काठमाडौं: पछिल्लो समय रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको मृत्यु र घाइते भएको सूचना सार्वजनिक हुन थालेपछि आफन्तले उद्धारका लागि आग्रह गर्ने गरेका छन्। परराष्ट्र मन्त्रालयको पछिल्लो जानकारी अनुसार रूसी सेनामा भर्ना भएकामध्ये हालसम्म १२ नेपाली युवाको मृत्यु भएको छ भने पाँच जना युक्रेनी सेनाको कब्जामा छन्। यसैगरी कन्सुलर सेवा विभागमा करीब १४० जनाका परिवारले उद्धारका लागि आवेदन दिएका छन्। यस बाहेक केकति संख्यामा नेपाली नागरिक रूसी सेनामा भर्ना भएका छन् तथा युद्धका क्रममा कति घाइते भए वा हराए भन्ने यथार्थपरक विवरण छैन। मन्त्रालयले हालसम्म गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रूपक कार्की, कास्कीका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका, इलामका गंगाराज मोक्तान, कुन्दनसिंह नागल, स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरबहादुर शाह र धादिङका राजकुमार गिरीको रूसी सेनामा कार्यरत रहँदा मृत्यु भए जनाएको छ। यसैगरी रूस सरकारबाट आधिकारिक जानकारी प्राप्त नभए पनि पछिल्लो समय थप दुई नेपालीको मृत्यु भएको सम्बन्धमा परिवारजनले मन्त्रालयमा जानकारी गराएका छन्। त्यस्तै, रूसी सेनामा कार्यरत अवस्थामा बर्दियाका विवेक खत्री, काभ्रेपलान्चोकका सिद्धार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतीक पुनलाई युक्रेनी सेनाले बन्दी बनाएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। रूसी सेनामा कार्यरत थप एक नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा परेको सूचना आएको मन्त्रालयले जनाएको छ। रूसी सेनामा भर्ना हुन जाने नेपाली अधिकांश भ्रमण भिसा मार्फत खाडी मुलुकबाट त्यहाँ गएका पाइएको छ। मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले नेपाल सरकारले रूस सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरिएको जानकारी दिए। साथै, उनले बन्दी बनाइएका नेपालीको शीघ्र रिहाइ गरी नेपाल फिर्ता पठाउन युक्रेनी सरकारलाई कूटनीतिक माध्यमबाट अनुरोध गरिएको बताए। मन्त्रालयले नेपालीलाई रूसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन समेत रूस सरकारलाई अनुरोध गरेको छ। गत महीना युगान्डाको कम्पालामा सम्पन्न ‘नाम’ सम्मेलनमा भेट भएका रूसका सहायक विदेशमन्त्रीसँग नेपाल सरकारका प्रतिनिधिले रूसी सेनामा नेपालीलाई भर्ना रोक्न र स्वदेश फर्काउन कुरा गरेको मन्त्रालयले जनाएको छ। नेपाली युवा रूसी सेनामा भर्ना भएको भन्ने सूचना सार्वजनिक भएपछि मन्त्रालयले गत साउन १६ गते पहिलो पटक प्रेस विज्ञप्ति मार्फत परम्परागत रूपमा रहेको सम्झौता अन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकामा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको स्पष्ट पारेको थियो। त्यसैगरी, मन्त्रालयले सरकारी कामकाज, रूस सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएकालाई बाहेक अन्य सर्वसाधारण नागरिकलाई रूस यात्रा गर्नुपरेमा परराष्ट्र मन्त्रालय अन्तर्गतको कन्सुलर सेवा विभागबाट जारी गरिने ‘नो अब्जेक्शन लेटर’ लिन अपील गरेको छ। कसैको प्रलोभनमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकको सेनामा भर्ना नहुन मन्त्रालयले अनुरोध गरेको छ। उपरोक्त व्यवस्थालाई विस्तार गरी हाल भारत, बाङ्लादेश, श्रीलंका, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत, कतार, ओमान र बहराइनबाट समेत रूस यात्रा गर्नुपरेमा तत् तत् देशमा रहेका नेपाली राजदूतावास तथा महावाणिज्य दूतावासहरूबाट जारी गरिने ‘एनओसी’ लिएर मात्र यात्रा गर्न