भोजपुर: जिल्लाको पौवादुङमा गाउँपालिका–१ मा रहेको अरुण डाँडा ९छिन्तालुङ० आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गाउँपालिकाले पूर्वाधार विकाससँगै आवश्यक संरचना निर्माण गरेपछि पर्यटकीय क्षेत्रका रूपमा स्थापित भएको हो । सदरमुकामबाट नजिकको पर्यटकीय गन्तव्य भएकाले घुमघामसँगै सहरी जीवनशैलीको थकान मेटाउन यो ठाउँलाई आन्तरिक पर्यटकले रोज्ने गरेका छन् । गाउँपालिका र कोसी प्रदेश सरकारसँगको साझेदारीमा बुद्ध, शिव र एलम्बरको प्रतिमासँगै आवश्यक संरचना निर्माण गरेपछि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको गाउँपालिका अध्यक्ष किरण राईले बताउनुभयो । अरुण डाँडालाई गाउँपालिकाको मुख्य पर्यटकीय क्षेत्रका रूपमा स्थापित गर्ने उद्देश्यले विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार गरेर यहाँ पूर्वाधार विकासको काम भइरहेको बताउँदै पर्यटकीय गन्तव्य भएसँगै पालिकाको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । “अरुण डाँडा र यहाँ पुग्ने संरचनाको विकासका लागि आवश्यक काम भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँको वृहत्तर विकास गर्न करिब ८० रोपनी क्षेत्रमा विविध संरचना विस्तार गर्ने लक्ष्य छ । यो ठाउँलाई पर्यटनसँग जोडेर गाउँपालिकाको दिगो आर्थिक विकास र आम्दानीको स्रोतका रूपमा स्थापित गराउने लक्ष्यसहित काम भइरहेको छ ।” यहाँ आइपुग्ने सडक विस्तारसँगै पैदल मार्ग तथा विश्राम स्थल निर्माण गरिएको पौवादुङमा–१ का वडाध्यक्ष राजेन्द्र तामाङले बताउनुभयो । यहाँबाट विभिन्न हिमश्रृङ्खलाका सुन्दर दृश्य, समथर फाँटको अवलोकनसँगै यहाँ रहेको मन्दिरमा पूजाआजा गर्न पर्यटकहरू आउने गरेका उहाँको भनाइ छ । “पर्यटकीय क्षेत्र अरुण डाँडाको धार्मिक पनि महत्व छ”, वडाध्यक्ष तामाङले भन्नुभयो, “यो स्थान घुम्न आउने मानिसका लागि प्राकृतिक सुन्दरका साथै मन्दिरमा भाकल गरी भाकल पूरा भएपछि पूजाआजा तथा दर्शन गर्न पनि आउने गरेका छन् ।” यहाँ आउने पर्यटकको यकिन तथ्याङ्क नभएपनि यसअघि दैनिक १०–१५ जना आउने गरेकामा पूर्वाधार विकास भएसँगै दैनिक २५–३० जना आउने गरेका उहाँले जानकारी दिनुभयो । यस क्षेत्रको विकास गरी स्थानीयको जीवनस्तर उकास्ने गरी योजनाबद्ध रूपमा पूर्वाधार विकासको काम भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताउनुभयो । यहाँको प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा जोड दिइएको उहाँले उल्लेख गर्नुभयो । पर्यटकलाई लक्षित गरेर यहाँ चियाखेतीको सम्भावनाको अध्ययन गरी विस्तारको कामसमेत भइरहेको प्रशासकीय अधिकृत भट्टराईले बताउनुभयो । पर्यटक प्राकृतिको आनन्दसँगै स्थानीय परिकारको स्वाद लिन यहाँ आउने गरेका स्थानीय लालबहादुर तामाङले बताउनुभयो । सदरमुकामबाट नजिकको दूरीमा पर्ने अरुण डाँडा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको उहाँको भनाइ छ । भोजपुर–लेगुवा मध्यपहाडी लोकमार्गबाट नजिक रहेकाले पनि पर्यटकको आवतजावतमा सहजता भएको उहाँले उल्लेख गर्नुभयो । “गाउँपालिकाले अरुण डाँडाको विकासमा भूमिका खेलेसँगै पर्यटकको सङ्ख्या बढेको छ”, स्थानीय तामाङले भन्नुभयो, “बिदाको समयमा आन्तरिक पर्यटक बढी आउँछन् । पछिल्लो समय यो स्थान धेरैको रोजाइमा पर्न थालेको छ ।” समुन्द्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको अरुण डाँडालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा लिने गरिन्छ ।
बागमती: हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट रु ७ करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ । विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन भएको छानबिन समितिले रु ७ करोड बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिनुभयो । हेटौँडास्थित जिन्सी शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो । “खरिद भएका सामानको अभिलेख छ, तर स्टोरमा अभिलेखबमोजिमका सामान छैनन्”, महाशाखा प्रमुख झाले भन्नुभयो,–“अभिलेखमा भएका सामान कहाँकहाँ छन् भनेर खोज्दै जाँदा कतिपय सामान अन्य प्रदेशमा गएको पनि देखियो, तर रु सात करोड बराबरका सामान अझै गायब छन् ।” तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताउनुभयो ।
