पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धीहरू संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताउनुभएको छ । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री प्रचण्डले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताउनुभयो । “हजारौँ महान् शहिदहरू, हजारौँ बेपत्ता योद्धाहरू र लाखौँ क्रान्तिकारी योद्धाहरूले त्याग, तपस्या र बलिदानको जगमा आज हामी समाजवादउन्मुख सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुगेका छौँ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “यी उपलब्धीहरूलाई संस्थागत गर्दै समाजवादको यात्रा तय गर्नुपर्छ ।” जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि क।बोहराले देश र जनताको मुक्ति र परिवर्तनलाई नै केन्द्रमा राखेर काम गर्नुभएको स्मरण गर्दै प्रधानमन्त्रीले नेपाली समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा भएको महान् जनयुद्धको दौरानमा समेत उहाँको महत्त्वपूर्ण योगदान गर्नुभएको उल्लेख गर्नुभयो । एकदलीय निरङ्कुश पञ्चायती व्यवस्थाका विरूद्ध जनताले गरिरहेको वीरतापूर्ण प्रतिशोधमाथि दमनस्वरूप २०४० सालको माघे सङ्क्रान्तिका दिन सिन्धुपाल्चोक जिल्लाको पिस्करमा सर्वसाधारण जनतामाथि निर्मम दमन र हत्या भएको थियो । स्थानीय समुदायले माघीको अवसरमा शान्तिपूर्ण सांस्कृतिक कार्यक्रम भइरहँदा पञ्चायती शासकहरूले गरेको आक्रमणमा परी पिस्करमा इले थामी र वीरबहादुर थामी लगायतका योद्धाहरूले उच्च बलिदान गर्नुभएको थियो । उक्त घटनामा छत्रबहादुर बोहरा, मानबहादुर थामी, मेघनाथ पौडेल, अरूण नेपाल, सरेश नेपाल, गोपाल थपलिया लगायतका दर्जनौँ योद्धाले जेलनेल र यातनाको सामना गर्नुपरेको थियो । जगतबहादुर बोहरा उक्त घटनामा सख्त घाइते हुनुभएको थियो ।

काठमाडौं:     प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताउनुभएको छ । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर अर्को ठाउँमा बस्ने र नेपालमा मतदाता भएर विदेशमा बस्नेलाई मतदानको अधिकारबाट वञ्चित नगराउने मुद्दा विश्वव्यापी सरोकारको विषय भएको बताउनुभयो । उहाँले विद्यमान संवैधानिक व्यवस्था, अन्तर्राष्ट्रिय तथा कानुनी अभ्याससमेतका आधारमा कानुनी र व्यवस्थापकीय प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो । आयोगका सचिव रविलाल पन्थले बसाइँसराइ नागरिकको अधिकार र आवश्यकताको विषय हुने भएकाले विदेशमा रहेका मतदातालाई मताधिकारबाट वञ्चित नगर्ने सवालमा आयोग गम्भीर रहेको बताउनुभयो ।  उहाँले गत निर्वाचनमा कतिपय जिल्ला र क्षेत्रमा ५० प्रतिशतभन्दा कम मत खसेको पाइएकाले आप्रवासनको समस्याका कारण त्यसो भएको हुनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा यससम्बन्धी विज्ञ, विभिन्न राजनीतिक दलका प्रतिनिधि र सरोकार भएकाहरुबीच छलफलपछि रायसुझाव तयार गर्ने कार्यसूची छ । सर्वोच्च अदालतले २०७४ चैत १७ गते विदेशमा बस्ने नेपालीलाई निर्वाचनमा मतदान दिने कानुनी प्रबन्ध गर्न आदेश दिएपछि आयोग र नेपाल सरकारले कार्यान्वयनका लागि पहल गर्दै आएका छन् ।

