काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

कञ्चनपुर :       कञ्चनपुरको महेन्द्रनगर बजारमा सडक कालोपत्र गर्ने अलकत्रा बोकेको ट्याङ्करमा आगलागी हुँदा पूर्णरूपमा जलेको छ । गए राति भीमदत्त नगरपालिका–१८ पार्क मोड हुँदै आँखा अस्पतालसम्मको सडक कालोपत्र गर्नका लागि अलकत्रा बोकेको ट्याङ्करमा एक्कासी आगलागी हुँदा ट्याङ्कर जलेर पूर्णरूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिनुभयो ।   ना४ख ७८८८ नंको उक्त ट्याङ्कर निर्माणस्थलमा चालक दिनेश चौधरीले चलाइरहँदा एक्कासी आगलागी भएको निर्माण कम्पनी जेडआइइसी लामा जेभीका प्रतिनिधि दीपक डिसीले जानकारी दिनुभयो । उक्त घटनामा ट्याङ्करको पछाडि रहेका सहचालक निर्बल चौधरी (थारू) घाइते भएको र उहाँको महाकाली प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।   दमकलको सहायताले आगो निभाइएकाले थप क्षति भने हुन पाएन । समयमै ट्याङ्करमा लागेको आगो दमकलको सहायताले निभाउँदा ठूलो क्षति हुनबाट जोगिएको छ । नजिकैका घरहरू आगलागी हुनबाट जोगिएका छन् ।

पोखरा :     कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० मा पूर्वाधार विकासतर्फ ठूला योजना छनोटलाई प्राथमिकतामा राखेको छ ।    गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले सोमबार गाउँसभामा आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना योजनालाई निरुत्साहित गरिने बताउँदै ‘समृद्ध मादी, सुखी मादीवासी’को नारालाई साकार पार्न ठूला योजना सञ्चालन गरिने बताउनुभयो ।   उहाँले विकास निर्माणलाई दिगो बनाउन साना तथा टुक्रे योजनामा बजेट विनियोजन गर्दा दीर्घकालीन उपलब्धि हासिल नहुने हुँदा यस्ता कार्यमा नियन्त्रण गरी ठूला योजना छनोटलाई प्राथमिकतामा राखिएको बताउनुभयो । आन्तरिक सुशासन र सवल प्रशासनको प्रवद्र्धन गरी सेवा प्रवाहमा प्रभावकारिता कायम गर्ने, पर्यटन विकासबाट लाभ प्राप्त गरी सबै क्षेत्रसम्म पु¥याउने पारित कार्यक्रममा उल्लेख छ ।   वन जङ्गलको संरक्षण गर्दै भू–क्षय नियन्त्रण, विपद् व्यवस्थापन र वातावरणीय सन्तुलनलाई कायम राख्दै स्थानीय पूर्वाधार निर्माणमा लगानी वृद्धि गरी सडक सुधार गर्दै नियमितरूपमा यातायात सञ्चालन गर्नेतर्फ गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम केन्द्रित रहेको छ ।   स्वास्थ्य बीमामार्फत विशेषज्ञ सेवाको सुलभ पहुँच सुनिश्चित गर्दै थुम्सीकोट प्राथमिक स्वास्थ्य केन्द्रमा बि–फार्मेसी सञ्चालन, गाउँपालिकाका स्वास्थ्य संस्थाहरूबाट निःशुल्क गर्भपतन सेवा विस्तार र महिलाहरूको पाठेघरको मुखको क्यानसरको निःशुल्क परीक्षणको व्यवस्था गरिने कार्यक्रम छ ।   