काठमाण्डौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक ३.१७ अङ्कले ओरालो लागेर ३८८.६२ मा ओर्लेको छ । कूल २२१ कम्पनीका ३६ लाख ६३ हजार २२० कित्ता शेयर रु एक अर्ब ४५ करोड ९३ लाख १२ हजार १५ मूल्यमा खरिद बिक्री भए । आज बिहान ११ देखि १ बजेसम्म भएको कारोबारका आधारका बजार पूँजीकरण रु २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख २० हजार बराबर रहेको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । व्यापार २५.८१, वित्त ७।१२ र लघुवित्त २९.४८ अङ्कले उकालो लाग्यो । त्यस्तै बैंकिङ ८.३२, होटल तथा पर्यटन २२.१८, विकास बैंक ४९.३४, जलविद्युत् ११.२२, निर्जीबन बीमा १८.२६, उत्पादन ३१.४७, अन्य ८.४५, जीवन बीमा ३३.८५, सामूहिक लगानी कोष ०.०९ र लगानी ०.५९ अङ्कले ओरालो लागेको छ । नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु पाँच करोड ५७ लाख ४७ हजार ८९३ बराबरको कारोबार भयो । त्यस्तै एसियन लाइफ इन्सुरेन्स रु पाँच करोड २२ लाख ५६ हजार ३२६, नेपाल पुनरबीमा कम्पनी रु चार करोड ९० लाख ४८ हजार १४८, हिमालयन डिस्टिलरी रु चार करोड ६२ लाख दुई हजार ४७१ र एनआइसी एसिया बैंक रु चार करोड ५१ लाख ३२ हजार ६५५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए । नेप्सेका अनुसार ओरालो लागेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसिइल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै नेपाल फाइनान्स ७.७०, मैलुङ खोला जलविद्युत् कम्पनी ६.१७ र किसान लघुवित्तका लगानीकर्ताले ४.८१ प्रतिशतले कमाए । यस्तै, स्ट्यान्डर्ड चार्टड बैंक ४.७७, युनाइटेड इन्सुरेन्स ४.०३, लक्ष्मी लघुवित्त ३.७०, आरबिबी म्युचुअल फन्ड एक ३.६७ र जनरल इन्सुरेन्स कम्पनीका लगानीकर्ताले ३.४२ प्रतिशतले गुमाए ।
काठमाण्डौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को बहिष्कारकाबीच राष्ट्रियसभाबाट आगामी आवको बजेटसँग सम्बन्धित तीन विधेयक पारित भएका छन् । राष्ट्रियसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०७९’, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०७९’ र ‘ऋण तथा जमानत (पच्चीसौँ संशोधन) विधेयक, २०७९’ पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरिएको हो । राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयक सन्देशसहित प्रतिनिधिसभाबाट पठाइएको छ । राष्ट्रियसभाले सन्देशसहित पठाएको विधेयक प्रतिनिधिसभाले पारित गर्नुपर्ने हुन्छ । प्रमुख प्रतिपक्षी एमालेका सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिनअघि अनाधिकृत व्यक्तिको संलग्नतामा करका दर हेरफेर गरिएको आरोप लगाउँदै आजको बैठक बहिष्कार गर्नुभयो । एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिनुभयो ।
सप्तरी : सप्तरीमा छ महिनाको अवधिमा ४४ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतिका घटना बढेको छ । इन्सेक सप्तरी शाखाले सन् २०२२ को जनवरीदेखि जुनसम्मको अवधिमा अभिलेख गरिएको घटना सार्वजनिक गर्दै सो जानकारी दिएको हो । यो छ महिनाको अवधिमा महिला र बाल हिंसाका घटना बढी अभिलेख गरिएको छ । इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सार्वजनिक गर्नुभएको प्रतिवेदनअनुसार बढी चर्चामा रहेको घटनामा बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई २०७८ माघ २१ गते देवरले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको उल्लेख छ । हत्या आरोपमा पक्राउ परेका २१ वर्षीय परमेश्वर साह असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन् । यस्तै सुरुङ्गा नगरपालिका–२ घुमाउने चौरीकी ४३ वर्षीया देवकुमारी सदाको हत्या आरोपमा उहाँका श्रीमान् ४९ वर्षीय अगहनु सदा रु ५० हजार धरौटी रकम राख्न नसक्दा चैत २२ गतेदेखि पुर्पक्षका लागि थुनामा छन् । यस वर्ष गैरराज्यबाट तीन हत्याका घटनामध्ये २७ र ३५ वर्षका दुई दलित र २५ वर्षका एक मुस्लिम समुदायका युवकको हत्या भएको अभिलेख छ । आरोपितहरू १६ मध्ये पुर्पक्षका लागि थुनामा दुई, धरौटीमा रिहा तीन, बालसुधार गृहमा एक र पक्राउ पुर्जी जारी भएका १० जना छन् । नवजात शिशुको हत्या घटनामा शव फाल्नेको पहिचान हुनसकेको छैन ।