काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाण्डौँ :      प्रहरीले काठमाडौँको नयाँ बसपार्कबाट पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।      प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको प्रहरी टोलीले काठमाडौँ महानगरपालिका–२६ मित्रनगरस्थित एक खाजा घरबाट हातहतियारसहित काठमाडौँ महानगरपालिका–१७ धोविचौरका ४२ वर्षीय जोयल थापा र नवलपरासी वर्दघाट नगरपालिका–१४ का ३० वर्षीय राजु विकलाई शनिबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।     जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पेस्तोल र गोली बोकेर हिँडिरहेका अवस्थामा दुवैजनालाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेकासँग कटुवा पेस्तोल एक थान, गोली एक थान, खोका एक थान र हातमा लगाउने फलामको पञ्च एक थान बरामद गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

काठमाण्डौँ :    सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो ।      यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रु २९ र पेट्रोल प्रतिलिटर रु २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ ।       पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ ।     वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो । 

म्याग्दी  :  म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर स्काभेटर बगाएको हो । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युतको बाँध रघुगंगा ४ मा निर्माणधिन अवस्थामा छ ।   मुक्तिनाथ बगैचा निर्माण सेवाको ग १ क ५३३८ नम्बरको होन्डाई स्काभेटर नदीले बगाएर करिब २० मिटर तल पु¥याउँदा स्काभेटरको महत्वपूर्ण पाठपुर्जा र मेसिनमा ठूलो क्षति भएको कम्पनीका सञ्चालक श्यामनन्द शर्माले बताए । पार्किङको लागि बनाइएको ठाउँमा लगाइएको ग्याविन जाली बगाएर नदीको बाढीले डोजर बगाएको हो ।

पोखरा :     पोखरा महानगरपालिका ४, बुढानीलकण्ठ मन्दिर र बाग्लुङ बसपार्क नजिकको पुलको आडैंमा राति परेको पानीका कारण परेको भ्वाङ पुरिएको छ ।   महानगरपालिकाका कार्यवाहक मेयर मञ्जुदेवी गुरुङले सडकको निरिक्षण गरेलगत्तै उनको निर्देशनपछि भ्वाङ पुरिएको छ । उनले वर्षायामको सुरुवातसंगै बाढी, पहिरो जस्ता प्राकृतिक बिपत्तिका घटना हुनसक्ने भएकाले सजग र सचेत हुन सबैमा अनुरोध समेत गरेको पोखरा महानगरपालिकाले जनाएको छ ।

काठमाण्डौँ :      सुदूरपश्चिम प्रदेशमै पहिलोपटक चार पाङग्रे धान रोप्ने मेसिन भित्र्याइएको छ ।  प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कञ्चनपुरले रु १९ लाख ८० हजारमा अत्याधुनिक मेसिन ल्याएको हो ।     डिकाम माइक्रो सिस्टम नामक कम्पनीबाट परियोजनाले बोलपत्र प्रक्रियामार्फत धान रोप्ने मेसिन खरिद गरेको छ । खरिद गरिएको मेसिनको सफलतापूर्वक परीक्षणको कार्यसमेत गरिएको परियोजनाका कार्यालय प्रमुख सञ्जु उपाध्याय रिमालले जानकारी दिनुभयो ।   “प्रदेशमै पहिलोपटक धान रोप्ने अत्याधुनिक मेसिन भित्र्याएका छौँ”, उहाँले भन्नुभयो, “यस मेसिनको मद्दतले एक घण्टामा एक बिघा खेतमा बर्खे र चैते धान सहजरूपमा रोप्न सकिन्छ । ट्रेमा बेर्ना तयार गरी मेसिनमा राखेर रोप्ने गरिएको छ ।”   धान रोप्नका लागि मेसिनको प्रयोग हुने भएपछि किसानलाई धान रोप्ने मजदुर खोज्ने झन्झट हुँदैन । कम समयमै धेरै धान रोपिने भएकाले किसानले कुर्नु पर्दैन । “चालु आवमा मेसिनलाई परीक्षणका रूपमै सञ्चालन गर्छौँ”, कार्यालय प्रमुख रिमालले भन्नुभयो, “किसानको प्रतिक्रिया लिएर अर्को आवदेखि कार्यालयबाटै करारमा चालकको व्यवस्था गरी किसानलाई थोरै शुल्क लिएर मेसिन उपलब्ध गराइने योजना बनाउँछौँ ।”   चितवनलगायतका ठाउँमा धान रोप्ने मेसिनको प्रयोग सहजरूपमा भइरहेको देखेपछि किसानलाई धान रोप्नमा सहजता ल्याउनका लागि र किसानलाई आधुनिक कृषियन्त्रप्रति आकर्षित गराउनका लागि मेसिन ल्याइएको उहाँले जानकारी दिनुभयो । परियोजनाअन्तर्गत १० बिघा जग्गामा धानखेती गरिएको छ ।

