सिन्धुपाल्चोक : थुनामा रहेका एक कैदीको मृत्यु भएको छ । जबरजस्ती करणी र ज्यान मार्ने अभियोगमा पुर्पक्षका लागि थुनमा रहेका पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का ४९ वर्षीय मइते गोलेको मृत्यु भएको हो । आज बिहान रिङ्गटा लागेर ढलेका गोलेलाई उपचारका लागि चौतारा अस्पताल लगिएको केही समयमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रामेश्वप्रसाद चौधरीले जानकारी दिनुभयो । गत कात्तिक महिनामा प्रहरीले गोलेलाई पक्राउ गरी थुनामा राखेको थियो । मृतकको आफन्त आइपुगेपछि शवपरीक्षण गरिने अस्पतालले जनाएको छ ।
काठमाण्डौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जनताको चाहनाअनुसार विकासका गतिविधि अगाडि बढाउनुपर्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–१२ ठेचोस्थित सर्वेश्वर बहुउद्देश्यीय हलको उद्घाटन तथा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “जनता सहमत नभएको भौतिक विकास गर्न हुन्न । विकास जनताका लागि हो भन्ने विषयलाई बुझ्नुपर्छ ।” ललितपुरका हरेक घरमा पुग्ने सडक कालोपत्र हुनेगरी विकास गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा जनताको चाहनाअनुसार विकासका गतिविधिलाई तीव्र गतिमा अगाडि बढाउने विश्वास दिलाउनुभयो । उहाँले शिक्षा र स्वास्थ्यका क्षेत्रमा सरकारी निकाय नै सक्षम रहेको बताउँदै त्यस्ता निकायको सुविधाको उपयोग गर्न आम जनतालाई आग्रहसमेत गर्नुभयो । मन्त्री भुसालले भन्नुभयो, “जिल्ला अस्पतालले राम्रो सेवा दिन्छ, सबै प्रकारको उपचार हुन्छ, यहाँका जनतालाई महँगो निजी अस्पताल जानुपर्ने बाध्यता छैन ।” त्यसैगरी स्थानीय सरकारी विद्यालयमा निजीकोभन्दा गुणस्तरीय शिक्षा उपलब्ध गराउन सकिने विश्वास व्यक्त गर्दै उहाँले आगामी दिनमा सरकारी विद्यालयलाई जिम्मेवार बनाएर गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । शिक्षासँगै सीप र व्यावसायिक क्षमता विकास गर्नुपर्ने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “स्थानीय वडाले महिलालाई सीप उपलब्ध गराएर आयआर्जन गर्न सक्ने बनाउनुपर्छ । त्यसका लागि सहयोग गर्न तयार छु ।” आफूले ऊर्जा मन्त्रालय सम्हालेपछि ललितपुरका सिँचाइ नभएको स्थानमा सिँचाइ उपलब्ध गराएको र भू–क्षयको नियन्त्रणको विषयलाई विशेष प्राथमिकता दिएर बजेट र कार्यक्रम उपलब्ध गराएको उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सांसद राजकाजी महर्जनले प्रदेश सरकार र सङ्घीय सांसद भुसालको सहयोगमा निर्माण भएको बहुउद्देश्य हलबाट स्थानीयले महत्वपूर्ण लाभ लिनसक्ने बताउनुभयो । उहाँले स्थानीय समुदायको प्रतिनिधिमूलक संस्थाले सम्पूर्ण व्यवस्थापन, मर्मतसम्भार एवं उचित हेरविचार गर्ने विश्वास व्यक्त गर्नुभयो ।
