काठमाडौं: परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभा र सो महासभाका दौरानमा आयोजित विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति महत्वपूर्ण र प्रभावकारी रहेको बताउनुभएको छ । आज स्वदेश फर्किएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानास्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उहाँले संयुक्त राष्ट्रसङ्घको महासभा र विभिन्न उच्चस्तरीय बैठकहरूमा सक्रिय सहभागिता जनाउँदै नेपालको राष्ट्रिय हित र चासोका मुद्दाहरूलाई प्रमुखताका साथ उठाइएको बताउनुभयो । मन्त्री डा राणा क्यानाडाको टोरन्टोमा आयोजित विश्वका महिला विदेशमन्त्रीहरुको बैठक, अमेरिकाको न्युयोर्कमा आयोजित राष्ट्रसङ्घीय महासभा र कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग ९एसिडी० को तेस्रो सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्कनुभएको हो । मन्त्री डा राणाले ती बहुपक्षीय एवं क्षेत्रीय बैठकहरूमा नेपाल स्पष्ट रुपमा सुनिने र देखिनेगरी उपस्थित भएको पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो “यहाँ हामीले जसरी नेपालमा यो भएन, त्यो भएन भन्ने गरेका छौँ वास्तवमा त्यस्तो अवस्था पनि होइन । तथ्य र तथ्याङ्कहरुमा हेर्दा नेपालको अवस्था नाजुक छैन । हामी दिगो विकास लक्षको प्राप्तिमा ४७ प्रतिशतसम्म प्रगति गरेका छौँ । तर कतिपय देशको त अहिले पनि १७ प्रतिशत मात्र प्रगति भएको पनि देखिएको छ । हाम्रो अवस्थालाई हामीले सकारात्मक रुपमा लिएर अघि बढ्नुपर्छ ।” एक प्रश्नमा उहाँले हालै विकसित परिस्थितिका कारण लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे नेपाल सरकार जानकार रहेको, अहिलेसम्म सबै नेपाली सुरक्षित रहेका र नेपाल फर्कन चाहनेका लागि दूतावासमार्फत् हेल्प डेस्क स्थापना गरी सम्पर्क नम्बर दिइएको जानकारी दिनुभयो । उहाँ क्यानडाको टोरन्टोमा गत सेप्टेम्बर १९–२० मा आयोजित महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुनुभएको थियो । सो बैठकका क्रममा उहाँले विभिन्न देशका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँ संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा आयोजित महासभा र समिट अफ द फ्युचरमा सहभागी हुनुभयो । सो कार्यक्रमपछि कतारको दोहामा बुधबार र बिहीबार आयोजित एसिडीको तेस्रो शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर सहभागी हुनुभएको थियो । यी महत्वपूर्ण बैठकहरुमा नेपालको कूटनीतिक सम्बन्धको दायरा विस्तार गर्ने, नेपालको आफ्नो चासो र हितका विषयहरु अन्तर्राष्ट्रिय समुदायसमक्ष राख्ने, जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरिरहेका समस्याहरु विश्व समुदायलाई सुनाउने र नेपाललाई आवश्यक सहयोगका लागि अपिल गर्ने काम गरेको पनि उहाँले सुनाउनुभयो । त्यसैगरी नेपालमा शान्ति प्रक्रिया, महिला सशक्तीकरण एवं प्रजनन अधिकारका क्षेत्रमा भएका प्रगतिबारे पनि उहाँले ती फोरमहरुमा जानकारी दिनुभएको थियो । आफूले यसपटक अतिकमविकसित मुलुकहरूका तर्फबाट जि–२० का विदेशमन्त्रीहरुको बैठकलाई सम्बोधन गर्दै यी मुलुकहरूलाई हाल प्राप्त सहयोग थप अभिवृद्धि गर्न अनुरोध गर्नुका साथै प्रमुख अन्तर्राष्ट्रिय सङ्घसंस्थामा अतिकमविकसित मुलुकको प्रतिनिधित्व बढाउन समेत जरुरी रहेको कुरा उठाएको उहाँले बताउनुभयो । साथै भूपरिवेष्ठित विकासशील देशहरूको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै यी देशहरूका विकास चुनौतीहरू