पोखरा: पोखरा वडा नं. ५ पर्स्याङ स्थित शान्ति निकेतन स्कूलले एसईई २०८० मा सर्वोत्कृष्ट ४ जिपीए प्राप्त गरेकी छात्रा अदिती पराजुलीसहित ४० जना विद्यार्थीहरुलाई सम्मान, बधाई तथा शुभकामना व्यक्त गरेको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई ल्यापटप, सम्मानपत्र, ट्रफी, नगद र दोसल्लाले सम्मान गरेको हो । जिपीए ३.९० देखि ३.९५ ल्याउने विद्यार्थीहरु अंकिता कोइराला, शैलज अधिकारी, प्रकृति भुषाल, विवश सुवेदी र प्रताप तिमिल्सिनालाई नगद, ट्रफी र दोसल्लाले सम्मान गरेको छ । बाँकी सबै विद्यार्थीलाई ट्रफी र मालाले बधाई ज्ञापन गरिएको थियो भने अभिभावकलाई दोसल्लाले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका, शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले विद्यालयले प्राप्त गरेको शैक्षिक उपलब्धिलाई मुक्तकण्ठले प्रशंसा गरे । आचार्यले पोखराका विद्यालयमध्ये शान्ति निकेतन उत्कृष्ट विद्यालयका रुपमा स्थापित भएको उल्लेख गर्दै शिक्षा महाशाखामा विद्यालयको गतिविधिको रेकर्डले नै पुष्टि गर्ने बताए । साथै, थोरै जिपीए आएपनि तिनै विद्यार्थीहरु जीवनमा सफल हुने गरेका दृष्टान्त सुनाए । विद्यालयका संस्थापक प्राचार्य डा. महेश्वर पराजुलीले विद्यालयले समयसापेक्ष शैक्षिक योजना तथा रणनीतिहरुलाई अवलम्वन गर्दै विद्यार्थीका सर्वाङ्गिण विकासमा केन्द्रीत भई उत्कृष्ट पठनपाठन गरिरहेकोले ऐतिहासिक नतिजा प्राप्त गर्न सकेको बताए । संस्कारयुक्त शिक्षा तथा जीवनपयोगी सीपलाई प्रमुख आधार मान्दै आउँदा दिनमा विद्यालय अघि बढ्ने प्रतिबद्धता जनाए । डा। पराजुलीले भने – ’यस विद्यालय स्थापना गर्दैगर्दा शैक्षिक महापुरुषहरुले जुन परिकल्पना गर्नुभएको थियो, यी र यस्ता उपलब्धिले स्थापनाकालका परिकल्पना साकार भएको छ । उहाँहरुको योगदानको कदर भएको छ।’ सर्वोत्कृष्ट ४ जिपीए ल्याएकी छात्रा अदिति पराजुलीले आफू शिक्षक, अभिभावक र साथीहरुको सहयोगले नै यस उपलब्धि प्राप्त गर्न सफल भएको भन्दै सबैप्रति आभार व्यक्त गरिन् । कार्यक्रमको अध्यक्षतासमेत गरेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णमणि भुर्त्यालले विद्यालयको शैक्षिक उपलब्धिमा सिंगो पर्स्यांङ टोल नै सन्तुष्ट रहेको अभिव्यक्ति दिए । साथै, विद्यालयले सधैँ लोभलाग्दो शैक्षिक उत्पादन गरेकोमा संस्थापक प्रिन्सिपल डा। पराजुलीलाई विद्यालय व्यवस्थापन समितिले सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहप्राचार्य यदुविलास भुर्त्यालले स्वागत मन्तव्य राखेका थिए्र त्यसैगरी, व्यवस्थापन समिति सदस्य पुरुषोत्तम पराजुली र अभिभावककातर्फबाट भेषराज घिमिरेले बोलेका थिए । साथै, कार्यक्रममा एसएलसी पहिलो ब्याच २०६७ का प्रथम विद्यार्थी सञ्जिव भुर्त्याललाई अमेरिकाबाट सिभिल इञ्जिनियरिङमा विद्यावारिधी हाँसिल गर्न सफल भएकोमा उनका बुवाआमा चन्द्रबन्धु÷सीता भुर्त्याललाई सम्मान गरिएको विद्यालयका परीक्षा विभाग प्रमुख हेम सुवेदीले जानकारी दिए ।
