काठमाडौं:   सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीहरूबीच वार्तापछि ६ बुँदे सहमति भएको छ। बिहीबार अर्थ मन्त्रालयमा सम्पन्न छलफलमा सहमति जुटेसँगै व्यवसायीहरूले जारी आन्दोलन स्थगित गरेका छन्। सुनचाँदी व्यवस...

काठमाडौं:      प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ ।  यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धुमधामसँग मनाउने गरिन्छ । बडादसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजाकोठा वा दसैँघरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दसैँघरमा विधिपूर्वक राखेर त्यसमाथि यव अर्थात् जौँ रोप्ने गरिन्छ ।  यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गादेवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै समृद्धिको प्रतीक पहेँलो जमरा पनि ग्रहण गरिन्छ । जमरामा जौँबाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । कूल परम्पराअनुसार कसैले अन्य अन्न पनि जौँसित रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा समेत प्रयोग गरिन्छ । घटस्थापनाको साइत ९:१६ बजे आजैको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजाआराधना गरिने भएकाले आजको दिनलाई घटस्थापना पनि भन्ने गरिएको हो । आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिन दुर्गादेवीको प्रसाद ग्रहण गर्ने गरिन्छ । आज घटस्थापनाको साइत बिहान ९:१६ बजे रहेको समितिले जनाएको छ । सूर्योदयकालमा प्रतिपदा भएका दिनमा घटस्थापना गर्नुपर्छ भन्ने शास्त्रीय मान्यतानुसार नै समितिले आजको दिनलाई घटस्थापना भनी निर्णय गरेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले रासलाई जानकारी दिनुभयो ।  दुर्गादेवीका तीनवटा रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक पूजाआराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा  महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजाआराधना गर्ने वैदिककालदेखिको परम्परा छ । दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीजलगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गापक्ष पनि भनिन्छ । नौ दिन नौ दुर्गाको पूजा यस क्रममा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्री देवीको पूजाआराधना गर्ने गरिन्छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिएको छ ।  आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतम बताउनुहुन्छ । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ । दुर्गाको प्रतीकका रूपमा आजको दिनदेखि महानवमीसम्म प्रत्येक दिन छुट्टाछुट्टै गरी नौवटी कन्याको पूजासमेत गर्ने गरिन्छ । यसरी पूजा गरिने कन्या दुई वर्षमाथिका हुनुपर्ने शास्त्रीय विधान छ ।  बडादसैँको सातौँ दिन धार्मिक विधिअनुसार फूलपाती भित्र्याइन्छ ।  