स्याङजाः स्याङजाको भिरकोटस्थित खिलुङको पहरोमा २० वर्षीय रबिन गुरुङ मृत अवस्थामा भेटिएका हुन् । मामाघरमा बस्दै आएका गुरुङ बिहीबार दिउँसो बाख्रा चराउन उक्त क्षेत्रको जंगलतर्फ गएका थिए । रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा स्थानीयवासीले भिरमा उनलाई देखेका थिए । त्यसपश्चात् प्रहरीमा खबर गरेपछि वालिङ प्रहरीको टोलीले उनलाई आज बिहान साढे ८ बजे भिरबाट निकालेको हो । प्रहरी भिरमा पुग्दा रबिन मृतावस्थामा भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । ‘हामीलाई बिहान ७ बजेतिर भिरमा एक व्यक्ति मृतावस्थामा रहेको हुनसक्ने भनि खबर आएको थियो’ जिप्रका स्याङजाका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले भने ‘करिब ३ सय मिटर अग्लो पहराबाट हामीले शव झिकेका छौं ।’ गुरुङको मृत्यु भेडा–बाख्रा चराउन जाँदा भिरबाट लडेर भएको हुनसक्ने अनुमान गरेको बताउँदै खनालले यसबारे थप अनुसन्धान भइहेको र मृतकको पोष्टमार्टमपछि विस्तृत जानकारी दिनसक्ने बताए । स्थानीय ठेगाना स्याङ्जा, बिरुवाको तुलसीचौर भएका गुरुङ मामाघर बस्दै आएको स्थानीयले जानकारी दिएका छन् ।
कास्कीः माछापुच्छ्रे गाउँपालिकाले करार पदमा विभिन्न कर्मचारीको माग गरेको छ । गाउँपालिकाले आज विज्ञापनमार्फत २० जना करार कर्मचारीको माग गरेको छ । यसअघि नयाँ आर्थिक वर्ष सुरु भएसँगै गाउँपालिका कार्यालयले करारका कर्मचारीलाई हाजिर गर्न रोकेको थियो । पालिकामा स्वास्थ्यतर्फ २५ र अन्यमा ३८ कर्मचारी करारमा रहेका थिए । नयाँ करार राख्ने विषयमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘लोकसेवा आयोगसँग माग नगरी करारमा कर्मचारी नियुक्त नगर्नु’ भनेको छ । यसैबीच, पालिकामा डेढ दर्जन करारका कर्मचारीलाई हटाई उनीहरुको रिक्त स्थान भर्न पुनः करारमै कर्मचारी माग गरिएको हो । यस विषयमा जिज्ञासा राख्दा पालिका अध्यक्ष मिनबहादुर गुरुङले पहिलेका कर्मचारीलाई नियमतः हटाइएको जानकारी दिए । ‘हटाउन सक्ने व्यवस्था भएर हटाइएको हो’ अध्यक्ष गुरुङले भने ‘तर विज्ञापनअनुसार उहाँहरु पुनः प्रतिष्पर्धा गर्न सक्नुहुन्छ ।’ गुरुङले योग्यता, अनुभव र दक्षताको आधारमा पुनः पहिलेकै कर्मचारी पनि प्रतिष्पर्धामार्फत आउन सक्ने बताए । त्यसो त ६–६ महिनामा करार नवीकरण हुने व्यवस्था रहेको बताउँदै यसपटक अवधि सकिन अघि कोही पनि कर्मचारी नवीकरण गर्न नआएको र निवेदन पनि नदिएको गुरुङको भनाई छ । ‘हामी नयाँ–नयाँ छौं’ भन्दै पालिका अध्यक्ष गुरुङले पहिलेदेखि बिग्रेको, भत्केको परिपाटीलाई सुधार गर्ने प्रयास भएको बताए । ‘हाम्रो नियत कसैलाई निकालेर आफन्तलाई जागिर खुवाउने होइन’ उनले भने ‘कार्यकुशलता भएकालाई निरन्तरता दिन सकिने सम्भावना पनि छ ।’ पालिकाको आधिकारिक पेजमा विज्ञापन प्रकाशित भएपछि सञ्जालका प्रयोगकर्ताले विभिन्न टिप्पणी गरेका छन् । बढी जसो टिप्पणी भने ‘अब कांग्रेसले भर्ती खुलाउने पालो’ भन्नेमा आधारित छ ।
