पोखारः माघ १ मा पोखरामा भएको यती एयरको विमान दुर्घटनाले देश नै शोकमा डुबेको गण्डकी प्रदेशका मन्त्री पञ्चराम गुरुङले बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी पोखरा महानगर समितिले पोखराको पृथ्वीचोकमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रममा बोल्दै दुखद घटना भएको बताए । यस्ता दुर्घटना न्युनिकरण गर्नको लागि राज्यले आवश्यक पहल गर्नुपर्ने गुरुङको भनाइ छ । माघ १ गते कालो दिन भएको बताउदै मन्त्री देश नै आँसुमा डुवेको बताए । पोखरा १५ मा विमान दुर्घटनामा चालक दल सहित ७२ जना परेका थिए । ति मध्य ७० जनाको शव भेटिएको छ । २ जनाको खोजी कार्य भइरहेको छ ।
पोखराः नेकपा एमालेकी विनाकुमारी थापामगर गण्डकी प्रदेशको उपसभामुखमा निर्वाचित भएकी छिन् । आज भएको प्रदेशसभामा सत्ता गठबन्धननका तर्फबाट उम्मेदवार बनेकी थापामगरले ३२ मत ल्याउँदै निर्वाचित भएकी हुन् । सत्ता गठबन्धनको नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) र राप्राको संयुक्त गठबन्धनक थापाले ३२ मत ल्याएकी हुन् । कांग्रेसको तर्फबाट उमेदवार बनेकी पार्वती तामाङले भने २६ मत पाइन् । २७ सांसद रहेको कांग्रेसबाट टिकाकुमारी बस्याल भने अनुपस्थित थिइन् । गण्डकीमा एमाले २२, माओवादी केन्द्र ७ (सभामुख बाहेक) र राप्रपाका दुई सांसद छन् । स्वतन्त्र निर्वाचित दिपक मनाङेले पनि उपसभामुखमा एमालेकै उमेदवारलाई मत हाले । गत शनिबार गण्डकीको सभामुखमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका थिए ।
पोखराः युवा विकास तथा खेलकदु समन्वय समिति माछापुच्छ्रे ८ ठाँटी ल्वाङघलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ८ स्थित ल्वाङ घलेलमा गण्डकी प्रदेश अन्तर वडास्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको पोखरामा आज (आइतबार) पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । गण्डकी प्रदेशका ८५ वटा पालिकाकामा इमेलमार्फत सूचना गरिएको युवा विकास तथा खेलकुद समन्वय समितिका ल्वाङ घलेलका अध्यक्ष गणेश विकले बताए । ‘३ पटकसम्म माछापुच्छ्रे गाउँपालिका ८ स्तरीय वडाध्यक्ष रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरिसकेका छौं, विकले भने, ‘प्रतियोगिताको लागि गण्डकी प्रदेशका ८५ पालिकाकामा खबर गरेका छौं, प्रदेशको ७५९ वडामा खबर पु¥याउन इमेलमार्फत पालिकामा सूचना पठाएका छौं ।’ प्रतियोगिता आगामी माघ १८ देखि २१ सम्म सञ्चालन हुने अध्यक्ष विकले बताए । उनका अनुसार गण्डकी प्रदेश पालिका वडास्तरीय पुरुष भलिबल प्रतियोगिता र महिला भलिबल प्रतियोगिता आयोजना भएको हो । पुरुष तर्फ प्रथम हुने समूहले १ लाख ११ हजार १ सय ११, दोस्रो हुने समूहले २२ हजार ५ सय ५५ र सेमिफाइनलमा पराजित हुने दुई समूहलाई क्रमशः २२ हजार २ सय २२ रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगितामा सहभागिता जनाउन ५ हजार रुपैया टिम दर्ता शुल्क कायम गरिएको छ । यस्तै महिलातर्फ माछापुच्छ्रे गाउँपालिका ८ अन्तर गाउँ स्तरीय प्रतियोगिता सञ्चालन आयोजना गरिएको छ । प्रतियोगितामा प्रथम हुने समूहले २५ हजार, दोस्रो हुने समूहले १५ हजार र सेमिफाइनलमा पराजित हुने दुई समूहले क्रमशः ८ पुरस्कार पाउनेछन्, भने प्रतियोगितामा निशुल्क सहभागिता जनाउने पाउनेछन् । महिला पुरुष दुवै समूहका विजेताले नगदसहित शिल्ड,मेडल, प्रमाणपत्र र विधागत तर्फ पुरस्कार पाउनेछन् । खेलकुद प्रतियोगितामा ७ लाख ५० हजार आम्दानी र ७ लाख ४० हजार ६ सय १० रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै माछापुच्छ्रे गाउँपालिका ८ का वडाध्यक्ष राम गुरुङले प्रदेश अन्तर वडास्तरीय प्रतियोगिताले दक्ष खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पु¥याउने बताए । ‘प्रतियोगिताको मुख्य उद्देश्य दक्ष खेलाडी उत्पादन गर्नु हो, गुरुङले भने, ‘उत्कृष्ट खेलाडीहरुलाई जिल्ला, प्रदेशस्तरीय कार्यक्रममा अगाडी बढाउन वडामा प्रतियोगिता आयोजना गरिएको हो ।’ उनका अनुसार प्रतियोगितामा सहभागिता जनाउन आउने समूहलाई घरबाँस (होमस्टे) र स्थानीय होटलमा सुपथ मूल्यमा व्यवस्थापन गरिने आयोजकले जनाएको छ । घरबाँस (होमस्टे) मा प्याकेजमा १ हजार १ सय ५० भएपनि खेलाडीहरुलाई १ हजारमा प्याकेजमा व्यवस्थापन गरिने उल्लेख गरेको छ । विभिन्न जातजातिको बसोबास रहेको ठाँटी ल्वाङ घलेलमा सामुदायिक घरबाँस (होमस्टे) मर्दी हिमाल पैदल मार्ग, चिया बगान, क्यानोनिङ, अर्गानिक कृषि उपजलगायत आकर्षण रहेका छन् ।
पोखरा: गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले धिताललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । आज भएको गण्डकी प्रदेश सभाको सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताललाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका थिए।
पोखराः गण्डकी प्रदेश सभामा सभामुखमा नेकपा माओवादी केन्द्रका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । सभामुखमा धिताललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएसँगै निर्वाचित भएका हुन् । सभामुखमा धिताललाई फणिन्द्र देवकोटाले प्रस्ताव राखेका थिए भने एमालेका प्रमुख सचेतक रोशनबहादुर गाहा मगरले समर्थन गरेका थिए । सभामुख पदका लागि नेपाली कांग्रेसकी सरस्वती अर्यालले उम्मेदवारी दिएकी थिइन् । तुलसीराम सुवेदीले प्रस्ताव पेस गरेका थिए भने डा. टकराज गुरुङले प्रस्तावमा समर्थन गरेका थिए । प्रस्तावमाथि मतदान हुँदा धितालको पक्षमा ३२ र विपक्षमा २६ मत परेको छ । प्रदेशसभा बैठकमा ५८ जना सांसद उपस्थित थिए ।
कास्कीः गण्डकी प्रदेश सभाको सभामुखका लागि आज (शनिबार) निर्वाचन हुँदैछ । त्यसका लागि संसद् सचिवालयले कार्यतालिका सार्वजनिक गरेको छ । आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता र साढे १ बजे उम्मेदवार नामावली सार्वजनिक गरिनेछ । त्यस्तै, अपराह्न ३ बजे सभामुखका लागि निर्वाचन हुने सचिवालयद्वारा सूचनामा उल्लेख छ । सभामुखका लागि नेकपा (माओवादी केन्द्र)ले कृष्ण धिताललाई र प्रतिपक्ष दल नेपाली कांग्रेसले सरस्वती अर्याललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीलाई मुख्यमन्त्रीमा ‘हुन्छ’ भनेर ३१ जनाले विश्वासको पक्षमा मत दिए । अधिकारीको विपक्षमा २७ मत परेको छ । अधिकारीले प्राप्त गरेको मतमा नेकपा एमालेको २१, नेकपा माओवादी केन्द्रको ८ र राप्रपाको २ मत रहेको छ । विपक्षमा नेपाली कांग्रेसले मतदान गरेको छ । प्रदेश अधिवेशनको दोसो सभामा मुख्यमन्त्री अधिकारीले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसका सांसदलाई समेत मतको अपील गरेका थिए । ६० सदस्य रहेको सभामा मुख्यमन्त्री अधिकारीलाई ३१ मत आवश्यक रहेको थियो । सभाका अर्का सदस्य राजीव गुरुङ भने अनुपस्थित रहे ।
