म्याग्दीमा यस वर्ष अघिल्लो वर्षको तुलनामा आलु बालीको उत्पादन नौ प्रतिशतले बढेको छ ।   एक हजार ८२० हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर १९ दशमलव पाँच मेट्रिक टनका दरले ३५ हजार मेट्रिक टन आलु उत्पादन भएको कृषि...

काठमाडौं:  नेपाली सेनाले केबलकारसँग सम्बन्धित सम्भावित दुर्घटनाहरूलाई दृष्टिगत गरी त्यसको पूर्वतयारीका लागि चन्द्रागिरिमा केबलकार उद्धार अभ्यास गरेको छ । चन्द्रागिरि हिल्स् लिमिटेडसँग सहकार्य गरी सेनाले चन्द्रागिरिमा सफल केबलकार उद्धार अभ्यास गरेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । विविध कारणले केबलकार रोकिन गई फसेका यात्रुहरूलाई डोरीद्वारा सुरक्षितरूपमा जमिनमा उतार्ने अभ्यासमा नेपाली सेनाका उद्धारकर्ता र चन्द्रागिरि हिल्स् लिमिटेडका उद्धार टोली सहभागी थिए ।  उक्त केबलकारसँग रहेका उद्धार सामग्री र नेपाली सेनासँग रहेका उद्धार सामग्रीको प्रयोग गरी  सोमबार अभ्यास सञ्चालन भएको थियो । सोक्रममा उद्धारकर्ताहरुबाट घाइते तथा सकुसल मानिसलाई विभिन्न तरिकाले जमिनमा उतार्ने अभ्यासहरु गरिएको थियो । उक्त अभ्यासमा नेपाली सेनाको तर्फबाट राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालय, श्री नं १ विपद् व्यवस्थापन गण, तथा युद्धभैरव गणबाट अधिकृतसहितको टोली सहभागी भएको थियो । अभ्यासमा विपद् व्यवस्थापन निर्देशक सहायक रथि डा पदमबहादुर बुढालगायतको उपस्थिति थियो । यस किसिमको अभ्यासबाट केबलकारसँग सम्बन्धित दुर्घटना घटेको अवस्थामा छिटो र प्रभावकारी उद्धारकार्यका लागि फौजलाई सक्षम तुल्याउन र भविष्यमा हवाई साधनको समेत प्रयोग गरी जटिल प्रकारको केबलकार उद्धार अभ्यास सञ्चालनका लागि योजना तयार गर्नसमेत मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । यता नेपाली सेना र अमेरिकी सेनाबीच संयुक्त अभ्याससमेत काठमाडौंको छाउनीमा सुरु भएको छ । उक्त अभ्यासमा नेपाली सेनाका ३५ र अमेरिकी सेनाका १९ को सहभागिता छ । आगामी माघ २० गतेसम्म सञ्चालन हुने अभ्यास छाउनीका साथै नगरकोटमा गरिने नेपाली सेनाले जनाएको छ । उक्त खाले अभ्यासले विपद्को खोज तथा उद्धारमा सहयोग पुग्ने विश्वास गरिएको छ । यो अभ्यासको १२औँ शृङ्खला भएको जनाइएको छ ।

स्याङ्जा:  स्याङ्जा प्रशासनले जिल्लाका ४ वटा बालुवा प्रशोधन केन्द्र तथा क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ। स्याङ्जा स्थित सर्वदलीय बैठकले नवीकरण नगरी सञ्चालनमा रहेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको हो। प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रण गर्ने उद्देश्यले गृह मन्त्रालयद्वारा जारी निर्देशन अनुरुप जिल्ला स्थित सबै राजनीतिक दलहरुको संयुक्त बैठ बसी सो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गंगााबहादुर क्षेत्रीले जानकारी दिए।  बन्द गरिनेमा भीरकोटका २ वटा, गल्याङ् र गल्याङ्मा संचालित एक(एक वटा क्रसर उद्योग रहेका छन्। भीरकोट स्थित छाङ्छाङदी र खिलुङ्कालिका, गल्याङ् स्थित गह्रौंकालिका र वालिङ् स्थित आँधीखोला क्रसर उद्योग बन्द गरिएका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए।  स्याङ्जाका १० वटा क्रसर उद्योगमध्ये हाल ४ वटा बन्द गर्ने निर्णय भएको र यसअघि नै २ वटा उद्योग संचालनमा नरहेको प्रजिअ क्षेत्रीले जानकारी दिए। 

