काठमाडौं: तापेथोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार ताप्लेजुङको तापेथोक केन्द्रविन्दु भएर गए राति १ः४६ बजे चार दशमलव चार रेक्टर स्केलको भूकम्प गएको हो । यसअघि गत असार १४ गते सिन्धुपाल्चोक जिल्लाको हेलम्बु केन्द्रविन्दु भएर भूकम्प गएको थियो ।
पोखरा: पोखरा–बागलुङ सडक खण्डको अन्नपूर्ण गाउँपालिका–५ सीता गुफामा लेदो झरेपछि सडक अवरुद्ध बनेको छ । आज बिहान सीता गुफा नजिक सडक खण्डमा हिलो र लेदोले सडक अवरुद्ध भएको एक प्रहरी अधिकृतले जानकारी दिए । हिलो र लेदो झरेपछि अवरुद्ध भएको सडक खण्ड सुचारु गर्न डोजरसहितको जनशक्ति परिचालन भइसकेको छ । केही समयमा नै सडक खुल्ने प्रहरीले जनाएको छ ।
पोखरा: पोखरामा आज बिहान घर माथिबाट आएको पहिरोमा पुरिदा एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेहलापाटास्थित ५१ वर्षीय मनबहादुथापाको ब्लकले बनेको घर माथिबाट आएको पहिरोले घर पुरिदा २२ वर्षीय भिम बहादुर थापाको मृत्यु भएको कास्की प्रहरीले जानकारी दिएको छ । आज बिहान ४ बजेको समयमा करिव २० मिटर माथिबाट खसेको पहिरोले थापाको घर पुरेको थियोे । पहिरोमा पुरिएर बेपत्ता भएका २२ वर्षीय थापालाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पहिरोमा पुरिएका ५० वर्षीय कमला थापाको भने प्रहरी र स्थानीयले सकुशल उद्धार गरेको छ ।
पोखरा: अवैध रुपमा निगालाको टुसा चोरी निकासी गरेको भन्दै जीपलाई नियन्त्रणमा लिएर एक्यापमा बुझाएको छ । कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं. ४ लम्सालथरमा सोमबार राति प्रहरी चौकी घाचोक कास्कीबाट खटिएको प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा ग ३ च ४५४० नम्बरको बोलेरो जीपपले टुसा बोकेको भेटिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्रबाट निगालोको टुसा अन्दाजी १ हजार ४ सय ८० मुठा लोड गरी पोखरातर्फ ल्याउँदै गरेको अबस्थामा फेला पारेको हुँदा उक्त टुसा सहित जीपलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ । जीप चालक जिल्ला कास्की माछापूच्छ्रे गाउँपालिका वडा नं.१ टुसे बस्ने वर्ष ३७ को खिम बहादुर पुन र टुसा ल्याउने व्यक्ति जिल्ला कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं. २ बस्ने वर्ष ४१ का रामजी भण्डारी पक्राउ परेका हुन् । थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि अन्नपुर्ण संरक्षण क्षेत्र सम्पर्क कार्यालय हरियोखर्क पोखरा पठाइएको प्रहरीले जनाएको छ ।
पोखरा: पोखरा महानगपालिका–३२ खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका नेत्रनाथ कोइरालाको प्रहरीले उद्धार गरेको छ । आज दिउँसो खुदीखोलास्थित पक्की पुलबाट हाम फालेका कोइरालाको प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा उद्धार गरेको हो । तनहुँको शुक्लागण्डकी नगरपालिका–१ बस्ने ४० वर्षीय नेत्रनाथ कोइरालाले आउ दिउँसो पोखरा–३२ खुदीखोा स्थित पुलबाट हाम फालेका थिए । खोलामा हाम फालेका कोइरालालाई प्रहरीले खोलाको ढुङ्गामा अड्किएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । खोलामा हाम फालेका कोइरालाको बायाँ खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कोइरालाले के कारणले खोलामा हाम फालेका हुन भन्ने नखुलेको प्रहरीले जनाएको छ । उनलाई खोलाबाट उद्धार गरी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारमा लागि पठाइएको छ ।
