लमजुङ : गएराती परेको अविरल वर्षाका कारण लमजुङको क्व्होलासोथार गाउँपालिका ७ भोजेका सोमा विश्वकर्माको घरमा पहिरोले क्षति पुर्याएको छ । मंगलबार परेको अविरल वर्षाको कारण क्व्होलासोथार गाउँपालिका ७ का सोमा विकको घरमा क्षति पुर्याएपछि परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको क्व्होलासोथार ७ का वडा अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए । उनका अनुसार पहिरोले घरमा बस्न नमिल्ने गरी क्षति पुर्याएकाले छ । केही दिन यता अविरल वर्षाको कारण देशको धेरै ठाउँमा बाढी पहिरोको जोखिम हुने भन्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गर्दै आएको छ ।
बागलुङः अविरल वर्षाका कारण बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कस्थित दन्ठुमा पहिरोले एक घर र गोठमा क्षति पुर्याएको छ । मंगलबार राति बेलुका करिब साढे ८ बजेको समयमा पहिरो जाँदा स्थानीय राम बहादुुर क्षेत्रीकोे घर र गोठमा क्षति पुर्याएको हो । घर माथिदेखि बारी भत्काउदै आएको पहिरोले घर र गोठमा पूर्ण क्षति पुर्याएको छ, ताराखोला गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रकली रोका पुनले सुनगाभा न्यूजसँग भनिन्, ‘घर पूर्णरुपमा क्षति भएपछि अहिले क्षेत्रीको परिवार टोप बहादुर दर्जीको घरमा आश्रय लिएर बसेका छन् ।’ उनले पहिरोमा पुरिएको घरका अधिकांश समाग्रीहरु झिक्न नसकेको जानकारी दिइन् । ‘घरगोठमा क्षति पुर्याएपछि मोबाइलसहित विभिन्न अत्वाश्यक सामानहरु समेत पहिरोमा परेको छ, सदस्य पुनले भनिन्, ‘त्यै पहिरोको कारण स्थानीय चित्र बहादुर क्षेत्रीको घर समेत जोखिमा परेको छ ।’ अझै पानी थप पर्दै गयो भने तलका बस्तीलाई जोखिम हुने देखिएको छ ।’ वर्षाका कारण अमरभुमी स्वास्थ्य चौकीको पुरानो भवनमा समेत पहिरोको जोखिममा परेको उनले बताइन् ।
दमौली : दमौली स्थित सत्यवती माध्यमिक विद्याललयले अभिभावकको दायित्वबोध गर्ने उद्देश्यले मङ्गलबार दमौलीमा अभिभावक सचेतना कार्यक्रम गरेको छ । अभिभावक बालबालिकाको पहिलो पाठशाला भएकोले शैक्षिक र व्यवहारिक विकासका लागि अभिभावक सचेतना कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणराज काफ्लेले जानकारी दिनुभयो । सचेतनाले शैक्षिक विकासमा महत्वपूर्ण हुने भएकाले विद्यालयले समय समयमा यस्ता कार्यक्रम आयोजना गर्ने उहाँले बताउनुभयोे । नियमित रुपमा विद्यालयमा आउने गरेको र समस्या गुनासो भएमा सिधा सम्पर्क गर्न उहाँले अभिभावकलाई आग्रह उहाँले गर्नुभयो । शैक्षिक क्रियाकलापमा अभिभावकको सहभागीको नारालाई सार्थक बनाउँदै अभिभावकसँग निरन्तर अन्तरक्रिया गरिने अध्यक्ष काफ्लेले प्रतिबद्धता व्यक्त गर्नुभयो । अभिभावकलाई मनोविद डा.सिता भण्डारीले गाली गरेर भन्दा फकाएर, माया दर्शाएर बालबालिकाको मन जित्नु पर्ने बताउनुभयो । साथै उहाँले विद्यार्थीको रुची अनुसारको ऐश्छिक विषय रोज्न दिनु पर्ने बताउनुभयो । ‘उनीहरुको मनोविज्ञान र क्षमता सुहाउँदो वातावरण सिर्जना गरेर रूचिको क्षेत्र पहिचान गरी पढ्नका लागि प्रेरित गर्नुपर्छ मनोविद डा.