पोखरा: अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तथा सरकारले अन्तर्राष्ट्रिय जगत्मा व्यक्त गरेको प्रतिबद्धतालाई प्रमुख आधार मानेर बजेट तर्जुमा गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को विनियोजन विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सांसदका जिज्ञासाको जवाफमा उहाँले नेपालको संविधान, सोह्रौँ योजनाको सोच, गणतन्त्रका डेढ दशकका उपलब्धिको समीक्षा र विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा सांसदहरूले रचनात्मक सुझाव दिनुभएको बताउनुभयो । विगतका आर्थिक सुधारका उपलब्धिलाई संस्थागत गर्ने, बदलिँदो विश्व अर्थव्यवस्था र मुलुकको वस्तुगत आवश्यकतालाई दृष्टिगत गरी उत्पादन र रोजगारीका अवसर सृजना गर्दै देशको अर्थतन्त्रलाई सबल र उत्थानशील बनाउने स्पष्ट कार्यदिशा निर्धारण गरी आगामी आवका लागि पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र पहिचानसहित बजेट बनाइएको, त्यसको कार्यान्वयनबाट यसले लिएको लक्ष्य हासिल हुने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो । सांसदहरुले बजेटले संविधान र नीति तथा कार्यक्रमलाई सम्बोधन नगरेको, सङ्घीयताको सवलीकरणमा जोड नदिएको, शिक्षा क्षेत्रमा बजेट न्यून विनियोजन भएको, कृषिमा लगानी दशक घोषणा भएको तर पर्याप्त बजेट विनियोजन नभएको, बजेटलाई उत्पादकत्व बढाउने गरी बजेट नआएको गुनासो गर्नुभयो । सांसदहरुका जिज्ञासा शान्त पार्दै मन्त्री पुनले भन्नुभयो, “मुलुकको चालु आवको कूल गार्हस्थ्य उत्पादनको आकार, सार्वजनिक वित्तको अवस्था र विगतका बजेटको तुलनामा प्रस्तुत बजेट सन्तुलित छ, बजेटको कार्यदिशा अर्थतन्त्रलाई थप गतिशील बनाउन निजी क्षेत्रको मनोबल बढाउने रहेकाले बजेट वितरणमुखी नभई उत्पादनमुखी छ ।” उहाँले आगामी आवका लागि कूल खर्च रु १८ खर्ब ६० अर्ब ३० करोड विनियोजन गरिएको र त्यो खर्च अनुमान चालु आवको विनियोजनको तुलनामा ६ दशमलव २ प्रतिशतले मात्र अधिक रहेको बताउनुभयो । चालु आव २०८०र८१ मा चालु खर्च ६५ दशमलव २ प्रतिशत, पुँजीगत १७ दशमलव २५ प्रतिशत र वित्तीय व्यवस्थामा १७ दशमलव ५५ प्रतिशत रहेकामा आगामी आव चालु खर्च ६१ दशमलव ३१ प्रतिशत, पुँजीगततर्फ १८ दशमलव ९४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १९ दशमलव ७४ प्रतिशत प्रस्ताव गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । “चालु आव २०८०/८१ को तुलनामा चालु खर्चतर्फ न्यून बजेट विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ बजेट वृद्धि गरिएको छ, त्यसैगरी प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँट र अनुदान गरी रु पाँच खर्ब ६७ अर्बअर्थात् कूल विनियोजनको ३० दशमलव ५ प्रतिशत वित्तीय हस्तान्तरणको सुनिश्चितता गरिएकाले प्रदेश र स्थानीय तहमा जाने रकममा पनि चालु आवभन्दा बढी नै विनियोजन गरिएको छ”, मन्त्री पुनले भन्नुभयो । सो रकमबाट सञ्चालन हुने क्रियाकलाप तथा सङ्घीय सरकारको कार्यक्रमबाट सञ्चालन गरिने क्रियाकलापबाट प्रादेशिक सन्तुलन कायम गर्न योगदान पुग्ने विश्वास मन्त्री पुनले व्यक्त गर्नुभयो ।