पोखराः स्याङ्जामा गत आर्थिक वर्ष २०७८/०७९ मा ८ सय ९४ वटा नयाँ उद्योग थपिएका छन् । कृषि तथा पशुपक्षी र सानो पुँजीको लगानीमा जिल्लामा पछिल्लो समय ८ सय ९४ घरेलु तथा साना उद्योग थपिएका हुन् । तुलनात्मक रुपमा जिल्लामा कृषि तथा पशुपक्षीसँग सम्बन्धित फार्म तथा उद्योग बढी थपिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख श्रीप्रसाद रेग्मीले जानकारी दिए । गत आर्थिक वर्षमा ८ सय ९४ घरेलु तथा साना उद्योग थपिँदा वाणिज्य (पसल, व्यवसाय)तर्फ ६ सय ८४ नयाँ दर्ता भएको प्रमुख रेग्मीले बताए । उद्योग तथा व्यवसाय महिलाका नाममा दर्ता गर्दा शुल्कमा ५० प्रतिशत छुट हुने भएकाले पनि महिलाका नाममा उद्योग तथा व्यवसाय दर्ता गर्ने क्रम बढ्दो रहेको कार्यालय जनाएको छ । आव २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा उद्योग तथा व्यवसाय दर्तामा भने कमी आएको छ । आव २०७७/०७८ मा १ हजार ४ सय ७५ उद्योग दर्ता भएका थिए भने पछिल्लो वर्ष ९ सय ६६ पसल तथा व्यवसाय दर्ता भएका छन् । २०७७/०७८ को तुलनामा पछिल्लो आर्थिक वर्षमा ५ सय ८१ वटा उद्योग दर्तामा कमी भएको छ भने वाणिज्यतर्फ २ सय ८२ मात्रै दर्ता भएका छन् । पछिल्लो समय स्थानीय पालिकामा व्यवसाय दर्ता अनिवार्य गरेपछि घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने क्रम घटेको कार्यालयले जनाएको छ । कार्यालयले गएको आर्थिक वर्षमा ७९ वटा उद्योग र १ सय १० वटा वाणिज्य (पसल, व्यवसाय)को दर्ता खारेजी गरिएको छ । जिल्लामा २०७९ असार मसान्तसम्ममा ८ हजार ९ सय १२ उद्योग दर्ता भएकोमा ५ हजार ८ सय ८३ वाणिज्य (पसल, व्यवसाय)मात्रै सञ्चालनमा रहेका छन् ।
पोखरा: पोखरामा पहिलो पटक नेवार समुदायले घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका छन् । काठमाडौँ, भक्तपुरमा सिमित नेवार समुदायको घिन्ताङ घिसी २१ औँ शताब्दीमा पोखरेलीहरुले प्रत्यक्ष अवलोकन गर्न पाए । पोखरामा मंगलबार २८ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसरमा भक्तपुरका नेवार समुदायहरुले पहिलो पटक घिन्ताङ घिसी नाँच प्रस्तुत गरेका हुुन् । अन्र्तराष्ट्रिय जनजाति दिवसको अवसर पारेर नै भक्तपुर देखि ६२ जनाको जम्बो टोली सोमबार पोखरा आइपुगेको थियो । नेवार समुदाय देशभर नै छरिएर रहेको छ तर नेवार समुदायहरुले आफ्नो संस्कृति छोड्दै गएकाले नेवारी पात्रोमा संस्कृति सातासात भन्ने उदेश्य राखेर टोली पोखरा आएको हो । भक्तपुुरका राज प्रजापतिले घिन्ताङ घिसी कलाकार सहितको जम्बो टोली पोखरा आएपछि उनले भक्तपुरमा काठमाडौँ र लतिलपुरमा मात्र नेवार समुदाय, कला संस्कृति सिमित हुन थालेको भन्दै अन्य जिल्लाका नेवार समुदायले संस्कृति भुल्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘संस्कृति छ हामी छौँ नभए कोही पनि हुदैन त्यसैले आफ्नो संस्कृति जर्गेना गर्न अगाडी बढ्न अभिप्रेरित गर्न पोखरा आए ।’ पछिल्लो समय युवाहरुले आफ्नो समुदायका संस्कृतिलाई वास्ता नगर्दा भाषा, सस्कृति धरापमा परेको छ । पोखराका अस्टमान प्रधानाङ्गले २९ औँ अन्र्तराष्ट्रिय जनजाति दिवसमा पोखराका नेवार समुदायले आफै घिन्ताङ घिसी प्रस्तुत गर्ने बताए । प्रधानाङ्गले भने, ‘नेवार समुदायले संस्कृति सातासात भन्ने उद्देश्य लिएको छ यसै अनुरुप हामीलाई सहयोग गर्न भक्तपुरदेखि टोली आएको छ, पोखराका युवाहरुलाई नाँच र बजाउन तालिम प्रदान गरेका छौँ, अब पोखराका नेवार समुदालयले घिन्ताङ घिसीको संरक्षण गर्छ ।’ भक्तपुरका नेपाल भाषा साहित्य तःमु ज्याका प्रतिनिधि राजाराम बासीले अवका युवाहरुले आफ्नो संस्कृति संरक्षण र पुस्तातरण हुन नसके लोप भएर जाने बताए । बासी भन्छन्, ‘पोखरामा पहिलो पटक घिन्ताङ घिसी देखाइएको हो, अब पोखरेली नेवार समुदाय आफै अग्रसर हुन् आवश्यक छ ।’ संस्कृति बचाउन अगाडी सर्न सवैलाई उनको आग्रह छ । के हो घिन्ताङ घिसी, कसरी नाचिन्छ ? भक्तपुर नगरपालिकाको सबै वडामा गाईजात्रा दिन घिन्ताङ घिसी नाच रोचक पक्ष मानिन्छ । यो नाँचमा नाच्नेहरुको हातहातमा लट्ठी हुन्छ । उनीहरूले बाजाको उही तालमा दुइटा लट्ठी जुधाएर फरक किसिमले नाच नाच्दै देखाउँछन् । भक्तपुरका विश्वरामका अनुसार, यो नाचलाई माक प्याँख (नाच) भनिन्छ । ‘भक्तपुरमा परम्पराकालदेखि नै यो नाँच नाच्दै आएकाले हाम्रो बच्चाहरु सवै घिन्ताङ घिसीमा नाच्न सक्छन् तर अन्य जिल्लामा सिक्न र सिकाउन नसक्दा यो नाँच पोखरामा आउन नसकेको हो’ विश्वराम भन्छन् । गाईजात्रामा नाचिने घिन्ताङ घिसी गाईजात्रा सुरु भएदेखि नै चलिआएको तर यी नाँच १६ औं शताब्दीमा जयप्रकाश मल्लले सुरु गरेको विश्वराम ट्वायनले बताए । लिच्छवि कालको सुरुआतदेखि नै चल्दै आएको साँपारु (गाईजात्रा) लिच्छवि राजा आनन्द देवले भक्तपुरलाई नेपाल मण्डलको राजधानी बनाएपछि झन् आकर्षक हुँदै गएको उनको अनुभव छ । ‘जगतप्रकाश मल्ल साहित्यप्रेमी भएकोले उनले भक्तपुरको साँपारुलाई एक दिनको सट्टा थप आठ दिनसम्म मनाउने चलन ल्याए’ उनले भने । मेटिँदै घिन्ताङ घिसीको मर्म ताहामचा गना तय् ग्वाखँ प्वालय तय् ग्वाखँ प्वालय् मन्हयंसा खुसी चुइक छोय् नेपाल भाषाको यो गीतको अर्थ हुन्छ– ‘मरेको मानिसको प्रतीक (गाई) लाई घरको परेवा बस्ने प्वालमा राखूँ कि, त्यहाँ नअटे खोलामा बगाऊँ कि’ घिन्ताङ घिसी नाच्दा खिँ ढाँ, छुस्या जस्ता बाजाको तालमा यो गीत गाइन्छ । विश्वरामका अनुसार, नेवार समुदायका पुराना घरमा परेवा बस्ने प्वाल हुन्थ्यो । अहिले यो हरायो । योसँगै पछिल्लो समय युवा पुस्ताले गीत पनि बदलेका छन् । जस्तो, घिन्ताङ घिसी नाच्दै गर्दा केही युवकले गाए ‘रप्पपो, रप्पपो, जेरी आधा पाउ’, ‘झयाले च्वंमा मिसाचा जिटा मा’ (झयालमा बस्ने केटी मलाई चाहिन्छ) ।’
पोखराः सरकारले आर्थिक वर्ष ०७९/८० को बजेटमा कर्मचारीलाई वृद्धि गरेको तलबदर असमान भएको भन्दै कास्कीका सरकारी कार्यालयका नायब सुब्बा (नासु)हरुले आज काम गरेका छैनन् । जिल्लाभित्र केही कार्यालयमा नासुहरुले पेन डाउन गरेका छन् भने दिउँसो १२ बजेपछि कार्यालयबाट निस्केर शहीदचोकमा भेला भएका छन् । मालपोत कार्यालय लेखनाथमा नासुहरुले पेनडाउन गरेपछि सेवा प्रभावित भएको छ । लेखनाथका नासुहरु अहिले शहीदचोकतर्फ आइरहेका छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु पनि शहीदचोकतिर निस्कन सुरु गरेका छन् । नासुहरुले आज काम नगर्ने वा १२ बजेपछि बिदा (क्याबि) लिने जानकारी आफु मातहतका सिनियरलाई हिजै जानकारी गराएका थिए । सोही अनुरुप प्रशासन कार्यालयका कर्मचारी अहिले बाहिर निस्केका छन् । ‘अहिलेसम्म त सबै काम भइरहेको छ तर अब साथीहरु विरोध कार्यक्रमतर्फ जाने तरखरमा हुनुहुन्छ’ प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद रिजालले जानकारी दिए । यता, मालपोत कार्यालय कास्कीमा भने आज काम हुन सकेन । सेवाग्राहीका घुइँचो लागेपनि अहिले ठप्प भएको मालपोत कार्यालयले जानकारी दिएको छ । ‘हामी ३ जना हाकिममात्रै छौं’ एक कर्मचारीले भने ‘हामीलाई हिजै जानकारी थियो, ३ जनालेमात्रै सेवा दिन नसक्ने भएपछि हामीहरु यत्तिकै बसेका छौं ।’ तलबदार असमान भएको र सरकारले तोकेको प्रतिशतभन्दा फरक परेपछि आन्दोलनमा उत्रनुपरेको नासुहरुले बताएका छन् । चालू बजेटले सबै सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढाएको थियो । तर, तलब लागू हुने समयमा भने शाखा अधिकृतदेखि सचिवसम्मका कर्मचारीको तलब साढे २४ प्रतिशतसम्म बढाइएपछि आन्दोलित भएको उनीहरुको भनाई छ । कास्कीमा आन्दोलनको नेतृत्व गरिरहेका मालपोत कार्यालय कास्की नासु सूर्य तिवारीले विरोधस्वरुप शहीदचोकमा भेला भएको बताएका छन् । ‘सबै कर्मचारीको तलब १५ प्रतिशतले बढाइएको भनियो’ तिवारीले भने ‘तर शाखा अधिकृतदेखि माथिका कर्मचारीको तलब भने २४ प्रतिशतले बढाइयो ।’ सरकारले असमान दरले तलब बढाएको विरुद्धमा आन्दोलन आजबाट सुरु भएको भन्दै उनले थपे, ‘सरकारले हामीलाई तलबमा हेप्यो ।’ सरकारले अन्यलाई भन्दा नासुलाई कम तलब बढाएर हेपेको तिवारीको ठहर छ । आज विरोधस्वरुप भेला भएको र भोलीदेखि कस्तो स्वरुपको कार्यक्रम गर्ने भन्ने विषयमा केन्द्रको निर्णयको प्रतीक्षामा रहेको नासुहरुको भनाई छ । तलब दरको असमान वृद्धिमा आज राजधानी लगायत देशैभर नासुहरुको विरोध कार्यक्रम रहेको छ । शहीदचोकमा मालपोत, प्रशासन, नापी, अदालतलगायतका कर्मचारी सहभागी छन् । संघीय सरकारअन्तर्गत नायब सुब्बाको १४ हजार २५ जनाको दरबन्दी रहेको छ ।
नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ । पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो । यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो । ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगैै नेपालमा अब छेपारो प्रजातिको सङ्ख्या ४१ पुगेको छ । परिवार पनि थपिएको छ । संरक्षणकर्मी विवेक गौतम, सन्तोष भट्टराई र डा रामचन्द्र कँडेल सम्मिलित टोलीले अनुसन्धानमा नयाँ प्रजाति फेला परेको पुष्टि गरेको हो । “यो छेपारो रेकर्ड भएसँगै नेपालमा पाइने छेपारोको परिवारसमेत छ बाट सात पुगेको छ”, नेपाल कन्जरभेसन एण्ड रिसर्च सेन्टरका सरीसृप अध्येता भट्टराईले भन्नुभयो । उहाँ हाल फेडेरेशन विश्वविद्यालय अष्ट्रेलियामा नेपालका उभयचर र सरीसृप प्रजातिबारे विद्यावारिधिसमेत गर्दै हुनुहुन्छ । यसका बारेमा खास अध्ययन नभएकाले अबका दिनमा यसका गतिविधिसहित सबै आयामबारे अध्ययन गरिने पनि उहाँले बताउनुभयो । विश्वमा ‘ट्याकीड्रोमस’ छेपारोको २४ प्रजाति फेला परेको छ । नेपालमा भेटिएको ‘सिक्किम छेपारो’ भने नेपाल र भारतको सिक्किममा मात्र पाइन्छ । त्यसैले यसको नाम सिक्किम छेपारो भनिएको हो । यो संसारमा सबैभन्दा पहिले सन् १८८८ मा सिक्किममा फेला परेको थियो । त्यसैले यसको नाम ‘सिक्किमेन्सिस’ भनेर नामकरण गरिएको यो छेपारो प्रजाति, दोस्रोपटक एक सय २१ वर्षपछि सन् २००९ मा सिक्किममै फेला परेको थियो । जैविक विविधता अनुसन्धानका क्रममा सुरुमा मोरङको मिक्लाजुङ क्षेत्रको जङ्गलमा पाइएको यो छेपारो पछिल्लो समयमा पाँचथर र इलामको चुलाचुली क्षेत्रमा समेत फेला परेको जैविक विविधता अनुसन्धान तथा संरक्षण समाजका अनुसन्धानकर्ता विवेक गौतमले जानकारी दिनुभयो । नियमित पानी छेपारोको अनुसन्धान गर्ने क्रममा त्यही आसपासको भू–भाग हेरौँ भनेर लाग्दा आफूले नयाँ छेपारो फेला पारेको उहाँले बताउनुभयो । “सुरुमा अलि लामो पुच्छर भएको छेपारो देख्यौँ, त्यो बेला समाउन सकेनौँ, फोटोबाट हेर्न गाह्रो हुन्छ, त्यस दिन बसेर खोज्यौँ, अर्को दिनचाहिँ फेरि फेला पार्यौँ र नापजाँच गर्यौँ”, गौतमले रासससँग अनुभव सुनाउँदै भन्नुभयो, “अध्येता सन्तोष सर (सन्तोष भट्टराई)लाई जानकारी गराएँ, हामीले त्यसको एक हप्तामै अड्कल चाहिँ काटिसकेका थियौँ, अहिले जर्नलमै आयो, फेमिली