पोखरा:    देवीस्थान सेवा समाज हेमजाको आयोजनामा यस वर्ष हुने चौथौ हिले महोत्सवको तयारी पुरा भएको छ । महोत्सव अन्तर्गत हिले फुटबल, हिले दौड, रस्साकस्सी, घैटो फुटाउने, कृषि झाँकी प्रदर्शन, विद्यालय स्तरीय धान रोपाई प्रतियोगिता, उत्कृष्ट किसान सम्मान, हलगोरु तथा जोडी दौड, आमा समूह बीच असारे भाका, म्युजिकल बेलुन, हिलोमा भाले तथा माछा समाउने लगायतका प्रतियोगिता हुँदैछन् ।   महोत्सवको तयारी स्वरुप महोत्सव स्थल वरपर सरसफाई गरिसकिएको छ भने खेत हिल्याउने कार्य समेत सुरु भएको छ । हेमजालाई कृषि पर्यटनसँग जोड्न साथै किसान हुनुमा गर्व गराउँदै कृषिमा आकर्षण बढाउने उद्देश्य साथ महोत्सव आयोजना गरिएको हो । महोत्सवले समग्र पोखरा साथै विष्णुपादुका माई मन्दिरमा पर्यटक आवागमन बढाउने तथा कृषि क्षेत्रका लागि महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको महोत्सव मूल आयोजक समितिका संयोजक हरीशरण पौडेलले बताए । ‘कृषिमा कृषकलाई प्रोत्साहन: विष्णुपादुका मन्दिर हेमजाको सान’ नाराका साथ स्थानीय देवीस्थान टोलमा महोत्सव हुँदैछ ।जसमा विभिन्न कलाकारले प्रस्तुति समेत राख्नेछन् । प्रतियोगितामा प्रथम तथा द्वितीय हुने व्यक्ति वा समूहलाई नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिने छ। महोत्सव सञ्चालनका लागि करिव रु।७ लाख ३५ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।   

काठमाडौं:      स्थानीय सीतापाइलास्थित सिभिल होमनजिक छमछमे खोलाको कल्भर्टमा कार खस्दा चालकको मृत्यु भएको छ ।  काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो । दर्नाल आफैँले चलाएको बाप्र ०२७ च ०४९१ नम्बरको कार कल्भर्टबाट खसेर उक्त दुर्घटना भएको थियो । राती खसेका उनको आज बिहान उद्धार गरिएको हो । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

काठमाडौं:     नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न शीर्ष नेताहरूबीच छलफल प्रारम्भ भएको छ । नेतृत्वपङ्क्ति सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने प्रयासमा छ ।  राजनीतिक प्रतिवेदन, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक प्रतिवेदनलाई एउटै साझा दस्तावेज बनाएर महाधिवेशनमा लैजाने समझदारी भएपछि पार्टी केन्द्रीय नेतृत्वमा पनि निर्विरोध उम्मेदवारको खोजी गरिएको हो । पार्टीको आन्तरिक एकता बलियो बनाउन, वैचारिक तथा सैद्धान्तिक कार्यदिशाका हिसाबले पार्टीको नेतृत्व साथै देश र जनताको हितमा काम गर्न सक्ने स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजानुपर्ने पार्टीका सातै प्रदेशका अध्यक्षले सुझाव दिनुभएको छ ।  सम्मानित नेता झलनाथ खनालले सबै प्रदेश अध्यक्षसँग गर्नुभएको छलफलमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग विभाजित हुनुको औचित्य पुष्टि गर्नसक्नुपर्ने सुझाउनुभएको छ । कोशीबाट बलदेव चौधरी, गण्डकीका श्रीनाथ बराल, बागमतीका सावित्रा भुसाल, मधेस प्रदेशका रामचन्द्र यादव, लुम्बिनीका सोमप्रसाद पाण्डे, कर्णालीका अम्बर थापा र सुदूरपश्चिमका हर्कबहादुर सिंह छलफलमा सहभागी हुनुहुन्थ्यो । पार्टीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबीच समझदारीका साथ सर्वसम्मत नेतृत्व चयनका लागि पुस्तान्तरणका विषयमा पनि छलफल गरिएको स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो । यही असार १६ देखि २० गतेसम्म पार्टीको महाधिवेशन हुँदैछ ।

