लमजुङ, बैशाख १६ गते । लमजुङका एक जलविद्युत आयोजनाकै कर्मचारीको मिलेमतोमा चोरी गर्ने नौजनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ । क्व्होलासोंथर गाउँपालिका वडा नम्बर ५ स्थित रुदीखोला जलविद्युत आयोजना ‘बि’ क्षेत्रबाट हेडरेस पाइपहरु चोरी गर्न लागेको अवस्थामा सात जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरी टोलीले बैशाख ९ गते दिउँसो १ बजेको समयमा समूहलाई पक्राउ गरेको हो । चोरी गर्ने कार्यमा संलग्न भारत घर भई हाल पोखरा रत्नचोकस्थित कवाडीमा काम गर्ने ३३ बर्षीय नरेशकुमार शाह, भारत घर भई पोखरास्थित कवाडीमा काम गर्ने २२ बर्षीय रुपेश शाह, तनहुँको म्याग्दी नगरपालिका वडा नं. ४ का ३३ बर्षीय तारा गुरुङ, धादिङको सिद्धलेख गाउँपालिका वडा नं. ५ का ४८ बर्षीय मनोज भन्ने मंगले घले, तनहुँको भिमाद नगरपालिका वडा नं. २ का ३० बर्षीय मनोज थापा, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. ५ का २४ बर्षीय मनिष पुर्जा र भानु नगरपालिका वडा नं. १३ का धनबहादुर गुरुङलाई पक्राउ गरेको हो । उनीहरु विरुद्ध अनुसन्धान गर्दै जाँदा उक्त आयोजनाबाट चोरी हुनुमा आयोजनाकै सवारी चालक पर्वतको कुस्मा नगरपालिकाका ४६ बर्षीय आकाश भन्ने दिलबहादुर घर्तीको संलग्नतामा चोरी भएको खुल्न आएको प्रहरीले जनाएको छ । दिलबहादुर घर्तीसहित सोही घटनामा संलग्न रहेका भारत घर भई हाल पोखरा बस्ने ५० बर्षीय पन्नालाल शाहलाई भने बैशाख १४ गते बुधबार पक्राउ गरी जिल्ला अदालत लमजुङबाट म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक, सूचना अधिकारी जगदिश रेग्मीले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानबाट भारत घर भई हाल पोखरा रत्नचोकस्थित रहेको कवाडीमा काम गर्ने नरेशकुमार शाहले आयोजनाका फलामको पाईपहरु काट्नको लागि पोखराबाटै ट्रकसहित पाईप काट्ने उपकरण ल्याएको खुलेको छ । उनीहरुलाई उक्त ट्रक तथा फलाम काट्ने उपकरण सहित पक्राउ गरिएको हो । उनीहरुले चोरी गर्नको लागि आयोजनामा फलामको पाईपहरु ग्यास कटिङद्धारा काट्दै गरेको अबस्थामा फेला परेको हो । सामान चोरी गरी लैजान नसकेको प्रतिवादीहरु विरुद्ध चोरी उद्योग सम्बन्धी कसूरमा अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।
पाेखराः शनिबार निर्वाचन आयोग कास्कीको कार्यालय अगाडी प्रदर्शन गरेको विषयलाई लिएर अटेरी अभियानका अभियन्ता अशोक खड्कालाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको छ । खड्कालाई निर्वाचन अधिकृतको आदेशमा पक्राउ गरिएको अभियानका परिकल्पनाकार एवं पोखरा महानगरपालिकाका मेयर प्रत्यासी गनेस पौडेलले जानकारी दिएका छन् । खड्का पक्राउ परेका पुष्टी गर्दै जिप्रका कास्कीका डिएसपी सुन्दर तिवारीले आयोगले पक्राउ गर्नु भनि पठाएको पत्रको आधारमा नियन्त्रणमा लिएको बताए । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ उल्लंघन गरेको पत्रको आधारमा खड्का पक्राउ परेका हुन् । यस विषयमा खड्काले माफी मागे र आयोगले माफी दिएको खण्डमा बाहेक कानुन बमोजिम कारवाही हुने जिप्रका कास्कीले जनाएको छ । अभियानका मेयर प्रत्यासी पौडेलले भने चुनाव चिन्ह लौरो नदिने भन्ने विषयमा प्रदर्शन हुँदा आक्रोशमा बोलेको विषयलाई लिएर अभियानको चुनावी प्रचार प्रभावित पार्न खोजिएको प्रतिक्रिया दिएका छन् । ‘हामीलाई हिजैदेखि चुनाव चिन्ह दिने, पछि फेरी लौरो नमिल्ने भन्दै अनावश्यक तनाव दिने काम भइरहेको थियो’ पौडेलले भने ‘आज आएर अभियानलाई नै प्रभावित पार्न धरपकड सुरु गरिएको छ ।
काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् । मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरूले नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरूले प्रतिव्यक्ति एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ । त्यसपछि उनीहरू फरार थिए । पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । थप अनुसन्धान गर्न उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।