काठमाडौं: अनिल बुढा मगरको डेब्यू निर्देशन रहेको फिल्म ‘घरज्वाइँ’को दोस्रो गीत ‘यानीमाया’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अभिनय रहेको छ । गीतमा हर्क साउदको शब्द तथा मनोज थापा मगरको संगीत तथा स्वर छ । यही गीतको रिदममा फिल्मको ब्याग्राउण्ड म्युजिक तयार गरिएको छ । जिएम मुभिज र एबीएम सिनेमा प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । पूर्वी रुकुम आसपासमा छायाङ्कन गरिएको फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा तथा संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले सघाएका छन् । जनक घर्ती मगरको निर्माण रहेको फिल्ममा दयाहाङ राई, मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर वाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगरको अभिनय छ । फिल्म असार २८ गतेबाट नेपाल र विदेशमा एकसाथ रिलिज हुन लागेको छ । एमएसएमले अस्ट्रेलियाले विदेश प्रदर्शन अधिकार लिएको फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ ।
काठमाडौं: नेपाल क्रिकेट सङ्घ (क्यान) ले एसिसी महिला एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ गरेको छ। एसियाली क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलङ्कामा हुँदै छ। सोही प्रतियोगितामा सहभागी जनाउने नेपाली महिला क्रिकेट टोलीलाई बिदाइ गरिएको हो। कार्यक्रममा क्यानका सचिव पारस खड्काले महिला क्रिकेट टिमको प्रदर्शनलाई लिएर सबैमा चासो रहेको भन्दै महिला टिमले विगतदेखि नै राम्रो गर्दै आएको बताउनुभयो। महिला क्रिकेट टिम पहिल्यैदेखि प्राथमिकतामा पर्नुपर्ने भएपनि प्राथमिकतामा राख्न सबै चुकको बताउनुभयो। अब महिला क्रिकेट खेलाडीलाई पनि राम्रो भन्दा राम्रो अवसर दिन आवश्यक रहेको बताउनुभयो। उहाँले अबका खेलमा टिमप्रति विश्वास राखेर उच्च आत्मबल राखेर खेल्न आग्रह गर्नुभयो। कार्यक्रममा महिला क्रिकेट टिमकी कप्तान इन्दु बर्माले अभ्यास राम्रो गरेको भन्दै नतिजा पनि राम्रो दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले टिम राम्रो रहेको र उच्च मनोबल रहेकाले राम्रो नतिजा पस्कने बताउनुभयो। कार्यक्रममा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट पुरुष टोलीका कप्तान रोहितकुमार पौडेलले भारत र पाकिस्तानसँग खेल्दा राम्रो अनुभव पाएको र त्यसले नै टी–२० विश्वकपमा राम्रो नतिजा पस्किएको बताउनुभयो। उहाँले विश्वकपमा जाँदा सुपर ८ मा पुग्ने आत्मविश्वास लिएर गएपनि सम्भव नभएको बताउनुभयो। कार्यक्रममा बोल्दै क्रिकेटर सन्दीप लामिछानेले खेलाडीहरूले कुनैपनि आफ्नो सपना पूरा गर्ने माध्यम खेललाई बनाउनुपर्ने बताउनुभयो। यस्ता खेलले आत्मविश्वास बढाउने र अनुभव बटुल्ने अवसर हुने उहाँको भनाइ थियो। उहाँले कुनैपनि सपना पूरा गर्नुपूर्व त्यसको लागि अभ्यास जारी राख्नु नै ठुलो कुरा भएको बताउनुभयो। उहाँले आफूभित्र भएको क्षमतालाई बाहिर ल्याउने गरी खेल्न सुझाव दिनुभयो। कार्यक्रममा बोल्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले अहिलेको अवसरलाई उचित सदुपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले निकै राम्रो खेल्दाखेल्दै पनि कतिपय खेलमा पराजित भएको भन्दै आगामी दिनमा त्यसलाई सुधार गरी अघि बढ्न सुझाव दिनुभयो। प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, भारत, पाकिस्तान र युएई छन्। यस्तै समूह ‘बी’ मा आयोजक श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड छन्। नेपालले जुलाई १९ मा युएईसँगको खेलमार्फत प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले पाकिस्तानविरुद्ध जुलाई २१ तथा भारतविरुद्ध जुलाई २३ मा प्रतिस्पर्धा गर्नेछ।
