आदिकवि भानुभक्तको दुई सय ११औँ जन्मजयन्ती मनाइँदै
काठमाडाैं | असार २९, २०८१
काठमाडौं: नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रम गरी मनाइँदैछ ।
संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भानुभक्तले भावानुवादसहित ‘रामायण’मा प्रस्तुत गर्नुभएको थियो । उहाँले लेख्नुभएको रामायण अहिले पनि नेपालीहरूको घर–घरमा सस्वर लय हालेर पाठ गरिन्छ ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गर्नुभएको हो ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिनुभएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ति उपदेश दिनुभएकाले उहाँ रामायणलाई नेपालीमा रचना गर्न प्रेरित हुनुभएको थियो ।
‘वधुशिक्षा’ उहाँको अर्को प्रसिद्ध कृति हो । यसैगरी, उहाँका ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृति छन् । कुमारी चोकको हिसाब मिलाउन नसकेर झ्यालखानामा पर्नुभएका आदिकवि आचार्यले सरकारी कार्यलयमा हुने ढिलासुस्ती र ‘भोलिवाद’ का कट्टर विरोधी भएर कवितामा भोलिको विरोध गर्दै लेख्नुभएको थियो, ‘भोलिभोलि भन्दैमा सब घर बितिगो बक्सियोस् आज झोली ।’
नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान छ । भानुभक्त ऐतिहासिक व्यक्ति भएकाले सम्पूर्ण नेपालीले उहाँको सम्मान गर्नुपर्ने र उहाँको विचारका बारेमा उठेका विवादमाथि छलफल एवं समीक्षात्मक कार्यक्रम गर्नु आजको प्रमुख आवश्यकता भएको समालोचकहरूको धारणा छ ।
त्रिभुवन विश्वविद्यालयबाट भानुभक्तबारे स्नात्तकोत्तरमा थुप्रै शोधग्रन्थ लेखिएका छन् । यस उपलक्ष्यमा आजबिहान काठमाडौँको रानीपोखरीअगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण र नगरप्रभातफेरी गर्ने कार्यक्रम रहेको छ ।
घरघरमा उहाँले नेपाली भाषामा भावानुवाद गर्नुभएको रामायण पाठ गरी भानुजयन्ती मनाउँछन् । यस अवसरमा भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा काम गर्ने संस्थाले आज विभिन्न कार्यक्रम गरी भानुजयन्ती मनाउँदै छन् ।
भानुभक्तभन्दा अघि नै नेपालीभाषामा कविता लेख्ने कवि भएकाले उहाँलाई आदिकवि भन्न नमिल्ने तर्क पनि उठ्ने गरेका छन् । भानुभक्तका विषयमा अध्ययन अनुसन्धान गरिरहनुभएका त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली रामायणजस्तो ग्रन्थलाई नेपाली लोकलयमा भावानुवाद गरी भाषिक एकताको महत्वपूर्ण योगदान गर्नुभएकाले भानुभक्तलाई आदिकवि भनिनु न्यायोचित रहेको बताउनुहुन्छ । रामायण ग्रन्थले भाषिक क्षेत्रमा नयाँ युगनिर्माण गरेको मानिन्छ ।
उहाँको निधन विसं १९२५ असोजमा भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किम, भूटान, बर्मालगायत नेपाली भाषी धेरै रहेका देश एवं स्थानमा पनि मनाइन्छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

