ।”   भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत सबैभन्दा जोखिमयुक्त र साँघुरो काभ्रे, बादरजुङ र घोप्टेभिर क्षेत्रको सडक विस्तार र ढलान गरिएपछि यात्रा सहज, सुरक्षित र दुर्घटनाको जोखिम घटेको हो ।   काभ्रेभिरदेखि घाँसासम्मको दुई किलोमिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाले जनाएको छ ।   “धेरै ठाउँमा विस्फोटक पदार्थ प्रयोगबाट पहाड फुटाएर सडक फराकिलो पारिएको छ”, योजनाका इञ्जिनियर विष्णु चापागाईले भने, “तल बग्ने कालीगण्डकीले बनाएको खोच र विस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर भई थप पहिरो खस्ने जोखिम देखिएको काभ्रेभिर क्षेत्रमा ‘रक एंकरिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरेर फराकिलो र ग्रेड सुधार गरिएको हो ।”   उनका अनुसार सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर बेस बनाएर पक्की पर्खाल निर्माण गरेर डिलतर्फ सडक फराकिलो बनाइएको हो ।   रक एंकरिङ गर्न मजदुरले ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल ९होल० बनाएका थिए । तीन दशमलव पाँच मिटर फराकिलो सडकमा यसअघि एकतर्फी मात्र सवारीसाधन चल्ने गर्दथे । हाल यस क्षेत्रको सडकलाई कम्तीमा आठ मिटर फराकिलो बनाइएको हो । नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युम पाइपबाट बगाउने संरचना बनाइएको छ ।   काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्रको सडक पार गर्न यसअघि कम्तीमा ३० मिनेट लाग्ने गर्दथ्यो । अहिले पाँच मिनेटमा सडक पार गर्न सकिन्छ ।   काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ‘रक फल’ ढुङ्गाको पहिरो खस्ने र कालीगण्डकीले कटान गर्ने समस्या छ । विसं २०६३ मा नेपाली सेनाले मार्ग खोलेको यो ठाउँमा सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुङ्गा, पहिरो खसेर पुरिने, क्षति हुने गरेका छन् ।   बेनी–जोमसोम–कोरला सडकको तातोपानी–घाँसाखण्डको निर्माण कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले प्रतिकूल भूगोलमा पनि मजदुरहरुले सुरक्षा सतर्कता अपनाएर सडक विस्तारको काम गरेका बताए।   दुई वर्ष लगाएर काभ्रेभिर–बादरजुङ भिर क्षेत्रको सडक विस्तारको काम सकिएको उनले बताए । “मजदुरहरुले भिरमा रसिमा झुन्डिएर रड राख्ने प्वाल बनाएका थिए । फराकिलो पारिएको सडकलाई ढलान गरेर डिलतर्फ सिमेन्टको पिल्लर र फलामको साइडबार राखिएको छ”, उनले भने, “धेरै ‘रक फल’ हुने भएकाले डिबिएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो । ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुङ्गाले क्षति पु¥याएको छ ।”   यसैबीच १० किलोमिटर पाँच सय मिटर दूरीको तातोपानी–घाँसा खण्ड स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाका वडाध्यक्ष रमेश पुर्जाले पछिल्लो समय निर्माणले तीव्रता पाएको बताए।   पहिरोको जोखिम रहेको तीन किलोमिटरबाहेकका ठाउँमा सडकलाई ११ मिटर फराकिलो बनाउने काम सकेर ढलान र डिबिएसडी प्रविधिको कालोपत्र गर्ने काम अन्तिम चरणमा पु¥याइएको हो ।   चालु आर्थिक वर्ष भित्रनै सडक स्तरोन्नतिको काम सकेर योजना कार्यालयलाई हस्तान्तरणको तयारी गरेको ठेकेदार कम्पनी शर्मा–गजुरमुखीका आयोजना व्यवस्थापक न्यौपानेले बताए।

म्याग्दीको बेनी नगरपालिका–४ थामडाँडाका स्थानीयले श्रमदानबाटै सिँचाइ योजना मर्मत गरेका छन् ।   चार वर्षअघि निर्माण भएको बालमखोला सिँचाइ आयोजनाअन्तर्गत थामडाँडा र बदमखोरीया क्षेत्रको सिँचाइ पाइपलाइनमा समस्या देखिएपछि उपभोक्ताहरुले आठ दिनसम्म श्रमदान गरी मर्मत गरेका हुन् ।   गाउँनजिक रहेको, रिजर्भ ट्याङ्कीदेखि करिब पाँच सय मिटर दुरीको पाइपलाइनलाई परिवर्तन गरेर नयाँ पाइपलाइन विस्तार गरिएको बालमखोला सिँचाइ आयोजना उपभोक्ता मूल समितिका सचिव धनकाजी सुनारले जानकारी दिए।   उनका अनुसार, ३५ घरधुरीबाट एक/एक जनाले श्रमदान गरेका थिए । यसअघि दुई इञ्चको पाइप राखिएकोमा समस्या भएपछि पाइपलाइनको नयाँ मार्ग बनाएर रिजर्भ ट्याङ्कीको आउटलेटबाट डेढ इञ्चको पाइप थपगरिएको समितिले जनाएको छ ।   श्रमदानबाट पाइपलाइन मर्मत गरेपछि ३५ घरधुरीको १९० रोपनी खेतीयोग्य जमिनमा सिँचाइको सुविधा पुगेको समितिका सचिब सुनारले जानकारी दिए ।