भण्डारीले भन्नुभयो । विद्यालयका प्राचार्य एकबहादुर गुरुङले बालबालिकाका लागि घर परिवार पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक भएकाले अभिभावक सचेतना कार्यक्रम निकै आवश्यक विषयवस्तु भएको बताउनुभयो । कार्यक्रममा करिब एक हजार अभिभावकको सहभागिता रहेको थियो । कार्यक्रममा शिक्षक अभिभावक सङ्घका अध्यक्ष सोमराज सिग्देल, सहायक प्रधानाध्यक अशोक गिरी लगायतले बालबालिकालाई मोबाइलमा नभुल, टिभीमा नहेर भन्ने तर अभिभावक टिभी र मोबाईलमा रमाउने गर्न नहुने कुरामा जोड दिनु भएको थियो । साथै अभिभावक पनि किताब लिएर बस्ने हो भने बालबालिकालाई पनि पढ्न मन लाग्ने उहाँहरुको जोड थियो । कार्यक्रममा मनोविद् डा. सिता भण्डारी, पूर्व शिक्षक लालप्रसाद भट्टराई लगायतले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रम उपयोगी मूलक लागेको अभिभावक व्यास नगरपालिका–१२ निवासी बिना थापाले बताउनुभयो । ‘बालबालिकालाई फकाउने तरिकाले सिक्ने अवसर मिल्यो’ थापाले भन्नुभयो । आफ्ना अभिभावकहरुलाई संस्कारयुक्त पारिवारिक वातावरण निर्माणका लागि सचेतनामुलक अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । यो तनहुँमा सबैभन्दा धेरै पढ्ने विद्यालय हो । यस विद्यालयमा २ हजार ७ सय विद्यार्थी अध्ययन गर्छन् ।
बाँके : बाँकेको राप्तीसोनारी गाउँपालिकामा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । चट्याङ लागेर घाइते भएका राप्तीसोनारी–३ नारायणपुरका ६ वर्षीय अभिषेक थारूको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा गए राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । थारुसँगै रहेका सोही ठाउँका २२ वर्षीय ईश्वरी ओली पनि घाइते भएका छन् । उनको अहिले राप्तीसोनारी अस्पतालमा उपचार भइरहेको छ ।
‘असारै खाउला दुधिलो मकै, साउने खाउला खिर, घरमा छैन शितलु वचन, मनमा छैन थिर । छुपुमा छुपु खेतमै रोपु, हातको बीउ छउञ्जेल जे खानु खाइयो, जे लाउनु लाइयो बाबाको ज्यू छइञ्जेल ।।’ लोकगायिका हरिदेवी कोइरालाले गाउनुभएका यी गीतका हरफ अब रोपाइँका बेला खेतका गह्रामा रोपाहारका मुखबाट सुनिन छाडेका छन् । आजकल असारे गीत असार महिनामा पनि बिरलै सुनिन्छन् । आज असार १५ राष्ट्रिय धान दिवस भए पनि किसानका खेत अहिलेसम्म पनि बाँझै छन् । केही सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले रमाइलोका लागि खेतमा गएर रोपाइँ गरे पनि पर्याप्त वर्षा नभएकाले न किसान रोपाइँमा व्यस्त हुन पाएका छन् न त भएका रोपाइँमा पनि असारे गीत सुनिएको छ । नेपालमा धान रोप्दा गाइने असारे गीत रोपाइँमा दिनभर थाकेको बाउसे र रोपाराहरू एकअर्कामा हिलो छ्यापछ्याप गरी गीत गाउँदै दुःख कष्ट र थकाइ बिर्सने गर्दथे । खेतका गह्रा, खोलानाला र खहरेबाट झरेको पानीको छङ्छङ आवाजसँगै असारे भाका गाउँदा सुन्नेहरू पनि लठ्ठ पर्ने गर्दथे । तर ती दिनहरू अब इतिहास नै बनेका म्याग्दीकी पुरानो लोकगायिका धनकुमारी थापाले बताउनुभयो । पहिला असारे गीत असार सुरु हुनेबित्तिकै सुनिथ्यो तर अहिले मध्य असार भइसक्दा पनि