काठमाडौं ।  जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ।   मुभमेन्टका प्रवक्ता विजय...

मकवानपुर: बाग्मती प्रदेशमा गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइने भएको छ ।    बाग्मती प्रदेशका नवनियुक्त स्वास्थ्यमन्त्री उत्तम जोशीले गर्भवती र सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम ल्याइने बताइको हो ।   मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री जोशीले ‘ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि निःशुल्क हवाई उद्धार कार्यक्रम’ सञ्चालन गर्न कार्यविधि बनाउनु पर्ने भन्दै कार्यविधि निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन समेत दिए।    उनले स्वास्थ्य मन्त्रालय अन्य मन्त्रालयभन्दा फरक र नागरिकसँग सिधै चासो राख्ने विषय भएकाले यसतर्फ विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिएका  हुन।   मन्त्री जोशीले सीमित स्रोतसाधनको अत्यधिक उपयोग गरी गुणस्तरीय सेवा प्रदान गर्नु अहिलेको आवश्यकता रहेको पनि बताएका थिए । उनले आउँदो वर्षको नीति तथा कार्यक्रम र बजेटमा स्वास्थ्य क्षेत्रका समेट्नुपर्ने महत्त्वपूर्ण कार्यक्रमसम्बन्धी सल्लाह र सुझाव दिन कर्मचारीलाई आग्रह समेत गरेका छन् ।

खोटाङमा ट्याक्टरले किचिएर प्रधानाध्यापकको ज्यान गएको छ ।   हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रधानाध्यापक मकरध्वज राईको ज्यान गएको हो ।  विद्यालय बिदा भएपछि आइतबार साँझ घर फर्कने क्रममा बाहुनीडाँडामा को २ त ४६७६ नं को ट्याक्टरले किचिएर प्रधानाध्यापक राईको ज्यान गएको हो ।    ट्याक्टर चढ्न खोज्दा उनी खसेका थिए । खसेपछि ट्याक्टरको पछाडिको पाङ्ग्राले किचिएर राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिएका छन् । प्रधानाध्यापक राईको मृत्युपछि प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।    

काठमाडौं:  प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।   जिल्ला प्रहरी परिसर काठमाडौंले झण्डै दुई महिना लामो अनुसन्धानपछि आज प्रतिवेदन बुझाएको हो ।   नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं असुली गर्ने प्रयासमा कम्तिमा ३२ जना संलग्न रहेको निष्कर्ष निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको काठमाडौं प्रहरी परिसरका एक अधिकृतले बताए ।   केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (कीर्ते)मा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको स्रोतले बतायो । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ ।   यो प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् । थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।

काठमाडौँ:   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कञ्चनपुरको शुक्लाफाँटा आरक्षपीडितको माग सम्बोधन गरिने बताएका छन्।    प्रधानमन्त्री निवास बालुवाटारमा आज शुक्लाफाँटा आरक्षपीडितका समस्या, पुनः स्थापना र व्यवस्थापनका विषयमा ध्यानाकर्षण गराउन पुगेको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले यस विषयमा सम्बन्धित निकायलाई आवश्यक निर्देशनसमेत र्दिएका छन् ।    प्रधानमन्त्री दाहालले चासोपूर्वक समस्या समाधानका लागि पहल गर्ने विश्वास दिलाउनुभएको भेटमा सहभागी सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् नेकपा माओवादी केन्द्र का नेता ओमविक्रम भाटले जानकारी दिए ।     “प्रधानमन्त्रीले समस्या समाधानका लागि चासो लिनुभएको छ । आरक्ष प्रभावितको माग सम्बोधन हुने आशा छ”, प्रदेशसभा सदस्य भाटले भने । रासस

