पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

मकवानपुर:   बागमती प्रदेश सरकारबाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाहिरिएको छ । उक्त पार्टीबाट मन्त्रिपरिषद्मा सहभागी सबै पाँचजनाले मुख्यमन्त्री शालिकराम जम्कट्टेलसमक्ष राजीनामा पेस गर्नुभएको छ । एमालेका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलिया, वन तथा वातावरणमन्त्री केशवप्रसाद पोख्रेल, खानेपानी ऊर्जा सिँचाइमन्त्री एकालाल श्रेष्ठ, स्वास्थ्यमन्त्री रामेश्वर श्रेष्ठ र उद्योग, वाणिज्य तथा भूमि प्रशासनमन्त्री प्रकाश श्रेष्ठले राजीनामा दिनुभएको हो ।   केन्द्रमा नेपाली कांग्रेस र एमालले राष्ट्रिय सहमतिको सरकार गठनका निम्ति सहमति गरेसँगै त्यसको प्रभाव प्रदेश सरकारमा परेको हो ।

पोखरा:    गुणस्तरीय होटल सम्बन्धी कुकिङ तालिमलाई लक्षित गरी पर्यटन राजधानी पोखराको सिर्जनाचोकमा चार वर्ष अघिदेखि सञ्चालनमा आएको आर.के.हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लिले अन्तराष्ट्रियस्तरकोे किचन ल्याब सञ्चालनमा ल्याएको छ ।      कुकिङ तालिमको प्रभावकारिता अभिबृद्धि गर्दै स्वदेश एवम् विदेशमा दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ संस्थाले अन्तराष्ट्रियस्तरको किचन ल्याब सञ्चालनमा ल्याएको हो ।  किचन ल्याबको एक कार्यक्रमका बीच आइतबार होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदी, बाराही ग्रुपका कर्पोरेट म्यानेजर राजकुमार केसी लगायतले उद्घाटन गर्नुभयो । कार्यक्रममा होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटन राजधानी पोखरामा दक्ष जनशक्तिका लागि पर्याप्त अवसरहरू रहेको बताउँदै उत्पादित जनशक्तिलाई रोजगारीको समस्या नरहेको बताउनुभयो ।  बाराही ग्रुपका कर्पोरेट डाइरेक्टर राजकुमार केसीले कुकिङ तालिम प्राप्त गरेका दक्ष जनशक्तिको भविष्य उज्वल रहेको बताउँदै उच्च मनोबलका साथ तालिम लिएर त्यसलाई ब्यबहारिकतामा उतार्न आग्रह गर्नुभयो । होटेल संघ पोखराका पूर्व अध्यक्ष विकल तुलाचनले आर.के.हस्पिटालिटीले बजारको माग अनुसारको सिकाई गरिरहेको बताउँदै विद्यार्थीहरूले आफ्नो सिकाईलाई लगाबका साथ अघि बढाउनुपर्नेमा जोड दिनुभयो । आर.के.हस्टिालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.का सञ्चालक तथा प्रशिक्षक आर.के.लामाले देश तथा विदेशका सामान्य होटल लगायत पाँच तारे होटेलहरूमा रोजगारका लागि योग्य बनाउने तथा शतःप्रतिशत रोजगारीको सुनिश्चितता गर्दै आएको संस्थाले देशैभरका विद्यार्थी तथा अभिभावकको मन जित्न सफल बनेको बताउनुभयो ।       विगत २४ वर्षदेखि होटल र हस्पिटालिटीका क्षेत्रमा काम गरेको आफ्नो अनुुभव सुनाउँदै उहाँले साढे २० वर्ष त होटेल क्षेत्रमा नै काम गरी यस क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोचका साथ चार वर्ष यता आर.के. हस्पिटालिटी ह्युमन रिसोर्स म्यानेजमेन्ट प्रा.लि.सञ्चालनमा ल्याएको बताउनुभयो ।      यस संस्थाबाट हालसम्म करिब १५ हजार जनशक्ति उत्पादन भैसकेको उल्लेख गर्दै उहाँले उत्पादित जनशक्ति कोही पनि बेरोजगार नरहेको बताउनुभयो ।      सिटिइभिटिबाट मान्यताप्राप्त संस्थाले तीन महिनादेखि १० महिना समयावधिका विभिन्न किसिमका तालिम सञ्चालन गर्दै आएको बताउँदै उहाँले, “हामीले विश्व बजारमा फस्टाउँदै गएको होटेल तथा रेष्टुरेन्टलाई दृष्टिगत गरी विद्यार्थीहरूलाई कन्टिनेन्टल, इटालियन, चाइनिज, फ्रेन्च, इन्डियन बेकरी तथा पेष्ट्री खानाका परिकारहरूलाई समावेश गरी अलराउन्डर कुकिङमा विद्यार्थीहरूलाई दक्ष बनाउँदै आएका छौं”, भन्नुभयो ।  “कुकिङ एउटा साधारण सिप मात्र होइन, यो एउटा मूल्यवान कला पनि हो”, उहाँले भन्नुभयो, “राम्रो कुक र सेफ बन्नका लागि समय, धैर्यता, लगनशीलता, मेहेनतका साथै कुशल प्रशिक्षकको आवश्यकता पर्दछ ।” कार्यक्रममा सिनियर सेफ उमेश भुवाइँ लगायतले बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।        

स्याङ्जा:   अविरल वर्षाका कारण  घरमाथिबाट आएको पहिरोमा परेर स्याङ्जामा एक वृद्धाको मृत्यु भएको छ ।    मृत्यु हुनेमा भिरकोट नगरपालिका ५ ज्यामिरेका ७३ वर्षीय खेमकुमारी मल्ल रेहकी छिन् ।    गत २२ गते ढुङ्गा, माटो र जस्ताले बनेको दुइतले कच्ची घर माथिबाट पहिरो आएर घर पुरेको थियो ।   त्यसपछि उद्धारमा खटिएको टोलीले २३ गते आइतबार मात्रै पहिरोमा पुरिएको अवस्थामा शव फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।   

दाङ:      दाङमा बाघको आक्रमणबाट तीन जना महिला घाइते भएका छन् ।  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बाघको आक्रमणबाट तुलसीपुर–९ वेलुवाका ४५ वर्षीया कमला केसी, ५३ वर्षीया सीताकुमारी भण्डारी र १८ वर्षीया सरिता भण्डारी घाइते भएका जानकारी दिए ।  आज विहान तुलसीपुर उपमहानगरपालिका–९ स्थित नवदुर्गा सामुदायिक वनमा च्याउ टिप्न जाँदा उनीहरुलाई बाघले आक्रमण गरेको थियो ।  केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरिताको दायाँ हातमा सामान्य चोट लागेको छ । घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ । 

नवलपुर:    निरन्तर परेको वर्षाको कारण नारायणगढ बुटवल सडक खण्ड विस्तारको काम ठप्प भएको छ । नारायणगढ बुटवल सडक विस्तार योजना पूर्वी खण्डका योजना प्रमुख आशिष थापा मगरकाअनुसार अहिले सडक विस्तारको काम भन्दा पनि यातायात सहज रुपमा सञ्चालन गराउनका लागि पहल भइरहेको बताए ।  ‘पानीमा सडक विस्तारको काम गर्न सकिने अवस्था नभएपछि अहिले यातायात सहज बनाउनेतर्फ हामीले ध्यान दिएका छौँ,’ उनले भने, ‘निर्माण कम्पनीले आफ्नो जनशक्ति र उपकरण सडक अवरुद्ध भएको ठाउँमा यातायात सहज बनाउन लगाएको छ ।’ सडकमा भएका खाल्डाखुल्डी पुर्ने, पानीले बाटो चिप्लो भएको ठाउँमा गिटी राख्ने, पहिरो हटाउनेलगायतको काममा निर्माण व्यवसायीलाई खटाइएको उनले बताए ।  ‘यसवर्षको मनसुन सुरु भएपछि एक हप्ता अगाडिदेखि नै निर्माण कम्पनीले आफ्नो स्रोतहरु घटाउँदै लगेको थियो,’ उनले भने, ‘पानी परेपछि सडक विस्तारको काम गर्न नमिल्ने भएकाले काम बन्द गरिएको हो ।’ साढे तीन वर्षमा निर्माण सम्पन्न गर्नेगरी विसं २०७५ माघमा सडक बिस्तारको लागि सम्झौता भएर काम सुरु गरिएको सडकको भौतिक प्रगति हालसम्म ५२ प्रतिशतमात्रै देखिएको योजना प्रमुख मगरले बताए । नारायणगढ बुटवल सडकको ११४ किलोमिटरमध्ये पूर्वी खण्डमा ६५ किलोमिटर सडक पर्दछ ।  समयमै सडक विस्तारको काम नसकेको निर्माण कम्पनी चाइना स्टेट इन्जिनीयरिङ कर्पोरेसन लिमिटेडले दोस्रो पटक पाएको म्याद थपको अवधि यही साउन ८ गते सकिँदैछ । म्याद सकिन लागेपछि निर्माण कम्पनीले अझ एक वर्ष म्याद थपका लागि निवेदन दिएको मगरले बताए। ‘निर्माण कम्पनीले विभिन्न कारणहरु देखाउँदै म्याद थपका लागि निवेदन दिएको छ,’ उनले भने, ‘काम सुरु गर्ने बेलामा फैलिएको कोभिड प्रकोप, ढिला गरि दिइएको रुख काट्ने स्वीकृति, बिजुलीको पोल सार्न भएको ढिलाइसहित पुरानै कारण देखाएर म्याद थपका लागि निवेदन दिएको छ ।’ निर्माण कम्पनीले दिएको निवेदनको आधारमा कति दिन म्याद थप गर्दा उचित हुन्छ भन्ने विषयमा आफूहरु छलफलमा नै रहेको मगरले बताए । ‘कति दिन म्याद थप गर्ने भन्ने विषयमा कन्सल्टेन्ट र हामी मिलेर छलफल गरिरहेका छौँ,’ उनले भने, ‘हामीले यहाँबाट सिफारिस गरेपछि म्याद थपका लागि मन्त्रालयमा फाइल पठाउँछौँ ।’ म्याद थपको स्वीकृति साउन ८ भन्दा अगाडि नै आउने भए पनि कति दिन थप हुन्छ भनेर भन्न सक्ने अवस्था नभएको थापाले बताए ।