सामना गर्न वैदेशिक सहयोग, वैदेशिक लगानी, वैदेशिक व्यापार प्रवर््द्धनसम्बन्धी सहयोग तथा पूर्वाधार विकासमा अन्तर्राष्ट्रिय साझेदारी हुनुपर्ने विषयमा जोड दिएको जानकारी पनि उहाँले दिनुभयो । त्यस्तै पिस बिल्डिङ् कमिसनको मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी संशोधित विधेयक पारित गरेको र नेपाल दिगो शान्तिका लागि सदैव प्रतिबद्ध रहेको जानकारी गराएको उहाँले बताउनुभयो । महासभाकै दौरानमा विभिन्न फोरमहरुमा सहभागी भएर उहाँले महिला प्रतिनिधित्व, लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि नेपालको प्रतिबद्धता पनि व्यक्त गर्नुभएको थियो । महासभाका दौरानमा इन्डोनेसिया र सर्बियाका विदेशमन्त्रीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपाल र ती देशबीच कूटनीतिक र विशेष ९अफिसियल० राहदानी वाहकलाई भिसा छुट दिनेसम्बन्धी सम्झौतामा हस्ताक्षर पनि गर्नुभएको थियो । यसैक्रममा उहाँले वासिङ्टन पुगी नेपाल र अमेरिकाबीच द्विपक्षीय परामर्श संयन्त्र स्थापनासम्बन्धी सम्झौतामा पनि हस्ताक्षर गर्नुभएको थियो । राष्ट्रसङ्घको साइडलाइनमा उहाँले राष्ट्रसङ्घका उपमहासचिवहरु, विभिन्न देशका मन्त्री तथा विदेशमन्त्रीहरुसँग पनि भेटवार्ता गर्नुभएको थियो । त्यसपछि उहाँ कतारको दोहामा आयोजित एसिडीको तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सम्बोधन गर्नुभएको थियो । सो सम्मेलनको ‘साइडलाइड’मा परराष्ट्रमन्त्री डा राणाले बिहीबार विभिन्न देशका उपप्रधानमन्त्री, विदेशमन्त्री एवम् मन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको थियो । सो सम्मेलनमा एसिडी समूहमा आबद्ध एसियाली राष्ट्रहहरुका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, विदेशमन्त्री तथा मन्त्रीहरुको सहभागिता थियो ।
पोखरा: पोखरा महानगरपालिकाले चाडपर्व लक्षित अनुगमन सुरु गरेको छ ।नेपालीहरुको पर्व बडा दशैँ नजिकिएसंगै महानगरले अनुगमन सुुरु गरेको हो । महानगर उपभोक्ताहित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा शुक्रबार पोखराका विभिन्न ८ वटा पसलमा अनुगमन गरिएको हो । पोखरा वडा नम्वर २ रहेका भवानी पुजा सामग्री, महालक्ष्मी पुजा सामग्री भण्डार, सेलवेज क्यास एण्ड क्यारी प्रालि, एसएए स्टोर्स, गौचन स्टोर्स, ओझा किराना पसल, वडा नम्बर ३ मा रहेको साथी सपिङ सेन्टर र पोखरा ८ मा रहेको सहारा ट्रेडिङमा अनुगमन गरिएको हो । अनुुगमनका क्रममा म्याद गुज्रेका खाद्य सामग्री, सरकारले प्रविन्ध गरेको प्लाष्टिकको माला तथा फुलका गुच्छा जफत गरि ११ हजार १ सय ७९ रुपैयाँ बराबरको सामग्री नष्ट गरिएको छ । अनुगमनका क्रममा भवानी पुजा सामग्रीमा प्रतिबन्धित प्लाष्टिकका माला र फुलका गुुच्छा नष्ट गरिएको छ भने प्याकेजिङ अनुुमतिपत्र नलिई प्याकेजिङ गरेर विक्री वितरण गरेको, व्यवसाय नविकरण नगरेको र थप कारबाहीका लागि कार्यालयमा उपस्थित हुन निर्देशन दिइको छ । महालक्ष्मी पुजा सामाग्रीमा १५ सय बराबरको प्लाष्टिकका माला नष्ट गरिएको छ । उक्त पसलमा मुल्यसुचि नभएको ब्यवसाय दर्ता, नापतौलको दर्ता नभएको , लेवल नभएका सामाग्री विक्रीवितरण गरेको पाइएको छ । त्यस्तै एसएस स्टोर्समा अनुुगमनका क्रममा १५ सय मुुल्य बराबरको म्याद गुुज्रेको आइस क्र्रिम नष्ट गरिएको थियो भने प्याकेजिङ, ब्राण्डिङको इजाजत नलिएको, लेवल नखुलेको सामान विक्रीविरतण गरेको, ब्यवसाय दर्ता नभएको पाइएकाले पोखरा महानगरमा उपस्थित हुन निर्देशन दिइएको छ । साथी सपिङ सेन्टरमा म्याद गुज्रेका तेल, मकैको मिठो, दाल चिनिको चुलो, मसला गरी ४ हजार १ सय ३९ रुपैयाँ बराबरको सामाग्री नष्ट गएिको महानगर सहकारी तथा उद्योग शाखाका अधिकृत ऋषिराम सापकोटाले जानकारी दिए । यता ओझा किराना पसलबाट बदाम, चोकोज, कुरकुरे जिरा,पानीपुरी आदि गरेर १ हजार २ सय ३० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ । अनुुगमनका क्रममा गौचन स्टोर्सबाट १७० रुपैयाँ मुल्य बराबरको म्याद गुज्रेको दुुई पोका सफल दहि नष्ट गरिएको छ । पोखरा २ मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रालिमा म्याद गुज्रेको २ सय ग्रामको पनिर र फुुलको खाने तेल एक लिटर गरी ६ सय ४० रुपैयाँ मुल्य बराबरको सामग्री नष्ट गरिएको छ ।
काठमाडौं: डिजिटल सवारी चालक अनुमति पत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई एक सय चार थान स्मार्टफोन हस्तान्तरण गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज आयोजित कार्यक्रममा भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई स्मार्टफोन हस्तान्तरण गर्नुभयो । कार्यक्रममा मन्त्री दाहालले प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरीबीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्य शुभारम्भ भएको बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारबाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँको भनाइ थियो । प्रहरी महानिरीक्षक कुँवरले सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस् भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरीलाई हस्तान्तरण भएका स्रोत साधन अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुखलगायत वरिष्ठ प्रहरी अधिकृत उपस्थित हुनुहुन्थ्यो ।
काठमाडौं: नेपाल वातावरण पत्रकार समूह (नेफेज)को अध्यक्षमा चन्द्रशेखर कार्की निर्वाचित हुनुभएको छ । नेफेजको आज भएको ३९औँ साधारणसभापछि भएको मतदानमा कार्कीले ४५ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी रोशनी अधिकारी पाठकले २८ मत प्राप्त गर्नुभयो । कुल १०४ मतदाता रहेकामा निर्वाचनमा ७४ मत खसेको प्रमुख निर्वाचन आयुक्त डा रवि शर्मा अर्यालले जानकारी दिनुभयो । यसैगरी, उपाध्यक्षमा टीका बन्धन ४१ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी सुरेश शर्माले ३२ मत प्राप्त गर्नुभएको छ । महासचिवमा कमलदेव भट्टराई, सचिव (महिला)मा सृष्टि काफ्ले र कोषाध्यक्षमा भीष्मराज ओझा निर्विरोध निर्वाचित हुनुभएको छ । दुई सदस्य (पुरुष)का लागि भएको निर्वाचनमा यम बम र रामप्रसाद भण्डारी विजयी हुनुभएको छ । बमले ५४ र भण्डारीले ४६ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन आयुक्त अर्यालले बताउनुभयो । सदस्यका अर्का उम्मेदवार प्रकाश रिमालले ३० मत प्राप्त गर्नुभएको छ । कूल ११ सदस्यीय कार्यसमितिका लागि भएको मतदानमा दुई महिला सदस्य र दुई विज्ञ सदस्यको उम्मेदवारी नपरेकाले उक्त पदहरूमका नवनिर्वाचित कार्यसमितिले मनोनयन गर्ने निर्वाचन समितिले जनाएको छ ।
