कैलाली: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति गोदावरी नगरपालिका–६ लालपुरमा सुपप्र०१०१०प ९६०३ नंको मोटरसाइकल दुर्घटना हुँदा चालक बाजुराका ३७ वर्षीय हिक्मतबहादुर रावलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार रावलको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको हो । मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ ।
पोखरा : पोखरा महानगरपालिका वडा नं. २६ ले आर्थिक बर्ष २०७९/०८० का लागि टोल टोलमा पुगेर योजना छनौट शुरु गरेको छ । वडाले विहिबार सक्नेरी वहुउद्देश्यी सामाजिक भवन, अर्घौ व्याडमिन्टन हल, पिपलवोट जल्धारे र स्याङजाली तमु समाज मद्दतको पाटनमा भेला राखेर योजना छनौट गरेको हो । टोलबाट प्राप्त भएका योजनाहरुलाई सूचीकृत गरी प्राथमिकता र आवश्यकताको आधारमा बजेट विनियोजन गरिने वडा अध्यक्ष नरेन्द्र थापाले बताए । वडा भेलालाई सम्वोधन गर्दै, अध्यक्ष थापाले वडा नं. २६ लाई महानगरकै उत्कृष्ट वनाउन सवैको सहयोगको खाँचो औल्याए । उनले विगतको बर्ष भन्दा यसपटक वडा विकासका लागि बजेटको सिलिङ बढेर आउने उल्लेख गर्दै, सवै योजना एकैपटकमा सम्पन्न गर्न संभव नभए पनि प्राथमिकताका आधारमा क्रमागत रुपमा अघि वढाईने बताए । पाँच बर्षका लागि जनताले सेवकका रुपमा आफ्नो नेतृत्वलाई अभिमत दिएको उल्लेख गर्दै, अध्यक्ष थापाले कार्यकाल सकिएपछि मुल्यांकन गर्न आग्रह गरे । कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाटले वडाको पिछडिएको ठाउँबाट विकासको शुरुवात गरिने उल्लेख गरे । अर्का वडा सदस्य लक्ष्मीदेवी भट्टराईले निर्वाचनमा जनताले दिएको विश्वासलाई खण्डित हुन नदिने उल्लेख गरीन् । वडा सदस्य सुदिपराज ढुंगानाले वडामा समन्यायिक विकास गरिने उल्लेख गर्दै, विकासमा विभेद नगरिने बताए । वडा सदस्य सुजता बराल सुनारले वडा भेलाले निर्वाचन पछि जनताको समस्या बुझ्ने अवसर जुटेको बताईन । भेलामा पूर्व न्यायाधिस बासुदेव न्यौपाने, नेपाली काग्रेस वडा इकाई सभापति शिव रानाभाट, एमालेका प्रमिला बराल भण्डारी, सुर्य प्रकाश ढुंगाना, रामकृष्ण जि.सि, शर्मिला सुनार, नेकपा माओवादीका मेघराज भण्डारी, नेकपा समाजवादीका मदन प्रकाश बराल, पोष्टराज बराल, राप्रपाका टिकाराम अधिकारी, राष्ट्रिय जनमोर्चाका हरि बराल, भवानी कालिका माविका पूर्व प्रधानाध्यापक हरिप्रसाद अधिकारी, जेष्ठ नागरिक विनिमाधव अधिकारी, स्याङजाली तमु समाजका अध्यक्ष पूर्व लेप्लटेन मेन बहादुर गुरुङ्ग, सहनशिल आमा समूहका अध्यक्ष कल्पना नेपाली लगायतले योजना छनौटमा सुझाव दिएका थिए । वडा भेला वडा सचिव मीना भट्टराई भण्डारी, कर्मचारी नवराज सापकोटा, इञ्जिनियर राजेश ब ञ्जरा लगायतले सहजीकरण गरेका थिए ।
सुर्खेत : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा ‘पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली’सम्बन्धी प्रदेशस्तरीय छलफल गरिएको छ । स्टार्ट नेटवर्कको आर्थिक सहयोगमा प्लान इन्टरनेशनल नेपालद्वारा आज यहाँ आयोजित प्रदेशस्तरीय छलफलमा कर्णाली प्रदेशको पहिराको उच्च जोखिम रहेको कालीकोटको नरहरिनाथ गाउँपालिका केन्द्रबिन्दु बन्यो । छलफलमा स्टार्ट नेटवर्कका परियोजना संयोजक विजयराज पन्तले आफ्नो प्रस्तुति राख्दै नेपालमा मनसुन