काठमाण्डौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३.३३ अङ्कले उकालो लागेर दुई हजार ४३.९२ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.६९ अङ्कले उकालोे लागेर ३८८.९१ मा पुगेको छ । कूल २२८ कम्पनीको ६२ लाख ६३ हजार ३१० कित्ता शेयर रु दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार ७०१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ०.७३, निर्जीवन बीमा ३५.०३ र सामूहिक लगानी कोष ०.०८ अङ्कले ओरालो लागेको छ । त्यस्तै व्यापार १.१३, होटल तथा पर्यटन १६.२२, विकास बैंक ७२.७५, जलविद्युत् ३३.८४, वित्त ४२.१३, उत्पादन २०.७२, अन्य २१.६८, लघुवित्त १०.६३, जीवन बीमा २६६.३२ र लगानी ०.२२ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब १५ अर्ब १५ करोड १९ लाख ७० हजार ३३६ बराबर पुगेको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु ११ करोड ७२ लाख ८० हजार ३३० बराबरको कारोबार भयो । यस्तै लाइफ इन्स्योरेन्स कर्पोरेशन रु ११ करोड ५३ लाख ४६ लाख ४७७, सिभिल बैंक रु १० करोड ५४ लाख ३६ हजार २३८, हिमालयन डिस्टिलरी रु नौ करोड २६ लाख ७१ हजार ७५३ र माथिल्लो तामाकोसी रु आठ करोड ६९ लाख २१ हजार ४७४ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने सिवाइसिएल लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतले कमाए । तेह्रथुम पावर कम्पनी ७.७८, सिभिल बैंक सात, रिलायन्स फाइनान्सका लगानीकर्ताले ६.४२ प्रतिशतले कमाए । त्यस्तै एनसिसी बैंकको ऋणपत्र ५.८९, स्वाभिमान लघुवित्त ५.६८, सिटिजन म्युचुअल फण्ड दोस्रो ५.२८, किसान लघुवित्त ४.३० र सिटिजन म्युचुअल फण्ड पहिलोका लगानीकर्ताले ३.५१ प्रतिशतले गुमाए ।
काठमाण्डौँ: सरकारले यही असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इद (इद उल अजहा) का दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । विसं २०७८ फागुन २६ गते नेपाल राजपत्रमा प्रकाशित सूचनामा बकर इदका अवसरमा सार्वजनिक बिदा दिने उल्लेख थियो ।
काठमाण्डौँ: देशभरकै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री आज मधेस प्रदेशको राजधानी जनकपुरधाम आउन लागेका छन् । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको आमन्त्रणमा छवटै प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री, सो मन्त्रालयका सचिव तथा मुख्यन्यायाधिवक्ताको टोली जनकपुरधाम आउन लागेको हो । गृह तथा सञ्चार मन्त्रालयद्वारा जनकपुरधामा आयोजना हुने शान्तिसुरक्षा तथा विपद् व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदान कार्यक्रमका लागि सबै प्रदेशका गृहमन्त्रीको नेतृत्वमा टोली आउन लागेको मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले जानकारी दिनुभयो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको प्रमुख आतिथ्यमा बिहीबार जनकपुरधामस्थित सीताशरण होटलमा सो कार्यक्रम आयोजना हुने मन्त्री साहले बताउनुभयो । सो छलफलबाट आउने निष्कर्षका आधारमा जनकपुरधाम साझा प्रतिबद्धतापत्र जारी गर्ने कार्यक्रम तय भएको मन्त्री साहको भनाइ छ । बिहीबार बिहान जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गर्ने गृहमन्त्रीहरुको टोलीले दिउँसो जयनगर–कुर्था रेलमा यात्रा गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । आज बेलुका ६ बजेसम्म जनकपुरधाम पुग्ने सबै प्रदेशका गृहमन्त्रीसहितको टोली आज साँझ जनकपुरधामस्थित गङ्गासागर पोखरीमा नियमित हुँदै आएको महागङ्गा आरतीमा सहभागी हुने कार्यक्रम तय भएको छ । यस्तै टोलीले यही असार २४ गते बिहान धनुषाधामस्थित धार्मिकस्थलको भ्रमण गर्ने र उहाँहरुलाई मायाको चिनो प्रदान गरी बिदाइ गर्ने कार्यक्रम रहेको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिनुभयो ।