मन्त्रालयले अपील गरेको छ। नेपाल सरकारले रूसी सेनामा भर्ना भएका नेपाली नागरिकको संख्या, घाइते नेपालीको संख्या तथा उनीहरूको अवस्थाबारे रूस सरकारबाट आधिकारिक रूपमा यथाशीघ्र जानकारी गराउन स्पष्ट अडान राखे पनि हालसम्म यस सम्बन्धमा यकीन तथ्यांक प्राप्त हुन सकेको छैन। हाल परराष्ट्रमन्त्री एनपी साउद अस्ट्रेलिया र न्यूजिल्यान्डको भ्रमणमा रहेको र उनले स्वदेश फर्के लगत्तै यस विषयमा कार्यक्रम गर्ने योजना रहेको प्रवक्ता राईले जानकारी दिए। मन्त्री साउदले काम गर्न, अध्ययन र भ्रमण भिसामा रूस गएका करीब २०० नेपाली युवा त्यहाँको सेनामा भर्ना भएको हुन सक्ने बताएका थिए। हराइरहेका र घाइते भएको भन्ने मन्त्रालयमा प्राप्त आवेदनका आधारमा त्यसभन्दा केही बढी नेपाली भर्ना भएको हुन सक्ने उनको भनाइ थियो। पछिल्लो समय रूस–युक्रेन युद्ध चर्किंदै गएपछि र ‘रेडजोन’ मा पठाउन थालेपछि रूसी सेनामा भर्ना भएका नेपाली नागरिकले आत्तिएर आफन्त मार्फत उद्धारको याचना गर्ने गरेका छन्। यही वर्षको दशैं लगत्तै रूसी सेनामा भर्ना हुन गएका एक नेपालीका आफन्तले कहिले सम्पर्क हुने र कहिले नहुने गरेको दुखेसो पोख्दै उद्धारका लागि आग्रह गरेका छन्।
झापा: झापामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शनिबार बेलुका बुद्धशान्ति गाउँपालिका वडा नं। ३ मेची राजमार्गमा चारआलीबाट बुधवारेतर्फ जाँदै गरेको मे ११ प ३१४९ न।को मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको को १ ख ६४२८ नम्बरको टिपरले ठक्कर दिँदा दुर्घटना भएको थियो । दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय रामकृष्ण पौडेलको उपचारका लागि अस्पताल पुर्याउन साथ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीका अनुसार मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी २१ बर्सिया लीला गौतम घाइते भएका छन् । दुर्घटनाको विषयमा अनुसन्धान सुरु गरिएको गिरीले बताएका छन् ।
काठमाडौं: नेपालमा खनिज पदार्थको उत्खननका लागि खानी तथा भूगर्भ विभागले एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरेको छ । विभागले दिएको जानकारीअनुसार हालसम्म मुलुकभर खनिज पदार्थको अनुसन्धान तथा अन्वेषण गरी सो खानीलाई उत्खननका लागि स्वीकृति प्रदान गरेको हो । विभागले खानी तथा खनिज पदार्थसम्बन्धी ऐन, २०४२ र खानी तथा खनिज पदार्थ नियमावली, २०५६ अन्तर्गत विभिन्न १७ प्रकृतिका एक सय ५६ खानीलाई उत्खननका लागि अनुमति प्रदान गरिएको विभागअन्तर्गत खनिज सम्पदा महाशाखाका प्रमुख जयराज घिमिरेले जानकारी दिए । नेपालको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेकाले उत्खननका लागि अनुमति प्रदान गरिएको उनको भनाइ थियो । मुलुकको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण क्षेत्रका रुपमा लिइएको खनिज पदार्थमध्ये सबैभन्दा धेरै चुनढुङ्गा ९६ खानीलाई उत्खननका लागि अनुमति दिएको महाशाखाका प्रमुख घिमिरेले जानकारी दिए । उनका अनुसार अनुमति प्रदान गरिएकामा टुर्मालिन तीन, टल्क १३, क्वार्ज दुई, काइनाइट पाँच, मार्वल एक, रातोमाटो दुई, फलाम एक, जिङ्क एक, क्वार्जजाइट १३, म्याग्नेसाइट दुई, डोलोमाइट तीन र तामाका दुई खानी रहेका छन् । घिमिरेले पछिल्लो समय चुनढुङ्गा उत्खननका लागि धेरै आवेदन परेको र सोहीअनुसार उत्खननका लागि ९६ खानीलाई अनुमति प्रदान गरिएको जानकारी दिए । पछिल्लो समय नेपालमा उत्पादित सिमेन्टसमेत विभिन्न मुलुकमा निर्यात हुँदै आएको छ । ‘नयाँ संरचना निर्माणका लागि सिमेन्टको अत्यधिक माग भइरहेको अवस्थामा सिमेन्टमा चाहिने महत्वपूर्ण कच्चापदार्थ चुनढुङ्गाको उत्खनन