काठमाडौं: साविक विजेता अर्जेन्टिना ४८औं संस्करणको कोपा अमेरिका फुटबलको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलमा इक्वेडरलाइ पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरेको हो । इक्वेडर समूह ‘बी’ बाट उपविजेता बन्दै अन्तिम आठमा पुग्दा उपाधि दावेदार अर्जेन्टिना समूह ‘ए’ मा अपराजित रहँदै विजेताका रुपमा क्वाटरफाइनल प्रवेश गरेको हो । अर्जेन्टिनाले सबैभन्दा बढी १५ पटक उपाधि उचालेको छ भने १४ पटक उपविजेता बनेको छ । इक्वेडर भने हालसम्म कोपा–अमेरिकाको सेमिफाइनल भन्दा अगाडि बढ्न सकेको छैन । विश्वकै सबैभन्दा पुरानो महादेशीय फुटबल प्रतियोगिताका रुपमा रहेको कोपा अमेरिका पहिलो अन्तराष्ट्रिय फुटबल प्रतियोगिता पनि हो ।
पोखरा: पोखरा महानगरपालिका–२ मिरुवा स्थित सेतीमदी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापना दिवसका अवसरमा आयोजना गरेको रक्तदानमा ५१ युनिट रगत संकलन भएको छ । आफ्नो १४ औ स्थापना दिवस सगै १०२ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा शुक्रबार कार्यालय परिसरमा रक्त संचार केन्द्र पोखराको प्राविधिक सहयोगमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा शेयर सदस्य, कर्मचारीसँगै सर्वसाधारणले रक्तदान गरेका सहकारी संचालक समिति सदस्य कविता गुरुङले जानकारी दिईन । यस अघि कार्यक्रमको उद्घाटन पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङलाई व्लड ब्याग हस्तान्तरण गरेर गरेका थिए । उद्घाटन पछि तिवारीले सहकारीहरुले आर्थिक र सामाजिक क्षेत्रमा धेरै काम गरेको बताएका थिए । सामाजीक उत्तरदायी अन्र्तगत आजको यो रक्तदान रहेको भनाई उनको थियो । तर पनि केही सहकारीले आर्थिक र वित्तिय अनुशासन कायम नगर्दा समस्या आएको उनले बताए । महानगर अन्र्तगत हाल तीन सय ६३ सहकारी रहेकोमा तीन सहकारीमा समस्या रहेको भनाई उनको थियो । रक्त संचार केन्द्र पोखराका वरिष्ठ प्राविधिक महेन्द्र केसीले प्रत्येक मानिसको शरिरमा ७५ मिलिलिटर रगत रहने र त्यो मध्ये ५० मिलिलिटर मात्र शरिरका लागि आवश्य रहने बताएका थिए । स्वस्थ मानिसले प्रत्येक तीन तीन महिनामा रक्तदान गर्न सक्ने भनाई उनको थियो । यसै विच ए एण्ड बि इन्टरनेश्नल हस्पिटलले सहकारी संग सहकार्य गदै हस्पिटलले प्रदान गर्ने सेवामा सहकारीका सदस्यहरुलाई छुट दिने भएको छ । कार्यक्रममा हस्पिटलल चिकित्सक डा राम अधिकारीले हस्पिटलले प्रदान गर्ने ल्याव, ओपिडी, औषधी लगायत अन्य सेवामा सहकारीका शेयर सदस्यहरुलाई छुट दिने जानकारी दिएका थिए । सहकारी संचालक समितिका अध्यक्ष जयलाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सहकारीका संस्थापक एंव निवर्तमन अध्यक्ष विश्व बहादुर गुरुङ, उपाध्यक्ष गंगा बहादुर गुरुङ, सल्लाहकार राम प्रसाद अधिकारी, सहकारीका सचिव शिवराज अधिकारी, रक्तदान कार्यक्रम संयोजक प्रेम बहादुर गुरुङ लगायतले सहकारीले गरेका विभिन्न सामाजिक सगै अन्य कामका बारेमा भनाई राखेका थिए ।
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधरणतया देखि पूर्णतया बदली रहने छ । सबै प्रदेशका धेरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, गण्डकी , लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी, मधेस, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
