पोखरा: राष्ट्रिय हेमजा आलु महोत्सव भोलिदेखि सुरु हुँदै छ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ । यही वैशाख ५ गतेसम्म सञ्चालन हुने १४ औं संस्करणको महोत्सवको पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले उद्घाटन गर्ने...

काठमाडौं:     प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल विजेता करण परियारलाई आज बिहान प्रधानमन्त्रीनिवास बालुवाटार बोलाएर बधाई दिनुभएको छ । उक्त अवसरमा उहाँले विजेता परियारलाई गितार उपहार दिनुभएको थियो । प्रधानमन्त्री दाहालले विजेता परियारलाई बधाई दिनुहुँदै सङ्गीतका खासखास कार्यक्रम आफूले हेर्ने गरेको उल्लेख गर्दै युवापुस्ताका हरेक सुखदुःखमा आफू साथमै रहेको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री दाहालले साङ्गीतिक क्षेत्रमा राम्रो सम्भावना र भविष्य भएकाले परियारले निरन्तर साधनामार्फत देशकै प्रतिष्ठा बढाउन मेहनत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पोखरा:      गएराति देखि परेको अविरल वर्षाका कारण गएको पहिरोमा पुरिएर कास्कीमा २ जनाको मृत्यु भएको छ । कास्कीको मादी गाउँपालिका र पोखरा महानगरपालिकाको आरुपाटामा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको हो ।  पोखरा महानगरपालिका–२७ आरुपाटास्थित हरी सुनारको घरमा बुधबार बिहान घर माथिबाट आएको पहिरोले घर भत्किदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी बसन्तकुमार शर्माले जानकारी दिए ।  उनका अनुसार पहिरोमा पुरिएर ३ वर्षीय अनमोल सुनारको मृत्यु भएको छ । पहिरोले पुरिएर घाइते भएका २७ वर्षीय रितु सुनारलाई उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा ल्याइएको छ । पहिरोले सुनारको घरमा पूर्ण रुपमा क्षति पु¥याएको छ ।  यस्तै बुधबार बिहान नै कास्कीको मादी गाउँपालिका–५ चितेपानीमा पहिरोमा पुरिएर १३ वर्षीय आयुस्मा रानाभाटको मृत्यु भएको छ ।  चितेपानीस्थित प्रकाश रानाभाटको घर पछाडिबाट आएको पहिरोले घरको पछाडि भाग भत्किदा कोठामा सुतिरहेकी आयुस्माको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घरका अन्य सदस्य सकुशल रहेको प्रहरीले जनाएको छ ।   

पोखरा:     पोखरामा साना तथा मझौला व्यवसायी महासंघ नेपालले एसएमइ एक्सपो गर्ने भएको छ ।  असार १३ देखि १७ गतेसम्म साना तथा मझौला व्यवसायी संघ कास्कीसँगको सहकार्यमा एक्सपो आयोजना गरिएको हो । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने एक्सपोको तयारी अन्तिम चरणमा पुगेको छ । मेलामा नेपालमा उत्पादित सामग्रीहरुको स्टल रहने महासंघका अध्यक्ष हरि पराजुलीले जानकारी दिए । अल्लोबाट उत्पादित सामाग्रीदेखि नेपालका मौलिकता झल्काउने सामाग्रीहरु आकर्षणका रुपमा रहने उनको भनाइ छ ।  ५० बढी स्टल रहने पराजुलीले जानकारी दिए । निशुल्क स्टल राख्ने व्यवस्था महासंघले मिलाएको हो । पराजुलीका अनुसार लत्ताकपडा, दैनिक उपभोग्य घरायसी सामाग्री, खाद्यन्न, डेरी, वनमा आधारित फाइबर बेसका उत्पादन, काष्ठ तथा धातुजन्य, हस्तकलाका सामाग्री, पशुपंक्षी, फ्लोरिकल्चर लगायतका सेवा र बस्तु स्टलमा हुनेछन् । पोखराको पर्यटन प्रबद्र्धनसँगै सरकार र साना तथा मझौला व्यवसायीबीच विश्वास र समन्वयको अभिवृद्धि गर्न एक्सपो आयोजना गरेको अध्यक्ष पराजुली बताउँछन् ।  देश विदेशबाट साँस्कृतिक नृत्यु, लोकदोहोरी गीत प्रतियोगितासँगै चर्चित लोकदोहोरी कलाकारले प्रस्तुती राखिनेछ ।   तीन दर्जन भन्दा बढी भारतका विभिन्न चार प्रान्तका कलाकारले पनि साँस्कृतिक प्रस्तुती राख्ने जनाइएको छ ।  एक्सपोको गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दुकुमार थापाले उद्घाटन गर्ने तय भएको छ । एक्सपो सम्पन्न गर्न झन्डै ७० लाख रुपैयाँ खर्च लाग्ने अनुमान छ ।