बढेको हो’, उनले भने । यस्तै विभागले उत्खनन अनुमतिपत्र प्राप्त गरेका विभिन्न कम्पनीलाई उत्खनन कार्य समयमा सुरु नगरेको भन्दै रद्द गर्दै आएको छ ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेललाई दिइएको छ। त्यहाँ कार्यरत प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरुवा गरिएपछि विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पोखरेललाई दिइएको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। प्रवक्ता ढकालका अनुसार विमानस्थलमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबरालाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा शुक्रबार सरुवा गरिएको र बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौली सिन्धुलीबाट पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरिएको हो। माघ १२ गते विमानस्थलमा अध्यागमनका कर्मचारी र प्रहरीबीच हातपात भएको थियो। उक्त घटनापछि विमानस्थल सुरक्षा प्रमुख डिआइजी अर्जुन चन्दले राजीनामा बुझाएका थिए। तर उनको राजीनामा फिर्ता गरी प्रहरी प्रधान कार्यालयले उनलाई प्रदेश समन्वय विभागमा सरूवा गरेको थियो।
काठमाडौं: आज माघ शुक्ल प्रतिपदा– तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक सोनाम ल्होसार मनाउँदै छन् । आजदेखि मुसा वर्ष पूरा गरी गाई वर्ष प्रवेश हुँदैछ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन विभिन्न कार्यक्रम गरी सोनाम ल्होसार मनाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन , सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ । ल्होसारमा १२ वटा जीवजन्तुका नामबाट ल्हो खोर्लो अर्थात् वर्ष चक्रका आधारमा हरेक वर्ष पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरी धार्मिक र सांस्कृतिक विधिअनुसार यो पर्व मनाउने गरिन्छ । भूमिपूजा, कूलपूजा एवं दानदक्षिणा, ढोगभेट, नाचगान, मिठो परिकार बनाएर खाने र शुभकामना आदानप्रदान गरी यो पर्व मनाउने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला भई सामूहिक रुपमा मनाइने यो पर्व मुलुकका विभिन्न भूभागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा लगायतले आ–आफ्नो परम्परा अनुसार मनाउँछन् । तामाङ जातिको बाहुल्य रहेको बागमती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । राजधानीको टुँडिखेल, बौद्ध, स्वयम्भू क्षेत्रमा विविध कार्यक्रम आयोजना गरी ल्होसार मनाइँदै छ ।
चितवन: चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौंतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को ट्रकसित ठोक्किएको हो । घाइते सबै बसका यात्रु रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख सुरेश सुवेदीले जानकारी दिनुभयो । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । बसका चालक फरार रहेको र खोजीकार्य जारी रहेको प्रमुख सुवेदीले बताउनुभयो ।
काठमाडौं: काठमाडौंको चन्द्रागिरी नगरपालिका–११ स्थित सिप्रदी बल्खु पुलमा प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी प्रभाग बलम्बुमा कार्यरत सहायक हवल्दार हेमराज एलजीको उपचारको क्रममा सशस्त्र प्रहरी अस्पतालमा मृत्यु भएको हो । बिहीबार राति सवा ११ बजे प्रहरीको बा।१ झ ७४१८ नम्बरको भ्यानबाट उनी सडकमा खसेका हुन् । भ्यानको पछाडी बसेका हेमराज ओर्लने क्रममा लडेर टाउकोमा चोट लागेको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । एआईजी थापाले भने–‘घटनाबारे छानबिन हुँदैछ ।’ सतुंगल नजिकैको डेरामा जाने बेलामा ओर्लने क्रममा उनी भ्यानबाट खसेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष छ । हेमराज भ्यानको पछाडीको भागमा सवार थिए । प्रहरीले शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ । भ्यानको चालक सहायक हवल्दार रामप्रसाद यादवलाई प्रहरीले पक्राउ गरेको छ ।
