काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाण्डौँ :      गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जान लाग्नुभएका हजयात्रीको बिदाइ गर्नुभएको छ ।   गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर हजयात्रा गर्न जान लाग्नुभएका ११३ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । यसवर्ष हज गर्न नेपालका लागि छुट्याइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई उत्तिकै सम्मान गर्ने बताउनुभयो । हज गर्न जाने परम्पराले विश्वभर नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध विस्तार हुने उहाँले बताउनुभयो ।    हजयात्रीलाई बिदाइ गर्न नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलगायतको उपस्थिति थियो । यही असार ६ गतेदेखि दैनिक एयर अरेबियाको जहाजबाट टोली हज गर्न जाने गरेको थियो ।  

रोल्पा :     रोल्पामा सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको छ । रोल्पा जिल्ला अदालतमा यस वर्षको असार ७ गतेसम्म ३२२ सम्बन्ध विच्छेदका मुद्दा दायर भएका छन् ।    यसरी दायर भएका २२७ मुद्दा फछ्र्यौट हुँदा ९५ फछ्र्यौट हुन बाँकी छन् । दर्ता भएका ३७ मुद्दा पुरुषले सम्बन्ध विच्छेदका लागि दर्ता गरेका हुन् । धेरै जसो १६ देखि २० वर्षको उमेर समूहका किशोरकिशोरी सम्बन्ध विच्छेदका लागि आउने गरेको पाइएको छ । विवाहपछि सोचाइमा भिन्नता आउने, विहे गरेर वैदेशिक रोजगारीमा जाँदा पछि सम्बन्ध विच्छेदका लागि मुद्दा दायर गर्ने गरेको पाइएको छ ।       गत वर्ष २२६ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा  १५६ वटा फछ्र्यौट भएका छन् । सो अवधिका ७० मुद्दा फछ्र्यौट हुन बाँकी छ । आर्थिक वर्ष २०७६÷७७ मा १६५ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा १२३ वटा फछ्र्यौट भएका थिए ।     सम्बन्ध विच्छेद गर्नेमध्ये अधिकांश २७ वर्ष मुनिका छन् । चौध वर्ष उमेरका बालबालिका पनि सम्बन्ध विच्छेदका लागि आउने गरेको रोल्पा जिल्ला अदालतका केशव श्रेष्ठले जानकारी दिनुभयो । “विवाह भएको चार महिनामै सम्बन्ध विच्छेद गर्न आउने गरेको तथ्याङ्क छ”, उहाँले भन्नुभयो ।    अंश दाबीबिना सम्बन्ध विच्छेद गरी पाउ भनेर समेत मुद्दा दर्ता गर्ने गरेको पाइएको । अंशदाबीसहित सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्दा फैसला हुन एक वर्ष कुर्नुपर्ने र अंशदाबी गर्दा तीन महिनाभित्रै मुद्दा फैसला हुने भएकाले अधिकांशले अंशदाबीविना नै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेको श्रेष्ठले बताउनुभयो ।     सम्बन्ध विच्छेदको मुख्य कारण बालबिवाह भएको रोल्पा जिल्ला अदालतका श्रेस्तेदार प्रेम खड्काको भनाइ छ । “सानै उमेरमा विवाह गर्छन्, परिपक्व भएपछि पछुताएर सम्बन्ध विच्छेद गराउन आउँछन्”, उहाँले भन्नुभयो । सम्बन्ध विच्छेदका अन्य कारणमा वैदेशिक रोजगारी, सामाजिक सञ्जालको दुरुपोग, मादक पदार्थको सेवन, कुटपिटलगायत हिंसालगायत रहेको छ ।    महिला अघिकारकर्मी तीर्था आचार्य भन्नुहुन्छ, “वैदेशिक रोजगारीले पनि सम्बन्ध विच्छेदलाई बढावा दिएको छ ।”  सम्पत्ति नलिएरै सम्बन्ध विच्छेद गर्नेको सङ्ख्या धेरै छ ।  सम्पत्ति माग दाबीसहित  गरिने सम्बन्ध विच्छेदको प्रक्रिया लामो  हुन्छ । यसरी सयौँ परिवार विखण्डन हुँदा सामाजिक विग्रह पनि बढ्दै गएको आचार्यले बताउनुभयो । सम्बन्ध विच्छेद गरेकाहरुका छोराछोरीको शिक्षा, स्वास्थ्य तथा पालनपोषण प्रभावित हुने गरेको पाइएको छ । 

महोत्तरी :     महोत्तरी सदरमुकाम जलेश्वरस्थित कारागारमा आज बिहान एक कैदीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा महोत्तरीकै लोहारपट्टी नगरपालिका–१ का  ८० वर्षीय राजकरण यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिनुभयो । कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद सजाय भोग्दै गरेका यादव   बिहान २ बजे एक्कासी बेहोस भएका थिए ।    उपचारका लागि तत्काल प्रादेशिक अस्पताल जलेश्वर लगिएकामा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । यादवको शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको बताइएको छ ।  

