झापा: आज विहान चट्याङका कारण दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका–८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए । उनका अनुसार अनुसार विहान घरबाट खेततर्फ जाने क्रममा चट्याङ लागेर घाइते हुनुभएका खड्काको दमकस्थित आम्दा अस्पताल पुर्याइए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । साथै गौरीगञ्ज गाउँपालिका–३ मा सीताराम दाहालको खेतमा काम गर्दै गर्दा विकास गरीलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको प्रवक्ता चन्दको भनाइ छ ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को लागि साढे ६५ करोड बढीको बजेट ल्याएको छ । गाउँपालिकाका उपाध्यक्ष सीता अधिकारीले आगामी आर्थिक वर्षका लागि ६५ करोड ६५ लाख २५ हजार ५ सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाउँपालिकाले भौतिक पूर्वाधारलाई प्राथमिकता दिँदै बजेट विनियोजन गरेको छ । गाउँपालिकाले भौतिक पूर्वाधारतर्फ १४ करोड ७७ लाख ६० हजार रुपैयाँ विनियोेजन गरेको छ । भौतिक पूर्वाधारतर्फ गाउँपालिकाले सडक र भवन निर्माणलाई बढी बजेट विनियोजन गरेको देखिन्छ । स्वास्थ्यतर्फ बाह्रै महिना औषधि खरिद, जेष्ठ नागरिकका लागि निशुल्क औषधी वितरण, विद्यालय नर्स कार्यक्रम, पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण तथा उपचारका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको छ । शिक्षातर्फ गाउँपालिकाले बालविकास शिक्षक तथा विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि, करार शिक्षक छनोट तथा शिक्षकलाई आवश्यक तालिम मातृभाषा शिक्षक अनुदानलाई बजेटमा समेटेको छ । शिक्षा, युवा तथा खेलकुदमा १९ करोड ५४ लाख ७१ हजार, स्वास्थ्यतर्फ ४ करोड ८१ लाख ५८ हजार ५ सय, कृषि तथा पशुपंक्षी विकासतर्फ ३६ लाख २० हजार र प्रधानमन्त्री रोजगार कार्यक्रमतर्फ ५८ लाख ९० हजार रुपैयाँ विनियोजन भएको छ । (पुर्णपाठ)
पोखरा: गरिमा विकास बैंक लिमिटेड र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशबीच सम्झौता भएको छ । नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई बैंकको विभिन्न प्रकारका कर्जाहरूमा सहुलियत सहितको सेवा उपलब्ध गराउन उक्त सम्झौता गरिएको हो । सम्झौता पत्रमा बैंकको तर्फबाट गण्डकी प्रदेश कार्यालय प्रमुख भोलाप्रसाद तिवारी र नाट्टा गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हस्ताक्षर गर्नुुभएको छ । सम्झौता अनुसार नाट्टा गण्डकी प्रदेश अन्तर्गतका व्यवसायीलाई पाँच वर्षसम्म पाँच लाखसम्मको बैंक ग्यारेन्टी १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराइने नाट्टा गण्डकी प्रदेशका महासचिव संगीता पौडेलले जानकारी दिनुुभयो । यस प्रावधान मार्फत व्यवसायीहरूलाई आफ्नो व्यवसाय सञ्चालनमा सहयोग पुुगी त्यसबाट लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुुभयो । उक्त अवसरमा नाट्टा गण्डकी प्रदेशका पदाधिकारी, गरिमा बैंक लेकसाइड शाखाका प्रमुख सहित बैंकका कर्मचारीको उपस्थिति थियो । व्यवसायिक हकहितका साथै पोखरा सहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा नाट्टा गण्डकी प्रदेशले सकृयताका साथ आफ्ना गतिविधि बढाइरहेको छ ।
