ताप्लेजुङ : ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ‘एमबिबिएस’ पढाउन आर्थिक सहयोग गर्ने भएको छ । यसका लागि उसले पाँच वर्ष गाउँपालिकाभित्र सेवा गर्नुपर्ने सर्त राखेको छ । यसबाट गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा सुधार आउने विश्वास गरिएको छ । गत शुक्रबार मैवाखोलाको ११ औँ गाउँसभाले पाँच वर्षमा एक डाक्टर उत्पादन गर्ने निर्णय गरेको हो । गाउँपलिकाले एमबिबिएस पढाउन सहयोग गर्न लागेको प्रवक्ता चन्द्रकुमार तामाङले बताउनुभयो । आगामी २०७९/८० आर्थिक वर्षको बजेटबाट एमबिबिएस पढाउनको लागि रु २० लाख बजेटसमेत गाउँपालिकाले विनियोजन गरेको उहाँले बताउनुभयो । गाउँपालिकाभित्रका विद्यार्थीलाई एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षामा उत्तीर्ण हुने एक विद्यार्थीलाई गाउँपालिकाले पढाइमा लाग्ने खर्च तथा अन्य खर्चसमेत गाउँपालिको उपलब्ध गराउने प्रशासकीय अधिकृत देवी तुम्बापोले जानकारीदिनुभयो । उहाँले भन्नुभयो, “एमबिबिएस पढाउनका लागि गाउँपालिकाले पहिलोपटक रु २० लाख विनियोजन गरेको छ । प्रत्येक वर्ष बजेट विनियोजन गर्दै जाने छ ।” सुगमदेखि दुर्गममा गाउँमा डाक्टर आउन नमान्ने र आइहाल्ले पनि लामो समय नबस्ने भएकाले आफ्नै गाउँबाट डाक्टर उत्पादन गर्नतिर लागेको मैवाखोलाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो । पालिकाभित्रका ज्येष्ठ नागरिक अपाङ्गता भएका नागरिकका लागि प्रत्येक महिना घरमै स्वास्थ्य परीक्षण तथा निःशुल्क औषधि उपचार गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिका केन्द्र साँघुमा एक जना एमबिबिएस डाक्टरको पदपूर्ति गर्ने र फारर्मेसी सेवासमेत सञ्चालन गर्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र अतिविपन्न नागरिकलाई नेपालभित्रका जुनसुकै स्वास्थ्य संस्थासम्म पु¥याउन न्यूनतम सेवा शुल्कका आधारमा सेवा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
झापा : झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ । सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर निर्माण भएका हुन् । गाउँपालिकामा सन् २०१९ मा ७० , २०२० मा १३०, २०२१ मा २२८ र २०२२ मा १७५ वटा घर निर्माण गरिएको सुरक्षित आवास कार्यक्रमका प्रमुख टीकाप्रसाद कँडेलले जानकारी दिनुभयो । “विपन्न वर्ग परिवारलाई लक्षित गरी सुरक्षित, बलियो घर निर्माण गरिएको हो”, उहाँले भन्नुभयो, “केही घर निर्माणका क्रममा छन् ।” सुरक्षित आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका अतिविपन्न, गरिब, घरविहीन, सुकुम्बासी, पिछाडिएका वर्ग, प्रकोप प्रभावित, महिला र फरक क्षमता भएका व्यक्ति तथा समुदायलाई लक्षित गरी आवास निर्माण गरिँदै आएको छ । संविधानले नै तोकेको आवास हक कार्यान्वयनमा सरकारको एक्लो प्रयासमात्र पर्याप्त नहुने झापा गाउँपालिका अध्यक्ष जयनारायण साहले बताउनुभयो । धेरै आवास निर्माण गर्नुपर्ने भएकाले सहारा नेपाल र ह्याविट्याट नेपाल गाउँपालिकाले त्रिपक्षीय साझेदारी गर्दै आएको उल्लेख गर्नुभयो । सहारा नेपालका लेखा अधिकृत राजु गिरीले परियोजनाअन्तर्गत बरण्डासहित आरसीसी पिलर भएको तीनकोठे घर निर्माण गरिँदै आएको जानकारी दिनुभयो । एउटा घर निर्माणमा रु एक लाख ८५ हजार लाग्ने उहाँले बताउनुभयो । सन् २००७ देखि ह्याविट्याट नेपाल र सहारा नेपालले साझेदारीमा झापा, मोरङ, सुनसरी र उदयपुरमा परियोजनाअन्तर्गत आवास निर्माण गर्दै आएको छ ।
पोखराः सोमबार बिहान देशभर बदली रही प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू-भागमा वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही वर्षा हुने सम्भावना रहेकधो छ। प्रदेश १ र गण्डकी प्रदेशका एक(दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति पनि देशका अधिकांश स्थान वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ।