काठमाडौं:     इङ्ल्यान्ड माथि फराकिलो जित दर्ता गर्दै भारत आइसिसी टी– २० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ । गयानामा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डलाई ६८ रनले पराजित गर्दै भारत तेस्रो पटक टी– २० विश्वकपको फाइनलमा प्रवेश गरेको हो । भारतले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको इङ्ल्यान्ड खराब ब्याटिङ प्रदर्शन गर्दै १६.४ ओभरमा १ सय ३ रनमा समेटियो । इङ्ल्यान्डका ओपनर जस बटलरले १५ बलमा ४ चौका सहित २३ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । तर चौथो ओभरको पहिलो बलमा उनलाई अक्षर पटेलले आउट गरे । पाँचौं ओभरमा फिल साल्ट ५ रन बनाउँदा जसप्रित बुम्राहद्वारा बोल्ड आउट भए । जोन्नी बेयरस्टो र मोइन अलीलाई पनि अक्षरले सस्तैमा पेभेलियनको बाटो देखाए । स्याम करन कुलदीप यादवको बलमा २ रन बनाएर आउट भए । त्यसपछि केही आशालाग्दो सुरुवात गरेका ह्यारी ब्रुक पनि १९ बलमा २५ रन बनाएर कुलदीपकै शिकार बने । क्रिस जोर्डन १, लियम लिभिङस्टोन ११ र आदील रशिद २ रन बनाएर पेभेलियन फर्किए । जोफ्रा आर्चरले अन्तिम तिर केही विष्फोटक ब्याटिङ गर्ने प्रयत्न गरेपनि बुम्राहको बलमा आउट भए। उनले १४ बलमा २१ रन बनाएका थिए ।   भारतका लागि अक्षर पटेल र कुलदीप यादवले समान ३ विकेट लिए । जसप्रित बुम्राहले २ विकेट लिए ।    त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १ सय ७१ रनको योगफल खडा गरेको थियो । भारतका ओपनर तथा कप्तान रोहित शर्माले ३९ बलमा ५७ रन प्रहार गर्दै राम्रो सुरुवात दिलाएका थिए । उनले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै सूर्यकुमार यादवले ३६ बलमा ४ चौका र २ छक्का सहित ४७ रन जोडे । हार्दिक पन्ड्याले १३ बलमा २७ रन बनाए भए रविन्द्र जडेजा ९ बलमा १७ रनमा नटआउट रहे । अक्षर पटेल १० रनमा अविजित रहे । इङ्ल्यान्डका लागि क्रिस जोर्डनले ३ विकेट लिएका थिए । रिस टोप्ली, जोफ्रा आर्चर, स्याम करन र आदिल रशिदले समान १ विकेट लिएका थिए । भारतले फाइनलमा दक्षिण अफ्रिकासँग आइतबार प्रतिस्पर्धा गर्नेछ । दक्षिण अफ्रिकाले अफगानिस्तानलाई ९ विकेटले हराउदै फाइनलको यात्रा तय गरेको हो । दक्षिण अफ्रिकाको यो कुनै पनि क्रिकेट विश्वकपमा पहिलो फाइनल हो । सन् २००७ को पहिलो संस्करण जितेको भारतले तेस्रो पटक फाइनल खेल्नेछ ।

पोखरा:     दोहोरी साँझको क्षेत्रमा छुट्टै छवि जमाएको निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिले विशेष सांगीतिक कार्यक्रमको आयोजना गरी २० औं वार्षिकोत्सव मनाउने भएको  छ । पोखराको चिप्लेढुंगामा सञ्चालनमा रहेको दोहोरी साँझले यही १५ गतेदेखि २० गतेसम्म विविध सांगीतिक कार्यक्रम गरी वार्षिकोत्सव मनाउने निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेण्ट प्रालिका सञ्चालक सुरेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार ६ दिनसम्म सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय ख्याती प्राप्त कलाकार एवं नियमित कलाकारहरुको विशेष प्रस्तुती रहनेछ ।   