पोखरा: अनलाइन मगर संसार फोटो फोटो ग्यालरी ग्रुप पेजले आयोजना गरेको प्रथम मगर संसार भलिबल कप २०२४ को उपाधि बागलुङ समाज थेगु शाखा कोरियाले जितेको छ । कोरिया थेगु स्थित खुजी भलिबल खेल मैदानमा २०२४ जून २३ तारिक आइतबारको दिन सम्पन्न भएको फाइनल खेलमा बागलुङ समाज थेगु शाखाले थेसो परिवारलाई पराजित गर्दै उपाधि जितेको हो । यस्तै प्रतियोगितामा विश्वकर्मा समाज तृतीय भएको छ । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय भएकाले टिमले क्रमशः ३० लाख वन, १५ लाख वन र ७ लाख वनसहित मेडल, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको मगर संसार फोटो ग्यालरीका संस्थापक अनिल लामिछाने मगरले जानकारी दिए । संस्थापक मगरका अनुसार प्रतियोगितामा २६ टिमको सहभागिता रहेको थियो । मगर संसार राहतकोश सहयोगार्थ सामाजिक क्षेत्रमा क्रियाशिल मगर संसार फोटो ग्यालरीले कोरियामा रहेका नेपालीहरुलाई एकता र भाइचाराको विकास गर्न पहिलो सर्वाधिक धनराशी भलिबल प्रतियोगिता आयोजना गरिएको अध्यक्ष लामिछाने मगरले बताए । उनले सामाजिक क्षेत्रसँगै रोजगारीका शिलशिलामा कोरियामा रहेका नेपालीहरुमा एकता बद्ध रुपमा अगाडि बढाउन प्रतियोगितालाई निरन्तरता दिँदै जाने बताए ।
पोखरा: पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँको बजेट ल्याएको छ । सोमबारको १५ औं नगरसभामा उपमेयर मञ्जुदेवी गुरुङले आगमी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेकी हुन् । यसपालि चालु आर्थिक वर्षको भन्दा बजेटको आकार ३६ करोड १७ लाख ८३ हजार रुपैयाँले बढेको हो । चालु आर्थिक वर्षका लागि पोखराले ७ अर्ब १५ करोड रुपैयाँको बजेट ल्याएको थियो । आगामी वर्ष बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान ४ अर्ब २० करोड २२ लाख १ हजार रुपैयाँ, प्रदेश सरकारबाट अनुदान ९ करोड ६३ लाख ८१ हजार रुपैयाँ, आन्तरिक आयबाट १ अर्ब ५५ करोड ५१ लाख ४० हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । संघीय राजस्व बाँडफाँटबाट ३८ करोड ३३ लाख ७५ हजार रुपैयाँ, प्रदेश राजस्व बाँडफाँटबाट ९ करोड ७२ लाख २० हजार रुपैयाँ, स्थानीय राजस्व बाँडफाँटबाट १ अर्ब १२ करोड ८६ लाख ६१ हजार रुपैयाँ र रोयल्टी बाँडफाँटबाट ५४ लाख २४ हजार रुपैयाँ व्यहोरिने उपमेयर गुरुङले नगरसभामा जानकारी गराइन । नगर विकास कोषबाट ४ करोड ४८ लाख ८० हजार रुपैयाँ ऋण लिने बजेट वक्तव्यमा उल्लेख छ । पोखराले कृषि क्षेत्रका लागि ४ करोड ५ लाख रुपैयाँ विनियोजन गरेको छ । शिक्षा, खेलकुद तथा यूवा र प्रज्ञा प्रतिष्ठानका कार्यक्रम सञ्चालनमा १ अर्ब ६५ करोड रुपैैयाँ, स्वास्थ्यका कार्यक्रमलाई ३५ करोड रुपैयाँ, सामाजिक विकासमा ६ करोड, पर्यटन तथा सहरी विकास कार्यक्रम सञ्चालनार्थ ५६ करोड रुपैयाँ विनियोजन भएको हो । एसियाली विकास बैंकको सहयोगमा सञ्चालन हुने सहरी उत्थानशिलता तथा जिविकोपार्जन सूधार आयोजनका लागि २६ करोड १६ लाख रुपैयाँ विनियोजन भएको छ । पूर्वाधारतर्फ विश्व बैैंककोे सहयोगमा सञ्चालित तालचोकदेखि बेगानस, शिसुवादेखि शिसाघाट र विरौटा दोबिल्ला हुँदै बागमारा कोत्रे सडकका लागि १ अर्ब ६५ करोड, वीपी मार्ग सडक स्तरोन्नतीमा ८ करोड रुपैयाँ विनियोजन भएको छ । राजस्व सुधारमा स्वयमसेवक परिचालन गर्न पोखरा महानगरपालिकाले २ करोड रुपैयाँको व्यवस्थापन गरेको छ । महानगरपालिकाले बहाल कर असोेज मसान्तसम्म अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छुट दिने भएको छ । चालु वर्षको बजेटको जेठ मसान्तसम्म ४ अर्ब १२ करोेड ९ लाख ४७ हजार रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक स्रोतबाट २ अर्ब २७ करोड ८७ लाख रुपैयाँ आम्दानी हुने पोखरा महानगरको प्रक्षेपणको ३८.