लमजुङ्: यहाँ बाढीपहिराले २१ घर उच्च जोखिममा परेको छ । क्व्होलासोंथर गाउँपालिका–६ पसगाउँ उपल्लो टोल पहिरोको जोखिममा परेको छ । वडाध्यक्ष मनलाल गुरुङले भन्नुभयो, “१५ गते ठूलो वर्षापछि पहिरो गएको थियो, सो पश्चात् पटक पटक थप पहिरो जाँदा बस्ती नजिकै आइपुग्दा घरहरु जोखिममा परेको छ ।” वडा कार्यालयका अनुसार भिरालो जमिनमा बस्ती रहेकाले झन् बढी जोखिम रहेको छ । “निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका गह्राहरु सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरा जाने सक्ने सम्भावना छ,” उहाँले भन्नुभयो । पहिराले बस्ती जोखिम बनाएका बारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङको भनाइ छ । सो पश्चात् गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङ लगायतको टोलीले समेत अनुगमन गरेर गएको थियो । अनुगमनपश्चात् उहाँले दक्ष प्राविधिक ल्याएर पहिराको थप अनुसन्धान गरेर रोकथाम गर्ने आश्वासन दिएको स्थानीयको भनाइ छ । यहाँ दैनिक जसो पानी परिरहँदा स्थानीयहरु भने त्रसित हुने गरेका छन् । उक्त घरका १५० भन्दा बढी स्थानीय पहिराको चिन्तामा छन् ।
काठमाण्डौँ: नेपाल रेडक्रस सोसाइटीले कार्यालयमा गरिएको तोडफोडको भत्र्सना गरेको छ । सोसाइटीले आज पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले तोडफोड गरेको आरोप लगाउनुभएको छ । उहाँले मङ्गलबार निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले केन्द्रीय कार्यालयमा आई तोडफोड गरेको आरोप लगाउनुभयो । “निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित होइन्”, उहाँले भन्नुभयो, “हामी रेडक्रसको साखलाई उच्च राख्न चाहान्छौँ ।” सरकारले डा तिम्सिनाको कार्यकाल सकिएपछि गत जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको छ । उक्त समितिलाई तीन महिनाभित्र निर्वाचन गराउन सरकारले निर्देशन दिएको छ । रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताउनुभयो । उहाँका अनुसार मङ्गलबार दिउँसो १ः३० बजे निवर्तमान अध्यक्ष डा तिम्सिनाको नेतृत्वमा आएको समूहले महामन्त्री, उपमहामन्त्री लगायतको कार्यकक्ष तोडफोड गरेका छन् ।
ताप्लेजुङ: निरन्तर वर्षा भएसँगै ताप्लेजुङमा ४५ प्रतिशत धान रोपाइँ सकिएको छ । असारको तेस्रो सातासम्ममा ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । लेकाली तथा बाँझो जमिनमा धान रोपाइँ सम्पन्न भएको हो । रोपाइँ सुरु गर्ने समयदेखि नै वर्षा भएकाले जिल्लाका किसानले अहिले पनि सहजरुपमा रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्र सम्पर्क कार्यालयका प्राविधिक सहायक केदार धितालले बताउनुभयो । उहाँका अनुसार गत वर्षभन्दा यस वर्ष समयमै सहजगरी किसानले रोपाइँ गर्न पाएका छन् । हालसम्ममा धानखेती हुने लेकक्षेत्र र बाँझो खेतमा करिब किसानले रोपाइँ गरिसकेका उहाँको भनाइ छ । हिमाली जिल्ला भएकाले ताप्लेजुङमा जेठको दोस्रो सातादेखि नै रोपाइँ सुरु गर्ने गरिएको छ । यसपाली जेठ मसान्तभित्रै जिल्लामा करिब १५ प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । बाँझो खेतमा रोपाइँ सकेर मकैखेती गरिएको ठाउँ अर्थात् औल क्षेत्रतिर यतिबेला रोपाइँ गर्न थालिएको छ । सदरमुकामस्थित फुङ्लिङ नगरपालिका, तथा सिदिङ्वा, पाथीभरा याङ्वरक, मिक्वाखोला, मैवाखोला, फक्ताङ्लुङ, सिरिजङ्घा, मेरिङ्देन र आठराई त्रिवेणी गाउँपालिकामा किसानले धमाधम रोपाइँ गरिरहेका कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लाको नौवटा स्थानीय तहका ६१ वडामध्ये उच्च हिमाली क्षेत्रका केही वडामा धानखेती गरिँदैन । बाँकी सबै क्षेत्रमा धानखेती अर्थात् रोपाइँ गर्ने गरिएको छ । कृषि ज्ञान केन्द्रका अनुसार सिङ्गो जिल्लाको खेतीयोग्य जमिन २७ हजार ५५१ हेक्टर क्षेत्रफलमध्ये हाल आठ हजार ७३७ हेक्टरमा धानखेती गरिँदै आएको छ ।
