काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच सोमबार बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा दुई नेताबिच भेट भएको हो । सत्तारुढ दलका दुई शीर्ष नेताबिच लगातार दोस्रो दिन भेटवार्ता भएको छ । यसअघि आइतबार पनि दुई नेतासहित उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच सिंहदरबारमा छलफल भएको थियो । शनिबार अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच ३ घण्टा लामो छलफल भएपछि सत्ता समीकरणबारे विभिन्न अड्कलबाजीहरू भइरहेका छन् । यही आशङ्काबिच दुई नेताको भेटघाट बाक्लिएको हो ।
सुर्खेत: भेरी नगरपालिका-४ इवरमा पहिरोले पुरिंदा पाँच वर्षीय प्रिन्स विकको मृत्यु भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर विष्टका अनुसार विकका बाबुछोरा पहिरोले घरमै च्यापिएका थिए । प्रिन्सको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक विष्टले बताए । घाइते रमेशको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
पोखरा: गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको छ । प्रदेश सभा बैठकमा बोल्दै नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता समेत रहनुभएका अधिकारीले संसदमा सांसदहरुले उठाएका महत्वपूर्ण विषयलाई सरकारले वास्ता नगरेको गुनासो गर्नुभयो । संसदमा उठेका कुरालाई सम्बोधन नगर्ने खालको निष्प्राण सरकार संसदले परिकल्पना नगरेको उहाँको प्रष्टोक्ति थियो । हालै अविरल वर्षाको कारण आएको बाढी, पहिरो तथा डुबानको कारण गण्डकी प्रदेशका कास्की, पर्वत, लमजुङ, स्याङ्जा, बागलुङ लगायतका जिल्लाका विभिन्न ठाउँमा ठुलो जनधनको क्षति भएको भएपनि त्यसलाई सम्बोधन गर्न प्रदेश सरकारले जिम्मेवारीपूर्वक काम गर्न नसकेको उहाँको दावी थियो । उहाँले तत्काल उद्धार तथा राहतका कार्यक्रम मार्फत पीडितको पीडामा मलम लगाउन आग्रह गर्नुभयो । ‘सरकारको तर्फबाट राहत उद्धारका कामहरु धिमा गतिमा भइरहेका छन् । त्यतिमात्र होइन पुनःस्थापनाको समय भइसक्यो, सरकारको उपस्थिति देखिदैन’ उहाँले भन्नुभयो । पूर्व मुख्यमन्त्री अधिकारीले लमजुङको क्व्होलासोथार लगायतका ठाउँमा तुरुन्त पुगेर सरकारको उपस्थिति देखाउन अनुरोध गर्नुभयो । सांसदले सदनमा आवाज उठाउदा समेत सरकार जवाफविहीन भएर बस्ने गरेको उहाँको भनाई छ । ‘सरकारले आफ्नो दायित्व पुरा नगरीकन दिन काट्ने काम नगरोस्, प्रदेश सभाको सक्रियता तथा गतिशिलतालाई निस्तेज नपारोस्’ अधिकारीले भन्नुभयो । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा समेत थुप्रै कमजोरी देखिएको उहाँले सुनाउनुभयो । बजेट निर्माणमा सांसदको भूमिकालाई प्राथमिकता नदिएको उहाँको गुनासो थियो । जसका कारण २३ वटा कार्यक्रम डुप्लिकेशन हुन पुगेको खुलाउनुभयो । ‘प्रदेशको बजेट निर्माणमा प्रदेश सासंदको भूमिका नभएर कोही अमुकको हुन्छ भने त्यो कुरा संसोधन हुनैपर्छ, कुनै पनि हालतमा त्यो कुरा दोहोरीन दिनु हुदैन’ उहाँको जोड थियो । संविधानले व्यवस्था गरेको संसद भएको र संसदले सांसदलाई दिएको अधिकार कमजोर बनाउने काम सरकारबाट किमार्थ हुन नहुने उहाँले उल्लेख गर्नुभयो । ‘सासंदका योजना माग्ने तर त्यो अनुसार नहुने काम भइरहेको छ यस्ले न संसद बलियो हुन्छ न सांसद बलिया हुन्छन् । न सरकार सरकार जस्तो हुन्छ । हामी संसदलाई बलियो बनाउ । सांसदहरु बलियो बनाउ’ उहाँको आग्रह थियो । बजेट बनाउँदा को–को हाबी भए त्यसको खोजी गर्नुपर्ने उहाँले बताउनुभयो । आइतबार परेको संसद दिवसको अवसरमा समेत विभिन्न प्रसंगमा बोल्दै उहाँले यसको महत्वको बारेमा भनाई राख्नुभयो ।