प्रतिवेदनअनुसार बालिका बलात्कारको १० घटनामा १८ वर्षभित्रका १० पीडित छन् । आरोपित १५ वर्षदेखि ६८ वर्षका १५ मध्ये पाँच पुर्पक्षका लागि थुनामा र पाँच जना बालसुधार गृहमा छन् । बाँकी तीन आरोपितविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने दुई जना हालै पक्राउ परेका छन् । यसैगरी महिला बलात्कारका तीन घटनामा २५ माथि ४० वर्षीयासम्मका तीन महिला पीडित भएका छन् । बलात्कारको घटनामा १८ देखि ३० वर्षीय पाँच आरोपीमध्ये तीन फरार छन्, एक हालै पक्राउ परेका छन् भने एक जनाले सफाइ पाएका छन् । महिला बलात्कार प्रयासका एक घटनामा २८ वर्षीया महिला पीडित भएकी छिन् । उक्त घटनामा आरोपित दुईमध्ये एक धरौटीमा रिहा भएका छन् भने अर्का एक फरार छन् । अमानवीय व्यवहारको एक घटनामा २७ वर्षीया एक महिला पीडित भएको प्रतिवेदनमा उल्लेख छ । परिवारकै सदस्यबाट भएको सो हिंसामा चार जना पुर्पक्षका लागि धरौटीमा रिहा भए भने दुई फरार छन् । इन्सेक प्रतिनिधि पोखरेलका अनुसार छ महिनाको अवधिमा बहुविवाहको पाँच, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारअन्तर्गत चार, घरेलु हिंसाका तीन तथा गर्भपतन, मानव बेचबिखन, अपहरण उद्योग, अभद्र व्यवहार, धम्की र झडपका एक–एक घटना अभिलेख गरिएको छ । आठ पसललाई कारवाही खरिद बिलबिना नै सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने सप्तरीको राजविराजका आठ पसल कारबाहीमा परेका छन् । खरिद बिल देखाउन नसक्ने राजविराजका आठ पसल कारबाहीमा परेको वीरगन्जस्थित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ । उक्त कार्यालयले बिहीबार गरेको पसल अनुगमनमा खरिद बिल नदेखाउने, मूल्यसूची नराख्ने र अनुगमन कार्यमा असहयोग गर्ने पसललाई जरिवाना गरिएको हो ।कार्यालयका सूचना अधिकारी दिलीप खंगका अनुसार मूल्यसूची नराख्ने दास हार्डवेयरलाई रु ५० हजार जरिवाना गरिएको छ । खरिद बिल नदेखाउने राजविराजकै नुर फ्रुट एण्ड जनरल स्टोर र नदिना फ्रुट एण्ड जनरल स्टोरलाई रु २०–२० हजार जरिवाना गरिएको छ । गौरव ट्रेडर्स एण्ड सप्लायर्सलाई रु १० हजार, सीता ट्रेडर्स र लेडी कलेक्सनलाई रु पाँच–पाँच हजारका दरले जरिवाना तोकिएको छ । अनुगमन कार्यमा असहयोग गर्ने बालाजी खाद्यान्न खरिद–बिक्री केन्द्र र न्यू पूजा बस्त्रालयलाई रु २० हजारका दरले जरिवाना गरिएको उहाँले जानकारी दिनुभयो ।उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार पसललाई जरिवाना गरिएको उहाँको भनाइ थियोे । खरिद बिलबिना सामान खरिद गरी उपभोक्तालाई बिक्री गर्ने गरेको गु्नासोका आधारमा अनुगमन गरिएको उक्त कार्यालयले जनाएको छ । भारतबाट लुकाइछिपाइ राजस्व छलेर लत्ताकपडा, खाद्यान्नलगायत उपभोग्य वस्तु भित्र्याइ विभिन्न पसलमा बिक्री वितरण हुँदै आएको व्यापारीहरुकै गुनासो छ ।
गोरखा : गोरखा जिल्ला अदालतका कर्मचारी (तहसिलदार) रामचन्द्र केसी १५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिएको टोलीले उनलाई बिहीबार राति पक्राउ गरेको हो । काम मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस लिँदै गर्दा गोरखा सदरमुकामको एक होटलबाट उनलाई पक्राउ गरिएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद थपलियाले बताए । घुससहित पक्राउ परेका केसीलाई शुक्रबार राति नै पोखरा लगिएको र आवश्यक छानविन भइरहेको थपलियाले जानकारी दिए ।
काठमाण्डौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरूले राष्ट्रियसभाको आजको बैठक बहिस्कार गरेका छन् । आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट पारित ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची थियो । एमाले सांसदहरूले बजेट प्रस्तुत गर्ने एक दिन अघि अनधिकृत व्यक्तिको संलग्नतामा करको दर हेरफेर गरिएको आरोप लगाउँदै आएका छन् । उक्त विषयमा संसदीय छानविन समिति बनाउन एमालेले माग गर्दै आएको छ । बैठकको सुरुमै एमाले सांसद भैरवसुन्दर श्रेष्ठले आगामी आवको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको पहुँच पु¥याएर मुलुकलाई हानी पु¥याएकाले त्यसको निश्पक्ष छानबिन नभएसम्म आफूहरूको विरोध रहिरहने बताउनुभयो । बजेट निर्माणमा भएको कमजोरीको सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन गर्न आफूहरुको माग रहेको र एमाले संसदीय दलको बैठकले सो माग पूरा नभएसम्म बैठकमा सहभागी नहुने निर्णय गरेकाले आफूहरूले बहिष्कार गरेको उहाँले बताउनुभयो । त्यसलगत्तै एमाले सांसदहरू कार्यसूचीमा रहेको आर्थिक विधेयकसँग सम्बन्धित विषयको छलफलमा सहभागी नहुने भन्दै बैठकस्थलबाट बाहिरिनुभएको थियो । एमालेको बहिष्कारका बीच राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकको कार्यसूची अगाडि बढाउनुभयो । बैठकले अर्थमन्त्री शर्माले प्रस्तुत गर्नुभएको ‘आर्थिक विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्’ भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ ।