काठमाडौं- बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति प्राडा विश्वराज जोशीलाई निलम्बन गरेको छ । पदीय जिम्मेवारी पूरा नगरेको आरोपमा छानबिन गर्नका लागि उहाँलाई निलम्बन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव यमलाल भुषालले जानकरी दिनुभयो । प्रतिष्ठानका एक चौथाई सदस्यले उपकूलपति डा. जोशीले जिम्मेवारीपूर्वक काम नगरेकोलगायत विषयमा लिखित निवेदन दिएपछि छानबिनका लागि उहाँलाई निलम्बन गरिएको बताइएको छ । मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को उपदफा( ३) बमोजिम छानबिनका लागि उपकूलपति प्राडा जोशी स्वतः निलम्बनमा परेको सचिव भुषालको भनाइ छ । प्रा.डा जोशी २०७७ साउन १६ गते चार वर्षका लागि उपकूलपतिमा नियुक्ति हुनुभएको थियो ।
बाराः जिल्ला प्रहरी कार्यालय बाराको टोलीले बिहीबार डेढ सय किलो गाँजासहित २ भारतीय नागरिकलाई पक्राउ गरेको छ । बाराको मटिअर्वा चौकीबाट खटिएको गस्तीले निलकण्ठवा नजिक नेपाल भारत सिमाना वरपर करिब दर्जन व्यक्ति गाँजा ओसारपसार गरेको देखेपछि नियन्त्रणमा लिन सुरु गरेको थियो । सोही क्रममा समूहले गाँजा फालि भाग्ने प्रयास गर्दा प्रहरीले २ जनालाई पक्रन सफल भएको छ । प्रहरीले उनीहरुबाट प्रति बोरा १५ किलोको दरले १० बोरा गाँजा नियन्त्रणमा लिएको हो । जिप्रका बाराका अनुसार पक्राउ पर्नेमा भारत बिहारको मोतिाहारीस्थित संग्रामपुर निवासी ६० वर्षीय रामदर्शन महतो र सोही ठेगानाका ३५ वर्षीय अजित पासवान रहेका छन् । पक्राउ परेको दुबैलाई प्रहरीले बारा जिल्ला अदालतबाट बिहीबारै लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।
राजविराज: सप्तरीको खडक नगरपालिकामा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । विवाहमा जन्तीसँगै ल्याएइको डिजे बाजा बजाउने विषयलाई लिएर भएको विवादपछि कुटपिटमा परी खडक नगरपालिका–४ पंसेराका २५ वर्षीय सन्तलाल पासवानको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सन्तलालका छिमेकी रामचन्द्र पासवानकी छोरीको विवाहमा दुई दिन अगाडि राति जन्ती आएको थियो । डिजे बाजासहित आएको जन्तीलाई विवाहस्थल पुग्नुअगाडि आफूहरुलाई डिजे बाजामा नाच्न दिनुपर्यो भन्दै गाउँका केही गैर दलित युवाले केही समय जन्तीलाई रोकेका थिए । वैवाहिक कार्यक्रममा ढिलाइ भएपछि सन्तलालका बाबुआमासहित बेहुली पक्षकाले जन्ती टोलीलाई विवाहस्थलतर्फ जान आग्रह गरेका थिए । जन्तीलाई रोक्न रोजेपछि विवाद बढेको स्थानीयवासीको भनाई छ । सो क्रममा नाच्न पुगेका युवाले बेहुली पक्षकालाई गालीगलौच सुरु गरेपछि सन्तलाल समेतले युवालाई विवाद नगर्न भनि सम्झाइबुझाइ गर्न खोजिरहेको बेला युवाको समूहले सन्तलाललाई नियन्त्रणमा लिएर टाउकोमा इँटाले निर्घात कुटेको उनको बुबा रामअषिश पासवानले बताउनुभयो बताए । बिहेकै दिन सोमबार आफ्ना छिमेकी महादेव दास (तत्मा)ले वडाध्यक्ष पदका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएको विषयलाईसमेत लिएर गैर दलित युवाले आफ्नो छोरामाथि आक्रोश पोखेको हुनसक्ने उहाँको आरोप छ । विवेक चौधरी, दिलीप चौधरी, सुशान्त चौधरी, नरसिंह चौधरी, गोविन्द चौधरी, दिनेश चौधरीलगायतले छोरालाई कुटेको उहाँको बुबाको भनाई छ । पासवानको विराटनगरमा उपचारको क्रममा आज मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । कुटपिटको घटनापछि पीडित पक्षबाट आएको ठाडो उजुरीका आधारमा एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिए । यसैबीच उपचारको क्रममा सन्तलालको मृत्यु भएपछि आक्रोशित गाउँलेहरुले आज पूर्व–पश्चिम राजमार्गअन्तर्गत अमहा चौकमा तीन घण्टा चक्काजाम गरेका छन् ।