पाल्पा :      पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले पालिकामा बसोबास गर्ने ६० वर्ष उमेर पुगेका एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्ने बताउनुभयो ।   साथै ‘ग’ वर्गको अपाङ्गता भएका व्यक्तिहरूलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराइने भएको छ । सरकारको नीतिअनुसार यसअघि ‘क’ र ‘ख’ वर्गको परिचयपत्र प्राप्त गर्ने अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध हुँदै आएकामा गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएका व्यक्तिलाई सामाजिक सुरक्षाभत्ताको व्यवस्था गर्न लागेको हो ।   गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल सामाजिक सुरक्षाभत्ता कार्यक्रम नीति तथा कार्यक्रममा राखिएको र आगामी साउन १ देखि नै भत्ता दिन सुरु गरिने जानकारी दिनुभयो । उहाँका अनुसार कार्यविधि निर्माण साउन १ गतेबाटै मासिक रु एक हजारका दरले वितरण गरिनेछ ।   गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ६४ करोड ९८ लाख छ हजार ५७० बराबरको बजेटसहित गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिका अध्यक्ष सारुले आगामी पाँच वर्षभित्र निस्दीलाई अतिकम विकसित गाउँपालिकाबाट विकासशील गाउँपालिकामा स्तरोन्नति गर्ने बताउनुभयो ।

काठमाण्डौँ :      देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पकाउन आवश्यक ‘भाँडाकुँडाका सेट’ प्रदान गरेको छ ।   चनपा–५ डाउराडिपोमा प्रधान कार्यालय रहेको सो संस्थाले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सो सहयोग प्रदान गरेको हो । संस्थाका अध्यक्ष रामनारायण घिमिरे, सचिव राम तामाङ, प्रबन्धक प्रवीण सिलवाल र प्रहरी निरीक्षक शुभद्रा वाइबाले सो सामग्री वितरण गर्नुभयो । साथै संस्थाले वार्षिकोत्सवका अवसरमा शनिबार पाँचौँ रक्तदान कार्यक्रमसमेत सम्पन्न गरेको छ । काठमाडौ उपत्यकाभित्र रगतको अभाव हुन नदिन आयोजित सो रक्तदानमा ६६ जनाले रक्तदान गरेका थिए ।   सो अवसरमा अध्यक्ष घिमिरेले संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न मानवीय सेवाका काम गरिरहेको जानकारी दिनुभयो । संस्थाले कोभिड–१९ को महामारीका समयमा पनि मास्क, स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको थियो ।   विसं २०६६ असार ६ गतेदेखि निरन्तर सेवा गर्दै आइरहेको सो संस्थामा हाल कूल सदस्य तीन हजार ५००  र  कूल सम्पत्ति रु एक अर्ब ३५ करोड नाघेको अध्यक्ष घिमिरेले बताउनुभयो । सहकारी ऐन, नियमसहित संस्थाको स्वीकृत विनियमअनुसार आव २०७८/७९ मा रु पाँच करोड शेयर पूँजी बनाउने लक्ष्य लिएको छ ।   नियमित, देवदर्शन पेन्सन, बाल शैक्षिक, नारी उत्थान, किसान, साधारण, देवदर्शन विशेष, देशदर्शन कल, गोल्डन, बोनस बचतजस्ता निक्षेप योजना छन् । यसैगरी देवदर्शन पुलेसो, आवधिक, छाटो, व्यापारिक, हायर पर्चेज, महिला उद्यमी, शेयर सदस्य सहुलियत, सामूहिक जमानी, कृषि, गरिबी निवारण, लघुलगायत कर्जा योजना छन् । संस्थाले  सदस्य हितकोषअन्तर्गत आफ्ना सदस्यलाई सुत्केरी भत्ता, काजकिरीया खर्च र प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउनेलाई रु पाँच हजार वितरण गर्दै आएको छ ।

  महोत्तरी :   जलेश्वर नगरपालिका–६ मा एक समूहले विवाहमा घर बाहिर गएका एक व्यक्तिको घरबाट १९ तोला सुन र १५ तोला चाँदीको गहनासहित रु २० लाखको धनमाल चोरी गरेको छ ।   प्रवक्ता प्रनाउ  विष्टका अनुसार स्थानीय दिलीपकुमार मिश्र सपरिवार यही असार ६ गते भारतको बिहार राज्यको मुज्जफरपुरस्थित आफन्तको विवाहमा गएको मौका छोपी घरको ताल्चा फुटाइ चोरले सुन चाँदीका गरगहना, ल्यापटप र मोबाइल गरी रु १९ लाख ७० हजार मूल्य बराबरको धनमाल चोरी गरी लगेका छन् ।

महोत्तरी :    महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४ सुगागाउँ घर भई हाल गौशाला–५ स्थित दिनेश यादवको घरमा डेरा लिई बस्दै आएकी २६ वर्षीया पुनम महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।    गए राति छतमा सुकाएका कपडा लिन गएकी महतोको छतबाट लड्दा घटनास्थलमै मृत्यु भएको थियो ।