काठमाडौँ, सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक यातायातमा भाडा घटाएको छ । नेपाल आयल निगमले शनिबार डिजेल र पेट्रोलको भाउ कम गर्ने निर्णय गरेपछि सोही आधारमा यात्रुबाहक र मालबाहक सवारीसाधनको भाडादर कम गरिएको हो । यसअघि पटकपटक पेट्रोलियम पदार्थको भाडा बढ्दा भाडादर बढेको थियो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारीसाधनमा यसअघि कायम भाडादरभन्दा पाँच दशमलव ४१ प्रतिशत भाडा कम गरेको छ । अहिले डिजेल प्रतिलिटर रुपियाँ २९ र पेट्रोल प्रतिलिटर रुपियाँ २० कम भएकाले त्यसैका आधारमा भाडादर घटाउने निर्णय भएको विभागले जनाएको छ । पहाडी बाटोमा चल्ने मालबाहक सवारीसाधनमा ६ दशमलव ९७ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीसाधनमा सात दशमलव ६८ प्रतिशत भाडा घटाइएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा सोभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रुपमा भाडादर परिवर्तन हुने उल्लेख छ । पछिल्लो पटक गत असार ६ मा भाडादर समायोजन गरिएको थियो ।
काठमाण्डौँ : अख्तियार दुरुपयोग अनुसनधान आयोगले नापी कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत अमिन टेकबहादुर रायमाझीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार अमिन बस्नेतले जग्गाको हाल साविक गर्ने प्रयाजनार्थ सेवाग्राहीसँग रु ३० हजार घुस मागेको पाइएको छ । आयोगको बुटवलबाट गएको टोलीले अमिन रायमाझीलाई पक्राउ गरेको थियो । आयोगले आरोपी रायमाझीलाई बिगो बमोजिमको कारबाहीको माग गरेको छ । यस्तै, आयोगले प्राकृतिक स्रोत तथा साधनको ठेक्का प्रदान गर्दा व्यवसायीसँग प्रक्रिया नपुर्याएको र पछि रद्द गरेर राज्यलाई हानी पुर्याएको अभियोगमा फतुवा विजयपुर नगरपालिका रौतहटका तत्कालीन र हालका समेत नगरप्रमुख रहेका गोपाल राय यादव तत्कालीन उपप्रमुख कान्ती देवीलगायत विभिन्न वडाका अध्यक्षले कार्यपालिकाको बैठकको निर्णय कार्यान्वयन गराउन आलटाल गरेको पाइएको छ । आयोगले नगरप्रमुख, उपप्रमुखसहित विभिन्न वडाका अध्यक्षहरू विरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरको बिगो दाबी गरेको छ । त्यस्तै, आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सागरकुमार रोका, निमित्त प्रशासकीय अधिकृत गोकूल ढुङ्गेल र रञ्जना साहविरुद्ध रु एक करोड ५३ लाख ५० हजार १९९ बराबरकै बिगो कायम गरिएको छ ।
काठमाण्डौँ : मदन भण्डारी फाउण्डेसनले हरेक वर्ष प्रदान गर्दै आएको मदन भण्डारी राष्ट्रिय पुरस्कार घोषणा गरेको छ । फाउण्डेशनले मदन भण्डारी राष्ट्रिय पुरस्कार यसवर्ष धरानका कृष्ण राई र मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रेरणा माध्यमिक विद्यालय ललितपुरले पाउने आज जनाएको छ । दुवै पुरस्कारको राशि रु एक/एक लाख रहेको छ । सोताङ अर्गानिक फार्म प्रालि सञ्चालनमार्फत राईले अर्गानिक खेती र समग्र उत्पादन, प्रोसेसिङ र बजारीकरणमा पुर्याउनुभएको योगदानस्वरूप उहाँलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेसनले आज पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । यस्तै रु एक लाख राशिको उक्त पुरस्कार ७१औँ मदन जयन्तीका अवसरमा यही असार १४ गते राष्ट्रिय सभामा आयोजना हुने विशेष कार्यक्रममा उहाँलाई प्रदान गरिने छ । प्रेरणा माध्यमिक विद्यालय ललितपुरले उमेर र विपन्नताका कारण शिक्षाको पहुँचबाट टाढा हुन पुगेका किशोरी र महिलालाई विद्यालय शिक्षाको पहुँचमा पुर्याउने अभियानको नेतृत्व गरेको भन्दै यस वर्षको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्रदान गर्न लागिएको फाउण्डेशनले जनाएको छ । फाउण्डेशनले प्रत्येक वर्ष प्रदान गर्ने राष्ट्रिय पुरस्कार यसअघि हास्य कलाकार मह जोडी, शहीद पार्क हेटौँडा, मुटुरोग विशेषज्ञ डा भगवान कोइराला र सामाजिक अभियानकर्मी महावीर पुन, धुर्मुस सुन्तली फाउण्डेसन, प्रा डा सुवोध शर्मा, स्टाफ नर्स सुनिता सहकारी र एम्बुलेन्स चालक बोमबहादुर गुरुङले प्राप्त गरिसक्नुभएको छ ।