चितवन : नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५ प्रतिशत छुटसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा अस्पतालका तर्फबाट निर्देशक प्रा डा दयाराम लम्साल र सङ्घका तर्फबाट अध्यक्ष कुसुमलता सिंहले हस्ताक्षर गर्नुभएको छ । प्रहरी वरिष्ठ उपरीक्षक पोषराज पोखरेल, प्रहरी उपरीक्षक नवराज अधिकारी, अस्पतालका प्रमुख प्रशासक प्रताप देवकोटालगायतको उपस्थितिमा भएको सम्झौतामा उपचार सेवाहरुमा २५ प्रतिशत र औषधिमा सात प्रतिशत छुट दिने उल्लेख छ । सम्झौताअनुसार नेपाल प्रहरी र पूर्वप्रहरीसहित उनीहरुका परिवार र अमर प्रहरीका परिवारलाई सङ्घले उपलब्ध गराएको परिचयपत्रका आधारमा चितवन मेडिकल कलेजमा उपचार गराउँदा यो सुविधा उपलब्ध गराइने भएको छ । सम्झौताअनुसार सडक दुर्घटना, कस्मेटिक सर्जरी, दाँतको उपचारलगायत प्रहरी कार्यालयमा मुद्दा दर्ता गर्दा हुने उपचारमा भने यो सम्झौता लागू हुनेछैन । यसैगरी नेपाल सरकारको स्वास्थ्य बीमा उपयोग गर्नेहरुलाई पनि यो सम्झौता लागू नहुने अस्पतालका प्रमुख प्रशासक देवकोटाले बताउनुभयो । अस्पतालमा बहिरङ्ग (ओपिडी) र आकस्मिक (इमर्जेन्सी)को टिकट लिएपछि मात्रै यो सम्झौता लागू हुने उहाँले जानकारी दिनुभयो । सङ्घका अध्यक्ष सिंहले सङ्घले नेपालका कुनै पनि क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्दा अस्पतालले चिकित्सकसहितको प्राविधिक सहयोग गर्ने सम्झौता भएको बताउनुभयो । उहाँले यो सम्झौताले नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारलाई उपचारमा सहज हुने अपेक्षा गर्नुभयो । सङ्घले नेपालमै पहिलो पटक चितवन मेडिकल कलेजसँग यस्तो सम्झौता गरेको अध्यक्ष सिंहले बताउनुभयो । नेपालका जुनसुकै ठाउँमा रहेर पनि सङ्घले उपलब्ध गराएको परिचयपत्रसहित उपचारका लागि आएमा यो सुविधा उपयोग गर्न पाइने भएको छ । यो सम्झौता आउँदो साउन १ देखि २०८१ असार ३० गतेसम्म लागू हुने र पुनः नवीकरण गर्न सकिने जनाइएको छ । प्रमुख प्रशासक देवकोटाले नेपालको मध्यभागमा रहेर अत्याधुनिक उपकरणसहित अतिविशिष्ट सेवाहरुसमेत दिँदै आएको अस्पतालप्रति धेरैको विश्वास बढेको बताउनुभयो । आगामी दिनमा स्वास्थ्य सेवालाई अझै परिस्कृत र सरलीकृत गर्दै उत्कृष्ट सेवा दिँदै जाने प्रतिबद्धता उहाँले जनाउनुुभयो ।
पोखरा : शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण पोखरा २५ हेम्जाको सुइँखेत फाँटका घरहरु डुबानमा परेका छन् । पोखरा महानगरपालिका २५ का वडाध्यक्ष मोतीराज तिमिल्सिनाका अनुसार ६०० घर प्रभावित भएका छन् । थुप्रै घरका मानिसलाई अन्त सार्नुपरेको वडाध्यक्ष तिमिल्सिनाले जानकारी दिए । घर गोठ र कृषि फर्महरु बाढीको डुबानमा परेका छन् । वरिपरिका डाँडाबाट पहिरो पनि खसेको छ । राति ११ बजेदेखि नै घरहरु डुबानमा परेर ती घरका मानिसहरु आफन्तकहाँ र वरपरका सार्वजनिक स्थानमा सर्नुपरेको जानकारी वडाध्यक्ष तिमिल्सिनाले दिए । सुइँखेत खोलामा आएको ठूलो बाढीले निकास नपाउँदा फाँटका घरहरु पुरिएका थिए । अहिले भने विस्तारै पानी घट्दै गइरहेको वडाध्यक्ष तिमिल्सनाले बताए । यस्तै, पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलास्थित खोलाखेतमा रहेको एक घर पहिरोले बगाएको छ । मानवीय क्षति भने भएको छैन । अन्य क्षेत्रका पनि सडक बगाएको छ । यातायात अबरुद्द भएको प्रहरीले जनाएको छ ।