३० प्रतिशत हासिल भएको छ । महानगरले आन्तरिक आम्दानी ८७ करोड २७ लाख ४० हजार रुपैयाँ मात्रै गरेको हो । १ अर्ब ४६ करोड ६२ लाख रुपैयाँ राजस्व बाँडफाटबाट प्राप्त हुने अनुमान गरेको पोखराले जेठ मसान्तसम्म ६२ प्रतिशत ९१ करोड ४२ लाख २० हजार रुपैयाँ पाएको छ । २०७९/८० को लेखा परीक्षण प्रतिवेदन अनुसार ७८ करोड समपरीक्षण गर्न पेश भएकोमा ५३ करोड ३० लाख रुपैयाँ बेरुजु समपरीक्षण भएको महानगरपालिकाले जनाएको छ । (पुर्णपाठ)
पोखरा: पोखरामा निजी तथा सार्वजनिक सवारी साधनहरुले दर्ता नगरी अनाधिकृत मोवाईल एप (पठाओ, टुटल र इनड्राईभ)को प्रयोग गरी भाडामा यात्रु ओसार–पोसार गर्ने २६ सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलीले पोखराको विभिन्न क्षेत्रबाट आइतबार २६ सवारीसाधन नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम् डीएसपी बसन्तकुमार शर्माले पठाओ, टुटल र इनड्राइभ एप प्रयोग गरी निजी तथा सार्वजनिक सवारीमा यात्रु ओसार–पोसार गर्ने २२ वटा मोटरसाइकल र स्कुटर र ४ वटा ट्याक्सी नियन्त्रणमा लिएको बताए । ‘निजी तथा सार्वजनिक सवारीले विभिन्न एपको प्रयोग गरी यात्रु ओसारपोसार गरेको गुनासो आएको थियो’, उनले भने, गण्डकी प्रदेश यातायात व्यवस्था कार्यालयमा दर्ता नगरी चलाइएका विभिन्न एपहरु प्रयोग यात्रुहरु ओसारपोसार गर्ने सवारी धनीहरुलाई नियन्त्रणमा लिएर एकपटक सम्झाई बुझाई गरी छोडेका छौं ।’ यातायात व्यवस्था कार्यालय कास्कीले अनधिकृत रुपमा एप मार्फत ‘राइड सेयरिङ’ प्रयोग गरी यात्रु ओसारपोसार गर्ने कार्य तरुन्त बन्द गर्न शुक्रबार सार्वजनिक सूचना जारी गरेको थियो ।
पोखरा: गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ । पोखरा रंगशालाको क्रिकेट मैदानमा आज (सोमबार) भएको फाइनल खेलमा स्याङ्जाले कास्कीलाई ४५ रनले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको स्याङ्जाले १ लाख र उपविजेता कास्कीले ५० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरे । टस जितेर पहिले ब्याटिङ गरेको स्याङ्जाले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५ रन जोड्यो । स्याङ्जाका कुशुम गोदारले ३१ बल ३१ रन, जोत्सीका मरासिनीले १८ बलमा १४ र सिमा केसीले ३६ बलमा २४ रनको योगदान दिए । बलिङतर्फ कास्कीका सुशिला दिमदुङ र पुर्णिमा गुरुङले समान २/२ विकेट र रचना चौधरी,चन्द्रमाया बराल र रिया तामाङले १/१ विकेट लिए । १ सय ६ रनको लक्ष्य पछ्याएको कास्की २० ओभरमा ९ विकेट गुमाउँदै ६० रनमा समेटियो । स्याङ्जाका आकृति तिवारी, सिमाना केसी र रञ्जना साउदले समान ३/३ विकेट लिए । यस्तै जोत्सीका मरासिनीले १ विकेट लिइन् । स्याङ्जा प्रतियोगिताभर अपराजित रह्यो । प्रतियोगितामा सर्वाधिक रन जोडेका स्याङ्जाका कुशुम गोदार सर्वोकृष्ट खेलाडीसँगै उत्कृष्ट ब्याटर घोषित भइन् । उनले प्रतियोगिताभर ९७ रन बनाईन् । प्रतियोगितामा उत्कृष्ट बलर चन्द्रमाया बराल घोषित भईन । उनले प्रतियोगितामा ७ विकेट हात पारिन् । प्रदेश खेलकुद परिषद् गण्डकीको आयोजना तथा प्रादेशिक क्रिकेट संघ गण्डकीमा व्यवस्थापनमा असार ७ देखि १० गतेसम्म गण्डकी प्रदेशस्तरीय महिला टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिएको थियो । राउण्डरोविनको आधारमा सञ्चालन भएको खेलमा स्याङ्जा, कास्की, पर्वत र नवलपुरको सहभागिता रहेको थियो ।