वार्षिकोत्सवको अवधिभर बेलुकी साढे ७ बजेदेखि २ बजेसम्म दोहोरी साँझले सेवा दिनेछ ।  सञ्चालक गुरुङले ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकार कुमार पुन, शंकर विरही गुरुङ, श्याम रानामगर, चिज गुरुङ, निर्जला गुरुङ, चिजा तामाङ, निशा गुरुङले सांगीतिक प्रस्तुती दिनेछिन्  भने मोडेल तथा डान्सर अशु गुरुङको प्रस्तुती दिनेछिन् ।  यस्तै दोहोरी साँझका नियमित कलाकारहरु टेक क्षेत्री, गुुप्त गुरुङ, विनोद गुरुङ, किसान नेपाली, टसबहादुर गुरुङ, सञ्जय गायक, प्रशान्त तामाङ, पाण्डव गुरुङ, याम बहादुर नेपाली, मनोज नेपाली, इन्द्रा गुरुङ, कल्पना आले, बत्तिकुमारी थापा, चिना थापा, सरिता राई, ललिता पुन, पुजा तामाङ, सुनिमा गुरुङ, निरुता थापा मगर र निशा गुरुङको प्रस्तुती रहने छ । सोही कार्यक्रमको अवसरमा पछिल्लो समय लोकप्रिय बनेको (गोर्खे खुकुरी, सोल्टी बजारमा) गीतका सर्जक तथा गायक निश्चल दवाडीलाई सम्मान गरिने दोहोरी साँझले जनाएको छ ।

पोखरा:   पोखराको रामबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी एसईई परीक्षामा ४ जिपिए प्राप्त गरेका छन् ।   राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीवार बिहान प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको विद्यालयका प्रधानाध्यापक चूडामणि सुवेदीले जानकारी दिए । एसइईमा अक्षराङ्कन पद्धति अवलम्बन गरिएपछि एसओएस गण्डकीबाट ४ जिपिएसहित सचेतले नयाँ अभिलेख कायम गरेको प्रधानाध्यापक सुवेदीले बताए । परीक्षाको तयारीमा आफ्नो निरन्तरको साधना तथा शिक्षकहरूको रचनात्मक पृष्ठपोषण र हौसलबाट आफूले यो सफलता हासिल गरेको छात्र सचेत सुवेदीले बताए । ‘सबै विषयलाई समान महत्त्व प्रदान गरी तयारी गर्दा मैले आज यो सफलता प्राप्त गर्दा खुसी लागेको छ ।’ उत्कृष्टता हासिल गर्ने छात्र सचेतले भने, ‘यस सफलताका पछाडि मेरा अभिभावकहरूको पनि सदैव उत्प्रेरणादायी भूमिका रह्यो ।’   विद्यालयका तर्फबाट यस वर्षको एसइईमा सहभागी ८८ जना विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेको विद्यालयका सहप्रधानाध्यापक वीरसिंह बुढाले बताए ।  त्यस्तै ५१ जना विद्यार्थीले ३.६ भन्दा माथि, १५ जना विद्यार्थीले ३.२ भन्दा माथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रधानाध्यापक बूढाले जानकारी दिए । सार्वजनिक शैक्षिक गुठीअन्तर्गत सञ्चालित एसओएस गण्डकी अनाथ, असहाय र परित्यक्त बालबालिकाका अतिरिक्त समुदायका अन्य बालबालिकाहरूलाई समेत शैक्षिक सेवा प्रदान गर्दै आइरहेको उत्कृष्ट शैक्षिक संस्था हो ।  

पोखरा:   स्वदेशी उत्पादनलाई बढावा दिन नेपाल सरकारले कस्तो नीति तथा कार्यक्रम ल्याउला ? धेरै कृषकको मनमा उब्जेको प्रश्न थियो ।   आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि केन्द्र सरकारले कृषिलाई पनि प्राथमकितामा राखेर बजेट नै ल्यायो ।     अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले गत जेठ १ गते अल्लोको झोलामा बजेट ल्याए । विदेशबाट भित्राइएको ‘ब्रिफकेस’ छाडेर अर्थमन्त्री पुनले स्थानीय स्तरमै पाइने अल्लो र ढाकाको झोलामा बजेट बोकेर संसद भवनमा झुल्किए ।    