गाउँपालिकाले    वैदेशिक रोजगारीबाट फर्केका युवा जनशक्तिलाई पुनः विदेश जान नपर्ने गरी रोजगारीका अवसर सिर्जना गर्ने प्रकृतिका कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषि क्षेत्रलाई सबल बनाउन युवा जनशक्तिको भरपूर उपयोगमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गरी आयआर्जन बढाउन उत्पादनमा आधारित अनुदानजस्ता जनमुखी प्रोत्साहनमूलक कार्यक्रम सञ्चालनमा जोड दिएको छ ।   प्रदेश सरकारसँगको साझेदारीमा माटो परीक्षण शिविर सञ्चालन गरी माटोको प्रोफाइल तयार गर्ने तथा माटो सुहाउँदो खेती बाली लगाउन प्रोत्साहन गर्ने र कृषक, कृषि समूह, सहकारीको सहकार्यमा ‘एक गाउँ एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।   स्थानीय स्रोत, साधन र सीपको प्रयोगलाई बढावा दिई व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउन राडी पाखी, कम्बल, भाङग्रा, स्वीटर, झोला बनाउने तानहरूलाई आधुनिकीकरण गरी व्यावसायिक उत्पादनतर्फ अग्रसर गराउने र  स्थानीय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडीबुटीमा आधारित उद्योग स्थापना गर्न लगानीकर्तालाई उचित वातावरणको व्यवस्था गरिने नीति कार्यक्रममा उल्लेख छ ।   यसैगरी सङ्घ र प्रदेश सरकारसँगको समन्वय र साझेदारीमा पर्यटकीय गन्तव्यहरूमा रञ्जुमार्ग (केबुलकार), पदमार्ग, लिफ्टिङ खानेपानी, क्याम्पसाइड, सोलारबत्ती, मोबाइलटावरजस्ता पूर्वाधार निर्माण गर्दै लैजाने व्यवस्था मिलाइने अध्यक्ष गुरुङले बताउनुभयो ।   शैक्षिकसत्र विसं २०७९ देखि स्थानीय पाठ्यक्रम पूर्णरूपमा लागू गर्ने, स्थानीय तहमा कम्तीमा एक प्राविधिक शिक्षालय रहने नेपाल सरकारको नीतिअनुसार मादी गाउँपालिकामा प्राविधिक शिक्षालय स्थापना गर्नका निम्ति सङ्घीय तथा प्रदेश सरकारसमक्ष आवश्यक पहल गरिने र पालिकाका सबै सामुदायिक विद्यालयमा इन्टरनेटको पहुँचको सुनिश्चिता गरी क्रमशः प्रविधिको पहुँच पु¥याइने नीति कार्यक्रममा समावेश गरिएको छ ।

    सुर्खेत :       कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रादेशिक कृषि विकास रणनीतिको दस्तावेजमाथि प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रम सुरु भएको छ ।   संघीय सरकार कृषि तथा पशुपक्षी मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको संयुक्त आयोजनामा दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रम सोमबार शुभारम्भ गर्दै प्रदेश सरकारका कृषिमन्त्री चन्द्रबहादुर शाहीले हरेक प्रदेशमा हावापानी र माटो सुहाउँदो कृषि विकास रणनीति हुनुपर्नेमा जोड दिनुभयो । मानव जीवनका लागि कृषि र त्यसको दिगोपनको नीति आजको प्रमुख आवश्यकता रहेको उहाँको भनाइ थियो ।    “कर्णाली सरकारले प्राङ्गारिक कृषिको अवधारणा अघि सारेको छ”, मन्त्री शाहीले भन्नुभयो, “कृषि विकास रणनीतिले सरकारको त्यो अवधारणा सम्बोधन गर्न सक्नुपर्दछ ।” उहाँले आत्मनिर्भर कृषिका लागि पनि कृषि विकास रणनीतिले सहयोग पुग्ने बताउनुभयो ।   