तनहुँ: जिल्ला प्रहरी कार्यालय तनहुँले मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चालाएको आरोपमा पोखराका एक युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ मियापाटनका ५० वर्षीय अन्नजन मिया रहेका छन् । ग २ च ७००२ नम्बरको एम्बुलेन्स म्याग्दे गाउँपालिकामा दुर्घटना भएको थियो । त्यसपछि अनुसन्धानका क्रममा मादक पदार्थ सेवन गरेर चलाएको पुष्टि भएको भन्दै मियालाई नियन्त्रणमा लिइएको तनहुँ प्रहरीका प्रवक्ता तथा डिएसपी दिपककुमार रायले बताए । डिएसपी रायका अनुसार मियालाई अहिले अभद्र कसुरमा मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको छ । मियाले विगतदेखि पोखरा महानगरपालिका–१३ मियापाटनस्थित मुस्लिम धार्मिक सेवा समितिद्वारा सञ्चालित एम्बुलेन्स चलाउदै आएका थिए ।
पोखरा: कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका पाँचवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो । जिल्लास्तरीय खोप समन्वय समिति र स्वास्थ्य कार्यालयद्वारा बिहिबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका सामाजिक बिकास तथा स्वास्थ्य मन्त्री बिन्दु कुमार थापाले उक्त घोषणा गर्दै सरकारले लिएको स्वस्थ नागरिक सम्बृदीको महत्वपूर्ण आधार भएको र खोपले बालबालिकाहरूलाई विभिन्न रोगबाट सुरक्षित रहन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । थापाले गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चित जिल्ला घोसणा हुने र छिट्टै गण्डकी पूर्ण खोप सुनिश्चित प्रदेश घोषणा हुने उल्लेख गरे। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । कास्की जिल्लाले पहिलो पटक २०७५ असार २७ गते जिल्ला पूर्ण खोप घोषणा गरे पश्चात नयाँ जन्मने तथा अन्यत्रवाट कास्की जिल्ला भित्र आई वसोवास गर्ने सवै वालवालिकाले पाउनु पर्ने सवै खोप पाएको सुनिश्चत गर्ने गरिएको पौडेलले बताए । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख राम बहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए । कास्की जिल्लाका पाँचवटै पालिकाका कूल ७२ वटा वडाका कुल ३००७४ बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका अधिकृत बद्री आचार्यले जानकारी दिए। आचार्यका अनुसार घर धुरी सर्वेक्षणका क्रममा भेटिएका खोप पुरा नगरेका १४० जना वालवालिकाहरुलाई खोप लगाउने व्यवस्था समेत मिलाईएको थियो । १५ महिनासम्मका ७२२७ जना बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ । त्यस्तै १६ महिनादेखि पाँच वर्षसम्मका २२८४७ जनाबालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए । कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरुमा रहेका स्वास्थ्य संस्था तथा वाह्य २३० खोप केन्द्रहरु मार्फत नियमित खोप सेवा प्रदान हुदै आएको छ। जिल्ला समन्वय समिति कास्कीका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न घोषणा कार्यक्रममा गण्डकी प्रदेश सरकारका स्वास्थ्य सचिब बिनोद बिन्दु शर्मा , कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे ,कास्कीका जिल्ला समन्वय अधिकारी नवराज बराल,गाउँपालिका राष्ट्रिय महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझा,स्वास्थ्य स्वयम् सेविकाहरूको संजालका अध्यक्ष भीमा पौडेल सहितले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा पोखरा म न पा तथा मादि गाउ पालिकाका ६० बर्ष माथिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई सम्मानजनक विदाई समेत गरिएको थियो ।
