काठमाण्डौं: काठमाण्डौं उपत्यकासहित देशका विभिन्न ठाउँमा अहिले वर्षा भइरहेको छ । पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावका कारण वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि वर्षा भइरहेको छ। मौसमी प्रणाली बिस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाण्डौंसहित पूर्वी उत्तरी क्षेत्रमा वर्षा हुने उनले बताएका छन् । दिउँसो पछि तराईका जिल्लामा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
भारत र अष्ट्रेलियाले आर्थिक सहयोगलाई बलियो बनाउने उद्देश्यले आप्रवासन सम्झौताको घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सिड्नीमा समकक्षी एन्थोनी अल्बानीजसंग भेटका क्रममा सम्झौतामा सहमति भएको हो र सम्झौताको उद्देश्य विद्यार्थी, स्नातक, शैक्षिक अनुसन्धानकर्ता र व्यवसायी व्यक्तिको दुई–तर्फी गतिशीलतालाई बढावा दिनु रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ । भारत र अष्ट्रेलिया चार सदस्यीय क्वाड समूहको हिस्सा हुन्, जसमा जापान र अमेरिका पनि सामेल छन् । अमेरिकाका राष्ट्रपति जो बाइडेन ऋण सीमा वार्ताका लागि वाशिंगटन फर्किनु परेपछि सिड्नीमा समूहको निर्धारित बैठक गत हप्ता रद्द गरिएको थियो । मोदीको यो पहिलो अष्ट्रेलिया भ्रमण हो, अल्बानीजले मार्चमा भारत भ्रमण समेत गरेका हुन ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिका अन्तर्गतका १७ वटा स्वास्थ्य संस्थामा कार्यरत ७८ जना स्वास्थ्यकर्मीले पुस महिनादेखिको तलब नपाएपछि बाध्य भएर आन्दोलित गर्नुपरेको बताएका छन् । तलब नपाएपछि गएको जेठ १ गते सबै स्वास्थ्यकर्मीको तर्फबाट ज्ञापनपत्र विभिन्न निकायमा बुझाएको तर पनि सुनुवाइ नभएपछि चरणबद्धरूपमा आन्दोलन थालेको उनीहरुले बताएका छन् । स्वास्थ्यकर्मी सङ्घर्ष समितिका संयोजक ज्ञानप्रसाद पौडेलले आफूहरूले तलबका लागि मेयर रामकृष्ण खाँणसहितलाई मौखिक र लिखित माग गर्दा पनि सुनुवाइ नभएको गुनासो गरेका छन् । तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले दरबन्दीभन्दा धेरै कर्मचारी कार्यरत हुँदा तलब दिन नसकिएको समेत बताए ।
काठमाडौं: नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न रहेको आरोप लागेका ३० जनाविरूद्ध बुधबार जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भयो । ठगी, लिखत कीर्ते, राज्यविरूद्ध र संगठित अपराधसम्बन्धी कसुरमा दायर भएको मुद्दामा एमालेका नेता टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहितका हाइप्रोफाइल मछिए । सो प्रकरणमा सबैभन्दा पहिला गजेन्द्र बुढाथोकीले जाहेरी दिएका थिए । उनले सन्देश शर्मा, केशव दुलाल, सानुभण्डारीसमेतको नाम उल्लेख गर्दै जाहेरी दिएका थिए । यही जाहेरीको आधारमा अनुसन्धान गर्दै जाँदा जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रमाणहरू जुटाएर अनुसन्धान अघि बढाएको थियो । सोहीअनुसार प्रहरीले १६ जनालाई पक्राउ गर्न सक्यो भने थप १४ जना अझै फरार छन् । बुधबार दायर मुद्दामा केशव दुलाल, सागर राई, सन्देश शर्मा, टंक गुरूङ र इन्द्रजित राईलाई प्रतिवादी बनाइएको छ । यसैगरी टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, बालकृष्ण खाण, आङटावा शेर्पा, शमशेर मियाँ, टेकनाथ रिजाललाई प्रतिवादी बनाइएको छ । उनीहरू सबै प्रहरीको हिरासतमै रहेका छन् ।
बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालले आकस्मिक सेवाको स्तरोन्नति गरेको छ । अहिलेसम्म १५ शय्या रहेकामा थपेर अब आकस्मिक सेवामा ३० शय्या पुर्याएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. बद्री चापागाईँका अनुसार शय्या थपेपछि बिरामीलाई राहत पुगेको छ । झण्डै ३४ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको नयाँ भवन असार मसान्तसम्म पूरा भएपछि अस्पतालमा शय्याको क्षमता बढाएर तीन सय पुर्याउने तयारी रहेको पनि डा. चापागाईँकोे भनाइ छ । आकस्मिक कक्षमा बिरामीको अवस्था अनुसार रातो, पहेँलो र हरियो शय्या तथा ठाउँको वर्गीकरण गरिएको छ । सरकारको सङ्घीय योजना कार्यान्वयन एकाइबाट भवन निर्माणको काम भइरहेको छ ।
काठमाडौं: निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि अव्यवस्थित बसोबासका कारण बाग्मती करिडोरको निर्माण सकिएको छैन । सहरको मध्यभागमा समस्या नभएका ठाउँमा ट्रयाक खोलिइसकिएको भए पनि तिलगङ्गा, थापाथली, बल्खुलगायतका क्षेत्रमा अव्यवस्थित बस्तीले गर्दा ट्रयाक खुल्न बाँकी रहेको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी कमल अर्यालले बताएका छन्। बानेश्वर क्याम्पस क्षेत्रमा एकातिर मात्रै ट्रयाक खुलेको छ भने अर्कातर खुल्न सकेको छैन । अव्यवस्थित बसोबासीको विषयमा राष्ट्रिय मुद्दा बनेको र यसको समाधान भएपछि मात्रै ती ठाउँमा सडक निर्माण गर्न सकिने समितिका सूचना अधिकारी अर्यालले बताए । तिलगङ्गादेखि सिनामङ्गलसम्म ५ र ६ सय र थापाथलीमा २ सय ४३ घरधुरीको बसोबास करिडोर सडक निर्माण गर्ने ठाउँमा रहेको छ । राष्ट्रिय भूमि आयोगले समस्याको समाधान गरेपछि मात्रै करिडोर निर्माण अघि बढ्नसक्ने उनको भनाइ छ । उनले भने, ‘वास्तविक सुकुम्बासी को हुन्, को होइनन् भन्ने भएपछि थप काम गर्न सकिनेछ ।’ थापाथलीमा अस्थायी बसोबासीको घर धेरै हुँदा समाधान नहुँदासम्म समस्या पर्ने उनको भनाइ छ । समितिको कार्यक्षेत्र बागद्वारदेखि कटुवाल दहसम्म ४४ किलोमिटर हो । काठमाण्डौका मुख्य सडकमा रहेको सवारी चाप कम गर्नेसँगै बाग्मती र त्यसको सहायक नदीको संरक्षण गर्ने उद्देश्यले सडक निर्माण र नदी संरक्षणको काम सुरु गरिएको थियो । समिति एक्लैले नसक्ने हुँदा अहिले आएका समस्या समाधानमा सरोकार राख्ने सबै निकाय मिलेर गर्नुपर्ने सूचना अधिकारी अर्यालले जानकमरी दिएका छन् ।
रुकुम: रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –८ दुलीमा जिप दुर्घटना भएको छ । आज (बिहीबार) बिहान भएको दुर्घटनामा परेर ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १० घाइते भएको बताइएको छ । घटनास्थलबाट सानीभेरी गाउँपालिका ३ का नवराज पुनले दिनुभएको जानकारी अनुसार सानीभेरी गाउँपालिकाको वडा नम्बर ५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटना भएको हो । मृत्यु हुनेमा सानोभरी नगरपालिका ७० वर्षीय कर्णबहादुर बाडा मगर, ५० वर्षीय देउचन खत्री, बाँफिकोट - ८ का २२ वर्षीय रेखा खनाल, उनको छोरा रोशन केसी र सोही ठाउँका एक अर्को जनाको मृत्यु भएको रुकुम पश्चिम प्रहरीले जनाएको छ। दुर्घटनामा परेर घाइते भएकाहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारको लागि हेलिकोप्टर मार्फत लैजाने तयारी भइरहेको छ । जिप सडकबाट करिब चार सय मिटर तल खसेको बताइएको छ ।