कृषि तथा पशुपक्षी मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले कृषि प्रसार नीति २०६४ लाई पनि आजको कृषि विकास रणनीतिले टेकेर जानुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “कृषि विकास रणनीतिको दीर्घकालीन विकास र सबै प्रदेशमा तालमेल बन्न जरुरी छ । हामीले कृषि बीमा र मलखादको पनि कुरा गर्न जरुरी छ ।”   प्रदेशस्तरीय अन्तक्र्रियामा मन्त्रालयका इन्द्रहरि पौडेल तथा कृषि विकास रणनीतिका बद्री बस्ताकोटीले दीर्घकालीन कृषि विकास रणनीतिका आवश्यक सम्भाग, प्रतिफल, क्रियाकलाप, उक्त रणनीतिको कार्यान्वयन अवस्था, त्यसका नीतिगत, संस्थागत संरचना, कार्यक्रम सूचकका बारेमा आफ्ना प्रस्तुति राख्नुभयो ।    उक्त कार्यक्रममा स्याउ, ह्याचरी, फलफूल, उद्योग, बैंक, बीमा, हाटबजारलगायतका विभिन्न क्षेत्रमा काम गर्ने कृषि विज्ञ, उद्योगी, व्यवसायीसहितका सरोकारवालाको सहभागिता रहेको थियो । कृषि विकास रणनीतिमाथि दुई दिनसम्म छलफल हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो ।

काठमाण्डौँ :      नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भानु नगरपालिका–११ मा बाढीले क्षति पुर्याएका स्थानको सोमबार अवलोकन तथा निरीक्षण गर्नुभएको छ । एक साताअघि वर्षाका कारण बाढी पहिराले क्षति पुगेको स्थानको पौडेलले अवलोकन गर्नुभएको हो ।   नेता पौडेलले ढाँडफेदी, सुन्दर बस्ती, टुहुरेपसललगायतका स्थानको अवलोकन गर्नुभएको छ । स्याउदे खोलाको नवनिर्मित पुल क्षतिको अवलोकन, रूपाकोटस्थित सवादीखोलाले बगाएको कजवेको अवलोकन, ढाँडखोलामा आएको बाढीले स्थानीयवासीको घर जोखिम भएको स्थानको उहाँले निरीक्षण गर्नुभयो ।   क्षति भएको क्षेत्रको अवलोकन गर्दै नेता पौडेलले यही असारभित्रै तारजाली हालेर अहिले तत्कालका लागि तटबन्धनको व्यवस्थापन गर्ने काम गर्न निर्देशन दिनुभयो ।    अहिले तत्कालको लागि ढाँडखोलाबाट बस्तीमा जोखिम देखिएको स्थानमा तारजाली लगाउने र खेतमा पानी पुर्याउनका लागि पाइपको व्यवस्था गरिने उहाँको भनाइ थियो । सो अवसरमा नेता पौडेलले ढाँडखोलाले बगाएर बेपत्ता भानु–११ का चन्द्रबहादुर गुरुङको परिवारलाई आर्थिक सहयोगसमेत गर्नुभयो ।  त्यस्तै भानु–११ सुन्दर बस्तीका अर्जुन कुँवरको भत्किएको घरको समेत अवलोकन गरेर परिवारलाई सान्त्वना दिनुभयो ।    सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्माले जङ्गलबाट आएको पहिराले ढाडखोला क्षेत्रमा क्षति पुगेको र तत्कालको लागि तटबन्धन निर्माण गरिने बताउनुभयो । यसपछि विस्तारै दीर्घकालीनरूपमा योजना बनाएर तटबन्धन गरिने उहाँले बताउनुभयो । भानु–११ का वडा सदस्य अजय थापाले बाढीले भानुको ढाँडफेदी क्षेत्रमा ठूलो क्षति पुगेको बताउनुभयो ।    उक्त अवलोकनमा सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरे, सिँचाइ डिभिजन कार्यालय तनहुँका प्रमुख रमेशराज शर्मा, कांग्रेस तनहुँका पूर्व पार्टी सभापति रघुनाथ पौडेल, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौलीलगायत सहभागी हुनुहुन्थ्यो ।    यसैबीच वरिष्ठ नेता पौडेलले उर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग फोन सम्पर्क गरेर ढाँडखोलाले गरेको क्षतिका कारण बस्ती जोखिममा रहेकाले तटबन्धनका लागि तत्काल व्यवस्था गर्नसमेत आग्रह गर्नुभयो ।

