तनहुँ: नेपाल तमु विद्यार्थी छोंज धींको केन्द्रीय अध्यक्षमा चितवनका पवन तमु निर्वाचित भएका छन् । आज बिहान दमौलीमा सम्पन्न बाह्रौ महाधिवेशनबाट पवनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । महाधिवेशनबाट उपाध्यक्षमा दोलखाका विष्णु तमु, लमजुङका गौचन तमु, महिला उपाध्यक्षमा झापाकी सिर्जना तमु, महासचिवमा कास्कीका युवराज तमु, उपमहासचिवमा धादिङका अनिल तमु, सचिवमा विकास तमु, कास्कीकी नेहा तमु, स्याङ्जाका युवराज तमु, बाँकेका प्रकाश तमु, काठमाडौकी इशा तमु निर्वाचित भए । कोषाध्यक्षमा नवलपरासीका अनुपम तमु, सहकोषाध्यक्षमा काभ्रेकी अन्जु तमु, सङ्गठन विभाग प्रमुखमा चितवनका सविन तमु, प्रचारप्रसार विभाग प्रमुखमा गोरखाका मनोज तमु, भाषा, साहित्य, संस्कृति तथा अतिरिक्त क्रियाकलाप विभाग प्रमुखमा काभ्रेकी इशा तमु, विदेश विभाग प्रमुखमा गोरखाका सोम तमु, आइटी विभाग प्रमुखमा चितवनका सुनिल तमु, शैक्षिक विभाग प्रमुखमा गोरखाका वृषराम तमु, प्रशिक्षण, अनुशासन तथा अनुगमन विभाग प्रमुखमा स्याङ्जाका गोविन्द तमु निर्वाचित भए । यस्तै केन्द्रीय सदस्यहरूमा सुनिल तमु, सोम तमु, सुशन तमु, माधव तमु, राजाराम तमु, आयुष तमु, रुक्सन तमु, प्रज्वल तमु, एलिना तमु, रितेश तमु, मनिष तमु, विनिसा तमु, प्रितम तमु, अनु तमु, इन्द्रमणि तमु, ममता तमु, राज घले, कोपिला तमु निर्वाचित भए । गत शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गरेसँगै सुरु भएको महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गरी आज सम्पन्न भएको हो ।
काठमाडौँ: राष्ट्रिय परीक्षा उत्तरपुस्तिका परीक्षणमा लापरबाही हुन नदिन आग्रह गर्दै अनेरास्ववियु काठमाडौँ जिल्ला कमिटीले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मालाई ध्यानाकर्षण पत्र बुझाएको छ । बोर्डका उत्तरपुस्तिका निरीक्षकले जाँच गर्दा लापरबाही गर्ने गरेको भन्दै अध्यक्ष शर्माको ध्यानाकर्षण गराइएको अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाले जानकारी दिनुभयो । खोटाङ केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरस्थित थर्पुडाँडा माध्यमिक विद्यालयका छात्र शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर परीक्षकले अनुत्तीर्ण गराएको आरोपसहित ती छात्रका आफन्तले बोर्डमा उजुरी दिएको र उजुरीका आधारमा राष्ट्रिय परीक्षा बोर्डले पुनः उत्तरपुस्तिका परीक्षण गरी उत्तीर्ण भएको सूचना सार्वजनिक भएपछि अनेरास्ववियुले घटनामा सङ्लग्न दोषीलाई कारबाही गर्न पनि माग गरेको छ । तिमिल्सिना नेतृत्वको टोलीले परीक्षा नियन्त्रक नन्दलाल पौडेलसँग यस विषयमा छलफल गरेको थियो । परीक्षा नियन्त्रकका अनुसार २०८० को एसइई नतिजा हेर्दा पुनर्योगको लागि निवेदन दिने १८ हजार ६ सय १२ जना विद्यार्थीमध्ये आठ सय ४८ जना विद्यार्थीको नतिजा परिवर्तन भएको पाइएको अनेरास्ववियुले जनाएको छ । तीमध्ये २ सय विद्यार्थीले उत्तरपुस्तिका हेर्न पाउँ भनेर निवेदन दिएकामा ३६ जनाले विज्ञसँग बसेर उत्तरपुस्तिका हेरेका सङ्गठनले जनाएको छ । विज्ञले पुनःपरीक्षण नगर्न दबाब दिँदादिँदै १६ जना विद्यार्थीले पुनःपरीक्षणका लागि निवेदन दिएकामा १० जनाको नतिजा परिवर्तन भएर आएको तथ्याङ्कलाई हेर्दा उत्तरपुस्तिका पुनःपरीक्षण गर्दा ६२ दशमलव ५५ प्रतिशत विद्यार्थीको नतिजामा परिवर्तन आउने देखिएको अनेरास्ववियुले जनाएको छ । यसले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, मातहतका संयन्त्रहरू तथा सम्बन्धित सरोकारवालाले लापरबाही गरेको देखिएको भन्दै ध्यानाकर्षण पत्र बुझाइएको जनाइएको छ ।