काठमाडौं: प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदमा अर्थमन्त्री जनार्दन शर्माको स्पष्टीकरण सुन्न अस्वीकार गरेको छ । प्रतिनिधिसभा बैठक बस्नुअघि सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमा भएको छलफलमा माओवादी नेताहरुले अर्थमन्त्रीलाई बोल्न दिन प्रस्ताव गरेका थिए माओवादीको बैठकमा पनि अर्थमन्त्री बोलेपछि संसदीय समिति बनाउन सकिने विषयमा छलफल भएको थियो । त्यसअनुसार नै माओवादी नेताहरुले अर्थमन्त्रीलाई सुनौं, त्यसपछि कसरी जाने भनेर छलफल गरौंला भनेका थिए । तर एमाले नेताहरुले अर्थमन्त्रीलाई बहिस्कार गर्दै आएकाले स्पष्टीकरणको मौका दिन नसक्ने बताएका छन् । एमाले सहमत नभएपछि अहिले सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच छलफल भइरहेको छ ।
बागलुङ: मानो रोपेर मुरी उब्जाउने समयमा बाढीले भर्खर धान रोपेको खेत पुरेको छ । बागलुङमा अविरल वर्षाका कारण ठूलोमात्रामा भौतिक क्षति पुगेको छ । बागलुङ नगरपालिका–९ तित्याङमा धान रोपेको खेत बाढीले बगर बनाएको छ । तित्याङस्थित ठेउरे खोला थुनिएर इकिमको फाँटमा पुग्दा १५० रोपनीभन्दा बढी खेतमा लगाएको धानबाली पुरेको छ । किसानले यही असारमा लगाएको धानबाली पुरेर खेत बगरमा परिणत भएको किसान शङ्कर पाण्डेयले जानकारी दिनुभयो । उहाँका अनुसार १०० जनाभन्दा बढी किसानको खेत बाढीले पुरेको छ । भर्खर रोपेको धानबालीसहित खेत पुरेपछि यहाँका किसान निरास बनेका छन् । “खेत पुरेको मात्रै छैन, सानासाना खेतका गरा भत्काएको छ, तत्कालै खेत चिनेर बाढी पन्छाउन सम्भव देखिँदैन”, उहाँले भन्नुभयो, “भिरालो जमिनमा खेत रहेकाले मेसिनको प्रयोग गर्नसमेत समस्या हुन्छ ।”
उदयपुर: जिल्लाको उत्तरी पहाडी क्षेत्रको लिम्चुङबुङ गाउँपालिकाले स्थानीय क्षेत्रमा पाइने महत्वपूर्ण तथा उपयोगी वनस्पति र हिजोआज लोप हुँदै गइरहेको महत्वपूर्ण वृक्ष चिउरी संरक्षणका लागि एक वर्षभित्र एक लाख बिरुवा रोप्ने अभियान सञ्चालन गरेको छ । गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार पालिकाले लोपोन्मुख चिउरी संरक्षणका लागि मात्र झन्डै रु एक करोड ५० लाख बजेट विनियोजन गरिसकेको जानकारी दिनुभयो । आगामी आर्थिक वर्षबाट चिउरीको वृक्षरोपण गर्ने र त्यसपछिका वर्षसम्ममा पालिकाका सबै वडाहरुका गाउँ र टोलटोलमा एक लाख बराबर बिरुवा रोपिने अध्यक्ष राईले बताउनुभयो । उहाँले भन्नुभयो, “चिउरी र हाम्रो पुर्खाहरुको साइनो धेरै पुरानो हो, हिजो हाम्रा पुर्खाहरुदेखि नै गाउँघरमा चारैतिर पाइने र संरक्षण गर्दै आएको चिउरी लोप हुने अवस्थामा पुगेको छ, चिउरीको फलको रस हाम्रो नसानसामा छ, यस कारण पनि यसको संरक्षणका लागि पालिकाले बजेट नै व्यवस्थापन गरेको हो ।” सो पालिकाका उपाध्यक्ष पुष्पलाल राईका अनुसार चिउरी संरक्षण गर्ने अभियान पालिकाले यस पटकदेखि सञ्चालन गरेको र यसका धेरै फाइदा रहेको बताउनुभयो । वातावरण तथा पर्यावरण सन्तुलनका लागि गाईवस्तुलाई घाँस र मौरीपालनका लागि चिउरी अति नै उपयोगी हुने कारण पालिकाले अब लोपोन्मुख हुँदै गइरहेको चिउरी संरक्षणका लागि बजेट नै व्यवस्थापन गरेर बिरुवा रोप्ने अभियान सुरु गरेको उहाँको भनाइ छ । चिउरीका बिरुवा हुर्काउनका लागि पालिकाको वडा नं ४ जाँते, १ बराह र ३ ताम्लीछामा कृषि प्राविधिकको सल्लाह तथा सहयोगमा नर्सरी प्लान्ट निर्माण गरिने पालिकाले जनाएको छ ।