पोखरा: यही माघ २७ गते नाट्यसम्राट बालकृष्ण समको १२१ औ जन्मजयन्ती पोखरामा मनाउने तयारी गरिएको छ । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा स्वदेश एवम् विदेशमा ख्यातीप्राप्त नाट्यकर्मीहरूको सहभागितामा कार्यक्रम गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रा.डा.रामचन्द्र पोखरेलले जानकारी दिनुभयो । कार्यक्रममा विभिन्न तीनवटा कार्यपत्रमा छलफलका साथै युवा नाट्यकर्मी केदार नाथ पौडेद्वारा लिखित एवम् निर्देशित नाटक भ्रुण मञ्चन गरिने प्रतिष्ठानले जनाएको छ । उक्त अवसरमा प्रा.डा.रामचन्द्र पोखरेलको बालकृष्ण समको रङ्गमञ्चीय चेतना, डा. अशोक थापाको बालकृष्ण समको गुणात्मक नाट्य योगदान र भारत, कालेबुङका नाट्यकर्मी सि.के. श्रेष्ठको नेपाली नाटकः हिजो, आज र भोलि शीर्षकका कार्यपत्र प्रस्तुत भै छलफल एवम् अन्तरक्रिया गरिने छ । कार्यक्रममा वरिष्ठ नाट्यकर्मी मनबहादुर मुखिया र हरिहर शर्मालाई अभिनन्दन गरिने अध्यक्ष डा.पोखरेलले जानकारी दिनुभयो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, प्रायोजक तथा पोखरा प्रज्ञा प्रतिष्ठान, गण्डकी प्रज्ञा प्रतिष्ठान र इन्द्रेणी थिएटर, पोखरा प्रवद्र्धक रहेको कार्यक्रममा भारतबाट बरिष्ठ नाट्यकर्मी सि के श्रेष्ठ, भारतीय नेपाली नाट्य प्रतिष्ठानका अध्यक्ष डा विजय रुचाल, बरिष्ठ नाट्यकर्मीहरू दार्जिलिङका पी अर्जुन, सिलगढीका कृष्ण प्रधान, सिक्किमका चुन्नीलाल घिमिरे, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा, प्रतिष्ठानका पूर्व कुलपति एवम् बरिष्ठ नाट्यकर्मी सरुभक्त, अनुप बराल लगायत स्वदेशी एवम् विदेशी नाट्यकर्मी, अभिनेता एवम अनुसन्धाता गरी १५० जना उपस्थिति हुनुहुने जनाइएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्माले उद्घाटन गर्नुहुने कार्यक्रमको समापनमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य प्रमुख अतिथि रहनुहुने पोखरेलले जानकारी दिनुभयो ।
पोखरा: गण्डकी प्रदेश सरकार र नेपाल र्याफि्टङ कनुसंघको सँयुक्त आयोजनामा गण्डकी प्रदेशमा पहिलोपटक राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुने भएको छ । मालढुंगास्थित कालीगण्डकीमा यही माघ २७ देखि फागुन १ गतेसम्म राष्ट्रिय र्याफि्टङ तथा कायाकिङ प्रतियोगिता हुन लागेको हो । पर्वतको जलजला गाउँपालिका १ स्थित कालीगण्डकी नदीमा माघ २७ देखि फागुन १ गतेसम्म उक्त प्रतियोगिता सञ्चालन हुन लागेको नेपाल र्याफि्टङ कनुसंघका टेक्निकल डायरेक्टर नीम मगरले बताए । ‘साहसिक खेलमार्फत पर्यटक भित्राउन हामीले यसपटक कालीगण्डकी नदीमा राष्ट्रिय स्तरको र्याफि्टङ र कायाकिङ प्रतियोगिता आयोजना गर्दै छौं, डायरेक्टर मगरले भने, ‘उक्त प्रतियोगिताको पर्वतको जलजला गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा सञ्चालन गर्दैछौं । उनका अनुसार कायाकिङ प्रतियोगितामा करिव ३०–३५ जना र र्याफि्टङमा ८ टिमको सहभागिता रहनेछ । र्याफि्टङ प्रतियोगिता ४ विधामा सञ्चालन हुनेछ । एक टिममा ५ जना (आर फोर) रहनेछन् । जसमा स्प्रिन्ट (२५०मिटर), हेड टु हेड (३५० मिटर), स्लालम (४५० मिटर) र ड्राउ रिभर रेस १५ किलोमिटर मा प्रतिस्पर्धा हुनेछ । ४ विधामा १ हजार अङ्कका लागि प्रतिस्पर्धा हुनेछ । यस्तै कायाकिङ प्रतियोगिता ३ किलोमिटर क्षेत्रमा स्लालम र कनुकायक विधामा प्रतिस्पर्धा हुनेछ ।