स्याङ्जा: स्याङ्जाको बिरुवा गाउँपालिका ६ लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ । पहिराले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताउनुभयो । पहिराको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा जानुभएका उहाँहरूको पुरिएर ज्यान गएको हो । उहाँहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो । बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिराको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उहाँहरूको मृत्यु भएको हो । उक्त पहिरामा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।
पोखरा: गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराइएको बताउनुभयो । शनिबार कर्माचार्य समाज कास्की र कर्माचार्य महिला समाज कास्कीले आयोजना गरेको स्वर्गीय लक्ष्मीसुन्दरी कर्माचार्यको स्मृतिमा सहयोग हस्तान्तरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । “गण्डकी सरकारले मृगौला पीडितका लागि निशुल्क डायलसिस सेवा उपलब्ध गराएको छ । महङ्गो पैसा तिरेर डायलसिस गर्नुपर्ने अवस्था अब छैन ।”, उहाँले भन्नुभयो । प्रदेशमा डायलसिस सेवाको वेटिङ संख्या हाल १ सय ४९ रहेको र अब छिट्टै नै शुन्यमा झार्ने प्रयास भइरहेको तथ्याङ्क उहाँले उल्लेख गर्नुभयो । मन्त्री थापाले निशुल्क डायलसिस सेवा प्रवाहले पैसाको अभावमा उपचार नपाएर वञ्चित भएका नागरिक लाभन्वित भएको बताउनुभयो । उहाँले स्वास्थ्यको क्षेत्रमा प्रदेश सरकार संवेदनशील भएको बताउनुभयो । नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै आवश्यक बजेट विनियोजन समेत गरिएको भनाई उहाँको छ । प्रदेश सरकारले सुत्केरी महिलाहरुको लागि एयरलिफ्टिङ सेवाको व्यवस्था समेत निशुल्क गरिदिएको उहाँले बताउनुभयो । जसले गर्दा ग्रामीण भेगका दुरदराजमा रहेका महिलाहरुलाई तत्काल सेवा प्रवाह गर्न सहज भएको छ । स्वास्थ्य बीमामा सोचेजस्तो प्रगति हुन नसकेता पनि यसको व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयो । योगा, ध्यानमा बजेट विनियोजन गरि सकेसम्म रोग लाग्नै नदिने वातावरण सिर्जनामा प्रदेश सरकार प्रतिबद्ध रहेको भनाई उहाँको छ । नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले स्वास्थ्यमा जनचेतनाको आवश्यकता रहेको बताउनुभयो । नेपाल उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले नागरिकको स्वास्थ्यको उपचारको बारेमा सरकारले सोच्नुपर्ने बेला आएको बताउनुभयो । सर्ने रोग सँगसँगै नसर्ने रोगको नियन्त्रणमा समेत लगानी गर्नुपर्ने आवश्यकतालाई उहाँले औंल्याउनुभयो । डा।