पोखरा: पोखराको जगदम्बा ट्राभल्सले सोफा र एसीसहितको ४ वटा अत्याधुनिक बस थपेको छ । पर्यटकीय राजधानी पोखराबाट देशका विभिन्न क्षेत्रमा सेवा दिइरहेको जगदम्बाले पोखरा–काठमाडौंका लागि २ वटा र पूर्वको धरान र विराटनगरहुँदै काकडभिट्टासम्म चल्ने रुटमा २ वटा गरेर कुल ४ वटा बस थपेको हो । सेवाग्राहीलाई उच्चस्तरको सेवा दिने उद्देश्यले थपिएको सोफा र एसीसहितको बसको प्रतिनिधि सभा सदस्य दामोदर बैरागीले आज विहान उद्घाटन गरे । सुविधा सम्पन्न बसमा कफी, खाजा र पानीसहितका सुविधा दिईने सञ्चालक केशवप्रसाद अधिकारीले जानकार दिए । बसमा पोखरा–काठमाडौंको यात्राका लागि १ हजार ६ सय भाडादर कायम गरिएको उनले बताए । पोखरादेखि पूर्व जाने गाडीमा भने खाजा, पानीलगायतका सुविधा नदिईने उनले स्पष्ट पारे । नया बस शुभारम्भको अवसरमा डेमो यात्रा गराइएको थियो । डेमो यात्रामासमेत सहभागी सांसद दामोदर बैरागीले सुविधा सम्पन्न अत्याधुनिक बसले पर्यटकीय राजधानीको औचित्य पुष्टि गर्न सघाउने बताए । ‘पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा यसले थप आकर्षण प्रदान गर्छ’–उनले भने । पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले सुविधा सम्पन्न बसले सेवा दिने क्रम निरन्तर बढिरहेको बताए । जगदम्बा ट्राभल्सले पोखरा–काठमाडौं र पोखरा–दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको छ । जगदम्बाले गत बर्षमात्र चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको थियो भने । पाचौं संस्करणमा थप ४ वटा सोफा र एसीसहितको अत्याधुनिक बस सञ्चालनमा ल्याएको हो । जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको छ । सञ्चालक अधिकारीले यात्रुको रोजाई अनुसार १ हजारदेखि १ हजार ६ र २ हजार ५ सय रुपैयाँसम्मको भाडादरमा पोखरा–काठमाडौं बस सञ्चालन गरिएको बताए ।
काठमाडौं: अविरल वर्षाका कारण सडक पूर्वाधारमा झण्डै रु २५ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनको क्रममा रहेकाले सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै झण्डै रु तीन अर्ब बराबरको बजेट आवश्यक पर्ने देखिएको छ । क्षति भएका सम्पूर्ण संरचनाको स्थायी रुपमा पुनःस्थापना गर्न रु २० देखि रु २५ अर्ब बराबर लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज संसद्को पूर्वाधार समितिको आजको बैठकमा यही असोज ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको क्षतिका बारेमा जानकारी गराउँदै अस्थायी रुपमा भएपछि राजमार्ग नियमित सञ्चालनका लागि अधिकतम प्रयास गरिरहेको जानकारी दिनुभयो । गत हप्ताको भीषण वर्षा र बाढीका कारण ३४ राजमार्गका आठ सय पाँच स्थानमा पहिरो गई सडक अवरुद्ध भएकामा सात सय ७४ स्थानको पहिरो हटाइएको छ । कूल २९ वटा राजमार्गमा विभागीय तथा भाडाकायन्त्र उपकरण र जनशक्ति प्रयोग गरी यातायात सञ्चालन गरिएको छ । हालसम्म पाँच वटा मुख्य राजमार्गका ३१ स्थानमा अवरुद्ध भएको यातायात सञ्चालनका गर्न अनवरत प्रयास जारी छ । कतिपय स्थानमा पहिरो हटाउनुका अतरिक्त कटिङ फिलिङ टेवा पर्खालका साथै ह््यूम पाइप र अस्थायी प्रकृतिको बेजिब्रिज समेत राखी यातायात सञ्चालन गर्नुपर्ने अवस्था रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । अरनिको राजमार्गको लार्चा– कोदारी खण्डको पाँच किलोमिटर क्षेत्रमा समस्या रहेको छ । लिपिङ पुल र लार्चाको बेजिब्रिज बगाएका कारण यातायात अवरुद्ध भएको छ । त्यसका लागि लार्चामा ह्यूम पाइप र पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिनेछ । बिपी राजमार्गको चौकीडाँडा– कालढुङ्गा खण्डको १८ किलोमिटर क्षेत्रमध्ये १२ किलोमिटर सडक पूर्णरुपमा बगेका कारणबीच बीचमा सवारी साधन रोकिएका छन् । दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको, रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भ भएसममका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रुपमा यातायात