काठमाडौं: नेपाल र चीनबीचको सम्बन्धलाई पर्यटनका माध्यमबाट पनि अझ सुमधुर गर्दै दुवै देशको भ्रमणमा एकअर्काका नागरिकलाई प्रेरित गर्ने उद्देश्यले पर्यटन व्यवसायी, विमान कम्पनीहरूसँगको साझेदारीमा बुधबार यहाँ चाइना कल्चरल सेन्टर (सिसिसी)द्वारा ‘निहाओ चाइना’ कार्यक्रम आयोजना गरियो । चीनको राष्ट्रिय ध्वजावाहक एयर चाइना, चाइना सदर्न एयरलाइन्स, चाइना इस्टर्न एयरलाइन्स र चाइना नेशनल टुरिष्ट कार्यालय काठमाडौँले संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा यहाँस्थित सिसिसीे कार्यालयका निर्देशक सियाओ जियाङले कार्यक्रमका माध्यमबाचट नेपाली पर्यटन व्यवसायीलाई चिनियाँ पर्यटन तथा त्यहाँका पर्यटकीय गन्तव्यबारे बुझ्न मद्दत पुगेको बताउनुभयो । उहाँले चिनियाँ र नेपाली पर्यटन व्यवसायीबीचको सम्बन्ध स्थापना, सूचना आदानप्रदान र भावी सहकार्यका निम्ति अवसर मिल्ने विश्वास व्यक्त गर्नुभयो । चाइना नेशनल टुरिष्ट अफिसका मोहन सुवालले पर्यटकीय उत्पादन, चिनियाँ खाना, सांस्कृतिक तथा ऐतिहासिक सम्पदा र चिनियाँ पर्यटनका अन्य सम्पदाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रममा नेपाली पर्यटन व्यवसायीका साथै गुआङ्सी गुआङ्दा टुरिजम इन्भेष्टमेन्ट कम्पनी, तिब्बत यती इन्टरनेशनल ट्राभल सर्भिस र सिचुआन मिङ्यान ट्राभल एजेन्सीका चिनियाँ पर्यटक कम्पनीका प्रतिनिधिहरुको उपस्थिति थियो । नेपाल भ्रमण वर्ष २०२५ लाई सफल पार्न तथा नेपाल र चीनबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा द्विदेशीय पर्यटन प्रवद्र्धनका कार्यक्रम उपयोगी हुने कार्यक्रमका सहभागीहरूले व्यक्त गरेका थिए ।
बेइजिङ: प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा यही मङ्सिर १७ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ गएका थिए । चीनको औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौँ आउने कार्यक्रम छ । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेकाे परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यस अवसरमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै द्विपक्षीय हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो । भ्रमणका क्रममा प्रधानमन्त्री ओली र उनका चिनियाँ समकक्षीको उपस्थितिमा नेपाल र चीनबीच विभिन्न समझदारी भएका छन् । दुवै देशका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्तापछि पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल र चीनबीच भएको टोखा–छहरे सुरुङमार्ग निर्माणसम्बन्धी समझदारीपत्रमा दुवै देशका सम्बद्ध अधिकारीले हस्ताक्षर गरेर आदानप्रदान गरेका छन् । यसैगरी नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । चीनले काठमाडौँको वसन्तपुरस्थित नौतले दरबार पुन:निर्माण सम्पन्न गरेको प्रमाणपत्र आदानप्रदान भएको छ । यसका साथै भैँसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी भएको जनाइएको छ । यस्तै, विकास आयोजना, आर्थिक तथा प्राविधिक सहयोग तथा नगद सहयोगसम्बन्धी सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको छ । भ्रमणका अवसरमा स्वयम्सेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी समझदारी तथा नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यसै अवसरमा नेपाल र चीनबीच बिआरआई फ्रेमवर्कसहित विभिन्न महत्वपूर्ण सम्झौता भएका छन् । सन् २०२५ मा चीनबाट धेरै पर्यटक नेपाल भित्र्याउनेबारे पनि उनीहरूबीच कुराकानी भएको जनाइएको छ । यसैबीच प्रधानमन्त्री ओलीले चीनका प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तिो दिएका छन् । यसबारे चिनियाँ प्रधानमन्त्रीबाट सकारात्मक बचन प्राप्त भएको जनाइएको छ । प्रधानमन्त्री ओलीले बेइजिङमा बुधबार आयोजित ‘नेपाल–चीन बिजनेस समिट’लाई सम्बोधन गर्दै नेपालमा लगानीको वातावरण बन्दै गएको भन्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका थिए । नेपाल उद्योग वाणिज्य महासङ्घ, चाइना काउन्सिल फर प्रोमोसन अफ इन्टरनेसनल ट्रेड (सिसिपिआइटी) र चीनस्थित नेपाली दूतावासले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा उनले नेपालमा विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधारका काम भइरहेका जनाएका थिए । प्रधानमन्त्री ओलीले बुधबार नै चिनियाँ कम्युनिस्ट पार्टीको बेइजिङस्थित सङ्ग्रहालयको अवलोकनसमेत गरेका थिए । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत छन्।
सोलुखुम्बु: जिल्लाको सोलुदुधकुण्ड नगरपालिका–११ तिङ्लाको सारेलुकीचौर बस्ती अहिले पहिराको जोखिममा परेको छ । वर्षायाममा मात्र नभई सुख्खायाममा समेत पहिरो खस्न नरोकिएपछि गाउँ नै जोखिममा परेको हो । सोलुखोलाको माथिल्लो भागबाट सुरु भएको करिब पाँच सय मिटर लामो पहिरो बस्तीतर्फ सर्दैछ, जसले स्थानीयवासी त्रसित छन् । स्थानीय चित्रकुमारी कार्कीले जलविद्युत् आयोजना निर्माणका क्रममा निस्किएको माटो अनियन्त्रित रूपमा थुपारिँदा पहिरोको जोखिम थप बढेको बताए । यसले बस्ती र जग्गा दुवै जोखिममा पारेको उहाँले बताए । स्थानीय तेजबहादुर कार्कीले यस क्षेत्रमा ३० वर्षअघि पनि यहाँ पहिरो गएकामा उस्तै अवस्था दोहोरिन लागेको भन्दै फेरि स्थानीय त्रासमा रहेको बताए । “वर्षायाममा त समस्या हुन्छ नै, यहाँ त सुख्खायाममा पनि पहिरो जाने गरेकाले समस्या भएको छ । यसको उचित व्यवस्थापन नभए बस्ती नै विस्थापित हुने जोखिम छ”, उनले भने । सोलुदुधकुण्ड नगरपालिका–११ का अध्यक्ष टङ्कबहादुर कार्कीले पहिरोका कारण एक सयभन्दा बढी घर जोखिममा रहेको बताए । उनले भने, “हिउँदको समयमा समेत पहिरो गइरहेकाले गाउँ नै जोखिममा छ, यो पहिरो यही गतिमा बढ्दै जाने हो भने सय डेढ सय घरपरिवार विस्थापित हुने अवस्था आउँछ । पहिरो विस्तार हुँदै गइरहेकाले यसको रोकथामका लागि तत्काल काम गर्न आवश्यक छ ।” वडाध्यक्ष कार्कीले पहिराले स्थानीयको दैनिकी नै प्रभावित भइरहेको बताए । स्थानीय चित्रकुमारी बस्नेतले पहिरोका कारण सुख्खायाममा पनि ढुक्कले सुत्न नपाएको सुनाइन् । “राति निन्द्रा नै लाग्दैन । जहिले पनि पहिरोले हाम्रो घर पुरेर लैजान्छ कि भन्ने डरले हामीलाई सताइरहन्छ । बाउबाजेदेखिको सम्पत्ति भनेको यही घरबारी थियो, यही अवस्था रहेमा यो केही बच्नेवाला छैन”, उनले दुःखेसो पाेखिन् । करिब ३० वर्षअघि सामान्य रहेको पहिरो यही मङ्सिर १२ गतेपछि मात्रै करिब पाँच सय मिटर फैलिएको उहाँले सुनाइन् । स्थानीयका अनुसार पहिरोले नजिकै रहेको उतिसको जङ्गलसहित गोरेटो बाटोसमेत कटान गरिसकेको छ । त्यसभन्दा माथि रहेको खेतीयोग्य जमिन चिराचिरा भएको छ । पहिरो बस्ती नजिकको सडकछेउ पुगिसकेको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले पहिरो क्षेत्रको वस्तुस्थिति आँकलन गर्न जिल्ला सुरक्षा समितिको टोलीले पहिरोग्रस्त क्षेत्रको निरीक्षण गरेको बताए । उनले जलश्रोत तथा सिँचाइ सब डिभिजन कार्यालय र ओखलढुङ्गाको भू–जलधार संरक्षण कार्यालयका विज्ञसहतिको टोलीले समेत पहिरोग्रस्त क्षेत्रको अध्ययन सुरु गरेको बताए । “स्थानीय प्रशासन नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक सधैँ सचेत छ । पहिरो रोकथाम र नागरिकको जिउधनको सुरक्षामा हामी हदैसम्म गम्भीर छौँ, यसका लागि कुनै कसर बाँकी राख्ने छैनौँ तर समग्र अवस्थाको आँकलन गरी पहिरो रोकथामका लागि विज्ञ टोलीले थप अध्ययन गर्न आवश्यक छ । यसका लागि तिनै तहका सरकारबीच समन्वय गरी अगाडि बढ्नुपर्छ”, प्रजिअ घिमिरेले भने ।
