काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनले पारेका असरमा विकसित देशलाई गम्भीर बनाउन संयुक्त राष्ट्रसघका महासचिव एन्टेरियो गुटेरेसलाई आग्रह गर्नुभएको छ । उहाँले जलवायु परिवर्तनबाट नेपालले भोग्नुपरेको असरको न्यूनीकरणका लागि विकसित देशहरुबाट अनुदान उपलब्ध गराउन पनि आग्रह गर्नुभएको छ । सोमबारदेखि अजरबैजानको बाकुमा जारी कोप २९ को सम्मेलन अन्र्तगत संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुटेरेसले अल्पविकसित राष्ट्रहरूका राष्ट्ररसरकार प्रमुखहरूसँग आज यहाँ गर्नुभएको सामुहिक भेटघाट कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गर्नुभएको हो । “जलवायु परिवर्तनले उत्पन्न समस्या अहिले नेपालजस्ता मुलुकले भोगिरहे पनि पछि विकसित देशमा पनि आउनेछ, यो कुरा राष्ट्रसंघमार्फत विकसित देशले बुझुन, “राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै उहाँका प्रेस सल्लाहाकार किरण पोखरेलले भन्नुभयो, “ यो समस्याको सृजना नेपालजस्ता मुलुकले नगरेको हुँदा यसको न्यूनिकरणका लागि उपपलब्ध स्रोत ऋणमा लिन नसकिने भएकाले अनुदानमा उपलब्ध गराउन आग्रह गर्दछु, “बैठकमा राष्ट्रपति पौडेलले भन्नुभयो । सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको समस्या अहिले नेपालजस्ता मुलुकलाई परेको छ तर विकसित देशहरुलाई पनि यो समस्या आउँदैछ भनेर राष्ट्रसंघले सम्झाइदिनुपर्नेमा जोड दिनुभयो । राष्ट्रपति पौडेलले अल्पविकसित तथा विकासोन्मुख मुलुकहरूले उनीहरूको कुनै योगदान नै नभएको विकराल समस्या बनेको जलवायु परिवर्तनबाट बच्न विकसित देशहरूबाट उल्लेख्य सहयोग पाउन नसकेको बताउनुभयो । उहाँले अल्पविकसित तथा विकासोन्मुख देशहरूलाई अनुकूलन तथा न्यूनीकरणका लागि यथेष्ट आर्थिक तथा अन्य सहयोग जुटाउन संयुक्त राष्ट्रसंघले अझ प्रयास गनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रसंघका महासचिव गुटेरसले विपतको पूर्व चेतावनी प्रणाली स्थापनामा अल्पविकसित राष्ट्रहरूलाई प्राथमिकतामा राख्नुभएकोमा राष्ट्रपति पौडेलले आभार व्यक्त गर्दै जलवायु परिवर्तनले आर्थिक र सामाजिक अवस्था कमजोर भएका अल्पविकसित देशहरूलाई सबैभन्दा बढी असर गरेको छ भन्नुभयो । राष्ट्रपति पौडेलले महासचिव गुटेरसले सन् २०२३ मा नेपाल भ्रमण गर्दा हिमालहरू कसरी पग्लिरहेका छन् भन्ने प्रत्यक्ष अनुभव गर्नुभएको छ भन्दै यस वर्ष थामेमा हिमताल फुटेको तथा काठमाण्डौ र आसपास क्षेत्रमा बाढीपहिरोले ठूलो विध्वंस गरेको जानकारी दिनुभयो । उहाँले जलवायु वित्तका श्रोतमा पनि विभिन्न प्रक्रियागत तथा अन्य जटिलताका कारण हाम्रो पहुँच हुन सकेको छैन भन्नुभयो । “प्राप्त हुने श्रोत सरकारी संयन्त्रबाटै खर्च हुँदा बढी प्रभावकारी हुन्छ किनकी सरकार सधैं जनताप्रति जवाफदेही हुन्छ, अन्य क्षेत्रले यस्तो जवाफदेहिता बहन गर्नु पर्दैन, यसतर्फ पनि विकसित देशहरूलाई आश्वस्त पार्न संयुक्त राष्ट्रसंघले भूमिका खेल्न सक्छ भन्ने लाग्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । अल्पविकसित देशहरूको विश्व समन्यव परिषदको अध्यक्ष राष्ट्रका हैसियतमा यी देशहरूको चासो र हकहित रक्षाको लागि नेपाल प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । संयुक्त राष्ट्रसंघले अल्पविकसित तथा विकासशील देशहरूलाई प्राथमिकतामा राखेकोमा कृतज्ञता व्यक्त गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा राष्ट्रसंघसँगको सहकार्य अझ घनिभुत बन्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा राष्ट्रसंघका महासचिव गुटेरसले जलवायु परिवर्तनको कारण उत्पन्न समस्या र जोखिम व्यहोनुपरेका मुलुकलाई सहुलियतपूर्ण स्रोत उपलब्ध गराउनुपर्ने धारणा राख्दै कोप २९ अन्र्तगत हुने बैठक, छलफल र वार्तामा यो विषयलाई जोडदार रूपमा उठाउन सुझाव दिनुभएको पनि पोखरेलले जानकारी दिनुभयो । सो बैठकमा बंगलादेशका अन्तरिम सरकारका प्रमुख, मालावीको उपराष्ट्रपति र गाम्वियाका मन्त्रीको सहभागिता रहेको थियो । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा कोप –२९ सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल सोमबार बाकु आइपुग्नुभएको हो । उहाँलाई यहास्थित हैदर अलीएभ अन्तराष्ट्रिय विमानस्थलमा अजरबैजानका न्याय मन्त्री फरिद अहमदोले स्वागत गर्नुभएको थियो । भ्रमण दलमा प्रथम महिला सबिता पौडेल, वन तथा वातारण मन्त्री ऐनबहादुर शाही, राष्ट्रपतिका विज्ञरसल्लाहकारसहित नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको सहभागिता छ । यस सम्मेलनको नारा ‘न्यु कलेक्टिभ क्वान्टिफाइड गोल ९एनसिक्युजी०’ रहेको छ । सम्मेलन आगामी मंसिर ७ गतेसम्म चल्नेछ । कोप २९ मा भाग लिन राष्ट्रपति पौडेल यसअघि यही कात्तिक २५ गते आइतबार काठमाडौँबाट दोहाको लागि प्रस्थान गर्नुभएको थियो । सम्मेलनमा भाग लिएर राष्ट्रपति पौडेल कात्तिक ३० गते स्वदेश फर्कने कार्यतालिका छ ।
काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौँ बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” विसं २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
जुम्ला: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ । मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ ।” स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिनुभयो । संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाघटन गर्नुभएको थियो ।
पोखरा: पोखरामा ७ जना जुवाडे १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई हिजो (मंगलबार) पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६दिप बस्ने ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीय गौमाया गुरुङ, ३८ वर्षीय जुनिता भट्टचन, पोखरा–८ सिमलचौर बस्ने ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीय रुपा गुरुङ, पोखरा–१३ पाटनबेशी बस्ने ४० वर्षीय हेमजार गुरुङ र पोखरा–२७ बस्ने ४६वर्षीय बुद्धि बहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार ७ जना जुवाडेको साथबाट २ सय १२ पत्ति तास र १ लाख १२ हजार ९० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई हारजित हुनेगरी जुवतास खेलिरहेको हुँदा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनतालाई अध्यारामा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानुनबमोजिम उठाइने बताउनुभएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अबको १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । “मन्त्रिपरिषद्को निर्देशनअनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रियाअनुसार अघि बढ्छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यसबीचमा बक्यौता उठाउन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत सबैले सहयोग गर्नुपर्छ ।” प्राधिकणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरुले त्यसको सदुपयोग नगरेको जानकारी दिँदै उहाँले अबको १५ दिनभित्र बक्यौता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्रै नभई जनसरोकारको विषय बन्ने स्पष्ट पार्नुभयो । “लाइन काट्ने, पुनः जोड्ने तर बक्यौता नउठ्ने विषय अब रहन हुँदैन, बक्यौतासम्बन्धी समस्या समाधानको चरणमा पुगेको अवस्थामा प्राधिकरणले