सञ्चालनको प्रयास गरिएको छ । पुष्पलाल मध्यपहाडी राजमार्ग अन्तर्गत दोदालघाट राकथुम ८० किलोमिटर खण्डको धेरै स्थानमा पहिरो गई सडकसमेत बासआउट भएको, दुवै तर्फबाट पहिरो पन्छाउने कार्य भइरहेको छ । सडक सफा गरी बर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौँ प्रवेश गराइनेछ । कान्ति राजपथको घपेली बगुवा खण्डको १३ किलोमिटर र बागमती पुलको दाँयाबाँया एप्रोचमा समस्या भएको छ । कमवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । बाग्मती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारीसाधन नियमित गराइने छ । मेची राजमार्ग अन्तर्गत रमिते फिदिमको आठ किलोमिटर खण्डको रमितेडाँडाको पहिरो हटाउने काम भइरहेको छ । हेवा खोलामा अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गरिनेछ । यस्तै, अरनिको राजमार्गको लिपिङमा १७ मिटर लामो बेलिब्रिज जडान गरिनेछ । यस्तै अरनिको राजमार्गको लार्चामा ४५ मिटर, बिपी राजमार्गको सुनकोशी खैरेनीटारमा ५० मिटर लामो बेलिब्रिज जडान गर्नुपर्नेछ । यस्तै, बिपी राजमार्ग रामेछाप जोड्ने सडकको सुनकोशी खुर्कोट खण्डमा ५० मिटर लामो बेलिब्रिज जडानका लागि आवश्यक पहल सुरु गरिएको छ । सगरमाथा राजमार्गको सुनकोशी फोक्सिङटारमा एक सय १० मिटर लमबाइको पुल बगाएको छ । त्यसका लागि मन्त्रालयले आवश्यक पहल थालेको छ । मेची राजमगएको हेवा खोलाको ५० मिटर लामो पुल बगाएको छ । त्यसका लागि डाइभर्सन निर्माण गर्नुपर्नेछ । यस्तै, कान्ति लोकपथको १५ मिटर लामो बागमती पुल बगाएको छ । अप्रोच सडक निर्माण गरी सो पुल सञ्चालनमा ल्याउने तयारी छ । माईपोखरी सन्दकपुर इलामका रातेखोलाको ३५ मिटर लामो पुल बगाएको छ । पुल निर्माणका लागि आवश्यक पहल भइरहेको छ । क्षतिग्रस्त सडक पूर्वाधारको मर्मत सम्भारका लागि सङघीय सरकारले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावकारी पहल गरेको स्पष्ट पारेको छ । संसद्को भौतिक पूर्वाधार समितिको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले बाढीपहिरोका कारण राजमार्ग एवम् पुलहरुमा भएको क्षतिका कारण अस्तव्यस्त बन्न पुगेको यातायात क्षेत्र व्यवस्थापन र सञ्चालनका लागि मन्त्रालय तथा यातायात व्यवस्था विभागले विभिन्न पक्षसँग छलफल र परामर्श गरी सामान्य बनाउन विभिन्न पहल गरिएको जानकारी दिनुभयो । विपदका कारण अलपत्र परेका यात्रु एवम् यातायात मजदुरलाई यथाशीघ्र उद्धार एवम् राहत उपलब्ध गराउन गृहमन्त्रालयलाई अनुरोधसहित पत्राचार गरिएको मन्त्री दाहालले जानकारी दिनुभयो । विषम परिस्थितिका कारण उत्पन्न हुनसक्ने दुर्घटना एवम् जोखिम न्यूनीकरण गर्न अति आवश्यक काम बाहेक यात्रा नगर्न र गर्नै परे सावधान अपनाउन अनुरोध गरिएको थियो । यातायात व्यवसायी, नेपाल प्रहरी र नयाँ बसपार्क व्यवस्थापनसँग समन्वय गरिएको, देशैभरीको विपद एवम् सडकको अवस्थाको एकीकृत र भरपर्दो सूचना व्यवस्थापनका लागि नोल प्रहरी प्रधान कार्यालयलाई नियमित रुपमा फेसबुक पेजमार्फत ताजा सूचना सम्प्रेषण गर्न अनुरोध गरिएको मन्त्री दाहालले जानकारी दिनुभयो । काठमाडौँ छुट्ने यात्रुबहाक बसलाई सडकको अवस्था हेरी सुरक्षित ढङ्गले सवारीसाधन परिस्थिति हेरी उज्यालो समयमा नै गन्तव्यमा पुग्ने गरी समन्वय गरिएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यही असोज १४ गते सोमबार एकैदिन पाँच सय ५९ हवाई उडान भए । ती उडानमार्फत ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय गरी दुबै यो उडान र यात्रु