काठमाडौं: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ दाखिला भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार कोषमा दाखिला भएको सो रकम हिजो असोज ३० गतेसम्मको हो । कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० गते कोषमा विद्याधर मल्लिकसहित दश सङ्गठित संस्थाले रकम प्रदान गरेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनले रु ६१ लाख, गैरआवासीय नेपाली सङ्गठनले रु ५१ लाख तथा राष्ट्रिय समाचार समितिले रु तीन लाख २६ हजार ३८ राहत कोषमा दाखिला गरेका छन् । यसैगरी, कोषमा रकम जम्मा गर्ने अन्य संस्थामा नेपाल प्रहरी श्रीमती सङ्घ, नेपाल इन्सुरेन्स कम्पनी, विद्युत् उत्पादन कम्पनीलगायत छन् ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ १० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ७० पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७४ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ३१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ १८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ६४ पैसा र बिक्रीदर ९० रुपैयाँ ४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ४१ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९८ पैसा र बिक्रीदर नौ रुपैयाँ दुई पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ छ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६७ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८६ पैसा र बिक्रीदर नौ रुपैयाँ ९० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५७ पैसा र बिक्रीदर १९ रुपैयाँ ६६ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ३८ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ३३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६९ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: हाल देशभर पश्चिमी वायु र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मधेसका साथै लुम्बिनी प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ । देशका बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुने छ । गण्डकी, कोशी, बागमती, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी आज राति कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी, गण्डकी र सुदुरपश्चिम प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
म्याग्दी: “चार सहभागीहरूले थप आरोहण जारी राख्न अस्वीकार गरे । दश जना हिउँ चितुवाजस्ता सहभागीहरू धवलागिरि चुम्नका लागि अनुकूल मौसमको पर्खाइमा छौँ”, रुसी पर्वतारोही अलक्जेन्डर डसिकाले सन् २०२४ को सेप्टेम्बर २३ अर्थात् यही असोज ७ गते सामाजिक सञ्जाल ‘इस्टाग्राम’मा धवलागिरि चढ्दै गरेको तस्बिरसहित आरोहणसम्बन्धी जानकारी गराउनुभएको थियो । संसारको सातौँ आठ हजार एक सय ६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका १४ जना रुसी पर्वतारोहीको नेतृत्वकर्ता डसिकाको यो नै अन्तिम सन्देश बन्न पुग्यो । यही असोज २१ गते अर्थात् अक्टोबर ६ तारिखका दिनदेखि आरोही एकाएक सम्पर्कविहीन भएपछि समाजिक सञ्जालमा बधाई तथा शुभकामना दिइरहेका आफन्त तथा शुभेच्छुकहरू निराश बने । धवलागिरिको चुचुरो चुम्न एक सय ६७ मिटरमात्र बाँकी रहेको अवस्थामा असोज २१ गते दिउँसो ११ बजे आधार शिविरमा रहेको टोलीलाई फर्कन लागेको जानकारी गराएका डसिकासहित पाँचजना आरोही सम्पर्कविहीन भएको दुई दिनपछि असोज २३ गते सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा भेटिए । अतिरिक्त अक्सिजनको प्रयोगबिना धवलागिरि आरोहण गर्न आएका डसिका, ओलेग क्रुग्लोभ, भाल्दिमिर किस्टिकोभ, मिखाइल नोसेन्को र दिमित्री स्पिलेभोइ अन्ततः धवलागिरिमै अस्ताए । हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा खसेर ज्यान गुमाएका पाँचै जनाको शव दश दिनपछि बुधबार निकालिएको छ । एयर अल्टिच्युडको हेलिकप्टरबाट रसीमा झुण्डिएर घटनास्थलमा पुगेका सेभेन समिट टे«क्सका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर इटली आधार शिविरमा ल्याएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले आधार शिविरबाट शवलाई काठमाडौँस्थित शिक्षण अस्पतालमा लगिएको बताउनुभयो । “मौसमको खराबी र प्रतिकूल भूगोलका कारण घटनास्थलबाट शव सङ्कलन गरेर ल्याउन ढिलाइ भएको हो । यसअघि दैनिकजसो शव ल्याउन गएका हेलिकप्टर रित्तै फर्किएका थिए । उद्धारकर्ताहरूको अथक प्रयासपछि हेलिकप्टरबाट रसीमा झुण्डिएर शव ल्याउनुभयो”, उहाँले भन्नुभयो । आइएम टे«किङ एण्ड एक्सिपडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरू धवलागिरि हिमाल आरोहणका लागि गएका थिए । सो टोलीका डेनिस एलेक्सोन्को र आर्टस्योम तेसेन्त्सेभिल्स्लीले भने धवलागिरिको सफल आरोहण गरेका आरोहण गराउने कम्पनी एक्सपिडिसनले जनाएको छ । कम्पनीका अनुसार छ जना पर्वतारोही बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । आरोही समूहका एकजना भालेरी शामालोलाई फस्ट क्याम्पबाट उद्धार गरी काठमाडौँ लगिएको थियो । चौथो क्याम्पमा पुगेपछि माथि जान अप्ठेरो भएका कारण उहाँले आरोहण रद्द गरेका जनाइएको छ । जिल्लाको धवलागिरि गाउँपालिका–४ मा पर्छ ।
काभ्रेपलाञ्चोक: सडक डिभिजन कार्यालय भक्तपुरले बिपी राजमार्गमा राति सवारीसाधन चलाउन रोक लगाएको छ । रोशी खोलाको बाढीले विभिन्न खण्डमा सडक बगाएपछि वैकल्पिक ट्र्याक निर्माण गरी सोमबारदेखि आवागमन खुलाइएको थियो । सडक डिभिजन भक्तपुरले आज सार्वजनिक सूचना जारी गरी भकुण्डेबेसी चौकीडाँडादेखि वर्षेखोलासम्म ट्र्याक निर्माण भए पनि मर्मत तथा सुधार गरी यात्रा थप सुरक्षित बनाउने काम भइरहेकाले जुनसुकै समयमा उक्त खण्डमा सुक्खा पहिरो झर्ने सम्भावना हुँदा बेलुकी ६ बजेदेखि बिहानको ४ बजेसम्म धुलिखेल–भकुण्डेबेसी–वर्षेखोला सडकखण्ड बन्द रहने जनाएको हो । उक्त सडकखण्ड सञ्चालनमा आएसँगै अहिले बिपी राजमार्ग भएर काठमाडौँ भित्रिने सवारीसाधनको चाप बढेको छ ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसदका दुई ठूला राजनीतिक दल मिलेर बनेको वर्तमान सरकार परिवर्तन हुन्छ भन्ने भ्रममा नपर्न सबैमा आग्रह गर्नुभएको छ । ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले निश्चित अवधिपछि वर्तमान सरकार आफैँ फेरिने स्पष्ट पार्नुभयो । “अहिले दिनैपिच्छे सरकार परिवर्तन हुन्छ भन्ने सुनिन्छि, दसैँपछि तुरुन्त परिवर्तन हुन्छ रे, कुन दसैँ भनेको ? ८४ सालको दसैँपछिको चुनावमा रु ठिकै हो । त्यसभन्दा यता मैले एक वर्ष नौ महिनापछि शेरबहादुर देउवालाई हस्तान्तरण गर्छु । त्यसबेला आफैँ फेरिन्छ यो सरकार”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “त्यसपछि देउवाजीले नेतृत्व गर्नुहुन्छ, उहाँको नेतृत्वमा २०८४ सालमा निर्वाचन हुन्छ । चुनावपछि जो आउँछ त्यसले सरकार बनाउँछ । यस कुरामा सबै ढुक्क रहन म आग्रह गर्न चाहन्छु ।” प्रधानमन्त्री ओलीले नेपालको राजनीतिक इतिहासमा ठूलो योगदान गरेका नेपाली कांग्रेस र नेकपा ९एमाले० जस्ता पार्टीले मिलेर बनेको लगभग दुई तिहाइको सरकार ‘खरानीको डल्लो’ नभएको टिप्पणी गर्नुभयो । ‘वर्तमान संविधान र लोकतान्त्रिक प्रणालीमा ‘कम्प्रोमाइज’ हुँदैन’ प्रधानमन्त्री ओलीले जनप्रतिनिधिमार्फत निर्माण गरिएको वर्तमान संविधान र जनताको सङ्घर्षको बलमा स्थापित लोकतान्त्रिक प्रणालीमा कुनै ‘कम्प्रोमाइज’ नहुने स्पष्ट पार्नुभयो । उहाँले नेपाली जनतामा सार्वभौमसत्तानिहीत रहेको यस प्रणालीको रक्षा गर्नु सम्पूर्ण नेपालीको कर्तव्य भएको बताउनुभयो । “पूर्वज र अग्रजले यो देशको निर्माण र समृद्ध बनाउने सन्दर्भमा धेरै बलिदान र कष्ट व्यहोर्नुभएको छ । आजको स्वतन्त्रतायुक्त समाज यत्तिकै आइलागेको होइन, यो बडो मेहनतका साथ आएको हो”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जनतामा सार्वभौमसत्ता रहेको र जनता शक्तिको स्रोत रहेको संविधान र यसबाट निर्दिष्ट अहिलेको लोकतान्त्रिक प्रणालीको रक्षा गरिनेछ ।” अलोकतान्त्रिक विधिबाट परिवर्तन गर्छु भन्नु अराजनीतिक विषय भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, “धेरै कुरामा ‘कम्प्रोमाइज’ हुन सक्दछ, तर प्रणालीको कुरामा कुनै सम्झौता हुँदैन । लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन पनि ल्याउन सकिन्छ, चुनावमा जाऔँ, एउटा सरकार मन परेन भने चुनावका माध्यमबाट अर्को सरकार गठन गर्न सकिन्छ ।” ‘कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ’ प्रधानमन्त्री ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका साथ पारित गरिने स्पष्ट पार्नुभयो । उहाँले प्रहरी ऐन संशोधन गर्ने विधेयक मन्त्रिपरिषद्ले पारित गरिसकेको संशोधित कानुन संसदबाट पारित भएपछि प्रहरीमा नयाँ दिनको उदय हुने उल्लेख गर्नुभयो । उक्त विधेयकलाई हाल आवश्यक सुझावका लागि लोकसेवा आयोगमा पठाइएको छ । नेपाल प्रहरीलाई आफूले जेलमा रहँदा, सांसद–मन्त्री हुँदादेखि नै नजिकबाट चिनेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यस सङ्गठनलाई अपराध अनुसन्धानमा तालिम र अत्याधुनिक साधनको उपब्धता गराउने विषयमा सरकारकोे ध्यान गएको बताउनुभयो । देशविदेशमा खटिएर शान्ति सुरक्षामा रहेका सबै प्रहरीलाई दिवसका शुभकामना दिँदै प्रधानमन्त्री ओलीले समाजमा प्रहरीले शान्ति सुव्यवस्था कायम गर्न खेलेको भूमिका असाधारण र प्रशंसनीय रहेको बताउनुभयो ।
काठमाडौं: दसैँको पूर्वसन्ध्यामा सात वर्षीय छोरा माइत छाडेर झापाकी रुपा गिरी मलेसिया उड्नुभयो । मलेसिया जान लाग्नुभएकी गिरीले भावुक हुँदै भन्नुभयो, “घर चलाउन, घरै छाड्नुपर्यो ।” घरको आर्थिक स्थिति सुधार्न विदेसिन लागेको उहाँको भनाइ थियो । कक्षा ११ को पढाई बीचैमा छाडेर गिरीले बिहे गरेको केही वर्षमा छोरा जन्मियो । कलाकारिता पेसामा आबद्ध श्रीमान्को कमाइले परिवार चलाउन सक्नुभएन । छोरो स्कुल पठाउन थालेपछि पठनपाठन शुल्क तिर्न र पालनपोषण गर्नसमेत हम्मेहम्मे भयो । उहाँले ऋण गरेर स्वदेशमै व्यापार गर्नेबारे पनि नसोच्नुभएको होइन तर लगानी गर्ने आँट नभएपछि विदेसिन बाध्य भएको बताउनुभयो । “सन्तान छाडेर विदेसिने कुन आमालाई खुसी मिल्छ होला र”, उहाँले भन्नुभयो, “मुटुमा ढुङ्गा राखेर जान लागेकी छु । राम्रै कम्पनी परे त ठिकै हो । नभए के गर्ने थाहा छैन ।” गिरीसँगै कामदारका रुपमा विदेश जान आठ महिला तयार हुनुहुन्थ्यो । ती सबै आमाहरु थिए । त्यही लहरमा भेटिनुभएकी झापाकै ३४ वर्षीया सरस्वती तामाङको अनुहार मलिन देखिन्थ्यो । आफ्नै नाम भन्न लजाउने तामाङले समुन्द्रपारिको मुलुकमा कसरी काम गुर्नहुन्छ ? भन्ने प्रश्नको जवाफ छोटोमा दिनुभयो, “जे त होला ।” तामाङले ५ कक्षासम्म मात्रै पढ्नुभएको छ । सानैमा बिहे भयो । १० वर्षकी छोरी छोडेर विदेसिनु कुनै महत्वाकाङ्क्षा नरहेको उहाँको भनाइ छ । “यो मेरो बाध्यता हो”, उहाँ भन्नुहुन्छ, “छोरी हुर्किंदै छे, उसलाई मेरो जरुरी पर्छ तर गरिबीले विदेसिने बनायो ।” तामाङका श्रीमान् सवारी चालक हुनुहुन्छ । सुकुम्बासी बस्तीमा बस्ने उहाँहरुको जग्गा जमिन छैन । घर चलाउन श्रीमान्लाई विदेश पठाउने तयारी गरे पनि स्वास्थ्य परीक्षण गर्दा छातिमा दाग देखिएपछि उहाँले आफैँ विदेसिने निधो गर्नुभएको हो । “नेपालको कमाइले पुग्दैन । महँगी छ । त्यसैले विदेसिनुको विकल्प देखिँन”, उहाँले भन्नुभयो । स्याङ्जाकी धनु घले दुई छोराछोरीकी आमा हुनुहुन्छ । श्रीमान्ले काम नगर्ने, जाँड रक्सी खाएर कुटपिट गर्ने गरेपछि उहाँले ‘फुटपाथ’मा साग बेचेर जीविकोपार्जन गर्दै आउनुभएको थियो । छोराछोरी पढाउन र हुर्काउन गाह्रो भयो । श्रीमान्लाई फकाएर मलेसिया पठाउनुभयो । विदेश गएका श्रीमान्ले खर्च पठाउने आशामा पाँच वर्ष बित्यो तर श्रीमान्ले न त पैसा पठाउनुभयो न त फोन सम्पर्क नै । हातमुख जोर्न मुस्किल भएपछि ४२ वर्षीया घलेले छोराछोरीलाई छात्रवासमा राखेर दुबई जान लागेको बताउनुभयो । “विदेश गएको श्रीमान्ले एक सुको पठाएन, वास्तै गरेन”, उहाँले भन्नुभयो, “छोराछोरी पाल्ने कोही नभएपछि उनीहरुकै भविष्यका लागि विदसिन लागेकी हुँ ।” वैदेशिक रोजगार विभागको सन् २०२२ को तथ्याङ्कमा वैदेशिक रोजगारमा जाने महिलाको उमेर समूहमा २४ देखि ३४ वर्षका ५२ दशमलव तीन प्रतिशत, १८ देखि २४ उमेरका ३२ दशमलव तीन प्रतिशत र ३५ देखि ४४ वर्ष उमेरका १४ दशमलव छ प्रतिशत र ४५ देखि माथिका शून्य दशमलव आठ प्रतिशत उल्लेख छ । विभागकाअनुसार बर्सेनी ६० हजार हाराहारीको सङ्ख्यामा महिला वैदेशिक रोजगारीमा जाने गरेका छन् । आर्थिक वर्ष २०७८/०७९ मा ४९ हजार महिला वैदेशिक रोजगारीमा गएका थिए । आर्थिक वर्ष २०७९/०८० मा ७२ हजार महिला श्रम गर्न विदेश गए । आर्थिक वर्ष २०८०/८१ मा भने वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या वृद्धि भई ८० हजार पुगेको छ । वैदेशिक रोजगार बोर्डका प्रवक्ता टिकाराम ढकालले तुलनात्मक रुपमा पुरुषभन्दा महिला कमै विदेश जाने गरेको देखिए पनि पछिल्लो तथ्याङ्कले रोजगारका लागि विदेश जानेक्रम बढ्दो अवस्थामा रहेको बताउनुभयो । उहाँका अनुसार खाडी मुलुक जाने महिलाको सङ्ख्यामा क्रमशः वृद्धि भइरहेको छ । “अधिकांश महिला साउदी, मलेसिया, कुबेत, कतार, युएइलगायत खाडी मुलुकमा रोजगारका लागि जानुहुन्छ”, प्रवक्ता ढकालले भन्नुभयो, “त्यसमा पनि श्रम स्वीकृति नलिइ लुकेर जानेहरुको तथ्याङ्क पाउन मुस्किल छ ।” राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले वैदेशिक रोजगारमा आमा जान बाध्य हुँदा परिवारमा नकारात्मक असर परेको बताउनुहुन्छ । आयोगले एक वर्षअघि गरेको तथ्याङ्कको विश्लेषण गर्दै भन्नुभयो, “आमा नहुँदा घर परिवार लथालिङ्ग भएको छ ।” राज्यले स्वदेशमै रोजगारीको सुनिश्चितता नगर्दा नागरिककले सास्ती खेप्नुपरेको उहाँको भनाइ छ । पौरखी नेपालका पूर्वअध्यक्ष मञ्जु गुरुङका अनुसार आमाहरु परिवार पाल्न विदेसिनुमा सामाजिक, आर्थिक, राजनीतिक पक्षहरु मुख्य छन् । संस्थाले विदेश जानुअघि परामर्श दिने, सकेसम्म स्वदेशमै बस्न उत्साहित गर्ने र नभएमा विदेश जाँदा अपनाउनुपर्ने सचेतताबारे परामर्श दिँदै आएको उहाँले बताउनुभयो । बितेका १५ वर्षमा पाँच हजार बढी वैदेशिक रोजगारीमा अलपत्र महिलाको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । “नेपाली समाजमा महिलाले थुपैै्र विभेद सहन बाध्य छन्”, उहाँ भन्नुहुन्छ, “जसले गर्दा घर छोडेर कमाउन विदेसिएका छन् ।” आमाहरुलाई स्वदेशमै टिकाउन राज्यले उद्यमशील निती ल्याउन जरुरी रहेको उहाँको सुझाव छ ।
