म्याग्दी : ढिलासुस्तीका कारण धेरैजसो विकास आयोजना थलिएका म्याग्दीमा एउटा सडक निर्माण भने लक्ष्यअघिनै सकिएको छ । निर्माण व्यवसायीमा इच्छाशक्ति, कार्यस्थलमा काम गर्ने वातावरण, सम्बन्धित निकायको सहजीकरण र समन्वय हुने हो भने ढिलासुस्ती हटाउन सकिने उदाहरण बेनी नगरपालिकाको गलेश्वर–काउलेगौडा–गिठिनी–पात्लेखेत सडक योजना बनेको छ । बेनी नगरपालिका–९ काउलेगौडा क्षेत्रमा सडक स्तरोन्नतिका लागि चालु आर्थिक वर्षमा सञ्चालन भएको योजना सम्झौता भन्दा दुई महिनाअघिनै सकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिनुभयो । “गत मङ्सिरमा ठेक्का सम्झौता भएको योजनाको काम २०७९ जेठ मसान्तसम्म सम्पन्न गर्नुपर्ने थियो”, उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले २०७८ चैतमै काम सकेर हस्तान्तरण गर्नुभयो ।” रु दुई करोड ३० लाख विनियोजन गरिएको सो सडक निर्माण गर्न पर्वतको बुद्ध निर्माण सेवाले २०७८ मङ्सिर २६ गते रु एक करोड ४३ लाख ५९ हजारमा ठेक्का सम्झौता गरेको थियो । बेनी नगरपालिकाका सवइञ्जिनियर चन्द्रबहादुर थापाले पाँच मिटर चौडाइका दरले ५५० मिटर ढलान, ६७० घनमिटर ग्याविन जाली र ६६० घनमिटर स्टोन मेसिनरी पर्खाल निर्माण गरिएको जानकारी दिनुभयो । काउलेगौडा क्षेत्रमा १६० मिटर पक्की नाली निर्माणका साथै माटो कटिङ र फिलिङ गरिएको छ । काउलेगौडाका विदुर विक सडक स्तरोन्नतिपछि सवारीसाधन सञ्चालन, आवतजावतमा सहजता र जोखिम घटेको बताउनुहुन्छ । निर्माण कम्पनीका सञ्चालक सागर श्रेष्ठले पर्याप्त निर्माण सामग्री जुटाएर मजदुर र उपकरण परिचालन गरी लक्ष्यअघिनै सम्झौताअनुसारको काम सकेको बताउनुभयो । साँघुरो, कच्ची, नाली नभएको र ग्रेड तथा घुम्ती नमिलेको सडक स्तरोन्नतिका लागि बेनी नगरपालिकाले गत आर्थिक वर्षदेखि क्रमागत योजना सुरु गरेको थियो । गत वर्ष दुई किलोमिटर क्षेत्रमा एक हजार ५५९ घनमिटर ग्याविन पर्खाल, ९६१ मिटर पक्की पर्खाल, पाँच स्थानमा क्रस ड्रेन, ३०४ मिटर सडक ढलान र २६१ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिएको थियो । बेनी नगरपालिका–९ र १०, रघुगङ्गा गाउँपालिका–५, ६ र ८ वडावासीले जिल्ला सदरमुकाम बेनी आवतजावतका लागि उक्त सडक प्रयोग गर्छन् । काउलेगौडा, पात्लेखेत, झिँ, पाखापानी र कुइनेका बासिन्दा लाभान्वित हुने उक्त सडकलाई आगामी आर्थिक वर्षमा पनि निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।
धनुषा : धनुषाको औरही गाउँपालिका–३ का सोभित पण्डित मलका लागि नजिकैको डिलरमा धाउँदाधाउँदा थाकिसक्नुभयो । दुई तीन दिनसम्म डिलरमा धाउँदासमेत मल नपाएपछि उहाँ निरास भएर रित्तो हात घर फर्किनुभयो । “धानको बीउ छर्ने बेला मल पाउन सकिएको छैन”, उहाँले भन्नुभयो, “गहुँको याममा जसोतसो मल पाइएको थियो, अहिले त डिलर चहार्दाचहार्दै निरास बनेको छु ।” धानको याममा मल नपाएपछि कसरी खेती गर्ने भन्ने चिन्तामा डुबेको पण्डितको दुःखेसो छ । धान छर्ने तयारीमा रहेका धनुषाधाम नगरपालिका–४ का श्याम यादव पनि मल नपाएपछि निरास बन्नुभएको छ । “गाउँको डिलरदेखि जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेडको कार्यालयसम्म धाएँ, तर मल पाउन सकिन”, उहाँले भन्नुभयो, “कृषि सामग्री कार्यालयमा जाँदा गाउँको डिलरमा जानुभन्छ, डिलरमा जाँदा मल छैन भन्छन् ।” मल नपाएपछि बाली लगाउनै समस्या भएको उहाँको भनाइ छ । धनुषा र महोत्तरीका किसानलाई मल अभाव भएको छ । धानबाली लगाउने तयारीमा जुटेका किसान समयमा पर्याप्त डिएपी मल नपाउँदा निरास बनेका छन् । धानबाली लगाउने बेला मल नपाउँदा किसान बर्सेनि मार खेप्दै आएका छन् । कूल ७६ हजार ५३१ हेक्टर खेतीयोग्य जग्गामध्ये धनुषामा करिब ५५ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिने कृषि ज्ञान केन्द्रका सुचना अधिकारी राजेन्द्रप्रसाद यादवले बताउनुभयो । जनकपुरस्थित कृषि सामग्री कम्पनी लिमिटेडमा बर्सेनि डिएपी र युरिया मलको माग बढ्दै गए पनि आपूर्ति घट्दै गएपछि किसान मार खेप्दै आएका छन् । धनुषामा बर्सेनि रासायनिक मलको माग बढ्दै जाँदा आपूर्ति भने घट्दै गएपछि यस्तो अवस्था आएको प्रमुख बेचन साहले बताउनुभयो । चालु आर्थिक वर्ष २०७८÷७९ मा केन्द्रले धनुषा र महोत्तरीका लागि युरिया पाँच हजार मेट्रिक टन र डिएपी चार हजार ५०० मेट्रिक टन माग गरेपनि हालसम्म डिएपी दुई हजार ४९५ मेट्रिक टन र युरिया चार हजार ११४ मेट्रिक टन मात्र प्राप्त भएको प्रमुख साहले बताउनुभयो । “डिएपी सबै बिक्री भइसकेको छ, युरिया ५५ मेट्रिक टन गोदाममा मौज्दात छ”, उहाँले भन्नुभयो । गत आवमा ६ हजार मेट्रिक टन युरिया र पाँच हजार मेट्रिक टन डिएपी मल माग गरेकामा युरिया तीन हजार २०० मेट्रिक टन र डिएपी चार हजार ५०० मात्र आपूर्ति भएको थियो । यस वर्ष ६०० मेट्रिक टन मल ढुवानी समस्याका कारण आउन नसकेको प्रमुख साह बताउनुहुन्छ ।
सल्यान : जिल्लामा लामो समयसम्म परेको खडेरीका कारण वर्षेबाली सुक्न थालेको छ । खडेरीका कारण लगाएको मकै र रोप्न ठिक्क पारेको धानको ब्याड खेतबारीमै सुक्न थालेपछि कृषक चिन्तित भएका छन् । खडेरीका कारण कपुरकोट क्षेत्रमा लगाइएको बेमौसमी तरकारी बारीमै सुक्न थालेको छ । पानी नपरेका कारण खोलानाला सुक्न थालेका छन् । धानको ब्याडमा समेत पानी हाल्न समस्या भएको किसानले बताएका छन् । मकै गोडमेल तथा धान रोप्ने समयमा खडेरी परेपछि उत्पादन घटने चिन्ता हुन थालेको बनगाड कुपिण्डे नगरपालिकाका नवीन पुनले बताउनुभयो । “मकैँ गोडमेल गर्ने बेला भएको छ, पानी नपर्दा सुक्न थालेको छ, बोट सुक्ने डरले कतिपयले गोडमेल नै गर्न छोडिसके”, उहाँले भन्नुभयो, “दिनभरको घामले बोट सुक्न थालेका छन् ।” छत्रेश्वरी गाउँपालिकाका गणेश नेपाली पनि खडेरीले धानको बेर्ना सुक्न थालेको बताउनुहुन्छ । “रोपाइँ गर्ने बेला भइसक्यो, पानी पर्ला र बेलैमा खेती लगाउन पाइएला भनेको पानी पर्ने छाँटकाँट छैन”, उहाँले भन्नुभयो । खोलाका मुहानतिर खेत भएका केहीले रोपाई गरे पनि अन्यले आकासे पानी पर्खेर बसेको उहाँको भनाइ छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार करिब सात हजार हेक्टरमा धानखेती हुँदै आएको छ । करिब १९ हजार हेक्टरमा मकै र ६०० हेक्टरमा कोदोखेती गरिँदै आएको छ । समयमा पानी नपर्दा खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ ।