महाअष्टमी र महानवमीका दिन बलि पूजा गर्नेहरूले दसैँघर, कोत र शक्तिपीठमा बलिसहित विशष पूर्जा गर्छन् । नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवी भागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरूको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा गुह्येश्वरी, मैतीदेवी, नक्साल भगवती, शोभा भगवती, नाला भगवती र पलाञ्चोक भगवतीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीडसमेत लाग्ने गर्छ । विजयादशमीको साइत असोज २६ गते ११:३६ बजे नवरात्र भनेरसमेत चिनिने दसैँ नौ रात र दश दिनको हुने गरेकामा यस वर्ष आठ रात र नौ दिनको मात्र परेको छ । तिथिको घटबढका कारण यस्तो परेकाले सोहीअनुसार खापेर पूजा र पाठ गरी देवीको आराधना गर्नुपर्ने तन्त्र विषयका पुस्तकमा लेखिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।  आज विधिपूर्वक घरघरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गादेवीलाई असोज २६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र पूmल प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ ।  असोज २६ गते देवी विसर्जनको साइत बिहान ८:३३ बजे रहेको समितिले जनाएको छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने ११:३६ बजेको उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमामा अखिल बलि पूर्ति नभएसम्म देवीको प्रसाद लगाउने शास्त्रीय विधि छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ । पूर्णिमाका दिन धनधान्यकी प्रतीक महालक्ष्मीको व्रत बसी रात्रिमा जाग्राम रहेर पूजा लगाई धन ऐश्वर्य प्राप्तिको कामना गर्ने गरिन्छ ।  यस दिन जाग्राम बस्ने मानिसलाई लक्ष्मीले धनधान्य दिई सम्पन्न बनाइदिने धार्मिक विश्वास छ । आजको दिन घटस्थापना गरेर राखेको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगी विसर्जन गरिन्छ । हनुमानढोकाको दसैँ घरमा विशेष पूजा परम्पराअनुसार काठमाडौँको हनुमानढोका दरबारमा रहेको दसैँघरमा आजैदेखि वैदिक विधिअनुसार जमरा राखी शक्तिस्वरूपा दुर्गादेवीको पूजाआराधना सुरु हुन्छ ।  आज बिहान वैदिक विधिपूर्वक समितिले दिएको साइतमा घटस्थापना गरिने हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताउनुभयो । दसैँघरमा घटस्थापनापछि दैनिक बलि दिई विधिपूर्वक पूजाआराधना गरिन्छ । महानवमीका दिन हनुमानढोकाको कोतमा बलिसमेत दिने गरिन्छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घरबाहिर रहेका मानिसहरू दसैँका अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनःमिलनको पर्वका रूपमा समेत लिइन्छ । धेरैजसो शैक्षिक संस्थाले दसैँका अवसरमा आजैदेखि सार्वजनिक बिदा दिने गरेका छन् ।

काठमाडौं:      सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले डिजिटल नेपाल फ्रेमवर्कअन्तर्गत डिजिटल फाउन्डेसन कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत नेपाल सरकारले ‘डिजिटल सार्वजनिक पूर्वाधार’ निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ ।       काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयु)मा आज आयोजित तीनदिने दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले दिगो विकास लक्ष्य–२०३० को सफल कार्यान्वयनका लागि सरकारको नीति तथा कार्यक्रम डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिने दिशामा अघि बढ्ने बताउनुभयो ।      “सरकारले चालु आर्थिक वर्षमा ललितपुरको खुमलटारमा सूचना प्रविधि हब स्थापना र ज्ञान पार्क स्थापनालाई प्राथमिकतामा राखेको छ, यी सूचना प्रविधि दशकको कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने विश्वास गरेका छौँ”, सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले भन्नुभयो ।  