काठमाडौं:  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरे लगत्तै कार्यभार सम्हालेका हुन् ।  उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराएका थिए । उनले पदभार ग्रहण गरे लगत्तै २ वटा निर्णय गरेका छन् । उनले प्रदेशको सुशासनका लागि मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेका छन् ।  मुख्यमन्त्री जम्मकट्टेलले मन्त्रालयको सङ्ख्या घटाउन प्रदेशका मुख्य सचिव मुकुन्द प्रसाद न्यौपानेको संयोजकत्वमा प्रतिवेदन तयार पार्न समिति गठन गर्ने निर्णय गरेका छन् । उक्त समितिले आगामी १५ दिन भित्रमा प्रतिवेदन तयार पारी पेस गर्नु पर्ने छ । त्यस्तै मुख्यमन्त्री जम्मजट्टेलले पुस मसान्त भित्र सङ्घीय सरकार समक्ष विशेष र समपूरक तर्फको अनुदानका योजनाहरू तयार पारी पठाउने निर्णय गरेका छन् ।

म्याग्दी:  राष्ट्रिय गौरवको आयोजना बेनी–जोमसोम –कोरला सडकअन्तर्गत पुल र सडक निर्माणको ठेक्का सम्झौता गरी निर्माण अलपत्र पारेर सम्पर्कविहीन भएका निर्माण व्यवसायी (ठेकेदार) काममा फर्कन थालेका छन्।  पुसको पहिलो हप्ता आयोजनाले पुल र सडक निर्माणको ठेक्का लिएर लामो समय योजना अलपत्र पार्ने आठवटा निर्माण कम्पनीलाई तत्काल काममा नफर्किए ठेक्का तोडेर कालोसूचीमा राख्ने चेतावनीसहित सार्वजनिक सूचना जारी गरेको थियो। सो सूचना जारी भएसँगै ती निर्माण कम्पनीका सञ्चालकले कार्यस्थलमा फर्किएर काम थालेको आयोजनाले जनाएको छ। निर्माण व्यवसायीहरू आयोजनाको सम्पर्कमा आएर सम्झौताअनुसार काम गर्ने प्रतिबद्धता जनाएको आयोजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिनुभयो।  “आयोजना निर्माणमा ढिलासुस्ती गर्ने र अलपत्र पार्ने निर्माण कम्पनीलाई ठेक्का तोडेर कालोसूचीमा राख्नेसम्मको चेतावनीसहितको सार्वजनिक सूचना जारी गरेका थियौँ,” आयोजना प्रमुख प्रजापतिले भन्नुभयो,” “सूचना जारी भएपछि सम्पर्कमा आएका छन्। कतिपयले काम पनि थालिसकेका छन्। मुस्ताङको माथिल्लो भेगमा अत्यधिक चिसो भएकाले माघको दोस्रो हप्तादेखि काममा फर्किने प्रतिबद्धता जनाएका छन्।” आयोजनाको सम्पर्कमा आएका निर्माण व्यवसायीलाई अन्तिम पटक लिखित प्रतिबद्धतासमेत गराइएको उहाँले बताउनुभयो। जोमसोम–कागबेनी सडक कालोपत्रे योजनाका ठेकेदारले काम थालेको उहाँले बताउनुभयो। १३ किमि अस्फाल्ट प्रविधिको कालोपत्रे सडक निर्माणको ठेक्का लिएको निर्माण व्यवसायी रौताहा आत्रेय सारस जेभीले मजदुर र उपकरण परिचालन गरी काम थालेको उहाँले बताउनुभयो।  यसैगरी बेनी–जोमसोम सडकको खण्ड–२ र ३ को जिम्मा पाएको शर्मा गजुरमुखी जेभी, लार्जुङ र कैकु खोला पुलको ठेक्का लिएको गणपति ग्रुप अफ कन्स्ट्रक्सन पनि सम्पर्कमा आएको उहाँले बताउनुभयो। मार्फा, छुसाङ र घमी पुलको जिम्मा लिएको हिमढुङ ठोक्कर इमोटल जेभी, चराङ पुलको सम्झौता गरेको काष्ठमण्डप कन्स्ट्रक्सन र कागबेनी पुलको कन्स्ट्रक्सन गल्वा रफिना जेभीलाई तत्काल काममा फर्किन आयोजनाले सार्वजनिक सूचना जारी गरेको थियो।    

पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले  पदभार ग्रहण गरेका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुुरुङबाट सपथग्रहणपछि अधिकारीले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणपछि बोल्दै मुख्यमन्त्री अधिकारीले प्रदेशको विकास र समृद्धिको लागि काम गर्ने बताए ।    पदभार ग्रहण पछि बसेको पहिलो बैठकले तीनवटा निर्णय पारित गरेको गण्डकी प्रदेशका प्रवक्ता सीता सुन्दासले बताईन् ।  उनका अनुसार विभिन्न आन्दोलनमा शहिद भएका ज्ञातअज्ञात शहिद प्रति श्रद्धाञ्जली अर्पण गरेको छ । ‘लोकतन्त्र प्राप्तिका लागि विभिन्न आन्दोलनमा शहिद हुनुभएका ज्ञातअज्ञात शहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, ०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्ण राष्ट्रसेवकसँगै मतदातालाई धन्यवाद दिएका छौं, सुन्दासले भनिन्, ‘ प्रदेशको शासकीय क्षमता अभिवृद्धिका लागि सुशासन कामय गर्न, सेवा प्रवाहमा सुझाव पेश गर्न मुख्यमन्त्री तथा प्रशासन महाशाखा प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरेका छौं ।’  बैठकले प्रदेश मातहत ११ वटै जिल्लामा डायलिसिर्स सेवा प्रवाह गर्न निर्देशन समेत दिएको प्रवक्ता सुन्दासले बताईन् । ‘प्रदेशमा डायलिसिसका बिरामीहरुलाई मध्यनजर गर्दै छिटोछरिटो सेवा प्रदान गर्न प्रदेश मातहतका ११ वटै जिल्लामा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेका छौं ।’    गण्डकीमा कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि नेकपा एमाले, नेकपा माओवादी, राप्रपा र स्वतन्त्र निर्वाचन भएका र अहिले नेकपा  एकिकृत समाजवादी प्रवेश गरेका दीपक मनाङ्गेसहितको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा दावी पेश गरेका थिए ।  कुनै पनि राजनीतिक दलको बहुमत नआएपछि प्रदेश प्रमुख गुरुङले संविधानको धारा १७५ को उपधारा (२) बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । उपधारा (२) २ वा सोभन्दा बढी दल मिलेर सरकार बनाउँछन् ।   प्रदेश प्रमुख गुरुङले गण्डकी सरकार बनाउन राजनीतिक दललाई आज (पुस २५ ) सम्मको मिति दिएका थिए । 

पोखराः    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।  अधिकारीले ३ जनालाई मन्त्रीमा पनि नियुक्त गरेका छन् ।   राप्रपाबाट पञ्चराम गुरुङ, नेकपा माओवादी केन्द्रबाट हरिबहादुर चुमान र एमालेबाट सीता सुन्दास मन्त्री नियुक्त भएका छन्  । विना विभागीय मन्त्री बनेका उनीहरुले  मुख्यमन्त्री अधिकारीपछी प्रदेश प्रमुख गुरुङबाट  शपथ लिएका छन् ।   

विराटनगरः   प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभएको हो । शपथलगतै मुख्यमन्त्री कार्कीले चार सदस्यीय मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । मुख्यमन्त्री कार्कीले सत्ता साझेदार दलबाट एक–एक जना मन्त्री नियुक्त गर्नुभएको छ । उहाँले नेकपा (एमाले) का तिलकुमार मेन्याङ्बो, राष्ट्रिय प्रजातन्त्र पार्टीका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्रीमा नियुक्त गर्नुभयो । नवनियुक्त मन्त्रीलाई प्रदेश प्रमुख खापुङले शपथ गराउनुभयो ।  प्रमुख सत्ता साझेदार दल शपथमा सहभागी नभएपछि मुख्यमन्त्री कार्कीले नवनियुक्त मन्त्रीहरूको जिम्मेवारी भने तोक्नुभएको छैन ।  माओवादी अनुपस्थित  यसैबीच मुख्यमन्त्रीको शपथ ग्रहण कार्यमा नेकपा (माओवादी केन्द्र) प्रदेश १ संसदीय दलको बैठकले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ । संसदीय दलको बैठकले दलहरुबीच प्रदेश सरकारको नेतृत्व बाँडफाँट गर्ने निर्णयमा असहमति जनाउँदै त्यसलाई नसच्याएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।  बैठकले गरेको निर्णयका बारेमा जानकारी दिनुहुँदै माओवादी केन्द्रका सांसद तथा प्रदेश १ का सचिव गणेशप्रसाद उप्रेतीले भन्नुभयो ‘प्रदेश सरकारको नेतृत्व आधा–आधा कार्यकाल हुनेगरी सहमति नभएसम्म तत्काल सरकारमा सहभागी नहुने निर्णय भएको छ ।’ बैठकले दलहरुबीच भएको सहमति सच्याउन पार्टी केन्द्रलाई आग्रह गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो ।  माओवादी संसदीय दलले सरकारमा सहभागी नहुने निर्णय गरेसँगै प्रदेश प्रमुखले दिउँसो २ बजे आयोजना गरेको मुख्यमन्त्री तथा मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम सुरु गर्न केही ढिलाइ हुनुभएको छ ।  त्यसअघि माओवादी केन्द्र प्रदेश १ का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले केन्द्रको निर्णय सहमति विपरीत भएको भन्दै त्यसलाई स्वीकार गर्न नसकिने बताउनुभयो ।  ‘माथिको निर्णयले माओवादी प्रदेश १ को अपमान भएको छ,’ उहाँले भन्नुभयो, ‘आलोपालोबारे लिखित सहमति नभएसम्म हामी सरकारमा सहभागी हुँदैनौँ ।’ यद्यपि माओवादी केन्द्रले एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न समर्थन भने गरेको छ । माओवादी सरकारमा सहभागी नभएको अवस्थामा पनि मुख्यमन्त्रीसँग सरकार गठनका लागि आवश्यक ४७ जना सांसदको बहुमत भने प्राप्त हुनेछ । प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ सांसद छन् । 

पोखराः   गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा ९ मन्त्रालयमात्रै ठिक हुने बताएका छन् ।    मुख्यमन्त्री पोखरेलले पदमुक्त हुनु अघि आज (सोमबार) पत्रकार सम्मेलन गर्दै उक्त धारणा राखेका हुन् । ‘अब बन्ने नयाँ सरकारले प्रदेशको विकास र समुन्नतको लागि हेरेर मन्त्रालय बनाउनुपर्छ, पोखरेलले भने, ‘विषम परिस्थितिमा आउँदा मन्त्रालय बढी भएको अनुभुति भएको हो, अब आउने नयाँ सरकारले प्रदेशले धान्न सक्ने मन्त्रालय निर्माण गर्नुपर्छ ।’   उनले आफु आउन भन्दा अगाडी नै ११ मन्त्रालय भएको भन्दै १ वटा मन्त्रालय थपेको बताए ।    पार्टीले यो चुनावमा आफुलाई टिकट नदिएपनि पार्टीको राजनीतिमा सक्रियरुपमा लाग्ने मुख्यमन्त्री पोखरेलको भनाई छ ।    उनले कार्यअवधिमा आफुलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरे ।   

काठमाडौंः   माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेलले बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् । ७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।