काठमाडौं: नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ। वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले जानकारी दिए। प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए। ‘परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ,’ उनले भने। जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ। जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मन्त्रीहरू राजीनामा दिन बालुवाटार पुगेपनि राजीनामा नदिने भएका छन् । प्रधानमन्त्री दाहालसँगको छलफलपछि राजीनामा नदिइ फर्किएका हुन्। प्रधानमन्त्री दाहालले आफूले संसदबाट विश्वासको मत लिने बताउँदै त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । सोही आग्रहमा उहाँहरुले राजीनामा नदिइ फर्किनुभएको प्रमुख सचेतक सन्तोष परियारले बताउनुभयो । दाहाल नेतृत्वको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगारमन्त्री, सुमना श्रेष्ठ शिक्षामन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री हुनुहुन्छ । नेकपा एमालेको तर्फबाट प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारमा सहभागी मन्त्रीहरूले हिजै राजीनामा दिएका छन्। साथै, एमालेले आफ्नातर्फबाट सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएको छ। एमालेले सोमबार राति नेकपा माओवादी केन्द्रसँग गठबन्धन तोडी नेपाली कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेको थियो ।
पोखरा: पोखरामा आज बिहान बेनेली मोटरसाइकल दुर्घटना हुँदा एक विदेशी नागरिक गम्भीर घाइते भएका छन् । मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको बा ९० प ५८३९ नम्बरको मोटरसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी वरिष्ठ नायव निरिक्षक मिन बहादुर खड्काले जानकारी दिए । मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक (चालक) गम्भीर घाइते भएको उनले बताए । ‘मुस्ताङचोकबाट पृथ्वीचोकतर्फ आउँदै गरेको मोटसाइकल नागढुङ्गाको उकालोमा अनियन्त्रित भई दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते भएका छन्’, खड्काले भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि फेवासिटी अस्पतालमा लगेका छौं, अहिले उपचार भइरहेको छ ।’ उनका अनुसार दुर्घटनामा गम्भिर घाइते भएका विदेशी नागरिकको परिचय खुलेको छैन । सो घटनाबारे थप अनुसन्धान भइरहेको ट्राफिक कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले महामन्त्री डा मुकुल ढकाललाई निलम्बन गरेको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा ढकाललाई महामन्त्री तथा प्रवक्ता पदबाट एक हप्ताका लागि निलम्बन गरिएको उल्लेख गरिएको छ । रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टी अनुशासन विपरीत अभद्र, अशोभनीय, अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै सात दिनका लागि निलम्बन गरेको जनाएको छ ।
पोखरा: पोखराको लामाचौरबाट बेपत्ता भएका ३ वर्षीय बालक मृत फेला परेका छन् । गएराति देखि बेपत्ता भएका ३ वर्षीय अनमोल सिके आज केआईसिङ पुल नजिक मृत फेला परेका छन् । मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन थिए । बालक बेपत्ता भएको खवरपछि खोजतलाजमा खटिएको प्रहरीको टोलीले बालकलाई सेती किनारामा आज मृत फेला पारेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यो पनि पढ्नुहोस लामाचौरबाट नाम बताउन सक्ने ३ वर्षीय बालक बेपत्ता