काठमाडौं:    सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा हिक्मत कार्कीको वैधानिकताको विषयलाई लिएर परेको रिट खारेज गरिदिएको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई पदमुक्त गरी हिक्मत कार्कीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया अघि बढाउने प्रदेश प्रमुख परशुराम खापुङको निर्णय असंवैधानिक रहेको भन्दै सर्वोच्चमा रिट दर्ता गराउनु भएको थियो । न्यायाधीशहरू कुमार रेग्मी, अब्दुल अजिज मुसलमान र नहकुल सुवेदीको पूर्ण इजलासले उक्त  रिटमाथि सुनुवाई गर्दै रिट खारेजको फैसला गरेको हो ।

काठमाडौं:    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश बलियो भएमात्र सबै जातजाति र भाषाभाषीको अधिकार संरक्षण हुने भएकाले सबैको एकतामा जोड दिनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्नुहुँदै उहाँले सबै समुदाय एक भए मात्रै मुलुकका लागि योगदान गर्न सकिने धारणा व्यक्त गर्नुभयो । आदिवासी जनजातिका अधिकार संरक्षणका लागि आफू विगतदेखि नै लागिपरेको उल्लेख गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानलगायत संरचना आफू प्रधानमन्त्री भएकै बेला स्थापना भएको स्मरण गर्नुभयो । आदिवासी जनजातिको हक, अधिकारसँगै भाषा, संस्कृति संरक्षणमा पनि सबैको सहयोग रहनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । जनजातिका माग पूरा गर्न पार्टीका तर्फबाट पहल गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । कांग्रेसको गत महासमिति बैठकले यही असार १५ गतेसम्म सबै भ्रातृ संस्थाको महाधिवेशन गरिसक्ने समय निर्धारण गरेको थियो । महासमिति बैठकले तोकेको अवधिमा महाधिवेशन सम्पन्न गर्ने महासङ्घ पहिलो भ्रातृ संस्था बनेको छ । महासमिति बैठकले तोकेको असार १५ गतेसम्म अरु कुनै पनि भ्रातृ संस्थाले महाधिवेशन गर्ने तयारी गरेका छैनन् । आदिवासी जनजाति सङ्घ महासङ्घका रुपमा रुपान्तरण भएपछिको यो पहिलो महाधिवेशन हो । महासङ्घमा ५९ वटै जनजातिका सङ्घ संस्थाको प्रतिनिधित्व रहेको महासचिव जगत बरामले जानकारी दिनुभयो ।

काठमाडौं:   प्रतिनिधि सभाबाट विनियोजन विधेयक २०८१ पारित भएको छ । सभाको आजको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ‘विनियोजन विधेयक’ २०८१ लाई पारित गरियोस्’ भनी राख्नुभएको प्रस्ताव बहुमतले पारित गरेको हो । सरकारले गत जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बराबरको बजेट प्रस्तुत गरेको थियो ।  प्रतिनिधि सभामा गत जेठ २९ गतेदेखि विनियोजन विधेयकअन्तर्गत विभिन्न मन्त्रालय, कार्यालय तथा निकायमाथिको छलफल सुरु भएको थियो । विनियोजन विधेयकमाथि विभिन्न मन्त्रालयका विनियोजित शीर्षकमाथि सांसदले उठाउनुभएका जिज्ञासाको प्रधानमन्त्री तथा सम्बन्धित मन्त्रालयका मन्त्रीले जवाफ दिनुभएको थियो ।

