ताप्लेजुङ: ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा छोराले आफ्ना वृद्ध बाबुआमाको हत्या गरेका छन् । फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको गोटीछाँगामा २५ वर्षीय आइतराज लिम्बूले आफ्ना बाबु ७० वर्षीय बृखबहादुर लिम्बू र आमा ७२ वर्षीया फिपरानी लिम्बूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कैलाश राईले जानकारी दिनुभयो । प्रहरी प्रमुख राईका अनुसार बिहीबार साँझतिर आइतराजले धारिलो हतियार खुकुरी प्रहार गरी बाबुआमाको हत्या गरेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । घरायसी विवादका कारण बाबुआमामाथि खुकुरी प्रहार गरेका प्रहरीको प्रारम्भिक अनुमान छ । यता घटनामा संलग्न आइतराजलाई बिहीबार राती नै प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको स्थलगत अध्ययन तथा मुचुल्का उठाउनलाई जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक दानबहादुर मिरिङ्तेनको नेतृत्वमा प्रहरी टोली घटना स्थलमा पुगिसकेको जनाएको छ । मृतकको पोष्टमार्टमका लागि सदरमुकाम फुङलिङतर्फ ल्याउने तयारी भइरहेको छ । घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको राईले जानकारी दिनुभयो ।
दाङ: लमही नगरपालिका-३ मझगाउँस्थित प्रतीक्षालयबाट प्रहरीले एक थान कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका १९ वर्षीय सोमु बिक छन् । कटुवा पेस्तोल कम्मरमा लुकाई राखेको अवस्थामा बिकलाई वडा प्रहरी कार्यालय, लमहीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जाजरकोट: अवैध रुपमा विक्रीका लागि लैजाँदै गरेको काईनेटिक ढुङगा सहित एक युवालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको जुनीचाँदे गाउँपालिका– ६ गर्खाकोटका २२ वर्षीय सुरत सिंहलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी चौकी छेडाबजारले सवारीसाधन चेकजाँच गर्ने क्रममा शिवालय गाउँपालिका– १ छेडाबजारमा प्लास्टिक झोला भित्र काईनेटिक ढुङगा (पत्थर) नौ किलोग्राम पाँच सय ग्राम बरामद गरि युवालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सन्तोष निरौलाले जानकारी दिनुभयो । कर्णाली प्रदेश ०२००१ च ०४९६ नम्वरको बोलेरो पिकअप जीपमा सवार युवालाई कार्वाहीको लागि खानी तथा भुगर्व विभाग अन्तर्गत पठाईएको प्रहरीले जनाएको छ । जाजरकोटको जुनिचाँदे र कुशे गाउँपालिकामा वहुमुल्य पत्थरखानीहरु प्रसस्तै मात्रामा पाइने गरेको स्थानीयबासीको भनाई छ ।
पोखरा: पोखरा ६ लेकसाइड स्थित बिजिबी गल्लीमा बस्ने ३६ वर्षिय सन्तोष जलारी, बैशाख ५ गते घरै थिए । दिउँसो साढे १ बजे भाडा पखालेर कोठामा छिरेका के थिए । त्यतिकैमा ४४ वर्षिया सेतीमाया अधिकारी सन्तोषको डेरामा आइपुगिन । उनीहरुको चिनजान नयां थिएन । सेतीमाया सन्तोषको कोठामै पसिन । दुईबिच सामान्य गफ भयो । त्यतिकैमा सेतीमायाले दिउँसै रक्सी पिउने प्रस्ताव राखिन् । तर सन्तोषले स्वीकारेनन् । सेतीमायाले भनिन्, के हो भाउ बढेको हो ? सन्तोषले त्यसो नभएको जवाफ दिए । त्यसपछि दुइबिच हुने सम्बन्धको बारेमा भनाभन भयो । सन्तोषलाई सेतीमायाले गालामै झापड हानिन । रिसले चुर परेका सन्तोषले पनि एक झापड फर्काउने निधो गरे र हाने । सन्तोषले टाउकोमा हानेको झापड सेतीमाया छल्दा घाटीमा लाग्यो । त्यसपछि सेतीमाया काप्दै ढलिन् । सन्तोषले पानी छर्किए तर सेतीमाया उठिनन् । सेतीमायाले देह त्यागे । आफु फस्ने डर मान्दै उनले सेतीमायाको शव अर्काे कोठीमा गलैचाले बेरेर लुकाए । किनभने दिउँसो ३ बजे पछि छोराहरु स्कुलबाट आउने समय थियो । उनले उक्त शवलाई पन्छाउन चिसापानी सम्झे । उनले