काठमाडौं: नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा मोटरसाइकल चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले मकवानपुर इन्द्रसरोवर गाउँपालिका–५ घर भई काठमाडौँको तारकेश्वर नगरपालिका–५ लोलाङमा बस्दै आएका २६ वर्षीय सुदास लामालाई आज पक्राउ गरेको हो । कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले ललितपुरको गोदावरी नगरपालिका–८ डुकुछापबाट हराएको मोटरसाइकल चोरीमा संलग्न लामालाई काठमाडौँको तारकेश्वरबाट पक्राउ गरिएको बताए । लामाले चोरी भएको वास्तविक नम्बर बागमती प्रदेश ०२–०२५ प १०१० नंको २२० सिसीको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरी लु ६४ प ७३७५ नं बनाएर सञ्चालन गरेको अनुसन्धानमा खुलेको छ । मोटरसाइकल हराएपछि गोदावरी नगरपालिका–८ डुकुछापका नवराज घिमिरेले ट्राफिक कार्यालयमा उजुरी दिएका थिए । पक्राउ गरिएका व्यक्ति र मोटरसाइकललाई चोरी मुद्दामा आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको कार्यालय प्रमुख जोशीले बताए । यसैगरी नेपाल प्रहरीले उच्च अदालत पाटनबाट रु ११ लाख ६९ हजार जरिवना ठहर भएका फरार एक अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको विसं २०७८ फागुन २९ को फैसलानुसार दुई दिन कैद सजाय र बिगो बमोजिम रु ११ लाख ६९ हजार जरिवना तोकेपछि फरार रहेका ओखलढुङ्गा सुनकोसी गाउँपालिका घर भई कपन बस्ने ३४ वर्षीय रामकुमार राईलाई मङ्गलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको जानीजानी बैकिङ कसुरजन्य अपराध गरेकाले राईलाई मङ्गलबार टङ्गाल काठमाडौँबाट पक्राउ गरिएको जानकारी दिए। पक्राउ राईले आफ्नो राष्ट्रिय वाणिज्य बैँक गौशाला शाखाको पैसा नभएको चेक दिएर बैकिङ कसुरजन्य अपराध गरेका थिए । पक्राउ राईलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालत पेश गरेको प्रवक्ता महतोले बताए ।
पाेखराः जुवाखाल सन्चालन गरेकाे सूचनाकाे आधारमा पोखरा ३ नदीपुर बस्ने राम पुनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार जुवातास खेलाएका पुनसँगै जुवातास खेल्दै गरेका अन्य ९ जनालाई मंगलबार बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका २ अर्चलबोटबाट पक्राउ गरिएको हो । ‘सबै प्रोपाइलहरु थाहा छैन । को कुन पार्टीमा आवद्ध छ, के प्रोफाइलको हो भन्ने कुरा हामीलाई थाहा हुदैन हामी विभाग हो, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीले सुनगाभासँग भने, ‘हामीले जुवामा पटके होकी हैन भन्ने मात्रै हेर्छाै । म्याद थप भएपछि प्रेस रिलिज आउँछ ।’ पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानको लागि आज (बुधबार) म्याद थप गरिने बताईएको छ । स्रोतका अनुसार जुवा खेलाएका राम पुन राष्ट्रिय भलिबल रेफ्री हुन् ।
काठमाडौँ, वैशाख १४ गते । डिभिजन वन कार्यालय, मुगुमा कार्यरत वन अधिकृत भरतबहादुर वुढथापा, सव इन्जिनियर गोरसिंह वढुवाल र डिभिजन वन कार्यालय, मुगुमा तत्कालीन कार्यरत असिस्टेन्ट सव इन्जिनियर रबिन्द्र शाहीले पद मार्ग निर्माण कार्यगर्दा झुठ्ठा विल बनाई योजनाको विनियोजित रकम पुरै भुक्तानी दिई सरकारी रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयागले मंगलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरको छ । सोरु गाउँपालिका वडा नं १ स्थित काछदेखि छोटासम्मको पर्यटक पदमार्ग निर्माणको लागि डिभिजन बन कार्यालय, मुगुबाट आर्थिक बर्ष २०७५–०७६ मा बिनियोजित रकमबाट उक्त कार्य गर्ने क्रममा लागत इस्टिमेटमा उल्लेख गरे अनुसार कार्य नगरी, भएको कार्यभन्दा बढी परिमाण उल्लेख गरी नापी किताब, भुक्तानी बिल तयार गरी, फिल्डमा कार्य नगरी आठ लाख ८७ हजार ६ सय ५३ रुपियाँ ७७ पैसा भुक्तानी लिनेरदिने काम गरेको अख्तियारले उल्लेख गरेको छ । अख्तियारले सरकारी र सार्वजनिक सम्पत्तिमा बदनियतपूर्वक हानिनोक्सानी पुर्याइएकोले उक्त कार्यमा संलग्न कर्मचारी र निर्माण उपभोक्ता समितिका पदाधिकारीलाई बिगोसमेत असुल उपर हुनेगरी कानुन अनुसार कारवाही गर्न अदालतमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।