नै नयाँ, प्रजाति नै नयाँ फेला पारी संरक्षणमा योगदान दिन पाइयो, खुसी छौँ ।” यसको शरीरको माथिल्लो भागको रङ खैरो तथा चिउँडो र छातीको भाग हल्का हरियो–पहेँलो रङ हुने यो छेपारो करिब चार सेन्टिमिटर लामो तथा पुच्छर शरीरभन्दा तीन गुणा बढी लामो हुन्छ । यो प्रजाति कटुस, चिलाउने र उत्तिस मिश्रित जङ्गलमा भेटिएको थियो । नेपालमा सन् २०२१ को सेप्टेम्बरमा फेला परेको उक्त छेपारोबारे युरोपियन जर्नल ‘हेर्पेटोजोआ’मा सोमबार प्रकाशित भएको छ । चुरे क्षेत्रका अनुसन्धानकर्मीहरूको नजरमा समेत ओझेलमा परेको क्षेत्र भएकाले सघन र नियमित अनुसन्धान गर्ने हो भने थुप्रै नयाँ प्रजाति भेटिने सम्भावना रहेको भट्टराईले बताउनुभयो । उहाँका अनुसार यसअघि विगतमा राष्ट्रिय प्रकृति संरक्षण कोषले गरेको अध्ययनमा समेत विभिन्न नयाँ प्रजाति भेटिएको थियो । नेपालमा हालसालै मात्र फेला परेको भए पनि यो प्रजातिको बासस्थानको निरन्तर विनास, क्षयीकरण र जलवायु परिवर्तनले विश्व संरक्षण सङ्घ (आइयुसीएन)को रातो किताबमा यो प्रजातिलाई ‘सङ्कटापन्न’ सूचीमा राखिएको छ । नेपालमा तीव्रदरमा भइरहेको चुरेको दोहन र बासस्थानको विनासले यो प्रजातिमा कस्तो असर परिरहेको छ भन्ने कुराको विस्तृत अध्ययन हुन बाँकी छ । चुरे क्षेत्रमा अत्यधिक मानवीय गति बढेको, बासस्थान विनाश, ढुङ्गा–गिट्टी बालुवाको अत्यधिक दोहनले गर्दा यस्ता थुप्रै प्रजाति नेपालमा फेला पर्नुअघि नै लोप हुनसक्ने खतरा रहेको संसरक्षणकर्मीहरू बताउँछन् । उहाँहरुले सरकारलाई चुरे क्षेत्रमा जैविक विविधताको पकेट क्षेत्र पहिचान गरी संरक्षणको ठोस कार्यक्रम लागू गर्न र प्राथमिकतामा नपरेका सरीसृप प्रजातिको अध्ययन अनुसन्धान बढाउनुपर्ने सुझाव दिनुभएको छ ।
पोखराः पोखरा अन्तर्राष्ट्रिय विमास्थलबाट जहाज उड्ने प्रतीक्षाको घडी अन्त्य भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको आइतबार बसेको सञ्चालक समितिको बैठकले पोखराको अन्तर्राष्ट्रिय विमानस्थलबाट पुस १७ गतेदेखि उडान सुरु गर्ने निर्णय गरेको छ । यस विषयमा जानकारी दिँदै विमानस्थलका इन्जिनियर एवं आयोजना प्रमुख विनेस मुनकर्मीले आइतबारकै निर्णयअनुरुप विमानस्थल सञ्चालन हुने जानकारी दिए । ‘विमानस्थलका सबै काम सम्पन्न भइसक्यो’ मुनकर्मीले भने ‘झिनामसिना काम सक्न अझै समय बाँकी छ, समितिले तोकेको मितिदेखि विमानस्थ सञ्चालनमा आउँछ ।’ विमानस्थलबाट व्यावसायिक उडानअघि क्यालिब्रेशन फ्लाइट गर्नुपर्ने बताउँदै मुनकर्मीले यसबारे चीनसँग कुरा भइरहेको र छिट्टै जानकारी आउने उनको भनाई छ । सम्भवतः अक्टोबर महिनाभित्र क्यालिब्रेशन उडान हुने प्राधिकरणको ठम्याई छ । विमानस्थलको सञ्चालन मिति तोकिएको पुस १७ अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष हो ।
काठमाडौँ: यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि स्थान पहिचान भएसँगै त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाडौँ महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र सोही स्थानबाट नै काम सुरु गर्ने जनाएको छ । उक्त स्थानमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सकिने बताइएको छ । उक्त स्थानमा हाल आठ वडाबाट उत्पादन हुने कुहिने फोहरको व्यवस्थापन गर्न सकिने छ । उत्पादित मल सहुलियत दरमा बिक्री गर्ने तयारी पनि कामपाको छ । योसँगै उपत्यकाको अन्य स्थानमा पनि थप जग्गा रोज्ने काम भइरहेको छ । सबै किसिमका फोहर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या आएकाले प्रभावकारीरूपमा फोहरको दीर्घ समाधानका लागि स्थान पहिचानमा लागेको हो । बञ्चरेडाँडामा हानिकारक फोहर व्यवस्थापन नगर्ने योजनाअनुरुप कामपाले यस किसिमको अभ्यास सुरु गरेको हो । काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार हाल सम्भावित स्थान पहिचान गर्ने काम जारी छ । यसअन्तर्गत चन्द्रागिरि, दक्षिणकाली, नागार्जुन, तारकेश्वर र उपत्यका बाहिर बनेपासम्म पनि कामपाका प्रमुख बालेन्द्र शाहको नेतृत्वमा अन्य स्थानमा पनि जग्गा खोज्ने काम भइरहेको छ । हालसम्म उपलब्ध भएका जग्गामा ५० रोपनीदेखि १५० सम्मको छ । अझै बढी उपयुक्त र कम खर्चिलो जग्गाको खोजीमा लागिरहेको उहाँले बताउनुभयो । फोहर व्यवस्थापनको सहजताकै लागि कामपाले यही साउन १ गतेदेखि कामपाले कुहिने र नकुहिने फोहरको फरक–फरक तरिकाबाट व्यवस्थापनको काम पनि सुरु गरिसकेको छ । फोहरमैला व्यवस्थापन ऐन विसं २०६८ मा फोहरको वर्गीकरणको प्रबन्ध गरिएको छ । निजी फोहर सङ्कलकलाई कानुनी दायरामा ल्याइँदै काठमाडौँको कूल ३२ वडामध्ये मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ । फोहर वर्गीकरण योजना भने ३२ सैँ वडामा लागू गरिएको छ । कामपाले मात्रै फोहर व्यवस्थापन गर्दै आएको नौ वडामा सबै दिन नियमितरुपमा फोहर व्यवस्थापन भइरहेको छ निजीले फोहर व्यवस्थापन गर्दै आएको स्थानमा भने विगत दुई महिनादेखि फोहर व्यवस्थापन हुन नसकेको स्थानीयले गुनासो गरेका छन् । निजी क्षेत्र पैसा असुल गर्ने धन्दामा मात्र लागेको र नागरिकप्रति जिम्मेवार नभएका कारण सबै स्थानमा नियमितरुपमा फोहर व्यवस्थापन हुन नसकेको आरोप छ । आफूले लिएको जिम्मेवारी पूरा नगरेको भन्दै नियमित फोहर व्यवस्थापन नगर्ने निजी कम्पनीलाई कामपाले कारबाहीको प्रक्रियाअघि बढाउने चेतावनी दिएको छ । जिम्मा लिएको स्थानमा फोहर व्यवस्थापनको काम नगरे कानुनी कारबाही गर्ने स्थानीय तहको चेतावनी छ । ललितपुर महानगरपालिकाको प्रमुख चिरीबाबु महर्जनले जुन स्थानमा फोहर उत्पादन हुन्छ सोही स्थानमा नै व्यवस्थापन गरिनुपर्ने जनाउँदै यसका लागि सङ्घीय सरकारले पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो । फोहर व्यवस्थापनसम्बन्धी बन्न लागेको नयाँ कानुनमा सरकारको काम कारबाहीको तहगत स्पष्टरूपमा व्यवस्था हुनुर्नेमा उहाँको भनाइ छ । फोहरमैला व्यवस्थापन सङ्घ, प्रदेश र स्थानीय तहको जिम्मेवारी र समन्वयको प्रारुप, सह लगानीको ढाँचा, यससम्बन्धी सार्वजनिक निजी साझेदारी कसरी गर्ने भन्ने विषय, घरायसी, संस्थाजन्य, औद्योगिक, विद्युतीय र विपद्पश्चात्को उत्पन्न हुने फोहरमैला व्यवस्थापन र उत्पादन गर्ने व्यक्तिको दायित्वका बारेमा कानुनमा स्पष्ट व्यवस्था हुनुपर्ने सुझाव प्रमुख महर्जनको छ । त्यसैगरी विद्यमान सङ्घीय संरचनाअनुरुप फोहरमैला व्यवस्थापनमा प्रदेश सरकारको भूमिकालाई समेत समेटी परिवर्तित सङ्घीय परिवेश अनुकूल हुने गरी त्यससम्बन्धी नयाँ कानुनको तर्जुमा गर्नुपर्ने चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीको सुझाव छ । अब बन्ने कानुनमा फोहरमैलाको उत्सर्जन, सङ्कलन विसर्जन र समग्र व्यवस्थापनमा तहगत सरकारको कार्यजिम्मेवारी र प्रभावकारी कार्यान्वयनको सवाल पनि समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँका अनुसार फोहरको वर्गीकरण पनि विभिन्न प्रकार सिसाजन्य, प्लास्टिकजन्य, कुहिने फोहर, फलामजन्य र अस्पतालबाट निस्कने फोहर फरक–फरक तरिकाले व्यवस्थापन गर्नुपर्ने पाटो कानुनमा नै स्पष्ट हुनुपर्छ । आगामी दिनमा फोहर व्यवस्थापनको लागि स्थान पहिचान गर्दा घरेलु, औद्योगिक र सेवा क्षेत्रलगायत सबै स्रोतबाट सिर्जित फोहरमैलाको व्यवस्थापनको विषय, फोहरमैलाबाट हुने वातावरणीय प्रदूषण र जनस्वास्थ्यमा पर्ने नकारात्मक असर कम गर्ने विषय, फोहरमैलाको समग्र व्यवस्थापनमा तहगत सरकारको जिम्मेवारी, अन्तर स्थानीय तह सहकार्य र यसलाई आर्थिक स्रोतको रूपमा विकास गर्नेजस्ता विषयमा अन्य स्थानीय तहको प्रमुखको पनि जोड रहेको छ । वैकल्पिक बाटोको खोजी हरेक वर्ष वर्षा सुरु भएसँगै बाटोकै कारण उपत्यकाको फोहर व्यवस्थापन गर्न कठिन भएको भन्दै वैकल्पिक बाटोको खोजी गर्ने काम अघि बढाइएको छ । हाल फोहर व्यस्थापन भइरहेको स्थान बञ्चरेडाँडासम्म फोहर व्यवस्थापन गर्नका लागि कामपासहित अन्य १७ वटा स्थानीय तहको पनि सहकार्यमा काम अघि बढेको हो । मुड्खुखोलादेखि बञ्चरेडाँडासम्म कै बाटोमा पटक पटक समस्या आएका ले हप्तौसम्म उपत्यकाको फोहर व्यवस्थापनमा समस्या अएको हुँदा आगामी दिनमा त्यस्ता समस्या नआयोस भनेर विकल्पको तीव्र खोजी गरिएको हो । मुड्खुखोलादेखिकै अर्को गोरेटो बाटोलाई विस्तार गरेर पक्की बाटो बनाउने काम केही दिनमा नै सुरु गरिने भएको छ । यसको लागि कामपामा चालु आर्थिक वर्षमा रु २० करोड बजेट विनियोजन गरेको छ । ‘स्थानीयतको सहमतिअनुसार काम’ यसअघिनै उपतयकाको १८ स्थानीय तह र स्थानीयबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्याण्डफिल साइडमा फोहर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति भइसकेको छ । सहमतिअनुसार रातिको समयमा फोहर व्यवस्थापन गर्ने, वैज्ञानिक अध्ययन गरी प्रभावित क्षेत्र छुट्याउने, त्यहाँको दुर्गन्ध हटाउनुपर्ने, फोहर बोक्ने गाडीबाट लिच्चड नचुहिने व्यवस्था मिलाउनुपर्नेलगायतका विषय समावेश छ । सम्झौताअनुसार काम नभएको भन्दै स्थानीयले आगामी भदौ १ गतेदेखि फोहर व्यवस्थापनको काम रोक्ने भनिरहँदा उपत्यकाको १८ स्थानीय तहले भने वार्ताबाट समस्या समाधान गर्ने योजना बनाएर बसेको छ । जाइकाको सहयोगमा दुई वर्षका लागि भनेर विसं २०६२ मा काठमाडौँ उपत्यकाको फोहर नुवाकोटको ककनी गाउँपालिका–२ सिसडोलमा फ्याँक्न सुरु गरिएको थियो । आज १७ वर्ष हुँदा पनि त्यहाँ फोहर फ्याँक्ने काम जारी छ । सिसडोलमा चार सय ३२ रोपनी जग्गामा फोहर फालिँदै आएको थियो । बञ्चरेडाँडामा फोहर व्यवस्थापनका लागि भने एक हजार सात सय ९२ रोपनी क्षेत्र छुट्याइएको छ । काठमाडौँ उपत्यकामा उत्पादन हुने फोहरमध्ये ४० प्रतिशत व्यवस्थापन गर्न सकिन्छ । त्यसको लागि प्रत्येक वडाले पुनः प्रयोग गर्नसक्ने वस्तुको खरिद गर्ने तयारी पनि गरिरहेको जाइएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहर जान्छ । निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहर ओसार्ने गरेको छ । बाटो मर्मतको कारण अहिले भने एक सय ५० गाडीले मात्र अन्तिम व्यवस्थापनस्थलमा फोहर विसर्जज गर्ने काम गरिरहेको छ । सिसडोलमा दैनिक एक हजारदेखि एक हजार दुई मेट्रिक टनसम्म फोहर जाने गरेको छ । विकल्प नहुँदा योजनाविहीन रूपमा त्यहाँ फोहर विसर्जन गरिँदै आएकाले समस्या पटक–पटक बल्झिरहेको छ । सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहर व्यवस्थापन गरिएको छ । दुई वर्षअघि नै बञ्चरेडाँडामा फोहर विसर्जनको काम सुरु हुनुपर्नेमा अहिलेसम्म राम्ररी सञ्चालन हुन सकिरहेको छैन । सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौतीपूर्ण बन्दै गएको छ । उपत्यकाका सडकमा थुपारिने फोहर हप्तौँसम्म नउठ्ने र यसबाट दुर्गन्ध फैलिने समस्या उपत्यकावासीका सामान्य भइसकेको छ । यी र यस्ता समस्या आगामी दिनमा उपत्यकाकबासीले सामना गर्न नपर्ने गरी काम भइरहेको कापकोको भनाइ छ । त्यसको लागि चरणबद्धरुपमा काम भइरहेको छ । कहिले स्थानीयको आन्दोलन त कहिले वर्षालगायत विविध कारणले उपत्यकाका चोक गल्लीमा दुर्गन्धित फोहरका डङ्गुर छ । फोहरमैलाविज्ञ तथा इन्जिनियर सुनिल लम्साल नागरिकबाट वर्गीकरण गरेर सङ्कलन गरिएको फोहरलाई बञ्चरेडाँडामा पनि केही समयका लागि छुट्टाछुट्टै स्थानमा राख्ने गरी तयारी गरिएको बताउनुहुन्छ । बञ्चरेडाँडाका स्थानीयवासीले विकल्प खोजिरहेको र फोहरलाई स्रोतबाटै व्यवस्थापन गरी उपयोग गर्नुपर्ने माग आइरहेका बेला दुवै प्रकृतिका फोहर वर्गीकरण गरेर फेरि त्यही ठाउँमा विसर्जन गर्दा समस्या ज्यूँका त्यूँ रहने महानगरबासीको धारणा छ । विज्ञका अनुसार फोहरको स्रोतमै वर्गीकरणका साथै उत्पादनमा समेत कमी ल्याउने, प्लाष्टिकको विकल्पमा झोलाको प्रयोग बढाउने, शून्य फोहर (जिरो वेस्ट) अवधारणाको प्रवद्र्धन गर्ने र आधुनिक प्रविधिको प्रयोग गर्नसके केही व्यवस्थापन गरी उपत्यकाभित्रको फोहर व्यवस्थापनका एकै किसिमका आधुनिक विधि अपनाउनु नसके आगामी दिनमा थप समस्याको सामना गर्नुपर्ने छ ।
सप्तरी: लापरवाहीका कारण सप्तरीमा एक वर्षका अवधिमा करेन्ट लागेर १२ जनाले अकालमा ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क हेर्दा करेण्ट लागेर ज्यान गुमाउनेको सङ्ख्या १२ र घाइते हुनेको सङ्ख्या २६ जना पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ती मध्ये चार महिला, छ पुरुष र दुई बालक छन् । करेन्टका ४० घटनामा तीन चौपायाको समेत मृत्यु भएको सो कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारीदिनुभयो । उहाँका अनुसार घटनामा १२ महिला, आठ पुरुष र छ बालक घाइते भए । ज्यान गुमाउनुको मुख्य कारण मानवीय लापरवाही र विद्युत् प्राधिकरणको पनि लापरवाही हुने गरेको जिल्ला प्रहरी कार्यालयको निष्कर्ष रहेको छ । बुधबार मात्र जिल्लाको कञ्चनरुपमा बुहारीलाई करेन्ट लागेको देखेर जोगाउन जाँदा ससुरासमेतको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–६ घोघनपुरका नरेश सरदारकी श्रीमती २० वर्षीया अञ्जली सरदारलाई करेन्ट लागेको देखेर जोगाउन गएका उनका काका ससुरा ४० वर्षीय मधु भन्ने सौदानन्द सरदारको समेत मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ । घरआँगनमा रहेको ट्युबेलमा जडान रहेको पानी तान्ने मोटर चलाउँदा अञ्जलीलाई करेन्ट लागेको थियो । करेन्ट लागेर घाइते दुवै जनालाई उपचारका लागि प्राथमिक स्वास्थ्यचौकी कञ्चनरुप लगिएको थियो । स्वास्थ्यचौकीमा परीक्षण गर्दा चिकित्सकले दुवै जनाको मृत्यु भएको घोषणा गरेका थिए । यसैगरी जिल्लाको राजगढ गाउँपालिका–२ कमलपुर बस्ने दुःखी साहको छोरा ५६ वर्षीय शिवशङ्कर साहको समेत मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको आँगनमा रहेको चापाकलमा जडान गरिएको मोटरमा पानी तान्ने क्रममा करेन्ट लागी मृत्यु भएको प्रहरीले जनाएको छ ।