पोखरा : पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र मेयर–उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः भएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतले माफी मागेपछि बजेट प्रस्तुत गर्न एमाले राजी भएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।
पोखरा : पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले) ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गर्नुभएको छ । एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।” महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट) मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गर्नुभयो । उहाँले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताब छापेका छैनौँ ।” एमालेबाट निर्वाचित सदस्यहरूले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताउनुभयो ।
काठमाण्डौँ : ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको शुभारम्भ गर्दै उच्च शिक्षामा नाममा विदेशमा गएर पढ्ने प्रवृत्ति कम गराएर पुँजी पलायन रोक्नुपर्छ भन्नुभयो । उहाँले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिने वार्षिक एक लाख ११ हजार विद्यार्थी रहेकामा त्यो क्रम रोक्न ‘प्लस टु’ शिक्षाले योगदान दिनसक्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षामा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट काम गर्न सकिएमा गुणस्तरीय शिक्षा स्वदेशमै सम्भव हुन्छ भन्नुभयो । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले उच्च शिक्षाका नाममा ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत परामर्श दिन मेलाले सघाउने जानकारी दिनुभयो । मेलाका संयोजक युवराज शर्माले मेलामा विभिन्न ७४ शैक्षिक संस्थाका प्रदर्शनी कक्ष रहनेछन् । मेलामा करिब दुई लाखले भ्रमण गर्ने अनुमान गरिएको छ ।
काठमाण्डौँ : प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वबिद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो । “यसैले पनि आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै यो गौरव हामीले हासिल गरेका छौँ भन्नुभयो । उहाँले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको बताउनुभएको छ । “सम्भावना र चुनौतीको यो संयोगले हामीलाई अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकूल हुन ऊर्जा दिइरहन्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अध्यात्मको आलोकमा प्रकाशित तपाइँहरुको व्यावसायिक शिक्षा समाजिक सद्भाव, शान्ति र आर्थिक उन्नयनका लागि विशिष्टरुपमा प्रदिप्त भएको देख्न पाउनेमा आशा व्यक्त गर्दछु ।” उहाँले मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व आदि समग्र क्षेत्रको विश्वव्यापी प्रवद्र्धन गर्न बौद्ध विश्वविद्यालयका विद्यार्थीमा अझै तीव्र उत्साह भरिएकोमा आफू विश्वस्त रहेको बताउनुभयो । “नखोजिएका पुरातात्विक सम्पदा खोजौँ, सांस्कृतिक विरासतको समृद्धि फैलाऔँ र ऐतिहासिक नेपाली माटोको मौलिक दर्शनलाई विश्वबन्धुत्वका लागि फैलाऔँ भन्ने गम्भीरता तपाइँहरुमा उद्भव भएको छ भन्ने विश्वाससमेत लिएको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै हुनु भनेको विश्वविद्यालयको अपूर्व महत्व रहेको बताउँदै यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अङ्ग हुने गरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसारबाट समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई थप समयसापेक्ष र जीवनपयोगी बनाउँदै लैजान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “बौद्ध शास्त्रीयताका संस्कृतिको संयोजनद्वारा समकालीन विश्वका सैद्धान्तिक समस्याको उत्तर खोज्ने दिशामा अग्रसर हुन ढिलाइ गर्नुपर्ने कुनै कारण देखिँदैन ।” प्रधानमन्त्री देउवाले नेपालले दिगो पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा यस विश्वविद्यालयले बौद्ध शिक्षाका माध्यमद्वारा सरकारले अङ्गीकार गरेका वातावरण तथा दिगो विकास नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन, अध्यापन तथा अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो । उहाँले शाक्यमुनिले ४५ वर्ष अनवरत गर्नुभएको ज्ञानमय यात्रा आजको विश्वमा पनि सान्दर्भिक रहेको बताउनुभयो । विश्वविद्यालयले आपूmलाई बौद्ध दर्शन तथा शिक्षा पद्धतिको अध्ययन