सुरु भइसकेकाले मनसुनजन्य विपद्बाट कर्णाली तथा सुदूरपश्चिम नेपालका बस्ती बढी खतरामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपालमा पहिरो खस्ने सबैभन्दा प्रमुख र बारम्बार दोहोरिने खतरामध्ये एक हो, जसको परिणाम प्रायः विपद्का घटना हुने गर्दछन् । वर्षाले हुने अधिकांश पहिरो मनसुनको समय जुन महिनादेखि सेप्टेम्बरसम्म जाने गर्छ । वर्षाको ढाँचामा परिवर्तन, भारी वर्षाको बढ्दो तीव्रता तथा आवृत्तिले गर्दा समुदाय र घरपरिवारलाई नकारात्मक असर गरिरहेको छ ।” प्लानले डिजिटल र मोबाइल एप्लिकेसन र वेब आधारित प्लेटफर्मको विकास गर्न थालेको संयोजक पन्तले बताउनुभयो । त्यस्तै अनुसन्धानकर्ता क्षितिज दाहालले पहिराको संवेदनशीलता मापन, पूर्वचेतावनीका लागि मोबाइल एप्सको प्रयोग र त्यसबाट प्राप्त हुने सूचना पाउने गरी एक हजार २०० घरधुरी सङ्ख्या भएको नरहरिनाथ गाउँपालिकामा परीक्षण परियोजना सुरु गर्न थालिएको बताउनुभयो । उहाँले परीक्षण परियोजनाअन्तर्गत पहिरो जोखिम प्रारम्भिक चेतावनी प्रणाली तथा वेब एप्लिकेशन समुदायमा आधारित, लैङ्गिक संवेदनशील, घरधुरीस्तरको विपद् पूर्वयारीका तथ्याङ्कलाई आधार मानी तयार गरिने जनाउनुभयो । अनुसन्धानकर्ता दाहालका अनुसार हरेक नागरिकलाई प्रविधिका माध्यमबाट पहिरोलगायतका विपद्को पूर्वजानकारी दिने गरी काम भइरहेको छ । हावापानी फिल्ड कार्यालय सुर्खेतका मेट्रोलोजिष्ट हिमाल शिवाकोटीले मनसुनजन्य विपद्बाट कर्णाली प्रदेशका ५५ हजार नागरिक प्रभावित हुनसक्ने तथ्याङ्क रहेको बताउनुभयो । उहाँले नागरिकको पूर्वचेतावनी तथा जानकारीका लागि सुर्खेतको रातानाङ्लामा नेपालकै पहिलो राडार निर्माण गरिएको जनाउनुभयो । “राडारले २०० किलोमिटर टाढाको मनसुनको स्क्यानिङ गर्छ”, मेट्रोलोजिष्ट शिवाकोटीले भन्नुभयो, “यसले वर्षा, बाढी, मौसमी आद्रताको पूर्वसूचना दिन्छ ।” कार्यक्रममा सहभागी सरोकारवालाले प्रविधिजन्य उपकरणको सहायताले पहिरोजन्यलगायतका विपद्को पूव जानकारी पाउन सकिने मानवीय तथा भौतिक क्षतिबाट बच्न सकिने तथा यसका लागि तीनै तहको सरकारले प्रतिकार्यको पूर्वतयारी गर्नुपर्नेमा जोड दिएका थिए ।
पोखरा : गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशसभामा प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८० को बजेटमा कार्यान्वयन हुनसक्ने र प्रदेशले धान्न सक्ने खालका योजना समावेश गरेर ल्याइएको बताउनुभएको छ । बजेटका सम्बन्धमा मन्त्रालयले आज आयोजना गरेकोे पत्रकार सम्मेलनमा उहाँले महत्वकाङ्क्षी कार्यक्रम बजेटमा प्रस्तुत नगरिएको र कार्यान्वयन योग्य, स्रोतका दृष्टिले र धान्न सक्ने खालका योजना रहेको उल्लेख गर्नुभयो । अर्थमन्त्री बरालले भन्नुभयो, “हाम्रो स्रोत प्राप्तिको अवस्था र खर्च गर्न सक्ने क्षमता विश्लेषण गरी यथार्थताको धरातलमा टेकेर बजेट प्रस्तुत गरिएको छ ।” सुशासन, सेवा प्रवाहमा गुणस्तरीयता कायम, स्रोतको प्रभावकारी उपयोग, प्रशासनिक खर्चमा मितव्ययिताको नीति अवलम्वन गरिने र खर्चको कोणबाट प्रदेशले बजेटको कार्यान्वयन पूर्णरूपले गर्न सक्ने गरी ल्याइएको उहाँले बताउनुभयो । बजेटमा कृषि प्रवद्र्धन र व्यावसायिक उत्पादन, कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार, आधारभूत खानेपानीमा सबैको पहुँच सुनिश्चितता, आधारभूत स्वास्थ्य, पूर्वाधार विकास, समावेशिता र सामाजिक न्यायलाई प्राथमिकतामा राखिएको मन्त्री बरालले जोड दिनुभयो । उहाँले भन्नुभयो, “सीमित स्रोतबाट आवश्यकताहरुलाई प्राथमिकिरण गरी क्रमशः पूरा गर्दै लैजानुपर्ने वर्तमान यथार्थता हो । बजेटले सबैका विविध चाहनालाई नसमेटको हुनसक्छ तर आधारभूत आवश्यकतालाई सम्वोधन गर्दै प्रदेशलाई आगामी दिनमा आत्मनिर्भर बनाउने र समृद्धिको मार्गमा अगाडि बढाउनेतर्फ बजेट केन्द्रित छ ।” बजेटमा जनचाहनालाई सम्वोधन गर्न, सङ्घ, प्रदेश र स्थानीय तहसँगको साझेदारीमा एक निर्वाचन क्षेत्र एक कृषि सडक विस्तार गर्न, कृषि उत्पादनमा आत्मनिर्भर कार्यक्रम ल्याउन र ‘कृषक टप अप ग्राण्ट’जस्ता कार्यक्रम समेटिएको मन्त्री बरालले बताउनुभयो । यसैगरी लिफ्टिङ खानेपानीमा लाग्ने विद्युत् महसुलमा छुट, नदीमा आधारित विकास गुरुयोजना, मुस्ताङ कालीगण्डकीको जग्गा उकास र स्याउखेती, जलाशयमा आधारित सिँचाइ आयोजना, विद्युतीय चार्जिङ स्टेशन स्थापना र विद्युतीय सवारीसाधन प्रयोगमा जोड, सिक्दै कमाउँदै कार्यक्रम, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र तथा निःशुल्क स्वास्थ्य परीक्षण, डायलासिस सेवा विस्तारलगायत कार्यक्रम पहिलोपटक बजेटमा समावेश गरिएको उहाँले जानकारी दिनुभयो ।मन्त्री बरालले विगतदेखी सञ्चालनमा रहेका प्रादेशिक गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, सडक पुल र झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ भन्नुभयोे । प्रदेश सरकारले बुधबार आगामी वर्षका लागि रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट सार्वजनिक गरेको थियो । विनियोजित रकम मध्ये चालुतर्फ रु १३ अर्व २६ करोड ८८ लाख ५४ हजार र पूँजीगततर्फ रु २२ अर्ब १४ करोड एक लाख ४६ हजार तथा वित्तीय व्यवस्थातर्फ रु ५० करोड विनियोजन गरिएको छ । रगत निःशुल्क उपलब्ध गराउन बजेट विनियोजन गण्डकी प्रदेश सरकारले प्रदेशका सबै अस्पतालहरूबाट रगत तथा रगतजन्य पदार्थ निःशुल्करूपमा उपलब्ध गराउने कार्यक्रमलाई निरन्तरता दिएको छ । सरकारले गत फाुगन १ गतेदेखि प्रदेशका अस्पतालहरूमा रगत निःशुल्क गर्ने निर्णय गरेको थियो । आगामी आर्थिक वर्षको बजेट प्रस्तुतका क्रममा बिरामीको उपचारका लागि अत्यावश्यक रगत प्रदेशभर निःशुल्क गर्न रु पाँच करोड विनियोजन गरिएको छ । रगत निःशुल्क कार्यक्रमलाई आगामी आर्थिक वर्षका लागि पनि निरन्तरता दिइएको हो । अर्थमन्त्री बरालले फागुनदेखि प्रतिमहिना औसतमा तीन हजार २०० युनिटका दरले रगत निःशुल्क उपलब्ध गराइएको बताउनुभयो । यसअघि अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था थियो । अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका थिए । गण्डकीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पारेको ‘रगत तथा रगतजन्य सेवा निःशुल्क व्यवस्थापन कार्यविधि २०७८’ बमोजिम बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आइएको छ । प्रदेश सरकारले यसअघि गत मङ्सिर ८ गते पहिलोपटक प्रदेश स्वास्थ्य नीति जारी गरेर रगत निःशुल्क उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारले रगत निःशुल्क गर्न नेपाल रेडक्रस सोसाइटीसँग सम्झौता गरिएको थियो । सर्वसाधारणले दान गरेको रगत प्रयोगशाला परीक्षणपछि रेडक्रसले सञ्चालन गरेको रक्तसञ्चार केन्द्रले बिरामीलाई उपलव्ध गराउँदै आएको छ ।प्रदेशको राजधानी पोखरामा सबैभन्दा बढी रगत खपत हुने गरेको छ । जिल्ला अस्पतालहरुबाट पोखराका अस्पतालहरुमा बिरामी सिफारिस भएर आउने गरेकाले पनि सख्त र जटिल रोगका बिरामीको यहाँ उपचार हुने गरेको छ । गण्डकी प्रदेशमा दैनिक ७० देखि ८० पिन्ट रगतको माग हुने गरेको बताइन्छ । यसैगरी दुर्गम क्षेत्रका जटिल अवस्थामा रहेका गर्भवती र सुत्केरी तथा नवजात शिशुको उद्धार गरी सुविधासम्पन्न अस्पतालसम्म लैजान एयरलिफ्टिङ कार्यक्रमका लागि रु ४५ लाख विनियोजन गरिएको मन्त्री बरालले बताउनुभयो । आगामी आर्थिक वर्षको बजेटमा शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमका लागि रु १३ करोड विनियोजन गरिएको छ । यसैगरी नेपाल सरकारसँगको सहकार्यमा प्रदेश सरकारले स्थापना गरेको संक्रामक तथा सरुवारोग अस्पताललाई सवै प्रकारका सरुवारोगको उपचार गर्ने उत्कृष्ट प्रादेशिक अस्पतालको रुपमा विकास गर्न रु नौ करोड ५० लाख बजेट छुट्याइएको छ ।
काठमाण्डौँ : सांसदहरुले रणनीतिक साझेदारी कार्यक्रम (एसपिपी)ले नेपालमा पर्ने असरका विषयमा सरकारले ध्यान दिनुपर्ने बताउनुभएको छ । राष्ट्रियसभाको विशेष समयमा बोल्दै उहाँहरुले नेपालमा अन्तराष्ट्रिय हस्तक्षेप हुन नदिन सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (माओवादी केन्द्र) का सांसद नारायणकाजी श्रेष्ठले अहिले स्वाधिनताको विषयमा गम्भिर प्रश्न उठेको बताउनुभयो । नेपालको घोषित परराष्ट्रनीतिमा सार्वभौमसत्ता, भौगोलिक अखण्डता, असङ्लग्ननीति र स्वतन्त्र परराष्ट्रनीति उल्लेख रहेको उहाँले बताउनुभयो । सन्तुलित कुटनीतिमा विचलन आउँदा शक्ति राष्ट्रहरु कुनैले पक्षमा र अर्कोको विरोधमा प्रयोग गर्न खोजेको उहाँको भनाइ छ । अहिले एसपिपीका कारण राष्ट्रमाथि गम्भिर खतरा हुने सांसद श्रेष्ठले बताउनुभयो । एमसीसीको चर्चा हुँदा नागरिकले यसलाई विकास परियोजना होइन हिन्द प्रशान्त रणनीति हो भनेको र आफ्नो पार्टीले पनि यथास्थितिमा स्वीकार नगरौँ भनेको उहाँले बताउनुभयो । पार्टीसमेतले सहभागीतामा एमसीसी व्याख्यासहित पास गर्ने भने पनि व्यवहारमा त्यो नदेखिएको उहाँको भनाइ छ । नेपाललाई केन्द्रमा राखेर कुनै देशप्रति ‘प्रो’ बन्न नहुने र राष्ट्रहित केन्द्रीत स्वतन्त्र परराष्ट्र नीति अबलम्वन गरिनु पर्नेमा सांसद श्रेष्ठको जोड छ । सन्तुलित कुटनीति अबलम्वन गर्नुपर्ने र निजी स्वार्थका लागि राष्ट्रिय हित तिलाञ्जली दिन नहुने उहाँको भनाइ छ । देश कसैको पक्षमा प्रयोग हुन दिन नहुने, छिमेकी नीति अबलम्वन गर्नुपर्ने र दुवै छिमेकीसँग समनिकटताका आधारमा सम्बन्ध राख्नुपर्नेमा उहाँको जोड छ । सांसद् तुलप्रसाद विश्वकर्माले एसपिपी अमेरिकाले यस अघि नेपालले स्वीकार गरिसकेको र अब सम्झौता गर्न नपर्ने दाबी गरेको तथा सेनाबाट सम्झौता नगरेको बताएकाले वास्तविकताबारे सरकारले सदनमा स्पष्ट गर्नुपर्ने बताउनुभयो । सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्रीको अमेरिका भ्रमणले दुई देशको सम्बन्ध सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभयो । सांसद् भैरवसुन्दर श्रेष्ठले प्रधानमन्त्री र प्रधानसेनापति