पोखरा : पोखरा महानगरपालिकाले आउँदो आर्थिक वर्षका लागि ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार रुपैयाँको बजेट ल्याएको छ । उपमेयर मञ्जुदेवी गुरुङले ११ औं नगरसभामा शुक्रबार बजेट सार्वजनिक गरेकी हुन् । चालु आर्थिक वर्षमा ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरिएको थियो । यसअघि बजेट प्रस्तुत हुनअगाडि नै रातो किताब प्रकाशन गरिएको भन्दै एमालेबाट निर्वाचित जनप्रतिनिधिले नगरसभा बहिष्कार गरेका थिए । एमालेका प्रतिनिधि र मेयर–उपमेयरबीचको वार्तापछि नगरसभा शुक्रबार बेलुकी ७ बजे पुनः भएको हो । मेयर र प्रमुख प्रशासकीय अधिकृतले माफी मागेपछि बजेट प्रस्तुत गर्न एमाले राजी भएको थियो । बजेटमा संघीय सरकारको अनुदानबाट २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदानबाट ११ करोड २८ लाख २० हजार, आन्तरिक आयबाट ३ अर्ब १ करोड, संघीय राजस्व बाँडफाँटबाट ३७ करोड ३७ लाख, प्रदेश राजस्व बाँडफाँटबाट १ करोड ४२ लाख ५२ हजार स्रोत व्यवस्था हुने उल्लेख छ । यसो गर्दा २ अर्ब ४० करोड ८१ लाख ८३ हजार कम हुने देखिन्छ । न्यून बजेट चालु आर्थिक वर्षको अन्त्यमा बचत हुने रकमबाट ब्यहोर्ने उपमेयर गुरुङले बताइन् ।
पोखरा : पोखरा महानगरपालिकाको नगरसभा नेकपा (एमाले) ले बहिष्कार गरेपछि सभामा बजेट प्रस्तुत गर्ने कार्य रोकिएको छ । पोखरा सभागृहमा साँझ ४ः०० बजे उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै विरोध गरेपछि बजेट प्रभावित भएको हो । एमालेबाट निर्वाचित नगरसभा सदस्यहरूले आफूहरूको अधिकार कुण्ठित गर्ने गरी बजेट पुस्तिका प्रकाशन गरिएको भन्दै नाराबाजीसहित सभा बहिष्कार गरेपछि महानगर प्रमुख धनराज आचार्यले केही समयका लागि सभा स्थगन गर्नुभएको छ । एमालेका तर्फबाट दलका नेता राधिका योगी शाहीले आज बजेट पेश गर्ने र रातो किताब नगर सदस्यले छलफलपछि मात्र ल्याउने बिहीबार सहमति भए पनि छलकपट गरेर पुस्तिका ल्याइएपछि बहिष्कार गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरसभा सदस्यहरूको अधिकार हनन गरेर रातो किताब निकालिएको छ । यसमा नगरका योजना समावेश छैनन्, त्यसैले हामीले बहिष्कार गरेका छौँ ।” महानगर प्रमुख आचार्यले भने बजेट कार्यक्रमको मस्यौदा (ड्राफ्ट) मात्र तयार गरिएको र बजेट पुस्तिका प्रकाशित नगरिएको दाबी गर्नुभयो । उहाँले विषयगत समितिमा भएको छलफलको अन्तिम रूप दिन बाँकी रहेकाले संशोधन गर्ने गरी हाललाई मस्यौदा मात्र बनाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “लिजा (स्थानीय तह स्वमूल्याङ्कन प्रणाली)मा चढाउनका लागि लेखा शाखाले नियमित कामका क्रममा बजेट ड्राफ्ट तयार गरेको हो । रातो किताब छापेका छैनौँ ।” एमालेबाट निर्वाचित सदस्यहरूले नगरसभा बहिष्कार गरेर बजेट रोकिएपछि महानगर प्रमुख आचार्यले सहमतिका लागि छलफल सुरु गरिएको बताउनुभयो । सहमति गरेर आजै बजेट प्रस्तुत गरिने आचार्यले बताउनुभयो ।
काठमाण्डौँ : ‘उत्कृष्ट शिक्षा नेपालमै’ भन्ने नारासहित उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल र कान्तिपुर पब्लिकेसन्सको आयोजनामा आजदेखि चारदिने ‘सातौँ कान्तिपुर हिसान एडुफेयर–२०२२’ भृकुटीमण्डपमा सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले मेलाको शुभारम्भ गर्दै उच्च शिक्षामा नाममा विदेशमा गएर पढ्ने प्रवृत्ति कम गराएर पुँजी पलायन रोक्नुपर्छ भन्नुभयो । उहाँले विदेशमा अध्ययनका लागि अनुमतिपत्र (एनओसी) लिने वार्षिक एक लाख ११ हजार विद्यार्थी रहेकामा त्यो क्रम रोक्न ‘प्लस टु’ शिक्षाले योगदान दिनसक्ने बताउनुभयो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले शिक्षामा सार्वजनिक–निजी साझेदारीको अवधारणाबाट काम गर्न सकिएमा गुणस्तरीय शिक्षा स्वदेशमै सम्भव हुन्छ भन्नुभयो । हिसानका अध्यक्ष रमेशकुमार सिलवालले उच्च शिक्षाका नाममा ठूलो धनराशि विदेश जानबाट जोगाउन तथा विद्यार्थी, अभिभावक र शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई एकै छानामुनि गुणस्तरीय शिक्षाका बारेमा विस्तृत परामर्श दिन मेलाले सघाउने जानकारी दिनुभयो । मेलाका संयोजक युवराज शर्माले मेलामा विभिन्न ७४ शैक्षिक संस्थाका प्रदर्शनी कक्ष रहनेछन् । मेलामा करिब दुई लाखले भ्रमण गर्ने अनुमान गरिएको छ ।
काठमाण्डौँ : प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताउनुभएको छ । उहाँले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र प्राथमिकतालाई पहिल्याइ जनशक्ति तयार गर्नेतर्फ केन्द्रित हुनुपर्नेसमेत बताउनुभएको छ । प्रधानमन्त्री देउवाले आज लुम्बिनीमा आयोजित लुम्बिनी बौद्ध विश्वबिद्यालयको द्वितीय दीक्षान्त समारोहलाई सम्बोधन गर्नुहुदै बुद्धले प्रतिपादन गर्नुभएको आर्यअष्टाङ्गिक मार्गलगायतका सूत्रात्मक शिक्षा आजको २१ औँ शताब्दीमा पनि महत्वपूर्ण रहेको बताउनुभयो । “यसैले पनि आज संसारभर बौद्ध दर्शनको अध्ययन–अध्यापनलगायतका बुद्धद्वारा प्रतिपादित शिक्षाको अभ्यास केन्द्र स्थापना हुने क्रम उल्लेख्यरुपमा बढ्दै गएको छ”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र रहेको बताउँदै यो गौरव हामीले हासिल गरेका छौँ भन्नुभयो । उहाँले बौद्ध दर्शन, कला, शिक्षा, साहित्य तथा संस्कृतिको मूल स्रोतका रुपमा आफूलाई सिद्ध गर्नुपर्ने चुनौती पनि हामीमा रहेको बताउनुभएको छ । “सम्भावना र चुनौतीको यो संयोगले