  गोरखा :    गोरखामा करेन्ट लागेर  विद्युत‍्का कर्मचारीको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–५, जरेवरमा करेन्ट लागेर नेपाल विद्युत् प्राधिकरण गोरखा वितरण केन्द्रमा कार्यरत प्राविधिक रामकुमार लिम्बुको मृत्यु भएको हो ।     जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार खनालका अनुसार हुकिङ गरी चोरी गरिएको विद्युत् लाइन छुटाउन पोलमा चढ्दै गर्दा लिम्बुलाई करेन्ट लागेको हो । ताप्लेजुङ स्थायी घर भएका उनलाई करेन्ट लागेपछि भुईमा खसेका थिए । गम्भीर घाइते लिम्बुको उपचारका लागि गोरखा अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

सप्तरी :   सप्तरीमा आज छुट्टाछुट्टै घटनामा परी दुई जनाको मृत्यु भएको छ । राजविराज नगरपालिका–९ बिहारपुरमा करेन्ट लागेर एक महिलाको ज्यान गएको हो । मृत्यु हुनेमा ३० वर्षीया रुमी खातुन रहेकी छिन् ।       आफ्नै घरमा मोटर चलाइ लुगा धुने क्रममा खातुनलाई करेन्ट लागेको थियो । गम्भीर घाइते उनको गजेन्द्रनारायण सिहं अस्पताल राजविराजमा उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       यस्तै तिलाठी कोइलाडी गाउँपालिका–६ मधेपुराका पाँच वर्षीय विजयकुमार मण्डलको डुबेर ज्यान गएको छ । घरदेखि १०० मिटर टाढा खेल्ने क्रममा कल्भटमा जमेको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।  

काठमाण्डौँ :     प्रतिनिधिसभाका सांसदहरुले प्रहरीलाई प्रविधियुक्त र स्रोतसाधन सम्पन गराउनतर्फ सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन तथा सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) विधेयक, २०७९’ माथिको सामान्य छलफलमा भाग लिँदै सांसदहरुले प्रहरीलाई उच्च मनोबलका साथ काम गर्न दिन सरकारसँग माग गर्नुुभएको छ ।       उक्त प्रस्तावमाथि विचार गरियोस् भनी गृहमन्त्री बालकृष्ण खाँणले सदनमा प्रस्तुत गर्नुभएको थियो । छलफलमा भाग लिँदै उहाँहरुले प्रहरीमाथि हुने हस्तक्षेप बन्द गर्न पनि आग्रह गर्नुभएको छ । प्रस्तावको सैद्धान्तिक विषयमा छलफल गर्दै सांसद नवराज सिलवालले महानगरीय प्रहरी प्रणालीको अवधारणा आवश्यक भएको र त्यसले मात्रै उत्कृष्ट काम गर्नसक्ने बताउनुभयो । प्रहरीलाई स्रोतसाधन सम्पन्न गराउन उहाँले अनुरोध गर्नुभयो । प्रहरीमा राजनीतिकरण गरेर मनपर्दीरुपमा सरुवा बढुवा गरिएकाले प्रहरीको मनोबल गिर्दो रहेको पनि उहाँले बताउनुभयो ।     