बारा: बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभाको वैठकमा झडप भएको छ । नीति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको वैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले अवरोध गर्न खोजेपछि झडप भएको हो । यसअघि मेयर राजन पौडेलको दल नेकपा माओवादी केन्द्रबाहेक नेपाली कांग्रेस, नेकपा एमाले, लोसपा र एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिधिहरुले नगर सभा बहिष्कार गर्दै आएका थिए । त्यही कारण ६ र ८ असारमा नगरसभाको बैठक बोलाए पनि ४ दल सहभागी नहुँदा कोरम नपुगेर स्थगित भएको थियो । सोमबार मेयर राजन पौडेलले वैठक बस्न आवश्यक संख्या २५ प्रतिशत पुर्याएर नीति तथा कार्यक्रम र बजेट पास गर्ने भनेपछि एमाले र लोसपाका जनप्रतिनिधिले अवरोध गर्न खोजेका थिए ।।
काठमाडौं: गण्डकी प्रदेशका मन्त्री फणिन्द्र देवकोटाको सांसद पद तत्काललाई जोेगिएको छ । प्रदेशसभा सदस्यबाट हटाउने नेकपा (माओवादी केन्द्र)को सिफारिस र त्यसबमोजिमको सभामुखको घोषणा तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले सोमबार अन्तरिमसहित विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । माओवादी केन्द्रको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर देवकोटा गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । मुख्यमन्त्रीलाई विश्वासको मत नदिने पार्टीको ‘ह्वीप’ उल्लंघन गरेको भन्दै माओवादी केन्द्र संसदीय दलले गएको जेठ २९ गते उनलाई कारबाही सिफारिस गरेको थियो । त्यही सिफारिसबमोजिम गण्डकी प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले उनलाई दल त्याग गरेका आधारमा सांसद पदबाट मुक्त भएको घोषणा गरेका थिए । ०७९ सालमा भएको प्रदेशसभा निर्वाचनमा देवकोटासहित नेपाल समाजवादी पार्टी (नेसपा)का प्रतिनिधि माओवादी केन्द्रको चिह्नबाट प्रतिस्पर्धा गरेका थिए । देवकोटाले आफू माओवादीको सदस्य नै नभएको जिकिरसहित रिट दायर गरेका थिए । नेसपा कुनै दलको छाया नभएर स्वतन्त्र रहेको भन्दै आफूले विश्वासको मत दिन सक्ने उनले जिकिर गरेका थिए । निर्वाचन आयोगमा बुझाइएको मनोनयनपत्र, नेपाल सरकारबाट प्रकाशित राजपत्र, गण्डकी प्रदेशसभा वेबसाइटको अभिलेख र सांसदहरूको टेलिफोन डायरीसहित आफूले पाएको परिचयपत्रमा नेपाल समाजवादी उल्लेख गरिएको उनको भनाइ छ । प्रमाण ऐन, २०३१ ६(ग) ले सरकारी अभिलेखले सुरक्षित दस्तावेजलाई प्रमाणका रूपमा स्वीकार गर्ने भन्दै माओवादीको दाबी र कारबाहीले आफ्नो पद नजाने उनको जिकिर छ । देवकोटाले राजनीतिक दलसम्बन्धी ऐनको एकल चुनाव चिह्नमा एकभन्दा बढी दल लड्न पाउने व्यवस्था निष्क्रिय हुन नदिन र संविधानको बहुलवादलाई प्रभावित नपार्न भन्दै अन्तरिम आदेश माग गरेका थिए । उनले माअोवादी केन्द्र गण्डकी प्रदेश संसदीय दल, संसदीय दलका नेता हरि चुमान, माअोवादी केन्द्रको केन्द्रीय कार्यालय र सभामुख धिताललाई विपक्षी बनाएका छन् ।