अभिषेक मास्केले सुगर र उच्च रक्तचापका कारण मृगौलामा समस्या पर्ने उल्लेख गर्नुभयो । प्रत्येक ६ महिना वा वर्षदिनमा मृगौलाको जाँच गर्नुपर्ने भनाई उहाँको छ । आदी भन्दा बढी बिरामी मृगौला बिग्रेपछि मात्रै उपचारका लागि आउने गरेको उहाँले उल्लेख गर्नुभयो । मोटोपना, रक्सी, चुरोट र सुर्तीजन्य पदार्थको सेवन गर्नाले मृगौला रोग लाग्ने भनाई उहाँको छ । मृगौला रोग लाग्न नदिन जनचेतना फैलाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । कार्यक्रममा पोखरा १४ परिवर्तन टोल सुकुम्बासी बस्ती बस्ने वर्ष ३२ की मृगौला पीडित लक्ष्मी विश्वकर्मालाई एक लाख रुपैयाँ नगद सहयोग गरिएको छ । चन्द्र कृष्ण कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा कर्माचार्य समाजका केन्द्रीय अध्यक्ष चन्द्रेश्वर कर्माचार्य, भीरकोट नगरपालिका स्याङजाका प्रमुख गोविन्द कुमार बसन्त कर्माचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय गण्डकी प्रदेशकी प्रमुख सचिव लक्ष्मी कुमारी बस्नेत, लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, पोखरा ११ का अध्यक्ष प्रेम कर्माचार्य लगायतले बोल्नुभएको थियो भने स्वागत मन्तव्य पुरस्कार दाता दिवंगत लक्ष्मीसुन्दरी कर्माचार्यका छोरा माइकल कर्माचार्यले गर्नुभएको थियो ।
काठमाडौँ: काठमाडौँको नागार्जुन नगरपालिका–३ मा खसेको पहिरामा पुरिएर एक जनाको मृत्यु भएको छ । नागार्जुन–३ स्थित ट्रपिकल रेष्टुरेण्टको भान्साघर पुरिँदा गोरखा लखन थापा गाउँपालिका–६ घर भई हाल सोही रेष्टुरेण्टमा काम गर्ने मनोज विकको मृत्यु भएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले पहिरामा परेर गम्भीर घाइते भएका विकको स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जानकारी दिनुभयो । पहिरो भने बिहान ११ बजेतिर खसेको थियो । काठमाडौँ महानगरपालिका–२९ घट्टेकुलोस्थित भित्रि बाटोमा रोडको छेउमा वर्षाका कारण करिब एक मिटर जति भासिएकाले सचेत हुन प्रहरीले अनुरोध गरेको छ । काठमाडौँको तारकेश्वर नगरपालिका–३ जितपुरफेदीस्थित श्रीमणी जमकटेलको पर्खालमा पहिरो जाँदा लोकनाथ जम्कट्टेलको जस्ताले बनेको एक तले घरमा क्षति भएको छ । मानवीय क्षति भने भएको छैन । उपत्यका प्रहरीका अनुसार अविरल वर्षाको कारण काठमाडौँ उपत्यकाभित्र रहेका नदीका करिडोरस्थित सडकखण्डमा प्रहरीद्वारा गस्ती गरी नदीको सतहसम्बन्धी निगरानी गरिरहेको छ । हालसम्म खतरामुक्त नै रहेको जनाइएको छ । विपद् कार्यमा खोज तथा उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राखिएको छ । कार्यालयले नदीस्थित करिडोरमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । सुकुम्वासी बस्ती डुबानमा अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन् । वर्षाका कारण काठमाडौँका विभिन्न नदी र खोलहरुमा जलस्तर बढेसँगै बल्खुको सुकुम्वासी बस्ती, त्यहाँको तरकारी बजारमा बाढी पसेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका खबर आएका छन्, हाम्रो प्रहरी टोली उद्धारका लागि खटिएको छ ।” यसैगरी बागमतीमा आएको बाढीका कारण करिडोर सडक जलमग्न भएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा आज दिउँसो बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पोखरा १८ ग्यारजातीस्थित बिन्ध्यवासिनीचोकबाट सराकोटतर्फ जाँदै गरेको ग १ ख ४१५६ नम्बरको बसले ठक्कर दिँदा ७२ वर्षीय ललिता थापाको मृत्यु भएको हो । सोही बसमा सवार थापा ओर्लिएर हिड्ने क्रममा बसले ठक्कर दिँदा गम्भिर घाइते भएकी थिईन् । बसको ठक्करबाट गम्भिर घाइते भएकी थापाको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