गलैचा धुन फेवाताल लाने भन्दै आफ्नो ठुलो छोरा १८ वर्षिय साजन जलारीलाई गुहारे । त्यसपछि उनले उक्त शवलाई ठेलामा हालेर पोखरा २२ मा पर्ने चिसापानी फालेर फर्किए । सेतीमायाको शवलाई फालेर घर फर्केका सन्तोष जलारीलाई सार्वजनिक गर्र्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले भने, ‘फेला परेको शवमा अस्वाभाविक चिन्हहरु देखिएपछि हामीले अनुसन्धान अघि बढाएका थियौ । हामीले त्यो क्षेत्रको सिसिटिभी फुटेजहरु खोज्ने क्रममा एउटा यस्तो भेटायौ जहाँ ठेला ढकल्दै गरेको दृश्य प्रष्ट छ । त्यसैमा केन्द्रीत रहेर अनुसन्धान गर्दै जादा यो सबै खुलेको हो ।’ एसपी थापाले वडा प्रहरी कार्यालयका बैदामका प्रमुख प्रहरी नायव उपरिक्षक युवराज भण्डारीको सक्रियतामा यय घटनाको अनुसन्धानमा सफलता मिलेको उल्लेख गरे । उनले अवैध सम्बन्धकै कारण सेतीमायाको ज्यान गुमेको प्रष्ट पारे । उनको हत्यामा संलग्न रहेका पोखरा १८ का सन्तोष जलारीलाई थप अनुसन्धानको लागि म्याद थप गरिएको जानकारी दिए । मृतक सेतीमाया अधिकारी दिप्रुङ चुईचुम्पा गाउँपालिका १ खोटाङ घर भई हाल अस्थायी रुपमा पोखरा ५ मालेपाटन बस्दै आएकी थिईन् ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले आज दिउँसो ४ बजे कार चालक एन्जिल बम मल्लाई सार्वजनिक गर्ने भएको छ । आइतबारदेखि फरार रहेका कुश्मा नगरपालिका १ पर्वतका २७ वर्षिय मल्लाई काठमाण्डौबाट पक्राउ गरी आज पोखरा ल्याएको थियो । उक्त पत्रकार सम्मेलनमा मल्ल सहित कर्तव्य ज्यान मुद्धाका अर्का एक व्यक्तिलाई समेत सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सविना पुनको मृत्यु भएको थियो ।
कपिलवस्तु: केही दिनदेखि म्यादी हुँ भनी अभद्र भिडियो सार्वजनिक गर्दै सामाजिक सञ्जालमा छाएका एक युवक पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु बाणगंगा नगरपालिका– ४ का १६ वर्षीय नवराज रेग्मी रहेका छन् । एसएसपी विष्णु केसीका अनुसार पक्राउ पर्ने व्यक्ति म्यादी प्रहरी होईनन् । उनले आफ्नो फुपूका छोरा पुरण भट्टराईको म्यादी प्रहरी पोशाक प्रयोग गरेका थिए । भिडियोमा के थियो? सेल्फी भिडियोमा रेग्मीले आफू म्यादी प्रहरी भएको बताएका छन् । भिडियोमा ती युवकले भनेका छन्, (उनकै भाषमा) ‘सागर, बसन्ते, किस्ने सबहरू नडरा न हो । तेरो दाइ मिदी भइसकेको छ । केटाहरू के खान मन छ बाटोमै खा न हो बाल भएन, जोइन तान्न मन छ भने पनि तान्दे । लड्न मन लागे लड । कसैलाई हान्न मन छ भने हान्दे, तेरो दाइ छ मिदी ।’ रेग्मी त्यतिमै रोकिन्नन्, उनी थप्छन्, ‘माँ कसम निखिल उप्रेती मेरो नाम नेपालभरि चिन्छ । इन्स्पेक्टर त डराउँछ । नेपालको कानुन डराउँछन् ।’ एसएसपी केसीका अनुसार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
पोखराः कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार भएको दुर्घटनापछि फरार रहेका कार चालक एन्जिल बम मल्ललाई काठमाण्डौंमा पक्राउ गरी पोखरा ल्याइएको छ । हाल मल्ललाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । प्रहरीका अनुसार मल्लले चलाएको ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको हो । घटनापछि फरार मल्लको खोजीमा जुटेको प्रहरीले उनको फोटो सार्वजनिक गर्दै सहयोगको अपीलसमेत गरेको थियो । प्रहरी सुत्रले दिएको जानकारी अनुसार आजै मल्ललाई पत्रकारसमक्ष सार्वजनिक गर्ने सम्भावना छ ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले गत आइतबार कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका कार चालकलाई खोजतलास गर्न आम नागरिकलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालय कस्कीको आधिकारिक फेसबुक पेजमा सुचना जारी गर्दै फरार रहेका कुश्मा नगरपालिका १ का एन्जिल बम मल्लाई कतै भेटेमा आफ्नो कार्यालयमा सम्पर्क गराउन अनुरोध गरेको हो । प्रकाशित सुचनामा लेखिएको छ, ‘मिति २०७९।