धुलिखेल: तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् । काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् । बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइरहनुभएको छ । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उहाँले बताउनुभयो । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएपछि अहिले बस्तीमाथिको लुइचे पाखामा त्रिपालमुनि बस्दै आउनुभएको छ । चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उहाँसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आउनुभएको छ । “असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फुलबहादुरले भन्नुभयो, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।” बाह्र जनाको परिवार रहेको उहाँको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढलिे बगाएको छ । बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उहाँहरुको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् । गाउँले जीवन, सम्पत्तिका नाममा रहेको त्यही सानो घर, नजिकै वस्तुभाउ र केही अन्नपात राख्न बनाएको धनसार, उन्न उब्जाउ गर्ने बारी र खेत बगाएपछि चनौटेको बस्ती नै विस्थापित भएको छ । बालबालिकासमेत बिचल्लीमा छन् । बाढीबाट विस्थापित ती परिवार अहिले माथि रहेको लुइचे पाखामा एउटै त्रिपालको अस्थायी बासस्थानमा गुजारा चलाउँदै आएका छन् । खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएका बताउनुभयो । “नौ बालबालिका त एउटै त्रिपालमुनि बसेका छन्”, उहाँले भन्नुभयो । खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताउनुभयो । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।
काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरुरी भएको बताउनुभएको छ । नेपाल टेलिभिजनको ‘नेपालभाषा समाचार प्रसारण’ आज शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरुरी भएको बताउनुभयो । “नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्द्रिणी समाजलाई संरक्षण गर्नुपर्छ”, मन्त्री गुरुङले भन्नुभयो, “राज्यको सबै निकायमा समाजको चित्रअनुसार समेट्नुपर्ने जरुरी छ ।” मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । “नेपाल टेलिभिजन राज्यको हो, यस्मा राज्य झल्किनुपर्छ”, उहाँले भन्नुभयो, “काठमाडौँमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउँदा उहाँहरुलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो ।” राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्रालयका सचिव राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले स्रोतसाधनको अभावका बाबजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधँै तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवद्र्धन गर्न नेपाल टेलिभिजन सधैँ तयार रहेको बताउनुभयो । नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवद्र्धन गर्न गत वर्षदेखि नै भाषभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो ठूलो भाषा ‘नेपाल भाषा’ आजदेखि प्रारम्भ गरेको बताउनुभयो । नेपाल टेलिभिजनबाट आज अपराह्न ४ः३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ । नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसङ्ख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित हुनुहुन्थ्यो ।