चितवन: आइतबार साँझ हत्या भएका अनिल परियारलाई शहीद घोषणा गर्न नेपाली कांग्रेस चितवनले सरकारसँग माग गरेको छ। मंगलबार जिल्ला सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै निर्वाचनको समयमा चुनावीप्रचारप्रसारमा खटिआएका आफ्ना कार्यकर्तामाथि सांघातिक आक्रमण गरी हत्या गरेकोले तत्काल सत्ययतथ्य छानविन गरी दोषीमाथि कानुनी उपचार गराउनसमेत माग गरिएको छ। पाँच दलीय गठबन्धनबीचको संयुक्त छलफलबाट समेत उक्त घटनाबारे गम्भीरतापूर्वक लिई न्यायिक छानविन गरी दोषीमाथि हदैसम्मको कारवाही गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ। भरतपुर १२ निवासी अनिल परियारको गत आइतबार साँझ करिब ७ः३० बजेको समयमा भरतपुर–७ कृष्णपुरस्थित खेलमैदान नजिकै विभत्स हत्या भएको थियो।
रोल्पाको गङ्गादेव गाउँपालिका-५ मा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसका कार्यकर्ताबीच गएराति झडप भएको छ । झडपमा परी कांग्रेसका दुई कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा कांग्रेस तरुणदलका मानबहादुर बुढामगर र सोही वडाका २० वर्षीय कमल बुढामगर छन् । माओवादी केन्द्रका कार्यकर्ताले कांग्रेसका कार्यकर्तामाथि खुकुरी प्रहार गरी शक्त घाइते बनाएको कांग्रेस गङ्गादेव गाउँपालिकाका कार्यकर्ता सुनिल वलीले जानकारी दिनुभयो । तरुणदलका कार्यकर्ता बुढामगरको अवस्था गम्भीर छ । उहाँलाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज लगिएको छ । घटनापछि प्रहरी नायब उपरीक्षक विनोद घिमिरे नेतृत्वको टोली घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थमन जिसीले जानकारी दिनुभयो । घटनाको थप विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।
कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेसबाट उपमेयर पदकी उम्मेदवार शुभावति कुर्मीको निधन भएको छ । उहाँको गएराति निधन भएको हो । अचानक बिरामी परेपछि उनलाई उपचार गर्न जिल्ला अस्पताल लगिएको थियो । कर्मीको हृदयघातका कारण निधन भएको बताइएको छ । कांग्रेसले आफ्नो तर्फबाट उपमेयर उम्मेदवार रहेकी कुर्मीको निधन भएको जानकारी निर्वाचन अधिकृत कार्यालयमा पठाएको छ । उपमेयरको निधन भएको कारण याहँको निर्वाचन वैशाख ३० मा नगरी केही समयपछि हुने सम्भावना रहेको छ । कुर्मी ०७४ को निर्वाचनबाट पनि उपमेयर निर्वाचित हुनु भएको थियो । यसैगरी दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारक्रममा चौधरीको मृत्यु भएको हो । लामो समय देखि कलेजोको बिरामी भएका उहाँको गएराति मृत्यु भएको एमाले तुलसीपुर अध्यक्ष माधव वलीले जानकारी दिनुभयो । चुनाव प्रचारकै क्रममा एक्कासी विरामी परेपछि उहाँलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो । २०७४ को स्थानिय तह निर्वाचनमा चौधरी तुलसीपुर १७ को वडा सदस्य बिजयी हुनुभएको थियो ।-
काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी जेठ ३ गते मङ्गलबार अपराह्न ४ बजे सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्ले गरेको सिफारिसअनुसार उक्त दिन दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो । राष्ट्रिपति कार्यालयका प्रवक्ता सागर आचार्यले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा, ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०७९-१-२५ को सिफारिसमा संवत् २०७९ साल जेठ ३ गते मङ्गलबारका दिन चार बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।”
सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा तीन दिन बिदा दिने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको निर्णय अनुसार शिक्षा मन्त्रालयले आगामी २८ गतेदेखि ३० गतेसम्म तीन दिन मतदान स्थल तथा मतदान केन्द्रहरू रहेका विद्यालयहरू बन्द गर्ने निर्णय गरेको हो। यस्तै ३१ गते शनिबार परेको छ। जेठ १ गतेदेखि शनिबार र आइतबार गरी साताको दुईदिन बिदा दिने सरकारी निर्णयअनुसार जेठ १ गते आइतबार पनि विद्यालय बन्द हुनेछ। जेठ २ गते बुद्धजयन्तीको सार्वजनिक बिदा परेको छ। चिर्वाचनका लागि र सार्वजनिक विदा गरि देशभरका विद्यालय ६ दिन बन्द हुने भएका छन ।
देशका चर्चित कमेडियन सन्दीप क्षेत्रीले नेकपा माओवादीको खुलेर तारिफ गरेका छन् । भरतपुरमा आयोजित गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने अवसर पाएका सन्दीपले भने ‘प्रचण्डज्यू, तपाइले गज्जबको छोरी पाउनु भएको रहेछ ।’ उनले भने, म रेणु दिदिलाई खुलेर भन्न चाहन्छु, तपाइ यस्तो घेरा बनाउनुस् कि चितवनका हरेकले सुरक्षित महशुस गर्न सकुन् । ‘यस्तो सप्तरंगी टिका र मखमली माला लगाइदिनु्स् कि सबैले भनुन् क्या दिदि पायौं ।’ सम्बोधनकाक्रममा मेयर उम्मेदवार रेणु दाहालको प्रशंसा गर्दै उनले आफु कुनै पार्टीको नभएपनि मेयर र प्रचण्डले गरेको काम अतुलनीय भएको भन्न छुटाएनन् । ‘मेरो कूलले आशिष देओस् दिदि तर गलत गरे उनै कूलदेवताले श्राप दिउन् ।’
काठमाडौं- नेपाल चिकित्सक सङ्घले दुई दिने सार्वजनिक बिदा दिने सरकारको निर्णयको स्वागत गरेको छ । सङ्घका महासचिव डा बद्री रिजालले विज्ञप्ति जारी गर्दै बिरामीलाई सेवा दिनुपर्ने चिकित्सक स्वयं आफू पनि मानसिक तथा शारीरिक तनावमा रहनुपर्ने भएकाले सरकारको निर्णय स्वास्थ्य क्षेत्रमा पनि लागू भई चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । “हप्ताको सातै दिन, दिन रात नभनी बिरामीको सेवामा खटिने चिकित्सक आफ्नो व्यस्त समयका कारण परिवारलाई समय दिन नसक्नु, आफ्नो कार्यमा व्यस्त रहनुले दुई दिनको सार्वजनिक बिदा दिने निर्णयले चिकित्सकलाई राहत मिलेको छ”, विज्ञप्तिमा उल्लेख छ ।-
चितवन: बाघको आक्रमणबाट पूर्वी चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१३ का ६५ वर्षीय नारायण दाहाल रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । कार्यालयका सूचना अधिकारी नरहरी अधिकारीका अनुसार आज बिहान घर नजिकै रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनको राप्ती घाँसे मैदानमा घाँस काट्न जाने क्रममा दाहाललाई बाघले आक्रमण गरेको थियो । उनका अनुसार दाहाललाई बिहान ८ बजे बाघले आक्रमण गरेको थियो । आक्रमणमा परेका दाहालको घटनास्थलभन्दा एक किलोमिटर पर शव भेटिएको कार्यालयले जनाएको छ ।
वीरगञ्ज: विद्युत सर्ट भएर वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीमा रहेको वीरगञ्ज हेल्थकेयर हस्पिटलमा शुक्रबार राति ९ बजे आगलागी हुँदा करोडौंको क्षति भएको छ । शुक्रबार राति ९ बजे हावाहुरीसँगै पानी परिरहेको बेला चट्याङ परिरहेको अवस्थामा चट्याङका कारण अस्पतालको डायलोसिस शाखामा विद्युत सर्ट भएर आगलागी भएको अस्पतालका सञ्चालक डा. अबुल हैयश अन्सारीले जानकारी दिनुभयो । उहाँका अनुसार आगलागीबाट डायलोसिस शाखामा रहेका डायलोसिस मेसिन छ वटा, भेन्टिलेटर दुई वटा, कार्डियेक मोनिटर छ वटा र छ बेड वटा जलेर नष्ट भएको र आगलागीबाट करिब दुई करोड रुपैयाँ बराबरको क्षति भएको छ । अस्पतालको तेश्रो तलामा रहेको डायलोसिस शाखामा विद्युत सर्ट भएर भएको आगलागीलाई वीरगञ्ज महानगरपालिकाको बारुणयन्त्रको मद्दतले सशस्त्र प्रहरी, नेपाल प्रहरी र अग्नि नियन्त्रकको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । उहाँका अनुसार आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन ।