काठमाडौं: मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विश्वासको मत प्राप्त गर्नु भएको छ । मुख्यमन्त्री सिंहले प्रदेश सभामा आज राख्नु भएको विश्वासको मत सम्वन्धीको प्रस्तावमा मतदान हुँदा सभामा उपस्थित बहुमत सदस्यहरुले उहाँलाई विश्वासको मत दिनु भएको हो । बैठकमा कूल १०१ सांसद उपस्थित हुनु भएको थियो । जसमध्ये ६७ सांसदले मुख्यमन्त्री सिंहमाथि विश्वास रहेको भन्ने पक्षमा मतदान गर्नु भयो भने विपक्षमा ३४ मत परेको हो । मुख्यमन्त्री सिंहलाई जनमत पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिए । यो सँगै मधेशमा परिवर्तित समीकरणले पनि जनमत पार्टीका मुख्यमन्त्तीलाई अनुमोदन गरिदिएको छ ।
पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले चालु आर्थिक वर्ष ०८०/०८१ मा तय गरेका सबै कार्यक्रम सम्पन्न गरेको दावी गरेको छ । यसरी सम्पन्न कार्यक्रमको असार २१ र २२ गते प्राज्ञ सभाको सातौं पूर्ण बैठक मार्फत समीक्षा गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिनुभयो । पूर्ण बैठकले आगामी आर्थिक वर्ष गर्ने कार्यक्रम लगायतबारे विभिन्न महत्वपूर्ण निर्णय गरेको उहाँले सुनाउनुभयो । ‘विशेषत आर्थिक वर्ष ०८०/०८१ को हामीले सम्पन्न गरेको कार्यक्रमको बारेमा समीक्षा गर्ने काम भयो । हामीले आर्थिक वर्ष ०८०/०८१ मा ५४ वटा महत्वपूर्ण कार्यक्रम प्रस्ताव गरेका थियौं । ५४ वटै कार्यक्रम सम्पन्न गरेका छौं’ उहाँले भन्नुभयो । आगामी आर्थिक वर्षमा प्रतिष्ठानमा चालु आर्थिक वर्षको तुलनामा ५८ लाख रुपैयाँ बजेट थप भएको छ । चालु आर्थिक वर्षमा १ करोड ७९ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । आर्थिक वर्ष ०७९/०८० मा भन्दा कम बजेट विनियोजन हुँदा केही कार्यक्रम प्रभावित भएको भएपनि आगामी आर्थिक वर्ष भने त्यसमा सहज हुने भएको सदस्य सचिव श्रेष्ठको भनाई छ । आर्थिक वर्ष ०७९/०८० मा ३ करोड २८ लाख बजेट विनियोजन भएको थियो । ‘चालु आर्थिक वर्षमा सत प्रतिशत कार्यक्रम सम्पन्न भए पश्चात मन्त्रालयले दुईवटा कार्यक्रम थपिदिएको थियो । जसअनुसार स्याङजाको फेदिखोलामा तमु भाषाको एक महिने प्रशिक्षण र तनहुँको दुलेगौडामा एक महिने धिमे बाजा प्रशिक्षण कार्यक्रम समेत गर्यौं’ श्रेष्ठले भन्नुभयो । आर्थिक वर्ष ०८०/०८१ मा ८७ वटा वाङमयिक संस्थाहरूसँग सहकार्य गरेको प्रतिष्ठानले नयाँ आर्थिक वर्षमा अन्य के–के कार्यक्रम गर्न सकिन्छ भन्ने बारेमा वाङमयिक संस्थाहरूसँग कार्यक्रमको प्रस्ताव माग्ने निर्णय गरेका छ । आगामी आर्थिक वर्षमा कम्तीमा २५ वटा जातीको भाषाको दुई–दुई महिनाका कक्षाहरू सञ्चालन गर्ने, २० वटा बाजाका दुई–दुई महिनाका तालिमहरू सञ्चालन गर्ने, १० वटा जातीको बारेमा