उहाँले सरकार सूचना–प्रविधिको विस्तृत कार्यान्वयन योजना बनाउने प्रक्रियामा रहेकाले डिजिटल रुपान्तरणका लागि नीति, कानुनी र पूर्वाधारका बाधाहरूलाई सम्बोधन गरी निजी क्षेत्रको दिगो पूर्वाधारसहितको ‘डिजिटल इकोसिष्टम’ निर्माणमा सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र सम्भव गराइने बताउनुभयो ।       मन्त्री गुरुङले सञ्चार आधुनिक शासनको मुटुमा भएकाले नागरिकसम्म वास्तविक समयमा जडान गर्न, तथा सूचना प्रविधिमार्फत जानकारीलाई प्रभावकारी रूपमा साझा गर्न तथा थप पारदर्शी रूपमा सेवाहरू प्रदान गर्न सक्षम बनाउने बताउनुभयो ।  उहाँले भन्नुभयो, “डिजिटल ई–गभर्नेन्समार्फत हामी विस्तारै परम्परागत नोकरशाही प्रणालीबाट टाढा जाँदैछौँ, सेवाहरू सिधै नागरिकको औँलामा ल्याउँदैछौँ, राष्ट्रिय ई–सरकार मास्टर प्लान, ब्रोडब्यान्ड नेटवर्क विस्तार, अप्टिकल फाइबर ब्याकबोन नेटवर्क तथा विशेषगरी ग्रामीण क्षेत्रमा नेटवर्क रोलआउट राष्ट्रव्यापी इन्टरनेट पहुँच बढाउनुपर्ने आजको आवश्यकता हो ।”  उहाँले पूर्वाधार विकास, डिजिटल साक्षरता, साइबर सुरक्षा, ‘डिजिटल नेपाल’को फराकिलो लक्ष्य पूरा गर्न नेपालले आफ्नो डिजिटल पूर्वाधार सुधार गर्न महत्त्वपूर्ण प्रयास गरेको उल्लेख गर्नुभयो ।      मन्त्री गुरुङले मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिको चरणमा रहेको बताउनुभयो ।  “सार्वजनिक शासनमा डिजिटल सञ्चारलाई एकीकृत गर्नाले थप उत्तरदायी, पारदर्शी र कुशल सरकारी सेवा दिन सकिन्छ, यसका लागि नै मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति–२०८० तर्जुमा गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरेको छ”, उहाँले भन्नुभयो । मन्त्रालयले नेपालमा कृत्रिम बुद्धिमत्ता ९एआई०को प्रयोग र अभ्याससँग सम्बन्धित अवधारणा पत्र प्रकाशित गरेको उहाँले बताउनुभयो ।       कार्यक्रममा केयुका उपकुलपति प्रा डा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई अवसरमा बदल्ने चुनौती प्रमुख विषय रहेको बताउनुभयो । युनिभर्सिटी अफ इलेकट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताबारे आफ्नो धारणा राख्नुभएको थियो ।      कार्यक्रममा युनिभर्सिटी अफ टेक्सासका प्राध्यापक अरविन्द सिंघल, सिघुवा विश्वविद्यालयका प्राध्यापक लि सिग्वाङ, जवाहरलाल नेहरु विश्वविद्यालयका प्राध्यापक मनुकोण्डा रवीन्द्रनाथ सहभागी हुनुहुन्छ ।  सङ्गोष्ठीमा चीनको काङ्बा टेलिभिजनकी सम्पादक चेमी वेङमो, जेजियाङ विश्वविद्यालयका प्राध्यापक वो फेइ, फोस्करी विश्वविद्यालयका प्राध्यापक घानी–उर–रहमान, भुटानकी शोधकर्ता याङ चेन सी रिन्जिन, दिल्ली विश्वविद्यालयको प्राध्यापक सरिता आनन्द र चीनका प्राध्यापक हान होङ वक्ताका रूपमा हुनुहुन्छ ।       युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना र केयूको भाषा तथा आमसञ्चार विभागद्वारा संयुक्त रुपमा आयोजित सङ्गोष्ठीमा एक सय कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सङ्गोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्तराज्य अमेरिकालगायत मुलुकका प्राज्ञिक व्यक्तिको सहभागिता रहेको छ । 