सङ्ख्या सम्भवतः हालसम्मकै बढी भएको विमानस्थलले जनाएको छ । असोज १५ गते बुधबार हेलिकप्टरसहित पाँच सय ११ उडान भए । बुधबार आन्तरिकतर्फ हेलिकप्टरसहित एक सय ८२ उडान र एक सय ८२ वटा अवतरण भएका थिए । साथै अन्तर्राष्ट्रियतर्फ ५२ वटा उडान र ५२ वटा अवतरण भएका थिए । यसबाट १५ हजार नौ सय ६२ यात्रुले सेवा लिएका थिए । कार्यालयका अनुसार गत सोमबार कूल पाँच सय ९९, मङ्गलबार पाँच सय ११ र बुधबार चार सय ७३ वटा उडान भएका छन् । बिहीबार र शुक्रबार केही उडान चाप घटेको छ । दैनिक सरदर आन्तरिक र अन्तर्राष्ट्रिय दुबैगरी चार सय हाराहारी उडान हुने गरेकामा अहिले एक सयदेखि एक सय ५० सम्म थप उडान व्यवस्थापन गर्नु परिरहेको विमानस्थलले जनाएको छ । यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्चालन अवरुद्ध भएपछि विकल्पको रुपमा रहेको हवाई उडानमा अध्याधिक चाप बढेको हो । उडान चाप ह्वात्तै बढेपछि केही एयरलाइन्सले उडान सङ्ख्या पनि थपेका छन् । अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानमा चाप हुँदा विमानस्थलको टर्मिनलमा भीडभाड बढेको छ भने एयरलाइन्सलाई उडान व्यवस्थापनमा हम्मे हम्मे परिरहेको छ । विमानको उडान सङ्ख्या बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढेको छ । आन्तरिकमा धेरै उडान एकदेखि दुई घण्टासम्म ढिला हुने गरेका छन् । अन्तर्राष्ट्रियतर्फ एकघण्टा भन्दा बढी समयसम्म विमान होल्डमा बसेर अवतरण गर्नुपरेको छ । हवाई उडान चाप बढेपछि एयर ट्राफिक व्यवस्थापनका साथै हवाई उडानको सुरक्षाको सन्दर्भ पनि आउँछ । उडान चापले विमानस्थल व्यवस्थापनदेखि एयरलाइन्स, विमान चालक (पाइलट) तथा गन्तव्यका विमानस्थलको व्यवस्थापकीय र सुरक्षाको प्रश्न उठ्नु स्वभाविक पनि हो । त्यसो हो भने उडान चाप हुँदा हवाई सुरक्षाको सन्दर्भलाई कसरी हेरिन्छ त १ यसै सन्दर्भमा हवाई क्षेत्रका जानकारहरुसँग केही जिज्ञासाको उत्तर खोज्ने प्रयास गरिएको छ । हवाई उडान चाप रहेपनि हवाई सुरक्षालाई चुस्त दुरुस्त र प्रभावकारी बनाइएको नियामक निकाय एवं एयरलाइन्सका अधिकारीले दाबी गरेका छन् । उहाँहरुले हवाई उडान सुरक्षामा कुनै सम्झौता नहुने उल्लेख गर्नुभयो । आन्तरिक उडानमा आवश्यक जनशक्ति २४सै घण्टा खटिएर सेवालाई चुस्त र प्रभावकारी बनाइएको उहाँहरुको भनाइ छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले यात्रुको चाप बढेपछि उडान व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिएर नागरिकलाई गन्तव्यमा पु¥याउन सबै सक्रिय रुपमा लागेको बताउनुभयो । “हवाई सुरक्षामा शून्य सहनशीलता अपनाइएको छ । सुरक्षा र सेवालाई समानान्तर रुपमा अघि बढाइएको छ”, महानिर्देशक अधिकारीले भन्नुभयो, “विपद्को समयमा सहर–सहरबीच सम्पर्कविच्छेद छ, अहोरात्र खटेर उड्डयन क्षेत्रका कर्मचारी, एयर ट्राफिक कन्ट्रोलर (एटिसी), प्राविधिक, प्रशासनिक कर्मचारी, सुरक्षा निकाय, ‘फायर फाइटिङ’का कर्मचारीले मेहनतकासाथ काम गरिरहेका छन् अनेकौँ असहजताकाबीच यो स्तरको सेवा दिइएको छ, यसमा सबैले सकारात्मक कोणले हेर्नुपर्छ ।” वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीले उडान चाप व्यवस्थापन र हवाई सुरक्षाको पाटोलाई सम्पूर्ण एयरलाइन्सले तदारुकताका साथ ध्यान दिएर यात्रुलाई सुरक्षित तवरले गन्तव्यमा पु¥याइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै हवाई सेवा कम्पनीले पूर्ण क्षमताका साथ उडान सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षामा कुनै