काठमाण्डौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ । विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिनुभयो । यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।
कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकाले छात्रालाई साइकल वितरण गरेको छ । छात्रालाई विद्यालयमा नियमित आउन प्रोत्साहन गर्नका लागि निःशुल्क साइकल वितरण गरिएको हो । गाउँपालिकाले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पालिकामा रहेका ६ माध्यमिक विद्यालयका कक्षा ९ देखि ११ सम्म अध्ययन गर्दै आएका ४१५ छात्रालाई साइकल वितरण गरेको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष गोपालबहादुर थापाले महिला सशक्त भएमात्र पालिकाको विकास सम्भव हुने बताउनुभयो । शिक्षा, स्वास्थ्यसहित प्रत्येक निकायमा पछि परेका महिलालाई अगाडि बढाउन पालिका प्रतिबद्ध रहेको उहाँको भनाइ थियो । छोरीलाई शिक्षित र सबल बनाउन ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान सञ्चालन गरिएको छ । साइकल पाएपछि विद्यार्थी विद्यालयमा नियमित आउन थालेका छन् । यसबाट महिलाको शिक्षामा पहुँच वृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो । छोरीहरूलाई शिक्षा र रोजगारीका साथै आत्मरक्षाका लागि समेत अग्रसर बनाउने लक्ष्यका साथ पालिका अघि बढेको उपाध्यक्ष लक्ष्मी थारुले बताउनुभयो । साइकलले टाढा घर भएका विद्यार्थीलाई विद्यालय आउन सहज हुने गाउँपालिकाका प्रशासकीय अधिकृत गोविन्द भट्टराईले बताउनुभयो । आर्थिक वर्ष २०७७÷७८ मा पनि विजयनगरका ९ र ११ का विद्यालयका २४० छात्रालाई साइकल वितरण गरिएको थियो ।
पोखरा : जिल्ला समन्वय समिति कास्कीको टोलीले रुपा गाउँपालिका निर्माणाधिन पुर्वाधारको अनुगमन गरेको छ । जिसस प्रमुख लिलाधर पौडेललको नेतृत्वमा सो गाउँपालिकामा संघीय, प्रदेश र स्थानिय तहहरुबाट संचालित विभिन्न विकासका योजनाहरुको अनुगमनमा निस्किएको हो । अनुगमनको क्रममा प्रमुख पौडेलले संघीयताको मर्म अनुसार काम सपन्न आग्रह गर्दै जनताको विकासको अपेक्षा पूरा गर्न गुणस्तरीय परिणाम निस्कने गरी कार्य सपन्न आग्रह गरे । कुनै पनि नागरिकले कुनै बहानामा दुःख पाउन नहुने भन्दै सवै जनप्रतिनिधि जनताको अवस्था परिवर्तन गर्न लागि पर्नुपर्नेमा जोड दिए । समन्वय कास्कीका सदस्य राजु अधिकारी, हर्क बहादुुर गुुरुङ, रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा, उपाध्यक्ष लालसुब्बा गुुरुङ प्रशासकीय अधिकृत सन्तोष ढुङ्गाना, प्राविधिक, इन्जिनियर तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । अनुगमनमा स्थानिय साझेदारी कार्यक्रम अन्र्तगत रुपा गाउँपालिका वडा नं. ३ मा निर्माणाधिन गाउँघर क्लिनिक स्वास्थ्य चौकी भवन, सेवा प्रदान गरिहरेको रुपाकोट अस्पताल, पालिकाको प्रशासकिय सेवा, संञ्चालित अन्य योजनाको अनुगमन सहित आवश्यक निर्देशन समेत दिएको थियो ।
