काठमाडौं: उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुनसक्ने विपद्को जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । गृहमन्त्रालयमा भएको आपत्कालीन बैठकमा उहाँले विपद्का घटनालाई तुरुन्त सम्बोधन गर्न र सतर्कताका राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो । बैठकमा सुरक्षा निकायले हालसम्मको वस्तुस्थितिका बारेमा जानकारी गराएका थिए । उपप्रधानमन्त्री लामिछानेले ‘कमाण्ड पोष्ट’ र सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपद्बाट जनधनको क्षति हुन नदिन र खाद्यान्न, लत्ताकपडालगायत सामग्रीको अभाव हुन नदिन आग्रह गर्नुभयो । “हामीले सिंहदरबारमा बसेर क्षतिको विवरणबारे आमनागरिकलाई सूचना दिएर हाम्रो दायित्व पूरा हुँदैन । क्षति कम गर्न र उद्धारलगायत काममा हामीले कसरी काम गरेका छौँ भन्ने विषय महत्वपूर्ण हुन्छ”, गृहमन्त्री लामिछानेले भन्नुभयो, “हामीले बनाएका विपद् पूर्वतयारी योजना, निर्देशिका र कार्यविधिका कागजलाई व्यवहारमा उतार्ने समय आएको छ । हामीले हरेक व्यक्तिको ज्यान जाँदाको राज्यको एक सदस्य गुमाउनुपरेको अनुभूति लिएर काम गर्नुपर्ने हुन्छ ।” उहाँले पूर्वतयारीको योजनालाई कार्यान्वयनमा सघाउन राजनीतिक दल, सम्बन्धित निकाय र पक्षलाई आग्रह गरिसकेको जानकारी दिनुभयो ।
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत जिल्लाको शुक्लागण्डकी–७ शेराटारमा रहेको अस्थायी कल्भर्ड बाढीले बगाएपछि सवारी आवतजावत पूर्ण रुपमा बन्द भएको छ । शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले कल्भर्ड बगाउँदा राजमार्ग भएर गुड्ने सयौँ सवारीसाधान ठप्प भएका छन् । सूचनाको जानकारी पाएलगत्तै घटनास्थलतर्फ प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताउनुभयो । उहाँले भन्नुभयो, “कल्भर्ड बगाएपछि राजमार्गमा सवारीसाधान सञ्चालन गर्न समय लाग्ने देखिएको छ ।” म्याग्दे गाउँपालिका–६ मौरी ओढारमा आज पहिरो खस्दा सडक अवरुद्ध भएको छ । वर्षासँगै पहिरो खसिरहेकाले पानी नरोकिएसम्म पहिरो पन्छाउन कठिनाइ देखिएको उपरीक्षक रायले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक माथिबाट निरन्तर पहिरो खसिरहेकाले पन्छाउन समस्या भइरहेको छ । पानी पर्न रोकिएपछि पहिरो पन्छाउने छौँ ।” पृथ्वीराजमार्गको अन्य क्षेत्रमा पहिरो खस्दा अवरोध भएका सडक पहिरो पन्छाएर सञ्चालन गरिएको प्रहरीले जनाएको छ । शुक्रबार रातिदेखि अविरल वर्षा भइरहेकाले राजमार्ग हुँदै यात्रा गर्ने सवारीचालक र सर्वसाधारणलाई सतर्कता अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
काठमाडौं: पोर्चुगललाई हराउँदै फ्रान्स युरो कप–२०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति जर्मनीको ह्यामबर्गमा सम्पन्न खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो । जर्मनीको ह्यामबर्गमा भएको क्वाटरफाइनलमा निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेट खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा फ्रान्सले जित निकालेको हो । पोर्चुगललाई ५–३ गोलअन्तरले पराजित गर्दै फ्रान्सले सेमिफाइनल यात्रा तय गरेको हो । यसअघि भएको पहिलो क्वाटरफाइनलमा स्पेनले जर्मनीलाई २(१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ । अब स्पेन र फ्रान्सले सेमिफाइनलमा खेल्नेछन् । शनिबार हुने क्वाटरफाइनलमा इंग्ल्यान्ड र स्विटजरल्यान्ड तथा नेदरल्यान्ड्स र टर्कीले खेल्नेछन् ।
