काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

   रोल्पा :      रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् ।    विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।    विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् ।  उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।

बैतडी :      बैतडीमा अमेरिकन फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीका रूपमा रहेको मकैमा अमेरिकन फौजी किराको प्रकोप देखिएको हो ।   यहाँका अधिकांश क्षेत्रमा फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित भएका छन् । किराले मकैको बोट सखाप पार्ने गरेको छ । लामो समयसम्मको खडेरीका कारण फौजी किरा बढी सक्रिय भएको हो । कृषि ज्ञान केन्द्रका कृषि प्रचार अधिकृत नरेन्द्रबहादुर चन्दका अनुसार जिल्लाका सबै क्षेत्रमा फौजी किराको प्रकोप देखापरेको छ ।    दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा बाली नष्ट गर्ने गरेको छ । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न स्थानबाट किसानले फोन गरेर फौजी किराको प्रकोप देखिएको जानकारी दिने गरेका छन् । हामीले विषादी छर्किन सुझाव दिएका छौँ ।”   मकैको पकेट क्षेत्रमै किराले नोक्सान गरेको छ । तीन वर्षयता हरेक वर्ष फौजी किराको प्रकोप देखिने गरेको छ । दोगडाकेदार गाउँपालिका–२ का अधिकांश किसानले लगाएको मकै फौजी किराले सखाप पारेको स्थानीय दीपिका कार्कीले बताउनुभयो । मकैबाली लगाएदेखि नै फौजी किराले क्षति पुर्याउन थालेको छ ।     “किराले मकै बाली नष्ट गर्न थालेपछि समस्यामा छौँ । किरा मार्न विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौँ”, उहाँले भन्नुभयो । दोगडाकेदार गाउँपालिकाका कृषि शाखा प्रमुख रामबहादुर विष्टले किराको प्रकोपबारे जानकारी आएको र वडास्तरबाटै कृषि प्राविधिक पठाउन पहल भइरहेको  बताउनुभयो ।    मकै बालीमा किराको प्रकोप देखिएको गुनासो आएको र विषादी वितरण गर्न थालिएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि प्रचार अधिकृत चन्दले जानकारी दिनुभयो । केन्द्रले इमामेक्टिन वेन्जोएट नामक विषादी वितरण गरिरहेको छ । सबै बारीमा विषादी छर्केपछि मात्रै किराको प्रकोप नियन्त्रण हुने उहाँको भनाइ छ । बैतडीमा १३ हजार हेक्टर जमिनमा मकैखेती गरिँदै आएको छ । 

धनुषा :      भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।   रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दीग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताउनुभयो ।   भारतीय राजदूतावासको समन्वयमा ‘भारत गौरव पर्यटक रेल’मा करिब ५०० भारतीय पर्यटक आउन लागेको र उनीहरुले जनकपुरधामका विभिन्न धार्मिकस्थलको भ्रमण गर्ने कार्यक्रम छ । भारतीय राजदूतावासका अनुसार सो रेलको प्रत्येक डिब्बामा भारतीय स्मारक, नृत्य, परिकार, पोशाक, पर्व, वनस्पति तथा जीवजन्तु, योग, लोककलाजस्ता भारतको कला, संस्कृति, परम्परा, सम्पदालगायत झल्को देख्न पाइने छ । 