काठमाण्डौँ : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्र जगतका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । अध्यक्ष दाहालको निवास खुमलटारमा आज भएको भेटमा नेपालको कला तथा चलचित्र क्षेत्रको विषयमा कुराकानी भएको थियो । भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाकाका अनुसार उहाँहरूबीच नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको थियो । अध्यक्ष दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताउनुभएको थियो । नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्याएर समृद्ध बनाउन नायक हमालले निर्वाह गर्नुभएको भूमिकाको समेत अध्यक्ष दाहालले प्रशंसा गर्नुभएको थियो ।कलाकारहरू खुलेर राजनीतिमा आउने परिपाटीको विकास अध्यक्ष दाहालको पालामा नै भएको बताउँदै नायक हमालले कलाकारलाई राम्रो व्यवहार गर्ने परिपाटीको सुरुआत भएकामा प्रशन्नता व्यक्त गर्नुभएको थियो । उहाँले मुलुकमा सबैभन्दा पहिले राजनीतिक स्थिरता हुनुपर्ने र त्यसपछि मात्रै अन्य कुरा विस्तारै राम्रो हुँदै जाने बताउनुभएको थियो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा समेत सामान्य चर्र्चा भएको बताइएको थियो ।
काठमाण्डौँ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २०० तोकिएकोे छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार ५०० मा कारोबार भएका पहेँलो धातु आज प्रतितोला रु ३०० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९६ हजार ७०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २५ ले घटेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
रौतहट : राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना गरेको हो । राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको हो । हकले राजपुर नगरपालिकासँग कोरोना महामारीको समयमा नगरपालिकाको क्वारेन्टिनमा रहेका नागरिकको सङ्ख्या, प्रतिव्यक्ति कति खर्च भयो ? क्वारेन्टिनमा बस्ने व्यक्तिले ओढ्नका लागि खरिद गरेको कम्बलको मूल्यबारे प्रमाणित प्रतिलिपी माग गर्नुभएको थियो । सूचनाको हकसम्बन्धी ऐन २०६४, अनुसार उक्त नगरपालिकासँग माग गरेको सूचना नपाएपछि सूचना मागकर्ता हकले कानुनअनुसार राष्ट्रिय सूचना आयोगमा सूचना नदिने प्रमुख र सूचना अधिकारीलाई विपक्षी बनाई पुनरावेदन दर्ता गर्नुभएको थियो । पुनरावेदन दर्ता पछि नगरपालिका प्रमुखलाई सूचना उपलब्ध गराउनु भन्दै आयोगबाट पटक–पटक आदेश भएको, कारबाहीको बारेमा सजग गराएको साथै चेतावनी दिँदासमेत प्रमुखले सूचना नदिएको आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । निज कार्यालय प्रमुखले सूचना उपलब्ध नगराई संविधान प्रदत्त नागरिक अधिकार र कानुनले व्यवस्था गरेको सूचनाको हकको ठाडो उल्लङ्घन गरेको भन्दै आयोगले जरिवानाको फैसला गरेको हो । सूचना आयोगले कार्यालय प्रमुखलाई सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ को उपदफा (१) बमोजिम रु १० हजार जरिवाना हुने र सूचना उपलब्ध गराउनुपर्ने फैसला गरेको राष्ट्रिय सूचना आयोगका आयुक्त रत्नप्रसाद मैनालीले जानकारी दिनुभयो ।
महोत्तरी : महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरुसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राऊ गरेको छ । पक्राउ पर्नेमा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन रहेका छन् । प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार तीनै जनालाई बिहीबार साँझ जलेश्वर–१२ नैन्ही गाउँस्थित सीमानाकाबाट पैसा असुली गरिरहेको अवस्थामा प्रहरीचौकी नैन्ही र सशस्त्र प्रहरी बल नेपाल बीओपी जलेश्वरको टोलीले पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट पाँच हजार ८०० भारु बरामद गरेको छ । तीनैजनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