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट बाहिरिएको छ । सो दलबाट सरकारमा सहभागी भएका सबै आठजना मन्त्रीले प्रधानमन्त्री प्रचण्डसमक्ष सामुहिक राजीनामा बुझाएका छन् । त्यसअघि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद्मा रहेका उनीहरुलाई सामूहिक राजीनामा दिन निर्देशन दिएका थिए । मङ्गलबार अध्यक्ष ओलीको अध्यक्षतामा बसेको सचिवालय बैठकले २४ घण्टाभित्र पदबाट राजीनामा दिएर नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री दाहाललाई आग्रह गरेको थियो । सो अवधिमा प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेका सबै मन्त्रीहरुले आज अपराह्न प्रधानमन्त्री प्रचण्डसमक्ष सामूहिक राजीनामा बुझाएका हुन् । यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाएका थिए । प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा नदिएपछि एमाले मन्त्रीहरुले राजीनामा बुझाए पनि माओवादी केन्द्रको बैठकले प्रधानमन्त्रीलाई संसद बैठकमा विश्वासको मत लिन सुझाव दिएको छ ।
काठमाडौं: नेकपा एमालेले सरकारबाट समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । प्रधानमन्त्री प्रचण्डलाई आज बुधबार नै भेटेर मन्त्रीहरूले राजीनामा बुझाउने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । एमाले र नेपाली कांग्रेसबिच केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बनाउने सहमति भएपछि मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुधबारसम्म राजीनामा दिन आग्रह गरेको थियो । तर प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएपछि एमालेले समर्थन फिर्ता लिएको र मन्त्रीहरूले राजीनामा दिन लागेको प्रमुख सचेतक बर्तौलाले बताए । राजीनामा बुझाउनु अघि अहिले बालकोटमा एमाले अध्यक्ष ओलीले आफ्ना पार्टीका मन्त्रीसँग छलफल गरिरहेका छन् । उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, कानुनमन्त्री पदम गिरीलगायत अन्य मन्त्रीहरू बालकोट छलफलमा छन् । कांग्रेस–एमालेबिच नयाँ गठबन्धनको सहमति भएपछि एमाले प्रचण्ड नेतृत्वको सरकारबाट बाहिरिन लागेको हो ।
काठमाडौं: नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्ग प्रशस्त गर्न आग्रह गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पमादन समितिको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकको निर्णयबारे जानकारी दिँदै उहाँले सङ्घीय संसद्का दुई ठूला दल कांग्रेस र नेकपा ९एमाले० मिलेर नयाँ सरकार बनाउने सहमति गरेपछि प्रधानमन्त्री दाहालले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने बताउनुभयो । कांग्रेस र एमालेबीच सत्ता समिकरणका लागि सोमबार सहमति भएको थियो । उक्त समिकरणमा अन्य दलको समेत समर्थन रहने प्रवक्ता डा महतले बताउनुभयो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्र अप्ठ्यारोमा परेका बेला ठूला दलहरुबीच संवाद र साझा प्रयासका माध्यमबाट मुलुकलाई सहजता प्रदान गर्नुपर्ने बताउनुभएको छ । हालैको एक अन्तर्वार्तामा अध्यक्ष ओलीले भन्नुभयो, “हामी लोकतन्त्रमा स्वच्छ प्रतिस्पार्धाका आधारमा चल्नुपर्छ भन्नेमा छौँ । हामीले मिलेरै संविधान बनायौँ, मिलेरै अघि बढ्ने हो । मिलेरै अघि बढ्दा मुलुकका लागि आवश्यक निकास दिन सकिन्छ ।” मुलुकका खासखास समस्याका समयमा तिनको समाधानका लागि नेपाली कांग्रेस, एमालेसहितका ठूला दल मिलेर मुलुकको नेतृत्व गर्ने कुरामा के सोच्नुभएको छ रु भन्ने राससको जिज्ञासामा अध्यक्ष ओलीले संविधान जारी हुने समयमा कांग्रेससँग सहयात्राका लागि एमालेले नै प्रस्ताव गरेको स्मरण गर्दै कांग्रेस संवादमा आउँदा आफूहरू कहिल्यै पनि पछि नहटेको स्पष्ट पार्नुभयो । राष्ट्रिय मुद्दामा संवाद र