छलफलमा भाग लिँदै सांसद कृष्णभक्त पोखरेलले अध्यागमन विभागले अनुसन्धान गर्ने विषयमा नेपाल प्रहरीले पनि अनुसन्धान गर्दा दोहोरो पर्छ भनेर त्यसलाई हटाउने गरी ल्याइएको भन्दै यसतर्फ गम्भीर छलफलको आवश्यकता औँल्याउनुभयो । उहाँले यसरी हटाउँदा दीर्घकालीन असर पर्न सक्ने भन्दै त्यस विषयलाई दीर्घकालीनरुपमा सोच्न अनुरोध गर्नुभयो । प्रदेशमा उहाँले प्रहरी अतिरिक्त महानिरीक्षक राख्न सुझाव पनि दिनुभयो ।       सांसद दिव्यमणि राजभण्डारीले प्रहरी, सेना, अध्यागमन विभागसँग समन्वय गर्ने कुनै नयाँ निकाय आवश्यक रहेको उल्लेख गर्नुभयो । राज्य व्यवस्था तथा सुशासन समितिमा सभापति नभएर निष्क्रिय रहेको भन्दै उहाँले सदनको ध्यानाकर्षण गराउनुभयो । सांसद गङ्गा चौधरीले प्रदेश प्रहरीलाई अधिकार सम्पन्न बनाउन सुझाव दिनुभयो ।       सांसद खगराज अधिकारीले अध्ययागमन विभागका विषयमा समेत ध्यान पुर्याएरै विधेयक ल्याउनुपर्नेमा नआएको बताउनुभयो । सांसद विमला विकले सङ्घ र प्रदशेमा ए र प्रदेशको प्रहरी वि क्लासको हुने हो कि भनी आशङ्का गर्नुभयो ।       सांसद देवप्रसाद गुरुङले सङ्घीय राजधानीको सुरक्षा व्यवस्थाका सन्दर्भमा प्रदेशअन्तर्गतको राजधानीमा सङ्घले हेर्ने भन्ने कुरामा संवैधानिक प्रश्न उठ्न सक्नेतर्फ सचेत हुँदै सोहीअनुसारको व्यवस्थापन हुन जरुरी रहेको औँल्याउनुभयो । छलफलमा सांसदहरु मेटमणि चौधरी, विमला विश्वकर्मा, आशाकुमारी विक, मीनबहादुर विश्वकर्मा, प्रदीप यादवलगायतले धारणा राख्नुभएको थियो ।   प्रहरीलाई प्रविधियुक्त र साधन स्रोत सम्पन्न बनाउन सरकार गम्भीर : गृहमन्त्री     बैठकमा सांसदले उठाउनुभएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले तीनै तहको समन्वयमा नेपाली जनतालाई सुरक्षाको समुचित प्रबन्ध गर्ने सबैको साझा दायित्व रहेको बताउनुभयो । मुलुकको सुरक्षा चुनौतीलाई सामना गर्न कसरी जाने, सुरक्षा संयन्त्रलाई चुस्त पार्ने विषयमा महत्वपूर्ण विचार सांसदहरुबाट आएको उल्लेख गर्दै उहाँले नेपाल प्रहरी सीमित स्रोतसाधनबाट जनताको जीउधनको सुरक्षामा अहोरात्र खटिएको स्मरण गर्नुभयो ।      सुरक्षाका नयाँनयाँ चुनौती बढिरहेका सन्दर्भमा अझै प्रविधियुक्त र साधन स्रोत बनाउने कुरामा सरकारको ध्यान गएको उहाँले बताउनुभयो । विधेयकबारे समितिमा छलफल हुने र अझै समृद्ध बनाउने विषयमा सांसदबाट आएका सुझावमा आफू सकारात्मक रहेको उहाँले बताउनुभयो । जनतालाई छिटो र चाँडो सुरक्षा प्रबन्ध मिलाउने कुरामा सरकारको ध्यान रहेको उहाँको भनाइ थियो ।        प्रदेशमा प्रहरी अतिरिक्त महानिरीक्षक हुनेहुँदा सुरक्षा व्यवस्था र सीमावर्ती सुरक्षा सम्वादमा समेत सहज हुने कुरा सकारात्मक रहेको उहाँले बताउनुभयो । अहिलेको ऐनमा प्रहरी नायब महानिरीक्षक प्रमुख हुने व्यवस्था छ । 