अमेरिका जाँदा सम्झौतामा हस्ताक्षर हुँदैछ भनेर जनस्तरमा आक्रोस र चिन्ता रहेको बताउनुभयो । नेपाली कांग्रेसकी सांसद दुर्गा गुरुङले रुस र युक्रेनको युद्धका कारण अन्तरराष्ट्रिय रुपमा मलको अभाव रहेकाले यस वर्ष अझै बढी समस्या हुने देखिएको बताउनुभयो । सांसद देवेन्द्र दाहालले समाजवादको कुरा संविधानमा उल्लेख भए पनि सरकारले ल्याएको बजेट, नीति तथा कार्यक्रमको आधार विन्दु समाजवादको नभएको उल्लेख गर्नुभयो । सांसद् जयन्तीदेवी राई र बिमला राई पौडेलले महोत्तरीकी पीडित युवती न्याय माग्दै काठमाडौँमा भएकाले सरकारले उनलाई बचाउनुपर्ने र अपराधीलाई कारवाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिनुभयो । सांसद् सिंहबहादुर विश्वकर्माले कृषिजन्य उत्पादन बढाउने सरकारको लक्ष्य भए पनि नागरिकले समयमा मल नपाउँदा अपेक्षित लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो ।
काठमाण्डौँ : काठेपुलबाट सेती नदीमा खसेर आज एक किशारीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका–६ गिरीचौकाकी १७ वर्षीया ढुल्लु अधिकारी रहेकी छन् । उनको सिगास गाउँपालिका–७ साङडा आउने क्रममा सेती नदीको पुलबाट खसेर मृत्यु भएको हो । अधिकारी रोपाइँका लागि सिगास–७ सङडा आउँदै गर्दा सेती नदीमा बनाइएको अस्थायी काठेपुलबाट लडेकी स्थानीय पदम खडायतले जानकारी दिनुभयो । सो स्थानमा रहेको झोलुङगे पुल गत कात्तिकमा भएको अविरल वर्षासँगै आएको बाढीले पुल बगाएपछि अस्थायी काठेपुल बनाइएको थियो । बाढीले बगाएको झोलुङ्गे पुल पुनःनिर्माण नहुँदा डोटी र बैतडीका सीमा क्षेत्रका नागरिक हाल अस्थायी पुलबाटै आवतजावत गर्न बाध्य छन् ।
भरतपुर : निगुरो टिप्न गएकी युवतीको शव फेला परेको छ । भरतपुर महानगरपालिका–२७ की २३ वर्षीया रेखा बस्नेतको शव बाघले खाइरहेको अवस्था फेला परेको हो । बस्नेतको शरीरको भाग खाइरहेको अवस्थामा फेला परेपछि सो बाघलाई धपाउनका लागि नेपाली सेनाको टोलीले पाँच राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार बिहान ७ बजे निगुरो टिप्न गएकी बस्नेतलाई स्थानीय राधाकृष्ण सामुदायिक वनमा बाघले आक्रमण गरेको थियो । आक्रमण भएको स्थानभन्दा ३०० मिटर पश्चिममा टाउको र छातीको भाग खाइसकेको अवस्थामा बस्नेतको शव भेटिएको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा निकुञ्ज र राष्ट्रिय वन क्षेत्रमा बाघको आक्रमणमा परी १६ जनाले ज्यान गुमाएका छन् ।
काठमाण्डौँ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताले दिएको विश्वास र अभिभारालाई तलमाथि पर्न नदिने गरी सेवक भएर काम गर्न स्थानीय तहका आफ्ना जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । सो पार्टीको केन्द्रीय स्कुल विभागले आज काठमाडौँमा आयोजना गरेको दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री ओलीले जनतासँग शालिन र विनम्र भएर हाकिमजस्तो नभई सेवकका रूपमा सेवा दिन आग्रह गर्नुभएको हो । “चुनाव जितिसेकेपछि तपाईँहरू साझा मान्छे बन्नुभएको छ । अब तपाईँहरूका पाइला– पाइलामा जाँच हुन्छ । पार्टीका मार्गदर्शन र विचारका आधारमा जनतालाई सेवा गर्ने काममा कुनै कमजोरी नगर्नुहोला ।” अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिँदै स्थानीय तहको निर्वाचनको परिणामा प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्याकर्तालाई निराश नहुन आग्रह गर्नुभयो । अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गर्नुभयो । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उप्रमुखलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षणमा पार्टीका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, पार्टीको केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेललगायतले पार्टी र स्थानीय तहका जनप्रतिनिधिको सम्बन्ध, बजेट तथा कार्यक्रम तर्जुमा तथा कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनलगायत विषयमा प्रशिक्षण दिनुहुनेछ ।
भदौ १० गते प्रदर्शनका तयारीमा रहेको चलचित्र प्रकाशमा दिया मास्केले जुम्लाको एक विपन्न विवाहित महिलाको भूमिका निर्वाह गरेकी छन् । यसअघि सार्वजनिक फर्स्टलुक पोस्टर र टिजरमा उनको गेटअपले धेरैले आश्चर्य बनाएको थियो । बुधबार उनले फेसबुकमा आफू फिचर ‘प्रकाश’को एक पोस्टर सार्वजनिक गर्दै फिल्ममा आफू सीताको चरित्रमा रहेको जानकारी दिएकी छन् । यो पोस्टर शेयर गर्दा मन ढक्क फूलेको उल्लेख गरेकी छिन् । उनले लेखेकी छन्, ‘चलचित्रमा साहित्य चेत बढेसँगै चलचित्र अभिनयमा पनि गहिराई आउन थालेको छ । महिला पात्रहरु विस्तारै उपस्थिति जनाउने तत्वहरु मात्र नभएर, चलचित्र न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्, जसको उदाहरण हो ‘प्रकाश’ चलचित्रको प्रतिनिधि पात्र ‘सिता’। उनले दीयाबाट सीता बनिरहँदा छायांकन स्थलमा रहेर जुम्लाको भाषा सिक्न र त्यहाँको रहनसहनसँग बानी पार्न सजिलो नभए पनि कठिन महशुस पनि नभएको उल्लेख गरेकी छन् । गरिरहेको कामप्रति इमान्दार नहुनु भनेको पात्रलाई गिज्याउनु रहेको उनको तर्क छ । अभिनेत्री मास्के अगाडि लेखेकी छन्, ‘कथा छनौट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी, झनै पात्र छनौट र चरित्र निर्माणमा त पटक्कै ध्यान दिँदैनौ । कहिले काहीँ त झन्, हाम्रा चलचित्रहरुमा महिला पात्रहरु केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रहरु जस्तो मात्र प्रतित हुन्छ । हामी उनीहरुको चारित्रिक विशेषता खोज्न तिर शून्य बराबर नै समय खर्चिने गर्छौँ ।’ फिल्ममा आफूले गरेको कामको बारेमा अहिले नै बोल्ने हतार हुने भए पनि एकपछि अर्को सशक्त भूमिकाद्वारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिला पात्रहरुलाई आख्यानमा स्थापित गर्न थलिएकोमा खुशी व्यक्त गर्दै उनले अब नेपाली फिल्ममा कलाकारहरु बन्नका लागि राम्रो समय आएको बताएकी छन् । सार्वजनिक पोस्टरमा उनी जुम्लेली लुक्समा प्रस्तुत छिन् भने काँधमा हलो र जुवा बोकेर देखिएकी छन् । फिल्ममा उनी अभिनेता प्रदीप खड्काको आमाको भूमिकामा छिन् । यस फिल्ममा रेनु योगी, प्रकाश घिमिरे, रामबाबु रेग्मी, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, लोकेन्द्र लेखक, निरज पन्थीलगायतको पनि अभिनय छ । भदौ १० गतेबाट प्रदर्शनमा आउने फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । दिनेश राउत निर्देशित फिल्ममा विकास सुवेदीको कथा, राजेश श्रेष्ठको छायांकन, जिवन थापाको सम्पादन, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत छ ।