असारे गीत नसुनिएको लोकगायिका थापाले बताउनुभयो । मानो खाएर मुरी उब्जाउने असार महिनामा पहिलेजस्तो उल्लास आजकल पाइन छाडेको थापाले बताउनुभयो । आजकल मेला हिँड्ने परम्परा कम भएको र असारे गीत गाउने छाडेकाले भाकासमेत लोप भएको बूढापाका बताउँछन् । नयाँ पिँढीलाई असारे गीत गाउन आउँदा पनि आउँदैन । रोपाइँका बेला बीउ काढ्ने, खेत रोप्ने अनि रमाइलो गर्ने हुँदा उत्सवजस्तै मानिने असारे रोपाइँको रौनक घटेको मङ्गला गाउँपालिका–२ रणबाङका हरिकृष्ण पौडेलले बताउनुभयो । पछिल्लो सयममा रोपाइँको क्रममा असारे गीत गाउन छाडिएपछि गीतसँगै टुक्का पनि लोप हुने अवस्थामा पुगेको पुराना गायक नेत्रबहादुर महतले बताउनुभयो । “रोपाइँमा त सुनिन छाड्यो, छाड्यो, आजभोलि रेडियो, टिभीबाट समेत गीत सुनिदैन”, उहाँले भन्नुभयो । पहिले रेकर्ड गरिएका गीतहरु प्राविधिका कारण सङ्ग्रहमा छैनन् भने पछिल्लो पुस्ताका कलाकारले सांस्कृतिक गीतभन्दा पनि व्यावसायिक गीतलाई प्राथमकिता दिँदा थप समस्या भएको म्याग्दीकाली एफएमका स्टेशन म्यानेजर राकेश शर्माले बताउनुभयो । नेपाली लोकगीतमा विभिन्न चाडपर्व, ऋतु, खेतीपाती गर्दा गाइने सांस्कृतिक भाका र भाव मिसिएका पाइन्छन् तर यस्ता गीतको संरक्षण र संवद्र्धन भने हुन सकेको छैन । संस्कृतिमूलक गीत लोप हुँदैछन् । यस्ता गीतलाई संरक्षण गर्न अतिआवश्यक रहेको बूढापाकाको भनाइ छ । आजकल रोपाइँको मौलिकता हराउँदै गएकामा पाका नागरिक चिन्तित छन् । कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोग बढ्दै गएपछि रौथाने प्रविधि लोप हुँदै गएका छन् । हलो–जुवा र गोरुको ठाउँ मिनीट्रिलर हलोले लिएको छ भने असारे गीत पनि सुनिन छाडेको छ । “पहिला–पहिला धान राम्रो फलोस् भनेर बराहा र सीमेभुमेलाई पूजा गरी बीउ चढाएर रोपाहारले असारे गीतको भाकासँगै धान रोप्न सुरु गर्दथे”, बेनी नगरपालिका–२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भन्नुभयो, “तर अहिले यी सबै कुरा हराउँदै गएका छन् । खेतका फाँटमा रोपाइँ सकियो तर न हलो–जुवा र गोरु देखिए न असारे भाका नै सुनियो ।” ‘सिमसिमे पानी परेको बेला केही छैन ओत लाग्ने जति नै राम्रो गर्छु तै पनि मैलाई हो खोट लाग्ने ।’ यस्तै–यस्तै शब्दहरूमा असारे भाका हालेर दिनभर रमाइलो गर्दै खेतमा धानको बीउ रोप्ने गरेको बगरफाँटकी ६८ वर्षीया यामकुमारी शर्मा झलझली सम्झिनुहुन्छ । “बिहान खेतमा पसेदेखि मेलो नसकुञ्जेल गाइरहन्थ्यौँ, सबै साथीले भाका मिलाएर गाउँदा दिन बितेको पत्तो नै हुँदैनथ्यो, तर आजकल यी सबै कुरा कथाजस्ता हुन लागिसके”, उहाँले भन्नुभयो । अहिले न असारे भाका गाउन जान्ने फगामीका दौँतरी छन्, न त छोरीबुहारीले गाउन जानेका छन् । धान रोप्दै गाइने असारे गीतमा दुःख, पीडा, हँस्यौली–ठट्यौली, मायापिरतीका कुरा पनि समेट्ने गरेको उहाँले सुनाउनुभयो । अहिलेका युवापुस्ता प्रविधितर्फ आकर्षित भएकाले परम्परागत सीप, साधन, कला र संस्कृति हराउँदै जान थालेकामा स्थानीय बूढापाकाले चिन्ता व्यक्त गरेका छन् । “कृषिमा प्रविधिको प्रयोग गरी कम लागतमा बढी आम्दानी