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुहुने भएको छ ।  त्यसैगरी राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा सो कोषमा प्रदान गर्नुहुने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

स्याङ्जा:    वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ ।  बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले रु ७९ लाखमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो ।       पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट दुई हजार ८० मिटर उचाइमा निर्माण भएको छ । विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उहाँले बताउनुभयो ।       यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो ।  “पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ । किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो”, उहाँले भन्नुभयो ।      यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन् । सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताउनुभयो ।       स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै विस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

काठमाडौं:     केही दिनअघि निरन्तर वर्षाका कारण सिर्जित बाढीपहिरो, डुबानलगायत समस्याबाट टेलिफोन र इन्टरनेट सेवा प्रदायक कम्पनीको करिब ३० करोड बराबरको क्षति भएको प्रारम्भिक आकलन गरिएको छ ।      नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार इन्टरनेट सेवा प्रदायक कम्पनीको क्षतिको विवरण अझै पूर्ण रुपमा आइसकेको छैनभने टेलिफोन सेवा प्रदायक दुई कम्पनी नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटिसी) र एनसेल आजिअटा लिमिटेड ९एनसेल० को मात्र करिब रु २२ करोड बराबरको क्षतिको अनुमान गरिएको छ ।      “एनटिसीको करिब रु १५ करोड र एनसेलको करिब रु सात करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण आएको छ । त्यस्तै, हालसम्म १५ इन्टरनेट सेवा प्रदायकहरुबाट विवरण सङ्कलन भइसकेकामा यस्ता कम्पनीहरुको करिब रु साढे सात करोड बराबरको क्षति भएको प्रारम्भिक तथ्याङ्क छ”, प्राधिकरणका सहायक प्रवक्ता डा प्रदीप पौड्यालले रासससँग भन्नुभयो । इन्टरनेट सेवा प्रदायकहरुबाट थप क्षतिको विवरण सङ्कलन भइरहेको पनि उहाँले बताउनुभयो ।      बाढीपहिरो, डुबान, चट्ङ्याङलगायत समस्याबाट विद्युत् आपूर्ति अवरोध भएका कारण मुलुकको धेरै स्थानमा टेलिफोन र इन्टरनेट सेवा पनि अवरुद्ध भएको थियो । विद्युत् आपूर्ति सहज भएसँगै क्रमशः दूरसञ्चार सेवा पनि पुनः सञ्चालनमा आएको डा पौड्यालको भनाइ छ ।       पोल ढल्ने, तार चुँडिनेलगायत समस्या देखिएका ठाउँमा द्रुत टोली खटाएर सेवा सुरु गर्न कम्पनीहरुलाई निर्देशन दिइसकेको पनि उहाँले जानकारी दिनुभयो । टेलिफोन र इन्टरनेट अत्यावश्यक वस्तु भएकाले यस्तो सेवा अवरोध नहोस् भन्नका लागि प्राधिकरण चनाखो रहेको पनि उहाँले बताउनुभयो । 

