काठमाडौं: आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि...

धनुषा :     पत्नीको घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले पति र ससुरालाई पक्राउ गरेको छ ।    धनुषाको शहीदनगर नगरपालिका–८ नाथपट्टीकी गौरीदेवी मण्डलको घाँटी थिचेर हत्या गरेको आरोपमा उनका पति रामचन्द्र मण्डल खत्वे र ससुरा सहदेव मण्डल खत्वेलाई प्रहरीले पक्राउ गरेको हो । दुवै जनाले मिलेर घाँटी थिची हत्या गरेको भन्दै मृतक गौरीकी आमा सिरहाको गोलबजार नगरपालिका–५ की तेतरीदेवी मण्डलले २०७८ कात्तिकमा इलाका प्रहरी कार्यालय यदुकाहामा कर्तव्य ज्यान मुद्दाअन्तर्गत जाहेरी दत्रा गराउनुभएको थियो ।    सोही जाहेरीको आधारमा दुवै जनालाई भारतको लदनियाबाट पक्राउ गरी नेपाल ल्याइ थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

काठमाण्डौँ :      गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ ।   गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उहाँले बताउनुभयो ।    हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायतको उपस्थिति थियो । यही असार ६ गतेदेखि दैनिक एयर अरेबियाको जहाजबाट टोली हज गर्न जाने गरेको थियो ।  

रोल्पा :     रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् ।    यसरी दायर भएका २२७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।       गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा  १५६ वटा फछ्र्यौट भएका छन् । सो अवधिका ७० मुद्दा फछ्र्यौट हुन बाँकी छ । आर्थिक वर्ष २०७६÷७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फछ्र्यौट भएका थिए ।     सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन् । चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिनुभयो । “विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो ।    अंश दाबीबिना सम्बन्ध विच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताउनुभयो ।     सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको रोल्पा जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काको भनाइ छ । “सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्”, उहाँले भन्नुभयो । सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत रहेको छ ।    महिला अघिकारकर्मी तीर्था आचार्य भन्नुहुन्छ, “वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ ।”  सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ ।  सम्पत्ति माग दाबीसहित  गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो  हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको आचार्यले बताउनुभयो । सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको पाइएको छ । 

महोत्तरी :     महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव   बिहान २ बजे एक्कासी बेहोस भएका थिए ।    उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।  

 झापा :      नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ ।   आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताउनुभयो । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।   शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

काठमाण्डौँ :     देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।    उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ ।    रातको समयमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ । 

 पोखरा :      पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।   कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ ।   शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।   यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो ।   पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ । पोेखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।

बाँके :       बाँकेको बैजनाथ गाउँपालिका १ गाभरभ्यालीमा विगत ९ वर्षदेखि सामुदायिक घरबास संचालन हुँदै आएको छ ।    कोहलपुरदेखि करिब साढे ८ किलोमिटरको दुरीमा अवस्थित सो होमस्टेको सुरुवात कृष्ण चौधरीले २०७० सालमा एक्लै गरेका थिए । अहिले २५ घर समितिमा आवद्ध भई सेवा प्रदान गर्दै आएका होमस्टे संचालक रमेश प्रसाद जैसीले बताए । उनका अनुसार एक रात घरबास सुविधाको लागि प्रतिव्यक्ति १५ सय देखि २ हजार खर्च हुने गर्छ ।    समितिमा दर्ता भएपनि होमस्टेले प्रदान गर्ने सेवा सुविधाको आधारमा शुल्क तिर्नुपर्ने जैसीले बताए । उनका अनुसार चौधरी, ब्राह्मण र क्षेत्री लगायतका समुदायले होमस्टे संचालन गर्दै आएका छन्  । गाभरभ्याली सामुदायिक होम्स्टेमा पोखरा, बुटवल, काठमाडौं, रुपन्देही लगायतको स्थानबाट पाहुनाहरु आउँने गर्दछन ।  हेरौं तस्वीरहर  :                                                  

विराटनगर :     विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी  चलाउँनुहुन्छ । उहाँले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ ।    यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आउनुभएको छ ।     परिवारको आर्थिक अवस्था कमजोर रहेकाले राउतले यही कामबाट परिवारको भरणपोषणमा सहयोग गर्नुभएको छ । राउतको यो मेहेनती कार्यको छिमेकीहरु पनि प्रशंसा गर्दछन् ।    बुवाको काम गर्ने उद्योगमा लडेर हात भाँच्चिएपछि राउत सानै उमेरदेखि परिवारको पालनपोषणका लागि सिटी सफारी चलाउन लाग्नुभएको हो । यो कायमको थालनीमा निकै कठिनाइ भएको उहाँको अनुभव छ ।    स्कुलमा हुँदा सिटी सफारी चलाएर दैनिक रु ५०० देखि ८०० सम्म आम्दानी गर्नुभएका राउतले अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने बताउँनुहुन्छ । विराटनगरस्थित जनपथ माविमा अध्ययन गर्नुभएका राउत कक्षामा प्रथम हुँदै आउनुभएकोमा अहिले सामाजिक काममा रुचि देखाउन थाल्नुभएको छ । विभिन्न परोपकारी अभियानमा उहाँ लाग्नुभएको छ ।    “मेरो मात्र कुरा छैन, घरमा आमाबुवा पाल्नुपर्छ, मसँगैका दुई भाइलाई पढाउनु पर्दा खर्च बढ्ने भएकाले व्यवस्थापन पढ्ने निर्णयमा पुगेको छु”, उहाँले भन्नुभयो ।  एउटा भाइ कक्षा १० र अर्को कक्षा ६ मा अध्ययनरत रहेकोले उनीहरुलाई शिक्षा दिन आफूले दिनरात मेहेनत गरेको उहाँको भनाइ छ ।    घर खर्चको लागि साहुसँग लिएको ऋण चुक्ता गर्नुपर्ने भएकाले बुबा र आमालाईसमेत ठेला किनिदिएर व्यवसायमा लगाउनुभएको छ । अहिले आँपको मौसम भएकाले आमा र बुवा यही व्यवसायमा आबद्ध भएको उहाँले बताउनुभयो । उहाँ विराटनगरका युवानेता एवं समाजसेवी वासिम आलमको नेतृत्वमा सञ्चालित विपन्नलाई निःशुल्क खाना, लुगा वितरणलगायतका समाजसेवाका अभियानमा समेत सक्रिय भएर लाग्नुभएको छ ।