काठमाण्डौँ  ः     शेयर कारोबार उत्पादनमूलक नभएको भन्दै प्रतिनिधिसभाको आजको बैठकमा सरकारको ध्यानाकर्षण भएको छ । सांसद प्रेम सुवालले शेयर बजार उत्पादनमूलक नभएको भन्दै किन त्यस्तो भएको होला भनेर जिज्ञासा राख्नुभएको हो ।      उहाँले नेपाल धितोपत्र बोर्ड परिसरमा शेयर बजार सुधारको माग राख्दै भइरहेको आमरण अनशनका बारेमा पनि अर्थमन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । सांसद सुवालले लिखित परीक्षाविना नै शेयर ब्रोकरहरु थप्ने काम भएको भन्दै त्यसमासमेत सुधारको माग गर्नुभयो । 

काठमाण्डौँ :         राष्ट्रिययसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष प्रस्तुत गर्नुभएको छ ।    सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले एउटा सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने र अर्को स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्ने गरी दुई दृष्टिकोण सार्वजनिक गर्नुभएको हो ।    उहाँको पहिलो दृष्टिकोणअनुसार मुलुकका कृषियोग्य जमिन सरकारले किन्ने र त्यसमा केन्द्रले नै काम गरेर आर्थिक विकासमा लाग्ने रहेको छ । “हाल कृषि उत्पादन गरेको २६ लाख हेक्टर जग्गा छ, त्यसलाई सरकारले किनोस्,  किन्नका लागि पैसा चाहिदैन”, गौतमले भन्नुभयो, “त्यही जमिनमा पैसा छ, यसका लागि करिब रु ४०० खर्ब मूल्यमा प्राप्त गर्न सकिने र त्यसबाट ठूलाठूला कृषि फार्म निर्माण गर्न सकिन्छ ।” उहाँले त्यहाँ काम गर्नलाई मानव र जनशक्ति त्यही कृषि क्षेत्रमा नै रहेको र त्यसरी उत्पादन गर्न सके मुलुक आत्मनिर्भर हुने जिकिर पनि गर्नुभयो ।    उहाँको दोस्रो दृष्टिकोण भने हालै चलिरहेको कृषि उत्पादनमा केन्द्रित छ । उहाँले दोस्रो दृष्टिकोण प्रस्तुत गर्दै भन्नुभयो, “यही अवस्थामा जाने हो भने जमिन पालिकालाई प्रदान गरौँ र सामूहिक उत्पादनमा काम गरौँ, त्यसबाट आर्थिक विकास गर्न सकिन्छ ।”    उहाँले यी दुई तरिका अपनाउन सके मात्रै सामूहिक उत्पादन बढ्छ र संविधानले अवलम्बन गरेको समाजवाद उन्मुख राज्यको आधार तयार हुने बताउनुभयो । यसबाट स्थानीय तह सम्पन्न पनि हुने र सङ्घीयताको संरचनाको आधार पनि तयार हुने उहाँको निष्कर्ष छ ।    मुलुकमा सबैभन्दा ठूलो उत्पादनको साधन कृषिबाहेक अरु कुनै हुन नसक्ने जिकिर गर्दै गौतमले विनियोजन विधेयक हेर्दा एउटा पनि कार्यक्रम समाजवाद उन्मुख नभएको भन्दै आलोचना गर्नुभयो । आर्थिक, सामाजिक रुपान्तरणबाट समृद्ध समाजवाद निर्माण गर्ने कुरामा दृष्टिकोणको नै अभाव रहेको उहाँले बताउनुभयो । उहाँले कृषि क्षेत्रबाटै सबै कुरा प्राप्त हुने हुँदा साच्चिकै विकास गर्न कृषि क्षेत्रमा काम गर्नुपर्ने टड्कारो आवश्यकता रहेको औँल्याउनुभयो ।    कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बजेट अपर्याप्त छुट्ट्याइएको उल्लेख गर्दै उहाँले कार्यक्रम लागू हुनेमा नै आशङ्का व्यक्त गर्नुभयो ।