काठमाडौं:    होटल सङ्घ नेपालले बाढी पहिरो पीडितका लागि राहत सहयोग उपलब्ध गराउने भएको छ ।  देशका विभिन्न स्थानमा हालै आएको वर्षाका कारण बाढी पहिरोबाट प्रभावित व्यक्ति तथा परिवारका लागि होटल सङ्घले राहत कोष स्थान गरेको सङ्घले विज्ञप्तिमार्फत जनाएको छ  ।      ‘होटल सङ्घले विपद्को समयमा राहत कोष स्थापना गरी पीडित पक्षहरुलाई सहयोग गर्ने उद्देश्यका साथ राहत कोष स्थापना गरेको र कोषमा जम्मा भएको रकम यथाशीघ्र सरकारमार्फत बुझाइनेछ’, विज्ञप्तिमा भनिएको छ ।      बाढीपहिरोबाट  धनजनको क्षति भएकोप्रति गहिरो दुःख व्यक्त गर्दै सङ्घले मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नाका साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभका लागि कामना गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

सुनसरी:    सुनसरीको तरहरासहित आसपासका क्षेत्रमा अहिले भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज बिहानदेखि कोशी प्रदेशका केही ठाउँमा भारी वर्षा भइरहेको हो ।      पछिल्लो तीन घण्टामा सुनसरीको तरहरा र आसपासका क्षेत्रमा भारी वर्षा भएको मापन गरिएको छ ।  पछिल्लो तीन घण्टामा तरहरा क्षेत्रमा ७२ दशमलव सात मिलिमिटर र मोरङ्को केराबारी क्षेत्रमा ५२ दशमलव चार मिलिमिटर वर्षा भएको धरानस्थित मौसम पूर्वानुमान शाखा प्रमुख रुद्रबहादुर परियारले राससलाई जानकारी दिनुभयो ।      उहाँका अनुसार अहिले पनि सुनसरीको धरान, तरहरा, इटहरीलगायत पूर्वी क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । आज र भोलि सुनसरीसहित पूर्वी क्षेत्रमा मध्यमदेखि भारि वर्षाको सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीयलाई आवश्यक सर्तकता अपनाउन अनुरोध गरिएको प्रमुख परियारले बताउनुभयो ।      विभागले भारी वर्षाका कारण विभिन्न खोलामा आकस्मिक बाढीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  धरानको सर्दु, खर्दु, सुनसरी खोला, इटहरीको बूढी खोला, खेसलियालगायत स–साना खोलानालामा आकस्मिक बाढी आउन सक्ने, होचो भू–भागमा डुबानको जोखिम रहेकाले सतर्कता अपनाउन विभागको आग्रह गरेको हो 

काठमाडौं:     प्राकृतिक विपत्तिले कसरी पिरोल्छ र दुःख दिँदो रहेछ भन्ने उदाहरण बनेको छ, यही असोज ११ र १२ गतेको अविरल वर्षापछि आएको बाढी र पहिरो । किसानको पाक्न लागेको धान बाली नष्ट भयो । वर्षभरि खाने तरकारी नष्ट भयो ।       सहजै यात्रा गर्ने राजमार्गहरु क्षतिग्रस्त भए । बस्ती बगे । थातथलो बग्यो । पशुचौपायाले अकालमा ज्यान गुमाए । बाढीकै कारण कैयौँको लगानी क्षणभरमा नष्ट भयो ।  नेपाली समाजमा एउटा भनाइ लोकप्रिय छ, “विपत्ति बाजा बजाएर आउँदैन । तर यस पटकको अविरल वर्षापछिको बाढीपहिरो नेपालीका लागि बाजा बजाएर आएभन्दा पनि चर्को भयो । चाडबाडको मुखमै क्षतिग्रस्त भएको विपी राजमार्ग पूर्ववत् अवस्थामा कहिले सञ्चालनमा आउने हो कुनै ठेगान छैन । पृथ्वी र त्रिभुवन राजमार्गको अवस्था उस्तै छ ।       राजधानीको खाद्यान्न गोदाम भनेर चिनिएको कालीमाटी र बल्खु बजार अझै नियमित सञ्चालनमा आउन सकेको छैन । राजमार्गमा नियमित सवारी नचल्दा भोक भोकै यात्रु पैदलयात्रा गर्न बाध्य छन् । जल तथा मौसम विज्ञान विभागले जानकारी दिँदा पनि कैयौँ नागरिकले अकालमा ज्यान गुमाएका छन् ।       काठमाडौँको बल्खु, नख्खु, बाग्मतीका किनार तथा भक्तपुरको हनुमन्तेलगायतका खोला र नदी किनार पूर्ववत् अवस्थामा फर्कन अझै धेरै दिन लाग्ने स्पष्ट छ । बाढी र पहिरोका कारण प्रारम्भिक विवरण अनुसार रु १७ अर्ब बराबरको क्षति भएको छ । क्षतिको विवरण सङ्कलनका क्रममा रहेकाले यो अझै बढ्न सक्ने स्पष्ट नै छ ।       सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार, बाढीपहिरो र डुबानबाट २१ जिल्ला प्रभावित भएका छन् । विशेष गरी काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लामा बढी क्षति पुगेको छ ।       कुलेखानी जलाशयको पानी खोल्दा गएको बाढी र पहिरोका कारण मकवानपुरको इन्द्रसरोवर–३ मा रहेको वत्सलादेवी माविमा सञ्चालित अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० एकेडेमीमा अध्ययनरत छ जना विद्यार्थीको कलिलै उमेरमा ज्यान गुमाउन बाध्य भए ।  पहिराले पुरिँदा मकवानपुरका तीन र अन्य जिल्लाका तीन गरी बालकले ज्यान गुमाए । बाढीका कारण सबैभन्दा बढी समस्यामा विपी राजमार्ग परेको छ । रोशी खोला किनारका बस्ती क्षतविक्षत भएको छ । हालसम्मको विवरणअनुसार बाढीपहिरोबाट सडक र पुलमा मात्रै रु दुई अर्ब ५२ करोड बराबरको क्षति भएको छ । बाढीले पाँच वटा पक्की पुल र दुई वटा बेलिब्रिजमा क्षति पुगेको छ ।            पछिल्लो पटकको बाढीपहिरोमा परी हालसम्म दुई सय २४ जनाको निधन भएको छ भने २४ जना बेपत्ता छन् ।     एक सय ५८ जना घाइते छन् । उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइएको मुख्यसचिव अर्यालको भनाइ छ ।  कृषि क्षेत्रमा करिब रु छ अर्बभन्दा बढीको क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ । कूल ५८ हजार चार सय ७६ हेक्टरमा लगाइएको रु तीन अर्ब ५० करोड बराबर धानबालीमा क्षति पुगेको छ । किसानका २६ हजार दुई सय पाँच वटा पशुपन्छीमा क्षति पुगेको छ ।       भौतिक क्षतितर्फ खानेपानी संरचनामा रु तीन अर्ब ५५ करोड, सडक पूर्वाधारमा रु दुई अर्ब ५२ करोड, ऊर्जातर्फ रु चार अर्ब र जलस्रोत तथा सिँचाइतर्फ रु एक अर्ब ३५ करोड बराबरको क्षति भएको छ । बाढीपहिरोबाट ३७ वटा राजमार्ग अवरुद्ध भएकामा नौ वटा सञ्चालन आइसकेका छन् ।  त्यस्तै ३६ निर्माणाधीन जलविद्युत् आयोजनामा क्षति पुगेको छ ।       भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार अविरल वर्षापछि आएको बाढीपहिरोका कारण सडक विभागअन्तर्गतका झण्डै २२ किलोमिटर सडक पूर्ण रुपमा क्षति भएको छ ।  त्यसमा सडकतर्फ रु एक अर्ब ५० करोड ५० लाख, पुलतर्फ रु ८२ करोड र बेलीब्रिजतर्फ रु २० करोड बराबरको क्षति भएको प्रारम्भिक विवरण छ ।  सो मन्त्रालयका अनुसार १४ वटा सडकको ४२ स्थानमा बाढीपहिरोका कारण क्षति पुगेको छ ।      बाढीपहिरोका कारण अरनिको राजमार्ग, बिपी राजमार्ग कान्ति राजमार्ग, मदन भण्डारी, पुष्पलाल मध्यपहाडी राजमार्ग, मेची राजमार्ग मदन भण्डारी राजमार्ग र कालिगण्डकी कोरिडोरमा क्षति पुगेको छ ।  सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङ्गटारको पुल पूर्णरूपमा क्षति पुगेको छ । अरनिको राजमार्गअन्तर्गत लिपिङ पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाउँदा यातायात सञ्चालनमा असुविधा उत्पन्न भएको छ । लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज बाढीले बगाएको छ । सुनकोशी पुल खुर्कोट, सिन्धुरेटार, फोक्सीङटारको पुल पूर्णरूपमा क्षति भएको विवरण छ ।       