पोखरा: नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै सांसद केसीले दुई ठुला दल नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा अवसर र चुनौती दुवै भएको बताए । ‘दुई ठुला दल मिलेर सरकारमा जानु भनेको नेपालको लागि अवसर र चुनौती दुवै हो, यसले जनताको वास्तविक समस्यालाई सम्बोधन गरेर जान सक्यो भने नयाँ अवसर प्रदान गर्न सक्छ’, सांसद केसीले भने, ‘ठुला दल मिलेर सरकार बनाउँदै गर्दा आ–आफ्ना स्वार्थमा लागे चुनौती बन्न सक्छ ।’ सांसद केसीले दुई ठुला दल मिलेर सरकार बनाउँदा जनतामा आशा राख्ने गरी काम गर्न सक्ने बताए । अस्थिर सरकारबाट देश विकास तीव्र गतिमा हुन नसक्दा जनतामा निराशा बढेकाले अब बन्न सरकारले जनतामा आशा जगाउने गरी काम गर्न सक्ने विश्वास रहेको समेत उनले दावी गरे । उनले प्रतिपक्ष सशक्त हुन नसके लोकतन्त्र जीवन्त हुन नसक्ने समेत उल्लेख गरे । ‘दुई ठुला दल मिलेर सरकार बनाउँदा प्रतिपक्ष कमजोर हुन्छ भन्ने दृष्टिकोण आएको छ, कहिलेकाहीँ यस्तो दृष्टिकोण आउँछ’, उनले भने, ‘सरकार बाहिर रहेका दलले नियम कानून, संविधान अनुसार जनताको भावनालाई उठाउन सक्नुपर्छ,प्रतिपक्ष सशक्त हुन सकेन भने लोकतन्त्र जीवन्त हुन सक्दैन ।’ सांसद केसीले संविधान संशोधन, अर्थतन्त्रलाई चलायन बनाउन, जनतामा आशा जगाउन र राजनीतिक स्थायित्वको लागि दुई ठुला दल मिलेको उल्लेख गरेका छन् ।
काठमाडौं: नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । अब बैठक असार २६ गते बिहान ११ बजे बस्ने छ । बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, नेताहरुको कार्यविभाजन र नयाँ सरकार गठनको तयारीबारे छलफल हुने एमालेले जनाएको छ ।
काठमाडौं: आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न भएको छ। होटल याक एन्ड यतीमा असार १६ गते भएको उक्त समारोहमा ३ सय ९० जना विद्यार्थीहरू दीक्षित भएका छन्। सन्डरल्यान्ड विश्वविद्यालयको उच्च तहका प्रतिनिधिहरू र अभिभावकको उपस्थितिमा सम्पन्न उक्त दीक्षान्त समारोहमा बिबिए, बिएचएम, बिएससी, आइटी (सिएसइ) मा उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षित भएका हुन्। आइएसएमटी ग्रुपले काठमाडौं, चितवन, पोखरा, विराटनगर र बुटवलमा सन्डरल्यान्ड विश्वविद्यालयको सम्बन्धन कलेज सञ्चालन गर्दै आइरहेको छ।
पोखरा: प्रवासी नेपाली मन्च युके साउथ वेस्ट शाखाको अध्यक्षमा प्रमिश शर्मा (शिव) सर्वसम्मत चयन भएका छन्। युकेमा भएको मन्चको अधिवेशनले शाखाको उपाध्यक्षमा दिपक खड्का, सचिवमा प्रताप अधिकारी र कोषाध्यक्षमा चन्दन गुरुङ चयन भए । यस्तै मन्चको सदस्यहरुमा नइन्द्र गुरुङ, हेम थापामगर, सपना मल्ल के.शी, सुसेन थापा, सन्तबहादुर गुरुङ, प्रकाश गिरी र प्रमोद थापा चयन भए । यसअघि कार्यक्रम बोल्दै नवनिर्वाचित अध्यक्ष शर्माले आफ्नो कार्यकालमा प्रवासी नेपालीहरुको विकास र प्रवर्द्धन हुने सकारात्मक खालको काम गर्ने बताए । उनले आफुलाई अध्यक्ष बनाएकोमा सबैलाई धन्यवाद दिदै राम्रो काम गर्न सबैको सहयोगको अपेक्षा समेत गरे। यस्तै कार्यक्रममा उपाध्यक्ष खड्काले युकेमा नेपाली समाजहरुले धेरै कार्यक्रम गरेको बताउदै भोलिका दिनमा मन्चले नेपाली समाजमुखी विभिन्न कार्यक्रम आयोजना गर्ने बताए । यता सचिव अधिकारीले आफुलाई सचिव जस्तो उर्जाशिल पदमा निर्वाचित गराउनु हुने सबैलाई आभार व्यक्त गर्दे युवाको हक हित र क्षमता विकास काम गर्न पहल गर्ने बताए । उनले भोलिका दिनमा विविध कला संस्कृतिमुखी खालको कार्यक्रम गर्ने पनि बताए ।