कास्की: पोखराको नागढुंगामा एकाबिहानै बेनेली मोटरसाइकल दुर्घटनामा हुँदा गम्भीर घाइते भएका युवक रसियन नागरिक रहेको खुलेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार घाइते हुनेमा २६ वर्षीय रसियन नागरिक पिड्नेड भेनी रहेका छन् । उनको अहिले फेवासिटी अस्पतालमा (आइसियु कक्षमा) उपचार भइरहेको इन्सेक्टर शर्माले जानकारी दिए । ‘पर्यटक प्रहरीको समन्वयमा रसियन नागरिक भएको खुल्न आएको छ, इन्सपेक्टर शर्माले सुनगाभा न्यूजसँग भने, ‘फेवासिटीको आइसियुमा उपचार भइरहेको छ । बिहान गम्भीर भनिएपनि अहिले खतरामुक्त (मध्यम अवस्था) भन्ने खबर छ ।’ प्रहरीलाई अस्पतालबाट प्राप्त जानकारी अनुसार भेनीको टाउकोमा रगत जमेको छ । यो पनि पढ्नुहोस पोखरामा मोटरसाइकल दुर्घटना हुँदा विदेशी नागरिक गम्भीर घाइते घाइते भेनी पुरै होसमा आएपछि मात्रै घटनाको बास्तविकता खुल्ने इन्सपेक्टर शर्माले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा उनले बिना हेलमेट मोटरसाइकल चलाएको बताइएको छ । ‘प्रारम्भिक अनुसन्धानको क्रममा हेलमेट नलगाएको बैदाम प्रहरीले देखेपछि भागेको भन्ने बुझिएको छ, उनले भने, ‘त्योसँगै अन्य कुराहरुपनि सेवन गरे कि भन्ने कुरा छ । त्यसको मेडिकल रिपोर्ट आउँन बाँकी छ ।’ इन्सपेक्टर शमाले उक्त मोटरसाइकल भाडामा प्रयोग गरिएको हुन सक्ने संकेत गरे । उनका अनुसार सो मोटरसाइकल काठमाडौं महानगरपालिका ४ बालुवाटारका सौगात सामबाँनियाको नाममा दर्ता छ । ‘मोटरसाइकल भाडामै चलाएको जस्तो देखिएको छ । बागमतीको नम्बर प्लेट भएकाले उता समन्वय गर्दा सौगात सामबाँनियाको नाममा दर्ता देखिएको छ, उनले भने, ‘अहिलेसम्म सवारी धनि भने सम्पर्कमा आउनुभएको छैन ।’ बिहान नागढुङ्गामा बा ९० प ५८३९ नम्बरको बेनेली मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।
काठमाडौं: नेकपा (एमाले) बाट सरकारमा सहभागी आठ जना मन्त्रीको राजीनामा स्वीकृत भएको छ । बुधबार राति एमालेका आठ जना मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा दिनुभएको थियो । बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम आएको राजीनामा स्वीकृत गरी उहाँहरूको कार्यभार प्रधानमन्त्री प्रचण्डलाई तोक्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जो कुराको जानकारी दिनुभएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा एमालेको तर्फबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामा पदम गिरी, कृषि तथा पशुपन्क्षी विकासमा ज्वालाकुमारी साह, भूमि व्यवस्था, कृषि तथा सहकारीमा बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमा दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा भगवती चौधरी, खानेपानीमा राजेन्द्रकुमार राई, र रक्षामन्त्रीमा हरिप्रसाद उप्रेती रहनुभएको थियो । यसअघि पार्टी अध्यक्ष ओलीले राष्ट्रिय सहमतिको सरकार गठन गरी राजनीतिक स्थायित्व प्रदान गर्ने उद्देश्यले नयाँ सरकार गठनको पहल गरिएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र प्रधानमन्त्री प्रचण्डलाई पठाउनुभएको थियो ।