०१।१८ गते आईतबार जिल्ला कास्की अन्नपूर्ण गा.पा. वडा नं. १ लेवाडे स्थित पोखरा बाग्लुङ सडक खण्डमा सवारी दुर्घटना पश्चात् फरार रहेका जिल्ला पर्वत कुश्मा न.पा. वडा नं. १ बस्ने वर्ष २७ को एन्जिल बम मल्ललाई कहि कतै देखेमा वा सूचना पाएमा जिल्ला प्रहरी कार्यालय कास्की सम्पर्क नं. ९८५६०३५५१२, ९८५६०३९५९९ मा सम्पर्क गरी अनुसन्धान कार्यमा सहयोग गर्नु हुन अनुरोध । ‘हुलियाः वर्ण गोरो उचाई अन्दाजी ५ फिट २ इन्च, ठिक्कको शरीर भएको, वर्ष २७ को एन्जिल बम मल्ल’ जिल्ला प्रहरी कार्यालय कास्कीले सामाजिक सञ्जाल (फेसबुक) मा फरार प्रतिवादीलाई खोजतलास गर्न सुचना जारी गरेपनि आन्तरिक रुपमा खोजीकार्य तिव्र पारेको प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभा न्यूजलाई बताए । उनले उक्त घटनालाई जिल्ला प्रहरी कार्यालयले पहिलो प्राथमिकतामै राखेर खोजिकार्य गरिरहेको जानकारी दिए । रहेनन् बाबु –छोरी कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार ग ३ च ३५२५ नम्बरको कारले ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा कुश्मा नगरपालिका ४ पर्वतका ४५ वर्षिय जित बहादुर पुन र छोरी १८ वर्षिया सुजिना पुनको मृत्यु भएको थियो । पोखराबाट पर्वततिर जाँदै गरेको कारले विपरित दिशाबाट पोखरा आउंदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा परेका छोरी सविनाको आइतबारनै मृत्यु भएको थियो भने बावु जितबहादुरको उपचारको क्रममा सोमबार विहान मात्रै ज्यान गएको थियो । फरार मल्ललाई कारवाही नहुदा सम्म शब नबुझ्ने आफन्तको अडान दुर्घटनापछि फरार रहेका कुश्मा नगरपालिका १ का २७ वर्षिय एन्जिल बम मल्ललाई पक्राउ गरि कारवाहीको प्रक्रिया अगाडी नबढाएसम्म मृतकका परिवारले शव नबुझ्ने अडान लिएका छन् । एक व्यक्तिको लापरवाहीले आफ्ना आफन्तले ज्यान गुमाएको बताउदै फरार मल्लाई छिटै पक्राउ गरि कडा भन्दा कडा उनीहरुले बताउदै आएका छन् । मृतक परिवारका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका थिए भने सोमबार फरार मल्ललाई पक्राउ नगरेको भन्दै पोखरा– हेम्जा सडकखण्ड अवरुद्ध गरेका थिए ।
विराटनगर: नेपाल–भारतको सीमाक्षेत्र विराटनगर–१८ इस्लामपुरमा भारतीय सुरक्षाकर्मीले हवाई फायर गर्दा स्थानीयवा त्रसित भएका छन् । स्थानीयले दिएको जानकारीअनुसार सीमा सुरक्षामा खटिएका भारतीय एसएसबी टोलीका एक जना जवानले तीन राउण्ड हवाई फायर गरेका हुन् । सोमबार २ बजे ड्युटीमा खटिएका जवानले दुई राउण्ड जमिनतर्फ र एक राउन्ड आकाशमा फायर गरेको विराटनगर १८ इस्लामपुरका स्थानीय सुरज मण्डलले जानकारी दिनुभयो । स्थानीयका अनुसार ड्युटीमा खटिएका एसएसबीका जवान मदिरा सेवन गरी लठ्ठिएको पाइएको थियो । ‘होहल्ला गरेपछि स्थानीयले एसएसबीको टोलीलाई घेराउ गरेका थिए । स्थानीयको भीड बढेपछि आफ्नो सुरक्षाको लागि भन्दै हवाई फायर गरेको हुनसक्छ,’ सीमा क्षेत्रमा खटिएका एक सुरक्षाकर्मीले भन्नुभयो । हवाई फायरबाट कुनै मानवीय क्षति भने भएको छैन । मोरङका प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले दशगजा क्षेत्रमा गोली चलेको पुष्टि गर्नुभयो । ‘गोली चलेको नेपालतिर होइन भारतीय क्षेत्रमा हो,’ एसपी कोइरालाले भन्नुभयो, ‘के विषयमा चलेको रहेको छ । हामीले पनि बुझने काम गरिरहेका छौँ ।’ अहिले गोली चलेको ठाउँमा स्थानीयको भीड लागेको छ । गाेरखापत्रबाट साभार