अरनिको राजमार्गअन्तरगत लिपिङ्ग पुल, इलामको माई पोखरी सडकको राते पुल बाढीले बगाएको छ । यस्तै लार्चा र हेवा खोलामा रहेको बेलीब्रिज समेत बाढीले बगाएको छ । ऊर्जा र जलस्रोततर्फ समग्रमा रु चार अर्ब ३५ करोड बराबरको क्षति भएको छ ।  नदी नियन्त्रणका लागि बनाइका तटबन्धमा करिब एक अर्ब १६ करोड २० लाख बराबरको क्षति पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोशी मरिण डाइभर्सन आयोजनाको बाँधस्थलमा निर्माणाधिन ‘कफर ड्याम’ पानीमुनी परेको छ । त्यसमा के कति क्षति भयो भन्ने कुराको मूल्याङ्कन भइरहेको जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सञ्जिव बरालले जानकारी दिनुभयो ।       यस्तै, खानेपानी आयोजनामा रु तीन अर्ब ५५ करोड ७० लाख बराबरको क्षति पुगेको छ । नेपाल खानेपानी निगम, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड र खानेपानी मन्त्रालयअन्तर्गत साना–ठूला आयोजनामा बाढीले समस्या पैदा गरेको छ ।  काभ्रेपलाञ्चोक, भक्तपुर र रामेछापका खानेपानी आयोजनामा क्षति पुगेको छ । कूल ६६ जिल्लाका खानेपानी आयोजनामा क्षति भएको छ । अविरल बर्षापछिको बाढीपहिरोले खानेपानीको पाइपलाइन, बोरिङ प्रशोधन केन्द्र, ट्याङ्कीलगायतका संरचनामा क्षति पुगेको छ ।      सरकारले खोज तथा उद्धारमा ३० हजार सात सय ३१ सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ । बाढीपहिरोमा परी मृत्यु भएका र बेपत्ता भएका नागरिकका घरपरिवारलाई राहत वितरण सुरु भइसकेको सरकारको भनाइ छ ।  बाढीपहिरोबाट अवरुद्ध भएका सडकलाई थप तदारुकताका साथ सञ्चालनमा ल्याउने, पहिरोबाट अवरुद्ध सडक खोल्ने, बेलिब्रिज जडान गर्ने, सम्भाव्यताका आधारमा कजवे, डाइभर्सन जस्ता वैकल्पिक माध्यमबाट सडक सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।   विपद्लाई देखाएर अत्यावश्यक वस्तुको कृत्रिम अभाव, मूल्यबृद्धि र कालोबजारी नियन्त्रणका लागि सरकारले कडा नीति अख्तियार गर्ने स्पष्ट पारिसकेको छ । विभिन्न स्थानमा अवरुद्ध टेलिफोन सेवा र विद्युत् सेवा नियमित गराउन आवश्यक जनशक्ति परिचालन गरी पुनःनिर्माण र पुनःस्थापनाको काम भइरहेको छ । 

धादिङ:    धादिङ र काठमाडौँको सिमाना नजिकै धुनिबेँसी नगरपालिका–९ झ्याप्ले खोलाको पहिरो पन्छाएर पुनः खोजी गरिएको छ ।  तीनवटा सवारी साधनमा ३५ जनाको शव फेला परेको पहिरोमा अरू पनि थप सवारी साधन पुरिएको हुनसक्ने आशङ्कामा सडकको कुना र सडक तलतिर थुप्रिएको पहिरो पन्छ्याएर पुनः खोजी गरिएको हो ।      झन्डै दुई सय मिटर माथिबाट डाँडै भासिएर झरेको पहिरोको गेग्य्रानले सडकको कुना भागमा र सडकको तलतिर ठूलो थुप्रो लागेको थियो ।  दुईवटा माइक्रोबस र एक ठूलो बस पुरिएको अवस्थामा फेला परेको स्थानमा एउटा कार पनि पुरिएको भन्ने आशङ्का रहेकाले पहिरोले थुप्रिएको माटोसमेत पुनः पन्छाएर खोजी गरिएको र पहिरोमा कुनै पनि सवारी साधन फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिनुभयो ।   निर्माणाधीन सडक आयोजनाको डोजर प्रयोग गरेर आज बिहान पहिरोको गेग्य्रान पन्छाएपछि अहिले झ्याप्ले खोला क्षेत्रमा दुईतर्फी सडक खुलाइएको छ ।  सवारी साधन चापकै कारण जोखिमपूर्ण स्थानहरुमा जाम हुन नदिन काठमाडौँ भित्रिने र बाहिरिने सवारी साधनलाई आलोपालो गरी आउजाउ गराइएको छ । निरन्तरको बर्सातसँगै शुक्रबार राति झ्याप्ले खोलामा पहिरो खसेको थियो ।