 झापा :      नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ ।   आज बिहान ५ः३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताउनुभयो । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले जानकारी दिनुभयो ।   शङ्कास्पद वस्तु कसले राखेको हो भन्ने बारेमा अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।

काठमाण्डौँ :     देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने भएको छ ।    जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव तथा पश्चिमी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । यसका साथै भारतको उत्तर प्रदेश र आसपासमा रहेको न्यून चापीय प्रणालीको समेत नेपालमा प्रभाव रहेको छ ।    उक्त प्रणालीको प्रभावले प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ को केही स्थानमा भारी वर्षाको सम्भावना छ ।    रातको समयमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव आठ डिग्री र अधिकतम तापक्रम २९ दशमलव दुई डिग्री सेल्सियस छ । 

 पोखरा :      पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ ।   कास्कीको अन्नपूर्ण गाउँपालिकाका ५३ वर्षीया महिलामा बिहीबार उहाँका श्रीमान्को मिर्गौला प्रत्यारोपण गरिएको हो । विशेषज्ञ चिकित्सक टोलीले चार घण्टा लगाएर प्रत्यारोपण गरेका थिए । अस्पतालले दुवै जनाको नाम गोप्य राखेको छ ।   शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रतिष्ठानको सहकार्यमा पहिलो पटक प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा भरतबहादुर खत्रीले बताउनुभयो । उहाँका अनुसार केन्द्रका डा पुकारचन्द्र श्रेष्ठ तथा प्रतिष्ठानका डा प्रकाश क्षेत्री, डा अनुप चापागाई, डा माया लामा, डा जुजु श्रेष्ठ र डा अमृत केसीको टोलीले मिर्गौला प्रत्यारोपण गरेको हो ।   यसअघि पोखरा तथा गण्डकी प्रदेशका बिरामी मिर्गौला प्रत्यारोपणका लागि राजधानी काठमाडौँ जानुपर्ने अवस्था थियो । प्रतिष्ठानलाई यही असार ३ गते प्रत्यारोपणका लागि स्वास्थ्य सेवा विभाग मातहतको मानव अङ्ग प्रत्यारोपण समन्वय सचिवालयबाट अनुमति प्राप्त भएको प्रतिष्ठानका सूचना अधिकारी सुमन भट्टराईले जानकारी दिनुभयो । प्रतिष्ठानले यसअघि प्रत्यारोपणका लागि आवश्यक जनशक्ति उपलव्ध गराउने सम्बन्धमा धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सम्झौता गरेको थियो ।   पहिलोपटक प्रत्यारोपण गरिएको बिरामीको सबै उपचार खर्च निःशुल्क गरिएको अस्पतालले जनाएको छ । पोेखरामा मिर्गौला प्रत्यारोपण हुने भएपछि धेरै बिरामीको उपचारमा सहज हुने र आगामी दिनमा यस सेवालाई बढाउँदै लैजाने योजना अस्पतालको छ । पोखरामा दैनिक डायलासिस गर्न आउने मिर्गौलाका बिरामीको सङ्ख्या ५०० हाराहारी रहेको बताइएको छ ।

बाँके :       बाँकेको बैजनाथ गाउँपालिका १ गाभरभ्यालीमा विगत ९ वर्षदेखि सामुदायिक घरबास संचालन हुँदै आएको छ ।    कोहलपुरदेखि करिब साढे ८ किलोमिटरको दुरीमा अवस्थित सो होमस्टेको सुरुवात कृष्ण चौधरीले २०७० सालमा एक्लै गरेका थिए । अहिले २५ घर समितिमा आवद्ध भई सेवा प्रदान गर्दै आएका होमस्टे संचालक रमेश प्रसाद जैसीले बताए । उनका अनुसार एक रात घरबास सुविधाको लागि प्रतिव्यक्ति १५ सय देखि २ हजार खर्च हुने गर्छ ।    समितिमा दर्ता भएपनि होमस्टेले प्रदान गर्ने सेवा सुविधाको आधारमा शुल्क तिर्नुपर्ने जैसीले बताए । उनका अनुसार चौधरी, ब्राह्मण र क्षेत्री लगायतका समुदायले होमस्टे संचालन गर्दै आएका छन्  । गाभरभ्याली सामुदायिक होम्स्टेमा पोखरा, बुटवल, काठमाडौं, रुपन्देही लगायतको स्थानबाट पाहुनाहरु आउँने गर्दछन ।  हेरौं तस्वीरहर  :                                                  