काठमाडौं:    भक्तपुरको दधिकोटमा २ करोड रुपैयाँ लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुजन रसाइली, भीम तामाङ, मुनाराज राई, कृष्णबहादुर बोहरा रहेका छन् ।  उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । यही असार ४ गते सुर्य विनायक नगरपालिकाको धिकोटस्थित डिल्ली राउतको घरमा लुटपाट भएको थियो । घटनाको मुख्य योजनाकार भनिएका कुलबहादुर खत्री अझै फरार रहेको प्रहरीले बताएको छ । उनी डिल्ली राउतका मामा नाता पर्ने बुझिएको छ । पक्राउ पर्ने प्रहरी हवल्दार कृष्ण बहादुर बोहरा नेपाल प्रहरीको ‘सशस्त्र प्रहरी दुई नम्बर गण महाराजगन्ज’मा कार्यरत रहेको खुलेको छ । लुटपाटमा संलग्न एक जना फरार छन् । लुटपाट पछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अभियुक्तहरुले आफूहरु सीआईबी भएको भन्दै राउतको घरभित्र प्रवेश गरेर लुटपाट गरेका थिए । घरका सदस्यहरुलाई डरत्रास देखाउँदै दराजमा रहेको २ करोड रुपैयाँ लुटेर भागेका थिए । आज प्रहरीले उनीहरुलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरूको उद्धार एवम् आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवम् मातहतका निकायहरूका लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाउनु भएको प्रश्नहरूको जवाफ दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई अभिमुखीकरण गरिएको बताउनुभयो । उहाँले विदेशमा हुने मृत्यु तथा कानुनी सजायका सम्बन्धमा उक्त मुलुकको कानुन बमोजिम प्रहरी अनुसन्धान तथा न्यायिक निरूपणमा केही समय लाग्ने भएकाले नेपाली नियोगले शव पठाउने तथा क्षतिपूर्तिको रकम दिलाउन कतिपय अवस्थामा केही समय लाग्ने भए पनि नियोगहरूबाट यस प्रकारका सेवा २४ सै घण्टा प्राप्त हुन सक्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभयो । “केही नियोगहरूमा टेलिफोन सेवाका अतिरिक्त हट लाइन सेवाका साथै वेभसाइट र सामाजिक सञ्जाललगायतका माध्यमबाट सहज सम्पर्कको व्यवस्था मिलाइएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “साउदी अरबलगायतका केही नियोगमा सेल्टर होमको व्यवस्था गरिएको छ । नियोगहरूले प्रत्यक्ष तथा अनलाइन माध्यमबाट नेपाली कामदार लक्षित मनोपरामर्श सम्बन्धी कार्यक्रम समेत सञ्चालन गर्दै आएका छन् ।” राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याइरहेको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहने स्पष्ट पार्नुभयो । उहाँले विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई  प्रविधिमा आधारित बनाइएको जानकारी दिनुभयो । “राजदूतावास नभएका मुलुकहरूमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाईएको छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