दाङ: दाङमा अज्ञात व्यक्तिले घरेलु हितयार प्रहार गर्दा एक जना वृद्ध महिला घाइते भएकी छन् । घोराही उपमहानगरपालिका–१३ सेवार बासबोटस्थित ६२ वर्षिया राखीमाया रोकामाथि बुधवार घरमै आयी एक जना अज्ञात व्यक्तिले घरेलु हतियार प्रहार गर्दा गम्भीर घाइते भएकी हुन् । घाइते रोकाको भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीरबहादुर वलीले जानकारी दिएका छन् । एसपी वलीका अनुसार बुधबार दिउँसो करिब ४ बजे अन्धाजी २५ र ३० वर्षको व्यक्तिले घरभित्र आएर रोकामाथि कुटो तथा चुलेसीले टाउँको तथा शरीरका विभिन्न भागमा प्रहार गरेको थियो । ती व्यक्तिले रोकाको ढाई तोलाको सुनको सिक्री र मोबाइल फोनसमेत लुटपाट गरी फरार भएको एसपी वलीले बताएका छन् । ती व्यक्तिको खोजी कार्य भइरहेको छ । घाइते रोका आफ्नी माइली छोरीसँग घरमा बस्दै आएकी थिइन् । बुधवार दिउँसो उनी घरमा एक्लै भएको मौका छोपेर उक्त घटना भएको हो । ‘घटनाको प्रकृति हेर्दा लुटपाट जस्तो देखिन्छ,’ एसपी वलीले भने, ‘यद्यपि घटनाको अनुसन्धान भइरहेको छ ।’ प्रहरी प्रमुख वलीले आफू रातिदेखि नै घटना स्थलमा खटेर अनुसन्धान गरिरहेको बताए । ‘घटना कसले र किन गर्यो अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘घटना नजिक पुगेका छौं, दोषी छिट्टै पत्ता लगाउछौं ।’
काठमाडौं: वर्षा र सहकालका देवता रातो मच्छेन्द्रनाथको भोटो आज देखाइने भएको छ । भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात)वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छेन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आउनुभएका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले राससलाई जानकारी दिनुभयो । भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ । भोटो जात्रा सुरु भएको यकिन तिथिमिति अहिलेसम्म पत्ता नलागेको उहाँले बताउनुभयो । मच्छेन्द्रनाथको यात्रा भने करिब एक हजार तीन सय वर्ष अघि नै सुरु भएको हो । किम्वदन्तीअनुसार यो यात्रा सुरु भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोकअर्थात् टौदह लगे । डराएका किसानले मच्छेन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रुपमा कर्कोटकलाई दिए । औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरुप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । मनुष्यरुपी भूत आएर भोटो लग्यो । किसानले खोजे । पाएनन् । मच्छेन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरुप पाएको भोटो मनुष्यका रुपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भूतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छेन्द्रनाथको जिम्मा लगाइयो । आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मच्छेन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा बस्यो । त्यो वर्षदेखि प्रत्येक साल साइत हेरेर भोटो देखाउने गरिएको जनविश्वास छ । अहिलेसम्म कसैले प्रमाण जुटाएर भोटो लैजान नसकेको किम्बदन्ती छ । पछिल्लो समय गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्राध्यक्षको उपस्थितिमा भोटो देखाउने जात्रा गरिँदै आएको छ । यो जात्रा हेर्न आइतबार राष्ट्रपति रामचन्द्र पौडेल जानुहुनेछ । यस अवसरमा सरकारले आज उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

