मुस्ताङ:  झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो । राजा थर्कोच...

हुम्ला:    हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ ।  चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।      कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।            सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।      गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो ।  उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ । 

पोखरा:     गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर आज श्रद्धाञ्जली व्यक्त गरिएको छ ।       गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र प्रदेशसभाका उपसभामुख वीनाकुमारी थापाले पोखराको नदीपुरस्थित प्रदेशसभा प्राङ्गणमा गौचनको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । आज बिहान ७:३० बजेदेखि ९ बजेसम्म श्रद्धाञ्जलीका लागि गौचनको पार्थिव शरीर प्रदेशसभाको प्राङ्गणमा राखिएको थियो ।       त्यसैगरी नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको झण्डा ओढाउनुभयो । थकाली सेवा समितिले आफ्नो परम्पराअनुसार श्रद्धाञ्जली व्यक्त गरेको थियो ।      गौचनप्रति श्रद्धाञ्जलीका लागि गण्डकी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्य, राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, थकाली समुदायका अगुवा, आफन्तजन र शुभेच्छुकहरुको उपस्थिति थियो ।      मुस्ताङको कोबाङमा वि.सं २०१८ असार १८ गते जन्मिनुभएका गौचनको परिवार हाल म्याग्दीमा बसोबास गर्दै आएको छ । गौचनको गत कात्तिक २८ गते राति काठमाडौँमा उपचारका क्रममा निधन भएको थियो ।         उहाँ नेपाली कांग्रेसका तर्फबाट विसं २०७९ को प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित हुनुभएको थियो । उहाँ प्रदेशसभा अर्थ तथा विकास समितिको सदस्य हुनुहुन्थ्यो ।       गौचन राजनीतिसँगै विभिन्न सामाजिक तथा व्यावसायिक क्षेत्रमा समेत सक्रिय हुनुहुन्थ्यो । गौचनको म्याग्दीमा लगेर दाहसंस्कार गरिने परिवारजनले जनाएको छ । गौचनका एक छोरा र एक छोरी हुनुहुन्छ ।   तस्बिर: बि.बि रोका मगर                    

तनहुँ:  निर्माणाधीन मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको मादी नदीमा निर्माण भइरहेको आर्क डिजाइनको पुलको ४५ प्रतिशत काम सकिएको छ ।  व्यास नगरपालिका ४ र ५ जोड्ने मादी नदीमा निर्माणलाई तीव्रता दिइएको मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड) ले जानकारी दिएको छ ।       आयोजनाका पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार उक्त पुलको छ वटा ‘स्पान’ हुनेछ । तीन सय १५ मिटर लामो उक्त पुल तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण कम्पनीलज्ञे सन् २०२२ अगष्ट ११ मा रु एक अर्ब २१ करोडमा ठेक्का सम्झौता गरेको थियो । उक्त पुलको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ । पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । हाल नदीमाथि रहेको दुई लेनको पुल तीन सय ७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको छ ।      निर्माण कम्पनीका प्रतिनिधि दिनेश श्रेष्ठले अहिलेकै गतिमा काम अगाडि बढे समयभन्दा अगाडि नै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । पुल निर्माणका लागि राति र दिउँसो दुई ‘सिफ्ट’मा काम भइरहेको छ ।  मुग्लिन पोखरा सडक योजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । ठूला पुलमध्ये दमौलीको मादी नदी, बुल्दी खोला, बन्दीपुरको नाला र आँबुखैरेनीको खानी खोलामा पुल निर्माण जारी छ ।  पूर्वी खण्डअन्तर्गत सडकको काम भने ६८ प्रतिशत सकिएको छ । पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।  विसं २०२६ मा रेखाङ्कन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक ९एडिबी०को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको ठेक्का रु सात अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।

काठमाडौं:    नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ८७ र बिक्रीदर एक सय ७१ रुपैयाँ ६३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ८४ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ५१ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक एक रुपैयाँ ५१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ९५ पैसा निर्धारण गरिएको छ ।  जापानी येन १० को खरिददर आठ रुपैयाँ ६७ पैसा र बिक्रीदर आठ रुपैयाँ ७१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १८ रुपैयाँ ७२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७ रुपैयाँ १३ पैसा कायम भएको छ ।       केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ८७ पैसा र बिक्रीदर तीन रुपैयाँ ८८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ २७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६६ पैसा र बिक्रीदर नौ रुपैयाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३० पैसा र बिक्रीदर १२ रुपैयाँ ३५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ  ११ पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा तोकिएको छ ।       राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७ रुपैयाँ ३९ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २४ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ०६ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।  राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