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि अर्थात पुरक परीक्षा साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ । आज राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) र शिक्षा मन्त्रालयको संयुक्त बैठकले साउन २३ गतेबाट ग्रेड वृद्धि अर्थात पुरक परीक्षा सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । यसअघि परीक्षाफल सार्वजनिक गरेको दिनमा बोर्डका अध्यक्ष प्रा डा महाश्रम शर्माले दुई विषयमा ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण विद्यार्थीका लागि बोर्डले साउन १८ र १९ गते परीक्षा गर्ने बताउनुभएको थियो । यद्यपि शिक्षा मन्त्रालयले शुक्रबार नै दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई परीक्षामा सहभागी गराउने निर्णय गर्दै बोर्डलाई निर्देशन दिएपछि आइतबार बसेको बोर्ड बैठकले परीक्षा मिति सारेर सबै विषयको परीक्षा दिने निर्णय गरेको उहाँले जानकारी दिनुभयो । साउन २३ गतेबाट सुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा भने असोजको पहिलो साताभित्र सार्वजनिक गर्ने जनाइएको छ । पुरक परीक्षामा उत्तीर्ण विद्यार्थीलाई यसै वर्ष कक्षा ११ को अध्ययन गर्ने अवसर प्रदान गरिने भएको छ । गत बिहीबार प्रकाशित एसइईको नतिजाअनुसार ‘नन ग्रेडेड’ अर्थात अनुत्तीर्ण दुई लाख ४२ हजार तीन सय १३ विद्यार्थी पुनःपरीक्षामा सहभागी हुन पाउने भएका छन् । बोर्डले परीक्षा तालिका नै परिवर्तन गरेर साउन २३ गतेबाट सञ्चालन गर्ने जनाएको हो ।
काठमाडौं: नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलमा मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार प्रति लिटर पेट्रोलमा रु दुई र डिजेलमा रु पाँचले वृद्धि गरिएको आयल निगमले जनाएको छ । निगमको सूचना अनुसार आज बिहानदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६४ दशमलव ५० कायम गरिएको छ । त्यसैगरी डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५४ दशमलव ५० कायम गरिएको छ । दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६६ कायम भएको छ । डिजेल र मट्टिटेलको मूल्य रु एक सय ५६ कायम भएको छ । तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ६७ कायम भएको छ । डिजेल र मट्टितेलको मूल्य एक सय ५७ रुपैयाँ कायम भएको छ ।
काठमाडौं: उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनता र नेतृत्वको प्राथमिकता फरक हुँदा मुलुक अप्ठ्यारोमा परेको बताउनुभएको छ। आइतबार काठमाडौँमा नेकपा (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले मुलुक अप्ठ्यारोमा छ भन्नेकुरा २००७ सादेखि भन्दै आएको भन्दै मुलुक कहिल्यै पनि अनुकूलतामा नहुने कुरा स्पष्ट भएको बताउनुभयो। उहाँले मुलुक अप्ठ्यारो जनता, किसानले नभई नेतृत्वले नै पारेको जिकिर गर्नुभयो। उहाँले नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै हुन नसकेको बताउनुभयो। उहाँले लोकतन्त्र खतरामा भए नेताहरूले चिन्ता गर्नेकुरा नरहेको र जनताले लोकतन्त्र बचाइदिने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘मुलुक त सधैँ खतरामा हुने रहेछ। परिस्थिति त कहिल्यै अनुकूल हुने रहेनछ। सधैँ अप्ठ्यारो पर्ने रहेछ। त्यो अप्ठ्यारो के नेपाली जनताले पारेका हुन्। किसान, मजदुरले, काम गरेर खाने मान्छेले कसले अप्ठ्यारोमा पार्यो ? म यहाँहरूलाई विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। जब आम जनता र नेतृत्वको प्राथमिकतामा फरक आउँछ। त्यतिबेला मुलुक जहिले पनि अप्ठ्यारोमा पर्छ। नेपालमा आम जनताको प्राथमिकता र नेतृत्वको प्राथमिकता एउटै भएन। अलग अलग भयो। लोकतन्त्र हामीले चिन्ता गर्ने विषय भयो। चिन्ता गर्नुपर्दैन। लोकतन्त्र खतरामा भए जोगाइदिने कार्यकर्ता छन्, जनता छन्। नेताहरूले चिन्ता गर्नुपर्दैन। नेताहरूले साँच्चिकै चिन्ता गर्ने हो भने नेतृत्व वर्गले विभिन्न सम्झौतामा हस्ताक्षर गरेको सुनेका छौँ। के आजसम्म नेतृत्वले ठुला विश्वविद्यालय बनेनन् कसरी बनेनन् आउनुस् यसमा छलफल गरौँ भनेर सर्वदलीय बैठक बोलाएको सुनाएका छौँ।’ उहाँले नेताले देश बनाउने कुरामा चिन्ता गर्नु आवश्यक रहेको बताउनुभयो।
काठमाडौं: प्रतिनिधिसभाले राष्ट्र ऋण उठाउने विधेयक, २०८१ पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नुभएको ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको हो । उक्त विधेयकमाथि सांसद प्रेम सुवालले संशोधन प्रस्ताव राख्नुभएको थियो । उहाँले राख्नुभएको संशोधन प्रस्तावलाई प्रतिनिधिसभाका बहुमत सदस्यहरुले अस्वीकृत गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्र र जनताको समृद्धिका लागि सबै वामपन्थी र लोकतान्त्रिक शक्ति एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दसौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले समाजवादी क्रान्तिको विश्लेषण गर्दै शक्ति तथा सङ्गठन विस्तारका लागि कार्यदिशा निर्माण गर्न शुभकामना दिनुभयो । भ्रष्टाचार न्यूनीकरण गर्न विभिन्न भ्रष्टाचारका फाइल अगाडि बढाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, “केही भएको छैन भन्ने निराशावादी भाष्य गलत छ, भविष्यमुखी, राष्ट्रको समुन्नतिका लागि प्रतिबद्ध छु ।” प्रधानमन्त्री दाहालले विगतमा एउटै मोर्चामा रहँदा एकीकृत समाजवादी पार्टी र माओवादीबीच एकताबद्धको प्रयास भएको तथा नयाँ र परिमार्जित विचार महाधिवेशनले पारित गर्ने विश्वास व्यक्त गर्नुभयो । मुलुकको आवश्यकताअनुसार मार्क्सवादलाई परिमार्जन गर्नुपर्ने उहाँको भनाइ थियो ।
काठमाडौं: नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण गर्नु आवश्यक रहेको बताउनुभएको छ। आइतबार नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।उहाँले नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो। उहाँले नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेण्डा रहेको बताउनुभयो।उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ नेकपा (एकीकृत समाजवादी) ले कार्य गरिरहेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ।नेपालको संविधानको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेण्डा हुन्। सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ नेकपा (एकीकृत समाजवादी) ले कार्य गरिरहेको छ।भविष्यमा पनि यसको निरन्तरता हुनेछ भन्ने विश्वास लिएको छु ।” सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनुभयो।