कास्की : पेट्रोलियम पदार्थ तथा ग्यासको मुल्य वृद्धि गरेसँगै पृथ्वीनारायण क्याम्पस गेट अगाडी अनेरास्ववियुुले विरोध प्रदेशन गरेको छ । ५० बढि विद्यार्थीको सँख्यामा आज (बुधबार) दाउरा बालेर चिया पकाएर, पेट्रोलको मुल्य अनुसार मोटरसाइकललाई विक्रिमा राखेर र मुखमा टेप लगाएर विरोध गरेको हो । कोणसभालाई सम्बोधन गर्दै क्याम्पस कमिटिका अध्यक्ष विष्णु पोखरेलले सरकारले नागरिकलाई राहत दिनुको सट्टा चरम मुल्य वृद्धि गरेर जनताको ढाड सेकेको आरोप लगाए । यसैगरि केन्दिय सदस्य अनुप लामिछानेले राज्यले जनतालाई संकटबाट मुक्त गराउन नचाहेको टिप्पणी गरे । ‘राज्यले अभिभाकत्व लिनुपर्ने समयमा मौन बस्दै जनतालाई पीडामाथि पीडा थपिरहेको छ, उनले भने, ‘यस्तो चरम वृद्धि हामीलाई स्वीकार्य छैन । यो कदम सरासर गलत छ ।त्यसैले निर्णय फिर्ता लिइयोस ।’ प्रर्दशनका क्रममा ‘शेरे चोर यो देश छोड, शेरेको चमत्कार मुल्य वृद्धि र भ्रष्टाचार र अरु हामि जान्दैनौ मुल्य वृद्वि मान्दैनौ’ लगायतका नारा लगाएका थिए ।
काठमाण्डौँ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्र बडूले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पार्नुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको विशिष्ठ ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।” मन्त्री बडूले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिररहेको अवस्थामा निगमले हाल आफू घाटामा रही कारोबार गरिरहेको बाध्यात्मक अवस्थाबारे पनि सदनलाई जानकारी गराउनुभयो । उहाँले विगत केही समययता अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको, निगमलाई जेठ समान्तसम्म करिब रु ५० अर्ब घाटा हुन गएको र इन्डियन आयल कर्पोरेसनलाई बुझाउनुपर्ने रु २२ अर्ब बक्यौता रहेको जानकारी दिनुभयो । “इन्डियन आयल कर्पोरेसशनलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत तिर्नुपर्ने बक्यौता रकम बढ्दै जान नदिन र आपूर्ति व्यवस्था सहज बनाइ राख्न लागत अनुरुप नै मूल्य समायोजन गर्दै जानुपर्ने बाध्यात्मक स्थिति सिर्जना भएका कारण मूल्य वृद्धि गरिएको यस सदनलाई जानकारी गराउन चाहन्छु”, उहाँले भन्नुभयो । निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गर्नुभन्दा पहिला पेट्रोलियम पदार्थको धेरै मात्रा बिक्री गरिने निगमलाई घाटामा पु¥याएको भन्ने सन्दर्भमा उहाँले निगमको प्रचलित कानुन, नीति तथा पेट्रोलिम पदार्थको बिक्री सम्बन्धि विद्यमान नियमावली अनुरुप नै बिक्री वितरण गरिएको पनि स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मुलुकैभरी सबैभन्दा बढी पेट्रोल खपत हुने काठमाडौँ उपत्यकामा निगमको थानकोट डिपोले यही असार ५ गते पेट्रोल