लिनु त राम्रो कुरा हो”, बेनी नगरपालिका–४ का कृषक नारायण पौडेलले भन्नुभयो, “तर परम्परागत सीप र साधनमा जैविक विधिबाट गरिने कृषि पद्धतिलाई पनि चटक्कै बिर्सनु भने हुँदैन ।” कृषिसँग नेपालीको जीवन पद्धति पनि जोडिएको छ । ऐँचोपैँचो, सर–सापट, अर्म–पर्म, हुद्धा–डफ्फा, श्रमदान, सघाइ यी चलन नेपालीका मौलिक चलन हुन् र यी कृषिसँग नै सम्बन्धित चलन भएका बूढापाका बताउँछन् । यिनै प्रचलनको जगमा नै नेपाली समाजको एकता र विविधता दुवै समेटिएको बेनीका पुराना लोक कलाकार प्रकाश श्रेष्ठले बताउनुभयो । असारे भाकासँगै अर्मपर्म गरी रोपाइँ गर्ने चलन पनि गाउँघरमा विस्तारै हराउँदै छ । म्याग्दीमा असार दोस्रो सातासम्म जम्मा २० प्रतिशत मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । ‘लेकको चरी बेँसीमा झर्यो पाकेको बर खान हाड–मासु चल्यो हृदय जल्यो गाह्रो भो घर खान असारमास कुटेका चिउरा म कति साँचुला सौताको हात दुई कुड्की भात म कति बाँचुला ।।’
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ७०० मा कारोबार भएको पहेंलो धातु आज प्रतितोला रु १०० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ३०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार २०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २४० तोकिएको महासङ्घले जनाएको छ ।
पोखरा : नेपालमा गणतन्त्र स्थापना र अभिव्यक्ति स्वतन्त्रतामा जननेता मदनकुमार भण्डारीको योगदान महत्वपूर्ण र अतूल्य रहेको स्मरण गरिएको छ । पञ्चायती व्यवस्था, शाही शासनकालमा राजालाई खुलेआम चुनौती दिएर जनताको आवाज बुलन्द गर्ने र जनताको अधिकार प्राप्तिमा अग्रणी भूमिका खेल्ने नेता नै भण्डारी रहेको एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । नेकपा (एमाले) ले अङ्गिकार गरेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद (जबज)’ का प्रणेता जननेता भण्डारीको ७१ औं जन्मजयन्तिका अवसरमा प्रेस चौतारी कास्कीले पोखरामा मंगलबार आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिव्यक्ति स्वतन्त्रता’ विषयक अन्तरसंवाद कार्यक्रममा वक्ताहरुले भण्डारीले प्रतिपादन गरेको जबजमा उल्लेखित अभिव्यक्ति स्वतन्त्रताका सवालमा चर्चा गरेका हुन् । जबजले नेपालका अन्य दललाई पनि नेतृत्व गरिरहेको भन्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र पनि जबजको लाइनमा रहेको वक्ताहरुको जिकिर छ । माओवादी केन्द्रको शान्तिपूर्ण राजनीति, बहुपदीय नेतृत्व प्रणाली साथै नेपाली कांग्रेसले आन्तरिक निर्वाचन गर्ने प्रणाली पनि जबजबाटै प्रभावित रहेको वक्ताहरुको भनाई छ । प्रमुख वक्ता एमाले स्थायी कमिटि सदस्य एवं संगठन विभाग प्रमुख खगराज अधिकारीले नेपाली कम्युनिष्ट आन्दोलनलाई सही मार्गमा अघि बढाउने सिद्धान्त नै जबज रहेको भन्दै नेता भण्डारीले सहयोद्धाहरुकै असहयोगका बीच यसलाई स्थापित गराएको बताए । ‘हामीले ल्याएको लोकतन्त्र, गणतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता छ । यसको जरो जबज नै हो । पार्टी, नेता नरहेपनि देश र लोकतन्त्र रहनुपर्छ ।’