भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपतिको आह्वान
काठमाडाैं | असार २९, २०८१
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त आचार्यको जन्मस्थल तनहुँको चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र राष्ट्रिय एकताको भावनात्मक केन्द्रका रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ ।
भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै विश्वभरका सम्पूर्ण नेपाली भाषीहरूबीच भाषिक एकता कायम हुन सकेको तथ्यलाई मनन् गर्नुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।
आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा राष्ट्रपति पौडेलले आज शुभकामना सन्देश जारी गर्नुहुँदै आदिकवि भानुभक्तले अत्यन्त सरल, शिष्ट र रोचक ढङ्गले नेपाली भाषामा अनुवाद गरेको वाल्मीकि रामायण सबै नेपालीको जनजिब्रोमा बसेको हुँदा हिमाल, पहाड र तराईका सबै नेपालीबीच भावनात्मक एकता अभिवृद्धि गर्न यसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । भानुभक्तीय रामायण नेपालका विभिन्न जातजातिलाई एकताको सूत्रमा बाँध्ने महत्त्वपूर्ण रचना रहेको उहाँको भनाइ छ ।
नेपाली भाषाको समुन्नयनबाट अन्य मातृभाषाको संवर्द्धनमा टेवा पुग्ने हुँदा सबै भाषाभाषी समुदायबीच सिर्जनाको महत्व बुझेर आ(आफ्नो भाषाको संरक्षण र संवर्द्धनका निम्ति समर्पित हुन राष्ट्रपति पौडेलले शुभकामनामार्फत आह्वान गर्नुभएको छ ।
भानुभक्तले नेपाली भाषालाई काव्य भाषाका रूपमा समुन्नत तुल्याउन र नेपाली भाषा, साहित्य एवं संस्कृतिको संवर्द्धनमा अतुलनीय योगदान पुर्याएको उहाँले उल्लेख गर्नुभयो ।
सबै नेपालीबीच आपसी विश्वास, प्रेम र एकताको भावनालाई प्रगाढ होस् भन्ने राष्ट्रपति पौडेलले शुभकामना व्यक्त गर्नुभएको छ । भानुभक्तको जन्मजयन्तीका अवसरमा नेपालभित्रका सबै जातजाति, भाषाभाषी, साहित्य र संस्कृतिप्रतिको प्रेम, सम्मान एवं संरक्षण गर्न प्रेरणा मिलोस् भन्ने उहाँले कामना गर्नुभएको छ ।
पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा तनहुँ जिल्लाको चुँदी रम्घामा १८७१ असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो ।
सोही दिनको सम्झनामा हरेक वर्ष असार २९ गतेका दिन स्वदेश तथा विदेशमा रहनुभएका नेपाली भाषा, साहित्य र संस्कृतिप्रेमीले विविध कार्यक्रम आयोजना गरी भानुजयन्ती मनाउँदै आएका छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