सरकारको निर्देशन मानेको हो”, उहाँले भन्नुभयो । प्राधिकरणबाट डेडिकेटेड र ट्रङ्क लाइन सुविधा लिएकामध्ये २८ बाहेक अन्य उद्योगीले नियमित महसुल तिरिरहेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले ठूला घरानाका उद्योगले महसुल नतिर्दा ग्राहकले पनि शुल्क तिर्न गाह्रो मानिरहेको बताउनुभयो । ठूलो मात्रामा रहेको बक्यौता समयमै नउठे प्राधिकरणको वित्तीय अवस्था नै खराब हुनसक्ने खतरा औँल्यउँदै उहाँले भन्नुभयो, “ठूला औद्योगिक घरानाको लाइन जोड्दै जाने, तर न्यूनतम शुल्क तिर्न नसक्नेको लाइन काट्दै जाँदा महसुल सङ्कलन घट्दै गएको छ, यो चिन्ताको विषय हो ।” बक्यौता नउठ्दा उत्पादन र प्रसारणलाइन निर्माण तथा नगद प्रवाहमै ठूलो समस्या आउन सक्ने उहाँको अनुमान छ । प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिनुभयो । विद्युत् नियमन आयोग बाहेक अन्यले बिल ठिक होइन भन्न नमिल्ने जनाउँदै उहाँले बिलमा चित्त नबुझे सम्बन्धित निकायमा जान उद्योगीलाई बाटो खुला रहेको बताउनुभयो । प्राधिकरणको खरिद प्रक्रिया र उपकरण मौज्दातको विषयमा गरिएका टिकाटिप्पणीको खण्डन गर्दै कार्यकारी निर्देशक घिसिङले प्रचलित कानुनअनुसार नै खरिद प्रक्रिया अघि बढाइएको स्पष्ट पार्नुभयो । “कुन सामग्री कति मौज्दात राख्ने भन्ने परियोजनाअनुसार हुन्छ, हामीले अत्यन्तै थोरै परिणाममा मात्रै मौज्दात राखेका छौँ”, उहाँले भन्नुभयो, “माग भएपछि उपकरण खरिद गर्ने भन्ने हो भने समयमै मागअनुसार उपलब्ध गराउन सकिदैन ।”
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गर्नुभएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र अहिले यहाँ सुरु भएको छ । पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या तथा यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले विशेष सत्र आयोजना गरेको हो । कार्यक्रमको सुरुआत गर्दै नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सचिव डा दीपक खराल, परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले विशेष सत्रमा कार्यक्रमबारे जानकारी गराउनुभयो । यसअघि आजै पर्वतीय मुलुक कीर्गिस्तानले जलवायु परिवर्तन र असरका विषयमा उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । उक्त सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । नेपालद्वारा आयोजित विशेष सत्रमा संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको छ ।
महोत्तरी: हिन्दू परम्परामा नयाँ अन्न उपयोगमा ल्याउन होम गरिने चलन छ । यस वर्षको नयाँ धान थन्क्याएका किसानले यो अन्न उपयोगमा ल्याउन आज कात्तिक शुक्ल द्वादशीका दिन आज ‘न्वागी’ खाने पूजाको तयारी गरेका छन् । घरघरमा उत्सवका रुपमा गरिने यो पूजा खास पर्वकै रुपमा मनाइन्न्छ । न्वागी खाने पूजासँग दुई चलन जोडिएको पाइन्छ । कात्तिक शुक्लपक्षको एकादशी अर्थात् हरिबोधनीको व्रत साङ्गतासँगै नयाँ अन्न होम गरेर चलनमा ल्याइने चलन हिन्दू परम्पराका पर्वते समुदायमा छ । यो चलनले पर्वते समुदायको सघन बसोबास रहेका महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रका बस्तीमा आज न्वागी पूजाको तयारी छ । केही दशकअघिसम्म स्थानीय जातका धान लगाइँदा न्वागी पूजा मङ्सिर शुक्लपक्षमा गरिने न्वागी पूजापछि चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेसँगै यो पर्व हरिबोधनीको साङ्गतासँगै जोडेर गर्न थालिएको बर्दिबास–३ गौरीडाँडाका बासिन्दा कर्मकाण्डी ब्राह्मण दुर्गामणि काफ्ले बताउनुहुन्छ । न्वागी पूजामा नयाँ धानको चामल र तील गाईको दूधबाट बनेको घीउ ९घ्यू०मा मुछेर तुलसीका मठ छेउमा