पोखरा:  नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति डा. जगमान गुरुङले दिएको अभिव्यक्ति प्रति नौंचु पैंगीलामा परिवारले आपत्ति जनाएको छ ।    गत बैशाख २२ गते बुद्धपूर्णिमाको दिनमा कास्कीको याङ्जाकोटमा आयोजित एक कार्यक्रममा गुरुङले नौंचु पैंगीलामा गुरुङहरुको मानमर्दनमा ठेस पुर्याउने अभिव्यक्ति दिएको ठहर गर्दै आपत्ति जनाएको हो ।     नौंचु पैंगीलामा गुरुङ ताङतिङले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै डा.जगमान गुरुङले माफी माग्नु पर्ने बताएको छ ।    विज्ञप्तीमा भनिएकोछ, ‘उहाँ जस्तो नेपाल सरकारको सार्वजनिक पद धारण गरिसकेको व्यक्तिले प्रचलित कानून र संविधान विपरित आधारहीन भ्रामक कुराहरु गरेर कुनै जातीय, समुदाय विशेष र गाउँलाई होच्याउने, मान मर्दन गर्ने कार्य, जातीय विद्वेष र सामाजिक सद्भभ बिथोल्ने खालको गैर संवैधानिक छ । उनले नौंचु पैंगीलामा गुरुङलाई ‘तोल्च्यो पैंगीलामा’ भनेर होच्याएको साथै विगतमा ताङतिङका बासिन्दाले जाल साजी गरी याङ्जाकोट गाउँका खर्क, सिमाना हडपेको भाम्रक कुरा गरेर समुदायमा विवाद सिर्जना गर्न खोजेको आरोप छ ।’     नौंचु पैंगीलामा गुरुङ ताङतिङका अध्यक्ष विर्जमान गुरुङले डा. गुरुङले आफ्नो भनाई फिर्ता लिएर माफी नमागे परिवारको तर्फबाट जस्तो सुकै कदम चाल्न तयार रहेको बताए ।      संस्कृतिविद डा. गुरुङले नौंचु पैंगीलामा गुरुङ बारे आपत्तिजनक अभिव्यक्ति मात्र नभई मादी गाउँपालिकाको केन्द्रको विषयलाई लिएर सर्वोच्च अदालतलाई चुनौती त्यस्तै जातीय तथा क्षेत्रीय द्वन्द्व सृजना गर्ने खालको भनाई राखेका थिए ।    उनको भनाईको सामाजिक संजालमा चौतर्फी विरोध भएको थियो ।  सो विषयलाई लिएर गण्डकी प्रदेशका निवर्तमान मन्त्री तथा प्रदेश सभा सदस्य बेद बहादुर गुरुङले समेत सामाजिक सञ्जालमा अभिव्यत्ति दिदै आपत्ती जनाएका छन् । 

बुद्धशान्ति गाउँपालिका–३ चर्चाबारीस्थित आदर्श सामुदायिक वन क्षेत्रभित्र पोथी हात्ती मृत फेला परेको छ।   आज बिहान स्थानीयवासीले हात्ती मृतावस्थामा देखेपछि प्रहरीलाई जानकारी दिएका थिए।    घटनास्थलमा अहिले डिभिजन वन कार्यालय झापा, जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरीलगायतको टोली पुगिसकेको छ।    हात्तीको पोस्टमर्टमका लागि कोशी टप्पु वन्यजन्तु आरक्षबाट पशु चिकित्सकहरुको टोली समेत झापा आएका छन्।

काठमाडौं:   नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पक्राउ पर्नेहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।    आइतबार नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो ।   त्यस क्रममा अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको न्यायधीवक्ता महेशकुमार खत्रीले जानकारी दिए ।   उनले प्रहरीले अनुसन्धान टुङ्ग्याएर अनुसन्धान प्रतिवेदन तयार पार्नुपर्ने विषयमा सोमबार १० बजे सम्ममा अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पेस गर्नुपर्ने बताए ।   प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाए पश्चात् अभियोजनको काम गर्ने बताउनुभयो। उहाँले थप अनुसन्धान प्रतिवेदन आएपछि अभियोजन पत्र कसरी तयार गर्ने कागज प्रमाण र तथ्य के छन् भन्ने अध्ययन गरेर अभियोजन तयार पारिने सुनाए ।

काठमाडौं:   सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।   राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८० र ०८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो ।   नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ ।   विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ ।   खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

काठमाडौं:  आज पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।   मौसमविद् संजिव अधिकारीका अनुसार आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा दिउँसोपछि हल्का वर्षाको सम्भावना छ । काठमाण्डौमा दिउँसो फाट्टफुट्ट पानी पर्ने अनुमान छ ।    यस्तै तराईका जिल्लामा भने आज हावाहुरीमात्रै चल्ने छ । तर भोलि मङ्गलवार र पर्सि बिहीवार भने पहाडी जिल्लासहित तराईका एक र दुई ठाउँमा पनि पानी पर्ने मौसमविद् अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार प्रि–मनसुन सक्रिय हुँदैछ । भोलि पश्चिमी वायुको प्रभाव पनि थप पर्ने देखिएको छ । तराईका जिल्लामा लामो समयदेखि पानी परेको छैन ।    भोलि र पर्सि भने मौसम बदली भई एक र दुई ठाउँमा पानी पर्ने सम्भावना रहेकाले गर्मी कम हुने अनुमान छ ।