काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ ।   यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले ओरालो लागेर ३६२.०९ मा ओर्लेको छ । कूल २३७ कम्पनीको ५० लाख आठ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख १८ हजार बराबर रहेको छ ।   नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१।२९, व्यापार ३९.३९, होटल तथा पर्यटन ६७.१३, विकास बैंक ११९.८६, जलविद्युत् ८६.३६, वित्त ४७.१, निर्जीवन बीमा २१८.०५, उत्पादन ९५.९७, अन्य ३३.१९, लघुवित्त १०२.१५, जीवन बीमा १४३.३८, सामूहिक लगानी कोष ०.२५ र लगानी २.२३ अङ्कले ओरालो लागेको छ ।   कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु नौ करोड ५३ लाख १२ हजार ५१० बराबरको कारोबार भयो । यस्तै लक्ष्मी बैंक रु छ करोड ३६ लाख ८५ हजार ३७५, नबिल बैंक रु पाँच करोड ५३ लाख ६९ हजार ६८७, हिमालयन डिस्टिलरी रु चार करोड ५२ लाख ४२ हजार २८८ र एनआइसी एशिया बैंक रु चार करोड १५ लाख ५९ हजार ४९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार घटेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै एनआइसी ब्यालेन्स फण्ड ३.९४, विन नेपाल लघुवित्त २.७० र गुर्खाज फाइनान्सका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।   यस्तै शिवश्री हाइड्रोपावर ९.५६, लिवर्टी इनर्जी ९.२१, सामलिङ पावर ८.५०, एनआइबिएल प्रगति फण्ड ८.३२ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाए ।

काठमाण्डौँ :    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेटबाट किसानलाई अनुदान दिने कार्यक्रम हटाएर प्रोत्साहन गर्ने नीति लिइएको जानकारी दिनुभएको छ । विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुसहितको प्रतिनिधिमण्डलसँग आज भएको छलफलमा मन्त्री शर्माले साना किसानलाई प्रोत्साहन गर्न सके उत्पादन वृद्धि हुनसक्ने देखेर यस्तो नीति लिइएको प्रष्ट पार्नुभएको थियो ।   “गरिब किसाानले लिने थोरै ऋण पनि पुग्न सकेको छैन । साना किसानले ऋण लिएको छ भने इमान्दारीतापूर्वक फिर्ता गरेको उदाहरण पनि छन्”, उहाँले भन्नुभयो, “तर अनुदान भने वास्तविक र साना किसानसम्म पुगेन ।  त्यसपछि हामीले प्रोत्साहन गर्ने नीति लिएका हौँ ।” उहाँले आगामी आर्थिक वर्षको बजेटबाट कृषिलाई पहिलो प्राथमिकता राखिएको जानकारी गराउँदै दातृ निकायको समेत साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।   किसानको उत्पादन बजारसम्म सहजै पु¥याउनका लागि कृषि एम्बुलेन्सको सुरुआत गरेको उहाँले बताउनुभयो । उहाँले  वार्षिक रु साढे तीन खर्बभन्दा बढीको कृषि वस्तुको आयातलाई प्रतिस्थापन नगरेसम्म व्यापार घाटा कम हुन नसक्ने निष्कर्ष रहेको पनि बताउनुभयो ।   “आयात प्रतिस्थपानका लािग कृषि उपजको उत्पादन बढाउने, औद्योगिक वस्तुको उत्पादकत्व वृद्धि गरी निर्यात प्रवद्र्धन गर्ने र सेवा क्षेत्रसमेत निर्यात गर्ने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो । जमिन, पानी वन तथा समग्र प्राकतिक स्रोतहरुको अधिकतम् उपयोग गरी राष्ट्रिय पूँजी निर्माणमा केन्द्रित गर्न खोजिएको पनि जानकारी गराउनुभएको थियो ।   बजेटले लिएको नीतिकै कारण भारतको हैदरावादमा रहेको दुईवटा सूचना प्रविधिसम्बन्धी विश्वविद्यालय सहकार्य गर्न नेपाल आइसकेको उहाँले जानकारी दिनुभयो । कार्यक्रममा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले खाद्य सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको थियो । उहाँले आर्थिक विकासका लागि कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नु उपयुक्त भएको बताउनुभएको थियो ।

सुर्खेत :      सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ तातापानीस्थित एक टर्की फर्ममा बर्डफ्लु देखिएको पुष्टि भएको छ । केन्द्रीय पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला काठमाडौँमा आज गरिएको परीक्षणबाट उक्त फर्मको टर्कीमा बर्डफ्लु देखिएको पुष्टि भएको हो ।    एक सयबढी टर्की मरेपछि परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । पशुपन्क्षी विकास निर्देशनालय सुर्खेतका प्रमुख प्रचण्ड खड्काले टर्की बर्डफ्लुकै कारण मरेको पुष्टि भएको जानकारी दिनुभयो । बर्डफ्लु पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको बर्डफ्लु नियन्त्रण समितिको आकस्मिक बैठकले चार किल्ला तोकेर टर्की, कुखुरालाई नष्ट गर्न निर्देशन दिएको छ ।   पशुपन्क्षी विकास निर्देशनालयले पशु चिकित्सकसहितको टोली पुगेर बर्डफ्लु देखिएको स्थानदेखि ५०० मिटरसम्म क्षेत्रमा पालिएका पंक्षीलाई नष्ट गर्ने तयारीमा रहेको जनाएको छ । बर्डफ्लु फैलिएको फर्ममा सानाठूला गरी करिब एक हजार ५०० बढी टर्की छन् ।    प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बर्डफ्लु फैलिन नदिन सुर्खेत उपत्यकाका किसानलाई सजग गराइएको बताउनुभयो । उहाँले भन्नुभयो, “आफूले पालेको पंक्षीमा शंकास्पद लक्षण देखिएमा उपभोग तथा बिक्री वितरण रोकेर पशु चिकित्सकलाई खबर गर्न आग्रह गरेका छौँ ।”

काठमाण्डौँ :      प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रियसभामा उत्पत्ति भएको विधेयक प्राप्त नभएको भन्दै प्रश्न उठाएपछि दुई विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव अगाडि बढ्न सकेन ।   बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६’ र ‘लोकसेवा आयोग विधेयक, २०७५’ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो ।   