काठमाण्डौँ  ः      पनौती नगरपालिकाले बनेपा–पनौती सडक भएर आवातजावत गर्ने मालवाहक सवारीसाधनलाई अनिवार्यरूपमा भारमापन गर्न निर्देशन दिएको छ ।    मालवाहक सवारीसाधनका लागि नगरको ५ नं वडास्थित नैकिन्टार सडकमा भारमापन केन्द्र स्थापना गरिएको छ । जिल्लाका अन्य दुई स्थानमा समेत गत वर्ष पुसमा भारमापन केन्द्र स्थापना गरिएको थियो । पनौती नगरले भारमापन सेवाका लागि जिम्मेवारी लिएको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेज प्रालिलाई हाल भरमापन गर्न÷गराउनसमेत आग्रह गरेको छ ।     भारवहन नियमनसम्बन्धी निर्देशिका, २०७४ (संशोधनसहित)को व्यवस्था, यातायात विभागको पत्र र जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकद्वारा गत वर्ष फागुनमा जारी पत्रानुसार स्थानीय तहले हालैमात्रै भारमापन कार्यलाई कडाइ गरेको हो । सोही निर्देशिकाअनुसार विभागको अनुमतिमा जिल्लामा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    “दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षाका लागि मालवाहक सवारीसाधनमा भारमापनमा कडाइ गर्नुपर्ने देखियो”, पनौती नगरपालिकाका प्रमुख प्रशासकीय प्रदीप पौडेलले भन्नुभयो । गत वर्ष पुसमा काभ्रेपलाञ्चोकको तीन स्थानमा तौलपुल सञ्चालनमा ल्याइएको थियो ।    बनेपा–पनौती सडकको नैकिन्टार, अरनिको राजमार्गअन्तर्गत पाँचखालस्थित केराघारी र बिपी राजमार्गको नमोबुद्ध नगरस्थित भकुण्डेमा तौलपुल स्थापना गरिएको छ । ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले पाँचखाल र पनौतीमा तथा कोट कालिका मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजले नमोबुद्धमा तौलपुल सञ्चालन गरेको होे ।   मालवाहक सवारीसाधनले इच्छाअनुसार मात्रै भारमापन गर्ने गरेको ग्लोबल मेसिनरी एण्ड टेक्नोलोजी सर्भिसेजका सरोज कुइँकेलले बताउनुभयो । उहाँका अनुसार सबै मालवाहक सवारीसाधनले भारमापन गर्ने हो भने सडक सुरक्षामा मद्दत पुग्नेछ । निर्देशिकाअनुसार ६ पाङ्ग्राभन्दा माथि क्षमताका मालवाहक सवारीसाधनले अनिवार्य भारमापन गर्नुपर्ने हुन्छ । तौलपुलमा भारमापन गरेवापत प्रतिसवारीसाधनले रु १५० तिर्नुपर्दछ ।   बनेपा–खोपासी सडक तथा अरनिको र बिपी राजमार्गमा दैनिक करिब दुई हजार मालवाहक सवारीसाधन चल्ने गर्छन् । मालवाहक सवारीसाधनले क्षमताभन्दा बढी भार बोक्दा पक्की सडकमा क्षति पुग्ने गरेको छ । 

   काठमाण्डौँ :        हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।   उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश नं १ मा आङ्शिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आङ्शिक बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   काठमाडौँमा बिहानैदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ ।  दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आङ्शिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका केही, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

काठमाण्डौँ :     चालु आर्थिक वर्ष २०७८र७९ को एघार महिनामा (साउनदेखि जेठसम्म) नेपालले करिब १६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागले सार्वजनिक गरेको जेठसम्मको तथ्याङ्कअनुसार एघार महिनाको अवधिमा नेपालको व्यापार घाटा रु १५ खर्ब ७७ अर्ब ३८ करोड पुगेको हो ।   गत आर्थिक वर्षको सोही अवधिमा रु १२ खर्ब ६२ अर्ब ११ करोड बराबर व्यापार घाटा रहेको थियो । गत आवको सोही अवधिको तुलनामा चालु आवमा २५ प्रतिशतले व्यापार घाटा बढेको हो । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा नेपालले रु १९ खर्ब ४९ अर्ब बराबरको वैदेशिक व्यापार गरेको छ ।    गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कुल वैदेशिक व्यापार २९ दशमलव ५ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले रु १५ खर्ब ४ अर्ब ६१ करोड १८ लाख बराबरको वैदेशिक व्यापार गरेको थियो ।   साढे १७ खर्बको आयात   चालु आर्थिक वर्ष २०७८र७९ को पहिलो ११ महिनामा नेपालमा साढे १७ खर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । विभागको तथ्याङ्क अनुसार एघार महिनाको अवधिमा रु १७ खर्ब ६३ अर्ब २२ करोड बराबरको विदेशी वस्तुको आयात भएको हो । गत आर्थिक वर्षकोे सोही अवधिमा नेपालले रु १३ खर्ब ८३ अर्ब ३६ करोड बराबरको आयात गरेको थियो । गत आवको तुलनामा चालु आवमा २७.५ प्रतिशतले आयातमा वृद्धि भएको छ ।   यसैगरी, नेपालले चालु आर्थिक वर्षको ११ महिनामा रु एक खर्ब ८५ अर्ब ८३ करोड बराबरको स्वदेशी वस्तुको निर्यात भएको छ । गत आवको सोही अवधिमा रु एक खर्ब २१ अर्ब २५ करोड बराबरको निर्यात भएको थियो । गत आवको तुलनामा चालु आवमा ५३.३ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।   साढे २ खर्बको पेट्रोलियम पदार्थको आयात   चालु आर्थिक वर्षको एघार महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्रै साढे दुई खर्ब बढीको नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सारको तथ्याङ्क अनुसार डिजेल, पेट्रोल तथा खाना पकाउने एलपी ग्यासको आयातमा रु दुई खर्ब ६७ अर्ब २९ करोड ९८ लाख ४३ हजार नेपाली रुपैयाँ बहिरिएको हो । जसमा सबैभन्दा धेरै डिजेल आयातमा रु एक खर्ब ४५ अर्ब २१ करोड ९३ लाख ५० हजार, पेट्रोलमा रु ६२ अर्ब ९१ करोड ९८ लाख ४६ हजार र एलपी ग्यासको आयातमा रु ५९ अर्ब १६ करोड ६ लाख ४७ हजार बढी बाहिरिएको छ ।   एघार महिनाको अवधिमा नेपालमा रु ५३ अर्ब २५ करोड ५१ लाख ६२ हजार बराबरको पाम आयल, रु ४८ अर्ब ७८ करोड ४६ लाख ८७ हजार बराबरको स्टिल आइरन र रु ३८ अर्ब ६ करोड ६९ लाख ८७ हजार बढीको मोबाइल आयात भएको छ । यस्तै, एघार महिनाको अवधिमा नेपालबाट रु एक खर्ब ९० अर्ब २३ करोड ८६ लाख ३२ हजार बढीको सोयाबिन तेल, रु ६६ अर्ब ८६ करोड ८९ लाख ७२ हजार बढीको पाम आयलको निर्यात भएको छ ।