पोखराः नेपाल कम्युनिष्ट पार्टी एमालेले गण्डकी प्रदेश सभाको प्रमुख सचेतकमा रोशन गाहामगरलाई नियुक्त गरेको छ । नेकपा एमाले गण्डकी प्रदेशको आज (बिहिबार) बसेको संसदीय दलको बैठकमा मुख्यमन्त्री एवं गण्डकी प्रदेश सभाका संसदीय दलका नेता खगराज अधिकारीले गाहामगरलाई प्रमुख सचेतकमा नियुक्त गरेकाे हाे । प्रमुख सचेतक गाहामगर नवलपुरबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । यस पटक पुनः प्रदेश सभामा निर्वाचित भएपछि एमालेवृत्तमा उनी पहिलो चरण मै मन्त्री बन्ने चर्चा थियो । तर मुख्यमन्त्री अधिकारीले उनलाई प्रमुख सचेतक नियुक्त गरे । गाहामगर प्रदेशको मन्त्री बन्ने लाइनमा छन् ।
पाेखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले भोलि (शुक्रबार) विश्वासको मत लिँदैछन् । सरकारका प्रवक्ता तथा बिनाविभागीय मन्त्री सीता सुन्दासका अनुसार त्यसपछि मात्रै मन्त्रालयको बिस्तार र बाँडफाँटको टुँगो लाग्नेछ । तर टुंगो लगाउन भने प्रदेशको कुनै हात नरहने सम्बन्धित सांसद र मन्त्रीले घुमाउरो शैलीमा स्वीकार गरेका छन् । गण्डकी प्रदेशको मन्त्रालयमा भागबण्डा लगाउने काम पार्टीका माथिल्ला पदमा रहेका नेताबाटै हुने निश्चित भएको छ । ‘भोली मुख्यमन्त्री ज्यूले विश्वासको मत लिँदै हुनुहुन्छ, त्यसपछि मात्रै मन्त्रालय बिस्तारको टुंगो लाग्छ, उनले भनिन्, ‘ठ्याक्कै कहिले भनेर भन्नसक्ने स्थिति छैन, तर छिट्टै हुन्छ ।’ उनले अहिलेको सरकारले मन्त्रालय घटाउने प्रयास भइरहेको स्पष्ट पारिन् । ‘मुख्यमन्त्रीज्यू पहिल्यैदेखि नै मन्त्रालय घटाउने भनेर लाग्नुभाछ । जे होस् १२ नै हँुदैन, मन्त्री सुन्दासले भनिन्, ‘सर्वदलीय बैठकबाट टुंगो लाग्ने कुरा हो । मन्त्रालय घट्ने कुरा साँचो हो ।’ उनले नेकपा एमालेले कुनैपनि मन्त्रालयमा दाबी नगरेको बताइन् । ‘हाम्रै नेतृत्व छ, हामीलाई यो वा त्यो मन्त्रालय चाहियो भनेर दाबी गर्दैनौं, सबैलाई समन्वय गरेर जाने हो, उनले भनिन्, ‘मन्त्रालयको सँख्या टुंगो नलागेसम्म कसलाई कुन मन्त्रालय भन्न सक्ने अवस्था छैन ।’ सुन्दासले शीर्षस्थ नेताहरुबाटै मन्त्रालय भाग लगाइने र समीकरणात्मक सरकार भएकाले प्रदेशबाट एकल निर्णय लिन कठिनाई पनि हुने धारणा राखिन् । यस्तै माओवादी केन्द्रका गण्डकी प्रदेश संसदीयय दलका नेतासमेत रहेका अर्का विनाविभागीय मन्त्री हरिबहादुर चुमानको धारणा पनि सुन्दासकै जस्तो रहेको छ । उनले तत्कालै कुनै पनि मन्त्रालयमा दाबी नगरेको बताए । ‘अहिल्यै हामीले यतिवटा मन्त्रालय चाहियो, यो मन्त्रालय चाहियो भनेका छैनौँ, उनले भने, ‘त्यसको टुंगो केन्द्रले लगाउने हो । किनभने सबै प्रदेशको अवस्था हेरेर छिनोफानो गर्नुपर्ने हुन्छ ।’ गण्डकी प्रदेशमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वका सरकार हुँदा ७ मन्त्रालय थियो । त्यसपछि निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा मन्त्रालय बिस्तार गर्दै १२ पुर्याएका थिए । राजनीतिक भागबन्डाका लागि अनावश्यक मन्त्रालय बिस्तार गरेको भन्दै जनस्तरबाट आलोचनासमेत गरिएको थियो । यद्यपि, संविधानमा उल्लेख भएअनुसार सांसद सँख्याको २० प्रतिशतसम्म मन्त्रालय बिस्तार गर्न पाउने प्रावधान रहेको छ । प्रदेशका अर्का मन्त्री हरिबहादुर चुमानको धारणा पनि सुन्दासकै जस्तो छ । आर्थिक अनुशासनलाई मध्यनजर गर्दै मन्त्री चुमानले आफुपनि गण्डकी प्रदेशको मन्त्रालय सँख्या घटाउने पक्षमा रहेको सुनाए । ‘सबैतिर मन्त्रालय घटाउनुपर्छ भन्ने कुरा उठेको छ, खर्च बढ्यो भनिएको छ’, मन्त्री चुमानले भने, ‘हामी त्यस्तो खालको प्रतिक्रियालाई सम्बोधन गर्ने पक्षमै छौं, अझै यकिन भएको छैन । त्यै ९/१० कै नजिक होला ।’