बैतडी: अमेरिकन फौजी किराले मकैखेतीलाई नष्ट गरिदिँदा यहाँका किसान चिन्तित भएका छन्। दोगडाकेदार गाउँपालिकाको रिम, कालागाउँ, न्वाली, श्रीकेदारलगायतका स्थानमा फौजी किराले मकैखेतीलाई असर पुर्याएको हो। किराले मकैको बोट सखाप पारेको दोगडाकेदार–५ न्वालीका किसान मदनसिंह कार्कीले बताए। ‘किराले मकैको पातमा पसेर गाबोसमेत खाने गरेको छ। किराले खेतमा लगाइएको मकैबाली नष्ट गर्न थालेपछि समस्या भएको छ। किरा नियन्त्रणका लागि विषादी उपलब्ध गराइदिन गाउँपालिकाको कृषि शाखालाई अनुरोध गरेका छौं,’ उनले भने। विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको जोखिम देखिएको भन्ने गुनासो आएपछि अनुगमन र विषादी वितरण गर्ने कार्य भइरहेको कृषि प्राविधिक भुवनेश्वरी भट्टले बताए। ‘किसानले फौजी किराले मकैबालीलाई नष्ट गरेको गुनासो गरेपछि अनुगमन गरेर आवश्यक सुझाव सल्लाहका साथै विषादी वितरण गर्ने गरेका छौं,’ उनले भने। समयमा वर्षा नहुँदा तथा खडेरीका कारण फौजी किरा बढी सक्रिय हुने गरेको छ। मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गरेको हो। दिनभरि मकैको बोटमा लुक्ने र रात परेपछि किराले मकैको घोघा, डाँठ, पात र टुप्पा खाएर थोरै समयमा पनि धेरै बाली नष्ट गर्ने गर्दछ। पालिकाका विभिन्न वडामा अमेरिकन फौजी किराको जोखिम देखा परेको भन्ने जानकारी आएको दोगडाकेदार गाउँपालिकाका कृषि शाखा अधिकृत सन्तोष भट्टले बताए। रिम, कालागाउँलगायतका किसानले फोन गरेर फौजी किराको जोखिम देखिएको जानकारी गराएका छन्। ‘मकैमा फौजी किराको आक्रमणबारे जानकारी पाएपछि वडास्तरबाटै कृषि प्राविधिक पठाएर अनुगमन कार्य गरी विषादीको व्यवस्था गरेको छौं,’ उनले भने। फौजी किरा रातको समयमा बढी सक्रिय हुने गरेकाले जोखिम देखिएको ठाउँमा विषादीको प्रयोग गर्न आवश्यक रहेको शाखा अधिकृत भट्टको भनाइ छ। गएको चार वर्षयता हरेक वर्ष फौजी किराको जोखिम देखिने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख घनश्याम चौधरीले बताए। ‘मकैमा फौजी किराको जोखिम प्रत्येक याममा देखा पर्ने गरेको छ, माटोमा अण्डा भइरहने र लार्भा उत्पन्नको तहबाटै मकैको बोट खान थाल्छ। नियन्त्रणका लागि मुस्किल हुने गरेको छ,’ उनले भने। पालिकाको कृषि शाखाको समन्यमा किसानहलाई ज्ञानकेन्द्रले बिषादी वितरण गर्ने गरेको छ। इमामेक्टिन वेन्जोएट, अल्टाकोर नामक विषादी वितरण गर्ने र एक किसानले मात्रै विषादी प्रयोग गरेर नहुने भएकाले जोखिम देखिएका सबै बारीमा विषादी छर्केपछि मात्रै किराको जोखिम नियन्त्रण हुने जनाइएको छ। माटोको उपचार गरेर पनि फौजी किराको जोखिम हटाउन सकिने प्रमुख चौधरीको भनाइ छ। फौजी किराको जोखिम देखा परेकाले यस वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ। बैतडीमा १३ हजार हेक्टर क्षेत्रफलमा मकैखेती हुने गरेको भए पनि जंगली जनावर, विभिन्न रोगकिरा, बसाइँसराइका कारण हाल ५ हजार चार सय हेक्टर क्षेत्रफल जमिनमा मात्रै मकैखेती गरिएको केन्द्रले जनाएको छ।