यज्ञवेदी बनाई त्यहाँ प्रज्वलित गरिएको आगोमा होम गरिने चलन छ । यस पर्वमा सेलरोटी, पञ्चामृत र अपुङ्गसहितका प्रसाद सामग्री बनाइए पनि भिजाएका चामल चाहिँ मुख्य मानिन्छ । नयाँ चामललाई दहीमा भिजाएर सख्खरमा मोलिएपछि यो प्रसाद सामग्री तयार हुन्छ । पहिलेपहिले स्थानीय जातका धान लगाइँदा ती पाक्न मङ्सिर लाग्थ्यो । त्यतिखेर न्वागी पूजा पनि मङ्सिर शुक्लपक्षमै दिन जुराएर गरिन्थ्यो । पछिल्ला केही दशकयता महोत्तरीका उत्तरीक्षेत्रमा चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेपछि यो अन्न प्रयोगमा ल्याइन कात्तिक शुक्ल द्वादशीकै दिन एकादशी व्रतको साङ्गतासँग जोडेर न्वागी पूजाको चलन बढेको अर्का कर्मकाण्डी ब्राह्मण बर्दिबास–७ किसाननगर जुरेटोलका किशोर सुवेदी बताउनुहुन्छ । घरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घीउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोच्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ । हिन्दूहरुको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो न्वागीपूजा परम्परा चलेको सुवेदीको भनाइ छ । वैदिकशास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । कात्तिक द्वादशीका दिन यो न्वागीपूजाको तयारी गर्न नभ्याएका किसानले मङ्सिर शुक्लपक्षमा उपयुक्त दिन जुराएर गर्ने गर्छन् । पर्वमा होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण चाहिने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन रहेको छ । मधेशको मिथिला क्षेत्रमा यो पर्वलाई ‘लवान’ भनिन्छ । महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा अझै स्थानीय जात (पाक्न मङ्सिर लाग्ने) का धान लगाइने गरिएको छ । त्यसैले हिन्दू मैथिलले भने यो पूजा मङ्सिर शुक्लपक्षमै गर्छन् । मैथिल चलनमा नयाँ धानको चिउरा, दूध र सख्खर प्रसाद सामग्री हुन्छन् । यी सामग्री अग्नीलाई समर्पित गरी परिवारजनले प्रसादस्वरुप खाएपछि नयाँ अन्न दैनिक जीवनमा उपयोगमा ल्याइने चलन रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।
कर्णाली: सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएकामा अवस्थामा आज बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले सूचना दिएपछि आफैँ बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षणपछि केही खुल्छ ।” पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । “जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई त्यो द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो । “उनीहरुलाई जलवायु न्याय दिनमा कोप–२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ थियो । गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा सोलुखुम्बुको थामेगाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानिनोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन ‘सिजन’मा आएको बाढीपहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिनुभयो । “यसको पीडा अझै सञ्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिनेछ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्सानी व्यहोर्नुपर्नेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भन्नुभयो । साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेकोे अनुभव उहाँले स्मरण गर्नुभयो । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्रीलगायतले बोल्नुभएको थियो । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)अन्तर्गत मङ्गलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो ।