अछाम । एमबीबीएस डाक्टरभन्दै ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलसेन नगरपालिका–२ मिस्तुरु निवासी २९ वर्षीय चक्रबहादुर विश्वकर्मालाई न्यूरोसर्जन भएको भन्दै ठगी गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको अछाम प्रहरी प्रमुख रविराज थपलियाले जानकारी दिनुभयो । विश्वकर्माले सरकारी, गैरसरकारी निकायमा र प्रहरीमा समेत आफू वीर अस्पताल र शिक्षण अस्पतालमा न्यूरो सर्जन डाक्टर भएको नक्कली परिचयपत्र बनाएर अनुचित फाइदा लिएको सूचनाको आधारमा पक्राउ गरिएको अछाम प्रहरीले जनाएको छ । जिल्ला अस्पतालमा वीर अस्पताल र शिक्षण अस्पतालको डाक्टर भनेपछि उहाँलाई पक्राउ गरिएको अछाम प्रहरी प्रमुख थपलियाले जानकारी दिनुभयो । प्रहरीले विश्कर्माको साथबाट डाक्टर दीपक विसीको नक्कली परिचयपत्र, दीपककै नाममा काटिएका सहयोग रसिद, बैंकका भौचर र हवाइजहाजको बोर्डिङ पास, चक्रबहादुर नामको मतदाता परिचयपत्र फेला परेको छ । डाक्टर दीपक भनेर विभिन्न व्यक्तिसँग अनुचित लाभ लिनका लागि ढाँटेको भनेर प्रहरीमा स्वीकारेको बताइएको छ । पक्राउमा परेका विश्वकर्माको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरीले जानकारी दिएको छ ।
वीरगञ्ज, पर्सा प्रहरीले १२ बोरको घरेलु बन्दुकसहित २७ वर्षीय युवकलाई नियन्त्रणमा लिई हातहतियार तथा खरखजाना मुद्दा चलाएको छ। पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बस्ने २७ वर्षीय मनोज भन्ने शिवु माझी मुसहरलाई १२ बोरको एकनाले बन्दुकसहित नियन्त्रणमा लिएर हातहतियार तथा खरखजाना मुद्दा चलाएको हो। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालका अनुसार शनिबार साँझ ७ बजे इलाका प्रहरी कार्यालय एकटाङ्गा र प्रहरी चौकी मनवाको संयुक्त टोलीले तेलिया टोल जाने बाटो भएर १२ बोरको एक नाले घरेलु बन्दुक बोकेर हिँडिरहेको अवस्थामा पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याइ मुद्दा प्रक्रिया अगाडि बढाइएको र अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक खनालले बताउनुभयो।
तम्घास, गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिकामा रहेको सत्यवती माध्यमिक विद्यालय हसराको कक्षा नौ मा अध्ययन गर्ने छात्रालाई शिक्षक प्रकाश भट्टराई र नीलकण्ठ बस्यालले यौन दुर्व्यवहार गरेको भन्ने उजुरीको आधारमा शुक्रबार प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । नाबालिका छात्रालाई शिक्षक बस्यालले २०७८ भदौदेखि र भट्टराईले माघदेखि यौनजन्य क्रियाकलापमा फकाउने र यौन दुर्व्यवहार गर्ने गरेको उजुरीमा उल्लेख छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट आरोपहरु पुष्टि हुन थालेको भन्दै मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।
रोल्पा कारागारमा गए राति एक पुरुष कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारगारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयाका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो । शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।
लमजुङ: बैंकिङ कसुरमा फरार एक महिलालाई लमजुङ प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोर्दी गाउँपालिका ५, पाचोककी ३० वर्षीया हस्तीमाया गुरुङ रहेकी छिन्र । उनलाई काठमाडौंको बालाजुबाट पक्राउ गरेर ल्याइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले जानकारी दिए । उनका अनुसार उच्च अदालत, पाटनले २०७८ वैशाख ८ गते र फागुन २३ गतेको फैसलाअनुसार बैंकिङ कसुर मुद्दामा ३ लाख ९४ हजार रुपैयाँ जरिवाना र ३ दिन कैदको सजाय कायम हुने फैसला गरेको थियो । फरार हस्तीमाया काठमाडौंमै लुकेर बसेको भन्ने सूचनाको आधारमा लमजुङबाट खटिएको प्रहरीको विशेष टोलीले स्थानीय प्रहरीको समन्वयमा शनिबार पक्राउ गरेको र मंगलबार जिल्ला अदालतमा पेश गर्दा जरिवाना रकम दाखिला गर्न नसकेको र ३ दिनको कैद फैसलाअनुसार गरी ३ वर्ष ६ महिना २१ दिन कैदमा राख्ने गरी कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
सिद्धार्थनगर, बुटवलमा सुन पसल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। वैशाख १३ गते राति बुटवल उपमहानगरपालिका ६ बीपी चोकमा रहेको गुल्मेली मजुवा सुनचाँदी पसलमा गरगहना चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेर सार्वजनिक गरिएको हो। बुटवल ६ बीपी चोकस्थित दिलबहादुर सुनारले सञ्चालन गरेको गुल्मेली मजुवा सुनचाँदी पसलबाट चार करोड भन्दा बढीको सुन र गहना चोरी भएको थियो। चोरी गरेर फरार अभियुक्त भारत जौहरी मोहल्ला चौँक लखनउ चौक उत्तर प्रदेश बस्ने ३६ वर्षीय मोहसिन अब्दुल्ला खान, भारत साई एन्क्लेव गोमती बिहार कोलोनी लखनउ उत्तर प्रदेश बस्ने २५ वर्षीय मोहद जीशान खान र भारत तकिया पेपर मिल कालोनी सी ब्लक –२ निशातगँज महानगर लखनउ उत्तर प्रदेश बस्ने २२ वर्षीय मोहम्मद सारीक रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई प्रहरीले पक्राउ गरेपछि मंगलबार सार्वजनिक गरेको हो। इलाका प्रहरी कार्यालय बुटवल र लुम्बिनीबाट खटिएको टोलीले खोजतलासको क्रममा वैशाख २६ गते साँझ पक्राउ परेका हुन्। प्रहरीले उनीहरुको साथबाट सुन, सुनका गहना र सुनका सिक्का बरामद गरेको छ।
चितवनः आइतबार साँझ ७ः३० बजे भरतपुर –१२ निवासी अनिल परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको पाइएपछि आज चितवन तनावग्रस्त भएको छ । हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ । सोही विषयमा कांग्रेस निकट युवाहरुले पूर्व-पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गरेका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन समेत तोडफोड गरेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउन समेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन । चितवन मेडिकल कलेजमा समेत तोडफोड हुन सक्ने देखिएपछि अस्पताल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको मूल गेटमै प्रहरीहरु तैनाथ छन् ।
सङ्खुवासभा: भोटखोला गाउँपालिका– ४ का एक बृद्धाको जग्गा ठगी आरोपमा पक्राउ परेका वडा अध्यक्ष, मालपोत कार्यालयका कर्मचारी र ठगिमा संलग्न एक जनालाई विहीबार पुर्पक्षका लागि थुनामा पठाईएको छ । जिल्ला अदातल चैनपुरले वडा अध्यक्ष किन्साङ भोटे, मालपोत कार्यालयका नायव सुब्बा महेन्द्र पराजुली र स्थानीय सुरेन्द्र तामाङलाई कारागार पठाईएको हो । स्थानीय ६२ बर्षीया बिममाया तामाङको जग्गा जालसाजी गरि वडा अध्यक्ष भोटे, नासु पराजुली र स्थानीय तामाङले उनीहरुका नाममा पास गरेपछि बिममाया तामाङले उजुरी दिनुभएको थियो । तामाङको उजुरीको आधारमा ७ जनालाई प्रहरी पक्राउ गरि अनुसन्धान सुरु गरेको थियो । पक्राउ परेका अनिस गुरुङ, निमा लाजुङ भोटे र कल्पना शेर्पा जनहि दुई लाख पचास हजार रुपियाँ धरौटी बुझाएर छुटेका छन् । त्यस्तै, पासाङ शेर्पालाई एक लाख रुपैयाँ रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अदालतले तोके बमोजिमको धरौटी रकम जम्मा गरेपछि तारेखमा छोडिसकिएको समेत जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष भोटेले बिममायालाई बृद्धाभत्ताको कार्ड बनाई दिने भन्दै सदरमुकाम खाँदबारी ल्याएर प्रशासन कार्यालयबाट नागरिकताको प्रतिलिपि बनाएका थिए । उक्त नागरिकताको प्रतिलिपी प्रयोग गरेर मालपोत कार्यालयबाट बिममायाको जग्गा पास गरिएको थियो । बिममायाको आमा बुवाको मृत्युपछि एकल हकदार रहेको बिममायाको नाममा जग्गा पास गर्ने क्रममा कित्ता नम्बर २७५ र २८० को २७ रोपनी जग्गा उनीहरुले आफ्नो नाममा पास गरेका थिए । उक्त दिन नासु पराजुली मालपोत कार्यालयको कार्यबाहक प्रमुख थिए । उक्त जग्गा अप्पर अरुण जलविद्युत आयोजना निर्माण स्थलमा पर्छ । आयोजनाबाट जग्गाले मुआब्जा पाउने भएपछि जनप्रतिनिधी, कर्मचारी र आफन्त पर्ने तामाङको मिलेमतो गरि ठगि गरेका हुन् । उक्त जग्गा ‘गिरोह’हरुको नाममा गईसकेपछि मात्र बिममायाले थाहा पाएपछि प्रहरीमा उजुरी दिनुभएको थियो ।
पोखराः चुनाव चिन्हको विषयमा निर्वाचन आयोग अगाडी प्रदर्शन गर्दा आचार संहिता उल्लंघन गरेको आरोपमा पक्राउ परेका अटेरी अभियानका अशोक खड्का धरौटीमा रिहा भएका छन् । खड्का ५ हजार ५५५ रुपैयाँ जरिवाना बुझाएर छुटेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिएका छन् । उनी जिल्ला अदालत कास्कीको आदेशमा छुटेका हुन् । सुरुमा अटेरीले चुनाव चिन्ह लौरो पाएपनि पछि आयोगले उक्त चिन्ह दिन नसकिने धारणा राखेपछि अटेरीको समूह विरोधमा उत्रिएका थिए । सोही क्रममा खड्काले अभिव्यक्त गरेका भनाईमाथि आयोगले आपत्ति जनाउँदै पक्राउ आदेश दिएको थियो ।