धनुषाः मधेस प्रदेशका सात स्थानमा आगामी मङ्सिर १६ गते उप निर्वाचन हुने भएको छ । सप्तरी, धनुषा, महोत्तरी, रौतहटका सात स्थानमा निर्वाचन हुन लागेको हो । सप्तरीको डाक्नेश्वरी नगरपालिका–१ र ४ , धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७,रौतहटको राजपुर नगरपालिका –६ र बाराको गढीमाई नगरपालिका–८ मा उपनिर्वाचन हुन लागेको हो ।
विराटनगर: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक सुधार र संविधान संशोधनको विषयमा आवश्यक छलफल भइरहेको बताउनुभएको छ । विराटनगर विमानस्थलको अतिविशिष्ट कक्षबाट बाहिरिने क्रममा उहाँले सो अत्यन्त छोटो प्रतिक्रिया दिनुभयो । उहाँ समयको व्यस्तता र अभावका कारण पत्रकारहरुसँग पछि कुरा गर्ने पनि जनाउनुभयो । सो अवसरमा प्रधामन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले)कोशी प्रदेश कमिटीका इन्चार्ज एवं पूर्वमुख्यमन्त्री शेरधन राई, सो पार्टीका प्रदेश अध्यक्ष घनश्याम खतिवडा, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, सुरक्षा निकायका प्रमुखहरु, पार्टीका उच्चपदस्थ पदाधिकारीहरु एवं कार्यकर्ताहरुले भव्य स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानद्वारा आयोजना हुने १३औँ दीक्षान्त समारोहको अध्यक्षता ग्रहण गर्नुभएको हो ।
काठमाडौँः काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका नदी सफाइ अभियानलाई तीव्रता दिएको छ । महानगरको मध्य क्षेत्र भएर बग्ने इच्छुमती (टुकुचा)मा आज महानगरअन्तर्गतको वातावरण विभागले सफाइ गरेको छ । इच्छुमतीको भद्रकाली, सिंहदरबार क्षेत्रमा सफाइ गरिएको विभागका उपनिर्देशक सानुमाया महर्जनले जानकारी दिनुभयो । इच्छुमतीभित्र जम्मा भएको फोहर निकालेर महानगरका सफाइ कर्मचारीले किनारमा थुपारेका छन् । विभागले यसअघि असारमा पनि यसरी नै इच्छुमतीलगायत नदी सफाइ गरेको थियो । छ महिना नबित्दै फेरि नदीमा जम्मा भएको बोत्तल, प्लाष्टिकलगायत नकुहिने फोहर सफाइ गरिएको हो । महानगरले सफाइसँगै फोहर गर्नेलाई समातेर कानुनी कारबाहीको दायरामा ल्याउने तयारी पनि गरेको जनाइएको छ ।महानगरले काठमाडौँ उपत्यकामा भएर बग्ने वाग्मती, विष्णुमती, रुद्रमती, बल्खुलगायत नदीमा पनि यसरी सफाइ गर्दै आएको छ । नागरिकस्तरबाट सुरु भएको वाग्मती सफाइ महाअभियान छ सयौँ हप्तामा प्रवेश गरे पनि उपत्यकाका अन्य नदी भने सफा हुन सकेका छैनन् ।
बागलुङ: बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउँदै गरेको ‘पिकअपभ्यान’ जैमिनी–७ जैदीको व्यार्थला नजिकै आज बिहान दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ । ग २ च ९२४७ ‘पिकअपभ्यान’ सडकदेखि एकसय मिटरभन्दा तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी केशव थापाले जानकारी दिनुभयो । घटनामा मृतकको पहिचान खुलिसकेको छैन । ‘पिकअपभ्यान’मा सवार १ जनाको भने जीवितै उद्धार गरिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
झापा: नेपाल तरुण दल भद्रपुरले भद्रपुर नगरपालिका–५ स्थित घरविहीन श्रमिक मेहरा दायिराको घर निर्माण गरेको छ । इँट्टा र सिमेन्टले बनेको दुई कोठे नवनिर्मित घर आइतबार एक कार्यक्रमबीच भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेलले दायिरालाई हस्तान्तरण गर्नुभएको थियो । घर निर्माणमा रु पाँच लाख लागेको र सबै लागत तरुण दल भद्रपुरले व्यहोरेको तरुण दल भद्रपुर–५का सभापति इन्द्र नेपालले बताउनुभयो । घर बनेको पाँच धुर जग्गा भने श्रमिक दायराकै नाममा थियो । नगरप्रमुख गणेश पोखरेलले घरविहीन व्यक्तिको घर निर्माणमा तरुण दलले लिएको पहल कदमीको प्रशंसा गर्नुभयो । उहाँले जनसेवा र सामाजिक कार्यमा राजनीतिक दल तथा तिनको भ्रातृ सङ्गठन सक्रिय हुँदा जनतामा लोकतान्त्रिक व्यवस्थाप्रति भरोसा बढ्ने बताउनुभयो । नवनिर्मित घर प्राप्त गरेपछि दायिराले आर्थिक अभावले लामो समयदेखि घर बनाउन नसकेकोमा नयाँ घर पाउँदा खुसी लागेको बताउनुभयो ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ ३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ९ र बिक्री दर एक सय ७४ रुपैयाँ ८६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५३ रुपैयाँ ८५ पैसा र बिक्री दर एक सय ५४ रुपैयाँ ५३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ७ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ८५ पैसा र बिक्री दर ९७ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ २ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिद दर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७६ पैसा र बिक्री दर १८ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ८७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३ पैसा, कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिद दर तीन रुपैयाँ ९४ पैसा र बिक्री दर तीन रुपैयाँ ९६ पैसा, युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ६८ पैसा र बिक्री दर ३६ रुपैयाँ ८४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३० रुपैयाँ ७४ पैसा र बिक्री दर ३० रुपैयाँ ८८ पैसा, साउथ कोरियन वन एक सयको खरिद दर ९ रुपैयाँ ६३ पैसा र बिक्री दर ९ रुपैयाँ ६८ पैसा, स्वीडिस क्रोनर एकको खरिद दर १२ रुपैयाँ ४५ पैसा र बिक्री दर १२ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिद दर १९ रुपैयाँ ३६ पैसा र बिक्री दर १९ रुपैयाँ ४५ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३३ पैसा र बिक्री दर १७ रुपैयाँ ४० पैसा, कुबेती दिनार एकको खरिद दर चार सय ३९ रुपैयाँ ३० पैसा र बिक्री दर चार सय ४१ रुपैयाँ २५ पैसा, बहराइन दिनार एकको खरिद दर तीन सय ५७ रुपैयाँ ३२ पैसा र बिक्री दर तीन सय ५८ रुपैयाँ ९१ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
पोखरा: मर्दी हिमाल आरोहणका क्रममा एक जना गाइडको मृत्यु भएको छ । कास्कीको माछापूच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमाल आरोहणका क्रममा नेपाली गाइडको मृत्यु भएको वडाध्यक्ष हरी बहादुर क्षेत्री (राजेन्द्र) ले सुनगाभा न्यूजसँग बताए । ‘काठमाडौंको सनराइज कम्पन्नीबाट मर्दी हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकसहित ५ जना आएका रहेका छन्, वडाध्यक्ष क्षेत्रीले भने, ‘आरोहणको क्रममा मुख्य गाइड ६२ वर्षीय लालबहादुर तामाङको लडेर मृत्यु भएको अपुष्ट जानकारी पाएका छौं, सँगै गएका गोराले भरिया प्रेस्टिज बुर्लाकोटीलाई भनेपछि हामीले थाहा पाएका हौं थप बुझ्दै छौं ।’ वडाध्यक्ष क्षेत्रीका अनुसार मर्दी आरोहणको लागि कात्तिक २३ गते हाई क्यापबाट गएका नर्वेका एक नागरिकसहित गएका ४ नेपाली मध्ये मुख्य गाइड तामाङको आज लडेर मृत्यु भएको बताए । मर्दी हिमाल आरोहणको क्रममा गाईडको लडेर मृत्यु भएपछि शव निकाल्नका लागि कम्पन्नीसँग सम्पर्क भइरहेको उनले बताए । मर्दी हिमाल आरोहणका लागि गएका विदेशी नागरिकसहितको टोली अहिले हाइक्यापमा फर्किएको छ । हाइक्याप पुग्न पोखराबाट २ दिन लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए ।