काठमाडौं । यसअघि काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहोर आगामी चार दिनभित्र व्यवस्थापनको काम सकिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फरस्टेसनमा रहेका फोहोरबाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहोर व्यवस्थापनको काम यही सातासम्ममा सक्ने गरी काम भइरहेको कामपा वातारण विभागको प्रमुख सरिता राईले जानकारी दिनुभयो । प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहोर को व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहोर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबारसम्ममा सकिने छ । यसअघिको फोहोर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहोर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहोर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गर्नुभयो । केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहोर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साताभित्र सबै फोहोर व्यवस्थापन गर्न दिर्नेशन दिनुभएको थियो । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिनादेखि उपत्यकाको फोहोर व्यवस्थापन हुन सकेको थिएन । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहोर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् । कामपाले भने स्थानीयसँग भएको सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहोर ढुवानीको सवालमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिनादेखि विसर्जन हुन नसकेको उपत्यकाको फोहोर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबारदेखि साविकबमोजिम फोहोर व्यवस्थापन कार्य हुन थालेको हो । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहोर लाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ । हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहोर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहोरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौँका ३२ वडा छन् । यसमा मुख्य नौ वडाबाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहोर व्यवस्थापन हुँदै आएको छ ।
काठमाडौं । परिक्षामा प्रश्नपत्र दोहोरिएको बिषयमा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय नेविसंघ इकाइले उपकुलपतिको कुर्सीमा जुत्ताको माला लगाइदिएको छ । त्रिवि इकाइका सचिव योगेन्द्र रावलले छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको धेरै समयमा पनि माग सुनुवाइ नभएको र उपकुलपतिलाई भेट्न आउँदा नभेटेपछि कुर्सीमा जुत्ताको माला लगाएको बताए । उनले भने ‘हामीले भेट्न आउँदा उपकुलपतिलाई भेटेनौं । त्यसैले हामीले लगाएको जुत्ता फुकालेर उपकुलपतिको कुर्सीमा लगाइदिएका छौं । प्रहरीले हामीलाई घेरेको छ ।’ त्रिभुवन विश्वविद्यालयको परीक्षामा हुबहु सोधिएको प्रश्नपत्रका सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको थियो । प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति तयार गरेको प्रतिवेदन सार्वजनिक गर्न नेविसंघले माग गर्दै आएको छ । मानविकी संकायले जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई बर्षको हुबहु मिलेको छ ।
काठमाडौं । युवाकवि मोतीराम भट्टको जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र साझा प्रकाशनले संयुक्तरुपमा सुरु गरेको पुस्तक प्रदर्शनीमा पाठकको उपस्थिति बढ्न थालेको छ । प्रज्ञाको भानुभक्त कक्षमा भइरहेको प्रदर्शनीमा प्रतिष्ठानले २०३० सालदेखि २०७९ साउनसम्म प्रकाशन भएका पुस्तक बिक्रीमा राखिएको जनाएको छ । धिमाल लोक जीवन अध्ययन, कार्बोनिक रसायन शास्त्रका पुराना पुस्तक र नेपाली बृहत् शब्दकोश परिमार्जनसहित दशौँ संस्करणसमेत प्रदर्शनीमा समावेश गरिएको छ । विसं २०१५ मा प्रकाशित कालीदासको रघुवंश महाकाव्य, सोमनाथ सिग्देलको सिद्धान्त कौमुदी, कुलचन्द्र गौतमको कविता राघवालङ्कार, दिनेशराज पन्त र विष्णु प्रभातले संयोजन गरेको दर्शनावली भाग सात, काव्य विमर्श र नेपालका जातीय संस्कार खण्ड एक, दुई, तीन, चार, पाँच र छजस्ता हजारौँ पुस्तक प्रज्ञाबाट प्रकाशन भइसकेका छन् । प्रदर्शनीमा पाठकको भीड बढ्न थालेको छ । प्रदर्शनी यही भदौ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा भाषा, साहित्य, बाल साहित्य, जर्नल, समालोचना, शब्दकोश, ग्रन्थकोश, संस्कृति, विज्ञान, अनुवाद र दर्शनसम्बन्धी पुस्तक र कविता, प्रज्ञा, समकालीन साहित्य थायभू, आँगनलगायतका धेरै विषयका पठनीय अतिउपयोगी झण्डै पाँच सयभन्दा बढी थरीका पुस्तक, पत्रपत्रिका समावेश गरिएको छ । यसैगरी साझा प्रकाशनले प्रकाशन गरेका तीन सयभन्दा बढी थरीका पुस्तक प्रदर्शनीमा राखिएको छ । ‘लोकवार्ता विवेचना’, ‘तुफुका कविता’, ‘बोटे भाषाको व्याकरण’, ‘मातृभाषा साहित्यको इतिहास’, ‘विश्वप्रख्यात नारीका कथाहरु’ र ‘प्रज्ञा नेपाली समालोचना’, ‘प्रज्ञा मैथिली नेपाली शब्दकोष’, ‘चीनका प्राचीन कथा’, ‘अमरकोश’, ‘प्रज्ञा भोजपुरी नेपाली शब्दकोष’, ‘पाकिस्तानी महिला लेखन’ जस्ता ४० भन्दा बढी पुस्तक पनि प्रदर्शनीमा राखिएको छ । नेपाली बृहत् शब्दकोश र प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशमा १५ प्रतिशत छुटको व्यवस्था रहेको छ । प्रतिष्ठानबाट सुरु प्रकाशन भएदेखि २०७९ साउनसम्मका पुस्तकमा ४० प्रतिशतसम्म छुटको व्यवस्था रहेको प्रदर्शनी व्यवस्थापक सुधीर ढुङ्गेलले जानकारी दिनुुभयो । ‘माटोको ममता’, ‘महेन्द्र प्रवचन माला’ जस्ता रु तीनदेखि नेपाली बृहत् शब्दकोशको रु एक हजार ८९५ सम्मका पुस्तक प्रदर्शनीमा राखिएको उहाँले सुनाउनुभयो । यसभन्दा अघिका प्रदर्शनीमा साहित्यमा अनुसन्धान गरिरहेका विद्यार्थी बढी पुस्तक किन्न आउने गरेको प्रतिष्ठानले जनाएको छ । यसैगरी यसअघिका प्रदर्शनीमा बाल साहित्यका पनि धेरै पुस्तक बिक्री भएको छ । दैनिक सयभन्दा बढी पाठकले प्रदर्शनी अवलोकन गर्न आउने गरेका छन् । दैनिक रु १५ देखि २० हजारभन्दा बढी पुस्तक बिक्री हुने गरेकोसमेत व्यवस्थापक ढुङ्गेलले बताउनुभयो । प्रतिष्ठानले वर्षमा चारपटक पुस्तक प्रदर्शन गर्ने गरेको छ । नयाँ वर्षका अवसरमा वैशाख पहिलो साता, प्रतिष्ठानको वार्षिकोत्सवका अवसरमा असार पहिलो साता, मोती जयन्तीका अवसरमा भदौ र पृथ्वी जयन्तीका अवसरमा पुस दोस्रो साता भानुभक्त कक्षमा पुस्तक प्रदर्शनी हुने गरेको छ ।
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधबार राति हेम्स अस्पताल धुम्बाराहीमा स्वास्थ्य परीक्षण गर्दा उहाँलाई सङ्क्रमण पुष्टि भएको हो । नेता सिटौलाका स्वकीय सचिव प्रेम भट्टराईका अनुसार उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र चिकित्सकको परामर्शअनुसार ‘होम आइसोलेसन’मा बस्नुभएको छ । कांग्रेसका पूर्वमहामन्त्री सिटौला आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको संयोजकसमेत हुनुहुन्छ ।
काठमाडौं । कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासाबाट खटिमातर्फ गइरहेको यात्रुबाहक जीप आज दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका छन् । बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बर प्लेटको जीप चकरपुरस्थित थाना नजिक दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको बताउनुभयो । दुर्घटनामा परी सुकासालका राधा दयाल, जीतबहादुर दयाल, कञ्चनपुरका हेमा ओझा, दीपक ओझा, धनगढीका चन्द्रा, शानु, बलदेव सिंह, खेमबहादुर, लक्ष्मी र शारदा रहेको बुझिएको छ । घाइतेमध्ये केहीको अवस्था जटिल रहेको र खटिमास्थित सरकारी अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले यहाँको इलाका प्रहरी कार्यालय जानकारी गराएको हो।
लहान । नेता कार्यकर्ताको बाक्लै जमघट हुने नेपाली कांग्रेसका नेता प्रदीप गिरीको आश्रममा यतिबेला सन्नाटा छाएको छ । सिरहा क्षेत्र नम्बर १ बाट निर्वाचित नेता गिरीले शान्तरुपमा बस्न र थकाइ मेटाउन गाउँ नजिकै खुट्टी खोला किनारमा आश्रम बनाउनुभएको थियो । उहाँको निधनसँगै आश्रममा सन्नाटा छाएको छ । बाह्र बिघा क्षेत्रफलमा रूख बिरुवाका बीच बनेको आश्रममा समाजवादी चिन्तक प्रदीप गिरी आउने वित्तिकै कार्यकर्तादेखि बौद्धिक व्यक्तित्व भेला भइहाल्थे । वनस्पतिले दिने शीतलता, चराचुरुङ्गीको चिरबिर अनि शान्त परिवेशमा टहल्न आउने पनि प्रशस्तै हुन्थे । यही आश्रममा अहिले सन्नाटा छाएको छ । आश्रममा विसं २०५२ देखि काम गर्दै आउनुभएका ५५ वर्षीया जितनी राम, ५० वर्षीय गम्भीरमान लामाको अनुहार मलिन छ । आफ्नो प्यारो अभिभावकले सदाका लागि छाडेर गएपछि आश्रममा बस्दै आएका उहाँहरु शोकमा डुबेका छन् भने शुभेच्छुक तथा नेता कार्यकर्ता नेता गिरीलाई अन्तिम श्रद्धाञ्जलि दिन संघीय राजधानी पुगेपछि आश्रममा सन्नाटा छाएको दीप परियारले बताउनुभयो । “प्रदीप सर यहाँ हुँदा दिनहुँ भीड लाग्थ्यो, तर उहाँको निधनको खबर सुनेपछि यहाँका धेरै व्यक्ति राजधानी गइसक्नुभयो”, उहाँले भन्नुभयो, “नेता गिरी आएको खबर पाउने बित्तिकै गाउँलेदेखि विभिन्न पार्टीका नेता भेट्न आश्रममा आउनुहुन्थ्यो, दिनहुँ यहाँ भीड लाग्ने गर्दथ्यो”, तर अब उहाँको निधन भइसकेपछि आश्रम सुनसान भएको हो, उहाँको कथन छ । “आश्रमको अभिभावकै सदाका लागि छाडेर गएपछि हाम्रो बिजोग भएको छ, हामी अभिभावकविहीन भएका छौँ”, आश्रमको रेखदेख गर्दै आउनुभएका रामकृष्ण चौधरीले भन्नुभयो, “पहिला मान्छेको भीडभाड बाक्लै हुन्थ्यो, तर प्रदीप दाइ बिरामी भएर उपचार गराउन दिल्ली गएदेखि अहिलेसम्म आश्रममा प्राय:मान्छे आउनै छाडेको छ”, उहाँलाई भेट्न आउने कहिले आउनुहुन्छ रु भन्ने र फर्किने गरेको थियो, अब त झन उहाँ सदाका लागि यो संसारबाट बिदा भएपछि किन आउँछ र मान्छे यहाँ उहाँको कथन छ । सिरहाको लहान बजारदेखि करिब छ किलोमिटर उत्तर पश्चिममा पर्ने बस्तीपुर गाउँको पुर्खौली घर छाडेर नेता गिरीले गाउँ नजिकैको खुट्टी खोला किनारमा आश्रम बनाएर बस्दै आउनुभएको थियो । करिब छ बिघा क्षेत्रफलमा फैलिएको उक्त आश्रममा नेता गिरीले थप्रै दलित तथा सुकुम्बासीलाई जग्गा दिएर बसाउनुभएको छ । भारतका नेता जयप्रकाश नारायणले जस्तै कर्मप्रधान आश्रम बनाउने परिकल्पनाअनुसार नेता गिरीले २०४८/४९ सालमा बिरुवा रोपेर आश्रम स्थापना गर्नुभएको थियो । त्यसको १० वर्षपछि पुन:स्थापना गर्नुभएको आश्रममा स्वरोजगारमूलक बनाउन धेरै अध्ययन गरेर उहाँले पशुपालन सुरु गर्नुभएको थियो । “जन्मथलो बस्तीपुर आउँदा नेता गिरी धेरैजसो समय आश्रममै बिताउनुहुन्थ्यो”, उहाँका समकालीन ७१ वर्षीय कुमुदरन्जन बरालले भन्नुभयो, “प्रदीप दाइ जहिले पनि नेपालका बारेमा, यहाँको दरिद्रता, विषमता, बेरोजगारी, सार्वजनिक व्यवहारमा बढिरहेको जातीय एवं धार्मिक वैरभाव, पर्यावरणमा आइरहेको ह्रास, कृषि संस्कृतिको विकासका बारेमा चासो राख्नुहुन्थ्यो ।” आश्रममा अहिले अध्ययन केन्द्र, प्रशिक्षण केन्द्र, बालबालिका अध्ययन केन्द्र, गरिब सर्वसाधारणका लागि सहकारी, दलित सशक्तीकरणका लागि दलित जनकल्याण युवा क्लब, महिला अधिकार केन्द्र र फूलबारी रेडियो सञ्चालित छन् । इँटाको पर्खाल र जस्ताले छाएको आश्रम बनाएर बस्दै आउनुभएका नेता गिरी त्यहीँबाट राजनीतिक र सामाजिक गतिविधि गर्दै आउनुभएको थियो । आश्रमभित्रै बैठक कक्षसमेत रहेको छ । अब आश्रमको भविष्य के हुन्छ भन्ने अन्यौलतासमेत बढेको छ ।
आफ्नो बच्चाको ‘डिएनए’ परीक्षणको माग राख्दै आमरण अनसन बसेकी निहारिका राजपुत र सरकार बीचमा तीन बुँदे सहमति भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल र राजपुतबीच आइतबार राति तीन बुँदे सहमति भएसँगै राजपुतले आमरण अनशन तोडेकी हुन् । उनीले कानुनमन्त्री गोविन्दप्रसाद कोइराला ‘बन्दी’ को उपस्थितिमा विगत १७ दिनदेखि बसेको अनशन तोडेकी हुन् । सहमतिमा राजपुतको मागअनुसार उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दामा डिएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने सहमति भएको छ । यस्तै, डिएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने सहमति भएको हो ।
काठमाडौँ । चालक अनुमतिपत्र वितरणमा ढिलाइ भइरहँदा त्यसको विकल्पकारुपमा लिइएको परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेबारे अन्योल रहेको छ । सङ्घीय सरकारले अनुमतिपत्रको परीक्षा पास भएको एक वर्षपछि ‘स्मार्ट’ चालक अनुमतिपत्र दिने भने पनि बागमती प्रदेश सरकारले भने त्यसमा चासो देखाएको पाइँदैन । सङ्घीय कानुनको व्यवस्थाअनुसार विभागले ‘स्मार्ट चालक अनुमतिपत्रको विकल्पमा जानुपर्ने भन्दै आएको छ । बागमती प्रदेश सरकारले परीक्षणकालीनभन्दा ‘स्मार्ट’ चालक अनुमतिपत्र नै चाँडो सेवाग्राहीको हातमा पुर्याइने बताउँदै आएको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५१ मा ‘चालक अनुमतिपत्र सुरुमा एक वर्षका लागि परीक्षणकालमा रहने गरी दिइनेछ’ भन्ने व्यवस्था छ । प्रदेश सरकारले भने हाल विद्यमान क्षमतामा बिस्तार गरेर पनि चाँडो सेवाग्राहीलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र नै दिइने योजना बनाएको छ । परीक्षणकालीन अनुमतिपत्र सुरु गर्नेभन्दा पनि सकेसम्म छिटो ‘स्मार्ट’ चालक अनुमतिपत्र नै दिनेगरी छलफल अघि बढेको बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका प्रवक्ता हरिहर पोखरेलले बताउनुभयो । सेवाग्राहीले दुई÷तीन महिनामा अनुमतिपत्र पाउँदा समस्या कम हुने उहाँको भनाइ छ । एउटै कामका लागि दाहोरो खर्च हुने देखिएकाले त्यसलाई तत्काल अघि नबढाइएको उहाँको भनाइ छ । प्रवक्ता पोखरेलले भन्नुभयो, “प्रदेशलाई नै सङ्घीय सरकारले प्रिन्टर दिँदा अझै चाँडो हुनसक्छ ।” यातायात व्यवस्था विभागले प्रदेशलाई प्रिन्टर हस्तान्तरण गर्ने कुरा गरेको प्रवक्ता पोखरेलले बताउनुभयो । प्रदेश सरकार आफैँले पनि उपकरण किन्ने विषयमा छलफल अघि बढाएको छ । पहिले सङ्घीय सरकारले ‘सिस्टम’सहित नै प्रिन्टर दिने विषयमा छलफल भइरहेको छ । एउटा छपाई उपकरण हस्तान्तरण गरेपछि प्रदेशले पनि किन्ने गरी छलफल भइरहेको छ । उहाँले भन्नुभयो, “हस्तान्तरण भएपछि एउटाले पुग्दैन र आवश्यकताअनुसार खरिद गरिनेछ ।” चालक अनुमतिपत्र लिन उपत्यकाका चारै कार्यालयमा दैनिक सेवाग्राहीको भीड हुन्छ । अहिले मन्त्रालयले सबै कार्यालयलाई बिहानैदेखि साँझसम्म नै छापिएर आएका अनुमतिपत्र वितरण गर्नु भनेकाले सोहीअनुसार काम भइरहेको छ । नवीकरणमा पनि यहीअनुसार गर्न सकिने भए पनि कर्मचारीलाई खटाएपछि दिनुपर्ने सुविधाका विषयमा छलफल भइरहेको छ । कागजरहित सरकारको अवधारणाअनुसार अनलाइन माध्यमबाट फाराम लिन सुरु भए पनि यो पूर्णरुपमा लागू हुन सकेको छैन । अनुमतिपत्र नवीकरण र सवारीसाधन नवीकरणलाई अनलाइन माध्यममार्फत गर्न ‘सिस्टम’ का लागि टेण्डर गरिने उहाँले बताउनुभयो । पहिले ‘डिजिटलाइजेसन’ भइसकेका र गर्न बाँकी सिस्टममा लगिने मन्त्रालयको योजना छ । उहाँले भन्नुभयो, “सेवाग्राही कर तिर्न र नवीरकण गर्न कार्यालय आउनुपर्ने कुराको अन्त्य गरिनेछ ।” सङ्घीय सरकारसँग आवश्यक समन्वयमा समस्या नभएको र कसरी सेवालाई प्रभावकारी बनाउने भनी छलफल भइरहेको प्रवक्ता पोखरेलले बताउनुभयो । केही समय पहिले सङ्घको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सातै प्रदेशका यातायात मन्त्रालयसँगको बैठकमा ‘सिस्टम’ प्रदेशलाई दिन सकिने बताएको थियोे । केही समय पहिलेसम्म अनलाइन फारामको समस्या रहेकामा समन्वयमा हटाइएको छ । उहाँले भन्नुभयो, “छिटै नै प्रयोगात्मक परीक्षामा ७० प्रतिशतमा पास गरिने मापदण्ड लागू गरिनेछ ।” एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्रमा एउटा छपाई उपकरण छ । त्यही उपकरणको प्रयोग गरेर छपाई गरिने वा मन्त्रालयले परीक्षणकालीन अनुमतिपत्र छाप्न नयाँ उपकरण उपलब्ध गराउने भनी कुनै जानकारी नआएको कार्यालय प्रमुख नरेन्द्र महर्जनले बताउनुभयो । चालक अनुमतिपत्र सबैभन्दा बढी चाप एकान्तकुनास्थित कार्यालयमा छ । कार्यालयमा नयाँभन्दा नवीकरणको चाप बढी छ । विसं.२०६० भन्दा पहिले ट्राफिक प्रहरीले अनुमतिपत्र दिने गरेकामा त्यतिबेलादेखिका अनुमतिपत्रको रेकर्ड रहेको प्रमुख महर्जनले बताउनुभयो । काठमाडौँ उपत्यकामा अरु तीन कार्यालय खुल्नुभन्दा पहिलेको अनुमतिपत्र नवीकरण यहीँबाट हुने भएकाले त्यसको चाप बढी छ । सेवाग्राहीको चाप नयाँ दर्ताभन्दा नवीकरणमा भएकाले नयाँलाई कम प्राथमिकता दिइएको छ । उहाँले भन्नुभयो, “कुन कार्यालय कति कोटा भनी निर्धारण गर्दा यहाँभन्दा अरु तीन कार्यालयमा कोटा बढी छ ।” पुराना अनुमतिपत्रमा कतिपय सूचना पूरा नभएको लगायत नवीकरणमा धेरै समस्या रहेको प्रमुख महर्जनले बताउनुभयो । पुरानो विवरण अनलाइनमा राखिएको भए पनि ढड्डा र अनलाइनमा फरकफरक सूचना हुँदा समस्या आउने गरेको छ । पुरनो अनुमतिपत्रमा पास भएको फेल वा कुनै वर्ग छुट्ने, विवरण परिवर्तनलगायतका समस्या छ । अनुमतिपत्रमा कागजरहित सरकार शतप्रतिशत हुन नसकिएको पाइएको छ । राजस्व तिर्न अनलाइन माध्यमबाट सुरु भए पनि विभिन्न समस्याका कारण निरन्तरता नभएको उहाँको भनाइ छ । जेठको दोस्रो साता भौचर प्रिन्ट गर्न सुरु गर्न खोजिए पनि रोकिएको र पछि कोसिस गरे पनि नसकिएको थियो । अहिले अनलाइनमार्फत फाराम भरे पनि आवेदन दिनका लागि कार्यालयमा नै दिनभर लाग्ने अवस्था छ । नयाँ फाराम भरेपछि एउटा नागरिकताबाट एउटा ‘युजर’ बन्ने त्यसबाट आवेदन भरेर सिफारिस नम्बर आएपछि राजश्व भर्ने र मेडिकलका लागि कार्यालय जानुपर्ने उहाँले बताउनुभयो । अनुमतिपत्रका लागि स्वास्थ्य परीक्षणका लागि विस्तृत नभए पनि आँखा र ध्वनिको जाँच हुने गरेको छ । अहिले तत्कालका लागि बिल मात्रैभन्दा परीक्षणकालीन अनुमतिपत्र दिँदा सेवाग्राहीलाई सजिलो हुने उहाँको भनाइ छ । यातायात व्यवस्था विभागबाट अहिले छापिएर सन् २०२२ को अनुमतिपत्र आउन बाँकी छ । दुई साता पहिले जम्मा ३३ हजार हाराहारीमा आएको कार्यालयले जनाएको छ । अगस्टको केही बाँकी छ भने डिसेम्वरको १५ हजार सम्मको आएर त्यसयताको छापिएर आउन बाँकी छ । अनुमतिपत्रको फाराम अनलाइनमार्फत भर्नेमा अझै कार्यालयमा सेवाग्राहीको घुइँचो कम भएको छैन । अहिले बिहानैदेखिको लाम देखिन्छ र त्यो दिनभर नै हुने गरेको छ । नागरिकले बिहान एकैपटक आउँदा मात्रै भीडभाड देखिएको प्रमुख महर्जनले बताउनुभयो । चार सयको कोटा हुँदा ती सबै बिहान आठ बजे एकै समय आइपुग्छन् । उहाँले भन्नुभयो, “दैनिक तीन सयदेखि चार सयसम्म सेवाग्राही दैनिक आउँदा बिहानैदेखि भीडभाड र दिउँसोसम्म भीड