काठमाडौं:     खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ ।  चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिनुभयो । सोही समयमा आठवटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताउनुभयो ।    यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म नौ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ । विभागले चालू आवमा देशका विभिन्न भूभागमा चार रेक्टर स्केलभन्दा माथिका ५७ भूकम्प मापन भएको समेत जनाएको छ । विभागले यस अवधिमा गोरखाको बारपाकमा भूकम्प तथा पहिरोसम्बन्धी अभिमुखीकरण, मधेस प्रदेशअन्तर्गत जीतपुर सिमरा र आसपासका क्षेत्रको भूइन्जिनियरिङ तथा भूवातावरणीय अध्ययन गरिएको पनि बाँस्कोटाले जानकारी दिनुभयो ।   विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुङ्गा खानीको प्रवद्र्धन सम्पन्न गरेको र उक्त समयमा रु ५८ करोड ७४ लाख राजस्व सङ्कलन गरेको छ । 

काठमाडौं:     आज असार २४ गते मध्यरातदेखि सबै सरकारी खाता एक हप्ताका लागि बन्द हुने भएको छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सञ्चालन गर्ने खाता बन्द गरिने मलेनिकाका प्रवक्ता ओमप्रसाद रिजालले जानकारी दिए।  ‘सोमबार रातिदेखि स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सूत्र), एकल खाता कोष प्रणाली (टीएसए) र कम्प्युटरकृत सरकारी लेखा प्रणाली (सिगास) एक हप्ताका लागि बन्द हुनेछन्’, रिजालले भने, ‘कानुनमै उल्लेख भएको विषय भएकाले मलेनिकाले यस वर्ष प्रलेनिका र कोलेनिकालाई खाता बन्द गर्न परिपत्र गरेको छैन। तर रातिदेखि बजेट भुक्तानी हुँदैन।’   सङ्घ, प्रदेश तथा स्थानीय तहको बजेट भुक्तानी निकासाका लागि प्रयोग हुँदै आएका सबै खाता एक हप्ताका लागि बन्द भएकाले आजसम्ममा चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट भुक्तानी दायित्व फरफारक गरिसक्नुपर्ने पनि उनले बताए। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावलीको नियम ३० मा आर्थिक वर्ष समाप्त हुन एक साताअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था छ। विनियोजन ऐनले ‘फ्रिज’ नहुने भनी तोकेको शीर्षकबाहेक अन्य रकम भुक्तानी गर्न पाइँदैन। यद्यपि, अत्यावश्यक प्रयोजनमा भएको खर्चका लागि भने मलेनिकाको सहमतिमा भुक्तानी गर्न सकिने व्यवस्था नियमावलीमा छ।

पोखरा:   पोखराको जिरोकिलोमिटरमा शंकास्पद अवस्थामा हिडिरहेका तेन्जिङ गुरुङ र सुशान्त परियारलाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।  उनीहरुलाई लागूऔषध नियन्त्रण ब्यूरो पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले शुक्रबार पक्राउ गरेको हो ।  पोखरा–५ जिरोकिलोमिटरमा शंकास्पद अवस्थामा हिडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्ने क्रममा पोखरा–१७ छोरेपाटन बस्ने २८ वर्षीय तेन्जिङ गुरुङ र पोखरा–१ सिम्पानी बस्ने २६वर्षीय सुशान्त परियारलाई  लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले तेन्जिङको साथबाट नाइट्रोभ्याट १० लेखेको १ सय ४० चक्की र सुशान्तको साथबाट नाइट्रोभ्याट १० नै लेखेको ३० चक्की लागूऔषध फेला परेको हो ।   पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

पोखरा:   मध्यपहाडी लोकमार्ग अन्तर्गत कास्कीको मादी गाउँपालिका ४ तारकाङबेशी–भगवती सडकखण्डको काँडेखोलामा एउटा स्कुटर फेला परेको छ ।   काँडेखोलाको पुलमुनि बेवारिसे अवस्थामा ग १०प ९१९३ नम्बरको डियो (निलो रंग) स्कुटर फेला परेको हो  ।    सोही स्थानमा स्कुटरको चाँबी र चप्पलसमेत फेला परेको बताइएको छ ।