काठमाण्डौँ :      नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री एनपी साउदले पार्टीलाई एकताबद्ध गर्ने सद्भाव विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभएको छ । नेपाली कांग्रेस निर्वाचन क्षेत्र नं २ ले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजना गरेको कार्यक्रममा उहाँले पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभयो ।   “पार्टीभित्र सद्भाव विकास गर्न नसके गतिशीलता कायम हुनसक्दैन”, उहाँले भन्नुभयो, “स्थानीय तहमा भएका मतभिन्नता बिर्सेर एकजुट भएर पार्टी अगाडि बढाउन लाग्नुपर्छ ।” त्यसैगरी महिला, दलित र जनजातीलाई पार्टीभित्र ल्याएर अगाडि बढाउनुपर्नेमा नेता साउदले जोड दिनुभयो । उहाँले जनजाती र दलित समुदायको हकअधिकार रक्षाका लागि आफूले पहल गर्ने बताउनुभयो ।    “दलित र जनजातीलाई पार्टीभित्र गोलबन्द गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “यहाँका सुकुम्वासी, आरक्ष पीडितको समस्या समाधानका लागि पनि पहल गर्नुछ ।” यहाँको निर्वाचन क्षेत्र नं २ अन्तर्गत रहेका बेदकोट, शुक्लाफाँटा र कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई शुभकामना दिन उक्त कार्यक्रम आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