सात लाख ५० हजार लिटर र डिजेल आठ लाख ५० हजार लिटर बिक्री गरेको छ भने असार ६ गते पेट्रोल आठ लाख ४० हजार लिटर र डिजेल १० लाख ४० हजार लिटर बिक्री गरेको निगमको रेकर्डबाट देखिन्छ, कसैलाई नाफा हुने नियतले नभइ कानुन र नीतिगत रुपमा नै मूल्य निर्धारण गरी बिक्री गरिएको छ ।” उहाँले बिक्रीवितरण भइरहेको अवस्थामा पेट्रोलियम बिक्री गरेपश्चात मूल्य बढ्ने गरेको भनाइमा कुनै सत्यता नभएको पनि स्पष्ट पार्नुभयो । मन्त्री बडूले नेपालमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति प्रणाली सहज, व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन सरकारले अपनाउनुपर्ने अल्पकालीन र दीर्घकालीन नीति तथा नीतिगत, कानुनी एवं संस्थागत सुधारका लागि विषय समावेश गरी प्रतिवेदन पेश गर्न उच्चस्तरीय अध्ययन कार्यदल गठन गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले बजार अनुगमनलाई अझै व्यवस्थित, प्रभावकारी र सशक्त बनाउने विश्वास दिलाउनुभयो ।
काठमाण्डौँ : व्यास नगरपालिका–१ विज्ञानचौरस्थित आदिकवि भानुभक्त क्याम्पसले वार्षिक रु २१ लाख छात्रावृत्तिमा खर्च गर्ने गरेको छ । गरिब तथा जेहेन्दाहर करिब चार सय विद्यार्थीलाई सो रकम बराबरको छत्रावृत्ति वितरण गरेको क्याम्पस प्रशासनले जनाएको छ । उक्त क्याम्पसमा तीन हजार विद्यार्थी अध्ययनरत छन् । उक्त क्याम्पसमा ९० प्रतिशत छत्राको बाहुल्यता रहेको छ भने ७२ प्रतिशत जनजाति, १८ प्रतिशत दलित र दश प्रतिशत अन्य छन् । त्यसैगरी उक्त क्याम्पसमा रु ३५ लाखको अक्षयकोष स्थापना गरेको छ । क्याम्पस सञ्चालक समितिको अध्यक्ष ब्रह्मादत्त तिमिल्सेनाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । यस आर्थिक वर्ष क्याम्पसको कोषमा आम्दानी भएको रकममध्ये उक्त रकमको अक्षयकोष स्थापना गरेको हो । उक्त रकमबाट आएको ब्याजले क्याम्पसबाट निवृत्त भैजाने प्राध्यापक र कर्मचारीलाई उपदान प्रदान गरिने सो क्याम्पस प्रशासनले जनाएको छ । केही वर्षअघि घाटामा रहेको उक्त क्याम्पसले ऋणमुक्त भई नियमित रुपमा मासिक तलब भुक्तानी गर्दै आएको छ । हाल क्याम्पसले रु दुई करोड ५० लाख ‘बैंक ब्यालेन्स’ रहेको क्याम्पसले जनाएको छ । उक्त कोषमा बर्सेनि रकम थप्दै वृद्वि गर्दै लैजाने योजना रहेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले जानकारी दिनुभयो । जिल्लाका सामुदायिक क्याम्पसहरुमध्ये अक्षयकोष स्थापना गर्ने उक्त क्याम्पस नै पहिलो भएको बताइएको छ । पूर्णकालीन २९ र आंशिक ३७ गरी ६६ जना प्राध्यापक र १५ जना कर्मचारी कार्यरत छन् । आयव्ययमा पारदर्शिता बनाउन आगामी साउन १ गतेदेखि क्याम्पस परिसरमा बैंकको शाखा राख्ने तयारी भइरहेको क्याम्पस प्रमुख हड्खलेले जानकारी दिनुभयो । बैंकको शाखा स्थापनाका लागि व्यासको रु ३० लाख आर्थिक सहयोगमा भवन निर्माण गरिसकिएको छ । विद्यार्थीबाट लिइने शुल्क पनि आउँदा दिनमा बैकिङ प्रणालीबाट लिने योजना बनाइएकोे क्याम्पस प्रशासनले जनाएको छ ।