त्यसपछि कृषकका प्रश्नको केही जवाफ त्यही भाग्यमानी अल्लोको झोलाले दियो, जसले सिंगो देशको बजेट बोकेको थियो ।    तिनै अर्थमन्त्री पुनले गरेको कामको सिको गर्दै कोशी प्रदेश मात्रै अल्लोको झोलामा गत १ गते बजेट ल्यायो । तर अन्य ६ वटा प्रदेशले भने उही पुरानै ढर्राबाट ‘ब्रिफकेस’मा बजेट ल्याएर सार्वजनिक गरे ।   स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ को व्यवस्थाअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको ( राजस्व र व्यय बजेट) अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगरसभामा पेस गर्नुपर्छ ।    असार १० गते नीति तथा कार्यक्रमसँगै बजेट ल्याउने समयमा गण्डकी प्रदेशका ११ जिल्लाका ५८ गाउँपालिकाकामध्ये बागलुङ, म्याग्दी र कास्कीका केही गाउँपालिकाले स्थानीय स्रोतबाट नै उत्पादन भएको अल्लो र ढाकाको झोलाबाट नै बजेट ल्याए । यद्यपी अधिकांश पालिकाले उही पुरानै ‘ब्रिफकेस’मा बजेट ल्याए ।    स्थानीय उत्पादनको प्रवर्द्धन् गर्न अल्लोको झोलामा बजेट: उपाध्यक्ष रोका    बागलुङको ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले स्थानीय उत्पादनको प्रचारसँगै प्रवर्द्धन् गर्न अल्लो र ढाकाको झोलामा बजेट ल्याएको बताए ।    ‘हामीले अल्लोको झोलामा बजेट ल्याउँदै केन्द्र सरकारकोे सिको गरेजस्तो देखिएको होला, उपाध्यक्ष रोकाले भने, ‘स्थानीय तहले गाउँपालिका भित्र उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रचार–प्रसारसँगै बजारीकरणमा प्रवर्द्धन् गर्न अल्लोको झोलामा बजेट ल्याएको हो ।’   गाउँपालिकाले बजेट ल्याउने बेलामा अल्लाको झोला देखाउन मात्र नभएर यसको प्रचार र बजारीकरणको लागि अवसर पनि हो भन्ने उद्धेश्य लिएको उपाध्यक्ष रोकाले बताए ।    उनले गाउँपालिका भित्र रहेका अल्लोको सदुपयोग गर्दै झोला मात्र नभएर अब अल्लोबाट बन्ने सामग्रीको तालिम गाउँपालिकाले सञ्चालन गर्ने लक्ष्य रहेको सुनाए ।    ‘स्थानीय स्रोत र साधनको सदुयोग गर्दै स्थानीयहरुलाई लघुउद्यमसँग जोडेर आय आर्जनमा जोड्ने प्रयास हो, उनले भने, ‘गाउँपालिका भित्र रहेका अल्लोको प्रशोधन गरेर उद्यमीसँग जोड्न गाउँपालिकाले आवश्यक बजेट विनियोजन गर्छ ।’   तालिमपछि जन्मियो उद्यमी समूह   प्रदेश र स्थानीय तहको सहयोगमा हस्तकलासम्बन्धि तालिम लिएका बागलुङको ताराखोला गाउँपालिकाका ९ जना महिला अहिले घरेलु उद्यमसँग जोडिएका छन् ।   दुइवर्ष अगाडि ताराखोला गाउँपालिका र गण्डकी प्रदेशसँग विभिन्न हाते झोलासँगै स्कुल झोला बनाउने तालिम लिएकी ताराखोलाकी उद्यमी एवम् ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूहका अध्यक्ष गौमती घर्तीमगरले बताइन् ।    ‘दुइवर्षअगाडि हामीलाई ताराखोला गाउँपालिकाले हस्तकलासम्बन्धि विभिन्न किसिमका झोला बनाउने १५ दिनको तालिमको दिएको थियो, मगरले भनिन्, ‘गाउँपालिकाको तालिमपछि हाम्रो ९ जनाको समूह पुन: १५ दिनको तालिमका लागि पोखरा गएर अझ सिकेको सीपलाई थप निखार्ने अवसर पायौं अहिले आफ्नै गाउँतिर उद्यमसँग जोडिन पाउँदा खुशी छौं ।’   