पोखरा :      सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ वितरण समारोहमा उहाँले भन्नुभयो, “संविधानले परिकल्पना गरेको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत स्वतन्त्रतालाई सरकार अक्षुण्ण राख्न चाहन्छ, अझ समृद्ध गर्न चाहन्छ ।”    कुनै पनि पत्रकारले विचार व्यक्त गरेको आधारमा यो सरकारले दण्डित नगरेको र नगर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । दक्षिण एसियामा नै स्वतन्त्र प्रेसको नमूना देशका रूपमा नेपाललाई विकास गर्नका लागि सरकार कानुनी, संरचनागत व्यवस्था गर्न सधँै तयार रहेको मन्त्री कार्कीले बताउनुभयो ।   महँगी केवल सरकारको हातमा मात्र नरहेको र हाल पेट्रोलको मूल्य वृद्धि भएको बताउँदै उहाँले पेट्रोललाई विस्थापित गर्न भइरहेको ऊर्जाको विकासलाई व्यवस्थित गरिने उल्लेख गर्नुभयो । मन्त्री कार्कीले देशमा उत्पादित ऊर्जा खेर नजाने गरी यसको खपत बढाउनेतर्फ ध्यान दिइने बताउनुभयो ।   शासन पद्धतिमा परिवर्तनसँगै जनताको जीवनस्तरमा पनि परिवर्तन आउनु जरुरी हुने बताउँदै उहाँले आगामी दिनमा नेपालीलाई सम्पन्न बनाउनेतर्फ राज्यको जोड रहने स्पष्ट गर्नुभयो । आगामी पुस्तालाई समृद्धपुस्ता बनाउने गरी लाग्नुपर्ने बताउँदै मन्त्री कार्कीले पूँजी निर्माणका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो । निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै उहाँले अपार जलस्रोतको उपयोग गर्न सके मात्रै पनि त्यसले यहाँको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।   अन्य राष्ट्रबीच पनि सुसम्बन्ध कायम गर्दै अघि बढ्नुको विकल्प नभएको बताउँदै साञ्चारमन्त्री कार्कीले नेपाल पञ्चशीलको सिद्धान्तलाई आत्मसात् गर्दै अन्य राष्ट्रसँग सम्बन्ध विस्तार गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।   अमेरिकन स्टेट पार्टनरशिप प्रोग्रामलाई अघि नबढाउने सरकारले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो । एक्लै हिँडेर कहीँ पुग्न नसकिने र सबैको सहयोगमा अघि बढेमा यो मुलुकको भविष्य सुन्दर रहेको उल्लेख गर्दै मन्त्री कार्कीले भाषणमा मात्र नभई व्यवहारमा आउने निर्वाचनबाट लोकतान्त्रिक स्थिरता दिन सकेको अवस्थामा १० वर्षमा नेपाल दक्षिण एसियाको धनी मुलुक बन्ने दाबी गर्नुभयो ।    सो अवसरमा दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान–२०७८ बाट मन्त्री कार्कीले पत्रकार बबिता बस्नेतलाई सम्मानपत्रसहित रु एक लाख एक हजार १११ ले सम्मान प्रदान गर्नुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीले पत्रकारिताका माध्यमबाट सचेतना, महिला जागरण आदिमा महत्वपूर्ण योगदान गरेका कारण बबिता बस्नेतलाई सम्मान गरिएको बताउनुभयो ।   प्रतिभा छनोट समितिका संयोजक एवम् नेपाल पत्रकार महासङ्घ कास्कीका पूर्वअध्यक्ष रवीन्द्र बास्तोलाले समाजको रुपान्तरणका साथै प्रजातन्त्रको स्थापनामा महत्वपूर्ण योगदान गरेका दयाशङ्कर पालिखेको स्मृतिमा स्थापित पुरस्कार तथा सम्मान आफैँमा महत्वपूर्ण रहेको बताउनुभयो । पत्रकारितामा निर्भिक रुपमा कलम चलाउने बबिता बस्नेतको सक्रियता, योगदान आदिका आधारमा उहाँलाई सम्मान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।   कार्यक्रममा सम्मानित व्यक्तित्व बबिता बस्नेत, पुरस्कार संस्थापक परिवारका तर्फबाट विश्वशङ्कर पालिखे, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, नेकपा (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष राजकाजी गुरुङ, नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य त्रिभुवन पौडेल लगायतले  पत्रकारिताबारे आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो । 

बागलुङ :       स्कुल बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा बाग्लुङको हरिया गाउँपालिका बस्ने ३४ वर्षीय विनोद थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।   कार्यालयका अनुसार भरतपुर महानगरपालिका–४ अनुपम चोकस्थित डेरिचोकबाट यज्ञपुरी चोकतर्फ आउँदै गरेको ना१क ३५९६ नंको होलिभिजन पब्लिक स्कुलको बसले आनन्दपुरतर्फ आउँदै गरेको ना३३प ३६६६ नंको मोटरसाइकललाई आज बिहान  ठक्कर दिएको थियो ।   ठक्करबाट मोटरसाइकल पछाडि सवार घाइते थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । मोटरसाइकल चालक बाग्लुङको हरिया गाउँपालिका निवासी ३४ वर्षीय आयुस बोहोरा गम्भीर घाइते हुनुभएको छ । उहाँको सोही अस्पतालमा उपचार भइरहेको छ ।