सकिएको पाइन्छ ।” कार्यालयमा नियमितरुपमा हुने भीडभाड व्यवस्थापन कसरी गर्ने भनी छलफल भइरहेको प्रमुख महर्जनले बताउनुभयो । अपराह्न वा त्यसपछि कार्यालयमा जाँदा एकैदिन काम नसकिने सेवाग्राहीमा चिन्ता रहेको पाइएकाले बिहानै कार्यालय पुग्ने गरेका हुन् । नवीकरणमा चालक अनुमतिपत्र र नागरिकता लिएर आउँदा एकैदिन काम सकिने उहाँले बताउनुभयो । सेवाग्राही एक दुईबजे आउँदा केही घण्टामा सकिन्छ । बिहान १० बजे लाममा बस्नेको दुई बजे पालो आउने र दुई बजे आउनेको पालो साढे दुईमा नै आएको हुनसक्छ । उहाँले भन्नुभयो, “पुरानो अनुमतिपत्रमा कुनै समस्या हुँदा एकैदिन समाधन नहुँदा अर्को दिन आउनपर्ने हुनसक्छ ।” विभागले अहिलेसम्म सन् २०२१ का धेरै अनुमतिपत्र छापिइसकिएको जनाएको छ । अहिले एक/दुई कार्यालयको मात्रै छाप्न बाँकी छ । सन् २०२२ देखिका कार्डमा एक वर्षसम्म परीक्षणकालीन अनुमतिपत्र पाउने व्यवस्था गरिएकाले त्यसपछिको मात्रै अनुमतिपत्र छापिने विभागका प्रवक्ता ईश्वरीदत्त पनेरुले बताउनुभयो । अब नवीकरण मात्रै गर्ने हुँदा चाप कम हुने उहाँको भनाइ छ । सवारी तथा यातायात व्यवस्था ऐन र नियमावलीमा चालक अनुमतिपत्रलाई परीक्षा पास गरेपछि एक वर्षसम्म परीक्षणकालीन दिने व्यवस्था छ । उहाँले भन्नुभयो, “विभागले एक वर्षपछिको मात्रै स्मार्ट दिने भन्ने हो, कार्यालयले लागू गर्छन कि गर्दैनन् हेर्न बाँकी छ ।” विगतका वर्षमा कहिले कोरोनाका कारण त कहिले उपकरण र कहिले कार्ड अभावका कारणले नियमितरुपमा छपाइ नभएकाले छाप्न बाँकी बढीरहेको थियो । अहिले उपकरण नबिग्रिएमा र अरु कुनै किसिमको समस्या नआएमा यही अवस्थामा दुई/तीन महिनामा लाइसेन्स वितरण गर्न सकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्योभन्दा कम समयमै दिने विषयमा सम्भव नहुने भन्ने होइन, हाल उपलब्ध साधनस्रोतका आधारमा दुई/तीन महिनामा सकिन्छ भन्ने लागेको छ ।”
काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा रु १६ अर्ब १६ करोड बराबरको नाफा गरेको नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको पहिलो महिनामा नै झण्डै रु दुई अर्ब बराबरको बिजुली भारत निर्यात गरेको छ । वर्षायाममा भारतमा बढी बिजुलीको माग हुने भएकाले प्राधिकरणले आवश्यकताका आधारमा बिजुली निर्यात गरिरहेको छ । यस्तै प्राधिकरणले थप एक सय ११ मेगावाट बिजुली निर्यातका लागिसमेत प्रयास गरिरहेको छ । प्राधिकरणले चालु आवको पहिलो महिना अर्थात् गत साउनमा रु एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार बराबरको बिजुली निर्यात गरेको छ । प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत् निर्यातबाट गत साउनमा औसतमा दैनिक रु पाँच करोड ९३ लाख कमाउन प्राधिकरण सफल भएको छ । प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत् गत १९ जेठ गतेदेखि इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । सुरुमा नुवाकोटका दुई विद्युत्गृहको ३९ मेगावाट उत्पादित विद्युत्लाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठदेखि दैनिक रुपमा विभिन्न छ वटा जलविद्युतगृहबाट उत्पादित विद्युत्लाई स्रोत मानेर बिजुली निर्यात भएको छ । त्यस आधारमा दैनिक तीन सय ६४ मेगावाट भारतीय बजारमा प्रतिस्पर्धी दरमा बिक्री हुँदै आएको छ । आइएक्समा २४ घण्टालाई १५/१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिस्पर्धी दरमा विद्युत्को कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ । गत आव २०७८/७९ मा रु तीन अर्ब ८८ करोडको विद्युत् निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत् निर्यात भइरहेको छ । गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोसी र निजी क्षेत्रका जलविद्युत् तथा सौर्य आयोजनाको कूल सात सय ३५ मेगावाट विद्युत् प्रणालीमा थप भएको थियो । योसँगै वर्षायाममा देशभित्रको मागभन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकाले भारतीय बजारमा प्रतिस्पर्धामार्फत विद्युत् बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । “विद्युत् निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितिमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो । मुलुकमा विद्युत् उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले विशेष सेवा र सुविधा प्राप्त गर्ने व्यवस्था मिलाइने भएको छ । थप एक सय ११ मेगावाट निर्यात प्रस्ताव प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप उक सय ११ मेगावाट विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ । प्राधिकरणले थप चार जलविद्युत्गृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत् निर्यात सुरु हुने छ । प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलुखोला, २२.१ मेगावाटको चिलिमेको विद्युत्गृहबाट उत्पादित एक सय ११.८ मेगावाट विद्युत् निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेस गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत् निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेमा विश्वास व्यक्त गर्नुभयो । “नेपाल र भारतको बिहार राज्यबीच विद्युत् आदानप्रदान गर्न निर्माण गरिएको एक सय ३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत् उत्तर बिहार पावर वितरण कम्पनीबाहेकका निकायलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायसँग आवश्यक भइरहेको छ”, उहाँले भन्नुभयो । भारतको केन्द्रीय विद्युत् प्रणालीअन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत् बिक्री गरिन्छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बोलपत्रमा प्रतिस्पर्धा गरिन्छ । विद्युत् प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युत्कोप्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिस्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् निर्यात गरिन्छ । प्राधिकरणकातर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)ले गर्छ । एनभिभिएनले हरेक दिनको कारोबारसम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।