हामीलाई अझै बढी वैज्ञानिक, व्यवस्थित र युगानुकूल हुन ऊर्जा दिइरहन्छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्री देउवाले बौद्ध विविधतालाई समाजको सकारात्मक रुपान्तरणसँग जोड्दै समाजको सिर्जनशील सदस्यका रुपमा आफूलाई स्थापित गर्न दीक्षित अग्रसर रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अध्यात्मको आलोकमा प्रकाशित तपाइँहरुको व्यावसायिक शिक्षा समाजिक सद्भाव, शान्ति र आर्थिक उन्नयनका लागि विशिष्टरुपमा प्रदिप्त भएको देख्न पाउनेमा आशा व्यक्त गर्दछु ।” उहाँले मुलुक निर्माणको साझा कर्तव्य पूरा गर्न वैज्ञानिक अनुसन्धानद्वारा बौद्ध, कला, साहित्य पुरातत्व आदि समग्र क्षेत्रको विश्वव्यापी प्रवद्र्धन गर्न बौद्ध विश्वविद्यालयका विद्यार्थीमा अझै तीव्र उत्साह भरिएकोमा आफू विश्वस्त रहेको बताउनुभयो । “नखोजिएका पुरातात्विक सम्पदा खोजौँ, सांस्कृतिक विरासतको समृद्धि फैलाऔँ र ऐतिहासिक नेपाली माटोको मौलिक दर्शनलाई विश्वबन्धुत्वका लागि फैलाऔँ भन्ने गम्भीरता तपाइँहरुमा उद्भव भएको छ भन्ने विश्वाससमेत लिएको छु”, प्रधानमन्त्री देउवाले भन्नुभयो । प्रधानमन्त्री देउवाले लुम्बिनी बौद्ध विश्वविद्यालय बुद्ध जन्मस्थल लुम्बिनीमै हुनु भनेको विश्वविद्यालयको अपूर्व महत्व रहेको बताउँदै यस विश्वविद्यालयले बौद्ध अध्ययनका विभिन्न विधाको अध्ययन अध्यापन गराउनुका साथै दैनिक जीवन एवं चिन्तनशैलीको अभिन्न अङ्ग हुने गरी बौद्ध शिक्षाको देशव्यापी प्रचारप्रसारबाट समृद्ध मुलुक निर्माणको अभियानलाई सार्थकता दिन शिक्षाले महत्वपूर्ण भूमिका निभाउनुपर्नेमा जोड दिनुभयो । यसका साथै उहाँले बौद्ध पर्यटनका क्षेत्रमा आवश्यक जनशक्ति उत्पादन गरी बौद्ध रोजगारीलाई प्रश्रय दिने किसिमका नीति बनाउँदै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले विश्वविद्यालयमा हाल सञ्चालनमा रहेका कार्यक्रमको उत्कृष्टता खस्कन नदिई थप समयसापेक्ष र जीवनपयोगी बनाउँदै लैजान आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “बौद्ध शास्त्रीयताका संस्कृतिको संयोजनद्वारा समकालीन विश्वका सैद्धान्तिक समस्याको उत्तर खोज्ने दिशामा अग्रसर हुन ढिलाइ गर्नुपर्ने कुनै कारण देखिँदैन ।” प्रधानमन्त्री देउवाले नेपालले दिगो पर्यटन विकासका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाइसकेको परिप्रेक्ष्यमा यस विश्वविद्यालयले बौद्ध शिक्षाका माध्यमद्वारा सरकारले अङ्गीकार गरेका वातावरण तथा दिगो विकास नीतिलाई सहायकसिद्ध हुने गरी दिगो विकाससम्बन्धी अध्ययन, अध्यापन तथा अनुसन्धानमा लाग्न आग्रह गर्नुभयो । उहाँले शाक्यमुनिले ४५ वर्ष अनवरत गर्नुभएको ज्ञानमय यात्रा आजको विश्वमा पनि सान्दर्भिक रहेको बताउनुभयो । विश्वविद्यालयले आपूmलाई बौद्ध दर्शन तथा शिक्षा पद्धतिको अध्ययन अध्यापनमा थप आकर्षक एवं अनुसन्धानमुखी