सांसदहरूले ती विधेयक आफूहरूले प्राप्त नगरेको भन्दै आपत्ति जनाएपछि कार्यसूचीबाट ती विषय हटाइयो । त्यसपछि वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्नेसम्बन्धी सम्झौता सदनमा पेश गर्नुभयो ।   सन् २०१२ मा ब्राजिलको  रियो दि जेनेरियोमा सम्पन्न जलवायु सम्मेलनपछि सो इन्स्टिच्युट स्थापना भएको हो । सो इन्स्टिच्युटको केन्द्रीय मुख्यालय दक्षिण कोरियाको सियोलमा छ । त्यसका हालसम्म ४३ देश सदस्य छन् । त्यसको विधानअनुसार सदस्य लिँदा कुनै पनि आर्थिक भार तथा योगदान गर्नु नपर्ने मन्त्री यादवले जानकारी दिनुभयो ।   आर्थिक विकासका लागि जैविक विविधता संरक्षण, वातावरण र विकासबीच  सन्तुलन बनाउने सन्दर्भमा त्यस संस्थामार्फत काम गर्न सकिनेछ । दिगो विकासका लागि मूर्तरुप प्रदान गर्दै विकास र वातावरणबीचको सन्तुलन कायम गर्न पनि त्यसबाट सहयोग लिन सकिने मन्त्री यादवले विश्वास व्यक्त गर्नुभयो ।   नेपालले जलवायुका सम्बन्धमा अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्न सहयोग पुग्ने तथा  लगानी वृद्धि गर्न सहयोग पुग्ने एवं विश्वव्यापीरूपमा सफल अभ्यासको आदान–प्रदान गर्न पनि उपयुक्त माध्यमका रूपमा लिन सकिने भएकाले सो सम्झौता अनुमोदन आवश्यक रहेको मन्त्री यादवको भनाइ थियो ।   नेपालले सदस्यता प्राप्त गर्दा कुनै आर्थिक भार नपर्ने र आरक्षणको व्यवस्थासमेत नरहेको उहाँको भनाइ थियो । मन्त्रिपरिषद्को २०७७  भदौ १ को बैठकले सो सम्झौता अनुमोदनका लागि वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो ।  प्रतिनिधिसभाको अर्को बैठक आजै ३ः४० बजे बस्ने गरी स्थगन भएको छ ।

 कैलाली :     यतिबेला खेतमा व्यस्त हुने कैलालीका किसान रासायनिक मलको अभाव, पर्याप्त वर्षा तथा सिँचाइ व्यवस्था नहुँदा  र खेत जोत्नका लागि इन्धनको सहज आपूर्ति हुन नसक्दा फुर्सदिला देखिएका हुन् ।    पछिल्लो समयमा परम्परागत रुपमा गरिँदै आएको कृषि प्रणालीलाई आधुनिकीकरण गर्ने उद्देश्यले अधिकांश किसानसँग खेत जोत्नको लागि पावरटिलर छ । उक्त उपकरणबाट काम गर्न सहज हुनाका साथै छिटोछरितो पनि हुने भएकाले किसानले अनुदानमा होस् वा आफै खर्च गरेर  भए पनि पावरटिलर राखेका छन्  तर पछिल्लो समयमा डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण पनि अपेक्षाअनुसार खेती गर्न नसक्ने अवस्थामा पुगेको किसानको गुनासो छ  ।   कैलालीको टीकापुर नगरपालिका–३ का रतिराम विश्वकर्माले गतवर्ष यतिबेला तीन बिघा खेतमा धान रोपिसक्नु   भएको थियो । यसपटक भने भरखरै सिँचाइको पानी खेतसम्म पुगेपनि रासायनिक मल र डिजेलमा भएको अस्वभाविक मूल्य वृद्धिका कारण धान रोप्ने जागर मरेको उहाँ बताउनुहुन्छ । “खेती नलगाए के खाने भन्ने पिर छ तर खेती लगाउनलाई अहिलेको महङ्गीको सामना गर्ने सामथ्र्य छैन ।” रतिराम भन्नुहुन्छ, “भोलिका दिनमा बजारमा आउने  वस्तुको मूल्य अहिलेको मूल्यको आधारमा निर्धारण भए त ठिकै छ, होइन भने किसानलाई कृषिबाट आत्मनिर्भर हुने अवस्था निकै कम हुँदै गएको छ ।”    