– अधिकारीले भने । अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग गर्न नहुनेमा जोड दिँदै उनले सञ्चारजगत झनै सचेत हुनुपर्नेमा ध्यानाकर्षण गराए । उनले आफू पनि पीडित भएको स्मरण गर्दै भने– ‘कुनैबेला मलाई रातो पासपोर्ट बेच्यो भनेर कूप्रचार गराइयो, चुनावमा हराइयो । तर, त्यसबेला पासपोर्ट फिर्ता गर्ने ३ जनामा नरहरि आचार्य, सुवास नेम्वाङ र म नै थिएँ । म हारेँ, तारानाथ रानाभाट जिते, प्रतिगमनको मतियार बने, म त बन्थिनँ नि । त्यसरी स्वतन्त्रताको दुरुपयोग हुँदा व्यक्ति मात्र होइन, सबैलाई असर पर्छ ।’ अभिव्यक्ति स्वतन्त्रतामा केन्द्रित रहँदै अर्का वक्ता वरिष्ठ एवं स्वतन्त्र पत्रकार नारायण कार्कीले राजनीतिक दलीय प्रतिष्पर्धामा होमिने, जनताको अभिव्यक्ति कुण्ठित नहुने गरी सिद्धान्त नै आफै बनाएर अघि बढेको कम्युनिष्ट पार्टी नेकपा एमाले आज राष्ट्र हाँक्ने पार्टी बन्नुको श्रेय मदन भण्डारीलाई नै जाने बताए । उनले भण्डारीको अस्वभाविक मृत्यु प्रकरणबारे छानविनमा एमालेको उदासिनताका बारेमा पनि प्रश्न उठाए । उनले अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउँदै यसको पनि सीमारेखा हुने बताए । अहिले पत्रकारहरुले राजनीतिक पद प्राप्तिको माध्यम पत्रकारिता बनाउनु दुःखद विषय भन्दै पत्रकारिता राजनीतिक दल र नेताबाट प्रभावित बनेको गुनासो गरे । एमालेका केन्द्रीय सदस्य एवं कास्की ईञ्चार्ज भीम कार्कीले नेपाली बाम आन्दोलनलाई नयाँ शिराबाट अघि बढाउने दुरदर्शी राजनेता भण्डारी रहेको बताउँदै जसले सयौं वर्षका लागि विचार निर्माण गरी जबज प्रतिपादन गरेको बताए । ‘२०४७ सालको संविधान विश्वकै उत्कृष्ट भनियो । तर, नेता भण्डारीले २७ बुँदे असहमति उहीबेलै प्रकट गर्नुभयो । त्यसको १९ वर्षपछि जनआन्दोलनको बलमा लेखिएको अन्तरिम संविधानमा ती सबै बुँदा समेटिएको छ ।’ – कार्कीले भने– ‘ नेता भण्डारीको दुरदर्शिताकै कारण मन्त्री, प्रधानमन्त्री, राष्ट्रपति नभएपनि आज सर्वोच्च नेताका रुपमा स्मरणमा रहनुभएको छ ।’ एमाले गण्डकी उपसचिव तथा प्रचार विभाग प्रमुख रश्मी आचार्यले नेपाली कम्युनिष्टको मूल विचारधारा नै जबज रहेको बताए । ‘प्रचण्डहरु अन्ततः यही लाइनमा आउने चरणमा हुनुहुन्छ । पार्टी एकतासम्म गरेका हौँ । उहाँहरु अझै सच्चिन जरुरी रहेको मलाई लाग्छ ।’ – आचार्यले भने ‘समाज र पार्टी लोकतान्त्रिकरणको एजेण्डा उठाउने मदन भण्डारी नै हो । एमाले गण्डकी सदस्य एवं प्रेस चौतारी फाँट ईञ्चार्ज रामकृष्ण ज्ञवालीले विश्वमा कम्युनिष्टहरू कमजोर भैरहेका बेला, पूँजीवादीहरुले कम्युनिष्टलाई निरंकुश र क्रुर भनेर चिनाइरहँदा नेपालबाट शान्तिपूर्ण कम्युनिष्ट आन्दोलनको उज्यालो छरेर विश्वसामु कम्युनिष्टको नयाँ सिद्धान्त जबज प्रतिपादन गर्ने नेता मदन भण्डारी भएको बताए । जबजबका १४ विशेषतामा दोस्रो बुँदा नै अभिव्यक्ति स्वतन्त्रता रहेको उनको भनाई छ । प्रेस चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस चौतारी गण्डकीका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले कार्यक्रममाथि प्रकाश पार्दै स्वागत गरे भने सचिव रञ्जन अधिकारीले कार्यक्रमको सञ्चालन गरेका थिए । प्रेस चौतारी गण्डकीले प्रकाशन गरेको भित्तपात्रो समेत कार्यक्रमा अतिथिहरुबाट सार्वजनिक गरिएको थियो ।