काठमाडौँ: हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सामान्यतया देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराईका केही स्थानमा हुस्सु लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
बेइजिङ: चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड इनिसियिटभ (बिआरआई) बाट नेपालले लाभ लिने बताउनुभएको छ । यहाँस्थित पेकिङ विश्वविद्यालयमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले आगामी सन् २०२५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पुग्ने अवसरमा दुई देशमा उच्चस्तरीय भ्रमण आदानप्रदान भइ पारस्परिक सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो । प्रधानमन्त्री ओलीले पेकिङजस्तो पुरानो विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा पनि योगदान दिन सक्ने बताउनुभयो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले स्वागत गर्नुभएको थियो । कार्यक्रममा प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका अन्य सदस्यको पनि सहभागिता थियोे । प्रधानमन्त्री ओलीले आजै उद्यमी– व्यवसायीहरूको कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
गुल्मी: निर्माणाधीन कालीगण्डकी कोरिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी कोरिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडकखण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी यही मङ्सिर १९ गतेदेखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको छ । उक्त सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडकखण्डमा पर्नेे गरगरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी कोरिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले जानकारी दिनुभयो । प्रत्येक दिन बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुने छ । यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ । सडक बन्द हुने भएपछि कालीगण्डकी गाउँपालिकाले पनि सरोकारवाला यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौँ: उपराष्ट्रपति रामसहाय प्रसाद यादवले कतारमा काम गरिरहेका नेपाली श्रमिकलाई २४ घण्टा बीमाको व्यवस्था मिलाउन कतार सरकारसँग आग्रह गर्नुभएको छ । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयमा आज आफूसँग भेट गर्न आउनुभएका नेपालका लागि कतारका राजदूत मिशालबिन मोहम्मद अली अल अन्सारीलाई उपराष्ट्रपतिले त्यहाँ मृत्यु वा घाइते भएका नेपाली श्रमिकको उद्धार र उचित क्षतिपूर्ति उपलब्ध गराउन तथा विभिन्न अस्पताल, निर्वासन केन्द्र र जेलमा रहेका नेपालीलाई आवश्यक सहयोग गरिदिन अनुरोध गर्नुभयो । “कतारमा ६७ जना नेपाली जेल सजाय भुक्तान गरिरहेका छन् र धेरै नेपाली कागजविहीन बसिरहेका छन्”, भेटमा उपराष्ट्रपतिले भन्नुभयो, “म महामहिमलाई आममाफी दिन वा जेलको समय घटाउन र कागजातविहीन नेपालीलाई नियमित काम गर्न वा उनीहरूलाई नेपाल फर्काउनमा सहयोग गर्न अनुरोध गर्दछु ।” उपराष्ट्रपति यादवले नेपाल र कतारले पारस्परिक हित र चासोका विषयमा बहुपक्षीय र क्षेत्रीय मञ्चमा नजिकबाट काम गर्दै र एकअर्कालाई समर्थन गर्दै आएकामा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाली नागरिक विपीन जोशीलगायत अन्य बन्धकको रिहाइका लागि कतारले गरेको मध्यस्थताका लागि प्रशंसासमेत गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक दिनेश यादवले जानकारी दिनुभयो । भेटमा कतारका राजदूत अन्सारीले दुईबीचको सम्बन्धलाई थप बलियो बनाउनुपर्नेमा जोड दिँदै नेपालमा लगानी प्रवद्र्धन तथा संरक्षणको पक्षमा रहेको बताउनुभयो । कतारमा हाल चार लाख नेपाली कामदार रहेको जानकारी दिँदै उहाँले नेपाली श्रमिकको हितलाई कार्यान्वयन आफूले प्रयास गर्ने बताउनुभयो ।