काठमाडौं:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपाल भन्नेमा सरकार दृढ रहेको स्पष्ट पार्नुभएको छ ।  विनियोजन विधेयक, २०८१ अन्तर्गत परराष्ट्र मन्त्रालय शीर्षकमाथिको छलफलका क्रममा उठेका जिज्ञासाको जवाफ दिँदै उहाँले नेपाल–भारतको सुगौली सन्धि, १८१६ बमोजिम ती भूभाग नेपालको रहेको र संविधान संशोधनमार्फत राजनीतिक नक्सामा समेटिएको तथा नेपालको निशाना छाप अद्यावधिक गरिएको स्मरण गराउनुभयो । प्रधानमन्त्री दाहालले भारत भ्रमणका अवसरमा नेपाल र भारतका प्रधानमन्त्रीबीच भएको भेटवार्तामा १९५० को शान्ति तथा मैत्री सन्धिलगायत विद्यमान द्विपक्षीय सन्धि तथा सम्झौतालाई परिमार्जन र अद्यावधिक गर्न एवं सीमासम्बन्धी विषयलाई स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान गर्ने सहमति भएको बताउनुभयो ।  नेपाल–भारत सीमा कार्य समूहले नेपाल–भारत सिमानामा सीमास्तम्भको निर्माण, पुनःस्थापना तथा मर्मतका साथै दशगजा एवं ‘क्रस होल्डिङ’ को लगत तयार गर्नेजस्ता प्राविधिक कार्य निरन्तर रुपमा गर्दै आएको उहाँको भनाइ छ । प्रधानमन्त्री दाहालले गत पुस १९ मा सम्पन्न नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा दुवै पक्षले सिमानाको विषयमा छलफल गरेका र नेपाल–भारत सीमाको बाँकी खण्डमा काम चाँडो सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त भएअनुरूप परराष्ट्र मन्त्रालयमार्फत नेपाल–भारत सीमासम्बन्धी सीमा कार्य समूहको सातौँ बैठकका निम्ति भारतीय पक्षलाई कूटनीतिक माध्यमबाट पत्राचार गरिएको जानकारी गराउनुभयो । रराष्ट्रमन्त्रीहरूबीच भएको द्विपक्षीय भेटवार्तामा आपसी परामर्शमा नेपाल चीन संयुक्त सीमा निरक्षणसम्बन्धी कार्य अगाडि बढाउने सहमति भएको बताउनुभयो । “नेपाली नागरिक विदेशी सेनामा भर्ती भएका भन्ने सम्बन्धमा उठाउनुभएको प्रश्नबारे सरकार गम्भीर छ, नेपालले केही मित्रराष्ट्रहरूसँग विगतमा गरेका समझदारीअनुरुप परम्परागतरूपमा त्यहाँको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकामा बाहेक विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिनेसम्बन्धी नेपाल सरकारको कुनै नीति नरहेको स्पष्ट पार्न चाहन्छु”, उहाँले भन्नुभयो । गोर्खा भर्ती सन् १९४७ मा सम्पन्न त्रिपक्षीय सम्झौताबमोजिम भएको जानकारी गराउँदै उहाँले यस सम्झौतालाई समयसापेक्ष तुल्याउन राष्ट्रिय सहमतिका आधारमा बेलायत सरकारसँग छलफल गर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री दाहालले रुस–युक्रेन युद्धका कारण मृत्यु भएका र बन्धक बनाइएका नेपाली नागरिकको सम्बन्धमा मस्कोस्थित नेपाली राजदूतावास र रुसी महासङ्घका काठमाडौँस्थित दूतावासमा निरन्तर सम्पर्क र समन्वय भइरहेको स्पष्ट पार्नुभयो । “यस विषयमा रुसी महासङ्घका विदेशमन्त्रीसँग उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीसँग टेलिफोन वार्ता भएको पनि जानकारी गराउँदछु ।  नेपालीहरूको रुसमा हुने आवागमन व्यवस्थित गर्नका लागि सुझाव पेस गर्न कार्यदल गठन गरिएको छ । बन्धक बनाइएका नेपालीका सम्बन्धमा युक्रेन सरकारसँग कूटनीतिक माध्यमबाट कुराकानी भइरहेको छ”, उहाँले भन्नुभयो । अक्टोबर २०२३ मा इजरायलमा भएको हमासको आक्रमणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले इजरायल सरकार, मध्यस्थकर्ता कतार सरकार तथा दुवै पक्षको निकटस्थ छिमेकी राष्ट्र गणतन्त्र इजिप्ट सरकारसँग अनुरोध गर्दै औपचारिक तथा अनौपचारिक बैठकमा पनि पहल गरिएको उहाँले जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले छिमेकी मुलुक, ठूलो सङ्ख्यामा नेपालीको उपस्थिति रहेका मुलुक, द्विपक्षीय व्यापार, लगानी, पर्यटनलगायत आर्थिक सम्बन्धको अवस्था र सम्भाव्यता रहेका मुलुक, विभिन्न महादेशमा राजनीतिक, आर्थिक तथा सामरिकरुपले महत्व राख्ने राष्ट्र तथा भौगोलिक प्रतिनिधित्व आदिका आधारमा नियोग स्थापना भएका बताउनुभयो ।  राहदानी विभागले राहदानी सेवालाई थप छिटोछरितो र सेवाग्राहीमैत्री तुल्याइरहेको जानकारी दिँदै प्रधानमन्त्रीले राहदानी वितरण अझ सहज, सरल र व्यवस्थित बनाउन प्रयत्न जारी रहेको बताउनुभयो । “विदेशमा रहेका नेपालीको हक हितलाई ध्यान दिँदै राहदानी तथा कन्सुलर सेवालाई प्रविधिमा आधारित बनाइएको छ”, उहाँले भन्नुभयो, “राजदूतावास नभएका मुलुकमा विद्युतीय राहदानी आवेदन सङ्कलन र वितरणका लागि घुम्ती सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।” प्रधानमन्त्री दाहालले परराष्ट्र मामिला र कूटनीतिका विविध पक्षमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने तथा कूटनीतिक कर्मचारीका लागि तालिम प्रदान गर्ने संस्थाका रुपमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानलाई सुदृढ तुल्याउने तथा यसलाई साधन स्रोत सम्पन्न गर्दै लैजान मन्त्रालय क्रियाशील रहेको बताउनुभयो ।