सिन्धुली: लगातारको बर्षाले सिन्धुलीस्थित दुई ठुला राजमार्ग अबरुद्द भएको छ । बिपी राजमार्गको सुनकोसी गाउपालिका–२ कमिरेफाँटमा माथिबाट लेदो झरेर सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार मध्यपहाडी राजमार्गमा पनि पहिरो झरेर अवरुद्द भएको छ । मध्यपहाडी राजमार्गको गोलान्जर गा।पा।६ स्थित अक्करेभिर र फिकल गा।पा।२ स्थित सुनाम वेसिमामा पहिरो गएपछि राजमार्ग अबरुद्ध भएको प्रहरीले जनाएको छ । गएरातीदेखि परेको निरन्तर बर्षाका कारण राजमार्ग अबरुद्ध भएपछि पूर्वी पहाड तथा तराइका विभिन्न जिल्लाबाट काठमाडौं आवातजावत गर्ने सयौं सवारी बाटोमै अलपत्र परेका छन् । राजमार्गमा झरेको पहिरो पन्छाउने काम भैरहेको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
काठमाडौं: आयोजक जर्मनीलाई स्तब्ध बनाउँदै स्पेन युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन अन्तिम चारमा पुगेको हो । निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो । अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो । ११९औं मिनेटमा मिकेल मेरिनोले गोल गर्दा स्पेनलाई अन्तिम चारमा पुर्याएका हुन् । डयानी ओल्मोको क्रसमा हेड प्रहार गर्दै उनले स्पेनलाई जित दिलाएका हुन् ।
पोखरा: गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले प्रदेशका २१ खेलाडीलाई प्रोत्साहन सहित सम्मान गरेको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी भई पदक जितेका खेलाडीलाई शुक्रबार मन्त्रालयमा नै एक कार्यक्रमका बीच सम्मान गरिएको हो । नगद, माला र सम्मान पत्र सहित सम्मान गर्दै सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकारले खेलाडीलाई उत्साह थप्ने काम गरेको उल्लेख गर्नुभयो । खेलबाट भविष्य बनाउने बाटो खुुलेको र प्रदेश सरकारले पनि खेलकुदमा थुुप्रै लगानी गरेको भनाई उहाँको छ । मन्त्रालयका सचिव प्रकाश पौडेलले प्रोत्साहन तथा सम्मानका लागि सबै सेक्टरका खेलाडीहरुलाई समेट्ने प्रयास गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा मन्त्रालयले मोडालिटी परिवर्तन गरेर अगाडि बढ्ने उल्लेख गर्नुभयो । खेलकुद प्रतियोगितालाई व्यवस्थित बनाउन प्रदेश सरकार लागि परेको भनाई उहाँको छ । प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माले पिडा बोकेर खेलाडीले जिविकोपार्जन गर्ने अवस्थाको सिर्जना नहुने गरी नै काम भइरहेको बताउनुभयो । आकस्मिक बिमाको सुरुवात गर्दै खेलाडीलाई प्रोत्साहन थप्ने काम भएको भनाई उहाँको छ । मन्त्रालयले सम्मान गरेका खेलाडी बिनिता सार्की–मोर्डन पेन्टाथलन विशाल बस्नेत–ह्याण्डबल राजेश बास्कोटा–जिम्न्याष्टिक पवित्रा गुरुङ–हक्की योगेन्द्र थापा–उशु रेखमायाँ गुरुङ– तेक्वान्दो संदिप बराल–फेन्सिङ प्रियाङ्का बर्मा–बक्सिङ विवेक हमाल–बडीविल्डङ्ग प्रदिप रेग्मी– मेन्स स्पोर्टस फिजिक मोनिका राना मगर–आर्चरी रिता श्रेष्ठ थापा–प्याराग्लाइडिङ विजय महतो–सेपाक ताक्रो मनोज श्रेष्ठ–कराते सुरज सुनार–आइटिएफ तेक्वान्दो ऋषीसरा थापा– एथलेटिक्स चित्र बहादुर थापा–खोखो पुनम गुरुङ–व्याडमिन्टन रुपक नेपाली–फुल कन्ट्याक्ट कराते मुना थापा–टेबुल टेनिस