अध्यापनमा थप आकर्षक एवं अनुसन्धानमुखी कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले लामो इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि सदैव चासोको महत्वपूर्ण सम्पदाका रुपमा रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले मुलुक राज्य पुनःसंरचनासँगै सङ्घीयताको कार्यान्वयको चरणमा रहेको अवस्थामा सबै पक्षले विश्वविद्यालयलाई विशिष्टीकृत नमूना विश्वविद्यालयको रुपमा स्वीकार गरी त्यसैअनुसार विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । यसका लागि ऐनले परिकल्पना गरेअनुरुप बौद्ध विपुलताको विश्वव्यापीकरणका लागि सीपयुक्त शैक्षिक जनशक्ति उत्पादन गर्न सरकारले विश्वविद्यालयलाई निरन्तर सहयोग गर्ने र विश्वविद्यालयले पनि आफ्नो गन्तव्यको स्पष्टता बोध गरी समयानुकुल जनशक्ति उत्पादनमा अनवरतरुपमा लाग्न आग्रह गर्नुभयो ।
काठमाण्डौँ : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता भएको प्रस्टयाउनुभयो । आवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अब विद्युतीय यातायात सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढेको छ, त्यसको लागि सुरुमा चार्ज स्टेशनको व्यवस्था गर्ने र त्यसपछि मात्रै त्यहीअनुसार ट्याक्सीको व्यवस्था गरिने छ ।” महासङ्घले भारतीय ट्रक नेपाल आगमनलाई व्यवस्थित गर्नुपर्ने, पट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै समयअनुकुल भाडादर वृद्धि गर्नुपर्ने, काठमाडौँ उपत्ययकाभित्र ट्रक पार्कको व्यवस्था गर्नुपर्ने, दुर्घटनापछिको समस्यालाई सहज बनाउनुपर्ने र जाँचका क्रममा सुरक्षा निकायबाट हुने अनावश्यक कष्ट हटाउनुपर्नेलगायतका माग गरेको छ । “अहिले बागमती प्रदेश सरकारले चालक, सहचालक र केही श्रमिकको लागि ‘सवारी कसरी चलाउन सकिन्छ’ भन्ने शीर्षकमा सुरक्षा निकायसहितको अभिमुखीकरण कार्यक्रमको निम्ति बजेटको व्यवस्था गरेको छ”, प्रदेश मन्त्री दाहालले भन्नुभयो । काठमाडौँभित्र ट्रक पार्कको निम्ति जग्गाको समस्या भएको बताउँदै उहाँले हेटौँडामा व्यवस्थित ट्रक पार्कको निम्ति पहल भइरहेको जानकारी गराउनुभयो । महाधिवेशनले २१ सदस्यीय महासङ्घको नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महासङ्घमा आबद्ध देशभरका झण्डै ५०० ट्रक व्यवसायीको सहभागिता छ । हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने सो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासङ्घका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले जानकारी दिनुभयो ।
बागलुङ : बागलुङको ताराखोला गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा प्रथम अधिवेशनबाट गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले प्रस्तुत गर्नुभएको बजेट वक्तव्यमा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिउपजको बजारीकरणका लागि प्राथमिकतामा राखिएको छ । गाउँपालिकाले सङ्घीय सरकारबाट शसर्त अनुदानमार्फत प्राप्त गरेको रु १६ करोड ५४ लाख, वित्तीय समानीकरण अनुदान रु सात करोड ९९ लाख र राजस्व बाँडफाँट बाट रु छ करोड ७३ लाख २६ हजार प्राप्त गरेको थियो । त्यस्तै गण्डकी प्रदेश सरकारबाट समानिकरण अनुदान रु ७९ लाख ६४ हजार, राजश्व बाँडफाँट रु ३८ लाख नौ हजार, सङ्घीय सरकार विशेष अनुदानबापत रु एक करोड २० लाख, सङ्घीय सरकार समपूरक अनुदान रु ७० लाख, गण्डकी प्रदेश सरकार समपूरक अनुदान रु ४० लाख र चालु आर्थिक वर्षको रु ८२ लाख ९३ हजार मौज्दात र आगामी आर्थिक वर्षको आन्तरिक आम्दानी रु ५० सङ्कलन हुने गरी गाउँपालिकाले रु ३६ करोड ६६ लाख ९२ हजार बजेट सार्वजनिक गरेको हो । गाउँपालिकाले चालु खर्चतर्फ रु छ करोड सात लाख, पुँजीगत खर्चतर्फ रु १४ करोड रु ६३ लाख २९ हजार, सशर्त अनुदानसहित चालु खर्च रु २२ करोड तीन लाख ६३ हजार विनियोजन भएको छ । पालिकाले कृषि विकासतर्फ रु एक करोड ५६ लाख २५ हजार, पशु विकासतर्फ रु एक करोड १९ लाख ६०द हजार, सामाजिक विकासको शिक्षातर्फ रु एक करोड १० लाख ८७ हजार, खानेपानी तथा सरसफार्यमा रु। ९६ लाख, पूर्वाधार विकासमा रु पाँच करोड १२ लाख २० हजार, वन वातावरण तथा विपद् व्यवस्थापनमा रु ७० लाख, गाउँपालिकाको प्रशासनिक खर्चका लागि र छ करोड ४८ लाख १६ हजार विनियोजन गरेको छ । भातखानेडाँडा वडा नम्बर १ जाने सडक स्तरोन्नतीका लागि रु एक करोड ४० लाख, सादी हिल गाउँ पँधेराखोला, बराहखोला सडक स्तरोन्नतिका लागि रु ८० लाख, घुस्मेली सभाहल सडक स्तरोन्नतिका लागि रु ६० विनियोजन भएको छ । यस्तै पालिकाले कृषिउपजको बजारीकरण, जनयुद्ध घाइते तथा शहीद परिवारलाई भत्ता र विद्यालयमा निःशुल्क स्यानेटरी प्याडको व्यवस्था गरिएको बजेटमा उल्लेख गरिएको छ । बागलुङको ताराखोलाले सशस्त्र द्वन्द्वकालका शहीद, बेपत्ता र घाइते तथा अपाङ्गको स्मरणमा युद्ध स्तम्भ बनाउने भएको छ । जनयुद्ध दिवसमा सार्वजनिक बिदासमेत दिएको यो पालिकाले ‘द्वन्द्वका घाउमा मलम’ लगाउने गरी नीति तथा कार्यक्रममापनि जोडेको अध्यक्ष धनबहादुर विक ‘हिमाल’ले बताउनुभयो । बजेटमा जनयुद्ध दिवश, शहीद सप्ताह कार्यक्रम सञ्चालनलगायतमा व्यवस्था भएको हो । यसका लागि २४ लाख बजेट विनियोजन भएको छ । जनयद्धमा ताराखोलाका २३ शहीद भएका थिए भने दुई जना बेपत्ता र दर्जनँौ घाइते छन् । अध्यक्ष विकसमेत जनयुद्धका घाइते हुन् । उनको शरीरमा समेत गोलीका छर्रा अझै बाँकी छन् । गाउँपालिकाले आफ्नो सभाहलमा शहीदको तस्बिर सजाएर राखेको छ । शहीद सप्ताहमा उनीहरुको परिवार सम्मान गर्ने, शहीदका छोराछोरीलाई छात्रवृत्ति दिनेलगायतको काम गर्दै आएको छ । श्रमदान गरेर बनाइएको सडकलाई स्तरोन्नतिका लागि बजेट विनियोजन गरिएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको अनुदानसमेत जुटाएर सडक चौडा पार्ने काम भइरहेको छ । तत्काल स्तरोन्नति गरेर बर्सातमा पनि नियमित सवारी चलाउन बजेटमा रु २० लाख विनियोजन गरिएको हो । गाउँपालिकाले शहीदपार्क निर्माणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ । ताराखोलाले वडा नंं २ को ओसमरको गयार भन्ने स्थानमा उद्यानको तयारी छ । उद्यानसँगै २३ शहीदको अर्धकदको मूर्तिसमेत बनाइने छ ।
काठमाण्डौँ : वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको नियमअनुसार युएइ भने समूह ए को विजेताका रुपमा फाइनलमा पुग्दै एशिया कपमा समेत छनोट भएको छ । यसअघि युएइ समूहको विजेता बन्दै सेमिफाइनलमा पुगेको थियो भने नेपाल उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको थियो । टस जितेर पहिले बलिङ गर्न निर्णय गरेको नेपालले युएइलाई ८१ रनमा अलआउट गरेको थियो । जीतका लागि ८२ रनको विजयी लक्ष्य पाएको नेपाल वर्षाका कारण जवाफी ब्याटिङ गर्न पाएन र नेपाल सेमिफाइनलबाटै बाहिरिन पुग्यो । खेलमा युएइले १९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै ८१ रनमा समेटिएको थियो । युएइका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन् भने इशा रोहितले १५ तथा कप्तान छाया मुघलले १४ रन जोडिन् । त्यस्तै खुसी शर्मा १२ रनमा आउट भइन् । उत्कृष्ट बलिङ गरेको नेपालका लागि अश्मिना कर्माचार्य एक्लैले ५ विकेट लिइन् भने इन्दु बर्माले ३ तथा सीता रानाले २ विकेट हात पारिन् । समूह ‘बी’ मा रहेको नेपालले समूह चरणको खेलमा भूटान, कुवेत र बहराइनलाई पराजित गरेको थियो भने हङ्कङसँग पराजित भएको थियो ।
काठमाण्डौँ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ को कार्यान्वयनमा सहजीकरणका लागि ‘बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९’ प्रेसित गरेको छ । निर्देशिकाले स्थानीय तहहरुले अवलम्बन गर्ने योजना तर्जुमा, बालबालिकासँग सम्बन्धित नीति निर्माण र निर्णय प्रक्रियामा बालबालिका, उनीहरुका अभिभावक तथा बालबालिबासँग सरोकार राख्ने संस्थाहरुको सहभागिता र उनीहरुको भूमिका सुनिश्चित गरी बालमैत्री शासन पद्धति स्थापित गर्ने लक्ष्य लिएको छ । सो निर्देशिकाले तोकेका न्यूनतम सूचकका साथै स्थानीय तहले थप गरेका सूचकसमेत हासिल गर्ने, स्थानीय तहमा बालमैत्री शासन कार्यान्वयन गर्ने र बालमैत्री वडा, गाउँपालिका वा नगरपापलका घोषणामा सहजीकरण गर्ने प्रयोजनाका लागि गत जेठ ११ गते मन्त्रीस्तरबाट स्वीकृत कार्यविधि मन्त्रायले सबै स्थानीय तहलाई प्रेसित गरेको छ । कार्यविधिमा बालमैत्री शासन कार्यक्रम कार्यान्वयन सहजीकरण गर्न प्रत्येक गाउँपालिका र नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति रहने, कार्यक्रमको अनुगमन तथा मूल्याङ्कन, वार्षिक प्रतिवे्दन तथा अभिलेखीकरण, क्षमता विकास, मानव संशाधन व्यवस्थापन, संस्थागत विकास आदि विषय समावेश गरिएको छ ।
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३०० ले घटेर रु ९७ हजार २०० आएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मुुल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।