सहमतिको यात्राबाट एमाले पछि नहट्ने र त्यसको अगुवाइ गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “यस्तो अवस्थामा एमालेले विगतमा पनि अगुवाइ गरेर लोकतान्त्रिक तवरबाट मार्गप्रशस्त गरेको हो र अहिले पनि आवश्यक पर्दा त्यसबाट पछि हट्दैन ।” “विनासकारी भूकम्पपछि त्यसबेला प्रतिपक्षमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सँग मिलेर पुनःनिर्माण र संविधान निर्माणमा लाग्ने प्रतिबद्धताका साथ रचनात्मक भूमिका निर्वाह गरेको कुरा पनि बिर्सन हुँदैन । हामीले विगतमा पनि मिलेरै देश र जनताका लागि काम गरेको इतिहास छ । आवश्यक परेमा सबैसँगै आउनुपर्छ । विगतमा एमाले, कांग्रेस र माओवादी केन्द्रले नै राष्ट्रका लागि सँगै काम गरेको हो”, उहाँले स्मरण गर्नुभयो । अहिले नागरिकले मुलुकमा स्थायित्व खोजिरहेका छन् । यसका लागि नेपालको परिवर्तनका संवाहक रहेका तीन ठूला दल नेपाली कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थायित्व दिने प्रयोजनका लागि आवश्यक संवाहकको पहल किन नगर्ने भन्ने प्रश्नमा अध्यक्ष ओलीले सो जवाफ दिनुभयो । उहाँले भन्नुभयो, “एमाले जनताको चाहना र राष्ट्रको आवश्यकता बुझेर काम गर्ने पार्टी हो, मुलुकको स्थायित्वका लागि परिवर्तनका संवाहकहरूको सहकार्य आवश्यक छ । यसका लागि अग्रसरता लिने पक्षमा एमाले छ ।” संविधान साध्य होइन, साधन हो । देश र जनताको सुख र समृद्धि साधन हो भन्दै अध्यक्ष ओलीले भन्नुभयो, “हामीले तरकारी नकाटी हुँदैन, तर तरकारी काट्दा चुलेसीसँग खेलबाड गरियो भने हात काट्न सक्छ । साधनहरू चलाउँदा सावधानी अपनाउनुपर्छ । हामीबीच जति पनि असमझदारी छन्, ती हटाउने संवादबाट नै हो । संवादबाट सहमतिमा जान सकिन्छ । साझा अनुभूतिलाई अनुभवका रूपमा सहमति विकास गर्नुपर्छ । फेरि पनि संवाद आवश्यक छ । सबै कुरामा सहमति हुन्छ भन्ने होइन, आधारभूत रूपमा सहमति हुनुपर्छ । पक्ष–प्रतिपक्षको स्वच्छ प्रतिस्पर्धाको बहुदलीय प्रणाली हामीले रोजेर ल्याएको हो, यस प्रणालीलाई अस्वीकार नगरी सहमतिलाई स्वीकार गर्न सकिन्छ । त्यसकारण सहमति हुन्छ । कस्तो बेलामा प्रतिस्पर्धा र कतिबेला सहमति भन्ने हुन्छ ।” एकप्रश्नमा उहाँले आफूहरूलाई सरकारमा बसेर जनतालाई कुनै पनि उपलब्धि दिन नसक्ने छुट नभएको जवाफ दिनुभयो । सरकारमा देशको विकास गर्न तथा जनतालाई सुविधा दिनका लागि जाने हो । जनतालाई सेवा सुविधा दिन हो । तर कसैकसैका लागि मात्र हुनेगरी काम गर्ने छुट हामीलाई सरकारमा बसेर हुँदैन, उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भन्नुभयो, “जनताका समस्या सम्बोधन गर्न नसकेमा हामी सरकारमा बस्नुको औचित्य के हुन्छ र रु देश र जनताका समस्या सम्बोधन गर्न नसकिए कुनै पनि सरकारको अर्थ छैन ।” अध्यक्ष ओलीले संविधानले परिकल्पना गरेको प्रणालीको विकास र कानुनी निर्माण गर्नुपर्ने अवस्थामा आफूहरूले मिलेर जाउँ भनेर कांग्रेससँग प्रस्ताव गरेको टिप्पणी गर्नुभयो । यसमा कांग्रेस पनि गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले भन्नुभयो– “लोकतन्त्रका आधारभूत प्रश्नमा हामी एक ठाउँमा छौँ र हुनुपर्छ । यो प्रणाली हामीले लडेर र रोजेर ल्याएको हो । यसलाई बलियो बनाउनुपर्छ । कार्यान्वयनका क्रममा स्थितिमा संविधान संशोधन पनि गर्नुपर्ने हुन्छ । किनभने चरम दबाबका बीच हामीले संविधान ल्याएको हो । संविधान नल्याउँदा नेपाल अराजकतामा फस्न सक्ने थियो, त्यसकारण कतिपय कमीकमजोरीका बीच हामीले संविधान ल्यायौँ । जनतालाई केन्द्रमा राखेर यसको सफल कार्यान्वयनका लागि हामीहरु संवाद र सहमतिमा लाग्नुपर्ने हुन्छ ।”