कैलालीको भजनी नगरपालिका–५ का सन्तराम चौधरीले गोरु जोतेरै तीन बिघा खेतमा धान रोप्न आँट गर्नुभएको छ । घरमा खेत जोत्नको लागि पावरटिलर पनि छ । पावरटिलर घरमा थन्क्याएर एक हल गोरुले खेत जोत्न लाग्नुभएका उहाँ डिजेलको मूल्य बढ्दै जाँदा पावरटिलर छोडेर पुरानै हल गोरु लिएर खेत जोत्न थालेको बताउनुहुन्छ । “डिजेलको मूल्य छोइनसक्नु गरी बढ्यो । अहिले यति महङ्गोमा डिजेल खरिद गरेर भोलि त्यसबाट लागत नै उठ्ने हो होइन भन्ने एकीन छैन । उत्पादनभन्दा महङ्गो लागत हुने भएपछि पुरानै शैलीमा खेती गर्नुको विकल्प  छैन ।” सन्तराम भन्नुहुन्छ, “जति सकिन्छ रोप्छौँ । नसकिए बाँझै  छोड्छौँ । आम्दानीभन्दा खर्च बढी गरेर मात्रै के गर्नु ?” सोही ठाउँका सागर बोहरालाई पनि उस्तै  चिन्ता छ । बीउदेखि मलखाद हुँदै डिजेलसम्मको मूल्य बढेकाले  किसान सबैभन्दा बढी मारमा परेको उहाँ सुनाउनुहुन्छ ।    “सामान्य कृषि गरेर जीविकोपार्जन गर्दै आएका किसान अहिलेको अवस्थामा खेती लगाउन सक्ने अवस्थामा    छैनन् । किसानसँग पैसा छैन । ऋण कसैले दिँदैन । महङ्गीले सीमा नाघेको छ ।” बोहरा भन्नुहुन्छ, “त्यो पनि सहजरुपमा नत किसानले रासायनिक मल पाएका छन् । नत महङ्गोमा भए पनि  खोजेको समयमा डिजेल पाइन्छ, अनि कसरी हुन्छ कृषि क्रान्ति ?” किसानलाई खेती गर्दा चाहिने आवश्यक वस्तु सहुलियत दरमा उपलब्ध गराउनुपर्नेमा उहाँ जोड दिनुुहुन्छ ।    किसानलाई सरकारले डिजेललगायत अन्यवस्तु सहुलियतमा उपलब्ध गराए मात्र किसानलाई कृषिमा आकर्षण गराउन सकिने भजनी नगरपालिका–१ का सञ्जय चौधरी बताउनुहुन्छ। ठूलो खर्च गरेर लगाइएको खेती प्राकृतिक विपत्तिबाट क्षति भएको अवस्थामा सरकारले त्यसको ग्यारेन्टी लिनुपर्ने, किसानले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण बजारको महङ्गीलाई हेरेर गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । टीकापुरका किसान शिव थापाले रासायनिक मलको विकल्पमा गड््यौला मल प्रयोग गरी धान रोप्नु भएको छ । परम्परागत प्राविधि प्रयोग गरेर खेती गरे पनि सामान्य कृषि गरेर जीविका चलाउने अन्य किसानले अहिलेको महङ्गीको सामना गरेर खेती गर्ने अवस्था नरहेको उहाँ बताउनहुन्छ । “एक लिटर डिजेलले एक कठ्ठा जमिन जोत्न सकिने अवस्था छैन ।  एक लिटर डिजेलको करिब दुई सय पर्छ ।    सबैसँग आफ्नै साधन छ, भन्ने छैन । भाडामा साधन लिएर खेत जोत्दा रु पाँच हजारमा हुने काम आज दश हजार लाग्ने गरेको छ ।” थापा भन्नुहुन्छ , “हुने उत्पादन उस्तै हो । आज विगतमा खेती गर्दाभन्दा लागत दोब्बर भएको छ । भोलि के किसानलाई उत्पादन भएको वस्तुको मूल्य त्यसैअनुसार निर्धारण गरिएला त ?”