कार्यक्रमसहितको अन्तर्राष्ट्रिय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । प्रधानमन्त्री देउवाले लामो इतिहासदेखि प्रचलनमा रहेका बौद्ध परम्परा तथा संस्कृति विश्वकै मानवशास्त्री तथा बौद्ध अध्येताका लागि सदैव चासोको महत्वपूर्ण सम्पदाका रुपमा रहेको बताउनुभयो । प्रधानमन्त्री देउवाले मुलुक राज्य पुनःसंरचनासँगै सङ्घीयताको कार्यान्वयको चरणमा रहेको अवस्थामा सबै पक्षले विश्वविद्यालयलाई विशिष्टीकृत नमूना विश्वविद्यालयको रुपमा स्वीकार गरी त्यसैअनुसार विकास गर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभयो । यसका लागि ऐनले परिकल्पना गरेअनुरुप बौद्ध विपुलताको विश्वव्यापीकरणका लागि सीपयुक्त शैक्षिक जनशक्ति उत्पादन गर्न सरकारले विश्वविद्यालयलाई निरन्तर सहयोग गर्ने र विश्वविद्यालयले पनि आफ्नो गन्तव्यको स्पष्टता बोध गरी समयानुकुल जनशक्ति उत्पादनमा अनवरतरुपमा लाग्न आग्रह गर्नुभयो ।
काठमाण्डौँ : बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै यातायातको भाडा समायोजन गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घको सातौँ महाधिवेशन तथा १५ औँ साधारणासभाको आज यहाँ उद्घाटन गर्दै अन्तर्राष्ट्रियरुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि मूल्यवृद्धि गर्नुपर्ने बाध्यता भएको प्रस्टयाउनुभयो । आवश्यकताको आधारमा यातायातको भाडा वृद्धि गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै अब विद्युतीय यातायात सञ्चालन गर्ने प्रक्रिया पनि अगाडि बढेको छ, त्यसको लागि सुरुमा चार्ज स्टेशनको व्यवस्था गर्ने र त्यसपछि मात्रै त्यहीअनुसार ट्याक्सीको व्यवस्था गरिने छ ।” महासङ्घले भारतीय ट्रक नेपाल आगमनलाई व्यवस्थित गर्नुपर्ने, पट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै समयअनुकुल भाडादर वृद्धि गर्नुपर्ने, काठमाडौँ उपत्ययकाभित्र ट्रक पार्कको व्यवस्था गर्नुपर्ने, दुर्घटनापछिको समस्यालाई सहज बनाउनुपर्ने र जाँचका क्रममा सुरक्षा निकायबाट हुने अनावश्यक कष्ट हटाउनुपर्नेलगायतका माग गरेको छ । “अहिले बागमती प्रदेश सरकारले चालक, सहचालक र केही श्रमिकको लागि ‘सवारी कसरी चलाउन सकिन्छ’ भन्ने शीर्षकमा सुरक्षा निकायसहितको अभिमुखीकरण कार्यक्रमको निम्ति बजेटको व्यवस्था गरेको छ”, प्रदेश मन्त्री दाहालले भन्नुभयो । काठमाडौँभित्र ट्रक पार्कको निम्ति जग्गाको समस्या भएको बताउँदै उहाँले हेटौँडामा व्यवस्थित ट्रक पार्कको निम्ति पहल भइरहेको जानकारी गराउनुभयो । महाधिवेशनले २१ सदस्यीय महासङ्घको नयाँ कार्यसमिति चयन गर्नेछ । महाधिवेशनमा महासङ्घमा आबद्ध देशभरका झण्डै ५०० ट्रक व्यवसायीको सहभागिता छ । हाल देशभर ७० हजार ट्रक व्यवसायी छन् भने सो क्षेत्रमा १५ खर्ब लगानी रहेको महासङ्घका महासचिव एवं प्रवक्ता राजेन्द्रविक्रम बानियाँले जानकारी दिनुभयो ।