उनले कुहिएर जाने स्थानीय वस्तुहरु प्रयोग गरेर घरेलु उद्यमसँग जोडिन पाउँदा खुशी लागेको उद्यमी घर्तीमगरले सुनगाभा न्यूजसँग बताइन् ।    ‘अल्लो हाम्रो गाउँमा प्रशस्त पाइन्छ । बाउ बाजेले धागो बनाएको देखेको थिए । पहिले पनि गाउँमा केही उद्यमीले धागो बनाउने गर्थे, उनले भनिन्, ‘पालिका र प्रदेश सरकारले महिलाहरुलाई उद्यमी बनाउन तालिम दिएको थियो । तालिमपछि उद्यमीमा जोडिन पाउँदा हामी खुशी छौं ।’   तालिमपछि उनीहरुले ताराखोला गाउँपालिका–५ मा ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूह गठन गरेका हुन् । समूहकी उनै गौमती अध्यक्ष छिन् । तालिम दिएपछि जनप्रतिनिधि तथा कर्मचारीले समय समयमा तालिमको सही सदुपयोग भएको छ छैन भन्ने अनुगमन गर्न आवश्यक रहेको उनले बताइन् ।   ‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न सरकारले दिएको तालिमको समय–समयमा अनुगमन हुन आवश्यक छ, उनी भन्छिन्, ‘उद्यमको तालिम लिएपछि तालिमको सदुपयोग भएको छ । छैन भनेर अनुगमन गर्दा मात्र तालिमले सार्थकता पाउँछ ।’   घरको काम सकेर मात्र उद्यमका लागि समय मिलाउने पर्ने बाध्यताका कारण उद्यमीमा केही असर परेको उनले सुनाइन् ।    ‘घरायसी काम गरेर सिध्याएर मात्र उद्यममा जोडिन पाउछौं । धेरै नै अर्डर आए त घरको काम नै छोडेर झोला तयार गर्न लाग्छौं नत्र घरधन्दा सकेर मात्र झोला बनाउन जान्छौं । दिनमा एकजनाले बिहानदेखि नै काम गरे २ वटासम्म झोला बनाउन सकिन्छ,’ उनले भनिन् ।    ताराखोला ब्याग डिजाइन सिलाई लघु उद्यमी समूहले तयार गरेको उद्यमीको सामग्री प्रवद्र्धन गर्न गाउँपालिकाले सहयोग गर्दै आएको छ । पालिकाले हस्तकलाका सामग्री मात्र नभएर गाउँका स्थानीय उत्पादनको संरक्षण र प्रवर्द्धन्गर्न व्यवसायिक रुपमा गाउँपालिकाले विभिन्न मेला महोत्सवमा सामग्रीको प्रवर्द्धन् गर्न सहयोग गरेको छ ।    गाउँपालिकाले आर्थिक वर्ष २०८१÷०८२ को बजेट ल्याउन अल्लो र ढाकाको झोलाको अर्डर गरेपछि यही समूहले झोला तयार गरेर गाउँपालिकालाई विक्री गरेको हो । अल्लोको झोलाको माग भने पर्याप्त नभएको उनले बताइन् ।   अल्लोको प्रशोधन कसरी गरिन्छ ?    अल्लोलाई स्थानीय भाषामा ‘चाल्ने सिस्नो’ भनेर चिनिन्छ । नेपालको पहाडी भू–भागका जङ्गलहरुका खुल्ला स्थान, खोला तथा बाटोको छेउछाउका ओसिलो स्थानमा पाइने एक वनस्पती हो ।   समुद्री सतहदेखि करिब १ हजार २ सय मिटरभन्दा माथि मात्रै अल्लो पाइन्छ । यसको काण्डको बोक्राबाट प्राप्त हुने रेसाबाट नै धागो निकाल्ने गरिन्छ ।    अल्लो प्रशोधन साधारणतया कात्तिकदेखि पुस महिलासम्म अल्लोको बोक्रा संकलन गरेर स्थानीय विभिन्न प्रविधिको प्रयोग गरेर यसको बोक्राबाट रेसा उत्पादन गरेर धागो बनाउने गरिन्छ ।   रेसा उत्पादनका लागि अल्लोको बोक्रालाई पानी डुबाएर केही दिन डुबाएर राख्नुपर्छ । त्यसपछि खरानी हालेर उमालेपछि पानीले सफा गर्ने क्रममा रेसाहरु छुट्टिने गर्छ ।    रेसाहरु छुट्याउन बिस्तारै काठको मुङ्गोले ठोक्दै पखाल्ने गरिन्छ  । यसरी निस्केको रेसालाई मकैको पिठो तथा कमेरोसँग मिसाएर घाममा सुकाएर उत्पादन गरिएको रेसा नै धागो हो ।    अल्लोको धागोबाट झोला, रुमाल, खास्टो, गलैँचा, कुसन लगायतका सामग्रीहरु बनाउन सकिने उद्यमीहरु बताउँछन् ।