हुम्ला:    हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाबाट २० दिनकी एक सुत्केरीको उद्धार गरिएको छ ।  शुक्रबार नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँको उद्धार गरिएको हो ।      अदानचुली–५ करगै गाउँकी २० वर्षीया झुपा छत्याललाई अचानक बिहीबार बेहोस भएपछि उपचारका लागि श्रीनगर स्वास्थ्य चौकी पुर्याएको र उपचार सम्भव हुन नसकेपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर प्रतीक्षा भारतीले बताउनुभयो ।       गाउँमै रहेको स्वास्थ्यचौकीमा सुत्केरी हुनुभएकी छत्याललाई अचानक रक्तस्राव भएपछि पालिका केन्द्र श्रीनगर स्वास्थ्यचौकीमा पुर्‍याएको र उपचार सम्भव नभएपछि सम्बन्धित निकायमा खबर गरेर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत अस्पतालमा उद्धार गरिएको प्रमुख डाक्टर भारतीले बताउनुभयो ।       राष्ट्रपति महिला उत्थान कार्यक्रमले हुम्लासहित कर्णाली प्रदेशका दुर्गम जिल्लाका गर्भवती, सुत्केरी व्यथामा समस्याग्रस्त महिलाको उद्धार गर्दै आएको छ ।

काठमाडौं:     हाल देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।       विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने छ ।  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना भने छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेश पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।      आगामी २४ घण्टामा तराईका क्षेत्रमा बिहानीपख र राति बाक्लो हुस्सु र कुहिरोको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक÷आंशिक असर पर्नसक्ने हुनाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

काठमाडौं:    जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।      कोप–२९ सम्मेलनको पाँचौ दिन आज कोपको अध्यक्षमण्डलले आयोजना गरेको कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे ध्यानाकर्षण गराएको थियो ।      वन तथा वातवरणमन्त्री ऐनबहादुर शाही ठकुरी सहभागी उक्त बैठकमा उहाँका तर्फबाट वन सचिव डा दीपकुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।      सम्मेलनमा छलफलका लागि एजेण्डा तय गर्ने बारेमा कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दाबारे पहिलोपटक छलफल भएको हो ।  यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गर्नुभएको थियो ।  सो विषयलाई समेत आज विभिन्न देशहरुले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिनुभयो ।        नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए ।       यसैगरी वन मन्त्री शाही र संयुक्त अधिराज्य बेलायतका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्रीबीच भेटवार्ता भएको छ । सम्मेलनस्थलमा कार्बन टे«डसम्बन्धी कार्यक्रमपछि उहाँहरुबीच भएको संक्षिप्त भेटवार्तामा मन्त्री शाहीले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणमा सहयोगलगायत विषयमा धारणा राख्नुभएको थियो ।      मन्त्री शाहीले यसअघि उक्त कार्यक्रममा कार्बन व्यापार प्रवर्द्धनका लागि नेपाल सरकारले नीतिगत, कानुनी र संरचनागत सुधारको प्रयास गरिरहेको र वातावरण नियमावली संशोधन, ‘लिफ कोलिजन’ सम्झौता अन्तिम चरणमा रहेको बताउनुभएको नीतिविज्ञ प्रताप पौडेलले जानकारी गराउनुभयो ।      कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरु भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।  

काठमाडौं:     नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आजको बैठकले मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर तीन रुपैयाँ बढाएको हो ।            मूल्य समायोजनसँगै डिजेलरमट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा एक सय ५२ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ५३ रुपैयाँ कायम भएको छ ।  निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपो पहिलो वर्ग, सुर्खेत र दाङ दोस्रो तथा काठमाडौँ, पोखरा र दिपायलस्थित डिपोलाई तेस्रो वर्र्गमा वर्गीकरण गरेको छ ।        इन्डियन आयल कर्पोरेशनबाट आज प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.३२ र डिजेलमा रु २.५४ ले बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ ।

काठमाडौं:    रक्षामन्त्री मानवीर राईले सगरमाथा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ सोलुखुम्बु जिल्ला नाम्चेमा तैनाथ भगवती प्रसाद गुल्मको निरीक्षण भ्रमण गर्नुभएको छ । त्यस क्रममा उहाँले गुल्मको कार्य, जिम्मेवारी क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिनुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यस अवसरमा उहाँले सगरमाथा राष्ट्रिय निकुञ्ज प्रशासन कार्यालयका वरिष्ठ संरक्षण अधिकृत, खुम्बु पासाङल्हामु गाउँपालिका–५ का वडाध्यक्ष र अन्य सुरक्षा निकायका पदाधिकारीसँग त्यस क्षेत्रका गतिविधि र समस्याबारे केन्द्रित रही अन्तक्र्रियासमेत गर्नुभएको जनाइएको छ ।