पोखराः गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेश सरकार कृषिलाई आधुनिक एवम् व्यावसायिक बनाउन प्रतिबद्ध रहेको बताएका छन् । राष्ट्रिय धान दिवस एवं असार १५ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेश र समग्र मुलुकको जिविकाको मुख्य आधार खेतीपाती नै रहेको भन्दै जग्गा चक्लाबन्दीका आधारमा व्यावसायिक कृषि फार्म सञ्चालनलाई प्राथमिकतामा राखिएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कृषि क्षेत्रको आधुनिकीकरण, यान्त्रिकीकरण र व्यावसायीकरण मार्फत् उत्पादन र उत्पादकत्व वृद्धि गरी स्वरोजगारका अवसरहरु सिर्जना तथा खाद्य सुरक्षा र नागरिकको स्वास्थ्यको प्रत्याभूति गर्ने नीति प्रदेश सरकारको छ ।’ यो वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ दिवस मनाइएको छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा विसं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि धान दिवस मनाउन सुरु गरिएको हो । असार १५ नेपाली समाजमा दहीच्यूरा खाने पर्वका रुपमा पनि परिचित छ । खेतीपातीबाहेक अन्य पेसा तथा व्यवसायमा लागेका नेपालीहरुले आज दहीच्यूरा खाई असार १५ मनाउँछन् । मुख्यमन्त्री पोखरेलले यस अवसरमा सम्पूर्ण नेपाली नागरिक तथा कृषक दाजुभाइ दिदीबहिनीमा सुख, समृद्धि, उन्नति र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् । उनले भनेका छन्, ‘असार १५ लाई सभ्य, भव्य र उल्लासपूर्वक मनाई नेपालमा धान संस्कृतिको जगेर्ना गर्दै खाद्यान्नमा आत्मनिर्भर बन्ने अभियानमा हातेमालो गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले आजदेखि सडकमा खानेकुरा बेच्न निषेध गरेको छ । हैजा नियन्त्रणका लागि भन्दै महानगरपालिकाले उक्त कदम चालेको जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा हैजाका बिरामी बढ्दै गएकाले कामपाले पानी प्रयोग हुने खाद्य सामग्री बिक्री वितरणमा रोक लगाएको हो । आदेशको अवज्ञा गरे जरिवानासहित थप कारबाही गर्ने कामपाले चेतावनी दिएको छ । होटल रेष्टुराँको खाद्य स्वच्छता हेर्न खाद्य प्रविधि तथा गुणनियन्त्रण विभागलाई अनुरोध गरेको महानगरका स्वास्थ्य विभागका प्रमुख बलराम त्रिपाठीले जानकारी दिनुभयो । पानीको पाइपलाइन तथा ढल प्रणालीको अवस्था हेर्न तथा सुधार गर्न काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । सहरी स्वास्थ्य क्लिनिक र सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई जीवनजल, पानी शुद्ध गर्ने औषधिको अभाव नहुने गरी तयारी अवस्थामा राखेको र बिरामीलाई अस्पताल लैजानु परे नेपाल एम्बुलेन्स सेवाको सुविधा लिन सक्ने गरी प्रबन्ध मिलाइएको त्रिपाठीले बताउनुभयो । नागरिकको सहजताका लागि कामपाले २४सै घण्टा ११८० हटलाइन टेलिफोन सोमबारदेखि सञ्चालनमा ल्याएको छ ।