काठमाण्डौँ : प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले देशभरका विद्यालयमा पाठ्यपुस्तक अभाव भएको भन्दै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै उहाँले माध्यमिक विद्यालयका पाठ्यपुस्तक अहिलेसम्म नपुगेको विषयमा गम्भीर ध्यान दिन आग्रह गर्नुभयो । नेता भट्टराईले शैक्षिक शत्र सुरु भएको एक महिना १३ दिन बितिसक्दा पनि देशभरका माध्यममिक विद्यालयका झण्डै ५० प्रतिशत पाठ्यपुस्तक नपुगेको भन्दै यसको दीर्घकालीन समाधान खोज्न सुझाउनुभयो । उहाँले माध्यमिक तहमा करिब ८० लाख विद्यार्थी भर्ना भएका र तीमध्ये करिब ७५ प्रतिशत विद्यार्थी सामुदायिक तथा अन्य निजी विद्यालयमा अध्ययनरत रहेको जानकारी दिनुभयो । “हरेकवर्ष पुस्तक अभावको समस्या झेलिरहेका छौँ, यो विषय गीतका वर्षमा पनि उठाउँदै आएको र अहिले पनि जारी छ, सरकारले पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिइएको छ”, उहाँले भन्नुभयो, “आजसम्म निजी क्षेत्रबाट वितरण हुने कक्षा १ देखि ३ सम्मका पाठ्यपुस्तक पुगेका छन्, त्यसभन्दा माथिका पाठ्यपुस्तक अहिलेसम्म पनि विद्यार्थीले पाएका छैनन् । भट्टराईले हालै आफूले गरेको १६ विद्यालयको सर्वेक्षणले करिब ५० प्रतिशत पुस्तक नपुगेको, काठमाडौँकै दरबार हाइस्कुलमा अझै ३० प्रतिशत पाठ्यपुस्तक नपुगेको पाइएको तथा बागमती प्रदेशमा पनि झण्डै ४० प्रतिशत पुस्तक नपुगेकोे पाइएको भन्दै अन्य प्रदेशको अवस्था कस्तो होला भनी प्रश्न गर्नुभयो ।
काठमाडौँ : लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ । सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररुपमा अनुसन्धान थालेको छ । गायिका सुनार काठमाडौँको बाँनियाटारस्थित आफ्नै कोठामा शनिबार मृत भेटिएको प्रहरीले जनाएको छ । शुक्रबार राति गायिका सुनारको फेसबुकबाट आफूलाई बाँच्न गाह्रो भएको र जतिबेला जे पनि हुनसक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो । उक्त स्टेटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निक्कै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाइ छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ । उहाँले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो । “घटना शङ्कास्पद देखिएको छ, शव परीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ”, मैनालीले भन्नुभयो । गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एक जना पक्राउ परे पनि नाम खुलाइएको छैन । प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ । त्यसैले अहिले घटनामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलेसमेत अनुसन्धान थालेको छ । सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेका जनाइएको छ । पतिसँग डिभोर्स गरेर एक्लै बस्दै आएको खुलेको छ । गायिका सुनारसँग एक जनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शनिबार बिहान काठमाडौँको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ । गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानविनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाव दिन थालेका छन् । उनीहरुले प्रहरीवृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानविन गरी दोषीउपर कारवाहीको माग गरेका छन् । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानविनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिनुभयो । अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताउनुभयो । प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन । घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पुर्याएको छ । “न्यायपूर्ण ढङ्गले छानबिन होस् र दोषीलाई कारवाही होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौँ”, बिजीले भन्नुभयो । गायिका सुनारको स्टेटसमा आफैँले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबावमा लेखिएको वा अरुले नै लेखिदिएको हुनसक्ने आशङ्का गरिएको छ । अध्यक्ष बिजीले भन्नुभयो, “मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरुले नै लेखेको पनि हुनसक्छ या मृत्यु अघि धम्क्याएर लेख्न लगाएको पनि हुनसक्छ त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ ।” सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका हुनुहुन्थ्यो । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समय अघि काठमाडौँमा आयोजना गरेको छैठौँ खुला राष्ट्रिय रनिङशिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित हुनुभएको थियो । गायिका सुनार राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सुर्खेतको सदस्य हुनुहुन्थ्यो ।
काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक आज भने उच्च अङ्कले उकालो लागेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि हुँदा चरम खडेरीमा पानी परेको जस्तै भएको लगानीकर्ताको टिप्पणी छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९४.९२ अङ्कले उकालो लागेर एक हजार ९५६.९८ मा पुगेको छ । त्यस्तै, ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक १७.९३ मा पुगेको छ । कूल २३० कम्पनीको ६३ लाख ६३ हजार ५९० कित्ता शेयर रु दुई अर्ब १९ करोड ६१ लाख ४१ हजार ८४९ मूल्यमा खरिद बिक्री भए । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ३५.५, व्यापार १२१.०८, होटल तथा पर्यटन १४०.९३, विकास बैंक २५७.१४, जलविद्युत् १५६.९२, वित्त १०२.४३, निर्जीवन बीमा २६२.८८, उत्पादन २८४.५३, अन्य ९६.०३, लघुवित्त २३१.०३, जीवन बीमा ३६६.७८, सामूहकि लगानी कोष ०.५ र लगानी ५.१९ अङ्कले उकालो लाग्यो । शेयर कारोबार हुने साताको पहिलो दिन आज आइतबार रु २७ खर्ब ९० अर्ब १६ करोड ५५ लाख ५४ हजार ८८८ बराबर रहेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा कुमारी बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ६४ लाख ३८ हजार ९५३ बराबरको कारोबार भयो । हिमालयन बैंक रु आठ करोड ३७ लाख ९२ हजार ९३६, ङादी ग्रुप पावर रु आठ करोड ३३ लाख ५३ हजार, नबिल बैंक रु छ करोड ७६ लाख २७ हजार ८५८ र शिवम् सिमेन्ट रु पाँच करोड ४१ लाख ७० हजार ६६३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । २१ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो नेप्सेका अनुसार आज कारोबार भएकामध्ये कूल २१ कम्पनीको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, ३१ कम्पनीको शेयर मूल्य भने ९ प्रतिशत बढीले वृद्धि भएको छ । नेप्सेका अनुसार नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, गुह्यश्वरी मर्चेन्ट बैंक, प्रोगेसिभ फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स, एचआइडिसिएल, सिनर्जी पावर, घलेम्दी हाइड्रोपावरलगायतका कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र २.१६, एनसिसी बैंकको ऋणपत्र २, आइसिएफसी फाइनान्स २, गुडविल फाइनान्स १.८१ र सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रोका लगानीकर्ताले ०.२१ प्रतिशतले गुमाए ।