पोखरा :      पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बन्नुभएको छ । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थाल्नुभएको हो ।    स्थानीय जनसिद्ध माध्यमिक विद्यालयको कक्षा १ मा अध्ययनरत गुरुङ साक्षर हुन नसकेकै कारण विभिन्न समस्या भोगेपछि बुढेसकालमै भए पनि पढ्ने रहर पूरा गर्न विद्यालय जान थाल्नुभएको हो । “त्यो बेला पढ्ने उमेरमा विभिन्न कारणले पढ्न पाइएन, अहिले ढिलो भए पनि पढ्न रमाइलो भइरहेको छ”, उहाँले भन्नुभयो । उहाँका श्रीमान् सुकबहादुर गुरुङ मोदी– ८ चित्रेकै वडाध्यक्ष हुनुहुन्छ ।    श्रीमती विद्यालयमा भर्ना हुनेबारे उहाँहरूबीच सल्लाह भएको थिएन । आफू कार्यालयबाट फर्किएर घरमा पुग्दा पढेर आएको सुनाउँदा अचम्ममा परेको उहाँको भनाइ छ । शिक्षा आर्जन गर्नका लागि उमेरले केही गर्दैन भन्ने कुरा देखाउन पनि अरुलाई प्रेरणा मिल्ने सुकबहादुरले बताउनुभयो ।    “स्कुल भर्ना हुन्छु भन्ने घर सल्लाह नै थिएन । वडाबाट फर्किँदा लौ म त कक्षा १ मा भर्ना भएर आएँ भनिन”, उहाँले भन्नुभयो, “म त अचम्ममा परेँ, यसले अरू निरक्षर प्रौढलाई पनि राम्रो सन्देश जान्छ भन्ने लागेको छ ।” आफ्ना नाति नातिनाले अध्ययन गर्ने तहमा बसेर उनीहरूसँगै खेल्दै रमाउँदै गरेर सिक्दा झनै रमाइलो हुने गरेको विष्णुको अनुभव छ ।    “गाउँमा कति हो कति पाहुना आउँछन्, लौ आमा यो पढ्नु, यो हेर्नु भन्दा मलाई केही पनि आउँदैन भन्दा लाजको मर्नुहुन्थ्यो अब भने पढ्न जान्दछु कि भन्ने विश्वास बढेको छ”, उहाँले सुनाउनुभयो । विष्णु जिल्लाकै नमूना हामेस्टे रहेको चित्रेमा आएका धेरै पाहुनालाई खुवाउने, बसाउने र गाएर रमाइलो बनाउने गर्नुहुन्छ ।    विष्णु भर्ना भएसँगै विद्यालयमा वातावरण रमाइलो बनेको र अरू साना उमेरका विद्यार्थी पनि सिकाइका लागि उत्प्रेरित भएको विद्यालयका प्रधानाध्यापक एकनारायण तिमिल्सिनाले बताउनुभयो । पुराना पुस्ताका व्यक्तिले अझै पनि अध्ययनमा चासो देखाउनुले समाजमा पठन संस्कृतिको विकास हुने र त्यसले हरेक विद्यार्थीलाई अध्ययनशील बनाउने उहाँको भनाइ छ । 

काठमाण्डौँ :       नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न सङ्घ र प्रदेशको निर्वाचनमा माओवादी वामपन्थीतर्फ पहिलो शक्ति बन्ने जिकिर गर्नुभएको छ ।    माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादी देशको दोस्रो ठूलो पार्टी बन्ने बताउनुभयो ।      “स्थानीय तह निर्वाचनमा वामपन्थीभित्रको पहिलो शक्ति हुने सम्भावना थियो, २०७४ को निर्वाचनमा जितेका पालिका यसपटक गुमायौँ”, उहाँले भन्नुभयो, “सङ्घ र प्रदेशमा वामपन्थीभित्र पहिलो शक्ति हुने सम्भावना छ, त्यसका लागि आजैदेखि मेहनत गर्नुस् ।” माओवादीको नेतृत्वमा मुलुक परिवर्तन भएको उल्लेख गर्दै उहाँले माओवादीले ल्याएको परिवर्तनका बारेमा जनतालाई बुझाउनुपर्ने बताउनुभयो ।    “अब हामी जनताको घरघरमा जानुपर्छ, माओवादीको एजेण्डा भन्नुस्, माओवादीले ल्याएका परिवर्तनका बारेमा जानकारी गराउनुस्”, अध्यक्ष दाहालले भन्नुभयो । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनको भर गर्दा केही स्थानमा हार व्यहोर्नु परेको उल्लेख गर्दै उहाँले अबको निर्वाचनमा गठबन्धन भए पनि आफ्नो खुट्टामा दह्रोसँग उभिनुपर्ने बताउनुभयो ।    “गठबन्धनबाट स्थानीय तह निर्वाचन लडियो”, उहाँले भन्नुभयो, “अब गठबन्धनको भरपर्नेभन्दा पनि आफ्नो खुट्टामा उभिनुपर्छ ।” उहाँले स्थानीय तहमा सोचेजति परिणाम नआए पनि अनिश्चितताकाबीच भएको निर्वाचनले माओवादीको जित भएको बताउनुभयो । “स्थानीय तहमा सोचेजति परिणाम आएन, तर तोकिएको समयमा निर्वाचन हुनु माओवादीको जित हो”, उहाँले भन्नुभयो, “सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरचनाभित्र स्थानीय तहको निर्वाचन हुनु माओवादीको जित हो, निर्वाचन हुन्छ कि हुँदैन भन्ने दोधारबीच निर्वाचन भयो ।”   साउन १५ भित्र सङ्घ र प्रदेशका उम्मेदवारको टुङ्गो   अध्यक्ष दाहालले आगामी साउन १५ गतेभित्र आसन्न सङ्घ र प्रदेश निर्वाचनका उम्मेदवार टुङ्ग्याइने बताउनुभयो । लोकप्रिय र जनताको पक्षका काम गर्नसक्ने नेतालाई निर्वाचनमा उम्मेदवार बनाइने उहाँले बताउनुभयो ।    कार्यक्रममा माओवादी नेत्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत नवनिर्वाचित जनप्रतिनिधिको उपस्थिति थियो । अध्यक्ष दाहालले ५० भन्दा बढी जनप्रतिधिलाई प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा नेकपा ९एमाले० नेता नवराज राई र वरिष्ठ मुटुरोग विशेषज्ञ डा कृष्ण श्रेष्ठ माओवादीमा प्रवेश गर्नुभएको थियो । 

काठमाण्डौँ :     सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले बढेर रु ९७ हजार ५०० पुगेको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९७ हजार ३०० मा कारोबार भएको थियो ।   नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार ८०० थियो ।त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले घटेर रु एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।

दैलेख :      ऐतिहासिक सुन्दरी तोप पाँच दशकपछि दैलेखको कोतगढीमा पुनः राखिने भएको छ । विसं २०२८  अघिसम्म यहाँको कोतगढीमा राखिएको उक्त तोप नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै पुनः गढीमा राखिने भएको हो ।      दैलेखस्थित कालीदत्त गुल्मका गुल्मपति सेनानी विनोद चौलागाईँले सुन्दरी तोपलाई आज गढीमा पुनःस्थापना गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले गढीमा राखिने तोपको संरक्षणसँगै पूर्ण व्यवस्थापनको जिम्मेवारी नारायण नगरपालिकाले लिने गरी हस्तान्तरण गर्न लागिएको बताउनुभयो ।       गुल्मपति चौलागाईँले सुन्दरी तोप यहाँको ऐतिहासिक कोतगढीमा पुनःस्थापना गरेपछि दैलेखको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताउनुभयो । विसं २०२८ मा कोतगढीमा राखिएका अर्गा र सुन्दरी तोप सुर्खेत पुर्याइएको थियो । सुन्दरी तोप ५० वर्षपछि दैलेख फर्काइए पनि अर्गा तोप कहाँ छ भन्ने खुल्न सकेको छैन ।       सङ्घीयतापछि यहाँका राजनीतिक दल, स्थानीय सरकार र नागरिक समाजले दैलेखबाट अन्यत्र लगिएका पुरातात्विक सम्पदा ल्याउनुपर्ने माग राख्दै आएका थिए । स्थानीय प्रशासन र कालीदत्त गुल्मको पहलमा तोप दैलेख ल्याइएको हो । विजया दशमीमा टीकाको साइत तोप पड्काएर गरिने र नागरिकले तोपको साइतअनुसार दशैँको टीका लगाउने गर्दछन् । कोतगढी किल्ला बहादुर शाहको शासनकालमा १८४६ सालतिर निर्माण गरेको बताइन्छ ।