सम्झौता हुदैन, प्राविधिक जनशक्तिको क्षमता र विमानको क्षमता हेरेर आवश्यक जनशक्तिसहित व्यवस्थापन गरिएको छ ।” यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण सडक अवरुद्ध हुदाँ रोकिएका यात्रु विभिन्न गन्तव्यमा पुग्न हवाई माग रोज्जुको विकल्प छैन । सडकमार्ग अवरुद्ध हुँदा अहिले हवाई उडानमा चाप रहेको र यसले एयरलाइन्सबीचको प्रतिस्पर्धा पनि बढाएको हवाई विज्ञ अच्युत पहाडीले बताउनुभयो । “फेयर पाइटिङ र एयरलाइन्सको प्रतिस्पर्धाले पनि जोखिम बढी हुनसक्छ, हवाई सुरक्षाप्रति सतर्क हुनुपर्छ, हवाई सुरक्षालाई नियामक निकायले प्रभावकारी अनुगन गर्नुपर्छ”, उहाँले भन्नुभयो । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार उडान चाप बढेपछि विमानस्थलमा एयर ट्राफिक चाप बढ्ने र उडान डिले हुने तथा होल्डमा बस्नुपर्ने अवस्था हुन्छ । नियामक प्राधिकरणले एयरलाइन्सको माग र विमानस्थलको क्षमताका आधारमा उडान अनुमति दिने गरेको छ । “एयरलाइन्सको माग अनुसार आवश्यकता हो की हैन प्राधिकरणले विमानस्थलको एयर ट्राफिक क्षमता, टर्मिनलको क्षमतालाई विचार गरेर अनुमति दिने गर्छ”, प्रवक्ता शेर्पाले भन्नुभयो । विमान होल्ड हुनुमा विभिन्न कुराले काम गर्ने बताइन्छ । विज्ञहरुका अनुसार इन्स्टुमेन्ट फ्लाइट रुल ९आइएफआर० उड्ने विमानको मापदण्ड बढी हुन्छ । “विमान आइएफआरमा उडेपछि उसको नियम र आफ्नै मापदण्ड अनुसार कुन ठाउँमा विमान पुगेपछि अर्को विमानलाई कहाँसम्म जान दिने भन्ने हुन्छ । आइएफआरको मापदण्ड अनुसार उड्नुपर्ने भएकाले मौसम जस्तो भएपनि मापदण्ड कडिकडाउ हुन्छ”, प्रवक्ता शेर्पाले भन्नुभयो । भिजुअल फ्लाइट रुल (भीएफआर) उड्ने विमानको कम ‘सेप्रेसन स्टान्डर मेन्टेन’ गर्नुपर्ने हुन्छ । आइएफआरको मापदण्ड बढी भएकाले आवश्यकता, औचित्य हेर दिन मिल्ने नमिल्ने निर्णय लिइन्छ । यती एयरलाइन्सका हवाई सुरक्षा समेत हेर्ने प्रवक्ता सुदर्शन बर्तौैलाले उडान चाप व्यवस्थापनसँगै हवाई सुरक्षालाई पनि विशेष ध्यान दिएर सोही अनुरुप दक्षशक्ति परिचालन भइरहेको बताउनुभयो । “यात्रुको चाप बढ्दैमा ‘सेफ्टीलाई कम्प्रोमाइज’ गरेर विमानहरु उड्दैनन्”, उहाँले भन्नुभयो, “हवाई सुरक्षामा कुनै सम्झौता हुँदैन । उडान ढिलो हुनुमा विमानको मर्मतलगायतको पाटोलाई पनि सँगै लैजानुपर्ने भएकाले हो, एयरलाइन्सले हवाई सुरक्षालाई मध्यनजर गर्दै दैनिक तीन सिफ्टमा प्राविधिक जनशक्ति परिचालन गरेर काम गरिरहेका हुन्छन्, त्यसैले उडान चापले सुरक्षा जोखिम हुँदैन ।” लामो मर्मत र उडानको समयमा हुने छोटो मर्मत दुबैलाई एयरलाइन्सले समानान्तर रुपमा लगिरहेका हुन्छन् । सीमित सङ्ख्याका विमान र उडान व्यवस्थापनालाई मध्यनजर गर्दै उडान सञ्चालन गरिरहेका एयरलाइन्सहरुले जनाएका छन् । “यात्रुले टिकट पाएनन् भने पनि एयरलाइन्सलाई नै दोष दिने, बढी पैसा लिए, ढिलो उडाए जस्ता आरोप खेपिरहेकै छौँ”, श्री एयरलाइन्सका संस्थापक प्रबन्धक अनिल मानन्धरले भन्नुभयो, “आरोप पनि खेपिरहेका छौँ, दबावमा सेवा पनि सञ्चालन गरिरहेका छौँ, हवाई सुरक्षाको पाटोलाई विशेष ध्यान दिइएको छ ।” हवाई सुरक्षा मापदण्डलाई कडिकडाउ गरिएको छ । एउटा विमान अवतरण गरेपछि कति समयपछि उडान भर्ने भन्ने आफ्नै नियम हुन्छ । सोही अनुरुप मापदण्डका आधारमा उडान सञ्चालन हुन्छन् । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार उडान चापले उडानहरु ‘डिले’ भइरहेका छन् । उडान डिले हुनुमा एयर ट्राफिक जाम र मौसममा पनि भर पर्ने गरेको उहाँको भनाइ छ । अहिले सबै गन्तव्यको ‘अकुपेन्सी फुल’ भएको छ । जहाज सङ्ख्या कम भएकाले पनि यात्रुको माग धान्न नसकिएको हो । विगत वर्षहरूमा पनि दसैँ, तिहार छठलगायत महत्त्वपूर्ण चाडपर्वमा हवाईयात्रुको चाप हुने गरेको थियो । यसपटक अविरल वर्षापछिको बाढी पहिरोलगायत विपद्का घटनाले सडकमार्ग अवरोध हुँदा हवाई उडानमा थप चाप बढ्न गएको हो । उडान सङ्ख्या बढेपछि आन्तरिक विमानस्थमा अबेर रातिसम्म उडान भइरहेका छन् । सरकारले हवाई उडान चापलाई मध्यनजर गर्दै दसैँको पहिलो दिन आज (घटस्थापना)देखि पूर्णिमासम्म रात्रिकालीन उडान सञ्चालन गर्ने जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले घटस्थापनादेखि पूर्णिमासम्म रात्रिकालीन उडानको व्यवस्था मिलाएको जनाएको छ । रात्रिकालीन उडान हुने सम्पूर्ण विमानस्थलमा बिहान ४ः३० बजेदेखि राति अपरेशनको समयसम्म आवश्यकतानुसार उडान हुने जनाइएको छ । सडकमार्ग असहज भएकाले यात्रुहरू महँगो भए पनि हवाईजहाजको यात्रा गर्न चाहँदा पनि टिकट नपाउँदा समस्या भएको गुनासो गर्छन् । काठमाडौँबाट दुर्गम क्षेत्रमा मात्र होइन, सुगम क्षेत्रका विमानस्थलमा पनि यात्रुले हवाई टिकट पाएका छैनन् । सीमित उडान हुने तुम्लिङटार र सुर्खेत विमानस्थलमा त यात्रुलाई टिकट पाउन निकै सास्ती हुने गरेको छ । यसैबीच हवाई यात्रुको चाप अत्याधिक बढेपछि हवाई सेवा प्रदायक कम्पनीले उडान सङ्ख्या थपेका छन् । बुद्ध एयरले भद्रपुर र भरतपुरमा समान दुई–दुई उडान थप गरेको छ । श्री एयरलाइन्सले पनि आजदेखि काठमाडौँ–भरतपुर–काठमाडौँ रुटमा उडान सञ्चालन गरेको छ । कम्पनीले कम्पनीले सुरुमा चार्टर्ड र त्यसपछि नियमित उडान गर्ने जनाएको छ । यती एयरलाइन्सले पनि काठमाडौँ–भद्रपुर–काठमाडौँ र काठमाडौँ–नेपालगञ्ज–काठमाडौँमा एक–एक उडान थपेको छ । साथै आजबाट काठमाडौँ–जनकपुर–काठमाडौँ गन्तव्यमा एक उडान थपिएको एयरलाइन्सले जनाएको छ ।
विराटनगर: एकीकृत भन्सार जाँचचौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा आज मृत्यु भएसँगै क्षतिपूर्तिको मागसहित आफन्तजन विरोधमा उत्रेका छन् । चौकीतर्फबाट आइरहेको ना४ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएसँगै क्षतिपूर्तिका मागसहित आफन्तजन विरोधमा उत्रेका हुन् । सडकमा आई विरोधमा उत्रेका मृतकका आफन्तजनलाई सम्झाउने प्रयास गर्दा पनि भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन बाध्य भई १० राउण्ड अश्रुग्यास प्रहार गर्नुपरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताउनुभयो । अहिले सो क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिइ घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
काठमाडौं: नवरात्रको दोस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको पूजा आराधना गरिएको छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसैदिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । संसारका मुमुक्षु प्राणीलाई सच्चिदाननद रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गा मध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, कालिकास्थान, भद्रकाली, शोभाभगवती, बिजेश्वरी, रक्तकाली, श्वेतकाली, नरदेवी, चामुण्डमाई, सुन्दरीमाई, बज्रयोगिनीलगायत शक्तिपीठमा बिहानैदेखि भक्तजनको भीड लागेको छ । यसैगरी काठमाडौँ उपत्यका बाहिरका शक्तिपीठमा पनि भक्तजनको घुइँचो लागेको जनाइएको छ । नवरात्रका अवसरमा शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।