अध्ययन अनुसन्धान गर्ने निर्णय पूर्ण बैठकबाट भएको छ । स्रष्टाहरूको योगदानलाई आत्मसाथ गर्दै उनीहरूका श्रव्य दृश्य निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिदै आगामी आर्थिक वर्ष कम्तीमा १५ जना स्रष्टाको श्रव्य दृश्य निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ । २ सय जना स्रष्टाको स्वास्थ्य बिमालाई निरन्तरता दिने तथा हरेक वर्ष स्थापना दिवसमा सम्मान गर्दै आइरहेको गण्डकी प्रज्ञा नारी सम्मानको पुरस्कारको राशी ५० हजार बाट बढाएर १ लाख रुपैयाँ पुर्याउने निर्णय बैठकले गरेको सदस्य सचिव श्रेष्ठले जानकारी दिनुभयो । आगामी साउन मसान्तसम्ममा हरेक जिल्लामा दुई–दुईवटा कार्यक्रम पर्ने गरेर प्रस्ताव माग गर्ने निर्णय पूर्ण बैठकबाट गरिएको बताइएको छ । प्रतिष्ठानको भानु सभाहलमा २ सय थान कुर्सी थप गर्ने तथा सो हलको मर्मत सम्भारको काम गरेर पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी प्रतिष्ठानले गरेको छ । प्रतिष्ठानको कार्यालय परिसरमा रहेको स्रष्टा स्मृति पार्कमा दिवंगत स्रष्टाहरुको अर्धकदको प्रतिमा बनाएर राख्ने तथा वर्षमा एकपटक पार्कमा कार्यक्रम गरी स्रष्टाहरूको सम्मानमा दीप प्रज्वलन गर्ने कार्यक्रम गर्ने निर्णय बैठकले गरेको छ । यस अगाडि सातौं पूर्ण बैठकको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री विन्दुकुमार थापाले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा प्रस्तुत गरिएको प्रतिष्ठानका तीनवर्षिय गतिविधि अवलोकन पश्चात भएको कार्य प्रगतिप्रति उहाँले सन्तुष्टी व्यक्त गर्नुभयो । ‘तीन वर्षिय कार्यप्रगति उल्लेखनीय रहेको छ, छोटो समयमा नै आफ्नो क्षमता प्रदर्शन गर्नुभयो’ मन्त्री थापाले भन्नुभयो । कला संस्कृति देशको पहिचान भएको भन्दै प्रतिष्ठानले गर्ने कार्यमा आफ्नो साथ सहयोग रहने प्रतिवद्धता उहाँले जनाउनुभयो । नयाँ पुस्तालाई आफ्नो भाषा, वेषभूषा तथा संस्कृति हस्तान्तरण गर्ने कार्यमा सहयोग गर्दै यसको जगेर्ना गर्ने काममा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेलेको प्रतिष्ठानको संरक्षक समेत रहनुभएका मन्त्री थापाले बताउनुभयो । प्रतिष्ठानले वार्षिक रुपमा गर्दै आएको स्रष्टालाई सम्मान गर्ने कार्यक्रमको समेत उहाँले प्रशंसा गर्नुभयो । देशको कला संस्कृति पर्यटनसँग जोड्ने माध्यम भएको समेत उहाँले उल्लेख गर्नुभयो । प्रतिष्ठानका कुलपति सुर्य खड्का विखर्चीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेल, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्राज्ञ प्रजापति पराजुली, प्रतिष्ठानका उपकुलपति गोरे गुरुङ र सदस्य सचिव मनकुमार श्रेष्ठले बोल्नुभएको थियो । प्रतिष्ठानले पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गर्न हरेक दिन यहाँको कला संस्कृति देखाउने कार्यक्रम गर्ने सपना देखेको सदस्य सचिव श्रेष्ठले खुलाउनुभयो । अग्रज स्रष्टाको सम्मानमा भत्ता वितरण, स्रष्टाको परिचयपत्र वितरण लगायतका कार्यक्रम समेत प्रतिष्ठानले गर्ने तयारी गरेको उहाँको भनाई थियो । प्रतिष्ठानको स्थापना २०७८ साल बैशाख १५ गते भएको थियो ।