विराटनगर :     विराटनगर महानगरपालिका–११ निवासी विद्यार्थी पङ्कज राउत दैनिक १० घण्टा सिटी सफारी  चलाउँनुहुन्छ । उहाँले सिटी सफारी चलाएर आफ्नो अध्ययनलाई निरन्तरता दिनुभएको छ ।    यस वर्ष कक्षा १० को एसइई परीक्षा दिनुभएका राउतले कक्षा ८ देखि नै विद्यालय समयबाहेक सिटी सफारी चलाएर आफूसहित दुई भाइलाई पढाउँदै आउनुभएको छ ।     परिवारको आर्थिक अवस्था कमजोर रहेकाले राउतले यही कामबाट परिवारको भरणपोषणमा सहयोग गर्नुभएको छ । राउतको यो मेहेनती कार्यको छिमेकीहरु पनि प्रशंसा गर्दछन् ।    बुवाको काम गर्ने उद्योगमा लडेर हात भाँच्चिएपछि राउत सानै उमेरदेखि परिवारको पालनपोषणका लागि सिटी सफारी चलाउन लाग्नुभएको हो । यो कायमको थालनीमा निकै कठिनाइ भएको उहाँको अनुभव छ ।    स्कुलमा हुँदा सिटी सफारी चलाएर दैनिक रु ५०० देखि ८०० सम्म आम्दानी गर्नुभएका राउतले अहिले दैनिक रु एक हजार २०० सम्म कमाउने बताउँनुहुन्छ । विराटनगरस्थित जनपथ माविमा अध्ययन गर्नुभएका राउत कक्षामा प्रथम हुँदै आउनुभएकोमा अहिले सामाजिक काममा रुचि देखाउन थाल्नुभएको छ । विभिन्न परोपकारी अभियानमा उहाँ लाग्नुभएको छ ।    “मेरो मात्र कुरा छैन, घरमा आमाबुवा पाल्नुपर्छ, मसँगैका दुई भाइलाई पढाउनु पर्दा खर्च बढ्ने भएकाले व्यवस्थापन पढ्ने निर्णयमा पुगेको छु”, उहाँले भन्नुभयो ।  एउटा भाइ कक्षा १० र अर्को कक्षा ६ मा अध्ययनरत रहेकोले उनीहरुलाई शिक्षा दिन आफूले दिनरात मेहेनत गरेको उहाँको भनाइ छ ।    घर खर्चको लागि साहुसँग लिएको ऋण चुक्ता गर्नुपर्ने भएकाले बुबा र आमालाईसमेत ठेला किनिदिएर व्यवसायमा लगाउनुभएको छ । अहिले आँपको मौसम भएकाले आमा र बुवा यही व्यवसायमा आबद्ध भएको उहाँले बताउनुभयो । उहाँ विराटनगरका युवानेता एवं समाजसेवी वासिम आलमको नेतृत्वमा सञ्चालित विपन्नलाई निःशुल्क खाना, लुगा वितरणलगायतका समाजसेवाका अभियानमा समेत सक्रिय भएर लाग्नुभएको छ ।

काठमाण्डौँ :       धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४५.२५ अङ्कले ओरालो लागेर एक हजार ८४८.२८ मा ओर्लेको छ ।   यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.०६ अङ्कले ओरालो लागेर ३६२.०९ मा ओर्लेको छ । कूल २३७ कम्पनीको ५० लाख आठ हजार ७७१ कित्ता शेयर रु एक अर्ब ४९ करोड ९७ लाख नौ हजार ६३५ बराबरको कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ३५ अर्ब १७ करोड ९६ लाख १८ हजार बराबर रहेको छ ।   नेप्सेका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर मूल्यमा गिरावट आएको छ । बैंकिङ २१।२९, व्यापार ३९.३९, होटल तथा पर्यटन ६७.१३, विकास बैंक ११९.८६, जलविद्युत् ८६.३६, वित्त ४७.१, निर्जीवन बीमा २१८.०५, उत्पादन ९५.९७, अन्य ३३.१९, लघुवित्त १०२.१५, जीवन बीमा १४३.३८, सामूहिक लगानी कोष ०.२५ र लगानी २.२३ अङ्कले ओरालो लागेको छ ।   कारोबारका आधारमा कुमारी बैंक शीर्षस्थानमा छ । सो बैंकको रु नौ करोड ५३ लाख १२ हजार ५१० बराबरको कारोबार भयो । यस्तै लक्ष्मी बैंक रु छ करोड ३६ लाख ८५ हजार ३७५, नबिल बैंक रु पाँच करोड ५३ लाख ६९ हजार ६८७, हिमालयन डिस्टिलरी रु चार करोड ५२ लाख ४२ हजार २८८ र एनआइसी एशिया बैंक रु चार करोड १५ लाख ५९ हजार ४९२ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।   नेप्सेका अनुसार घटेको बजारमा आँधीखोला लघुवित्त र सिवाइसी नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लाग्यो । त्यस्तै एनआइसी ब्यालेन्स फण्ड ३.९४, विन नेपाल लघुवित्त २.७० र गुर्खाज फाइनान्सका लगानीकर्ताले १.९७ प्रतिशतले कमाए ।   यस्तै शिवश्री हाइड्रोपावर ९.५६, लिवर्टी इनर्जी ९.२१, सामलिङ पावर ८.५०, एनआइबिएल प्रगति फण्ड ८.३२ र जोशी हाइड्रोपावरका लगानीकर्ताले ८.०६ प्रतिशतले गुमाए ।