पोखरा: पोखरा महानगरपालिका–१४ का स्थानीयहरुले मणिपाल शिक्षण अस्पतालमा स्वास्थ्य उपचार गर्दा छुट पाउने भएका छन् । मणिपाल शिक्षण अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडूविल र पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीयले अस्पतालमा छुट पाउने सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । पोखरा–१४ का वडाध्यक्ष कार्कीले वडा बासीका नागरिकको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्धेश्यले अस्पतालसँग ५ शिर्षकमा सम्झौता गरेको बताए । ‘ वडाबासीको स्वास्थ्य उपचारमा सहज र कम खर्चिलो होस भन्ने उद्धेश्यले आज एक कार्यक्रमका बीच मणिपाल अस्पतालसँगै विभिन्न शिर्षकमा सम्झौता गरेका छौं’, वडाध्यक्ष कार्कील भने । पोखरा–१४ का स्थानीयले मणिपाल अस्पतालमा उपचार गर्दा ओपिडी दर्तामा १०० प्रतिशत, बेड शुल्कमा २५ प्रतिशत, नियमित जाँचका ल्याब टेस्टमा १५ प्रतिशत, न्यूरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सकमा १० प्रतिशत, विशेष अनुसन्धानमा १० प्रतिशत छुट दिने सम्झौता भएको वडाध्यक्ष कार्कीले बताए । उनले पोखरा–१४ का स्थानीयहरुले मणिपाल अस्पतालमा उपचार गर्न जाँदा पोखरा–१४ उल्लेख भएको नागरिकताको प्रतिलिपि, बसाईसराई गरी बसोबास गर्ने वडावासीको हकमा बसाईसराईको कागजको प्रतिलिपि र नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने उल्लेख गरे ।
काठमाडौं: नेकपा एकीकृत समाजवादीको दशौं महाधिवेशनमा ९३ जना केन्द्रीय कमिटी घोषणा गरिएको छ । हालसम्म सम्मानित नेता झलनाथ खनाल, अध्यक्ष माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भइसकेका छन् । यस्तोमा केही पदाधिकारीसहित ९३ जना केन्द्रीय कमिटी सदस्य घोषणा गरिएको हो। प्रदेशगत रूपमा अन्य केन्द्रीय सदस्यहरू पनि घोषणा गर्दै जाने योजना समाजवादीको छ । पदाधिकारी पनि घोषणा गरिने एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल बताउँछन् । उनका अनुसार सबै कमिटी घोषणा हुन शुक्रबार बेलुकासम्म लाग्न सक्नेछ । (सूचीसहित)
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते विश्वासको मत लिने भएका छन् । त्यसका लागि शुक्रबार संसद सचिवालयलाई पत्र पठाइएको छ। प्रचण्डले सङ्घीय संसदका महासचिवलाई सम्बोधन गरेर पठाएको पत्रमा सरकारमा सहभागी दलहरूमध्ये एक दल (एमाले)ले आफ्नो समर्थन फिर्ता लिएकाले विश्वासको मत लिनका लागि असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्था मिलाइदिन अनुरोध गरेका छन् । ‘मेरो नेतृत्वमा संवत् २०७९ साल पुस ११ गते गठित सरकारमा सहभागी दलहरूमध्ये एक दलले आफ्नो समर्थन फिर्ता लिएको हुँदा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभासमक्ष प्रस्ताव राखु पर्ने प्रावधान भएअनुरूप उक्त विषय संवत् २०८१ साल असार २८ गतेको प्रतिनिधि सभा बैठकको कार्यसूचीमा समावेश गर्ने व्यवस्थाका लागि अनुरोध छ’, प्रधानमन्त्रीको पत्रमा भनिएको छ । असार १७ गते राति एमाले र कांग्रेसबीच नयाँ समीकरण बनाउने सहमति भएको थियो । लगत्तै एमालेले आफ्नो मन्त्री फिर्ता बोलाउँदै सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । कांग्रेस र एमालेले नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरिदिन प्रधानमन्त्रीलाई आग्रह गरेपनि उनले संसदमार्फत विश्वासको मत लिने बताउँदै सोहीअनुसार पत्राचार गरेका हुन् ।

